'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 3 October 2024

अध्यात्म साधनामा सदगुरु, गुरुसत्ता र दिव्य उर्जाको प्रकाशको प्रभाव तथा अनुभव

                                           डा. सिर्जना भण्डारी

                                                       #अध्यात्म_दर्शन  #जीवन_दर्शन



विनम्र अनुरोध

यो लेखमा समावेस गरिएका जानकारीहरु अध्यात्म विज्ञानको पराभौतिक अलौकिक तथ्यहरुसंग सम्वन्धित भएकाले अध्यात्म, धर्म, इश्वर, सदगुरु, गुरुसत्ता र गुरुभक्तिबारे बुझ्ने तथा इश्वरको सत्ता मान्ने अध्यात्म साधकहरुका लागि मात्र हो; अध्यात्म, धर्म, इश्वर, सदगुरु र गुरुसत्ताबारे ज्ञान नभएका, गुरु तथा इश्वरको सत्ता मान्ने, यस सन्दर्भमा ज्ञान लिन अनइच्छुक तथा आलोचना गर्ने व्यक्तिहरुका लागि होइन किनकी यी विषयबारे जान्न, मान्न र ज्ञान लिन रुची जागृत हुन वहाँहरुको पात्रता पुगेकै हुदैन । भनिन्छ, समय भन्दा पहिला र भाग्यमा भएको भन्दा बढि कसैलाई पनि केही पनि प्राप्त हुदैन । वहाँहरुको समय नआइपुगेको र भाग्यमा नभएको कारण अध्यात्म विज्ञान र यसका अलौकिक विषय बुझ्न, जान्न, मान्न, ज्ञान लिन र सदगुरुको सानिध्यमा पुग्नबाट बन्चित हुनु भएको हो र अज्ञानता, अनइच्छा तथा आलोचना बहानाको रुपमा प्रकट भएको हो वहाँहरुको जीवनमा । पात्रता पुगेको छैन भने व्यक्ति आफूले चाहेर पनि सदगुरुको सानिध्यमा पुग्न सक्दैन, अध्यात्म साधनामा आफूलाई लान सक्दैन  यसकालागि उसले यो जन्म तथा आउने जन्महरुमा अध्यात्म साधना गरेर आफ्नो पात्रता पुर्याउनु नै पर्छ अनिवार्य रुपमा, यो अध्यात्म विज्ञानको अकाट्य नियम हो । यो सन्दर्भलाई व्यवहारिकताबाट बुझौं, पधेरामा पानी लिन जाँदा जत्रो पात्र(भाँडो) लिएर गईन्छ त्यति नै बराबर पानी भर्न र ल्याउन सकिन्छ, सदगुरु तत्वद्रष्टा हो र ब्रम्ह ज्ञानको महासागर हो, हामीसंग सदगुरुरुपि उक्त महासागरमा ज्ञान उगाउने पात्र कत्रो छ त्यतिनै बराबरको ज्ञान हामीलाई प्राप्त हुन्छ, हामीसंग पात्र नै छैन भने सदगुरुसम्म पुग्नुको कुनै औचित्य नै छैन तसर्थ पहिला आफूमा पात्रता निर्माण गर्नुपर्छ । अध्यात्म विज्ञानमा 'ज्ञान', 'विद्या', तथा 'प्रज्ञा' भनेको आफूभित्र गरिएको अन्तरयात्राबाट प्राप्त आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान र यससंग सम्बन्धित अलौकिक दिव्य अनुभव तथा भावातीत अनुभूतिहरु  हुन्; भौतिक संसारमा हासिल गरिएका डिग्री, मान, पदवीहरु होइनन्; सबै डिग्री, मान, पदवीहरु अविद्या हुन्, जानकारी तथा सूचनाहरु हुन्, यी अनित्य हुन्छन् जो मृत्यु पश्चात हामीबाट छुट्छन्; मृत्यु शरीरबाट आत्मा अलग भएको शाश्वत अवस्था हो, मृत्यु पश्चात आत्माको अर्को जन्मको तयारी तथा प्रक्रिया शुरू हुन्छ तसर्थ मृत्यु पुनर्जन्मको द्योतक हो र वास्तविक अर्थमा मृत्यु उत्सव हो रोदन होइन किनकी नयाँ निर्माण हुन पहिला पुरानो सकिनु पर्छ ।


