डा. सिर्जना भण्डारी
“हरेक विचार अणु जत्तिकै शक्तिशाली हुन्छ, मेरै विचारले मेरो भाग्य निर्माण गर्दछ ।” –खप्तड बाबा
विषय प्रवेश
विचारनै ब्रम्हाण्डको सृष्टिको मूल कारण हो । मानिसको जीवनमा पनि विचारनै सबैथोक हो र विचारबाट नै मानिसको जीवनका सबै गतिविधिहरु निर्माण तथा निर्धारीत भएका हुन्छन् । अध्यात्म विज्ञान र प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) दुवैको तथ्यगत मान्यता रहेको छ कि पुरै ब्रह्माण्ड उर्जाका तरंगहरुको फैलावट हो र उर्जाको मूल श्रोत विचार हो । सरल भाषामा भन्नुपर्दा मेरै विचारको फैलावट मेरो जीवन र पुरै सृष्टि हो किनकी हाम्रा विचारहरु नै प्रशोधित भएर वस्तुको रुपमा अस्तित्वमा आउँछन् । मानिसको मनमा विचार दुई प्रकारले उत्पन्न हुन्छन्– (१)अवचेतन तथा अचेतन मनमा रहेका स्मृतिहरुबाट– मानिस वर्तमान अवस्थामा साक्षी नभएर आफ्नो मन तथा ध्यानलाई वितेका स्मृतिहरुमा तथा भविश्यका कल्पनाहरुमा केन्द्रित गरको समयमा ऊसको मनमा विविध विषयका विचारहरु उत्पन्न हुने गर्दछन् । (२)ज्ञान इन्द्रियहरुवाट प्राप्त सूचनाबाट– मानिस वर्तमान अवस्थामा साक्षी तथा सजग भएर हेर्ने, सुन्ने, छुने, सुघ्ने, स्वाद लिने आदि कामहरु गरिरहेको अवस्थामा उसले ज्ञानइन्द्रियहरुवाट विविध प्रकारका सूचनाहरु प्राप्त गर्दछ, यी सूचनाहरुले मस्तिष्कका स्नायु प्रणालीहरुमा स्पन्दन(फायरिङ्ग) सिर्जना गर्दछन् र त्यहाँ एकप्रकारको उर्जाको तरंग पैदा हुन्छ, यही तरंग उक्त सूचनाबारे उत्पन्न भएको सोच हो, सोचहरुको समुह विचार हो र विचारहरुको समुह मन हो ।
स्मृति तथा कल्पनाबाट र ज्ञानइन्द्रियहरुबाट उत्पन्न भएका यीनै सकारात्मक, सामान्य तथा नकारात्मक विचारहरुको उर्जाको तरंग निरन्तर हामीबाट वाहिर निस्केर ब्रम्हाण्डमा प्रवाहीत भैरहेको हुन्छ र ब्रम्हाण्डका हरेक मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थ तथा प्रकृतिलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । नकारात्मक विचारको प्रभाव नकारात्मक किसिमले नै पर्दछ र सकारात्मक विचारको प्रभाव सकारात्मक किसिमले नै पर्दछ । विचारको यही प्रभावलाई प्रमात्रा विज्ञानले बटरफ्लाई इफेक्टको सिद्धान्त भनेको छ र यो सिद्धान्तले विश्व प्रसिद्ध नोवेल पुरस्कारको सम्मान समेत प्राप्त गरेकोछ । वैदिक सनातन शास्त्र उपनिषदका रचाइता ऋषि तथा प्राचीन वैज्ञानिकहरुले भन्नुभएको छ, ब्रम्हाण्ड माकुराको जालो हो जसलाई इश्वार अर्थात परमात्माले आफूभित्र रहेको उर्जा प्रकट गरेरे निर्माण गरेको हो, हामी सबै ब्रम्ह हौं, हामीभित्र पनि परमात्मा कै उर्जा छ । यो उर्जा एकआपसमा अन्तर–सम्वन्धित रहेको तथा आपसमा जेलिएको हुनाले यहाँ कुनै एक ठाउँमा भएको सानो हलचलले अर्को ठाउँमा तुरुन्त प्रभाव पार्दछ । यही यथार्थलाई प्रमात्रा विज्ञानको पछिल्लो खोज बटरफ्लाई इफेक्टको सिद्धान्तले प्रमाणित गरेकोछ ।
