'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 3 July 2024

आध्यात्मिक नारीवाद: उदारवादी नारीवाद अध्यात्म विज्ञानकै शाखा हो

Spiritual Feminism: Liberal Feminism is Branch of Spiritual Science

                                                                   डा. सिर्जना भण्डारी

मुख्य विषय: अध्यात्मवाद; योग विज्ञान; नारीवाद; नारीवादका लहरहरु; नारीवादका प्रकारहरु; उदारवादी नारीवाद अध्यात्म विज्ञानकै शाखा हो



विषय प्रवेश

अध्यात्मवादको मूल ध्यय जीवन र जगतको सर्वकल्याण होस् तथा रहोस् भन्ने हो। यही मूल मन्त्रलाई आत्मसाथ गर्दै उदारवादी नारीवादले यस जगतमा आधा-आधा अर्थात बराबर आकाश ओगटेका अर्थात बरारबर अस्तित्व तथा हैसियत भएका महिला र पुरुष दुवै लिंगको जीवनका सबै आयामहरुमा सुख, शान्ति, समृद्धि  तथा आनन्द रहोस् र जगतको भोगमा समान अधिकार रहोस् तथा हुनु पर्दछ भन्ने मान्यता अंगीकार गर्दै आइरहेको छ। हामी महिला र पुरुष सबै आभारी छौं र रहनु पर्छ उदारवादी नारीवादप्रति किनकी आजको विश्व समाजमा हामी महिला र पुरुष समान रुपमा काँधमाकाँध, हातमाहात, कर्ममाकर्म मिलाएर अघि बढिरहन सफल भएका छौं, यो महत्वपूर्ण उपलव्धिको योगदान उदारवादी नारीवादले नै गरेको हो। यही कारण हामी लैंगिक रुपले समान हैसियत राखेर आज मानवीय मूल्यमान्यता विरुद्ध रहेका समाजका विभेदयुक्त, शोषणयुक्त, बन्देजयुक्त, असमानता, प्रतिवन्ध तथा चुनौतीहरुलाई चिरेर समानता र स्वतन्त्रतामा आधारीत समाजमा एक भएर अगाडि बढ्न सफल भएका छौं र समाजलाई युग सुहाउँदो परिवर्तन नवयुग निर्मातर्फ अगाडि बढाइरहेका छौं।

 

अध्यात्मवाद (Spiritualism)

अध्यात्मवाद सनातन हो जसको कुनै शुरुआत अन्त्य नै छ। अध्यात्म विज्ञान हाल संसारभरि अध्ययन गरिने सबै विज्ञानहरुको मूल श्रोत हो र सबै विज्ञानहरु अध्यात्म विज्ञानका शाखा हुन्। अध्यात्म जीवन र जगतको गहिरो अध्ययन गर्ने व्यवहारीक र प्रयोगात्मक योग साधनाको विज्ञान हो। अध्यात्मले आफ्नो जीवनमा योगका विधिहरुको इमान्दारीपूर्वक अनुशरण गर; जीवन र जगतबारे जानेर पूर्ण मानव बन; पूर्ण मानव बनेर सक्छौ भने आफ्नो, परिवार, समाज, राष्ट्र, विश्व, समग्र मानवीयता, प्रकृति, जगत तथा समग्रको सर्वकल्याणकालागि सक्दो सकारात्मक काम गर र सक्दैनौ भने यी क्षेत्रहरुमा कुनै किसिमको हानी नोक्सानी नपुर्याइकन समानताको भाव राखेर नैतिक मूल्यमान्यता अनुसार आफ्नो जीवन जीउन सिक भन्ने सन्देश प्रदान गर्दछ। पूर्वीय ऋषि तथा प्राचीन वैज्ञानिकहरुको अत्यन्तै महत्वपूर्ण खोज योगका विधिहरुको नियमपूर्वक अनुशरण तथा अभ्यास गर्दा समग्र मानव जीवनको सर्वाधिक महत्वपूर्ण भाग शरीर र शरीरका महत्वपूर्ण चार आयामहरु- स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर र आत्मिक तथा सुक्ष्म शरीर शुद्धीकरण हुनुकासाथै शरीरमा उल्लेखनीय सकारात्मक लौकिक तथा परालौकिक अर्थात भावातीत परिवर्तनहरु आउँछन् र मानिस जीवन र जगतप्रति सम्पूर्ण ज्ञान, विज्ञान, विवेक तथा प्रज्ञाले भरिन गई पूर्ण मानव बन्दछ। जीवन र जगतप्रति उत्तरदायि, चिन्तक, सुधारवादी, सकारात्मक परिवर्तको सम्वाहक, मानवीयता तथा सर्वकल्याणकालागि निस्काम भावले कर्म गर्ने परोपकारी ऋषि जस्तो व्यक्तित्व भएको मानिस नै पूर्ण मानव हो।

