'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 9 October 2024

व्रत तथा फास्टीगं दुवैको प्रमुख उद्देश्य मानिसको तन, मन, भाव र चित्तको शुद्धिकरण गर्नु हो

                    डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन







विषय प्रवेश

व्रतको हुबहु अंग्रेजीकरण फास्टीङ होइन । यी दुई विषयको तरिका तथा प्रक्रिया उस्तै–उस्तै लागेपनि व्रत तथा उपवास सनातन धर्म एवं अध्यात्मसंग सम्वन्धित विषय हुन् र फास्टीङ आधूनिक चिकित्सा विज्ञानको शरीर तथा स्वस्थ्य विज्ञान र आहार ग्रहण गर्ने तरिका तथा तालिकासंग सम्वन्धित विषय हो तर यी दुवैको अन्तिम उद्देश्य भने एउटै हो मानिसको तन, मन, भाव र चित्तको शुद्धिकरण गरेर पूर्ण स्वास्थ्य हासिल गर्नु । फास्टीङ व्रतकै समय सान्दर्भिक हुनेगरि गरिएको परिमार्जित स्वरूप हो किनकी आधूनिक विज्ञानका सबै प्रकारका प्रगति, विकास तथा परिवर्तनहरुको मूल श्रोत पूर्वीय दर्शनका प्राचीन विज्ञानहरु नै हुन् अर्थात पूर्वीय सनातन अध्यात्म दर्शन कै समयसान्दर्भिक विस्तार तथा परिमार्जित स्वरुप हुन् आधूनिक भौतिक विकास र आधूनिक चिकित्सा विज्ञानका विकासका सबै आयामहरु । व्रत तथा उपवासको सन्दर्भ, उद्देश्य, प्रकार, विधि, व्रतको समय, व्रतको अवधि, व्रतको समयमा ग्रहण गरिने पेय तथा भोजन, व्रतको समयमा गर्ने व्यवहार तथा आचरण, व्रतको आवशयकता तथा महत्व आदिबारे सनातन धर्म एवं अध्यात्म दर्शनमा विस्तारपूर्वक वर्णन गरिएको छ ।


आजको आधूनिक समयमा मानिस पूर्ण रूपमा स्वाथ्य रहन फास्टीङको भूमिका, महत्व तथा यसका सबै आयामहरुको लामो समय लगाएर वैज्ञानिक प्रयोगद्वारा प्रमाणित गरिएका तथ्यहरु समेटेर जापनीज नागरीक डा. योसिनोरी ओसुमीले लेखेको विश्व प्रसिद्ध पुस्तक ‘अटोफेजी (आत्म–चिकित्सा तथा फ्युल रिसाइक्लीगं)’ सन् २०१६ मा नोवेल पुरस्कारबाट सम्मानित भएको थियो । पूर्णतः वैज्ञानिक खोजका तथ्य र तथ्यांकहरुमा आधारीत यस पुस्तकमा फास्टीङको सन्दर्भ, आवश्यकता, उद्देश्य, प्रकार, विधि, तरिका, तालिका, महत्व, फास्टिगंको समय, फास्टिगंको समयमा ग्रहण गरिने पेय तथा भोजन र फास्टीङको समयमा शरीरमा हुने आन्तरिक क्रिया तथा प्रक्रिया आदिबारे विस्तारपूर्वक वर्णन गरिएको छ ।


व्रतको उद्देश्य, प्रकार र महत्व

हरेक मानिसको जीवनको मूल उद्देश्य सुखको प्राप्ति र दुःखको निवृत्ति हो । मानिसले आफ्नो पुरै जीवन यही दुईवटा उद्देश्य पूरा गर्न लगाएको हुन्छ । सुखको प्राप्ति र दुःखको निवृत्ति गर्न विभिन्न समयमा विभिन्न प्रयासहरु गरिए, यसैको एउटा महत्वपूर्ण वैज्ञानिक खोजको निश्कर्षको विषय व्रत, उपवास तथा फास्टीङ हो । व्रतको मूल उद्देश्य मानिसको तन, मन, भाव, चित्तको शुद्धिकरण गरि पूर्ण स्वास्थ्य हासिल गर्नु हो ।  पूर्वीय अध्यात्म विज्ञानका अनुसार प्रमुख रुपमा व्रत तीन प्रकारका छन्– (१)नित्य व्रत, (२)नैमित्तिक व्रत, र (३)काम्य व्रत । केवल आहारको त्याग गर्नु तथा आहारको तालिका मिलाएर ग्रहण गर्नु मात्र व्रत होइन । मानिसले नित्य गर्नुपर्ने कर्म, व्यवहार तथा आचरणहरुमा यम, नियम तथा दिव्य नवव्रतका अहिंसा, सत्य, अस्तेय, अपरिग्रह, ब्रम्हचर्य(केहीमा पनि अतिआशक्त नहुनु), सौच, सन्तोष, स्वाध्याय, इश्वर प्रणिधान, इन्द्रिय निग्रह, पंचक्लेश(काम, क्रोध, लोभ, मोह, अहंकारण)बाट मुक्त आदिको पालना गर्नु नित्य व्रतको हो र यो प्रक्रिया व्रतको सबैभन्दा महत्वपूर्ण पाटो हो । कुनै कर्म तथा क्रिया नियम विपरीत तथा अरुलाई हानी हुनेगरि गरिएको अवस्थामा त्यसको प्रायश्चित गर्न र पूर्व अवस्था कायम गर्न आफूले मान्दै आएको धर्म–संस्कृतिमा तोकिए अनुुसार विधिपूर्वक गरिने नैमित्तिक व्रत हो । जीवनमा केही उद्देश्य पूरा गर्न तथा हासिल गर्न आ–आफ्नो धार्मिक तथा आध्यात्मिक आस्था अनुसार विधिपूर्वक गरिने संकल्प काम्य व्रत हो । मानिस तन, मन, भाव, चित्त सम्पूर्ण किसिमले पूर्ण रूपमा स्वस्थ रहन व्रत तथा उपवासको महत्वपूर्ण भूमिका रहने गर्दछ तसर्थ यो सनातन अध्यात्म दर्शनको अत्यन्त महत्वपूर्ण अंश रहदै आएको छ । वैदिककाल तथा सत्ययुगमा व्रतका विधि तथा नियमहरु निकै कडा हुने गर्थे तर युग परिवर्तसंगै क्रमशः त्रेता, द्वापर, कली युगमा व्रतका विधि तथा नियमहरु सरल हुदै आएका विषयहरु धार्मिक तथा आध्यात्मिक श्रोतहरुमा उल्लेख गरिएका पाइन्छन् ।


फास्टीङको उद्देश्य, प्रकार र महत्व

फास्टीङको मुख्य उद्देश्य मानिसको शरीर स्वस्थ राख्नु रहेको छ किनकी विश्वका पछिल्ला तथ्य र तथ्यांकहरुलाई हेर्दा मानिसमा आहारको न्यूनताले भन्दा अधिकता अर्थात बढि खाएर विभिन्न प्रकारका स्वास्थ्य समस्या तथा रोगहरु देखिएका छन् । भौतिक विज्ञानको प्रगतिमा आएको क्रान्तिले विकास र विनास दुवै ल्याएको यथार्थ हामी सबैलाई विदितै छ । मानिसको जीवनको यही समस्या समाधान गर्ने उद्देश्यले सक्दो प्रयोगात्मक वैज्ञानिक खोज गरेर अटोफेजी अर्थात आत्म–चिकित्सा जस्ता तथ्य र तथ्यांक सहितका  प्रामाणिक पुस्तकहरु बजारमा ल्याइएका छन् ताकि मानिसले स्वास्थ्यबारे तथ्यगत किसिमले जानोस, आफ्नो दैनिकीमा त्यसको अनुशरण गरोस र स्वस्थ रहन सकोस् । अटोफेजी लगायत मानिसको स्वास्थ्यमा वैज्ञानिक खोज गरिएका अन्य पुस्तकहरुको मूल आशय मानिसले आफ्नो शरीरको प्रकृति(त्रिदोष–वाथ, कफ, पित्त) अनुसार स्वस्थ तथा पौष्टिक आहारको चयन र आहार ग्रहण गर्ने समय, तरिका तथा तालिका जानेर स्वस्थ रहन आफैंले आफूलाई मद्धत गरोस भन्ने रहेको छ ताकि शरीर अर्थात तनलाई स्वस्थ तथा शुद्धिकरण गर्नुको साथसाथ मन, भाव, चित्तको शुद्धिकरण अर्थात पूर्ण स्वास्थ बनाउन भरपुर मद्धत गर्न पुगोस् । फास्टीङका प्रकारहरु उदेश्य अनुसार फरक-फरक छन् - कसैको उदेश्य तौल घटाउनु हुन्छ, कसैको रोग निको गर्नु हुन्छ, कसैको रोग लाग्न नदिन तथा सदा तन्दुरुस्त रहनकोलागि हुने गर्दछ । उदेश्य अनुसार नै फास्टीङ विज्ञहरुले फास्टीङको प्रकार, तरिका तथा तालिका दिने गर्दछन् । फास्टीङले मानिसकाे शरीर र मनका धेरै प्रकारका रोगहरु निको गर्दछ तसर्थ मानिस पूर्ण रूपमा स्वस्थ रहन व्रत तथा उपवास जत्तिकै फास्टीङको पनि अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ ।


