डा. सिर्जना भण्डारी
विषय प्रवेश
सफलताका धेरै प्रकारका परिभाषाहरु छन् । मानिसहरुले आ–आफ्नो स्वभाव, क्षमता, उत्तरदायित्व, प्राथमिकता र जीवनको आवश्यकता अनुसार धेरै प्रकारले लिने गरेका छन् सफलतालाई । सफलता प्राप्त गर्नकालागि धेरैले धन कमाउनु पर्छ, शक्ति आर्जन गर्नुपर्छ, प्रसिद्धि हासिल गर्नुपर्छ भन्ने अर्थमा बुझ्ने गरेका छन् । यो सत्य हो कि धन, शक्ति, प्रसिद्धि आवश्यक छन् सफलता हासिल गर्नकालागि तर वास्तविकतामा धन, शक्ति, प्रसिद्धि सफलता नभएर सफलतालाई सम्भव बनााउने साधन मात्र हुन्, यी साध्य अर्थात सफलता होइनन् । त्यसोभए सफलता चाहिं के हो त ? यो जिज्ञासा उठ्नु एकदम स्वाभाविक हो किनकी आम रुपमा सफलताको सन्दर्भमा अधिकांश मानिसहरुको बुझाइ धन, शक्ति, प्रसिद्धि कमाउनु नै हो र वर्तमानमा संसारभरि यस्तै दौर चलिरहेको छ सफलताको सन्दर्भमा । तर वैदिक सनातन अध्यात्म विज्ञानले धन, शक्ति, प्रसिद्धिलाई वास्तविक सफलता मान्दैन किनकी यो भौतिक आर्जन हो, अनित्य र नाशवान छ जसले क्षणिक सुख, सुविधा मात्र प्रदान गर्न सक्छ, दिगो हुदैन । अध्यात्म दर्शनका अनुसार, वास्तविक सफलता मानिसले जीवनमा आर्जन गर्ने खुशी, शान्ति र आनन्द हो जो नित्य, दिगो र अक्षय(कहिल्यै क्षय नहुने, जन्मौ-जनमसम्म रहिरहने) छ । सफलताको केन्द्रमा गएर बुझ्दा मानिसले दिनरात मेहनत गरेर कमाएको धन, शक्ति, प्रसिद्धि सबै खुशी, शान्ति र आनन्द प्राप्त गर्नकैलागि हो तसर्थ मानिसको जीवनको वास्तविक सफलता धन, शक्ति, प्रसिद्धि कमाउनु नभई त्यसको माध्यमबाट खुशी, शान्ति र आनन्द हासिल गर्नु तथा कमाउनु हो जुन उ भित्रै सुसुप्त अवस्थामा रहेका छन् । हामीले जीवनमा कमाइ गरेको धन, शक्ति, प्रसिद्धिलाई सही ढंगले सदुपयोग गर्याैं भने आफूभित्रै रहेको खुशी, शान्ति र आनन्दलाई सहज प्रकारले जीवनमा प्रकट गर्न र सहज, सरल र सफल जीवन जिउन सकिन्छ ।
सफलताको परिभाषा र मानिसको मनोविज्ञान
सफलता भनेको के हो ? तिमी केलाई सफलता मान्छौं ? जीवनमा सफलता किन आवश्यक छ ? सफलताले के दिन्छ ? यस्ता प्रश्नहरु हरेकजसो प्रशिक्षण तथा सिकाइका कक्षाहरुमा विद्यार्थीहरुलाई सफलताका सन्दर्भमा उनीहरुको भाव तथा मनोविज्ञान जान्ने उदेश्यले सोध्ने गरिन्छ । अहिलेसम्म संसारभरि सफलता शव्दको निश्चित तथा किटान गरिएको परिभाषा फेलापरेको छैन किनकी सफलता सापेक्षिक विषय हो, यो मनको अवस्था हो जो व्यक्तिपिच्छे फरक पर्दछ र हरेक मानिसको मानसिक अवस्था