 

ब्रह्माण्डमा भएका सबै विषय, वस्तु तथा प्राणीहरुलाई आफू बराबर देख्न र समानतामा आधारीत मूल्यमान्यतामा जीवन जीउन सिकाउने अध्यात्म विज्ञानको सही ढंगले साधना गरेर जीवन र जगतबारे पूर्ण जानकार भई पूर्ण मानव बन्नकालागि अध्यात्म विज्ञानको महत्वपूर्ण विषय योग साधनाका विधिका सन्दर्भमा समयसान्दर्भिक पर्याप्त सैद्धान्तिक ज्ञान, व्यवहारीक सीप तथा ज्ञान र प्रयोगात्मक अभ्यासका प्रभावकारी सीकाइ विधिहरु प्रतिपादन गरिएका छन्। योगको शाव्दीक अर्थ जोड्नु भन्ने भएपनि यसको परिभाषा निकै फराकिलो किसिमले प्रयोग गर्ने गरिन्छ। मानिसको जीवन स्वस्थ, सहज, सुखी, खुशी, समृद्ध, शान्त, आनन्दित बनाउन सैद्धान्तिक ज्ञान, व्यवहारीक तथा प्रयोगात्मक अभ्यासका विधिहरु योग विज्ञानमा अन्तरनिहीत छन्। मुख्य रुपमा योग सात प्रकारका छन्- कर्म योग, तन्त्र योग, हठ योग, भक्ति योग, ज्ञान योग, ध्यान योग र सांख्य योग तथा राज योग। सबै प्रकारका योगका आ-आफ्नै किसिमका सिद्धान्त, सीकाइ, तर्क, मत, ज्ञान तथा प्रयोगका विधिहरु रहेकाछन् जसलाई मानिसले आफ्नो आवश्यकता, रुची, रोजाइ र आफ्नो शरीर, मन, भावना, चेतनाको प्रकृति अनुसार आफ्नोलागि उपयुक्त हुने योगको प्रकार र त्यसका विधिहरु चयन गरेर शरीर, मन, भावना, चित्त, चेतना तथा आत्माको शुद्धीकरण तथा विकास गरि त्यसबाट उच्चतम लाभ लिएर आफ्नो जीवनमा पूर्णता तथा सफलता हासिल गर्न सक्दछ।

 

योग विज्ञान(Science of Yoga)

सात योग मध्य राज योग सबैभन्दा बढि विश्वव्यापि रुपमा प्रयोग गरिएको योग हो जसले अरु प्रकारका योगका विधिहरुलाई पनि धेरथोर समेटेको छ। अनुमानित सन् २०० बि.सि.मा महर्षि पतंजलिले छरीएर रहेका योगका विशिष्ठ विधिहरुलाई संकलन तथा एकवद्ध गरि व्यवस्थित ढंगले सुत्रवद्ध गर्नुभएको ग्रन्थ पतंजलि योग शुत्र महत्वपूर्ण तथा प्रभावकारी, विगत र वर्तमानमा विश्वभरिनै सर्वाधिक प्रयोगमा ल्याइएको राज योगका विधिहरुबारे विस्तृतमा व्याख्या गरिएको, सबैकालागि बुझ्न, बुझाउन र प्रयोगमा ल्याउन सहज योग प्रदिपिका हो। महर्षि पजंजलिले योग सुत्रमा योगलाई मानिसको जीवनमा योगका विधिहरु अनुशरण गर्न सहज होस भन्ने उदेश्यले बहिरंग र अन्तरंग गरि योगलाई आठ चरणमा विभाजन गर्नुभएको छ-