अटोफेजी र यसको प्रक्रिया

अटोफेजी फास्टीङ गरिएको अर्थात भोको रहेको समयमा शरीर विशेष अवस्थामा पुग्दछ, यो समयमा शरीर स्वस्थ बनाउन शरीर आफैंले आन्तरीक रुपमा गर्ने क्रियात्मक प्रक्रिया हो । मानिसको शरीर स्वयं ब्रम्ह हो र शरीर आफैं अत्यन्तै बुद्धिमान हुन्छ । शरीरका आन्तरीक गतिविधिहरु कुन तथा कस्तो अवस्थामा कहिले, के, कसरी, किन गर्ने अथवा नगर्ने भन्ने सन्दर्भमा वृहद क्रिया तथा प्रक्रियाहरु शरीर आफैंले निर्णय गर्दछ । अटोफेजीका अनुसार खाना खाएपछिको समयमा र लामो समय खाना नखाएको समयमा अर्थात फास्टीङ गरिएको समयमा शरीरलाई स्वस्थ राख्न शरीर आफैंले आन्तरीक रुपमा फिउल रिसाइकिलिङ अर्थात उर्जाको परिचालन गर्न शुरू गर्दछ जसलाई पूर्वीय सनातन दर्शका चिकित्साशास्त्रले आत्म–चिकित्सा भनेका छन् । अटोफेजी सनातन चिकित्साशास्त्रमा उल्लेख गरिएको आत्म-चिकित्सा विषयकै समय सान्दर्भिक परिमार्जन हो । यो प्रक्रियामा शरीरमा विभिन्न आन्तरीक क्रियाहरु हुन्छन् र यस क्रममा शरीर आफैंले शरीरमा रहेका हानीकारक कोष तथा हानीकारक ब्याक्टेरीयाहरुलाई नष्ट गर्दछ र शरीरमा अतिरिक्त जम्मा भएर रहेको बोसोको प्रयोग उर्जा तथा खानाको रुपमा गरेर शरीरलाई सन्तुलन र स्वस्थ राख्ने क्रिया गर्दछ । शरीरमा रहेका हानीकारक कोष तथा हानीकारक ब्याक्टेरीयाहरु नै विभिन्न प्रकारका रोगहरु हुन् जसलाई शरीरको कुन अंगमा कसरी देखियो  त्यही अनुसार फरक-फरक नामाकरण गर्ने गरिन्छ । फास्टीङ गर्ने विधि र तरिकाहरु निश्चित गरिएका हुन्छन् जस्तोकि कति घण्टा केही पनि नखाने, कति घण्टापछि पेय, हल्का खाना तथा सामान्य खाना खाने, कुन–कुन अवस्थामा शरीरको आन्तरीक अवस्थामा के–के हुन्छ र उक्त समयमा के-के गर्ने तथा नगर्ने आदि ।


फास्टीङ गर्ने क्रममा ३६ घण्टा केही पनि नखादा शरीरमा अत्यन्तै लाभकारी तथा सकारात्मक परिवर्तनहरु आउँन शुरु हुन्छन् तथा शरीर नयाँ बन्न थाल्छ । फास्टीङ गर्ने क्रममा पहिलो ४ देखि ८ घण्टामा शरीरमा रगतमा चीनीको मात्रा घट्न थाल्छ; १२ घण्टाको फास्टीङमा शरीर स्वथ्य बन्ने आन्तरीक प्रक्रिया स्वतः शुरु हुन्छ र स्वस्थ शरीरकोलागि अति आवश्यक ग्रन्थी रस तथा हर्मोनहरु बन्न शुरु हुन्छन् । फास्टीङको १४ घण्टापछि शरीरले कीटोन्स बनाउन शुरुगर्छ, कीटोन्सले शरीरमा अतिरिक्त रुपमा जम्मा भएर रहेको बोसो पगालेर खान शुरुगर्छ, १६ देखि १८ घण्टाको फास्टीङमा शरीरले बोसो जलाउन थाल्छ । फास्टीङको वास्तविक लाभ २४ घण्टाको फास्टीङपछि शुरु हुन्छ । २४ घण्टापछि शरीर अटोफेजी अर्थात आत्म–चिकित्सा प्रक्रियामा प्रवेश गर्छ, यसको मतलव हो शरीरको पुनर–संरचना तथा शरीर नवीकरणको प्रक्रिया शुरु हुनु । अटोफेजीको अवस्थामा शरीरमा जतिपनि नकारात्मक, समस्याग्रस्त तथा रोगी कोषहरु र हानिकाक ब्याक्टेरीयाहरु छन् तीनलाई हटाउन शुरु गर्दछ अर्थात शरीरको शुद्धिकरण(डिटक्सीफीकेसन) प्रक्रिया शुरु हुन्छ आत्म-चिकित्सा प्रक्रियाबाट । ३६ घण्टासम्मको फास्टिगंमा अटोफेजी अर्थात आत्म–चिकित्साको काम गर्ने प्रभावकारीता ३०० प्रतिशतसम्म बढ्छ र यो अवस्थामा शरीरले शरीरमा अतिरिक्त जम्मा भएर रहेको बोसोलाई उर्जाको रुपमा प्रयोग गरेर यो सबै प्रक्रिया गर्दछ र तिब्र गतिमा शरीरका विकारहरु र शरीरको अनावश्यक तौल घटाउन शुरुगर्छ र शरीर स्वस्थ हुदै जान्छ । प्राविधिक भाषामा सहज किसिमले अटोफेजी प्रक्रियालाई कम्प्युटरमा  एन्टीभाइरस चलाएर कन्प्युटरका प्रोग्राम तथा सफ्टवेयरहरुमा लागेका भाइरस हटाइएको  प्रक्रियाको रूपमा बुझ्न सकिन्छ । अटोफेजी प्रक्रियाले शरीर र मनका हरप्रकारका समस्या तथा रोगहरुको उपचार गर्दछ । कुनै विशेष परिस्थितिमा बाहेक मानिसको शरीर पूर्ण रूपमा स्वस्थ छ भने मानिसको मन पनि स्वस्थ तथा सकारात्मक हुन्छ । मन स्वस्थ तथा सकारात्मक छ भने यसको प्रत्यक्ष्य प्रभाव भाव र चित्तमा पनि स्वतः पर्दछ र मानिस पूर्ण रूपमा स्वस्थ हुन्छ । यसकारण व्रत र फास्टीङ दुवैको अन्तिम उद्देश्य मानिसको तन, मन, भाव, चित्तको शुद्धिकरण गर्नु हो । 


विडम्बना,आजभोलि हाम्रा व्यवहार तथा अभ्यासमा व्रत, उपवास तथा फास्टीङको परिभाषा र बुझाइ नकारात्मक परिणाम ल्याउने किसिमले फेरिएको छ र बुझाइ पनि त्यस्तै प्रकारको बनेको छ । आजभोलि व्रत तथा फास्टीङ भोको बस्ने नभएर खाना परिवर्तन गर्ने र सामान्य अवस्थामा भन्दा व्रत तथा फास्टीङको दिनमा अझ बढि खाने र शरीर तथा मनमा अझ बढि विमारी थप्ने विकृत अभ्यास बढ्दै गैरहेको छ । तर यो विकृतिलाई व्रतलाई वर्गिकरण तथा तालिकीकरण गरेर व्यवस्थित गर्न सकिन्छ जस्तोकी निश्चित घण्टासम्म पानी पनि नपिउने; निश्चित घण्टासम्म पानी मात्र पिउने; निश्चित घण्टासम्म पेय पदार्थ मात्र ग्रहण गर्ने; निश्चित घण्टासम्म फलफूल मात्र ग्रहण गर्ने; निश्चित घण्टासम्म हलुका खाना मात्र ग्रहण गर्ने आदि । यस प्रकारको तालिकालाई अंग्रेजीमा इन्टरमिटेन्ट फास्टीङ भनिन्छ जसमा  प्राय साँझ तथा रातीको खाना सुर्यास्त अघि खाइसक्ने र भोलिपल्ट विहान कन्तिमा १२ घण्टा, वा १४ घण्टा, वा १६ घण्टासम्म केही नखाइ पेट खाली राख्ने गरिन्छ। जतिसक्दो लामो घण्टासम्म पेट खाली राख्दा शरीरका विकारहरु अर्थात हानीकारक कोष तथा ब्याक्टेरियाहरु शरीर आफैंले नष्ट गर्दछ र शरीर स्वस्थ हुन्छ । इन्टरमिटेन्ट फास्टीङका विधि तथा तरिकाहरु अनुशरण गरेर संधै तन, मन, भाव चित्त शुद्ध गर्न र सदा स्वस्थ रहन सकिन्छ ।


तन, मन, भाव, चित्तको शुद्धिकरणकालागि स्वास्थ्य सल्लाह

पूर्वीय सनातन अध्यात्म दर्शन मनुष्यलाई सहज, सरल र सन्तुलित जीवन जिउने कला सिकाउने ज्ञानको विज्ञान हो । अध्यात्म विज्ञानमा पाँच प्रकारका चिकित्सा पद्धतिहरुको स्पष्ट उल्लेख गरिएको छ– (१)योग चिकित्सा पद्धति, (२)आयुरवेद चिकित्सा पद्धति, (३)प्राकृतिक चिकित्सा पद्धति, (४)मर्म चिकित्सा पद्धति, र (५)प्रकृति तथा मनोरञ्जन चिकित्सा पद्धति । सबै चिकित्सा पद्धतिहरुले आहार विज्ञान, विहार विज्ञान र व्यवहार विज्ञानलाई प्राथमिकता प्रदान गरेका छन् किनकी मानिसले जस्तो आहार तथा प्रत्याहार(इन्द्रियहरुको आहार)ग्रहण गर्छ ऊ त्यस्तै बन्दै जान्छ; जस्तो र जति मात्रामा योगाभ्यास, व्यायाम, प्राणायाम तथा ध्यान साधना गर्छ ऊ त्यस्तै बन्दै जान्छ र जस्तो व्यवहार तथा आचरण गर्छ ऊसको कर्म र व्यक्तित्व त्यस्तै बन्दै जान्छ । तसर्थ हरेक दिन सन्तुलित किसिमले स्वस्थ, ताजा, पौष्टिक आहारको सेवन गर्न; कम्तिमा एकदेखि डेढघण्टा क्रमशः योगासन तथा व्यायाम, प्राणायाम, ध्यान(३०–१५–४५) गर्न र संधै सबैसंग सरल तथा सहज व्यवहार र आचरण गर्न सुझाव दिने गरिन्छ । bsirjana@gmail.com