तथा मनोविज्ञानमा निर्भर गर्दछ । कोही व्यक्तिले कुनै एक विषयको उच्चतम प्राप्ति तथा अवस्थालाई सफलता मानेको हुनसक्छ भने अर्को व्यक्तिले त्यस विषयलाई सफलता नमान्न पनि सक्छ र अर्को विषयलाई सफलता मान्न सक्छ किनकी सफलता केलाई मान्ने भन्ने विषय व्यक्तिको प्रकृति, स्वभाव, उसको आवश्यकता, उत्तरदायित्व, जिम्मेदारी, प्राथमिकता, देश–काल–परिस्थिति तथा उसको जीवन र जगतप्रतिको बुझाई तथा हेराईमा निर्भर गर्दछ । कसैले शरीर र मनले भोग गर्ने सुख तथा सुविधाहरुलाई नै सफलता मान्दछन् जस्तोकि धन कमाउनु, जागिर गर्नु, पदोन्नती हुनु, सुख–सुविधाका सामग्रीहरु जोड्नु, व्यवसाय बढाउनु, विश्व भ्रमण गर्नु, चन्द्रमामा पुग्नु आदि भने कसैले आफू सुखी रहनु, परिवारलाई सुखी राख्नु, अरुलाई मद्धत गर्न परोपकार तथा समाज सेवा गर्नु, जीवनमा खुशी, शान्ति र आनन्द हासिल गर्न अध्यात्म साधना गर्नुलाई सफलताको रुपमा हेर्ने गर्दछन् जसवाट स्वस्थ तनमन, चैनको निद्रा, शुद्ध हाँसो, सुमधूर सम्वन्धहरु बनुन् ।
सबै मानिसको चाहना हुन्छ जीवनमा सफलताको उचाई चुम्ने तर विविध कारणले सबैको यो चाहना पूरा हुन सक्दैन । मानिसले आफूले इच्छ्याएको सफलता प्राप्त हुनु र नहुनुमा धेरै पक्ष र विषयहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका रहेका हुन्छन् । पहिलो र महत्वपूर्ण भूमिका त उसको व्यक्तित्वको रहेको हुन्छ र यसपछि अन्य परिस्थितिहरुको प्रभाव रहेको हुन्छ । सामान्यतया मानिसको व्यक्तित्व उसको धन, सम्पति, सुख, सुविधा, लवाई–खवाई, ठाँठवाठ, वंश–विरासतका आधारमा नाप्ने गरिन्छ तर यो मापदण्डले मानिसको व्यक्तित्वबारे सही जानकारी विलकुल दिदैन । मानिसको वास्तविक व्यक्तित्व उसको आन्तरीक अवस्था तथा मनोविज्ञान हो, उसको सोच, विचार, मन, भाव, बुद्धि, विवेक, ज्ञान, क्षमता, प्रतिभा, सिर्जनशीलता, तत्परता आदि हो जो नितान्त आन्तरिक विषय हो र मानिसलाई बाहिरबाट झट्ट हेरेर उ भित्र रहेका यी विषयबारे जान्न सकिदैन तर जान्न चाहेमा सम्भव छ । मसिनोसंग मानिसको जीवनशैली, बोलीचाली, व्यवहार, आचरण, खानपीन, पहिरनका रोजाई, साथीसंगत, सामाजिक संजालहरुमा देखिने उपस्थिति तथा प्रस्तुतिहरुबाट मानिसको वास्तविक व्यक्तित्व जान्न सकिन्छ र उसले आफ्नो जीवनमा केलाई प्राथमिकता प्रदान गरेको छ र केलाई सफलता मान्छ भन्ने पत्ता लगाउन सकिन्छ र त्यसै अनुसार उसले इच्छ्याएको सफलता हासिल गर्न उसलाई सही तरिका तथा प्रेरणा प्रदान गरेर मद्धत गर्न सकिन्छ ।