यम- आफूले संसारप्रति गर्नुपर्ने कर्म तथा व्यवहार(अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह),

नियम- आफूले आफैंप्रति गर्नुपर्ने कर्म तथा व्यवहार(शौच, संतोष, तप, स्वाध्याय, ईश्वर-प्रणिधान),

आसन- योग अभ्यास तथा शारीरिक व्यायाम,

प्राणायाम- श्वास अर्थात प्राणको व्यायाम,

प्रत्याहार- इन्द्रियहरुको सम्यमता तथा वितरागको अभ्यास,

धारणा- एकाग्र हुने सकारात्मक तथ्य, कथ्य, सत्यसंग सम्वन्धित विषयहरु,

ध्यान- विषयप्रति एकाग्रता, स्थिर मन, र

समाधि- शुन्य, अमनी अर्थात मनमा विचार नभएको अवस्था।

राज योगका आठ चरणका विधिहरुको इमान्दारिपूर्वक अनुशरण गरेर शरीरलाई मनसंग, मनलाई भावनासंग र भावनालाई चेतना तथा परम/आत्मासंग जोडेर आफूलाई इहलोक(जीवन) र परलोक(जगत/ब्रह्माण्ड)को वास्तविक सत्यतासंग योग गरि योगस्थ भएको र सबैलाई आफू सरह देख्ने समानता तथा स्वतन्त्रताको मूल्यमान्यतालाई आफ्नो जीवनशैलीमा आत्मसाथ गरेर जीवन जीउने व्यक्ति नै सही अर्थमा आध्यात्मिक तथा अध्यात्मवादी पूर्ण मानव हो।

 

अध्यात्मवादले व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व, मानवीयता, समग्र प्रकृति, जगतमा उदारता, समानता र समताको आदर्शलाई आत्मसाथ गर्दछ र यही भावलाई जीवनमा अनुशरण गर्नुपर्नेमा जोड तथा प्राथमिकता प्रदान गर्दछ। उदारता, समानता र समताप्रतिको आदर्श भावले सबैको स्वतन्त्रता, हकअधिकार, समान अस्तित्व हुन्छ भन्ने सत्यतामा विश्वास गर्दछ र सबैतिर पूर्ण उदारवादको अनुशरण गरिनु पर्ने मान्यता राख्दछ। उदारवादको मूल्यमान्यताले जातिय समानताको माध्यमबाट सबैलाई मानव हुनुको हैसियतले बराबर स्वतन्त्रता प्रदान गर्दछ; लैंगिक समानताको माध्यमबाट लैंगिक स्वतन्त्रता प्रदान गर्दछ र वर्ग समानताको माध्यमबाट वर्गविहिन स्वतन्त्रता प्रदान गरि मानिसलाई सबै प्रकारका बारबन्देजहरुबाट मुक्त गर्दछ । सबैको व्यक्तिगत, पारिवारीक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, राजनीतिक, आर्थिक स्वतन्त्रतालाई प्राथकिता प्रदान गर्नुका साथसाथ कमजोर जात, वर्ग, लिंग, समुह तथा समुदायलाई आवश्यकता अनुसार सबैलाई बराबर गर्न तथा समानता प्रदान गर्न समताको रणनीतिमा जोडदिन्छ र पिछडिएका तथा पछाडि पारिएका वन्चित भएकाहरुलाई माथि उठाइ औषतमा ल्याएर सबैकालागि समान नीति अनुशरण गर्दछ।

 

नारीवाद (Feminism)