-----------------------------------
सन्दर्भ सामग्रीः

Tuesday, 8 October 2024

सिन्धुबाट अप्रभंस भएको ‘हिन्दु’ शव्दको वैदिक सनातन धर्म-संस्कृतिसंग प्रत्यक्ष सम्वन्ध छैन

                 डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन  #जीवन_दर्शन #इतिहास





विश्यव्यापि रूपमा गरिएका विकासवादी वैज्ञानिक खोजका सिद्धान्तहरुका अनुसार मानव सभ्यताको विकास पानीको मूलको आसपास भएका प्रसस्त तथ्यगत प्रमाणहरु भेटिएका छन् । हाल विश्वको नक्शामा पाकिस्तानमा बहने सिन्धु नदीको आसपासमा विकसित भएको मानव समाजको विकासक्रमलाई सिन्धु घाटी(उपत्यका)को सभ्यता भनिन्छ । यसको शुरुआत आजभन्दा ५००० देखि ५५०० वर्ष पूरानो रहेको मानिएको छ । यही सभ्यतालाई प्रामाणिक सनातन सभ्यता मानिएको छ । सिन्धु घाटीको सभ्यता आध्यात्मिक, धार्मिक, सांस्कृतिक, भौतिक रुपले अत्यन्तै विकसित सभ्यता थियो जो निरन्तर हामीसम्म आएको छ आज हिन्दु धर्म तथा हिन्दु संस्कृति तथा सभ्यताको रुपमा । विकासको पर्यायवाची शव्द परिवर्तन पनि हो, यही विकास तथा परिवर्तनको दौरमा सिन्धु सभ्यता अप्रभंस भएर आज हिन्दु सभ्यताको नामबाट परिचित तथा स्थापित भएको छ ।


प्राचीनकालका मानव सभ्यताहरुमा राज्यको विस्तार तथा भौगोलिक विस्तारवाद गर्नु गौरवको विषय मानिन्थ्यो । यही गौरव हासिल गर्ने क्रममा युनानीहरु पहिलोपटक विकसित सिन्धु सभ्यताका राज्यहरु हत्याउने उद्देश्यले सिन्धु नदी पार गरेर एशियाको यस क्षेत्रमा प्रवेश गरे । युनानीहरुको वांगमय(शव्द भण्डार)मा स अक्षर तथा शव्द थिएन, उनीहरुले स लाई ह भन्थे, त्यसैले उनीहरुले सिन्धु सभ्यतालाई हिन्दु सभ्यता भने । हिन्दु सभ्यता मान्ने मानिसहरुलाई हिन्दु भने र यहाँका राज्यहरुलाई हिन्दुहरुको स्थान 'हिन्दुस्थान' भने । यहीकारण हालको इन्डिया मुलुकको अर्को नाम हिन्दुस्थान रहन गएको हो ।


राज्य विस्तार कै क्रममा अर्को पटक प्रशा तथा प्रशिया(हाल इरान) राज्यका प्रशियन शासक (फारसी पनि भनिन्छ) सिन्धु सभ्यताका राज्यहरु हत्याउन सिन्धु नदी पार गरेर एशियाको यस क्षेत्रमा प्रवेश गरे । प्रशियनहरुको वांगमयमा पनि स अक्षर तथा शव्द थिएन, उनीहरु स लाई इ भन्थे, सिन्धु सभ्यतालाई ऊनीहरुले इन्दु सभ्यता भने र त्यस यता सिन्धु सभ्यतालाई इन्दु अर्थात इन्डुस सभ्यताको नामले जानिन थालियो तसर्थ सिन्धु घाटीको सभ्यतालाई इन्डुस भ्याली सिभिलाइजेसन पनि भनिन्छ, दुवै सभ्यता एउटै हो । इन्डुस नदी आसपासको राज्य भएको कारण हालको इन्डिया* मुलुकको नाम 'इन्डिया' रहन गएको हो ।


इन्डिया मुलुकको नाम भारत** रहनुमा आधूनिक इतिहासमा कुनै प्रामाणिक तथ्यांकहरु भेटीएका छैनन् । भारत शव्दको सम्वन्ध सनातन राज्य व्यवस्थासंग प्रत्यक्ष रुपमा जोडिएको छ । भारत शव्दको प्रमुख आधार तथा श्रोत हाल नेपालको जिल्ला चितवनको सदरमुकाम भरतपूरबाट तत्कालीन समयका भरत राजाले गरेको शासन व्यवस्था हो । उनले शासन गरेको राज्य व्यवस्थालाई भारतवर्ष भनिन्थ्यो । कुल १६ राज्यहरुमा विस्तारीत भारतवर्ष विशाल राज्य थियो, अहिलेको दक्षिण एशिया लगायत वरपरका सबै क्षेत्रहरु समेटीएका थिए भारतवर्ष राज्यमा । राज्यको भौगोलिक सिमाना हुन्छ तर ज्ञान, अध्यात्म, धर्म, संस्कृतिको भौगोलिक सिमाना हुदैन । महाभारत महायुद्धमा भारतवर्ष भनिने राज्य यही राज्य थियो । यही कारण इन्डियाको प्राचीन नाम भारत रहन गएको हो भन्ने मान्यता रहदै आएको छ । bsirjana@gmail.com

******************
सन्दर्भ सामग्री:

Monday, 7 October 2024

ज्ञान रचनाको प्रमुख उद्देश्य मनुष्यभित्रको इश्वर अर्थात अन्तरज्योतिको दर्शनकालागि हो

                   डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन






कुनैपनि घटना तथा विषयबारे जान्नु ज्ञान हो र सबै ज्ञान विज्ञान हुन् र विज्ञान व्यवहारिक प्रयोगबाट हासिल भएका विज्ञान सम्मत अर्थात वैज्ञानिक सप्रमाण प्रामाणिक ज्ञान हुन् । ज्ञानबिना विज्ञान बन्दैन र विज्ञानबिना ज्ञान अरुमा संचारित हुदैन । वैदिक सनातन अध्यात्म दर्शनमा उल्लेख गरिए अनुसार, हरेक मनुष्यलाई आफूभित्रको इश्वर अर्थात परमात्मा आर्थात अन्तरज्योतिको ज्ञान प्रदान गरी त्यस दिव्य तत्वसंग साक्षातकार हुन र ऊसैमा सदाकालागि योगस्त हुन सहज गराउने मूल उद्देश्यले ज्ञान तथा विज्ञानको रचना चार तहमा लिपिवद्ध गरिएका हुन्*–


(१)शास्त्र:- सनातन धर्मका चारवेद शास्त्र हुन्; वेदको अर्थ ज्ञान तथा विज्ञान हो; वेद अपौरुषीय ज्ञान हो; शास्त्रका ज्ञान ऋषिहरुलाई ध्यान तथा समाधि साधनाको गहिराइमा प्राप्त भएका भावातीत अनुभूतिहरु हुन्; मनुष्यभित्रको इश्वर अर्थात परमात्मा अर्थात अन्तरज्योतिको ज्ञान प्रदान गर्ने प्रमुख उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु शास्त्र अर्थात  वेद हुन् ।

(२)ग्रन्थ:- सनातन धर्मका उपनिषद्, पुराण आदि ग्रन्थ हुन्; ग्रन्थ ऋिषिहरुद्वारा रचना गरिएका ज्ञान हुन्; देवी-देवताहरुको उपमाद्वारा धार्मिक तथा आध्यात्मिक ज्ञान प्रष्ट पार्दै इश्वर अर्थात अन्तरज्योतिको ज्ञान प्रदान गर्ने उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु ग्रन्थ हुन् ।

(३)पुस्तक:- कालजयि ज्ञान प्रदान गर्ने रचनाहरु पुस्तक हुन्; पुस्तक विद्वता प्राप्त महान व्यक्तिद्वारा रचना गरिएका हुन्छन्; पुस्तौं पुस्तासम्म उपयोगी हुने जीवन र जगतको ज्ञान तथा विज्ञान प्रष्ट गर्दै इश्वर अर्थात अन्तरज्योतिसम्म पुग्न सहयोग गर्ने उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु पुस्तक हुन् ।

(४)किताव:- ज्ञानको समसामयिक आवश्यकता परपूर्तिकालागि उपयोगी हुने रचनाहरु किताव हुन्; किताव विषय विज्ञद्वारा रचना गरिएका हुन्छन्; सदविचार तथा सदकर्मका लागि कुनै निश्चित तहको जानकारी हासिल गर्न बुद्धि, विवेक, ज्ञान प्रदान गर्दै इश्वर अर्थात अन्तरज्योति सम्म पुग्न सहयोग गर्ने उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु किताव हुन् ।


