डा. सिर्जना भण्डारी
अनुरोध–
कृपया यस लेखमा समावेश गरिएका विषय तथा अनुभवहरुलाई प्रेरणाको रुपमा लिदिनु हुन विनम्र अनुरोध गर्दछु, यस किसिमको जानकारी नवपुस्ता, अभिभावक, शिक्षक, शैक्षिक संस्था, सामाजिक संस्था र राज्य सबैकालागि सहयोगी बन्न सक्छ !
पृष्ठभूमि
“तिमी गरिवीमा जन्मिनु तिम्रो दोष होइन तर गरिवीमै मर्नु चाहिं तिम्रै दोष हो । तिमीभित्रै रहेको सिर्जनशीलता जगाउ र त्यसको उच्चतम उपयोग गर ।” – विलगेटस
“कुनै विशेष काम गर्न जोखिम लिनै पर्छ । जोखिमले मानिसभित्रको सिर्जनशीलता जगाउन महत्वपूर्ण भूमिका खेल्दछ ।” – इलोन मस्क
“संसार बदल्नु छ भने शुरुआत आफैंबाट गर्नुपर्छ । असफलता झेल्न आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् ।” – डा.योगी विकासानन्द
“खुशी विद्यार्थीहरु मात्र सिर्जनशील हुन सक्छन् । आफ्नो सहज सुरक्षाको घेरा भन्दा वाहिर निस्केर सोच्न सक्ने मानिस मात्र अव्वल र आमूल परिवर्तन ल्याउन सक्ने क्षमतावान र सिर्जनशील हुन्छ ।” – एल.पि. भानु शर्मा
वर्तमान विश्वमा सर्वकल्याणकालागि आधूनिक चिकित्सा विज्ञान, विज्ञान प्रविधि र सूचना प्रविधिका साथै अन्य विविध सेवाका क्षेत्रहरुको विकासमा हरेक प्रकारले अद्वितीय योगदान प्रदान गरिरहनु भएका वहुचर्चित उच्च प्रतिभावान, सिर्जनशील र सफल महान व्यक्तित्व विलगेटस, इलोन मस्क र आध्यात्मिक अभियन्ता तथा सद्गुरु श्रद्धेय डा. योगी विकासानन्द र श्रद्धेय एल.पि. भानु शर्माले विश्व शान्तिकालागि युवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासमा उनीहरुले जन्मजात आफूसंगै लिएर आएका उसका क्षमता, सकारात्मक गुण, प्रतिभा तथा सिर्जनशीलताहरुलाई प्रभावकारी विधिहरुको अनुशरण गरेर तिनको प्रष्फुटन गराइ सर्वकल्याणको कार्यमा लगाउनु पर्दछ भन्ने सन्दर्भमा निरन्तर जोड दिदै आइरहनु भएको छ । यो महत्वपूर्ण कार्यमा अभिभावक तथा घर, शिक्षक तथा शैक्षिक क्षेत्र, समाज र राज्यकै उत्तरदायित्व बनाइनु पर्दछ भन्ने सन्दर्भलाई आ–आफ्ना अभिव्यक्तिहरुमा पस्कदै आउनु भएको छ, वहाँहरुका अनुसार–
घर र विद्यालय नै सिर्जनशीलताका सम्हारक
जानेर वा नजानेर मातापिता तथा अभिभावक अर्थात घर र शिक्षक तथा शैक्षिक संस्थाहरुबाट नै नवपुस्ताहरुमा भएका उनीहरुले जन्मजात आफूसंगै लिएर आएका प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरुलाई बलपूर्वक तथा कहिलेकाहीं हिंसापूर्वक दबाउने, प्रष्फुटन हुन नदिने तथा संहार गर्ने काम धेरै अघिदेखि हुदै आइरहेको छ र पछिल्लो समयमा शैक्षिक विशिष्टताको नाममा यो अवस्था अझ बिकृत र भयावह हुदै गइरहेको छ, परसेन्टेज तथा डिभिजन सिस्टम हटाएर जिपिए सिस्टम लगाइएपनि समस्या जिउँकोतिउँ छ, कराइबाट भुंग्रोमा..., चारमा चार तथा चारको हाराहारीमा जिपिएको अपेक्षा राखिन्छ अभिभावक र शैक्षिक संस्था दुवै पक्षबाट । हामीले हाम्रो शिक्षा, पारिवार, समाज र राज्यकै संस्कार यस्तै बनाउदै लग्यौं कि पढ्नु र उच्च अंक ल्याउनु मात्र ठूलो कुरा हो, यो नै नवपुस्ताहरुको विशिष्टता र सफलता हो तसर्थ विद्यार्थीहरुको प्रमुख काम निश्चित पाठ तथा कक्षागत विषयहरु पढ्नु, पढ्नु, पढ्नु र मात्र पढ्नु हो । यो समयमा विद्यार्थीहरुले वाहिरका अन्य ज्ञान र अति आवश्यक व्यवहारीक ज्ञान तथा सिकाइहरु जस्तोकि समान्य खाना बनाउन जान्नु, आफ्नो कोठाको सरसफाई तथा सामान्य व्यवस्थापनबारे जान्नु