विषय प्रवेश

सदगुरु परमात्माको महाउर्जाको दिव्य प्रकाश स्वरुप हो र गुरुसत्ता महाउर्जाको दिव्य प्रकाशपुञ्ज हो । परमात्मा साक्षातकार तथा मोक्ष प्राप्तिकालागि गरिने योग विज्ञान तथा ध्यान विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुको सैद्धान्तिक ज्ञान लिनु र व्यवहारिक अभ्यास गर्नु अध्यात्म साधना हो । अध्यात्म साधनाको माध्यमबाट बुद्धत्व, मोक्ष तथा निर्वाण प्राप्त गरेका परम प्रकाशित सिद्ध महापुरुष (विकसित आत्मा अर्थात चेतना)हरु नै अध्यात्मको पथप्रदर्शक, अरुलाई अध्यात्मको ज्ञान प्रदान गर्ने, परमात्मा अर्थात इश्वरको महिमा वर्णन गर्ने सदगुरु हुन् । सदगुरु निराकार परमात्मा अर्थात इश्वर अर्थात हरिका साक्षात आकार स्वरुप हुन् जसमा अध्यात्मका निष्ठावान साधकहरुलाई आफैं जस्तो सिद्धपुरुष बनाउन सक्ने दिव्य क्षमता रहेको हुन्छ ।


सदगुरु नै हरिगुरु अर्थात इश्वर हुन्

संस्कृत भाषाको ‘गुरु’ शव्द संज्ञा हो, गुरु शव्दको अर्थ ज्ञान हो तसर्थ ज्ञान प्रदान गर्ने व्यक्तिलाई गुरु भनिएको हो । मानिसको जीवनको वाहिरी पर्दा उघार्ने व्यक्ति गुरु हो र जीवनको भित्रि पर्दा उघार्ने व्यक्ति सदगुरु हो जसले  इश्वर अर्थात परमात्मा अर्थात परब्रह्मको शाश्वत सत्यलाई अध्यात्म साधनाको माध्यमबाट व्यवहारीक रुपमा जानेको तथा पहिचान गरेको हुन्छ । यसैकारण यो श्लोकमा भनिएको छ, “गुरुर्ब्रह्मा गुरर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुर्साक्षात परब्रह्म तस्मै श्रीगुरवे नमः ।।” अर्थात ‘गुरु ब्रह्मा, विष्णु, महेश्वर हुन्, र गुरु स्वयं परब्रह्म अर्थात परमात्माका स्वरुप हुन्’। सदगुरु अध्यात्म तथा धर्मको पथप्रदर्शक भएकाले सदगुरुलाई अध्यात्मगुरु तथा धर्मगुरुका रुपमा पनि मान्ने तथा जान्ने गरिन्छन् । सदगुरु आत्मज्ञानी, ब्रह्मज्ञानी, तत्वद्रष्टा तथा शाश्वत सत्यदर्शी हुन्छन् । सनातन धर्मका अनुसार शिष्यको आध्यात्मिक जीवनमा सदगुरुको महत्वपूर्ण स्थान रहेको हुन्छ । भनिन्छ गुरुबिना ज्ञान हुदैन, ज्ञानबिना जीवन पूर्ण हुदैन र जीवनमा पूर्णताबिना मुक्ति तथा मोक्ष हुदैन । मानिसलाई मोक्षका साश्वत परमसत्य परमात्माको उपलव्धतासम्म पुर्याउने एकमात्र सहज माध्यम तथा मार्ग सदगुरु हुन् । सदगुरु शिष्य तथा साधकलाई परमात्मासंग योग गराउने साधक र परमात्माविचको पुल हुन् । सदगुरुको भक्ति गर्नु निराकार परमात्माका आकार स्वरुप साक्षात भगवान त्रिदेव ब्रह्मा, विष्णु, महेशको भक्ति गर्नु सरह मान्यता दिइएको छ तसर्थ सदगुरु नै हरि हुन्, हरि+गुरु = हरिगुरु हुन् । सदगुरु व्यक्ति होइनन् शक्ति हुन् जो भौतिक शरीरमा कम सुक्ष्म शरीरमा ज्यादा रहन्छन् तसर्थ सदगुरु गुरुसत्ता हुन् र गुरुसत्ता स्वयं परमात्माको सत्ता हो । गुरु तथा सदगुरुप्रति समर्पित केही श्लोकहरु–