पूर्वीय अध्यात्म दर्शन मनुष्यलाई सहज, सरल र सन्तुलित जीवन जिउने कला सिकाउने ज्ञानको विज्ञान हो । सिद्ध महापुरुषहरुका अनुसार, अन्तरज्योतिको साक्षात दर्शन प्राप्त भएपछि शास्त्र, ग्रन्थ, पुस्तक, कितावहरुको दर्शन उति आवश्यक छैन किनकी सबै रचनाहरु मनुष्य जीवनको आत्यन्तिक उद्देश्य त्यही इश्वर अर्थात अन्तरज्योतिसंग साक्षातकार हुन तथा त्यहाँसम्म पुर्याउन गरिएका हुन् । सरल भाषामा बुझ्दा, ज्ञानका सबै रचनाहरु त्यहाँसम्म पुग्न मद्धत गर्ने सिढी हुन् । तर मनुष्य जातिको गुणधर्म सेवा तथा उपकार भएकोले आफूले जानेको ज्ञान अरुलाई प्रदान तथा हस्तानतरण गरेर अरु मनुष्यहरुलाई पनि इश्वर अर्थात अन्तरज्योतिको दर्शन गर्न सक्षम बनाउनु मनुष्यको प्रमुख कर्म हो । तसर्थ शास्त्र, ग्रन्थ, पुस्तक, कितावहरुको निरन्तर दर्शन अर्थात अध्ययन अति आवश्यक हुन्छ । मनुष्यको जीवनको यात्रा अनन्त छ, हरेक जन्म यस यात्राका विशौनीहरु हुन् र यीनै विसौनीमा गरिएका विविध प्रकारका कर्महरुले अगाडिको यात्राको गुणस्तर निर्धारण गर्दछन् । मनुष्यको जन्म कर्मयोनी हो । शरीर, मन, आत्मा तीन तत्व मिलेर मानिसको पूर्ण स्वरुप निर्माण भएको छ र यी तीनवटा तत्वका आधारभूत आवश्यकताहरु अलग–अलग छन् । शरीर सन्तुलित किसिमले चल्नलाई आहार, विहार, भौतिक सुख, सुविधाको आवश्यकता पर्दछ; मन सन्तुलित किसिमले चल्नलाई खुशी, शान्तिको आवश्यकता पर्दछ र आत्मा, चित्त, चेतना सन्तुलित किसिमले चल्नलाई आनन्दको आवश्यकता पर्दछ र यी सबै हामीले ज्ञानबाट आर्जित गरेका सदविचार र सदकर्मबाट प्राप्त हुन्छन् । तसर्थ हाम्रो सदविचार र सदकर्म सन्तुलित राख्न शास्त्र, ग्रन्थ, पुस्तक, कितावहरुको निरन्तर दर्शन अर्थात अध्ययन आवश्यक छ जीवनको यात्रा अन्तिम विसौनी अर्थात इश्वर अर्थात अन्तरज्योतिको दर्शनसम्म नपुगुन्जेल सम्मकालागि र अरुलाई त्यहाँसम्म नपुऱ्याउजेल सम्मकालागि।

bsirjana@gmail.com

******************
सन्दर्भ सामग्री:
*

Thursday, 3 October 2024

अध्यात्म साधनामा सदगुरु, गुरुसत्ता र दिव्य उर्जाको प्रकाशको प्रभाव तथा अनुभव

                                           डा. सिर्जना भण्डारी

                                                       #अध्यात्म_दर्शन  #जीवन_दर्शन



विनम्र अनुरोध

यो लेखमा समावेस गरिएका जानकारीहरु अध्यात्म विज्ञानको पराभौतिक अलौकिक तथ्यहरुसंग सम्वन्धित भएकाले अध्यात्म, धर्म, इश्वर, सदगुरु, गुरुसत्ता र गुरुभक्तिबारे बुझ्ने तथा इश्वरको सत्ता मान्ने अध्यात्म साधकहरुका लागि मात्र हो; अध्यात्म, धर्म, इश्वर, सदगुरु र गुरुसत्ताबारे ज्ञान नभएका, गुरु तथा इश्वरको सत्ता मान्ने, यस सन्दर्भमा ज्ञान लिन अनइच्छुक तथा आलोचना गर्ने व्यक्तिहरुका लागि होइन किनकी यी विषयबारे जान्न, मान्न र ज्ञान लिन रुची जागृत हुन वहाँहरुको पात्रता पुगेकै हुदैन । भनिन्छ, समय भन्दा पहिला र भाग्यमा भएको भन्दा बढि कसैलाई पनि केही पनि प्राप्त हुदैन । वहाँहरुको समय नआइपुगेको र भाग्यमा नभएको कारण अध्यात्म विज्ञान र यसका अलौकिक विषय बुझ्न, जान्न, मान्न, ज्ञान लिन र सदगुरुको सानिध्यमा पुग्नबाट बन्चित हुनु भएको हो र अज्ञानता, अनइच्छा तथा आलोचना बहानाको रुपमा प्रकट भएको हो वहाँहरुको जीवनमा । पात्रता पुगेको छैन भने व्यक्ति आफूले चाहेर पनि सदगुरुको सानिध्यमा पुग्न सक्दैन, अध्यात्म साधनामा आफूलाई लान सक्दैन  यसकालागि उसले यो जन्म तथा आउने जन्महरुमा अध्यात्म साधना गरेर आफ्नो पात्रता पुर्याउनु नै पर्छ अनिवार्य रुपमा, यो अध्यात्म विज्ञानको अकाट्य नियम हो । यो सन्दर्भलाई व्यवहारिकताबाट बुझौं, पधेरामा पानी लिन जाँदा जत्रो पात्र(भाँडो) लिएर गईन्छ त्यति नै बराबर पानी भर्न र ल्याउन सकिन्छ, सदगुरु तत्वद्रष्टा हो र ब्रम्ह ज्ञानको महासागर हो, हामीसंग सदगुरुरुपि उक्त महासागरमा ज्ञान उगाउने पात्र कत्रो छ त्यतिनै बराबरको ज्ञान हामीलाई प्राप्त हुन्छ, हामीसंग पात्र नै छैन भने सदगुरुसम्म पुग्नुको कुनै औचित्य नै छैन तसर्थ पहिला आफूमा पात्रता निर्माण गर्नुपर्छ । अध्यात्म विज्ञानमा 'ज्ञान', 'विद्या', तथा 'प्रज्ञा' भनेको आफूभित्र गरिएको अन्तरयात्राबाट प्राप्त आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान र यससंग सम्बन्धित अलौकिक दिव्य अनुभव तथा भावातीत अनुभूतिहरु  हुन्; भौतिक संसारमा हासिल गरिएका डिग्री, मान, पदवीहरु होइनन्; सबै डिग्री, मान, पदवीहरु अविद्या हुन्, जानकारी तथा सूचनाहरु हुन्, यी अनित्य हुन्छन् जो मृत्यु पश्चात हामीबाट छुट्छन्; मृत्यु शरीरबाट आत्मा अलग भएको शाश्वत अवस्था हो, मृत्यु पश्चात आत्माको अर्को जन्मको तयारी तथा प्रक्रिया शुरू हुन्छ तसर्थ मृत्यु पुनर्जन्मको द्योतक हो र वास्तविक अर्थमा मृत्यु उत्सव हो रोदन होइन किनकी नयाँ निर्माण हुन पहिला पुरानो सकिनु पर्छ ।


विषय प्रवेश

सदगुरु परमात्माको महाउर्जाको दिव्य प्रकाश स्वरुप हो र गुरुसत्ता महाउर्जाको दिव्य प्रकाशपुञ्ज हो । परमात्मा साक्षातकार तथा मोक्ष प्राप्तिकालागि गरिने योग विज्ञान तथा ध्यान विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुको सैद्धान्तिक ज्ञान लिनु र व्यवहारिक अभ्यास गर्नु अध्यात्म साधना हो । अध्यात्म साधनाको माध्यमबाट बुद्धत्व, मोक्ष तथा निर्वाण प्राप्त गरेका परम प्रकाशित सिद्ध महापुरुष (विकसित आत्मा अर्थात चेतना)हरु नै अध्यात्मको पथप्रदर्शक, अरुलाई अध्यात्मको ज्ञान प्रदान गर्ने, परमात्मा अर्थात इश्वरको महिमा वर्णन गर्ने सदगुरु हुन् । सदगुरु निराकार परमात्मा अर्थात इश्वर अर्थात हरिका साक्षात आकार स्वरुप हुन् जसमा अध्यात्मका निष्ठावान साधकहरुलाई आफैं जस्तो सिद्धपुरुष बनाउन सक्ने दिव्य क्षमता रहेको हुन्छ ।


सदगुरु नै हरिगुरु अर्थात इश्वर हुन्

संस्कृत भाषाको ‘गुरु’ शव्द संज्ञा हो, गुरु शव्दको अर्थ ज्ञान हो तसर्थ ज्ञान प्रदान गर्ने व्यक्तिलाई गुरु भनिएको हो । मानिसको जीवनको वाहिरी पर्दा उघार्ने व्यक्ति गुरु हो र जीवनको भित्रि पर्दा उघार्ने व्यक्ति सदगुरु हो जसले  इश्वर अर्थात परमात्मा अर्थात परब्रह्मको शाश्वत सत्यलाई अध्यात्म साधनाको माध्यमबाट व्यवहारीक रुपमा जानेको तथा पहिचान गरेको हुन्छ । यसैकारण यो श्लोकमा भनिएको छ, “गुरुर्ब्रह्मा गुरर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुर्साक्षात परब्रह्म तस्मै श्रीगुरवे नमः ।।” अर्थात ‘गुरु ब्रह्मा, विष्णु, महेश्वर हुन्, र गुरु स्वयं परब्रह्म अर्थात परमात्माका स्वरुप हुन्’। सदगुरु अध्यात्म तथा धर्मको पथप्रदर्शक भएकाले सदगुरुलाई अध्यात्मगुरु तथा धर्मगुरुका रुपमा पनि मान्ने तथा जान्ने गरिन्छन् । सदगुरु आत्मज्ञानी, ब्रह्मज्ञानी, तत्वद्रष्टा तथा शाश्वत सत्यदर्शी हुन्छन् । सनातन धर्मका अनुसार शिष्यको आध्यात्मिक जीवनमा सदगुरुको महत्वपूर्ण स्थान रहेको हुन्छ । भनिन्छ गुरुबिना ज्ञान हुदैन, ज्ञानबिना जीवन पूर्ण हुदैन र जीवनमा पूर्णताबिना मुक्ति तथा मोक्ष हुदैन । मानिसलाई मोक्षका साश्वत परमसत्य परमात्माको उपलव्धतासम्म पुर्याउने एकमात्र सहज माध्यम तथा मार्ग सदगुरु हुन् । सदगुरु शिष्य तथा साधकलाई परमात्मासंग योग गराउने साधक र परमात्माविचको पुल हुन् । सदगुरुको भक्ति गर्नु निराकार परमात्माका आकार स्वरुप साक्षात भगवान त्रिदेव ब्रह्मा, विष्णु, महेशको भक्ति गर्नु सरह मान्यता दिइएको छ तसर्थ सदगुरु नै हरि हुन्, हरि+गुरु = हरिगुरु हुन् । सदगुरु व्यक्ति होइनन् शक्ति हुन् जो भौतिक शरीरमा कम सुक्ष्म शरीरमा ज्यादा रहन्छन् तसर्थ सदगुरु गुरुसत्ता हुन् र गुरुसत्ता स्वयं परमात्माको सत्ता हो । गुरु तथा सदगुरुप्रति समर्पित केही श्लोकहरु–


