डा. सिर्जना भण्डारी
विषय प्रवेश
वेदान्तका महान अध्ययता तथा अद्वेत वेदान्तका प्रणेता श्रद्धेय आदिगुरु, जगतगुरु शंकराचार्यले भन्नु भएको छ- “ब्रह्म सत्यम जगत् मिथ्या”। वहाँले आफ्नो वचनमा ‘ब्रह्म’ भनेर समुच्च ब्रह्माण्डलाई सन्तुलित रुपमा चलाउने सर्वोच्च परमशक्ति, परमतत्व, परमसत्य, परमात्मा, परब्रह्म, विजब्रह्मलाई; ‘जगत’ भनेर दृश्य वस्तु तथा विषयहरुलाई; र ‘मिथ्या’ भनेर हाम्रो मनले निर्माण गरेको भ्रमलाई इंगित गर्नु भएको हो। मिथ्याको अर्थ असत्य भनेर पनि लगाउने गरेको पाइन्छ तर वहाँका अनुसार मिथ्याको सही अर्थ असत्य नभएर भ्रम हो जो सत्य जस्तो देखिन्छ तर वास्तविकतामा त्यो भ्रम तथा माया मात्र हो। हामीले दैनिक रुपमा भोगिरहेको भौतिक तथा सांसारीक जीवन ‘म’, ‘मेरो’, ‘मलाई’ भन्ने भाव केवल एउटा भ्रम तथा माया हो जो परिवर्तनशील, नाशवान र अनित्य छ। भौतिक तथा सांसारीक जीवनमा भोग चलन गरेका सबै विषय तथा बस्तुहरु जीवन रहँदानै कुनै न कुनै दिन ति अवश्य हामीबाट छुट्छन्, ति त केवल हाम्रो जीवन सहज गराउने साधन मात्र हुन् र अन्त्यमा मृत्युले ति सबै विषय तथा बस्तुहरु हामीबाट सदाकालागि अलग गरिदिन्छ र ति विषय तथा बस्तुहरु मृत्यु पर्यन्त हामीसंग जादैनन्। सत्य तथा आत्मतत्व त्यो हो जो अपरिवर्तनशील, स्थाइ तथा नित्य छ र मृत्यु पर्यन्त पनि हामी संगै रहीरहन्छ, यो हाम्रो इहलोक तथा परलोकको जीवन व्यवस्थित गर्ने साध्य हो र अन्तत्वगत्वा यसैले हामीलाई जन्म र मृत्युको दुःखमय चक्रबाट मुक्ति तथा मोक्ष प्रदान गर्दछ तर हामी हाम्रो वाहिरी ज्ञान इन्द्रियहरुले अनुभव गर्ने भौतिक तथा सांसारीक जीवन वस्तु तथा विषयका भोगहरुलाई नै अन्तिम सत्य मानेर भ्रममा जीवन जीरहेका छौं। बाँचुन्जेल संसारको भोग र भोग सकिएपछि मृत्युलाई नै अन्तिम सत्य मानेर अत्यन्त वहुमूल्य मानव चोलाको घोर अवमूल्यन गरिरहेका छौं। मानिसहरुमा रहेको यस किसिमको मिथ्या, भ्रम तथा मायालाई तोडेर मृत्युपछिको जीवन अझ महत्वपूर्ण छ भन्ने परमसत्य तथा आत्मतत्वको तत्वज्ञान प्रदान गर्नकालागि विराट आध्यात्मिक जागरण अति आवश्यक छ।
सनातन अध्यात्म दर्शन तथा सनातन धर्मले आधुनिक भौतिक विज्ञानका अनुसार अदृश्य, अप्रमाणित तथा असत्य मान्दै आएको तर परमसत्य तथा सनातनदेखि प्रामाणिक विषयहरु- परमात्मा तथा परब्रह्म, आत्मा, पूर्व-जन्म, पूनर-जन्म, कर्म, प्रारव्ध कर्म, प्रारव्ध संस्कार, पाप, पुण्य, भाग्य आदिबारे ज्ञान प्रदान गर्दछ र हामी मनुष्यहरु यही परमसत्यको सेरोफेरोमा आ-आफ्नो जन्म-जन्मको समग्र कर्म तथा प्रारव्ध कर्म अनुसार एकपछि