“यो गुरुः स शिवः प्रोक्तो । यः शिवः स गुरुः स्मृतः ।। अर्थात भगवान शिव नै गुरु हुन् र गुरु नै भगवान शिव हुन्।" वैदिक सनातन धर्मको इतिहासमा भगवान शिवले असार शुक्ल पूर्णिमाका दिन सप्तऋषिहरुलाई पहिलो पटक सनातन अध्यात्म विज्ञानका प्रमुख विषय योग र ध्यानको दिक्षा प्रदान गर्नु भएको थियो तसर्थ भगवान शिवलाई आदिगुरु तथा पहिलो सदगुरु मानिन्छ ।

“गुकाच्श्राँधाकारो हि रुकारस्तेज उच्चते । अज्ञान ग्रासकम ब्रह्मगुरवे न संशय ।। अर्थात गुरु शव्दको अर्थः ‘गु’– अन्धकार तथा अज्ञानता र ‘रु’– प्रकाश तथा ज्ञान हो। गुरु त्यो हो जसले शिष्यलाई अन्धकारबाट प्रकाशतिर लान्छ र अज्ञानताबाट ज्ञानतिर लान्छ।"

“गुकारच्श्र गुणातीतो रुपातीतोरुकारकः । गुणरुप बिहीनत्वात गुरु रीत्य भिधियते ।। अर्थात गुरु शव्दको अर्थ ‘गु’– गुणातीत र ‘रु’– रुपातीत हो। गुरु गुण र रुपबाट अतित अर्थात पर हुन्छ, गुण र रुपले गुरुलाई छुदैन ।"

 

सदगुरुका छ लक्षण–

“ज्ञान वैराग्यं ऐश्वर्यं यशः श्रीः समुदमहतं । षड गुणौश्वर्यं युक्तो हि भगवान् श्री गुरु प्रिय ।। अर्थात ज्ञान, वैराग्य, यश, लक्ष्मी, मधूरवाणी भएको व्यक्ति गुरु हो । जसमा यी गुणहरु छैनन् उ गुरु हुन योग्य व्यक्ति मानिदैन ।"

 

सदगुरु, महाउर्जाको प्रकाशपुञ्ज र प्रभाव

अध्यात्म साधना मानिसको शरीरको सुक्ष्म शरीरको मेरुदण्डमा स्थित प्रमुख सात चक्रहरुमा सुसुप्त अवस्थामा  रहेको कुण्डलिनी उर्जा जागृत गर्न अनुशरण गरिने अत्यन्तै प्रामाणिक वैज्ञानिक साधना पद्धति हो । अध्यात्मको साधनामा साधनारत रहदा साधकको सहश्रार चक्रबाट परमात्माको दिव्य उर्जाको प्रकाशपुञ्जको तेजोमय प्रवाह साधकको शरीरमा प्रवेश गर्दछ । यो दिव्य उर्जाको प्रकाशले साधकको शरीरका सात चक्रहरुलाई जागृत गर्दछ र जागृत चक्रहरुमा कुण्डलिनी उर्जाको प्रवाह बढ्छ । अध्यात्म विज्ञानको निष्ठापूर्वक साधना गरेका सिद्ध व्यक्ति, शिष्य तथा साधकहरु मात्र सदगुरु हुन सक्छन् जो परमात्माको महाउर्जाको प्रकाशपुञ्जमा समाहित भैसकेका हुन्छन् । सदगुरुहरु भौतिक संसारमा स्थुल शरीरमा देखिएतापनि पराभौतिक संसारमा परमात्मासंग निरन्तर साक्षातकार तथा संवादमा रहेका हुन्छन् र परमात्मा प्रदत्त ज्ञान तथा करुणा सर्वकल्याणकालागि आफ्नो भौतिक शरीरको माध्यमबाट संप्रेषित गरिरहेका हुन्छन् परमात्माको प्रतिनिधिको रुपमा पराभौतिक जगतको परमात्मा र भौतिक जगतका साधकहरुलाई जोड्ने सेतु बनेर ।


