डा. सिर्जना भण्डारी
विषय प्रवेश
“ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योरमामृतं गमय ।” अर्थात-
…असत्यबाट सत्यतिर, अज्ञानरुपि अन्धकारबाट ज्ञानरुपि प्रकाशतिर र मृत्युरुपि भ्रमबाट मुक्ति तथा मोक्षतिर... लैजाउ…
सनातन अध्यात्मको महान शास्त्र यजुर्वेदको यो गहन मन्त्रको आध्यात्मिक अर्थ पनि उत्तिकै गहन छ, यस मन्त्रले मानवीय मूल्यमान्यतामा आधारित शिक्षा तथा संस्कारमा जोड दिएको छ। शिक्षाको सही अर्थ मानवीय मूल्यमान्यतामा अधारित संस्कार सिकाउनु हो तसर्थ ‘शिक्षा’ र ‘संस्कार’ एकै शिक्काका अपरिहार्य दुई पाटा हुन्, शिक्षा बिना संस्कार असल बन्न सक्दैन र संस्कार बिना शिक्षा उपयोगी बन्न सक्दैन।
आधूनिक भौतिक विज्ञानले हासिल गरेको विज्ञान प्रविधि तथा सूचना प्रविधिको उच्चतम विकासले मानव जीवनमा धेरै किसिमका सुविधा तथा सहजताहरु त ल्यायो तर हामीले सायद यि सुविधा तथा सहजताहरुलाई सही ढंगले व्यवस्थापन गर्न जानेनौं अर्थात विकाससंगसंगै मानवीय मूल्यमान्यतामा आधारीत संस्कारयुक्त शिक्षालाई अनुशरण गर्न सकेनौं जसको परिणामस्वरुप आजका मानिसको जीवनमा सुख, खुशी, स्वास्थ्य, शान्ति तथा आनन्दको साटो दुःख, शोक, रोग, अशान्ति तथा विखन्डनका अवस्थाहरु देखा परेका छन्। मानिसले लेखपढ् गर्यो, कर्म गर्यो, सम्पत्ति कमायो, सम्वन्ध बनायो सुख, खुशी, स्वास्थ्य, शान्ति तथा आनन्द प्राप्त गर्नकालागि तर प्राप्त गर्न भने सकेन, उसको जीवन अव्यवस्थित र असन्तुलित नै रहिरह्यो। भौतिक विकाससंग सनातन अध्यात्मले सिकाएको संस्कारयुक्त शिक्षालाई सामनजस्य गर्न तथा संगसंगै लान नसकेकै कारण मानिस योगीबाट भोगी हुदै रोगी हुन पुग्यो; मानवबाट मेसिन हुदै वस्तु बन्न पुग्यो र सारा मानवीय मूल्यमान्यता विहिन भएर अभिनयले भरिएको नक्कली जीवन जीउन बाध्य बन्न पुग्यो किनकी उसले वाहिरी अध्ययन तथा ज्ञानलाई, सम्पत्ति कमाइलाई, भौतिक विकासले ल्याएका सुविधा तथा सहजताहरुलाई नै सबैथोक ठान्यो र सनातन अध्यात्मले सिकाएको मानवीय मूल्य, सन्तुलित स्वास्थ्य, सहयोगी भावना, सूमधूर सम्वन्ध, सेवा तथा परोपकार, शान्त तथा आनन्दित जीवन चाहिं सही अर्थमा सम्पत्ति हो भन्ने ऋषिहरुले प्रदान गरेका पैत्रिक संस्कार नै भूल्यो। त्यसैले वर्तमान समयमा व्यक्ति तथा समाजमा मानवीय मूल्यमान्यता पूर्नस्थापित गर्न औपचारिक तथा अनौपचारिक शिक्षण प्रणालीहरुमा संस्कारयुक्त शिक्षा अवलम्वन गर्नुपर्ने आवश्यकता टड्कारो रुपमा खड्कीएको छ।
शिक्षा के हो र कस्तो हुनुपर्छ?