“यो गुरुः स शिवः प्रोक्तो । यः शिवः स गुरुः स्मृतः ।। अर्थात भगवान शिव नै गुरु हुन् र गुरु नै भगवान शिव हुन्।" वैदिक सनातन धर्मको इतिहासमा भगवान शिवले असार शुक्ल पूर्णिमाका दिन सप्तऋषिहरुलाई पहिलो पटक सनातन अध्यात्म विज्ञानका प्रमुख विषय योग र ध्यानको दिक्षा प्रदान गर्नु भएको थियो तसर्थ भगवान शिवलाई आदिगुरु तथा पहिलो सदगुरु मानिन्छ ।

“गुकाच्श्राँधाकारो हि रुकारस्तेज उच्चते । अज्ञान ग्रासकम ब्रह्मगुरवे न संशय ।। अर्थात गुरु शव्दको अर्थः ‘गु’– अन्धकार तथा अज्ञानता र ‘रु’– प्रकाश तथा ज्ञान हो। गुरु त्यो हो जसले शिष्यलाई अन्धकारबाट प्रकाशतिर लान्छ र अज्ञानताबाट ज्ञानतिर लान्छ।"

“गुकारच्श्र गुणातीतो रुपातीतोरुकारकः । गुणरुप बिहीनत्वात गुरु रीत्य भिधियते ।। अर्थात गुरु शव्दको अर्थ ‘गु’– गुणातीत र ‘रु’– रुपातीत हो। गुरु गुण र रुपबाट अतित अर्थात पर हुन्छ, गुण र रुपले गुरुलाई छुदैन ।"

 

सदगुरुका छ लक्षण–

“ज्ञान वैराग्यं ऐश्वर्यं यशः श्रीः समुदमहतं । षड गुणौश्वर्यं युक्तो हि भगवान् श्री गुरु प्रिय ।। अर्थात ज्ञान, वैराग्य, यश, लक्ष्मी, मधूरवाणी भएको व्यक्ति गुरु हो । जसमा यी गुणहरु छैनन् उ गुरु हुन योग्य व्यक्ति मानिदैन ।"

 

सदगुरु, महाउर्जाको प्रकाशपुञ्ज र प्रभाव

अध्यात्म साधना मानिसको शरीरको सुक्ष्म शरीरको मेरुदण्डमा स्थित प्रमुख सात चक्रहरुमा सुसुप्त अवस्थामा  रहेको कुण्डलिनी उर्जा जागृत गर्न अनुशरण गरिने अत्यन्तै प्रामाणिक वैज्ञानिक साधना पद्धति हो । अध्यात्मको साधनामा साधनारत रहदा साधकको सहश्रार चक्रबाट परमात्माको दिव्य उर्जाको प्रकाशपुञ्जको तेजोमय प्रवाह साधकको शरीरमा प्रवेश गर्दछ । यो दिव्य उर्जाको प्रकाशले साधकको शरीरका सात चक्रहरुलाई जागृत गर्दछ र जागृत चक्रहरुमा कुण्डलिनी उर्जाको प्रवाह बढ्छ । अध्यात्म विज्ञानको निष्ठापूर्वक साधना गरेका सिद्ध व्यक्ति, शिष्य तथा साधकहरु मात्र सदगुरु हुन सक्छन् जो परमात्माको महाउर्जाको प्रकाशपुञ्जमा समाहित भैसकेका हुन्छन् । सदगुरुहरु भौतिक संसारमा स्थुल शरीरमा देखिएतापनि पराभौतिक संसारमा परमात्मासंग निरन्तर साक्षातकार तथा संवादमा रहेका हुन्छन् र परमात्मा प्रदत्त ज्ञान तथा करुणा सर्वकल्याणकालागि आफ्नो भौतिक शरीरको माध्यमबाट संप्रेषित गरिरहेका हुन्छन् परमात्माको प्रतिनिधिको रुपमा पराभौतिक जगतको परमात्मा र भौतिक जगतका साधकहरुलाई जोड्ने सेतु बनेर ।


चक्र जाग्रीत भएर शरीरमा कुण्डलिनी उर्जाको प्रवाह बढेपछि सदगुरुको आभामण्डलमा शुद्धता तथा दिव्यता आउँछ र आभामण्डलको गुणस्तरका साथसाथ परिमाण तथा फैलावट पनि बढ्दै जान्छ । भगवान तथा सदगुरुहरुको तस्वीरमा शिर र शरीरको वरीपरि देखिने प्रकाशपुञ्ज नै आभामण्डल हो, यो निराकार हुन्छ, आममानिसले देख्न सक्दैनन् तर सिद्ध सदगुरुहरुले सहजै देख्न सक्छन् । आभामण्डलबाट अविरल परमात्माको दिव्य उर्जाको प्रकाशपुञ्जको प्रवाह बहिरहेको हुन्छ र यसको दिव्य प्रभाव सदगुरुको वरपर साथै टाढासम्म पुग्दछ र यो दिव्य उर्जा तथा प्रकाशले सृष्टिमा सबैको कल्याण गर्दछ । विशेषतः महाउर्जाको प्रकाशको निरन्तर प्रवाह सबैभन्दा बढि क्रमशः सदगुरुका पाउ, हात, आज्ञा चक्र, आँखा र पुरै शरीरबाट भैरहेको हुन्छ । सदगुरुका पाउ र हातबाट सबैभन्दा बढि दिव्य उर्जाको प्रकाश प्रवाहित हुने हुनाले उर्जा आफूमा ग्रहण गर्न साधक तथा शिष्यहरुले सदगुरुको पाउमा शिर राखेर ढोग्ने, पाउ स्पर्श गर्ने, साष्टांग दण्डवत गर्ने, शिरमा हात राखिदिन आग्रह गर्ने, सदगुरुको आँखा सामुन्ने जाने तथा नजरमा पर्ने आदि प्रयास गर्दछन् ।


आचार्य ओशो रजनीशले आफू सिद्धपुरुष भएको १५ वर्ष पछिमात्र यो जानकारी सार्वजनिक गर्नुभयो, त्यसपछि वहाँको दिव्य उर्जाको प्रकाश प्राप्त गर्न अध्यात्म साधकहरुको भिड लाग्न थाल्यो । सदगुरु र गुरुसत्ताबारे ज्ञान भएका अध्यात्म साधकहरुले साष्टांग दण्डवत गरेर आफ्नो शिरमा ओशोका पाउ राखिमागेका फोटोहरु पनि सार्वजनिक भएका थिए । सिद्ध पुरुषहरुको पुरै शरीर सुर्यसमान प्रकाशको तेजझैं जगमगाइरहेको हुन्छ, शरीरबाट निरन्तर दिव्य सुगन्ध प्रवाहित भैरको हुन्छ, शरीरबाट निस्काशित हुने सबै प्रकारका मलहरु समेत सुगन्धित हुन्छन् । यसैकारण तिब्बतियन लामाहरु भगवान दलाईलामाको दिशा समेत संरक्षित गरेर राख्दछन् र अनुयायीहरुलाई प्रसादको रुपमा वितरण गर्ने गर्दछन् । तर आम मानिसहरुले भगवान तथा सदगुरुहरुको शरीरबाट प्रवाह भैरहने प्रकाश तथा सुगन्ध अनुभव गर्न सक्दैन किनकी यो निराकार तथा निर्गुण हुन्छ, वाहिरी इन्द्रियहरुको अनुभूतिमा आउदैन, अध्यात्म साधना सिद्ध गरेका, तेस्रो नेत्र अर्थात दिव्य चक्षु जागृत भएका साधकहरुले मात्र प्रकाश देख्न तथा सुगन्ध अनुभव गर्नसक्छन् दिव्य चक्षु अर्थात तेस्रो नेत्रको माध्यमबाट । म, (पंक्तिकार सिर्जना भण्डारी) स्वयंले ध्यान साधनामा रहदा मेरो सदगगुरुको शरीर सुर्यको प्रकाश समान झलमल्ल बलेको र बिनाकुनै श्रोत पटक-पटक श्रीखण्डको सुगन्ध हररर आएको अनुभूति गरेको छु प्रत्यक्ष रुपमा ।


सदगुरुको दिव्य उर्जाको प्रकाशको प्रवाहको दिव्य अनुभूति ब्रम्हाण्डमा भएका मानिस लगायत प्राणी, जीव, वनस्पति, पदार्थ तथा पुरै प्रकृतिले गर्ने गर्दछन् किनकी ब्रम्हाण्डका हरेक सृष्टि स्वयं ब्रम्ह हुन्, सबैमा आ–आफ्नो प्रकारको चेतना तथा समवेदना हुन्छ । यो कुरा आधूनिक विज्ञानले पनि मान्दछ र यसउपर धेरै पाठ्य सामग्रीहरु उपलव्ध छन् । प्रकृतिमा भएका हरेकले हरेकको भाषा, व्यवहार तथा भाव बुझ्दछन र त्यस्तै प्रकारको व्यवहार प्रकट गर्दछन् । बौद्ध दर्शनमा उल्लेख गरिएको छ कि भगवान बुद्ध बाटोमा हिंड्नु हुदा बेमौसममै फूलहरु सुगन्ध छर्दै फुल्थे, बाटाका काँढाहरु भगवानलाई चोट लाग्ला भनेर आफैं घोप्टो पर्थे, हिंस्रक जनाबरहरु नतमस्तक भएर भगवानको स्वागत तथा सम्मान गर्थे... आदि । दिव्य उर्जा भएको स्थानमा समय अगावै फूल फूलेको म (पंक्तिकार) स्वयंले पनि अनुभव गरेको छु । सन् २०२२ मा महाशिवरात्रिमा मैले आफैंले हाँगा काटेर एकै समयमा, उस्तै भाँडोमा, उही वातावरणमा प्रजनन् गरेको कृष्णकली फूलका दुईवटा विरुवामा एउटा चावहिलमा रहेको आधूनिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानको परिशरमा प्राणप्रतिष्ठा गरिएको आदिगुरु भगवान श्रीशिवलाई अर्पण गरेको थिएं । जीवन विज्ञानको परिशरमा रहेको कृष्णकलीको विरुवा म कहाँ भएको विरुवा भन्दा एक महिना अघिनै अति सुन्दर ढकमक्क भएर फुल्यो तर म कहाँ भएको विरुवा ढिलो र कम परिमाणमा ठिकठिकै फुल्यो ।