युग परिवर्तनसंगै आएको समयको माग अनुसार अस्तित्वमा आएको नारीवाद अध्यात्म विज्ञान तथा अध्यात्मवादकै उउटा नयाँ शाखा हो। नारीवादले अध्यात्मवादका मूल्यमान्यताहरुलाई अनुशरण गर्दछ र मानव समाजको एउटा अति महत्वपूर्ण विषय लैंगिकता विज्ञानको अध्ययन गर्दछ। नारीवादको मौलिक विषय लैंगिकता विज्ञानले लैंगिक समानता र लामो समयदेखि लैंगिक असमानतामा प्रताडित मानिस(महिला पुरुष दुवै लिंग)लाई छिटो छरितो तरिकाले लैंगिक समानतामा स्थापित गर्न लैंगिक समताको मूल्यलाई मान्यता प्रदान गरेर यसका रणनीतिहरु अवलम्वन गर्न जोड दिन्छ र मानवीयता तथा सर्वकल्याण भावको अन्तर्य आत्मसाथ गर्दछ। यसकारण उदार नारीवाद अध्यात्म विज्ञानकै अन्तरंग अंग तथा शाखा हो।

 

नारीवाद के हो (What is Feminism)?

लैंगिकताका कारण उत्पिडनमा परेका महिला/नारी तथा पुरुषहरुको हकहित, समानता, स्वतन्त्रता, अधिकारका सम्वन्धमा लैंगिक समानता गराइनु पर्छ भन्ने विषयको अध्ययन गर्ने विज्ञान नारीवाद हो। तसर्थ आम बुझाइमा रहेको जस्तो नारीवाद भनेको पुरुषहरुको अधिकार कम गरेर महिलाहरुलाई पुरुष भन्दा अगाडि बढाउनु, बढि स्वतन्त्रता तथा अधिकार प्रदान गर्नु तथा महिलाहरुलाई बढि प्राथमिकतामा राख्नु होइन र हाल नारीवादमा आएको बिकृति तथा सुडो नारीवादको विषय अलग कुरा हो जो नारीवादको आन्तरीक भावसंग सम्वन्धित छैन। प्राय विश्व समाजमा लैंगिकताका कारण पुरुषको तुलनामा महिलाहरु बढि उत्पिडन र अधिकारकिहीन अवस्थामा रहेकाले लैंगिक समानताको अध्ययन गर्ने यस विज्ञानलाई नारीवाद नामाकरण गरिएको भएपनि यसले महिला पुरुष दुवै लिंगको समानता, अधिकार तथा विकासलाई बराबर प्राथमिकता प्रदान गर्दछ र अन्यायमा परेका हरुलाई उचित न्याय प्रदान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ र हरेक क्षेत्रमा महिला र पुरुषको हक बराबर हुनु पर्दछ भन्ने विषयको वकालत गर्दछ।

 

नारीवाद शव्दावली अंग्रेजी शव्द फेमिनिजम(Feminism) को नेपालीकरण हो। लेटीन भाषाको फेमिना(Frmina) मूल शव्दबाट उत्पत्ति भएको शव्द फेमिनिजम को शुरुआत पहिलो पटक फ्रेन्च दार्शनिक चाल्र्स फोरीयरले सन् १८३७ मा गरेका हुन्। पहिलो पटक सन् १८९० मा बेलायतमा महिलाहरुको हकहित कुरा विषयलाई लिएर सबै क्षेत्रमा पुरुष सरह महिलाहरुको पनि समान अधिकार हुनुपर्छ, लैंगिक समानता हुनुपर्छ भन्ने सन्दर्भमा नारीवादको प्रादुर्भाव भएको हो।

 

नारीवादका लहर तथा चरणहरु (Waves of Feminism)

नारीवादका मुख्यतया तीन चरणहरु छन्। विज्ञान प्रविधि र सूचना प्रविधिको विकास तथा क्रान्तिलाई बेग्लै चरण मान्दै आइएकोले कतै-कतै नारीवादका चार चरणहरु उल्लेख गरिएको पनि पाइन्छ।