विचारको शक्ति
हरेक विचार शक्तिशाली अणु उर्जा हो जसमा ब्रम्हाण्डका हरेक वस्तुहरुको निर्माण गर्ने सामथ्र्य छ । स्वामी विवेकानन्दले मानिसको मनमा उठ्ने विचारहरु कति शक्तिशाली हुन्छन्, ती विचारहरु कसरी प्रशोधित हुदै जान्छन् र मानिसको जीवनमा ती विचारहरुले कसरी, कस्तो प्रभाव पार्दछन् भन्ने सन्दर्भमा गहन विश्लेषण गर्नुभएको छ । वहाँका अनुसार विचारको प्रशोधन प्रक्रिया– (१)ज्ञान इन्द्रियहरुको सूचनाबाट सोच बन्छ, (२)सोचबाट विचार बन्छ, (३)विचारबाट ज्ञान तथा अनुभव बन्छ, (४)ज्ञान तथा अनुभवबाट व्यवहार बन्छ, (५)व्यवहारबाट बानी बन्छ, (६)बानीबाट क्रिया, कर्म तथा काम बन्छ, (७)क्रिया, कर्म तथा कामबाट व्यक्तित्व बन्छ, (८)व्यक्तित्वबाट भाग्य बन्छ, (९)अघिल्लो जन्मको व्यक्तित्व यो जन्मको भाग्य हो, र (१०)यो जन्मको व्यक्तित्व पुनरजन्म अर्थात आगामी जन्मको भाग्य हो । शिद्ध महापुरुषबाट विचारको यो प्रशोधन प्रक्रियामा हाम्रा दैनिक गतिविधिहरुबाट उत्पन्न हुने एउटा सानो विचार तथा सानो गतिविधिको प्रत्यक्ष सम्वन्ध र त्यसको प्रभाव हाम्रो जन्म–जन्मको भाग्यसंग जोडिएको ज्ञान प्रष्ट पारिएको छ । हाम्रो जीवन सरल, सहज, स्वस्थ, सुखी, खुशी, समृद्ध, प्रतिष्ठित, शान्त र आनन्दित बनाउन हामीले दैनिक रुपमा कस्ता विचार तथा गतिविधिहरु गर्नु पर्दछ भन्ने ज्ञान लिन यो विचार प्रशोधन विश्लेषण पर्याप्त छ ।
विचारको प्रभाव
विचार अत्यन्त शक्तिशाली उर्जा हो । सबै प्रकारका विचारका उर्जाका तरगंहरु हाम्रो वरीपरि अदृश्य रुपमा वाइफाईको सिग्नल जस्तैगरि फैलिएका तथा जेलिएका हुन्छन् र हामीलाई निरन्तर विविध प्रकारले प्रभाव पारिरहेका हुन्छन् । सकारात्मक विचारका उर्जाका तरगंहरुले सुख शान्ति, समृद्धि आनन्द सिर्जना गर्दछन् तथा बढाउँछन् । नकारात्मक विचारका उर्जाका तरगंहरुले रोग(शारीरिक, मानसिक, भावनात्मक, आत्मिक) दुःख, पिडा, अशान्ति, असफलता, नराम्रो अनुभूति गराउँछन् भने सामान्य प्रकारका विचारका उर्जाका तरगंहरुको प्रभाव समान्य नै रहन्छन् न सकारात्मक न नकारात्मक । विचारका उर्जाका तरंगहरु तीन किसिमले संचारीत हुन्छन्– (१)सोच, (२)ध्वनी, र (३)क्रिया । ध्वनी र क्रियाबाट संचारीत हुने विचारका उर्जाका तरंगहरुको प्रभाव हामी देख्न, महसुुस गर्न तथा अनुभव गर्न सक्छौं र त्यसको सही व्यवस्थापनमा काम गर्न सक्छौं तर सोचको उर्जाका तरंगहरुको प्रभाव देख्न सकिदैन र सबै राम्रा तथा नराम्रा घटनाहरुको मूल श्रोत सोच र सोचबाट बन्ने भाव नै हो । मानिसले बोलेर तथा क्रिया गरेर त्यति धेरै उर्जा तरंग छोड्दैन जति विचारबाट छोड्छ । आधूनिक मनोविज्ञानका अनुसार एक दिनमा मानिसको