चक्र जाग्रीत भएर शरीरमा कुण्डलिनी उर्जाको प्रवाह बढेपछि सदगुरुको आभामण्डलमा शुद्धता तथा दिव्यता आउँछ र आभामण्डलको गुणस्तरका साथसाथ परिमाण तथा फैलावट पनि बढ्दै जान्छ । भगवान तथा सदगुरुहरुको तस्वीरमा शिर र शरीरको वरीपरि देखिने प्रकाशपुञ्ज नै आभामण्डल हो, यो निराकार हुन्छ, आममानिसले देख्न सक्दैनन् तर सिद्ध सदगुरुहरुले सहजै देख्न सक्छन् । आभामण्डलबाट अविरल परमात्माको दिव्य उर्जाको प्रकाशपुञ्जको प्रवाह बहिरहेको हुन्छ र यसको दिव्य प्रभाव सदगुरुको वरपर साथै टाढासम्म पुग्दछ र यो दिव्य उर्जा तथा प्रकाशले सृष्टिमा सबैको कल्याण गर्दछ । विशेषतः महाउर्जाको प्रकाशको निरन्तर प्रवाह सबैभन्दा बढि क्रमशः सदगुरुका पाउ, हात, आज्ञा चक्र, आँखा र पुरै शरीरबाट भैरहेको हुन्छ । सदगुरुका पाउ र हातबाट सबैभन्दा बढि दिव्य उर्जाको प्रकाश प्रवाहित हुने हुनाले उर्जा आफूमा ग्रहण गर्न साधक तथा शिष्यहरुले सदगुरुको पाउमा शिर राखेर ढोग्ने, पाउ स्पर्श गर्ने, साष्टांग दण्डवत गर्ने, शिरमा हात राखिदिन आग्रह गर्ने, सदगुरुको आँखा सामुन्ने जाने तथा नजरमा पर्ने आदि प्रयास गर्दछन् ।


आचार्य ओशो रजनीशले आफू सिद्धपुरुष भएको १५ वर्ष पछिमात्र यो जानकारी सार्वजनिक गर्नुभयो, त्यसपछि वहाँको दिव्य उर्जाको प्रकाश प्राप्त गर्न अध्यात्म साधकहरुको भिड लाग्न थाल्यो । सदगुरु र गुरुसत्ताबारे ज्ञान भएका अध्यात्म साधकहरुले साष्टांग दण्डवत गरेर आफ्नो शिरमा ओशोका पाउ राखिमागेका फोटोहरु पनि सार्वजनिक भएका थिए । सिद्ध पुरुषहरुको पुरै शरीर सुर्यसमान प्रकाशको तेजझैं जगमगाइरहेको हुन्छ, शरीरबाट निरन्तर दिव्य सुगन्ध प्रवाहित भैरको हुन्छ, शरीरबाट निस्काशित हुने सबै प्रकारका मलहरु समेत सुगन्धित हुन्छन् । यसैकारण तिब्बतियन लामाहरु भगवान दलाईलामाको दिशा समेत संरक्षित गरेर राख्दछन् र अनुयायीहरुलाई प्रसादको रुपमा वितरण गर्ने गर्दछन् । तर आम मानिसहरुले भगवान तथा सदगुरुहरुको शरीरबाट प्रवाह भैरहने प्रकाश तथा सुगन्ध अनुभव गर्न सक्दैन किनकी यो निराकार तथा निर्गुण हुन्छ, वाहिरी इन्द्रियहरुको अनुभूतिमा आउदैन, अध्यात्म साधना सिद्ध गरेका, तेस्रो नेत्र अर्थात दिव्य चक्षु जागृत भएका साधकहरुले मात्र प्रकाश देख्न तथा सुगन्ध अनुभव गर्नसक्छन् दिव्य चक्षु अर्थात तेस्रो नेत्रको माध्यमबाट । म, (पंक्तिकार सिर्जना भण्डारी) स्वयंले ध्यान साधनामा रहदा मेरो सदगगुरुको शरीर सुर्यको प्रकाश समान झलमल्ल बलेको र बिनाकुनै श्रोत पटक-पटक श्रीखण्डको सुगन्ध हररर आएको अनुभूति गरेको छु प्रत्यक्ष रुपमा ।