सनातन अध्यात्मका अनुसार शिक्षाको मूल ध्येय नै मानिसको जीवनमा दिव्य गुणहरु भरेर दिव्यताले सम्पन्न मानव बनाउनु हो। शिक्षाले मानिसलाई असत्यवाट सत्यतिर, अज्ञानरुपि अन्धकारबाट ज्ञानरुपि उज्यालोतिर र मृत्युरुपि भ्रमबाट अमरत्वतिर अग्रसर गराउनु पर्दछ जसअन्तर्गत मानिसले आफूमा शारीरिक, बौद्धिक, सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक आदि सर्वाङ्गीण गुणहरुको विकास भएको आत्मानुभूति गर्न सकोस। संस्कारयुक्त व्यक्ति तथा समाज निर्माणकालागि शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसको माध्यमबाट संसार बदल्न सकिन्छ तसर्थ शिक्षामा संस्कार आरोपित गरि सबैकलागि मानवीयमा मूल्यमान्यतामा आधारित शिक्षा सर्वसुलभ गराउनु अपरिहार्य छ ताकि मानिस स्वस्थ, सुखी, खुशी, समृद्ध, शान्त, आन्दित, नैतिकवान, उत्तरदायि, संस्कारी, प्रेमल, सहयोगी बन्न सकोस र संस्कारयुक्त परिवार तथा समाजको निर्माण गर्न सकोस।
शिक्षालाई संस्कारयुक्त बनाउन महर्षि पलन्जलीले सुत्रवद्ध गर्नु भएको ‘योग दर्शन’ शास्त्रमा उल्लेखित अष्टागं योगको पहिलो र दोस्रो अंग ‘यम’(अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह) र ‘नियम’(शौच, संतोष, तप, स्वाध्याय, ईश्वर-प्रणिधान) को पालना गर्नु तथा गराउनु अति आवश्यक हुन्छ जसले मानिसलाई संसार र आफूप्रति इमान्दार तथा संस्कारी बन्न सिकाउँछ, मानिसले आफूप्रति र अरु तथा संसारप्रति गर्नुपर्ने सकारात्मक व्यवहार, बोलीचाली तथा भाषा, आचरण, सोच-विचार, प्रेम तथा सेवा/सहयोगी भाव, उत्तरदायि, कर्तव्यनिष्ठ, शरीर तथा मन शुद्धी, सन्तोष, स्वाध्याय, परिश्रम, परमशक्तिप्रति आस्थावान रहन सिकाउँदछ र मानिसलाई सकारात्मक, सुखी, खुशी, सफल, समृद्ध, शान्त, आनन्दित रहन मद्धत गर्दछ र उ पूर्णरुपमा आध्यात्मिक तथा संस्कारी व्यक्ति बन्दछ। यसका साथसाथ अष्टांग योगका तेस्रो, चौथो र पाँचौं अंग आसन, प्राणायाम र प्रत्याहारको सही अनुशरणले मानिसलाई क्रमशः शारीरिक, मानसिक र आत्मिक रुपमा स्वस्थ तथा सवल राख्दछ। यस किसिमले योगस्थ भएको स्वस्थ र संस्कारी मानिसका सुक्ष्म शरीरमा रहेका उर्जाका केन्द्र सात चक्रहरुको जागरण हुन्छ र उ सहजै ध्यानस्थ भइ आत्मज्ञानको मार्गतिर अग्रसर हुन्छ। आत्मज्ञानको मार्गउन्मुख मानिस हर किसिमले संस्कारी, कर्तव्यपरायण, उत्तरदायि तथा नैतिकवान हुन्छ र उसले विस्तारै आफूमा, परिवारमा, समाजमा र विश्वमै मानवीय मूल्यमान्यतामा आधारित संस्कार बसाएर सुख, शान्ति, समृद्धि, अमनचयन कायम गराउन सक्छ।
तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योगध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।