सदगुरुको दिव्य उर्जाको प्रकाशको आशिर्वाद

सदगुरुको दिव्य उर्जाको प्रकाश तथा आशिर्वाद प्राप्त भएपछि पात्रता पुगेका शिष्य तथा साधकहरुमा स्वतः आध्यामिक प्रगति हुदैजान्छ । शिष्यको पात्रता अनुसार प्रगतिको प्रक्रिया प्रारम्भ र पूर्ण हुन्छ । सदगुरुको दिव्य उर्जाको प्रकाशको प्रभावले -

(१) शिष्यको आभामण्डल सफा हुन्छ– सदगुरुको दिव्य उर्जाको प्रकाश शिष्यलाई आशिर्वाद स्वरुप प्राप्त भएपछि विस्तारै उसको आभामण्डलमा भएका खरावी तथा छिद्रहरु सफा हुदै र पुरिदै जान्छन् र उसको अध्यात्म साधनामा प्रगति हुनथाल्छ ।

(२) शिष्यका रोगहरु निको हुन थाल्छन्– आभामण्डल सफा भएपछि शिष्यका शरीर, मन, भाव, चित्तका रोगहरु स्वतः निको हदै जान्छन् किनकी मानिसलाई आभामण्डल विक्रीत भएको कारणले रोग लाग्दछ, आभामण्डलको शुद्धिकरण भएपछि  उ निरोगी बन्दै जान्छ र उसको अध्यात्म साधनामा प्रगति हुनथाल्छ ।

(३) शिष्यको मन विचारशुन्य तथा शान्त हुन थाल्छ– आभामण्डल शुद्ध भएपछि व्यक्ति शारीरिक, मानसिक तथा भावनात्म रुपले स्वस्थ हुने भएकोकारण उ सुखी, खुशी, शान्त तथा आनन्दित हुन्छ  उसको मनको बेचैनी, अतिविचार, नकारात्मक विचार, बेतुकका प्रश्न तथा जिज्ञासाहरु आफैं कम हुदै जान्छन, मन शान्त, शुन्य र एकाग्र हुदै जान्छ र उसको अध्यात्म साधनामा प्रगति हुनथाल्छ ।

(४) शिष्यमा चमत्कारिक अनुभव तथा अनुभूतिहरु घटित हुन थाल्छन्– शान्त मन, एकाग्र चित्तले साधना गर्दा साधकमा ध्यानको अवस्था घटित हुन्छ र ध्यानको गहिराईमा समाधि घटित हुन्छ । ध्यान तथा समाधिको अवस्थामा साधनाको गहिराई अनुसार साधकले भौतिक संसारमा कल्पना गर्न नसकिने तथा असम्भव ठानिएका चमत्कारीक घटना, विषय तथा गतिविधिहरु अनुभूति गर्नथाल्छ र उसको अध्यात्म साधनामा अझ राम्रो प्रगति हुदैजान्छ ।
 

आध्यात्मिक प्रगतिकालागि सदगुरु आवश्यक हुन्छ

सदगुरुले शिष्यहरुलाई आध्यात्मिक तथा धार्मिक विषयका विद्या प्रधान ज्ञान, प्रज्ञा, विवेक सिकाउछ। सदगुरुले अध्यात्म साधनाबाट प्राप्त आफ्नो आन्तरीक दिव्य शक्तिले शिष्यहरुलाई दिक्षा प्रदान गरी अज्ञानता तथा अन्धकारबाट वाहिर ल्याउदछ र दिव्य शक्तिको दिक्षा लिने शिष्यहरुलाई ज्ञान तथा प्रज्ञाको प्रकाश, सत्य र परमात्माको परम आनन्दतिर लैजान्छ। सदगुरुले प्रदान गर्ने ज्ञानकै कारणले मानिसको जीवन पूर्ण अर्थात सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित हुने भएकोले सदगुरुको ज्ञानदान तथा सेवादानलाई श्रद्धा प्रदान गर्न सम्मान स्वरुप सनातन वैदिक परम्परामा गुरुपूर्णिमा पर्व मनाउने संस्कारको प्रारम्भ गरिएको हो । गुरु पूर्णिमामा गुरुको श्रद्धा तथा पूजा गुरुबाट पाएको ज्ञान, शक्ति, शान्ति, आनन्द, योग र ध्यानको सम्मान स्वरुप गुरुप्रति श्रद्धा, प्रेम तथा भक्ति प्रकट गर्नकालागि गरिएको हो। असार महिना वर्षा ऋतु भएको कारण न धेरै गर्मी न धेरै ठण्डा हुने औषत प्रकारको शितल वातावरण हुने हुनाले यो समय अध्ययन तथा अध्यापनका लागि उचित ठहर गरि यही समय गुरु दिक्षाकालागि चयन गरिएको हो ।

 ********************************
सन्दर्भ सामग्री :
अध्यात्ममा यूवाको रुचि र आकर्षण बढाउन सदगुरुको भूमिका
ओशोको साधना सिद्धि सार्वजनिक

Wednesday, 2 October 2024

जीवन र सार्थकता

                                         डा. सिर्जना  भण्डारी 

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन






भोक नभए भोजन व्यर्थ हुन्छ ! गुण नभए रुप व्यर्थ हुन्छ ! होस नभए जोश व्यर्थ हुन्छ ! सदुपयोग नभए धन व्यर्थ हुन्छ ! अर्थ नभए शव्द व्यर्थ हुन्छ ! विनम्रता नभए विद्या व्यर्थ हुन्छ ! साहस नभए तलवार व्यर्थ हुन्छ ! श्रद्धा नभए पूजा व्यर्थ हुन्छ ! परोपकार नभए मानिस व्यर्थ हुन्छ ! प्रेम नभए जीवन व्यर्थ हुन्छ ! किनकी प्रेम स्वयं परमात्मा हो । प्रेम अर्थात परमात्माका स्वरुपहरू अनेक छन्–
- स्नेह आफूभन्दा सानालाई !
- मायाँ हृदयको प्रियतमलाई !
- मैत्री आफू समान सहकर्मीलाई !
- श्रद्धा आफू भन्दा ठूलालाई !
- प्रशंशा उत्प्रेरणा जगाउनलाई !
- दया निरिह तथा निमुखाहरुलाई !
- करुणा आवश्यकता भएकाहरुलाई !
- उपकार समस्यामा परेकाहरुलाई !
- सेवा सृष्टिका सबैलाई !
- दान आफ्नो आत्मसन्तुष्टिलाई !
- भक्ति इश्वर अर्थात परमात्मा अर्थात परब्रम्ह अर्थात अस्तित्वलाई ! 


परमात्मा निराकार, निर्गुण स्वरुपमा हाम्रो भित्र र वाहिर सर्वत्र फैलिएको छ । हामी परमात्माबाट सिर्जित ब्रम्हाण्डिय महाउर्जामा पौडीरहेका छौं तर हामीलाई यो ज्ञान छैन जसरी पानीमा बाँचीरहेको माछालाई थाहा छैन उ महासागरमा पौडीरहेको छ, महासागर नै उसको जीवनको मूल आधार हो, मूल अस्तित्व हो भनेर । मानिसका चर्मचक्षुले हाम्रोे वरीपरि रहेको परमात्माको महाउर्जा देख्न सक्दैन, यसकालागि दिव्यचक्षु अर्थात तेस्रो आँखा खुल्नु आवश्यक हुन्छ र दिव्यचक्षु खोल्ने एकमात्र उपाय अध्यात्म साधना हो तसर्थ आफ्नो जीवनमा योग तथा ध्यान साधना अनुशरण गरौं र परमात्मालाई जान्ने तथा प्राप्त गर्ने मुक्तिको मार्गमा शरीर, मन, भाव, चित्तमा उर्जा तथा शाक्ति छँदै लागौं र मनुष्य जीवन सार्थक तथा प्रेममय बनाऔं, के थाहा माथि उल्लेखित स्वरुपहरु मध्य कुन रुपमा परमात्माले हाम्रो परिक्षा लिरहेको छ तथा हाम्रोको समिप आइरहेको छ ! त्यसैले आफ्नो अगाडि आएका हरप्रकारका अवसरहरुलाई बुझौं र त्यसको सम्मान र सही सदुपयोग गरौं । bsirjana@gmail.com

Tuesday, 1 October 2024

विचारका उर्जाका तरंगहरुको प्रभाव प्रकृति तथा ब्रम्हाण्डभरी पर्दछ

                                       डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन


“हरेक विचार अणु जत्तिकै शक्तिशाली हुन्छ, मेरै विचारले मेरो भाग्य निर्माण गर्दछ ।” –खप्तड बाबा


