'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 21 March 2024

जीवनमा योग-ध्यानबाट सजगता, एकाग्रता, शुन्यता, पूर्णता, भरिपूर्णता हासिल गरौं

                                                      डा. सिर्जना भण्डारी 



विषय प्रवेश

संसारमा सबैभन्दा सुखी तथा खुशी व्यक्ति को हुन्छ भन्ने प्रश्नको उत्तर सबैले दिन सक्दैनन् किनकी सांसारीक जीवन जीउने कोहीपनि व्यक्ति पूर्णतः सुखी तथा खुशी हुदैनन् तथा छैनन्। यसो भन्दैमा सुखी तथा खुशी व्यक्ति छँदै छैनन् भन्ने चाहिं पक्कै होइन, सिमित होलान तर अवश्य छन्।  जीवन र जगतलाई गहिरोसंग बुझेका ज्ञानी तथा प्राज्ञ व्यक्तित्वहरु भन्ने गर्दछन् योगी तथा सन्त व्यक्तिहरु सवैभन्दा सुखी तथा खुशी हुन्छन् जसलाई जीवनमा केहीपनि पाउने तथा गुमाउने सन्ताप हुदैन। तर जीवन र जगतलाई गहिरोसंग नबुझेका व्यक्तित्वहरुले यो भनाइलाई हाँसोमा उडाउँदै भन्ने गर्दछन् योगी तथा सन्तको आगेपिछे केही हुदैन, ति त जोगी हुन, अभावमा बाँचेका हुन्छन्, दरिद्र हुन्छन्, भौतिक वस्तुको भोगको सुख तथा सुविधाको स्वाद नै थाहा हुदैन त्यसैले अभावमै सुखी तथा खुशी महसुस गर्दछन्। तर यो भनाइ तथा बुझाइ पूर्णतः असत्य हो किनकी मानव-मानववीच अत्यन्तै फराकिलो विविधता छ जो मानिसको आ-आफ्नो प्रारव्धले निर्धारण गरिदिएको हुन्छ। सर्वप्रथम त हामी यो सत्यलाई स्वीकार गरौं कि ब्रह्माण्ड यति विराट र रहश्यपूर्ण छ कि यहाँ जे देखिन्छ त्यो पूर्ण सत्य नहुन सक्छ र जे देखिदैन त्यो पूर्ण असत्य नहुन सक्छ, सनातन अध्यात्म विज्ञानको परिभाषा अनुसार भन्ने हो भने यो भौतिक संसारमा जे अदृश्य छ त्यो नै वास्तविक पूर्ण सत्य हो र जे देखिन्छ त्यो सबै माया, भ्रम तथा मिथ्या हो जो अनित्य तथा अस्थाइ छ। तसर्थ सवैभन्दा पहिला हामीले यो बुझौं ‘योगी’ र ‘जोगी’को अर्थ एकै होइन, यस सन्दर्भमा हाम्रो बुझाइनै गलत छ। योगी त्यो होइन जो निश्चित टिका, पहिरन, माला, भाषा तथा भावभंगीमा प्रस्तुत हुन्छ, दान तथा भिक्षा मागेर हिंड्छ। योगी त्यस्तो महात्यागी व्यक्ति हो जसले सनातन अध्यात्म विज्ञानले गरेको त्याग(यद्धपि त्यागका प्रकार तथा परिभाषाहरु विविध छन्) र जीवनको परिभाषा अनुसार जीवन र जगत अर्थात ब्रह्माण्डका अदृश्य परमसत्यहरुलाई गहिरोगरि बुझेको हुन्छ र त्यही अनुसार आफ्नो जीवनशैली निर्माण गरेको हुन्छ। तसर्थ धनसम्पत्ति भएको, सुविधा सम्पन्न आधूनिक तथा उत्तर-आधूनिक जीवनशैली भएको व्यक्ति पनि भित्रबाट योगी हुनसक्छ र आफूलाई निश्चित टिका, पहिरन, माला, भाषा तथा भावभंगीमा प्रस्तुत गर्ने व्यक्ति  स्वार्थी तथा महाभोगी हुनसक्छ किनकी भौतिक संसार केवल एक भ्रम तथा मायाको सागर हो यहाँ जे देखिन्छ त्यो पूर्ण सत्य होइन र जे देखिदैन त्यो चाहिं सत्य हो।