अर्को जन्म लिदै जन्म र मृत्युको दुःखमय चक्रमा अन्जानमा जन्म लिएर भौतिक संसारमा र मृत्यु वरण गरेर पराभौतिक संसारमा जन्मौंजन्म चक्कर काटिरहेका छौं। यसरी जन्म र मृत्युको चक्रमा दुःखकय चक्कर काटिरहनुको प्रमुख कारण हाम्रो भ्रम तथा आत्मज्ञान प्रतिको अज्ञानता हो र यस किसिमको भ्रम तथा अज्ञानताको निर्माण हाम्रो मनले गर्दछ। मन हाम्रो मष्तिस्क तथा स्नायु प्रणालीमा अविरल उठिरहने विचारहरुको समुह हो। हाम्रो विचार तथा मन जस्तो छ वाहिरको संसार उस्तै देखिन्छ* र मन पूर्णतः शुन्य तथा शुद्ध नभइकन परमसत्य अर्थात आत्मतत्वको वोध तथा अनुभूति गर्न सकिदैन। सनातनदेखि अहिलेसम्मका विभिन्न प्रयोग तथा अनुभवहरुलाई आधार मान्दा मनलाई पूर्णतः शुन्य तथा शुद्ध बनाएर परमसत्य तथा आत्मतत्वको वोध तथा ज्ञान गराउने एक मात्र विधि योग तथा ध्यान साधना हो। योग तथा ध्यान साधनाले मानिसको मष्तिस्क तथा स्नायु प्रणालीमा अविरल उठिरहने नकारात्मक तथा अनावश्यक विचारहरुलाई निर्मूलिकरण तथा निर्मलीकरण गर्दछ र विस्तारै मनलाई विचार विहिन तथा शुन्य बनाउँछ। जव मानिसको मन शुन्य तथा शुद्ध हुन्छ तव उ सांसारीक जगतप्रति पनि शुन्यताको तथा वितरागी/वैरागी(संसारका सबै भोगका वस्तु तथा विषयहरु अस्थाइ हुन्, एकदिन ति सबै मबाट छुट्छन् त्यसैले तिनको लोभ तथा मोहमा फस्नु हुन्न, स्थाइ त केवल आत्मतत्वको ज्ञान हो भन्ने गहिरो बुझाई) भाव राख्न थाल्छ अर्थात सांसारीक जीवन केवल भ्रम हो, यो परिवर्तनशील, नाशवान तथा अनित्य छ भन्ने गुह्य कुरा बुझ्न थाल्दछ र विस्तारै आन्तरीक रुपमा पूर्णता तर्फ अग्रसर हुदै जान्छ अर्थात परमसत्य तथा आत्मतत्वको वोध गर्दछ। जव मनुष्यलाई परमसत्य तथा आत्मतत्वको वोध हुन्छ, उ सनातन अध्यात्म दर्शनले तथा सनातन धर्मले प्रदान गर्ने ज्ञान- परमात्मा, आत्मा, पूर्व-जन्म, पूनर-जन्म, कर्म, प्रारव्ध कर्म, प्रारव्ध संस्कार, पाप, पुण्य, भाग्य आदिबारे जानकार हुन्छ र यसको महत्व तथा गहिराई बुझेर जन्म र मृत्युको चक्रबाट मुक्त हुने अझ गहिरा उपायहरुको खोजी गर्न थाल्दछ। सनातन अध्यात्म दर्शनको विकासवादी सिद्धान्त अनुसार विभिन्न प्राणीहरु हजारौं-लाखौं जन्म तथा चोलाहरु पार गरेर मनुष्य भएर जन्मनुको मूल अर्थ नै योग तथा ध्यान साधनालाई अनुशरण गरेर जन्म र मृत्युको दुःखमय चक्रबाट मुक्ति पाएर सदाकालागि सतचितआनन्द, परसत्य परब्रह्ममा स्थित भई आफ्नो इहलोक तथा परलोकको जीवन व्यवस्थित गर्नकालागि हो ।
तसर्थ, हामी सबैले योग तथा ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।
No comments:
Post a Comment