मनमा ६० हजार विचारहरु उत्पन्न हुन्छन् तथा चल्छन् र ती सबै विचारका उर्जाका तरंगहरु हाम्रो वरीपरि प्रवाहीत भैरहेका हुन्छन् र तीनको स्वाभाव अनुसार तीनले विचार उत्पन्न गर्ने व्यक्ति र उसको आसपासका व्यक्ति, प्राणी तथा वस्तुहरुमा सकारात्मक तथा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । यस्तो अवस्थामा प्रभावित हुने व्यक्ति, प्राणी तथा वस्तुहरुको स्वाभाव तथा मनोदशा पनि विचारको उर्जा तरङ्ग जस्तो छ त्यस्तै प्रकारको बन्दछ ।
खप्तड बाबाले आफ्नो प्रसिद्ध तथा लोकप्रिय पुस्तक विचार विज्ञानमा भन्नु भएको छ, “खराव तथा नकारात्मक विचारहरुले शरीरमा हानिकारक रसहरु(हर्मोन्स) उत्पन्न गर्दछन्, ती हानिकारक रसहरु शरीरको रगत, मांसपेसि, बोसो, नशा, कोशिका हुदै शरीरका सबै अंगहरुमा फैलिन्छ र ती अंगहरुलाई कमजोर बनाउन थाल्छन्, परिणामस्वरुप यस्ता कमजोरीहरु शरीरका अंगमा शारीरिक रोगका रुपमा, मन तथा मस्तिष्कमा मानसिक रोगका रुपमा, भावनामा क्रोध, घृणा, बदलाको भावका रुपमा र आत्मामा हिनता वोध, आत्मविश्वास तथा आत्मसम्मानमा कमीका रुपमा देखा पर्दछन् । राम्रा तथा सकारात्मक विचारहरुले शरीरमा फाइदा पुर्याउने रसहरु उत्पन्न गर्दछन् र शरीरका सबै अंगहरुमा फैलिन्छन्, रोगसंग लड्ने क्षमता बढाएर हरप्रकारको रोग लाग्नबाट रोकथाम गर्दछन्, मानिसलाई सकारात्मक, क्षमतावान, प्रतिभावान, सिर्जनशील, दृढ, संकल्पकृत, आत्मविश्वासले भरिएको बनाउँछन् र सरल तथा सहज जीवन जिउन मद्धत गर्दछन् ।” पूर्वीय सनातन दर्शनका वैदिक शास्त्रहरुबाट अति प्रभावित भएर पश्चिमि लेखिका लुइज हेका पुस्कतहरुमा कस्ता प्रकारका विचारहरुले मानिसको शरीर, मन, भाव, तथा आत्मामा कस्ता प्रकारका रोगहरु लाग्दछन् र कसरी आफ्ना विचारहरुको सही व्यवस्थापन गरेर ती रोगहरु उत्पन्न हुनबाट रोक्न तथा लागेको रोग निको गर्न सकिन्छ भन्नेबारे तथ्यगत प्रस्तुतिकासाथ स्पष्ट गरिएको छ । उनी स्वयं क्यान्सर रोगी थिइन र आफ्ना विचारहरुको सही व्यवस्थापन गरेर क्यान्सर जस्तो रोग समेत निको गरेकीछिन् । यस्ता उदाहरणहरु अझै थुप्रै छन विश्व समाजमा ।
नकारात्मक विचारका उर्जाका तरंगहरुको प्रभाव हाम्रा हरेक गतिविधिहरुमा पर्दछन् । आमरुपमा भनिन्छ भान्से र सवारी चालकलाई सदा प्रसन्न राख्नु पर्छ अर्थात उनीहरुमा नकारात्मक विचार उत्पन्न हुने वातावरण सिर्जना गर्नु हदैन । किनकी मानिसको जीवन सबैभन्दा महत्वपूर्ण हुन्छ र जीवनको प्रमुख आधार खानपिन र चल्ने तथा हिंड्डुल गर्ने गतिविधि हो । यदि भान्सेमा नकारात्मक विचारहरु उत्पन्न भैरहेकाछन् भने उसले नचाहेर पनि थाहा नपाइकन उक्त विचारका उर्जाका हानिकारक तरंगहरु उसले पकाएको, छोएको, हेरेको तथा देखेको खानामा संचारीत हुन्छन् र खाना दुषित हुन्छ र यस्तो खाना