समेत आवश्यक छैन, त्यस्तो ज्ञान तथा सिकाइ त पछि सिकेपनि भैहाल्छ भन्ने मान्यताहरु नवपुस्ताको मस्तिष्कमा भर्दै लग्यौं यसको परिणाम स्वरुप उनीहरु घरव्यवहार, नाता–सम्वन्धका व्यवहारहरुमा अनभिज्ञ हुदै गए र विस्तारै अलग–थलग, अव्यवस्थित, गैरजिम्मेदार, स्वार्थी, कठोर, आफूखुशी गर्ने र अर्कै ग्रहबाट आएका प्राणीहरु जस्तो व्यवहार गर्न थाले । पढ्नु र उच्च अंक ल्याउनु मात्र विद्यार्थीको प्रमुख काम हो भन्ने मान्यता अर्धसत्य मात्र नभएर नवपुस्तामाथि गरिएको चरम ज्याजति पनि हो ।
निसन्देह कोही पनि व्यक्ति जीवनमा सफल बन्नकालागि ज्ञानको आवश्यकता अपरिहार्य छ तर जुन कामकालागि जति ज्ञान आवश्यकता पर्ने हो त्यति ज्ञान पर्याप्त हुन्छ र प्राप्त ज्ञानलाई प्रयोग गर्ने सिर्जनशीलता विकास तथा व्यवस्थापनको अझ बढि महत्व हुन्छ त्यसैले विद्यार्थीहरुमा ज्ञान आर्जन गर्न जत्तिकै महत्व सिर्जनशीलता बढाउन र त्यसमा अझ बढि निखारन ल्याउनकालागि समय र श्रोत लगानी गर्नु आवश्यक हुन्छ । सिर्जनशीलता मानिसको प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरुको जागरणबाट प्रष्फुटन हुन्छ जुन हरेक बालबालिका, किशोरकिशोरी, यूवायूवतीहरुभित्रै निहित छ । यसकालागि उचित र प्रभावकारी सिकाइ तथा पद्धतिहरु जस्तोकि व्यक्तित्व विकास, नेतृत्व विकास, उद्यमशीलता विकासका तालिम तथा सम्मेलनहरु, उत्प्रेरणाका कार्यक्रमहरुमा सहभागिता र अध्यात्म विज्ञानका योगाभ्यास, प्राणायाम, ध्यानका कार्यक्रमहरुमा सहभागि भइ तिनका विधिहरुको सहि किसिमले अनुशरण गरेर जागरण गर्ने प्रयास गर्नु पर्दछ । हामीकहाँ व्यक्ति, परिवार र समाजको वास्तविकतालाई हेर्दा केही प्रतिशतलाई छोडेर अधिकांश नवपुस्ताहरुले यस किसिमको अवसर प्राप्त गर्न सकेका छैनन् र अवसर प्राप्त भएको भएपनि उनीहरुको जीवनको विकासमा यस्ता कार्यक्रमहरुको महत्व, आवश्यकता र प्रभावकारीता बुझ्न तथा बुझाउन नसकिएको कारण अवसर पाएर पनि सहभागि हुदैनन् र आफ्नै नोक्सान गर्न पुग्छन् । हाम्रो जस्तो विकासोन्मुख समाज तथा देशका अधिकांश मानिसहरुको बाल्यकाल, किशोरावस्था र यूवावस्था ज्ञान आर्जनका सन्दर्भमा प्रोत्साहन तथा प्रेरणा प्रदान गर्ने यस्ता कार्यक्रमहरुमा सहभागिताको अवसर पाउनु भन्दा गाली, पिटाइ, दुरुत्साहन, तुलना, थोपरिएको निर्णय, कम स्वतन्त्रता आदिबाट गुज्रिएको यथार्थ केही खोज तथा अध्ययनका तथ्यांकहरुमा देखिएका छन् । यस्तो हुनु नवपुस्ताहरुकालागि तनावको अवस्था हो । यस्तो तनावको अवस्थालाई सबैले झेल्न र सहन गर्न सक्छन्, व्यवस्थापन गर्न सक्छन् तथा यो तनावलाई छिचोलेर जीवनमा अगाडि बढ्न सक्छन् भन्ने छैन त्यसैले कहिलेकाहीं नराम्रा खवरहरु पनि सुन्नमा आउने गर्दछन् । एकदम कम यूवाहरु मात्र सहज ढंगले वाहिर निस्कन सक्छन् यस्तो परिस्थितिबाट र बाँकीले झेल्न, सहन गर्न तथा व्यवस्थापन गर्न नसकेकाकारण जीवनमा संधै पछि परिहन्छन्, गरिवी र अभाव मै जीवन व्यतित गरिरहन्छन्, यसैकारण हाम्रा होनहार यूवाहरुको अवस्था यस्तो नाजुक छ, डिग्री छ सिप छैन, अंहकार छ विशेषज्ञता कुनै विषयमा छैन, कामको सम्मान छैन, लज्जा र हिनतावोध छ, रोजगारी छैन, भएपनि सोचे जस्तो छैन त्यसैले हाम्रो परिवार, समाज र राज्य आज यस्तो दयनिय अवस्थाबाट गुज्रीरहेको छ ।
घर र विद्यालय नै सिर्जनशीलताका आविस्कारक बन्न सक्छन्