को हो सच्चा त्यागी अर्थात योगी भन्ने सन्दर्भमा एउटा अति नै महत्वपूर्ण तथा प्रासंगीक अभिव्यतिले यो कुरालाई पुष्टी गर्दछ- 

सांसारिक व्यक्तिले गरेको एउटा क्षुद्र जिज्ञासाको जवाफ दिने क्रममा महान योगी तथा सन्तको आममानिसको सोच र युग परिवर्तन गर्नसक्ने सन्देश यस्तो रहेको छ- 
"मैले केही क्षुद्र रुपियाँ र केही मामुली सुख तथा खुशी असिम आनन्दको दैवी साम्राज्य अध्यात्मको लागि छाडें, तसर्थ सच्चा त्यागी म होइन। वास्तवमा सच्चा त्यागी त ति सांसारिक मानिसहरु हुन् जसले अतुलनिय दैवी सम्पदा अध्यात्मको वदलामा केही सांसारीक खेलौनाहरुमा आनन्द लिरहेका छन्।                                                                                                                                                                                -                                                   योगी नगेन्द्रनाथ भादुडी 
साभारः परमहंस योगानन्द, (सन् १९४५) । योगीको आत्मकथा । पृष्ठ - ७८ । योगानन्द सतसंग सोसाइटी, इन्डीया ।


यसर्थ सुखी तथा खुशी व्यक्ति त्यो हो जसले सनातन अध्यात्म विज्ञानले गरेको जीवनको परिभाषा अनुसार जीवन र जगतलाई गहिरोसंग बुझेर योगध्यानको मार्गको सही अनुशरणबाट आफ्नो सुक्ष्म शरीरका उर्जाका केन्द्र चक्रहरुको जागरण गरि आफूलाई सजगता, एकाग्रता, शुन्यता, पूर्णता हुदै भरिपूर्णता तथा परमसत्यतासंग एकाकार गरेको हुन्छ। जो व्यक्ति योगध्यानको मार्गलाई सही ढंगले अनुशरण गर्दछ उसमा विस्तारै संसारको धन, भोग-विलास, लोभ, मोह, भ्रम, आकांक्षा, रिश, इष्र्या, अहंकारप्रति विस्तारै त्याग, वैराग्य तथा वितरागको भाव जागृत हुदै जान्छ र उ योगस्थ अर्थात योगी बन्दछ। योगीमा मात्र आफू सुखी तथा खुशी रहन सक्ने र अरुलाई पनि सुख तथा खुशी प्रदान गर्न सक्ने क्षमता हुन्छ। योगी व्यक्ति हरेक सिकिमले आफूभन्दा कमजोर तथा दुःखी मानिसहरुको सेवामा आफूलाई समर्पित गर्दै जान्छ र आफ्नो सर्वस्व जगको कल्याणकालागि त्याग गर्न र सेवा तथा परोपकारमा आफूलाई  निमज्जीत गर्न तत्पर हुन्छ। २१औं शताव्दीका विभिन्न आधुनिक वैज्ञानिक संघ-संस्थाहरुले उजागर गरेका वैज्ञानिक तथ्यांकहरुका अनुसार दुःखमा रहेका व्यक्तिहरुलाई सम्पूर्ण किसिमले सुख तथा खुशी प्रदान गर्न सक्ने एकमात्र आत्यन्तिक माध्यम ध्यान विज्ञान हो, ध्यानबाट नै मानिसले आत्यन्तिक सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द प्राप्त गर्न सक्छ।


तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योगध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 


No comments:

Post a Comment