स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसैकारण भनिएको हो रिसाएको बेलामा आमाहरुले बच्चालाई स्तनपान गराउनु हुदैन भनेर किनकी रिसाएको बेलामा उत्पन्न भएका विचारका उर्जाका तरंगहरु हानिकारक हुन्छन् र स्तनपान, आमाको स्पर्स, दृष्टिको माध्यमबाट बन्चामा सर्दछन् र बच्चाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ । कतिपय अवस्थामा आमाका विचारका हानिकारक तरंगहरूको प्रभाव सहन नसकेकोकारण नवजात शिशुहरुको मृत्यु भएका उदाहरणहरु समेत छन् । त्यस्तै सवारी चालक, विद्यार्थी, शिक्षक, कर्मचारी, श्रमीकहरूमा र उनीहरुले गरेका काम तथा सबै गतिविधिहरुमा नकारात्मक विचारका उर्जाका हानिकारक तरंगहरुको नकारात्मक प्रभाव पर्छ र नकारात्मक परिणाम आउँछ । विचारको प्रभावमा दुरी तथा भूगोगले फरक पार्दैन जस्तोकि यूरोपमा भएको मानिसले एशियामा भएको मानिसको बारेमा नकारात्मक विचार गर्यो भने त्यो विचारको उर्जाको नकारात्मक तरङ्गको प्रभाव नेपालमा बसेको मानिसमा तुरुन्तै पर्छ र उसको मनमा पनि अचानक नकारात्मक भावहरु उत्पन्न हुन्छ्न् । आम रूपमा हामी भन्ने गर्छौं मेरो घाँटी खसखसायो कसैले मेरो कुरा काट्यो क्यारे । यो सत्य हो, घाँटी खसखसाउने एकप्रकारको रस तथा हर्मोनले हुन्छ र अर्को प्रकारको हर्मोनले अर्को अंगमा अर्कै प्रकारको प्रभाव पार्दछ जस्तोकि मन वेचैन हुने, के गरौं के गरौं हुने, अचानक गरिरहेको कामबाट ध्यान हट्ने, तलतल लाग्ने आदि ।
विचारको तोरा
विचारका उर्जाका तरंगहरुको प्रभावशक्ति तथा तोरा(इन्टेनसीटी)का सम्वन्धमा अध्ययनहरु भएका छन् । हिनता वोध, आफू तथा अरुप्रति गरिने गुनासो, गाली, बेइज्यती, पक्षपात, षडयन्त्र, हिंसा, हत्या, आत्महत्या जस्ता विचारहरुका उर्जाका तरंगहरुको तोरा नकारात्मक किसिमले सबैभन्दा उच्च, हानिकारक, खराव तथा खतरनाक हुन्छन् भने प्रेमका स्वरुपहरु– स्नेह, मायाँ, मैत्री, श्रद्धा, प्रशंशा, दया, करुणा, दान, सेवा, सहयोग, परोपकारका विचारहरुका उर्जाका तरंगहरुको तोरा सकारात्मक किसिमले सबैभन्दा उच्च, राम्रा, प्रभावकारी तथा प्रेरणादायि हुन्छन् । उच्च तोरा भएका विचारका उर्जाका तरंगहरुको प्रभाव टाढासम्म र लामो सनयसम्म पर्दछन् र यस्तो प्रभाव आफू स्वयंमा सबैभन्दा बढि पर्दछ, वरीपरीका मान्छे तथा अन्य प्राणी, जीव, वनस्पति, पदार्थहरु र पुरै ब्रम्हाण्डमा पर्दछ । तसर्थ हामीले संधै आफूले गर्ने विचारमा सचेत रहनु पर्दछ र विचारको सही व्यवस्थापन गर्ने प्रयास गर्नु तथा गराउनु पर्दछ किनकी यो ब्रम्हाण्ड उर्जाका तरंगहरुको जालो हो, सबैको विचारले सबैलाई सकारात्मक तथा नकारात्मक दुवै किसिमले थाहा नपाउने गरी तर प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ र परिणामहरु पनि आइरहेका हुन्छन् ।