पहिलो चरण(Frist Wave)- पहिलो पटक सन् १८४८ मा सेनेका फल्स कन्भेन्सन(The Seneka Falls Convention) मा पुरुष सरह महिलाहरुलाई पनि समान अधिकार हुनुपर्ने विषयको उठान भएको भएपनि नारीवादको विकासक्रमको पहिलो लहर तथा चरण सन् १८९० बाट मात्र शुरुआत भयो र १९६० सम्म चल्यो। यस चरणमा खासगरि त्यतिबेला लोकप्रिय रहेका पश्चिमका वरिष्ठ साहित्यकार नाटककार सेक्सपियरका नाटकहरुमा महिलाको भूमिकामा पुरुषले महिला भएर नभइ महिलाले नै अभिनय गर्न पाउनु पर्ने विषयलाई एजेन्डा बनाइएको थियो- १. नाटक प्रस्तुतीहरुमा महिलाको अभिनय पुरुषले होइन महिलाले नै गर्न पाउनु पर्छ; २. महिलाहरुलाई कानूनी अधिकार अर्थात भोटको अधिकार दिइनु पर्छ; ३.चल-अचल सम्पत्तिमा महिलाहरुको अधिकार हुनुपर्छ भन्ने विषयहरुमा आवाज बुलन्द गरिएको थियो।

दोस्रो चरण(Second Wave)- नारीवादको विकासक्रमको दोस्रो लहर तथा चरण सन् १९६० देखि १९९० सम्म चल्यो। दोस्रो चरणमा रंगभेद, जातिभेदका साथसाथ- १.परिवारमा महिलाको पुरुष सरह अधिकार हुनुपर्ने; २.प्रजननमा महिलाको एकल अधिकार हुनुपर्ने(बच्चा जन्माउने वा नजन्माउने, जन्माउने भए कहिले र कति बच्चा जन्माउने, गर्भपतनको अधिकार र छोडपत्र हुँदा बच्चाको पालपोषणको अधिकार महिलाले पाउनुपर्ने) ३.पुरुष सरह महिलाहरुलाई पनि हरेक क्षेत्रमा समान अवसर र समान स्वतन्त्रता हुनुपर्ने विषयहरु लाई प्राथमिकतामा राखिएको थियो।

तेस्रो चरण(Third Wave)- नारीवादको विकासक्रमको तेस्रो लहर तथा चरण सन् १९९० देखि २०१० सम्म चल्यो। तेस्रो चरणमा मुख्य गरि- १.पहिलो र दोस्रो चरणका विषयहरु हासिल गर्नकालागि महिलाहरुमा विविधता हुन्छ रंग, जाति, राष्ट्र, धर्म, सम्प्रदाय, संस्कृति, भुगोल, प्रकृतिका आधारमा सुक्ष्म रुपले अध्ययन गरिनु पर्दछ,र २.यी विषयहरुलाई पुनरपरिभाषित गरि पुरुषहरुमा पनि नारीवादी अवधारणको विकास गरिनु पर्दछ भन्ने विषयमा जोड दिइयो।

चौथो चरण(Fourth Wave)- नारीवादको विकासक्रमको चौथो लहर तथा चरण सन् २०१० देखि  हालसम्म चलिरहेको छ। खासगरि विज्ञान प्रविधि र सूचना प्रविधिको विकासले मारेको अद्वीतिय फड्कोले समाजमा सहजता र संस्कृतिसंगै विविध प्रकारमा विक्रितीहरु पनि भित्र्याएको छ। खासगरि सामाजिक संजालहरुको दुरुपयोगका कारण हुनेगरेका सबै किसिमका अपराधहरु र महिलाहरुमा हुने विविध प्रकारका यौन शोषणका विषयहरु नारीवादको चौथो चरणको विकासक्रमको रुपमा लिइएको छ। तर धेरै जसो लेखकहरुले यस किसिमका अपराधहरु पनि तेस्रो चरण अन्तर्गत नै रहेको उल्लेख गरेका छन्। यस चरणमा खासगरि- १. महिलामाथि गरिने अस्लिल छेडछाड, २. महिलामाथि हुने यौन उत्पिडन, ३.महिलामाथि हुने बलत्कार, ४. महिला शोषण विरुद्धको अभियान मि टु आन्दोलन आदि विषयहरु चर्चामा छन् र यी विषयहरुमा महिलाको सुरक्षा, स्वतन्त्रता र हकअधिकार सन्वन्धि विविध सुधारात्मक कार्यहरु भएका तथा भैरहेका छन् विश्वव्यापि रुपमा।

 

नारीवादका प्रकारहरु (Types of Feminism)