नवपुस्तामा अत्यन्त धेरै जिज्ञासा तथा उत्सुकता हुन्छ, उनीहरु नयाँ–नयाँ विषयहरु जान्न र नौलो कामहरु गर्न रुचाउँछन् तर अभिभावक, शिक्षक, समाज र राज्यले उनीहरुलाई साथ दिदैनन्, सहयोग गर्दैनन्, हरदम निश्चित पाठ तथा विषय पढ्न र घोक्न लगाएर परिक्षामा धेरै अंक ल्याउनु पर्नेमा जोड दिरहन्छन्, यो गर, यसरी गर, त्यो नगर, त्यसरी नगर आदि आदेश दिराखिन्छ र उनीहरुलाई गल्तीबाट सिक्ने अवसर नै प्रदान गर्दैनन् जवकी नोवल साहित्य पुरस्कार विजेता महान साहित्यकार रवीन्द्रनाथ ठाकुरका अनुरसार नवपुस्ताहरुको सबैैभन्दा ठूलो गुरु उसले गर्ने गल्ती र असफलता हो, उसले आफ्ना गल्ती र असफलताहरुबाट सबैभन्दा धेरै र सबैभन्दा प्रभावकारी ढंगले सिक्न सक्दछ । तर अव हामीले यो परिस्थितिलाई बदलेर नवपुस्ताहरुको सिकाई तथा ज्ञान आर्जन प्रक्रियामा समय सान्दर्भिक परिवर्तन ल्याइनु, परिमार्जन तथा सूधार गरिनु अति आवश्यक भएको छ । यसकालागि उनीहरुलाई समय–समयमा आफ्नो क्षमता तथा प्रतिभाहरुको विकास, व्यक्तित्व विकास, नेतृत्व विकास, सिर्जनशीलताका सिकाइहरु जस्ता कार्यक्रमहरुमा सहभागि हुने, तालिम तथा मनोवैज्ञानिक परामर्श लिने अवसरहरु प्रदान गर्नु पर्दछ । यसका साथसाथ सम्वन्धित विषयका विशेषज्ञहरुसंग विविध प्रकारका परामर्श(काउन्सेलिगं) गराउनु तथा लिनु पनि अति आवश्यक हुन्छ । विकसित मुलुकहरुमा हिजोआज सामान्य अवस्थामा समेत सबै प्रकारका परामर्शहरु लिने प्रचलन बढ्दो छ, मानसिक रुपमा केही समस्या नभएकोपनि आफ्नो मानसिकता जान्न र कुन समयमा कस्तो र कसरी व्यवहार गर्ने आफूले आफैंसंग र अरुसंग, के विषय अध्ययन गर्ने, कस्तो लक्ष्य निर्धारण गर्ने र कस्तो पेशा, व्यवसाय आफ्नोलागि अपनाउन सहि हुन्छ भन्ने सन्दर्भमा नवपुस्ताहरु साइकोलोजिकल काउन्सेलिगं, रीलेसनसिप काउन्सेलिगं, स्टडी काउन्सेलिगं, करिअर काउन्सेलिगं आदि लिने गर्दछन् । हामीले पनि अव कत्तिपनि ढिलो नगरीकन यति राम्रो प्रचलनको सिको र शुरुआत गरेर हाम्रा नवपुस्ताहरुलाई जीवन विकास र जीवन व्यवस्थापनका अमूल्य ज्ञानहरु जान्न पाउने अवसरहरु प्रदान गर्नु पर्दछ ।
यूवाहरुको विशेषता तथा प्रकृति अनुसार उनीहरुको ग्रहण गर्ने क्षमता तथा पात्रता कम, मध्यम तथा उत्तम हुने हुनाले त्यसै अनुसार यस किसिमका तालिम तथा परामर्शहरु कति पटक लिने, कसरी लिने तथा लिन लगाउने भन्ने कुरा तय गर्नु पर्दछ । विशेष किसिमको अवस्थामा वहिरमुखी(एक्ट्रोभर्ट) र अन्तरमुखी(इन्ट्रोभर्ट) प्रकृतिका यूवाहरुलाई फरक–फरक किसिमले तालिम तथा परामर्श सेवाका अवसरहरु प्रदान गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थामा समान प्रकारका तालिम तथा परामर्श सेवाका अवसरहरु प्रदान गरेर उनीहरुको व्यक्तित्व तथा नेतृत्वको विकास गर्न मद्धत गर्न सकिन्छ ।
उत्प्रेरक सन्दर्भ
नेपाल मनोक्रान्ति योग संस्थाका द्रष्टा तथा संथापक, कवि, लेखक, चित्रकार, मानवतावादी यूवा दार्शनिक तथा आध्यात्मिक अभियन्ता बहुप्रतिभाशाली सफल व्यक्तित्व श्रद्धेय योगी डा. विकासानन्द (प्राकृतिक चिकित्सक, उपाधि) आफ्नो बाल्यकालको पिडादाई अवस्था स्मरण गर्दै भन्नुहुन्छ, “म विद्यालयमा छँदा कतैबाट नसिकीकन नै मभित्र चित्रकारीताको विशिष्टता थियो, चित्रकारिता मेरो शोख थियो, चित्रकारीता गर्दा मलाई अत्यन्तै आनन्द आउँथ्यो तर मेरो पढाइ कमजोर थियो । घरको आर्थिक अवस्था कमजोर थियो, कपि कलम किन्न समेत धौधौ थियो, पाठ लेख्नु पर्ने कपिमा म चित्र कोर्थे, बुवाले नपढेर चित्र कोरेर समयको दुरुपयोग गरेको र कपिको नोक्सान गरेको भनेर धेरै पिट्नु हुन्थ्यो तैपनि म पढ्न छोडेर चित्र नै कोर्थे कपिमा किनकी पढ्नमा मेरो रुची अत्यन्त कम थियो । धेरै कुटाई खाएपछि पछिपछि लुकाएर बुवाले थाहा नपाउने गरि चित्र कोर्न र थप ज्ञानकालागि चित्रकारीताको तालिम लिन पनि थालें र सन् १९७९ मा रशियामा चित्रकला प्रतियोगितामा सहभागि हुन छनौटमा परें त्यसपछि मेरो जीवनले फरक मोड लियो ।” वहाँको जीवनको अनुभवबाट मानिसको अन्तरज्ञानमा स्थित रहेका, उसले जन्मजातै लिएर आएका प्रतिभाहरुको सम्मान गनुपर्छ र सक्दो प्रतिभा जागरणकालागि अवसर प्रदान गर्नुपर्छ किनकी मानिस दुइ किसिमले जीवनमा सफल बन्न सक्छ, पहिलो ‘ज्ञान’ र दोस्रो ‘शोख’ अर्थात ‘प्यासन’ भन्ने महत्वपूर्ण व्यवहारीक ज्ञान हासिल गर्न सक्छौं । विलगेटस र इलोन मस्क दुवै महान व्यक्तित्व ज्ञान प्रधान होइनन्, वहाँहरुको औपचारीक शिक्षा न्यून छ, आफ्नो प्यासनमा काम गरेकाले वहाँहरु विश्व आकाशमा आज यहाँसम्म आइपुग्न सफल हुनुभएको हो । भारतका सिनेमाक्षेत्र अर्थात बलिउडका प्रसिद्ध चलचित्र निर्देशक राजकुमार हिरानीद्वारा लिखित तथा निर्देशित सन् २००९ मा रिलिज भएको बाक्सअफिसमा सुपरहीट भएकाे लोकप्रिय चलचित्र 'थ्री इडियट्स' ले पनि यूवाहरुलाई आफ्नो उच्च रुची भएको क्षेत्र अर्थात प्यासनलाई आफ्नो जीवनको मूल लक्ष्य र कर्मको क्षेत्र बनाएर अगाडि बढे मात्र मानिसले जीवनमा सुख, खुशी, समृधि, सफलता, शान्ति र आनन्द हासिल गर्न सक्छ भन्ने व्यवहारिक रूपमा विश्वव्यापी सत्यतथ्यमाथि जोड दिएको छ । यसको तात्पर्य ज्ञान आवश्यक नै छैन भन्न खोजिएको पटक्कै होइन तर आफूमा ‘ज्ञान’ र ‘शोख’ मध्य कुन बढि हावी छ त्यसलाई आत्मसाथ गर्दै जीवनमा अगाडि बढ्नु पर्छ भन्ने सुझाव र मान्यता यस्ता महान व्यक्तिहरुले प्रस्तुत गर्दै आउनु भएको छ आफ्ना अभिव्यक्तिहरुमा । विश्वमा आफ्नो प्यासनलार्ई अगाडि बढाएर जीवनमा उच्चतम सफलता हासिल गर्न सक्षम भएका व्यक्तित्वहरुको संख्या ठूलै छ ।
नवपुस्ताका प्रतिभा, क्षमता, रुची, भावनालाई चिनौं, बुझौं र उनीहरुलाई सहयोग गरौं
यस सन्दर्भमा म अभिभावकको रुपमा मेरो आफ्नै अज्ञानता र यसले आफ्नो परिवारमा आएको केही असहजताको अनुभव उदाहरणको रुपमा उजागर गर्न चाहान्छु ताकि यसबाट अरु अभिभावकहरुलाई केही ज्ञान तथा प्रेरणा मिलोस । म(सिर्जना भण्डारी) आफूले आफूलाई सचेत आमा तथा अभिभावक मान्ने गर्थें शुरुदेखि नै तर खुशी मान्नु पर्ने सकारात्मक कुरा, मेरो यो भ्रम समयक्रमसंगै पटक–पटक तोडियो र बुझ्दै गएं म आवश्यक पर्नेजति सचेत आमा तथा अभिभावक बन्न सकेको रहेनछु । म भन्ठान्थें बालबालिकाहरुलाई उनीहरुको दैनिक आवश्यकता पूरा गरिदिएपछि र पढ्ने अवसर तथा वातावरण मिलाइदिएपछि मेरो सबै उत्तरदायित्व पूरा हुन्छ तर समयक्रममा मेरो यो बुझाइ गलत सावित हुदै गयो र मलाई यसमा दुःख नभई अत्यन्त धेरै प्रसन्नता छ त्यसकारण म यी लाइनहरु सबैकालागि लेखिरहेको छु यहाँ । मेरा दुइजना बाबुहरु छन्, ठूलो बाबु(डा.मुकेश घिमिरे, फिजिक्समा पिएच.