सफलताको आध्यात्मिक परिभाषा
सनातन अध्यात्म विज्ञानले मानिसले आफ्नो जीवनकालमा नगरी नहुने चार पुरुषार्थ– धर्म, अर्थ, काम, मोक्ष निर्धारण गरेको छ जसबाट उसले जीवनमा इच्छ्याएको सफलता हासिल गर्न सक्दछ । अध्यात्म दर्शनका अनुसार, (१)धर्म पुरुषार्थ- मानव धर्मको निष्ठापूर्वक पालन गर; (२)अर्थ पुरुषार्थ- धर्मको पालन गरेर अर्थ तथा धनसम्पति आर्जन गर; (३)काम पुरुषार्थ- कमाएको धनसम्पत्तिको सकारात्मक सदुपयोग गर्दै सबैलाई लाभ हुने सकारात्मक तथा पुण्यका काम गरेर आफ्नो र अरु(समग्र सृष्टि- प्रकृति, मानिस, प्राणी, जीव, वनस्पति, पदार्थ) सबैको कल्याण गर अर्थात आफू यो अवस्थासम्म आइपुग्न जस–जसबाट जे–जति सहयोग लिएकाछौ तथा प्राप्त गरेकाछौ सक्को सेवा प्रदान गरेर फिर्ता गर ताकि तिम्रो कारण अरु व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व, मानवीयता, सारा सृष्टि तथा प्रकृतिले लाभ लिन सकोस र यी सबैले आफूप्रति गरेको योगदान तथा लगाएका गुणहरुको कदर गरेर तिमी उऋण होउ । (४)मोक्ष पुरुषार्थ- यसप्रकारले तिमीले गरेका सर्वकल्णयाणका भलाइ तथा पुण्यका कामहरुबाट तिमीले मनमा सकारात्मकता, खुशी, शान्ति र आनन्द प्राप्त गर्नेछौ । सकारात्मक, खुशी, शान्ति र आनन्दित मन तथा जीवन नै मुक्तिको मार्ग र अवस्था हो, मुक्त मानव नै मोक्षको अधिकारी हुनेछ, यस्तो मानिसले नै परमात्मा साक्षातकार गर्न सक्नेछ र तिम्रोे जीवन पूर्णरुपमा सफलता तथा सुफलताले पूर्ण हुनेछ । यसप्रकार अध्यात्मले वास्तविक सफलता सकारात्मकता, खुशी, शान्ति र आनन्दित अवस्थालाई मान्दछ किनकी मानिसको गुण धर्म आफ्नो र अरुको सेवा गरेर आफू सकारात्मक, खुशी, शान्त, आनन्दित रहनु र अरुलाई सकारात्मक, खुशी, शान्त, आनन्दित बन्न मद्धत गर्नु हो । मानिसले यो कार्य अध्यात्म विज्ञानका प्रमुख विषय योग विज्ञान तथा ध्यान विज्ञानका पद्धतिहरु निष्ठापूर्वक आफुले सिकेर, आफ्नो जीवनमा अनुशरण गरेर र अरुलाई सेवा स्वरुप सिकाएर गर्न सक्दछ । मानिसको जीवनमा वास्तविक सफलता अध्यात्म साधनाको माध्यमबाट मात्र हासिल गर्न सहज र सम्भव छ । तसर्थ, अध्यात्म साधनाबाट हासिल हुने अक्षय खुशी, शान्ति र आनन्द नै मानिसको वास्तविक सफलता हो ।
सफलतामा अर्थशास्त्रको उपयोगीताको ह्रास नियम