विषय प्रवेश

विचारनै ब्रम्हाण्डको सृष्टिको मूल कारण हो । मानिसको जीवनमा पनि विचारनै सबैथोक हो र विचारबाट नै मानिसको जीवनका सबै गतिविधिहरु निर्माण तथा निर्धारीत भएका हुन्छन् । अध्यात्म विज्ञान र प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) दुवैको तथ्यगत मान्यता रहेको छ कि पुरै ब्रह्माण्ड उर्जाका तरंगहरुको फैलावट हो र उर्जाको मूल श्रोत विचार हो । सरल भाषामा भन्नुपर्दा मेरै विचारको फैलावट मेरो जीवन र पुरै सृष्टि हो किनकी हाम्रा विचारहरु नै प्रशोधित भएर वस्तुको रुपमा अस्तित्वमा आउँछन् । मानिसको मनमा विचार दुई प्रकारले उत्पन्न हुन्छन्– (१)अवचेतन तथा अचेतन मनमा रहेका स्मृतिहरुबाट– मानिस वर्तमान अवस्थामा साक्षी नभएर आफ्नो मन तथा ध्यानलाई वितेका स्मृतिहरुमा तथा भविश्यका कल्पनाहरुमा केन्द्रित गरको समयमा ऊसको मनमा विविध विषयका विचारहरु उत्पन्न हुने गर्दछन् । (२)ज्ञान इन्द्रियहरुवाट प्राप्त सूचनाबाट– मानिस वर्तमान अवस्थामा साक्षी तथा सजग भएर हेर्ने, सुन्ने, छुने, सुघ्ने, स्वाद लिने आदि कामहरु गरिरहेको अवस्थामा उसले ज्ञानइन्द्रियहरुवाट विविध प्रकारका सूचनाहरु प्राप्त गर्दछ, यी सूचनाहरुले मस्तिष्कका स्नायु प्रणालीहरुमा स्पन्दन(फायरिङ्ग) सिर्जना गर्दछन् र त्यहाँ एकप्रकारको उर्जाको तरंग पैदा हुन्छ, यही तरंग उक्त सूचनाबारे उत्पन्न भएको सोच हो, सोचहरुको समुह विचार हो र विचारहरुको समुह मन हो ।


स्मृति तथा कल्पनाबाट र ज्ञानइन्द्रियहरुबाट उत्पन्न भएका यीनै सकारात्मक, सामान्य तथा नकारात्मक विचारहरुको उर्जाको तरंग निरन्तर हामीबाट वाहिर निस्केर ब्रम्हाण्डमा प्रवाहीत भैरहेको हुन्छ र ब्रम्हाण्डका हरेक मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थ तथा प्रकृतिलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । नकारात्मक विचारको प्रभाव नकारात्मक किसिमले नै पर्दछ र सकारात्मक विचारको प्रभाव सकारात्मक किसिमले नै पर्दछ । विचारको यही प्रभावलाई प्रमात्रा विज्ञानले बटरफ्लाई इफेक्टको सिद्धान्त भनेको छ र यो सिद्धान्तले विश्व प्रसिद्ध नोवेल पुरस्कारको सम्मान समेत प्राप्त गरेकोछ । वैदिक सनातन शास्त्र उपनिषदका रचाइता ऋषि तथा प्राचीन वैज्ञानिकहरुले भन्नुभएको छ, ब्रम्हाण्ड माकुराको जालो हो जसलाई इश्वार अर्थात परमात्माले आफूभित्र रहेको उर्जा प्रकट गरेरे निर्माण गरेको हो, हामी सबै ब्रम्ह हौं, हामीभित्र पनि परमात्मा कै  उर्जा छ । यो उर्जा एकआपसमा अन्तर–सम्वन्धित रहेको तथा आपसमा जेलिएको हुनाले यहाँ कुनै एक ठाउँमा भएको सानो हलचलले अर्को ठाउँमा तुरुन्त प्रभाव पार्दछ । यही यथार्थलाई प्रमात्रा विज्ञानको पछिल्लो खोज बटरफ्लाई इफेक्टको सिद्धान्तले प्रमाणित गरेकोछ ।


विचारको शक्ति

हरेक विचार शक्तिशाली अणु उर्जा हो जसमा ब्रम्हाण्डका हरेक वस्तुहरुको निर्माण गर्ने सामथ्र्य छ । स्वामी विवेकानन्दले मानिसको मनमा उठ्ने विचारहरु कति शक्तिशाली हुन्छन्, ती विचारहरु कसरी प्रशोधित हुदै जान्छन् र मानिसको जीवनमा ती विचारहरुले कसरी, कस्तो प्रभाव पार्दछन् भन्ने सन्दर्भमा गहन विश्लेषण गर्नुभएको छ । वहाँका अनुसार विचारको प्रशोधन प्रक्रिया– (१)ज्ञान इन्द्रियहरुको सूचनाबाट सोच बन्छ, (२)सोचबाट विचार बन्छ, (३)विचारबाट ज्ञान तथा अनुभव बन्छ, (४)ज्ञान तथा अनुभवबाट व्यवहार बन्छ, (५)व्यवहारबाट बानी बन्छ, (६)बानीबाट क्रिया, कर्म तथा काम बन्छ, (७)क्रिया, कर्म तथा कामबाट व्यक्तित्व बन्छ, (८)व्यक्तित्वबाट भाग्य बन्छ, (९)अघिल्लो जन्मको व्यक्तित्व यो जन्मको भाग्य हो, र (१०)यो जन्मको व्यक्तित्व पुनरजन्म अर्थात आगामी जन्मको भाग्य हो । शिद्ध महापुरुषबाट विचारको यो प्रशोधन प्रक्रियामा हाम्रा दैनिक गतिविधिहरुबाट उत्पन्न हुने एउटा सानो विचार तथा सानो गतिविधिको प्रत्यक्ष सम्वन्ध र त्यसको प्रभाव हाम्रो जन्म–जन्मको भाग्यसंग जोडिएको ज्ञान प्रष्ट पारिएको छ । हाम्रो जीवन सरल, सहज, स्वस्थ, सुखी, खुशी, समृद्ध, प्रतिष्ठित, शान्त र आनन्दित बनाउन हामीले दैनिक रुपमा कस्ता विचार तथा गतिविधिहरु गर्नु पर्दछ भन्ने ज्ञान लिन यो विचार प्रशोधन विश्लेषण पर्याप्त छ ।


विचारको प्रभाव

विचार अत्यन्त शक्तिशाली उर्जा हो । सबै प्रकारका विचारका उर्जाका तरगंहरु हाम्रो वरीपरि अदृश्य रुपमा वाइफाईको सिग्नल जस्तैगरि फैलिएका तथा जेलिएका हुन्छन् र हामीलाई निरन्तर विविध प्रकारले प्रभाव पारिरहेका हुन्छन् । सकारात्मक विचारका उर्जाका तरगंहरुले सुख शान्ति, समृद्धि आनन्द सिर्जना गर्दछन् तथा बढाउँछन् । नकारात्मक विचारका उर्जाका तरगंहरुले रोग(शारीरिक, मानसिक, भावनात्मक, आत्मिक) दुःख, पिडा, अशान्ति, असफलता, नराम्रो अनुभूति गराउँछन् भने सामान्य प्रकारका विचारका उर्जाका तरगंहरुको प्रभाव समान्य नै रहन्छन् न सकारात्मक न नकारात्मक । विचारका उर्जाका तरंगहरु तीन किसिमले संचारीत हुन्छन्– (१)सोच, (२)ध्वनी, र (३)क्रिया । ध्वनी र क्रियाबाट संचारीत हुने विचारका उर्जाका तरंगहरुको प्रभाव हामी देख्न, महसुुस गर्न तथा अनुभव गर्न सक्छौं र त्यसको सही व्यवस्थापनमा काम गर्न सक्छौं तर सोचको उर्जाका तरंगहरुको प्रभाव देख्न सकिदैन र सबै राम्रा तथा नराम्रा घटनाहरुको मूल श्रोत सोच र सोचबाट बन्ने भाव नै हो । मानिसले बोलेर तथा क्रिया गरेर त्यति धेरै उर्जा तरंग छोड्दैन जति विचारबाट छोड्छ । आधूनिक मनोविज्ञानका अनुसार एक दिनमा मानिसको मनमा ६० हजार विचारहरु उत्पन्न हुन्छन् तथा चल्छन् र ती सबै विचारका उर्जाका तरंगहरु हाम्रो वरीपरि प्रवाहीत भैरहेका हुन्छन् र तीनको स्वाभाव अनुसार तीनले विचार उत्पन्न गर्ने व्यक्ति र उसको आसपासका व्यक्ति, प्राणी तथा वस्तुहरुमा सकारात्मक तथा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । यस्तो अवस्थामा प्रभावित हुने व्यक्ति, प्राणी तथा वस्तुहरुको स्वाभाव तथा मनोदशा पनि विचारको उर्जा तरङ्ग जस्तो छ त्यस्तै प्रकारको बन्दछ ।


खप्तड बाबाले आफ्नो प्रसिद्ध तथा लोकप्रिय पुस्तक विचार विज्ञानमा भन्नु भएको छ, “खराव तथा नकारात्मक विचारहरुले शरीरमा हानिकारक रसहरु(हर्मोन्स) उत्पन्न गर्दछन्, ती हानिकारक रसहरु शरीरको रगत, मांसपेसि, बोसो, नशा, कोशिका हुदै शरीरका सबै अंगहरुमा फैलिन्छ र ती अंगहरुलाई कमजोर बनाउन थाल्छन्, परिणामस्वरुप यस्ता कमजोरीहरु शरीरका अंगमा शारीरिक रोगका रुपमा, मन तथा मस्तिष्कमा मानसिक रोगका रुपमा, भावनामा क्रोध, घृणा, बदलाको भावका रुपमा र आत्मामा हिनता वोध, आत्मविश्वास तथा आत्मसम्मानमा कमीका रुपमा देखा पर्दछन् । राम्रा तथा सकारात्मक विचारहरुले शरीरमा फाइदा पुर्याउने रसहरु उत्पन्न गर्दछन् र शरीरका सबै अंगहरुमा फैलिन्छन्, रोगसंग लड्ने क्षमता बढाएर हरप्रकारको रोग लाग्नबाट रोकथाम गर्दछन्, मानिसलाई सकारात्मक, क्षमतावान, प्रतिभावान, सिर्जनशील, दृढ, संकल्पकृत, आत्मविश्वासले भरिएको बनाउँछन् र सरल तथा सहज जीवन जिउन मद्धत गर्दछन् ।” पूर्वीय सनातन दर्शनका वैदिक शास्त्रहरुबाट अति प्रभावित भएर पश्चिमि लेखिका लुइज हेका पुस्कतहरुमा कस्ता प्रकारका विचारहरुले मानिसको शरीर, मन, भाव, तथा आत्मामा कस्ता प्रकारका रोगहरु लाग्दछन् र कसरी आफ्ना विचारहरुको सही व्यवस्थापन गरेर ती रोगहरु उत्पन्न हुनबाट रोक्न तथा लागेको रोग निको गर्न सकिन्छ भन्नेबारे तथ्यगत प्रस्तुतिकासाथ स्पष्ट गरिएको छ । उनी स्वयं क्यान्सर रोगी थिइन र आफ्ना विचारहरुको सही व्यवस्थापन गरेर क्यान्सर जस्तो रोग समेत निको गरेकीछिन् । यस्ता उदाहरणहरु अझै थुप्रै छन विश्व समाजमा ।