डी., ३० वर्ष) परिवार कै साटो बोलेर भ्याउने वहिरमुखी किसिमको बोलक्कड थियो र सानु बाबु(सफ्टववेर, इ. निकेश घिमिरे, २५ वर्ष) आवश्यकता पर्दा समेत अति कम बोल्ने अन्तरमुखी किसिमको थियो र छ । ठूलो बाबु दुइ कक्षामा पढ्दादेखि नै उसको उमेर भन्दा निकै राम्रा चित्रकारी(पेन्सील ड्रइगं) गथ्र्यो शिशाकलमले, हामी दंग पथ्र्यौं तर कक्षा बढ्दै जाँदा उसको दैनिकीमा चित्रकारीता हावी हुदै गयो र पढाईमा अवरोध आएको महसुस हुन थाल्यो । मैले उसलाई पढ्नमा केन्द्रित हुन जोड दिन थालें, उ म संग चिडिन्थ्यो, त्यसैले कहिलेकाहीं उ संग म रिसाएं र नटेर्दा थप्पड पनि लगाएं । बालबालिकाको प्रतिभा प्रष्फुटन गर्नमा सचेत शिक्षक तथा विद्यालयको अत्यन्त महत्वपूर्ण भूमिका हुने रहेछ । सन् २००३ मा ठूलो बाबु नौ वर्षको थियो, चार कक्षामा पढ्थ्यो(रातो बंगला स्कुल), एकदिन कान्तिपूर पत्रिकाको कोपिला विशेशांकबाट घरमा फोन आयो हामी मुकेश घिमिरे बाबुको चित्रकारीता विषयमा अन्तरवार्ता लिन चाहान्छौं भनेर । हामी छक्क पर्यौं यति सानो बच्चासंग के अन्तरवार्ता लिने होला, के बोल्ला, के भन्ला र यसले भनेर । भोलिपल्ट कोपिलाको टिम घरमै आयो आयो, एक घण्टाको अन्तरवार्ता उत्कृष्ट भयो, बाबुले सोधेका प्रश्नहरुको खुव मजाले जवाफ दियो । दुःख र खुशीको पल, तिमीलाई चित्रकारीता गर्दा के कस्ता समस्याहरु आइ पर्छन भन्ने प्रश्नमा पहिला नै सबै सत्य कुरा मात्र बोल्नु है भानिएकोले उसले कुनै कुरा नलुकाइकन निर्दोष भावले सबै अवस्थाहरु जस्ताको तस्तै बताइदियो, “मामूले गाली गर्नुहुन्छ, चित्र कोर्न दिनुहुन्न, पढ मात्र भन्नुहुन्छ, पेन्सील लुकाइ दिनुहुन्छ, तर मलाई चित्र कोर्न अत्यन्तै मनपर्छ, म पढ्छु पनि तर पढेको पुगेन भन्नुहुन्छ...” मैले अलि असजिलो मानें तर यतिबेलासम्म पनि मेरो मनमा लागिरहेको थियो कि मैले ठिकै गरिरहेको छु, उसले पढ्नु पर्छ, चित्रकारीमा समय नोक्सान गर्नु हुदैन, यो व्यकार र अनुपयोगि कुरा हो उसको जीवनको विकासकोलागि... ।
भोलिपल्ट कोपिलामा अन्तरवार्ता प्रकाशन भयो, पढ्दै जाँदा त मलाई पो गाली गरिएको रहेछ बालबालिकाका जन्मसिद्ध प्रतिभाहरुको घाँटी निमोठ्ने काम घरबाटै हुन्छ... भनेर । म अलिकति झस्किएं..., केही दिनपछि उसको स्कुलमा बोलाइयो, गएं, कान्तिपुरको कोपिला विशेशांकलाई स्कुलले पठाएको रहेछ । चित्रकारीता विषयको शिक्षकले मलाई यसबारे अत्यन्तै राम्रो परामर्श दिनु भयो र भन्नु भयो, "उसले नौ वर्षको उमेरमा कतैबाट नसिकीकन गरेको चित्रकारी म बयस्क उमेर भएको मान्छेले वर्षौं लगाएर सिकेको भन्दा उत्कृष्ट छ म्याम, यो उसको पूर्वजन्मको प्रतिभा हो, यो प्रतिभालाई मर्न नदिनुहोस् कृपया, समय र सामग्रीहरुको व्यवस्थापनमा उसलाई सहयोग गर्नुहोस् र उसको चित्रकारीताको विकास गर्न अवसरहरु प्रदान गर्नुहोस्, मेरो सहयोगको आवश्यकता पर्छ भने म सबै प्रकारको मद्धत गर्न तयार छु ।" मेरो आँखा खुल्यो, म कृतज्ञ भएं वहाँप्रति… । कुशल अभिभावकत्वकोलागि यो मेरो पहिलो ज्ञान तथा सिकाइ थियो, यसपछि म सुध्रिएं र वहाँको परामर्शलाई हुबहु अनुशरण गरें । बाबुले कहीं कतै नसिकीकन अदभूत–अदभूत चित्रकारी सिर्जनाहरुका नमूना पेश गर्दै गयो, मैले एलबम नै बनाएर सबै सुरक्षित राखिदिएको छु ।