लैंगिक समानताका विषयहरुको उठान, प्रभावकारीता र परिवर्तन तथा सफलता प्राप्तिका आधारमा मुख्यतया पाँच प्रकारमा नारीवादहरु यस विषयसंग सम्वन्धित सन्दर्भ सामग्रीहरुमा उल्लेखित छन्। १.उदारवादी नारीवाद, २.समाजवादी नारीवाद, ३.अश्वेत नारीवाद  ४.कट्टरवादी नारीवाद, र ५.सांस्कृतिक नारीवाद

उदारवादी नारीवाद (Liberal Feminism)

उदारवादी नारीवादले राज्यका सबै नागरीकहरुले बराबर अधिकार सम्पन्न र स्वतन्त्र जीवन जीउन पाउने अवसर तथा वातावरणको निर्माण गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। यसकालागि परिवार, समाज तथा राज्यका सबै क्षेत्रहरुबाट लैंगिक असमानता पूर्णरुपमा हट्नु पर्दछ र महिलाहरुलाई सबै प्रकारका मौलिक हक, व्यक्तिगत, पारिवारीक, सामाजिक, राजनीतिक, आर्थिक, कानूनी, शैक्षिक, प्रजनन् आदि हकहरु पुरुष सरह प्रदान गरिनु पर्दछ। परिवार, समाज  तथा राज्यका सबै क्षेत्रहरुमा महिलाहरुलाई पनि पुरुष सरह सहभागि हुनसक्ने गरि समान अवसर, हकअधिकार र समान स्वतन्त्रता प्रदान गरि महिलाहरुको जीवन पनि पूर्णताले भरिएको गुणस्तरीय बनाउनु पर्दछ भन्ने विषयमा वकालत गर्दछ। परिवार, समाज र राज्यमा यी मान्यताहरु कायम गर्न र निर्धारित लक्ष्य हासिल गर्नकालागि समाज तथा राज्यका कानूनी प्रावधान तथा दस्तावेजहरुमा सकारात्मक सुधारका विषयहरु अघि सार्दछ। लच्छित लक्ष्यहरु हासिल गर्न पुरुषको अधिकारमा खलल् नआउने गरि पुरुषहरुलाई साथमा लिएर समान नागरीकको हैसियतले परिवार, समाज र राष्ट्रबाट प्राप्त हुनुपर्ने नैसर्गिक हकअधिकारहरुमा आवश्यक लेखापढी गरेर महिलाहरुमाथि विभेद दर्शाउने तथा प्रतिवन्ध लगाउने कानूनी, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, प्रजनन् सम्वन्धि सबै क्षेत्रहरुमा रहेका विभेदकारी विषयहरु हटाएर तिनमा थप सूधार गरि महिलाका स्वतन्त्रता र समानताका हकअधिकारहरु स्थापित गर्नुपर्नेमा जोड दिन्छ। यसकालागि राज्यका सबै तह र तप्काहरुमा लैंगिक समानताको रणनीति अवलम्वन गरिनु पर्दछ भन्ने सन्दर्भमा उदारवादी नारीवादको प्रादुर्भाव भएको हो।

समाजवादी नारीवाद (Social Feminism)

