'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 27 March 2024

कर्मयोगमा योगस्थ भइ जीवनमा सुख, शान्ति, समृद्धि हासिल गरौं

                                                          डा. सिर्जना भण्डारी 



विषय प्रवेश 

मानव जन्म कर्मयोनी हो। मानव भएर जन्मिएपछि कर्म गर्नु अपरिहार्य हुन्छ। के कर्म गर्ने, कस्तो कर्म गर्ने र कसरी गर्ने भन्ने विषयमा हरेक व्यक्तिको आ-आफ्नै निर्णय तथा रोजाइ हुनु आवश्यक हुन्छ ताकि असल तथा आवश्यक वर्गकालागि उपयोगी हुने कर्मको माध्यमबाट हरेक मानिसले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्न सकोस र मानवीयताको सेवा गर्न सकोस किनकी आफूलाई रुची भएको तथा आफैंले रोजेको कर्म मात्र आफू, परिवार, समाज, देश तथा सबैकालागि सफलतामुखी, उपयोगी, दिगो र महत्वपूर्ण कर्म बन्न सक्दछ। सनातन अध्यात्म दर्शनको परिभाषा अनुसार त्यस्तो व्यक्ति आध्यात्मिक तथा धार्मिक व्यक्ति हो जो आफ्नो असल कर्मको माध्यमबाट आफू सुख, शान्ति, समृद्धिले भरिन्छ र अरुको जीवनमा पनि सुख, शान्ति, समृद्धि ल्याउन सहयोग गरि मानवीयताको सेवा गर्दछ।


सनातन आध्यात्कि दर्शनका विभिन्न दर्शन शास्त्रहरुले कर्म र कर्मयोगको विषयमा युगौंदेखि तत्-तत् समयमा समय सान्दर्भिक हुने किसिमले धेरै व्याख्या, विश्लेषण, जानकारी तथा ज्ञान प्रदान गरेका छन्। जुनसुकै ज्ञान जति समय सान्दर्भिक हुन्छ त्यतिनै सबैकालागि उपयोगी तथा प्रतिफलमुखी हुन्छ। अहिलेको समय धार्मिक तथा आध्यात्मिक हिसावले कलियुग हो र आधूनिक तथा उत्तर-आधूनिक समय तथा मानिसहरुको जीवनशैलीको हिसावले विज्ञान प्रविधि तथा सूचना प्रविधिले युक्त २१औं शताव्दी हो, तसर्थ कर्म तथा कर्मयोगको सन्दर्भ अहिलेको परिवेससंग मिल्ने तथा समय सान्दर्भिक हुनु आवश्यक छ।