तर ठूलो बाबुको चित्रकारी चलिरहदा उसको एउटा ठूलै शारीरिक समस्या थियो, उसले छ वर्षसम्म ओछ्यानमा पिसाव गर्यों । उसको मस्तिष्कको नर्भस सिस्टम र अवस्थाबारे जान्न इइजी गरायौं, डक्टरले भन्नुभयो, "सामान्यतया मानिसहरुको देब्रे मस्तिष्क चल्छ, तर उसको दाहिने मस्तिष्क चल्दो रहेछ जसमा अवचेतन र अचेतन मनका स्मृतिहरु हावी हुन्छन् । शरीरका नियमित कर्महरुहरु देब्रे मस्तिष्कबाट नियन्त्रित हुन्छन् तथा चल्छन् तर उसको दाहिने मसितष्क चल्ने हुनाले उ निदाए पछि उसको दाहिने मस्तिष्कका न्यूरोन्सहरुले शरीरका सुक्ष्म गतिविधिहरु थाहा पाउदैनन् त्यसैले उसले ओछ्यानमा पिसाव गर्छ ।" तर सकारात्मक कुरा, डक्टरले थप भन्नुभयो, "दाहिने मस्तिष्क चल्ने मानिसहरु विशिष्ट प्रकारका हुन्छन् र जीवनमा स्वतःस्फूर्त चमत्कारहरु गरिरहन्छन्, पूर्वजन्मका ज्ञानहरु स्वतःस्फूर्त रुपमा वाहिर आउन थाल्छन्... ।” यलोपेथि उपचारले कुनै प्रगति नभएपछि सर्लाही जिल्लाको गयर आयुरवेदिक अस्पताल गएर आयुरवेदिक चिकित्सा उपचार गरेर ओछ्यानमा पिसाव गर्ने समस्याको समाधान भयो छ वर्षको उमेरमा र पछि सामान्य भयो । ममा अचम्म र प्रसन्नता छायो, पूर्वीय प्राचीन चिकित्सा पद्धति आयुरवेदमा मस्तिष्कका नशाहरु सक्रिय गराउने अचुक औषधि रहेछ दुइ हप्तामै ठिक भयो त्यसयता म आयूरवेद चिकित्सा पद्धति र हाम्रा अमूल्य जडिबुटीहरुको सम्मान गर्न थालें र यसबारे खोज्न र पढ्न थालें साथसाथ मानिसको दाहिने मस्तिष्कबारे पनि गहिराइ खोज्न र पढ्न थालें । डक्टरले भन्नु भए जस्तै त्यसपछि उसले साँच्चिनै चमत्कार देखाउदै गयो जीवनमा एकपछि अर्को । उ गणित विषयमा जिनियस छ, दिमागमै क्याकुलेटर फिट छ, उसको मामाघरको हजूरबाको जस्तै, मेरो बुवा पनि गणित विषयमा जिनियस हुनुहन्छ, हजूरबा र नातीको वुद्धिचाल(चेस) भिडन्त भयो भने दिन यसै वित्छ, दायाँबायाँ जेसुकै घटना घटोस, घरमा जो कोही भेट्न आवस भिडन्त चलिनैरहन्छ, खेल लामो चल्छ, हारजित बराबर हुन्छ, बाबु चेसको च्याम्पियन हो, बुवा आफ्नो पालामा नाम चलेको चेस खेलको पारखी हुनुहुन्छ, हामी वहाँकै शिष्य हौं धेरै विषयहरुमा । बाबु पढाइमा संधै टपर रह्यो, ए लेभलमा क्याम्रिजका चार टपरभित्र पर्यो, क्याम्रिज आफैं नेपाल आएर सम्मान प्रदान गरेर गयो । शुरुदेखि पिएच.डी.(व्याचलर्स टफ्ट विश्वविद्यालय र मास्टर्स, पिएच.डी. न्यूयोर्क विश्वविद्यालय)सम्मनै पुरै स्कलरसीपमा पढाइ पूरा गर्यो । उसले कतै नसिकीकन मिठो स्वरमा कभर गीतहरु गाउन थाल्यो, नेपाली सांगीतिक बाजाहरु बजाउन थाल्यो । नेपाल अति कम आउँछ, आएको बेला एकदिन, लोप हुने अवस्थामा रहेको मादलको समला भाका यति मिठो बजायो कि हामी त छक्कै पर्यौं, रेकर्ड गरेर राखेको छु, युट्युबाट ट्युन कपि गरेर सिकेको रे उसले, त्यस्तै तामागं सेलो, चुट्के ताल पनि बजायो अत्यन्तै मिठो... म नाचें, कलेजमा छँदा म धेरैले मन पराएको डान्सर थिएं । सन् २०२२ मा आफ्नै शव्द, स्वर, कम्पोज, संगीतमा गीति एलवम निकाल्यो ‘परिवर्तन’, फेरी अर्को निकाल्ने तयारीमा छ । यसपछि विभिन्न लाइभ कन्सर्टहरुबाट लाइभ सोकालागि सहभागि हुन निमन्त्रणाहरु आउन थाले, रेष्टुरेन्टहरुमा लाइभ प्रस्तुतीको लागि अनुरोधहरु थाउन थाले । न्यूयोर्कको नेपाली रेष्टुरेन्टमा दुईवर्ष लाइभ सांगीतिक साँझमा शोखको रुपमा गीत गायो । उसले चित्रकारी, संगीत र गायनलाई प्यासनको रुपमा अघि बढाउदै लग्यो । आफ्नो अध्ययन, काम र शोखमा यति ज्यादा तल्लिन छ कि उ अव वहिरमुखीबाट अन्तरमुखी भएको छ, एकान्त प्रेमी भएको छ, आफैंमा व्यस्त र मस्त रहन्छ । सायद उसले आफ्नो शोखको विषय पूरा गर्ने अवसर, स्वतन्त्रता र सहयोग पाएकोकारण जीवनमा यति अगाडि बढ्न सक्यो, यो मनन् गर्नुपर्ने पक्ष हो जस्तो लाग्छ मलाई किनकी खुशी मानिसले मात्र जीवनमा सफलता हासिल गर्न सक्छ भन्ने भनाई पटक-पटक सत्य सावित भैसकेको भनाइ हो ।
