डा. सिर्जना भण्डारी
विषय प्रवेश
सनातन अध्यात्म दर्शनले मनुष्यहरुलाई आफ्नो अमूल्य जीवनको विज्ञानको सही जानकारी तथा महत्व बुझाउन मानव शरीरलाई समग्रमा स्थुल र सुक्ष्म अर्थात उर्जा शरीर गरि यस अन्तर्गत विभिन्न तह तथा भागमा विभाजन गरेको छ। मोटामोटी रुपमा मानव शरीरलाई तीन तहमा विभाजन गरिएको छ- स्थुल शरीर, सुक्ष्म शरीर र कारण शरीर। सुक्ष्म शरीरमा रहेका उर्जाका केन्द्र सात चक्रहरुलाई आधार मानेर मानव शरीरलाई सात तहमा विभाजन गरिएको छ- भौतिक अर्थात स्थुल शरीर, प्राणिक शरीर, मनस शरीर, भावनात्मक शरीर, वौद्धिक शरीर, आत्मिक र चेतनात्मक अर्थात परम शरीर। पंचकोषहरुलाई आधार मानेर मानव शरीरलाई पाँच तहमा विभाजन गरिएको छ- अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष।
अन्नमय कोषका अनुसार अन्नबाट निर्मित दृश्य चित्रमा रहेको तथा देख्न र छुन सकिने हाम्रो भौतिक शरीर नै स्थुल शरीर हो र अरु सबै शरीरहरु देख्न नसकिने तर अनुभूति मात्र गर्न सकिने सुक्ष्म अर्थात उर्जा शरीरहरु हुन्। स्थुल तथा सुक्ष्म अर्थात उर्जा सबै शरीरहरुको आ-आफ्नै परिभाषा, महत्व तथा क्रिया र कर्महरु रहेका छन्। हाम्रो स्थुल शरीर यन्त्र मात्र हो यसलाई सुक्ष्म अर्थात उर्जा शरीरले चलाएको हुन्छ तथा नियन्त्रण गरेको हुन्छ। हामीले नियमित रुपमा गर्ने आहार, विहार र विचारले स्थुल शरीरलाई प्रत्यक्ष प्रभाव पार्दछ र हाम्रो आहार, विहार र विचारलाई सुक्ष्म अर्थात उर्जा शरीरमा हुने सकारात्मक तथा नकारात्मक गतिविधिहरुले प्रत्यक्ष प्रभाव पार्दछ। समग्रमा भन्नु पर्दा हाम्रो सुक्ष्म शरीर अर्थात आत्मा तथा चेतना उर्जा शरीर हो र अध्यात्म विज्ञान पूर्णतः उर्जाको विज्ञान हो। उर्जा (योगको भाषामा कुण्डलिनी तथा प्राण उर्जा भनिन्छ) तीन किसिमका हुन्छन् शारीरिक तथा जीवन उर्जा, प्राकृतिक तथा जगत उर्जा र ब्रह्माण्डिय तथा परम उर्जा। यिनै तीन किसिमका उर्जाहरुको समन्वयबाट हाम्रो जीवन चलेको हुन्छ। यि तीन किसिमका उर्जाहरुलाई व्यवस्थित तथा सन्तुलित राख्न सके मात्र हाम्रो समग्र स्थुल तथा सुक्ष्म अर्थात उर्जा शरीर व्यवस्थित तथा सन्तुलित रहन्छ र यि तीन किसिमका उर्जाहरुलाई व्यवस्थित तथा सन्तुलित राख्न नसकेको अवस्थामा हाम्रो स्थुल तथा सुक्ष्म शरीरहरुमा अब्यवस्था, अस्तव्यस्तता तथा असन्तुलन आउँछ र यसको परिणामस्वरुप हाम्रो जीवनमा शारीरिक तथा मानसिक रोग, असफलता, बेखुशी, आत्मविश्वासमा कमी, सम्वन्धमा असहजता, अज्ञानता, परानिर्भता, आँटेको कार्य गर्न वाधा, अशान्ति जस्ता समस्याहरु देखा पर्दछन् र समग्र जीवनशैली नै असहज तथा अव्यवस्थित बन्न पुग्दछ।
उर्जा शरीरलाई व्यवस्थित तथा सन्तुलित गर्न सक्यौं भने हाम्रो स्थुल शरीर, मनस शरीर लगायत सबै शरीरहरुमा देखिएका तथा देखिने सम्भावना रहेका सबै किसिमका रोग तथा समस्याहरु समाधान भएर जान्छन् किनकी स्थुल, मनस, भाव आदि शरीरहरुमा देखिने सबै प्रकारका रोग, समस्या तथा असन्तुलनहरु सबैभन्दा पहिला उर्जा शरीर तथा हाम्रो आभा मण्डलमा देखिन्छन् र केही समयपछि मात्र स्थुल तथा मनस र अन्य शरीरहरुमा देखिन्छन्। तसर्थ योगध्यानका विधिहरुको सही अनुसरण गरेर हाम्रो उर्जा शरीरलाई व्यवस्थित तथा सन्तुलित गर्न अति आवश्यक हुन्छ। योगध्यान साधनाले हाम्रो सुक्ष्म तथा उर्जा शरीरमा रहेका उर्जाका केन्द्र सात चक्रहरुलाई सन्तुलन तथा जाग्रित गर्दछ र हाम्रो समग्र स्थुल तथा सुक्ष्म शरीरका गतिविधिहरुलाई व्यवस्थित तथा सन्तुलित गर्न मद्धत गर्दछ र मानिस जीवनमा सुख, शान्ति र समृद्धिले भरिन्छ र उ आनन्दले भरिपूर्ण आध्यात्मिक जीवन जिउँन सक्षम हुन्छ।
तसर्थ, हामी सबैले योग-ध्यानका विधिहरु सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा विराट चक्र विज्ञानमा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक तथा योगगुरु बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।
No comments:
Post a Comment