नकारात्मक विचारका उर्जाका तरंगहरुको प्रभाव हाम्रा हरेक गतिविधिहरुमा पर्दछन् । आमरुपमा भनिन्छ भान्से र सवारी चालकलाई सदा प्रसन्न राख्नु पर्छ अर्थात उनीहरुमा नकारात्मक विचार उत्पन्न हुने वातावरण सिर्जना गर्नु हदैन । किनकी मानिसको जीवन सबैभन्दा महत्वपूर्ण हुन्छ र जीवनको प्रमुख आधार खानपिन र चल्ने तथा हिंड्डुल गर्ने गतिविधि हो । यदि भान्सेमा नकारात्मक विचारहरु उत्पन्न भैरहेकाछन् भने उसले नचाहेर पनि थाहा नपाइकन उक्त विचारका उर्जाका हानिकारक तरंगहरु उसले पकाएको, छोएको, हेरेको तथा देखेको खानामा संचारीत हुन्छन् र खाना दुषित हुन्छ र यस्तो खाना स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसैकारण भनिएको हो रिसाएको बेलामा आमाहरुले बच्चालाई स्तनपान गराउनु हुदैन भनेर किनकी रिसाएको बेलामा उत्पन्न भएका विचारका उर्जाका तरंगहरु हानिकारक हुन्छन् र स्तनपान, आमाको स्पर्स, दृष्टिको माध्यमबाट बन्चामा सर्दछन् र बच्चाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ । कतिपय अवस्थामा आमाका विचारका हानिकारक तरंगहरूको प्रभाव सहन नसकेकोकारण नवजात शिशुहरुको मृत्यु भएका उदाहरणहरु समेत छन् । त्यस्तै सवारी चालक, विद्यार्थी, शिक्षक, कर्मचारी, श्रमीकहरूमा र उनीहरुले गरेका काम तथा सबै गतिविधिहरुमा नकारात्मक विचारका उर्जाका हानिकारक तरंगहरुको नकारात्मक प्रभाव पर्छ र नकारात्मक परिणाम आउँछ । विचारको प्रभावमा दुरी तथा भूगोगले फरक पार्दैन जस्तोकि यूरोपमा भएको मानिसले एशियामा भएको मानिसको बारेमा नकारात्मक विचार गर्यो भने त्यो विचारको उर्जाको नकारात्मक तरङ्गको प्रभाव नेपालमा बसेको मानिसमा तुरुन्तै पर्छ र उसको मनमा पनि अचानक नकारात्मक भावहरु उत्पन्न हुन्छ्न् । आम रूपमा हामी भन्ने गर्छौं मेरो घाँटी खसखसायो कसैले मेरो कुरा काट्यो क्यारे । यो सत्य हो, घाँटी खसखसाउने एकप्रकारको रस तथा हर्मोनले हुन्छ र अर्को प्रकारको हर्मोनले अर्को अंगमा अर्कै प्रकारको प्रभाव पार्दछ जस्तोकि मन वेचैन हुने, के गरौं के गरौं हुने, अचानक गरिरहेको कामबाट ध्यान हट्ने, तलतल लाग्ने आदि ।


विचारको तोरा

विचारका उर्जाका तरंगहरुको प्रभावशक्ति तथा तोरा(इन्टेनसीटी)का सम्वन्धमा अध्ययनहरु भएका छन् । हिनता वोध, आफू तथा अरुप्रति गरिने गुनासो, गाली, बेइज्यती, पक्षपात, षडयन्त्र, हिंसा, हत्या, आत्महत्या जस्ता विचारहरुका उर्जाका तरंगहरुको तोरा नकारात्मक किसिमले  सबैभन्दा उच्च, हानिकारक, खराव तथा खतरनाक हुन्छन् भने प्रेमका स्वरुपहरु– स्नेह, मायाँ, मैत्री, श्रद्धा, प्रशंशा, दया, करुणा, दान, सेवा, सहयोग, परोपकारका विचारहरुका उर्जाका तरंगहरुको तोरा सकारात्मक किसिमले सबैभन्दा उच्च, राम्रा, प्रभावकारी तथा प्रेरणादायि  हुन्छन् । उच्च तोरा भएका विचारका उर्जाका तरंगहरुको प्रभाव टाढासम्म र लामो सनयसम्म पर्दछन् र यस्तो प्रभाव आफू स्वयंमा सबैभन्दा बढि पर्दछ, वरीपरीका मान्छे तथा अन्य प्राणी, जीव, वनस्पति, पदार्थहरु र पुरै ब्रम्हाण्डमा पर्दछ । तसर्थ हामीले संधै आफूले गर्ने विचारमा सचेत रहनु पर्दछ र विचारको सही व्यवस्थापन गर्ने प्रयास गर्नु तथा गराउनु पर्दछ किनकी यो ब्रम्हाण्ड उर्जाका तरंगहरुको जालो हो, सबैको विचारले सबैलाई सकारात्मक तथा नकारात्मक दुवै किसिमले थाहा नपाउने गरी तर प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ र परिणामहरु पनि आइरहेका हुन्छन् ।


विचारको सही व्यवस्थापन कसरी गर्ने

निरन्तर उत्पन्न भइरहने विचारहरुमा नियन्त्रण गर्नु मुस्किल काम हो, विचारमाथिको नियन्त्रण कसैको वसमा हुदैन तर मुक्त तथा सिद्ध महापुरुषहरुले आफ्नो विचारमा नियन्त्रण राख्न सक्छन् । अति विचार गर्नु हुदैन र नकारात्मक विचारहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर सिकाउने कतिपय मनोविज्ञ, वैज्ञानिक तथा सिद्धहस्त लेखकहरु समेत यही समस्याबाट ग्रसित हुनछन् र यहीकारणले रोगी, समस्याग्रस्त भएका र आत्महत्या समेत गरेका दृष्टान्तहरु रहेकाछन् । पूर्वीय वैदिक शास्त्रहरुका अनुसार थोरै सैद्धान्तिक ज्ञान र धेरै व्यवहारीक अभ्यासका विधिहरुको निष्ठापूर्वक अनुशरणबाट अति विचारका श्रृंखलाहरुलाई केही हदसम्म नियन्त्रण गर्न र नकारात्मक विचारहरुलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ । नकारात्मक विचारहरु आउनबाट बच्न तथा विचारको सही व्यवस्थापन गर्नकालागि अध्यात्म विज्ञानको योग तथा ध्यान साधना अत्यन्त प्रभावकारी विधि रहेको विश्वभरि गरिएका विभिन्न खोज तथा अध्ययनहरुले स्पष्ट रुपमा देखाएका छन् । योग तथा ध्यान साधनाका विधिहरुका अतिरिक्त यस क्षेत्रसंग सम्वन्धित विज्ञहरुले नकारात्मक विचारहरु सामान्यतया अरुले आफूप्रति गरेको मन नपर्ने व्यवहार र आफूले इच्छ्याएको कामको असफलताका कारण उत्पन्न हुने हुनाले आफ्नो मनमा नकारात्मक तथा हिनता वोधका विचारहरु आउन नदिन तथा कम गर्न संक्षिप्त रुपमा निम्न उपायहरु सुझाएका छन्–

(१)घटना तथा परिस्थितिलाई सकेसम्म बेवास्ता गर्ने,
(२)आफ्नो मनलाई सम्झाउने यस्तै हो भनेर,
(३)अर्कोको समस्या तथा बाध्यता बुझ्न प्रयास गर्ने,
(४)आमने–सामने भएर कुरा गर्ने र स्पष्ट हुने,
(५)सकेसम्म वर्तमान अवस्थामा साक्षी भावमा रहने,
(६)हरपल हरेक परिस्थितिमा धन्यवाद भाव, क्षमा भाव, स्वीकार भाव, प्रसंसा भाव, श्रद्धा तथा सम्मान भाव अनुशरण गर्ने,
(७)सेवा, सहयोग, परोपकारको काममा मन लगाउने, समलग्न हुने,
(८)असललतालाई सफलताको कडी बनाउने र गुरु मानेर त्यसबाट ज्ञान तथा शिक्षा लिने,
(९)असफलताको कारण पत्ता लगाएर आफूलाई त्यस पक्षमा अझ सक्षम तथा बलवान बनाउने,
(१०)मनलाई आफूलाई मनपर्ने अन्य क्रियाकलापहरुमा भुलाउने जस्तोकि परिवार, साथीसंगी, प्राकृतिक भ्रमण, खेलकुद, संगीत, नृत्य, चलचित्र, घरपालुवा जनावरहरु आदिमा रमाउने... ।
bsirjana@gmail.com

*************************
सन्दर्भ सामग्री: 

विचार विज्ञान
लुइज हे
विचार तथा मनको सही व्यवस्थापनका लागि इलोक्ट्रोनिक इन्जिनियर लोकप्रिय ब्रह्मकुमारी शिवानी दिदीका प्रवचनहरु सुन्नुहोस्, वहाँका हरेकजसो सामग्रीहरु विचारको सही व्यवस्थापनसंग सम्वन्धित छन् र अत्यन्तै उपयोगी छन् ।
Art of Letting Go !