विचारको सही व्यवस्थापन कसरी गर्ने
निरन्तर उत्पन्न भइरहने विचारहरुमा नियन्त्रण गर्नु मुस्किल काम हो, विचारमाथिको नियन्त्रण कसैको वसमा हुदैन तर मुक्त तथा सिद्ध महापुरुषहरुले आफ्नो विचारमा नियन्त्रण राख्न सक्छन् । अति विचार गर्नु हुदैन र नकारात्मक विचारहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर सिकाउने कतिपय मनोविज्ञ, वैज्ञानिक तथा सिद्धहस्त लेखकहरु समेत यही समस्याबाट ग्रसित हुनछन् र यहीकारणले रोगी, समस्याग्रस्त भएका र आत्महत्या समेत गरेका दृष्टान्तहरु रहेकाछन् । पूर्वीय वैदिक शास्त्रहरुका अनुसार थोरै सैद्धान्तिक ज्ञान र धेरै व्यवहारीक अभ्यासका विधिहरुको निष्ठापूर्वक अनुशरणबाट अति विचारका श्रृंखलाहरुलाई केही हदसम्म नियन्त्रण गर्न र नकारात्मक विचारहरुलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ । नकारात्मक विचारहरु आउनबाट बच्न तथा विचारको सही व्यवस्थापन गर्नकालागि अध्यात्म विज्ञानको योग तथा ध्यान साधना अत्यन्त प्रभावकारी विधि रहेको विश्वभरि गरिएका विभिन्न खोज तथा अध्ययनहरुले स्पष्ट रुपमा देखाएका छन् । योग तथा ध्यान साधनाका विधिहरुका अतिरिक्त यस क्षेत्रसंग सम्वन्धित विज्ञहरुले नकारात्मक विचारहरु सामान्यतया अरुले आफूप्रति गरेको मन नपर्ने व्यवहार र आफूले इच्छ्याएको कामको असफलताका कारण उत्पन्न हुने हुनाले आफ्नो मनमा नकारात्मक तथा हिनता वोधका विचारहरु आउन नदिन तथा कम गर्न संक्षिप्त रुपमा निम्न उपायहरु सुझाएका छन्–
(१)घटना तथा परिस्थितिलाई सकेसम्म बेवास्ता गर्ने,
(२)आफ्नो मनलाई सम्झाउने यस्तै हो भनेर,
(३)अर्कोको समस्या तथा बाध्यता बुझ्न प्रयास गर्ने,
(४)आमने–सामने भएर कुरा गर्ने र स्पष्ट हुने,
(५)सकेसम्म वर्तमान अवस्थामा साक्षी भावमा रहने,
(६)हरपल हरेक परिस्थितिमा धन्यवाद भाव, क्षमा भाव, स्वीकार भाव, प्रसंसा भाव, श्रद्धा तथा सम्मान भाव अनुशरण गर्ने,
(७)सेवा, सहयोग, परोपकारको काममा मन लगाउने, समलग्न हुने,
(८)असललतालाई सफलताको कडी बनाउने र गुरु मानेर त्यसबाट ज्ञान तथा शिक्षा लिने,
(९)असफलताको कारण पत्ता लगाएर आफूलाई त्यस पक्षमा अझ सक्षम तथा बलवान बनाउने,
(१०)मनलाई आफूलाई मनपर्ने अन्य क्रियाकलापहरुमा भुलाउने जस्तोकि परिवार, साथीसंगी, प्राकृतिक भ्रमण, खेलकुद, संगीत, नृत्य, चलचित्र, घरपालुवा जनावरहरु आदिमा रमाउने... ।
bsirjana@gmail.com
*************************
सन्दर्भ सामग्री:
विचार विज्ञान
लुइज हे
विचार तथा मनको सही व्यवस्थापनका लागि इलोक्ट्रोनिक इन्जिनियर लोकप्रिय ब्रह्मकुमारी शिवानी दिदीका प्रवचनहरु सुन्नुहोस्, वहाँका हरेकजसो सामग्रीहरु विचारको सही व्यवस्थापनसंग सम्वन्धित छन् र अत्यन्तै उपयोगी छन् ।
Art of Letting Go !
No comments:
Post a Comment