सदगुरुको दिव्य उर्जाको प्रकाशको प्रवाहको दिव्य अनुभूति ब्रम्हाण्डमा भएका मानिस लगायत प्राणी, जीव, वनस्पति, पदार्थ तथा पुरै प्रकृतिले गर्ने गर्दछन् किनकी ब्रम्हाण्डका हरेक सृष्टि स्वयं ब्रम्ह हुन्, सबैमा आ–आफ्नो प्रकारको चेतना तथा समवेदना हुन्छ । यो कुरा आधूनिक विज्ञानले पनि मान्दछ र यसउपर धेरै पाठ्य सामग्रीहरु उपलव्ध छन् । प्रकृतिमा भएका हरेकले हरेकको भाषा, व्यवहार तथा भाव बुझ्दछन र त्यस्तै प्रकारको व्यवहार प्रकट गर्दछन् । बौद्ध दर्शनमा उल्लेख गरिएको छ कि भगवान बुद्ध बाटोमा हिंड्नु हुदा बेमौसममै फूलहरु सुगन्ध छर्दै फुल्थे, बाटाका काँढाहरु भगवानलाई चोट लाग्ला भनेर आफैं घोप्टो पर्थे, हिंस्रक जनाबरहरु नतमस्तक भएर भगवानको स्वागत तथा सम्मान गर्थे... आदि । दिव्य उर्जा भएको स्थानमा समय अगावै फूल फूलेको म (पंक्तिकार) स्वयंले पनि अनुभव गरेको छु । सन् २०२२ मा महाशिवरात्रिमा मैले आफैंले हाँगा काटेर एकै समयमा, उस्तै भाँडोमा, उही वातावरणमा प्रजनन् गरेको कृष्णकली फूलका दुईवटा विरुवामा एउटा चावहिलमा रहेको आधूनिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानको परिशरमा प्राणप्रतिष्ठा गरिएको आदिगुरु भगवान श्रीशिवलाई अर्पण गरेको थिएं । जीवन विज्ञानको परिशरमा रहेको कृष्णकलीको विरुवा म कहाँ भएको विरुवा भन्दा एक महिना अघिनै अति सुन्दर ढकमक्क भएर फुल्यो तर म कहाँ भएको विरुवा ढिलो र कम परिमाणमा ठिकठिकै फुल्यो ।


सदगुरुको दिव्य उर्जाको प्रकाशको आशिर्वाद

सदगुरुको दिव्य उर्जाको प्रकाश तथा आशिर्वाद प्राप्त भएपछि पात्रता पुगेका शिष्य तथा साधकहरुमा स्वतः आध्यामिक प्रगति हुदैजान्छ । शिष्यको पात्रता अनुसार प्रगतिको प्रक्रिया प्रारम्भ र पूर्ण हुन्छ । सदगुरुको दिव्य उर्जाको प्रकाशको प्रभावले -

(१) शिष्यको आभामण्डल सफा हुन्छ– सदगुरुको दिव्य उर्जाको प्रकाश शिष्यलाई आशिर्वाद स्वरुप प्राप्त भएपछि विस्तारै उसको आभामण्डलमा भएका खरावी तथा छिद्रहरु सफा हुदै र पुरिदै जान्छन् र उसको अध्यात्म साधनामा प्रगति हुनथाल्छ ।