जीवनमा जे–जति दुःख, परिश्रम गरेपनि र धन, शक्ति, प्रसिद्धि आर्जन गरेपनि मानिसको अन्तिम खोज खुशी, शान्ति र आनन्द नै हो । धन, शक्ति, प्रसिद्धि मात्रले मानिसको जीवन सहज र सफल हुदैन । वर्तमानमा संसारका मानिसको जीवनशैली हेर्ने हो भने धन, शक्ति, प्रसिद्धि कमाउने मानिसहरुनै बढि बेखुश, अशान्त, तनाव, चिन्ता, अवसादको अवस्थामा रहेका छन् । घनाड्य, शक्तिशाली र प्रतिष्ठित व्यक्ति तथा परिवारका सदस्यहरु नै अनेक रोगहरुबाट ग्रसित, अवसादग्रस्त, आत्महत्याको सोच तथा आत्महत्या जस्ता जघन्य समस्याहरुबाट ग्रसीत छन् । श्रद्धेय ओशो भन्नुहुन्छ, “संसारको अनुभवलाई हेर्दा धन, शक्ति, प्रसिद्धिबाट प्राप्त भौतिक सुख, सुविधाहरु नै समस्याका कारक बनेका देखिन्छन् । धन, शक्ति र प्रसिद्धिले नै सबैभन्दा बढि दुःख, पिडा, बेखुशी, अशान्ति जन्माउँछन् तथा कमाउँछन् ।” व्यस्टि अर्थशास्त्रको उपयोगीताको ह्रास नियमका अनुसार भौतिक संसारबाट प्राप्त हुने सुख सुविधाहरुले मानिसको मनलाई सन्तुष्ट गर्ने क्रम घट्दो हुन्छ जस्तोकि हामीले कुनै वस्तु तथा सुविधा अत्यन्तै चाह गरेर प्राप्त गर्छौं, त्यसले हामीलाई केही दिन खुव सुख, सुविधा र खुशी प्रदान पनि गर्छ तर समय वित्दै जाँदा मानिसको मन त्यो वस्तु तथा सेवाबाट भरिदै जान्छ र त्यसको भोगप्रति उसको रुची घट्दै जान्छ र विस्तारै उसको इच्छा त्यो भन्दा उच्चस्तरको वस्तु तथा सेवा, सुविधा प्राप्त गर्नमा तल्लीन हुन्छ र एवंरीतले मानिस चेतनामा बाचुन्जेल यो प्रक्रिया चलिरहन्छ तर मानिसको मन कहिल्यै तृप्त हुदैन तथा तृप्ति दिगो रहदैन र भौतिक संसारका सुख, सुविधाहरुबाट मानिसले कहिल्यै दिगो रूपमा खुशी, शान्ति र आनन्द हासिल गर्न सक्दैन । तर अध्यात्म साधनाबाट प्राप्त हुने पराभौतिक तथा अलौकिक उपलव्धि खुशी, शान्ति र आनन्दमा अर्थशास्त्रको उपयोगीताको ह्रास नियम लागू हुदैन । अध्यात्म साधनाको माध्यमबाट मानिसको जीवनमा जति-जति खुशी, शान्ति र आनन्द आउँछ यसले साधकलाई उतिनै बढि सन्तुष्टी तथा तृप्ति प्रदान गर्दै जान्छ, विचारहरु स्थिर हुन्छन् र मन शान्त हदै जान्छ, साधकका इच्छा चाहनाहरु सिमित हुदै जान्छन् र साधक वैराग्यताको अवस्थामा स्थित हुदै जान्छ, आनन्दित जीवनकालागि वैराग्यता वरदान हो जसमा केवल पलपल बढिरहने खुशी, शान्ति र आनन्द मात्र छ किनकी 'खुशी' वाहिरका वस्तु तथा सुविधाहरुको मद्धतले आफ्नै मनभित्रबाट प्रकट हुन्छ, 'शान्ति' मन तथा भावनाको तृप्ति भएपछि आफ्नै अन्तरजगतबाट प्राप्त हुन्छ र आनन्द आत्मज्ञान, परमात्मा साक्षातकारबाट प्राप्त हुन्छ, परमात्मा साक्षातकारपछिको मोक्षको अवस्थामा परमानन्द, सतचितानन्द प्राप्त हुन्छ जो निरन्तर बढिरहन्छ र चीरकाल(पछिल्ला पुनरजन्महरुसम्म) रहीरहन्छ ।