सानु बाबुको कुरा मैले केही विशेष ठाउँहरुमा साझा गर्ने गरेको छु ताकि अरु नवपुस्ताहरुमा मेरो घरको असहज अवस्था तथा विषय पुनः नदोहोरियोस भन्ने उदेश्यले । ठूलो बाबुको विषयबाट बालबालिकाहरुको प्रतिभा, क्षमता, सकारात्मक गुणहरुको जागरण तथा प्रष्फुटनमा वातावरण मिलाइदिएर उनीहरुलाई सहयोग तथा अवसर प्रदान गर्नुपर्ने रहेछ भनेर त मैले सिकें, जानें तर अन्तरमुखी बच्चासंग कसरी सहज हुने, कसरी उनीहरुलाई बुझ्ने, बुझाउने र उनीहरुसंग कस्तो व्यवहार गर्ने भनेर मैले जानेको रहेनछु, कहाँ सिकेको थियो र जान्नुथ्यो मैले ! केही हाम्रो/मेरो अज्ञानताको कारण र केही वाहिरी परिस्थितिको कारणले सानु बाबु १८-१९ वर्षकै कलिलो उमेरमा अवसादको अवस्थासम्म पुगिसकेछ, दुर्भाग्य, हामीले थाहा नै पाएनौं, यद्धपि हाम्रो आफ्नै नजरमा र परिवार तथा समाजको नजर तथा बुझाइमा हामी प्रसस्त सचेत मातापिता तथा अभिभावक थियौं । वाहिरी संसारले नराम्रोसंग खेल्यो, वाहिरी संसार अत्यन्त कुटील र चालवाज हुदोरहेछ, नवपुस्ताको सन्दर्भमा एकदमै सचेत रहनु पर्नेरहेछ, आफ्नै परिवारको विरुद्धमा बच्चाको दिमाग ३६० डिग्रीमा घुमाइदिने रहेछन्, सोच्दै नसोचेको मानसिक हिंसा गर्ने रहेछन् नजानिदो किसिमले ! म कहिले काहीं शारीरिक हिंसाबारे चाहिं सोध्ने गर्थें उनीहरुलाई महानायक आमीरखानले संचालन गरेका, पूर्णतः वैज्ञानिक खोजमा आधारीत लोकप्रिय कार्यक्रम ‘सत्यमेव जयते’बाट ज्ञान पाएकोले तर मानसिक हिंसातिर मेरो ध्यान नै पुगेनछ । समयमै सहि गलत छुट्याउन नसक्दा र सही समयमा सही निर्णय लिन नसक्दा अन्तरमुखी मानिसहरुलाई मानसिक हिंसाको प्रभाव अत्यन्तै बढि पर्दोरहेछ, टीनएजको किशोरले वाहिरको कुटीलता कसरी बुझोस विचरा ! सानु बाबु १२ कक्षामा पढिरहदा(युलेन्स स्कुल) एकदिन घरमा भएको सानो मनमुटाव र भनाभैरीमा उसले आफूभित्र गुम्सिएका सबै कुराहरु रुदै भन्यो, भन्दै जाँदा अव मलाई बाँच्न मन लाग्न छोड्यो यो संसारमा भन्दा पैताला मूनिको जमिन सर्यो हाम्रो । त्यसअघि पनि उसले उभित्रको उकुस-मुकुश खोल्ने प्रयास गरेको रहेछ हामीसंग तर हामीले बुझेनौं, यस्तो खाने खेल्ने १८-१९ वर्ष उमेरको बच्चालाई के मानसिक दवाव तथा तनाव हुन्छ होला र जस्तो लाग्यो, हामीले उसको संकेतपट्टि ध्यानै दिएनछौं । उसलाई मनोचिकित्सकको परामर्शको आवश्यकता भैसकेको रहेछ, यसपछि हामी सबै विशेष किसिमले सचेत भयौं, पढाइ सकेर विस्तारै उ आफैंले मनोचिकित्सक र मनोविज्ञसंगको परामर्शको व्यवस्था मिलायो, हामीले उसलाई पूर्णतः साथ, सहयोग र हौसला प्रदान गरिराख्यौं, एकवर्षसम्म मनोविज्ञको परामर्शमा बस्यो, अहिले सव ठिकठाक छ, न्युयोर्कमा राम्रो कम्पनीमा राम्रो जागीर छ, खुशी र शान्त छ, आफ्नो काम र शोखमा मस्त छ । दाजु जस्तै उ पनि चित्रकारी गर्छ तर कम्प्युटरमा गर्छ, सफ्टववेरका याप्पस बनाउँछ, उ ७-८ वर्षकै उमेरदेखि सबैखाले सफ्टववेर प्रविधिहरुमा जिनियस रहदै आएको छ, हामी सबै उसलाई त्यतिबेलादेखिनै कम्प्युटरको डक्टरसाप भनेर जिस्क्याउने गर्दथ्यौं र आफ्नो काम लगाउथ्यौं, उ अहिले साँच्चैमा कम्प्युटरको डक्टर नै भएको छ, देश-विदेश घुम्नु र त्यहाका मानिसहरुको संस्कृति जान्नु उसको शोख हो, समाजसेवा गर्छ, प्रकृतिवादी हो, प्रखर नारीवादी पनि हो, अत्यन्तै सफ्ट र सहयोगी छ... !
