'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 17 March 2024

जन्म, ग्रह, नक्षेत्र र ब्रह्माण्डको नियम जानेर जीवनको व्यवस्थापन गरौं

                                                      डा. सिर्जना भण्डारी 



विषय प्रवेश

ज्योतिष शास्त्र पूर्वीय अध्यात्म दर्शनको आँखा हो जसले मानव जीवनको त्रिकाल- विगत, वर्तमान र भविश्यको जानकारी प्रदान गर्दछ। ज्योतिष शास्त्रले निर्दिष्ट गरेका विषयहरुमा विश्वास गर्नु या नगर्नु आ-आफ्नो सोच तथा सुझबुझमा निर्भर गर्दछ तर ज्योतिष शास्त्र विश्वासमा अधारित कथाहरुको श्रृङखला नभएर यो प्रयोग र सत्य-तथ्यमा आधारित प्रयोगात्मक प्रामाणिक विज्ञान हो। पूर्वीय अध्यात्म दर्शनमा ज्योतिष शास्त्रको विकासक्रममा विभिन्न स्रष्टाहरुले आ-आफ्नो मत, तर्क तथा सिद्धान्तहरु पस्किएका भएपनि ऋषि तथा ज्योतिषाचार्य परासरद्वारा प्रतिपादित ज्योतिष शास्त्रको ज्ञान बढी प्रचलनमा रहदै आएको छ ‘परासर ज्योतिष’को रुपमा। 

बच्चा आमाको गर्भबाट वाहिर निस्कदाको क्षणमा आकाशमा रहेका ग्रह, नक्षेत्र, तारा, आकाशगंगा तथा विभिन्न पिण्डहरुको तत्कालीन अवस्थितिको हुबहु स्केच तथा फोटो नै मानिसको जन्मकुण्डली हो। जन्मकुण्डलीको १२ भाव/घर र १२ राशिमा अवस्थित नव-ग्रहहरुको स्थिति, अंश/डिग्री, युक्ति, दृष्टि, राजयोग, योग आदि अनुसार मानिसको विगत, वर्तमान, भविश्य, पूर्वजन्म, प्रारब्ध, व्यक्तिगत सोच, विचार, व्यवहार, संस्कार, सम्वन्ध, मनस्थिति, आर्थिक, सामाजिक, पारिवारीक अवस्था, शारीरिक, मानसिक अवस्था, रोग-ब्याधी, सफलता, असफलता आदि निर्धारित हुने गर्दछ।

मानिस प्राकृतिक प्राणी हो, उसको दैनिकीमा प्रकृति तथा पंचतत्व/पंचमहाभूत क्रमशः कान्छि औंलोदेखि बुढी औंलोसम्म- जल, पृथ्वी, आकाश, वायू र अग्नि तत्वको प्रत्यक्ष प्रभाव रहने गर्दछ। जिव तथा वनस्पतिहरुको भौतिक तथा पराभौतिक शरीर, जीवन, आत्मा तथा चेतना निरन्तर चलायमान हुन तथा नियमित जीवनचक्र चल्नकालागि जल तत्वबाट तरल चिज, पृथ्वी तत्वबाट ठोस चिज तथा खानेकुराहरु, वायू तत्वबाट हावा तथा प्राण वायू, अग्नि तत्वबाट ताप र आकाश तत्वबाट ब्रह्माण्डमा रहेका ग्रह, नक्षेत्र, तारा, आकाशगंगा, पिण्डहरु आदिबाट ब्रह्माण्डिय उर्जा प्राप्त हुन्छ। आधुनिक भौतिक प्रमात्रा विज्ञान(Quantum Physics)को पछिल्लो नयाँ खोजको बटरफ्लाई इफेक्ट सिद्धान्त(Butterfly Effect Theory) का अनुसार ब्रह्माण्डमा अस्तित्वमा रहेका अति सुक्ष्मदेखि अति ठूला चिजहरुमा चल्ने तथा उठ्ने साना-ठूला तरंगहरुले समुच्चा ब्रह्माण्ड भरि हरेकले हरेकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्दछन्। बटरफ्लाई इफेक्ट यसरी पनि बुझ्न सकिन्छ- प्रकृतिमा रहेका जिव तथा वनस्पतिहरुको आ-आफ्नो जीवनचक्रकालागि वनस्पतिहरुले फालेको अक्सिजन वायू जिवहरुले र जिवहरुले फालेको कार्वनडाइअक्साइड वायू वनस्पतिहरुले लिने गर्दछन्। 