आफ्नो जीवन त जनावर, पंक्षी, जीव, वनस्पतिहरुले पनि पाल्दछन्, मनुष्यको कर्तव्य आफूभन्दा माथि उठेर अरुको जीवन सहज बनाउनु हो तव मात्र उ सर्वश्रेष्ठ प्राणी कहलिन्छ, आफ्नोमात्र जीवन पाल्ने मानिस प्रकृतिको नियम अनुसार जनावर, पंक्षी, जीव, वनस्पति सरह नै मानिन्छ । वर्तमान अवस्थासम्म संसारमा सर्वश्रेष्ठ प्राणी मानिस मात्र हो तर सबै आम मानिसहरु यो वर्गमा पर्दैनन् । ज्ञानी शिद्ध महापुरुष(मुक्त आत्मा अर्थात चेतना) र सर्वकल्याणको चिन्तन् गर्ने र त्यसउपर काम गर्ने समाजसेवी मनहरु सर्वश्रेष्ठताको वर्गमा पर्दछन् तर यो संख्या अत्यन्त न्यून छ, यसकारण पृथ्वीमा हत्या, हिंसा, युद्ध, अन्याय, प्रदुषणका विपत्तिहरु बढ्दै गएका छन् र पृथ्वी तथा सिंगो प्रकृति प्रलयको अवस्थामा पुगेकोछ । अहिले नेपालमा बाढी, पहिरोले मच्चाएको विध्वन्स यसैको ज्वलन्त परिणाम हो, तसर्थ हामी मानिस जागौं, प्रकृति बचाऔं र आफूलाई सर्वश्रेष्ठ प्राणीको श्रेणीमा पुर्याउँ ।
वास्तविक सफलताका मूल गुणहरु
पूवीर्य अध्यात्म विज्ञानको अनुसार मानिसले जीवनमा जे सुकै कर्म गरोस, जस्तो गरोस, जसरी गरोस ती कर्महरुको माध्यमबाट उसको जीवनमा आउने खुशी, शान्ति र आनन्द नै वास्तविक सफलता हो । खुशी अरु व्यक्ति तथा वाहिरका वस्तुका सहयोगवाट प्राप्त हुन्छ तर आउन चाहिं म भित्रैबाट आउँछ किनकी खुशी हुन सक्ने क्षमता बाहिर कतै नभएर म भित्रै छ । शान्ति आफ्नै कारणले आफूभित्रबाट नै आउँछ । आनन्द आत्मा अर्थात चेतना अर्थात परमात्माबाट प्राप्त हुन्छ, आनन्द अकारण घटित हुन्छ र अक्षय अर्थात कहिल्यै क्षय नहुने प्रकारको हुन्छ । मानिसको शरीर शारीरिक परिश्रमबाट सुखी, खुशी, शान्त र आनन्दित हुन्छ । मन सकारात्मक सोच, विचार गर्दा सुखी, खुशी, शान्त र आनन्दित हुन्छ । भावना प्रेमका अनेक स्वरुपहरु– स्नेह, मायाँ, मैत्री, श्रद्धा, दया, करुणा, सेवा, परोपकार अरुमा संचारीत गर्दा खुशी, शान्त र आनन्दित हुन्छ र आत्मा अर्थात चेतना यी सबै पुण्य कर्महरुका कारण परमात्मामा स्थित भएपछि सुखी, खुशी, शान्त र आनन्दित हुन्छ र यही नै मनुष्य जीवनको वास्तविक सफलता हो । बुद्धत्व प्राप्त सिद्ध पुरुषहरु भन्छन् मनुष्यको जीवनमा सबैभन्दा ठूलो सफलता मोक्षको प्राप्ति हो र सबैभन्दा ठूलो असफलता आत्महत्या हो । bsirjana@gmail.com
No comments:
Post a Comment