(२) शिष्यका रोगहरु निको हुन थाल्छन्– आभामण्डल सफा भएपछि शिष्यका शरीर, मन, भाव, चित्तका रोगहरु स्वतः निको हदै जान्छन् किनकी मानिसलाई आभामण्डल विक्रीत भएको कारणले रोग लाग्दछ, आभामण्डलको शुद्धिकरण भएपछि  उ निरोगी बन्दै जान्छ र उसको अध्यात्म साधनामा प्रगति हुनथाल्छ ।

(३) शिष्यको मन विचारशुन्य तथा शान्त हुन थाल्छ– आभामण्डल शुद्ध भएपछि व्यक्ति शारीरिक, मानसिक तथा भावनात्म रुपले स्वस्थ हुने भएकोकारण उ सुखी, खुशी, शान्त तथा आनन्दित हुन्छ  उसको मनको बेचैनी, अतिविचार, नकारात्मक विचार, बेतुकका प्रश्न तथा जिज्ञासाहरु आफैं कम हुदै जान्छन, मन शान्त, शुन्य र एकाग्र हुदै जान्छ र उसको अध्यात्म साधनामा प्रगति हुनथाल्छ ।

(४) शिष्यमा चमत्कारिक अनुभव तथा अनुभूतिहरु घटित हुन थाल्छन्– शान्त मन, एकाग्र चित्तले साधना गर्दा साधकमा ध्यानको अवस्था घटित हुन्छ र ध्यानको गहिराईमा समाधि घटित हुन्छ । ध्यान तथा समाधिको अवस्थामा साधनाको गहिराई अनुसार साधकले भौतिक संसारमा कल्पना गर्न नसकिने तथा असम्भव ठानिएका चमत्कारीक घटना, विषय तथा गतिविधिहरु अनुभूति गर्नथाल्छ र उसको अध्यात्म साधनामा अझ राम्रो प्रगति हुदैजान्छ ।
 

आध्यात्मिक प्रगतिकालागि सदगुरु आवश्यक हुन्छ

सदगुरुले शिष्यहरुलाई आध्यात्मिक तथा धार्मिक विषयका विद्या प्रधान ज्ञान, प्रज्ञा, विवेक सिकाउछ। सदगुरुले अध्यात्म साधनाबाट प्राप्त आफ्नो आन्तरीक दिव्य शक्तिले शिष्यहरुलाई दिक्षा प्रदान गरी अज्ञानता तथा अन्धकारबाट वाहिर ल्याउदछ र दिव्य शक्तिको दिक्षा लिने शिष्यहरुलाई ज्ञान तथा प्रज्ञाको प्रकाश, सत्य र परमात्माको परम आनन्दतिर लैजान्छ। सदगुरुले प्रदान गर्ने ज्ञानकै कारणले मानिसको जीवन पूर्ण अर्थात सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित हुने भएकोले सदगुरुको ज्ञानदान तथा सेवादानलाई श्रद्धा प्रदान गर्न सम्मान स्वरुप सनातन वैदिक परम्परामा गुरुपूर्णिमा पर्व मनाउने संस्कारको प्रारम्भ गरिएको हो । गुरु पूर्णिमामा गुरुको श्रद्धा तथा पूजा गुरुबाट पाएको ज्ञान, शक्ति, शान्ति, आनन्द, योग र ध्यानको सम्मान स्वरुप गुरुप्रति श्रद्धा, प्रेम तथा भक्ति प्रकट गर्नकालागि गरिएको हो। असार महिना वर्षा ऋतु भएको कारण न धेरै गर्मी न धेरै ठण्डा हुने औषत प्रकारको शितल वातावरण हुने हुनाले यो समय अध्ययन तथा अध्यापनका लागि उचित ठहर गरि यही समय गुरु दिक्षाकालागि चयन गरिएको हो ।

 ********************************
सन्दर्भ सामग्री :
अध्यात्ममा यूवाको रुचि र आकर्षण बढाउन सदगुरुको भूमिका
ओशोको साधना सिद्धि सार्वजनिक

No comments:

Post a Comment