समाजवादका सर्जक जर्मनका प्रतिभाशाली समाजवादी दार्शनिक तथा नेतृत्वकर्ता कार्ल माक्र्स भएकाकारण समाजवादी नारीवादलाई माक्र्सवादी नारीवादको रुपमा पनि बुझ्ने गरिन्छ। माक्र्सवादको सिद्धान्तले राज्यका खासगरि सामाजिक र आर्थिक क्षेत्रहरुमा सबै नागरीकहरुलाई वर्गबिहीन समान अवसर तथा समान स्वतन्त्रताको विषयलाई बढि जोड दिएको छ। समाजमा विकृतिको रुपमा रहेको चरम शोषण, असमानता, लैंगिक असमानता पूंजीवादी अर्थतन्त्रले ल्याएको फराकिलो वर्ग विभाजनकाकारण भएको हो त्यसैले राज्यमा पूंजीवादी अर्थतन्त्रलाई गिराएर समाजवादी अर्थतन्त्रको स्थापना गर्नु पर्दछ र राज्यले आफ्ना सबै नागरीकहरुलाई समान व्यवहार, समान आर्थिक अवसर(खासगरि रोजगारीको प्राप्ति र समान ज्याला) र समान स्वतन्त्रता प्रदान गर्नु पर्दछ भन्ने विषयलाई प्राथमिकता दिन्छ। विभेद भित्रको विभेद लैंगिक असमानताका कारण समाज, अर्थतन्त्र, शैक्षिक तथा राजनीतिक क्षेत्रका विभिन्न तहहरुमा महिलाहरुको उपस्थिति हुन नसकेको र यस्तो परिस्थितिले एकातिर व्यक्ति, परिवार, समाज तथा राज्यको उन्नतीमा व्यवधान ल्याएको छ भने अर्कोतिर आधा आकाश ढाक्ने महिलाहरु शोषण र वन्चितिकरणमा परेका छन्, उनीहरुको जीवनको विकास हुन सकेको छैन तसर्थ यो समस्याको समाधान गरिनु पर्दछ र यसकालागि राज्यका सबै तह र तप्काहरुमा लैंगिक समानताको रणनीति अवलम्वन गरि कानूनी प्रावधान तथा दस्तावेजहरुमा सकारात्मक सूधार गरिनु पर्दछ भन्ने सन्दर्भमा समाजवादी तथा माक्र्सवादी नारीवादको प्रादुर्भाव भएको हो।

अश्वेत नारीवाद (Black Feminism)

महिलाहरुमा रंग, जात, वर्ण, धर्म, संस्कृति, सम्प्रदाय, भूगोल जस्ता अधिक विविधता रहेको छ तसर्थ समाज तथा राज्यका कानूनी प्रावधान तथा दस्तावेजहरुमा यस्तो जटिल परिस्थितिलाई सम्वोधन गर्नसक्ने समानता, स्वतन्त्रता, वर्गविहीनतामा आधारीत लैंगिक समानताका रणनीतिहरु अवलम्वन गरिनु पर्दछ र यसकासाथै बिभेदभित्रको बिभेद काला जाति र गोरा जातिविच अति विभेद रहेका रंगभेदका कानूनी प्रावधान तथा दस्तावेजहरुलाई खारेज गरि रंगबिहिनताका विषयहरु समावेस तथा सूधारमा विशेष ध्यानाकर्षण हुनु पर्दछ भन्ने विषय उठानको सन्दर्भमा अश्वेत नारीवादको प्रादुर्भाव भएको हो।

कट्टरवादी नारीवाद (Radical Feminism)

अलि बढि नै लैंगिक विभेद तथा असमानता सहन गरिरहेका तथा बेहोरी रहेका केही समुदाय तथा समाजका नेतृत्वकर्मीहरुले व्यक्ति, परिवार, समाज, समुदाय तथा राज्यमा मानवीयतामाथि नै बिनासोची सम्झी चरम अन्याय, शोषण तथा विभेद गर्ने पुरुषप्रधान सत्तालाई हटाएर/ उल्टाएर नारीप्रधान सत्ता स्थापना गर्नुपर्छ तवमात्र समाज तथा राज्यमा लैंगिक समानता, समान अधिकार तथा समान स्वतन्त्रता कायम गर्न सकिन्छ भन्ने मतमा जोड दिने क्रान्तिकारी र आफ्नो कुरा मनाउन हिंसामा समेत उत्रिएका व्यक्तिहरुको समुहको मत कट्टरवादी नारीवादको रुपमा स्थापित भएर आयो। वर्तमान समयमा कट्टरवादी नारीवादको यो धार तथा मतलाई मान्ने तथा समर्थन गर्नेहरुको संख्या अति न्यून छ तर तत्कालीन परिस्थितिमा यस किसिमको डागंडुगें शैलीको आवश्यकता भएकोले यो धारले केही हदसम्म तथा केही समययावधिसम्म लोकप्रियता हासिल गरेको थियो।

सांस्कृतिक नारीवाद (Cultural Feminism)