वायू तत्वको यही अक्सिजन र कार्वनडाइअक्साइडको सुत्र जस्तै प्रकृतिका पाँचवटै पंचतत्वहरुसंग यस्तै किसिकमको आपसी सामनजस्यताले समुच्चा प्रकृति तथा ब्रह्माण्ड चलिरहेको हुन्छ। भनाइको तात्पर्य ब्रह्माण्डिय उर्जाको तरंगले जसरी जिव तथा वनस्पतिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ त्यसैगरि जिव तथा वनस्पतिहरुको उर्जाको तरंगले समुच्चा ब्रह्माण्डलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ किनकी प्रमात्रा विज्ञानका अनुसार समुच्चा ब्रह्माण्ड एकै उर्जाको तरंगले निर्माण भएको छ, यहाँ केही पनि केहीबाट अलग छैन। यसरी ब्रह्माण्डबाट प्राप्त हुने ब्रह्माण्डिय उर्जा को प्रभाव मानिसको जन्मकुण्डलीमा रहेका ग्रह, नक्षेत्र, तारा, आकाशगंगा  र विभिन्न पिण्डहरुको अवस्थिति अनुसार फरक-फरक समयमा जन्मकुण्डलीको समय र अवधि विभाजन- महादशा, अन्तरदशा, प्रतियन्तरदशा, प्राणदशा र सुक्ष्मदशामा फरक-फरक किसिमले कम तथा वढी र प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पर्दछ र यही प्रभावको विश्लेषण गरेर ज्योतिषीहरुले मानिसको जन्मकुण्डली हेरेर उनीहरुको विगत, वर्तमान र भविश्य तथा अन्य विषयका अवस्थाहरु बताउने गर्दछन्। र समुद्र शास्त्र अनुसार जन्मकुण्डली अनुसार नै मानिसको हस्तरेखा तथा शारीरिक अंगहरुको  निर्माण हुने गर्दछ। तसर्थ जन्मकुण्डली विश्लेषण तथा ज्योतिष शास्त्र आधुनिक प्रमात्रा भौतिक विज्ञानको खोजले नै मान्यता प्रदान गरेको वैज्ञानिक सत्य-तथ्यमा आधारित प्रयोगात्मक प्रामाणिक विज्ञान हो।


यसरी आकाश तत्वबाट निरन्तर प्रवाह भैरहने ब्रह्माण्डिय उर्जाले मानव लगायत पूरै प्रकृतिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ। मानिसको जन्मकुण्डलीमा अवस्थित ग्रह, नक्षेत्र, तारा, आकाशगंगा र विभिन्न पिण्डहरुको अवस्था अनुसार ब्रह्माण्डिय उर्जाको प्रभाव मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका केन्द्रहरु सात चक्रहरुमा चल्ने कुण्डलिनी उर्जामा पर्दछ र मानिसको दैनिक जीवनमा यसको प्रभाव देखिन्छ। योगध्यान साधना गरि चक्र जागरण गरेर जन्मकुण्डलीमा रहेका ग्रहहरुको नकारात्मक प्रभाव कम गर्न तथा हटाउन र हस्तरेखा तथा शारीरिक अंगका बनावटमा पनि फेरबदल गर्न सकिन्छ। यसप्रकार योगध्यान साधनाका विधिहरुको सही अनुशरण गरि चक्रहरुमा चल्ने कुण्डलिनी उर्जा र जन्मकुण्डलीमा अवस्थित ग्रह, नक्षेत्र, तारा, आकाशगंगा र विभिन्न पिण्डहरुबाट निरन्तर प्रवाह भैरहने ब्रह्माण्डिय उर्जा सन्तुलन गरेर हाम्रा उर्जाका केन्द्र सात चक्रहरु जाग्रीत गरि हाम्रो जीवन व्यवस्थापन गर्न सकिन्छ। चक्रहरु जाग्रीत भएपछि मानिस योगस्थ तथा योगारुढ हुन्छ, आत्मज्ञान प्राप्त गर्छ, सतचितआनन्दमा स्थित हुन्छ र उसको मुक्ति तथा मोक्षको द्वार खुल्छ।


तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 

No comments:

Post a Comment