मेरा यी अनुभवहरु यस लेख मार्फत यसरी सबै समक्ष साझा गर्नुको उदेश्य जीवनमा नवपुस्ताहरुप्रति हामीले कस्तो सचेतना अपनाउनु पर्नेरहेछ र कसरी व्यवहार गर्नुपर्ने रहेछ भन्ने आफ्नो सिकाइ प्रस्तुत गर्नकोलागि हो । पैशा, धनसम्पति, सम्पन्नता एउटा हदसम्म मात्र केही हो रहेछ, आवश्यक कुरा रहेछ तर आधारभूत आवश्यकताहरु पूरा भैसकेपछि केही पनि होइन रहेछ, धनसम्पतिले केही नगर्ने रहेछ, किशोर अवस्थाको बच्चाले आफैं आफ्ना मातापितासंग अव मलाई यो संसारमा बाँच्न मन छैन भन्छ, त्यो धनसम्पत्तिले के गर्छ अव, केकोलागि धनसम्पत्ति, कसकोलागि त्यो धनसम्पत्ति , कतिपय अवस्थामा त बरु उल्टै तनाव थप्ने रहेछ धनसम्पत्तिले ! अध्यात्मका निष्ठावान साधक, रामायण कथा वाचक, लोकप्रिय कवि तथा सायर, प्रोफेसर डा. कुमार विश्वास भन्नुहुन्छ, "अध्यात्मको मिठास जानेपछि निरन्तर अनित्यवादमा चलिरहेको यो भौतिक संसारमा आधारभूत आवश्यकताहरु पूरा भैसकेपछि पनि शान्ति र आनन्दको खोजी नगरिकन धनसम्पत्ति कमाउन मात्र लागिपरिरहनु मानव जीवनको सबैभन्दा ठूलो वेवकुफी रहेछ भन्ने मैले बुझें, शान्ति र आनन्दको प्राप्ति त धनसम्पत्ति कमाउनमा भन्दा खर्च गरेर अरुको सेवा गर्नुमा पो रहेछ अर्थात लिनुमा होइन दिनुमा पो रहेछ जुन आजको दिनमा बिल गेटस, इलोन मस्क लगायत धेरै सफल व्यक्तिहरुले आनन्द लिरहेका छन् धनसम्पत्ति खर्च गरेर अरुको सेवामा र उनीहरु मान्ने गर्दछन् वास्तविक धनसम्पति, पैशा होइन सेवा प्रदान गरेर प्राप्त हुने आनन्द पो रहेछ जसले मानिसलाई खुशी र शान्त जीवन प्रदान गर्दो रहेछ ।" हालसम्मको अनुभवमा जीवनबाट मैले सिकेको र बुझेको कुरा पनि यहि नै हो, जीवनको व्यवस्थापन र खुशी, शान्ति, आनन्दको खोज सबैभन्दा महत्वपूर्ण विषय रहेछ । मैले आजसम्मको जीवनको सिकाइमा बुझेको कुरा संक्षिप्तमा व्यक्त गर्नुपर्दा– हामी अभिभावकहरुले आफुले आफूलाई जति नै बुझेका छौं, सक्षम छौं भन्ने ठाने पनि हामीले सबै कुरा बुझेका हुदैन रहेछौं, हामी अर्धज्ञानी हुदारहेछौं,अर्धज्ञान खतरनाक कुरा रहेछ, अर्धज्ञान म जान्दछु भन्ने अहंकारको कारक मात्र रहेछ, हामी अभिभावक मात्र छोराछोरीहरुको राम्रो नराम्रो र भविश्यबारे जान्दछौं भन्ने ठान्दा रहेछौं र उनीहरुका कुरा सुन्दा रहेनछौं केटाकेटी छ, कच्चा उमेर छ भनेर तर वास्तविकता यस्तो होइन रहेछ, उनीहरुको बारेमा उनीहरुनै हामी भन्दा अझ आफ्नो राम्रो नराम्रो राम्ररी जान्दा रहेछन्, हामीले उनीहरुलाई आफूसरह वा आफूभन्दा बढि वुद्धिमान मानेर उनीहरुसंग उनीहरुको राम्रो नराम्रो र उज्वल भविश्यको बारेमा सबै विषयहरु समेटेर मसिनो गरि कुरा गर्नुपर्ने रहेछ । समयको आवश्यकता अनुसार बद्लिएका नयाँ–नयाँ घटना तथा विषयहरुबारे जान्न हामी अभिभावकहरुलाई पनि सिकाइ तथा परामर्शको आवश्यकता पर्नेरहेछ साथै शिक्षक, समाज र राज्यलाई पनि यस किसिमको सिकाइ तथा परामर्शको आवश्यकता पर्नेरहेछ । हाम्रो आफ्नै बलबुताले नवपुस्ताको प्रकृतिलाई बुझ्न र बुझाउन नसकिने रहेछ, यसकालागि विषयगत कार्यक्रम तथा विषयगत अनुभवी परामर्शदाताकै आवश्यकता पर्नेरहेछ । नवपुस्तालाई पनि उनीहरुको आफ्नो अध्ययन, काम, व्यवसाय, क्षमता विकास, प्रतिभा तथा सिर्जनशीलताको विकास, व्यक्तित्व तथा नेतृत्व विकास संगसंगै स्वास्थ्य, सम्वन्ध, परिवार, समाज, राष्ट्र र तिनको आवश्यकता तथा महत्व जस्ता विषयहरुबारे जान्न प्रतिभाशाली अनुभवीहरुको परामर्शको आवश्यकता पर्नेरहेछ । जीवनमा जान्नु पर्ने कुराहरु धेरै हुने रहेछन्, कसैले सबै कुरा जानेको हुदैन रहेछ, आफ्नो सानु, सहजता र सुरक्षाको घेराबाट वाहिर निस्किनु आवश्यक हुने रहेछ सबैकालागि,यसपछि देश र दुनियाका कुरा बुझिने रहेछ, कुवाको भ्यागुतो बन्न नहुने रहेछ, ज्ञानको संसार अति सुन्दर रहेछ ।
तसर्थ यूवाहरुको व्यक्तित्व र नेतृत्व विकासकालागि विषयगत ज्ञान, तालिम तथा परामर्श हासिल गर्न यूवाहरुलाई प्रोत्साहन गरौं र सहभागी हुने अवसर प्रदान गरौं । अवसरहरुको खोजी गरौं, आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठान स्वयंमले यूवाहरुको खोजी गर्दै राष्ट्रिय यूवा दिवसको अवसरमा आउँदो श्रावण २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय यूवा नेतृत्व विकास सम्मेलनमा सहभागि बनौं र यूवाहरुको सहभागितामा विशेष जोड दिउँ र आफ्नो अमूल्य जीवनको लक्ष्य, खुशी, समृद्धि, एकाग्रता, ध्यान, तनाव मुक्त जीवन र आफूभित्रको उद्यमी चिन्ने अवसरको फाइदा उठाउँ र आफूले आफ्नालाई र आफूले आफैंलाई सहयोग गरौं ।

No comments:
Post a Comment