समयको विभिन्न कालखण्डमा पूर्वीय अध्यात्म दर्शन वेदान्तका अध्ययता पूर्वज श्रद्धेय जगतगुरु, आचार्य तथा सद्गुरुहरुले आफ्नै किसिमले समय सान्दर्भिक हुनेगरि कर्म र कर्मयोगको व्याख्या, विश्लेषण तथा परिभाषा गर्नुभयो। सबै स्रष्टाहरुले हरेक मानिसले जीवन जीउने क्रममा कर्म, धर्म र अध्यात्मलाई संगसंगै तथा एकसाथ लानु पर्दछ र यसो गर्न सके मात्र मानिसले गर्ने कर्म कर्मयोग बन्दछ र मानिसको जीवनमा स्वतः सुख, शान्ति र समृद्धि आउँछ भन्ने कुरामा जोड दिनुभयो। समयको लामो कालखण्डसम्म मानिसको जीवनशैली यही रितमा चल्दै गयो तर पछिल्लो समय या भनौं विश्वमा विभिन्न समयमा भएका खासगरि अत्यास लाग्दा  खासगरी धार्मिक, सामाजिक, सांस्कृतिक तथा साम्प्रदायिक, राजनीतिक, आर्थिक विभिसिकाहरू र पछिल्लो चरणमा आधूनिक भौतिक विज्ञानले गरेका प्रगतिहरु र यसले ल्याएको विश्वव्यापि भूमण्डलीकरणका  सकारात्मक तथा नकारात्मक परिणामहरु संगसंगै मानिसको जीवनलाई हेर्ने तथा बुझ्ने दृष्टिकोण, उसको जीवनशैली, जीवनको प्राथमिकता तथा रोजाइमा विस्तारै परिवर्तन ल्यायो र मानिस-मानिसमा जीवन र जगतलाई तथा कर्म, धर्म र अध्यात्मलाई हेर्ने तला बुझ्ने दृष्टिकोणमा विविधता आयो र यसले मानिसमा उच्च आकांक्षा, प्रतिस्पर्धा, वर्ग विभाजन तथा सम्पन्न र विपन्नताको बुझाई, असफलता, नैराश्यता आदि ल्यायो र कर्म, धर्म र अध्यात्मको परिभाषा, बुझाइ तथा अनुशरणमा पनि विविधता आयो र मानिसले कर्म, धर्म र अध्यात्म एकअर्काका अपरिहार्य परिपूरक विषयहरुलाई फरक-फरक विषयको रुपमा र एकअर्काका विपरित तथा एकसाथ गर्नै नसकिने विषयका रुपमा बुझ्न थाल्यो र कर्म, धर्म र अध्यात्मको अपरिहार्यतालाई चटक्कै बिर्सेर केवल कर्मलाई खासगरी फाइदामूलक र प्रतिस्पर्धात्मक कर्मलाई मात्र जोड दिन थाल्यो। यही गलत बुझाइका कारण कर्मलाई कर्मयोग बनाउन असफल भयो। यसरी कर्म, धर्म र अध्यात्मको मूल मर्मबाट टाढिदै गएको कारण उसको जीवन अव्यवस्थित, अस्तव्यस्त र असन्तुलित बन्न पुग्यो। 


आजको युगमा कर्म, धर्म र अध्यात्मको मूल मर्मबाट दुर भएर अव्यविस्थित तथा असन्तुलित जीवनशैली जीरहेका मानिसहरुलाई पुनः सनातन अध्यात्मले जोड दिदै आएको वैज्ञानिक पद्धति कर्म, धर्म र अध्यात्मलाई एकसाथ अनुशरण गरेर तथा गराएर आजका मानिसहरुको जीवनमा सुख, शान्ति र समृद्धि फर्काउने क्षेत्रमा काम गर्नु आजको टड्कारो आवश्यकता बनेको छ। यसकालागि सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका वैज्ञानिक पद्धतिमा आधारित रहेर योगध्यानका प्रयोगात्मक अभ्यास, साधना तथा ज्ञान सिकाउने आधुनिक आध्यात्मिक संस्था तथा गुरुहरुसंग जोडिनु आवश्यक हुन्छ। योगध्यानका वैज्ञानिक विधिहरुलाई विधिपूर्वक आफ्नो जीवनशैलीमा अनुशरण गर्दा मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका श्रोत सात चक्रहरुको जागरण हुने र चक्र जागरण भएपछि सही अवसरको अभावमा मानिस भित्र दवेर रहेका उसका प्रतिभा तथा क्षमताहरु स्वतः प्रष्फुटीत हुने हुनाले मानिस आफ्नो रुची भएका हरेक क्षेत्रमा कर्म गर्न जागरुक तथा अग्रसर हुन्छ र जीवनमा सफलता हासिल गर्दै  जान्छ र उसको जीवन सुख, शान्ति र समृद्धिले भरिन्छ र उसले  आफ्नो असल कर्मको माध्यमबाट आफू लगायत परिवार, समाज तथा देशलाई सुखी, शान्त, समृद्ध बनाउँदछ र अरुको जीवनमा पनि सुख, शान्ति, समृद्धि ल्याउने कार्ममा लागेर अरुलाई सहयोग गरि मानवीयताको सेवा गर्न अग्रसर हुन्छ।


तसर्थ, हामी सबैले योग-ध्यानका विधिहरु सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा विराट चक्र विज्ञानमा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक तथा योगगुरु बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।

No comments:

Post a Comment