सांस्कृतिक नारीवादले मध्यमार्गी अवधारणा अवलम्वन गर्दछ र समाज तथा राज्यमा लैंगिक समानता र लैंगिक स्वतन्त्रताका नीति तथा रणनीतिहरु अवलम्वन गरि सबैलाई आ-आफ्नो रुची तथा इच्छा अनुसार जीवन जीउने स्वतन्त्रता, हकअधिकार तथा अवसर प्रदान गरिनु पर्दछ भन्ने विषयमा जोड दिन्छ। कोही व्यक्ति आफ्नो परिवार तथा समुदायको पुरातन संस्कार तथा कला-संस्कति अनुसार पहिरन लगाउन, श्रृङगार गर्न, चाडवाड मनाउन तथा अन्य चालचलनहरुको अनुशरण गर्न चाहन्छ भने उसलाई यस किसिमको स्वतन्त्रता प्रदान गरिनु पर्दछ भन्ने विषय उठान गर्ने सन्दर्भमा सांस्कृतिक नारीवादको प्रादुर्भाव भएको हो र वर्तमान समयमा नारीवादको यो धारको लोकप्रियता बढ्दै गैरहेको पाइन्छ।

 

उदारवादी नारीवाद अध्यात्म विज्ञानकै शाखा हो

(Liberal Feminism is Branch of Spiritual Science)

जसरी अध्यात्मवादले क्रमवद्ध किसिमले योगका विविध विधिहरुलाई चरणवद्ध गरेर मानव जीवनको सन्तुलित विकास गर्न र उसको समग्र जीवनमा सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द हासिल गर्ने सहज र सरल मार्ग प्रदान गरेको तथा देखाएको छ, त्यसैगरि उदारवादी नारीवादले पनि अध्यात्मवादको यही वैज्ञानिक पद्धतिको अनुशरण गर्दै हरेक समाज तथा राज्यमा व्यक्ति, समाज, राष्ट्र, विश्व र समग्र मानवीयताको सन्तुलित विकासकालागि समानता र स्वतन्त्रता खासगरि लैंगिक समानता र लैंगिक स्वतन्त्रताको अति आवश्यक तथा महत्वपूर्ण विषय उठान गरेर समाज र राज्यका विभिन्न कानूनी प्रावधान तथा दस्तावेजहरुमा नीतिगत सूधारहरुको माध्यमवाट सबैलाई एक समान तथा बराबर मान्ने उदारवाद अवधारणाको स्थापना गर्ने प्रयास गर्दै मानवको समग्र जीवनमा सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द हासिल गर्न सफल भएको छ। विगतको तुलनामा आजको विश्वले समाज तथा राज्य संचालनमा समानता र स्वतन्त्रताका मूल्यमान्यताहरुलाई अनुशरण गर्दै समग्र मानवीयतामा आध्यात्मिकता पुनरस्थापित गर्ने प्रयास गर्दै आइरहेको छ र धेरै हदसम्म सफलता हासिल गरेको छ। हामीले यो विलकुल भुल्नु हुदैन कि उदारवादी नारीवादको समय सान्दर्भिक सर्वकल्याण भावले ओतप्रोत उचित पहलकै कारण वर्तमान समयमा विश्वभरिका महिलाहरुको जीवनमा उल्लेखनीय प्रगति  तथा विकास भएको छ। समाज तथा राज्यका सबै क्षेत्रहरुका विभिन्न तह र तप्काहरुमा महिलाहरुको परिमाणात्मक साथै गुणात्मक उपस्थिति भएको छ र विगतको तुलनामा व्यक्ति, परिवार, समाज, राष्ट्र, समग्र मानवीयता, प्रकृति तथा जगतको विकास तथा सन्तुलनमा सकारात्मक परिवर्तन आएकोको छ, सर्वकल्याणको भावले अझ बढि प्राथमिकता पाएको छ र समाज विस्तारै सत्ययुग तथा आध्यात्मिकता उन्मुख हुदै गैरहेको छ र साथसाथ युग सुहाउँदो नवयुगको निर्माण भैरहेको छ। bsirjana@gmail.com

 

 


No comments:

Post a Comment