'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 13 December 2024

मोक्ष प्राप्तिका तीन योगमा भक्ति योगको महिमा उच्च रहेको छ

                      डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन  #जीवन_दर्शन



विषय प्रवेश

वैदिक सनातन अध्यात्म दर्शनमा युगौंदेखि सदाकाल भक्ति योग नै उच्चतम चर्चाको विषय रहदै आएको छ । मोक्ष प्राप्ति गर्न तथा संसाररूपी भवसागरबाट पार हुन तीन मार्गहरु उल्लेख गरिएका छन्-(१) कर्म योग, (२)भक्ति योग, र (३)ज्ञान योग । मोक्षको मार्गमा कर्म योग र ज्ञान योग भन्दा भक्ति योग श्रेष्ठ मानिदै आउनुको कारण कर्म योग र ज्ञान योग साधना विशेष प्रकारको लक्ष्य लिएर गर्ने गरिन्छ तर भक्ति योग साधनाको कुनै लक्ष्य हुदैन, यो स्वयं साध्य र साधन स्वरुप मानिन्छ जसमा स्वयं परमात्मा प्राप्तिको आकांक्षा रहन्छ । वैदिक सनातन दर्शनका सबै शास्त्रहरुको सार ग्रन्थ श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले भक्ति मार्गलाई बढि प्राथमिकता दिदै भन्नु भएको छ, “कर्म योगले ज्यादा शारीरिक सक्रियता माग गर्ने र ज्ञान योगले ज्यादा वौद्धिक क्षमताको माग गर्ने भएकोले यी दुई मार्ग अलिक कठिन मार्ग हुन्, सबै मनुष्यहरु शारीरिक तथा वौद्धिक रुपले क्षमतावान हुदैनन् तर भक्ति मार्गले मनुुष्यको हृदयको भाव क्षमताको माग गर्दछ र सबै मनुष्यमा भाव ज्ञाना तथा भाव शक्ति निहित हुन्छ । मोक्ष प्राप्तिको मार्गमा भक्ति योग सबैकालागि सहज, सरल तथा प्रभावकारी हुने भएकोले भक्ति योगलाई अन्य योगको तुलनामा सबैभन्दा श्रेष्ठतम मानिएको हो, यद्धपि यी तीनवटै योग अत्यन्तै महत्वपूर्ण, एकआपसमा अन्तरसम्वन्धित र पूरक छन्, उत्तिकै व्यवहारीक तथा प्रभावकारी छन् र यी तीनवटै योगको आत्यन्तिक गन्तव्य उही अव्यक्त, निराकार, निर्गुण परमतत्व परमात्मामा स्थित हुनु नै हो ।


भक्ति योग के हो र यसका भेद तथा प्रकारहरु

संस्कृत शव्द भज् धातुमा ‘क्तिन्’ प्रत्यय लागेर ‘भक्ति’ क्रिया पदकोे निर्माण भएको हो । भजको शाव्दिक अर्थ सेवा हुन्छ । आफ्नो आराध्यको समर्पण भावले उपासना गर्नु सेवा हो । भजको शाव्दिक अर्थ भज्नु पनि हो र भक्तिको अर्थ आफ्नो आराध्यको नाम, गुण, लीलाको गान गर्नु, भज्नु तथा भजन, कीर्तन गर्नु हो । शुद्ध भक्तिको माध्यमबाट आत्मालाई परमात्मामा स्थित गर्नु भक्ति योग हो । आराध्यको मन, वचन, कर्मले उपासना गर्नु, भजन गर्नु तथा सेवा गर्नु मात्र शुद्ध भक्ति होइन, भक्तको हृदयमा सेवाका साथसाथ प्रेम, श्रदा र समर्पण भाव प्रकट भएपछि मात्र यो शुद्ध तथा वास्तविक भक्ति बन्दछ । शुद्ध भक्तिमा मात्र भक्त यथार्थमा मानवतायुक्त मानव बन्दछ र मोक्ष प्राप्तिको हकदार हुन्छ ।


भक्तिको सहि परिभाषा गर्न कठिन छ । भक्ति भनेको यही नै हो र यसरी नै गर्नु पर्छ भन्ने विषेश प्रकारको अकाट्य नियम छैन ।वास्तवममा भक्ति कुनै क्रिया, प्रक्रिया तथा पद्धति होइन यो केवल भक्तको मनस्थिति तथा भावास्थितिको अवस्था हो । कर्म मार्ग र ज्ञान मार्ग नियममा बद्ध छन् तर भक्ति मार्ग नियमबाट मुक्त छ । ओशोधाराका सदगुरु स्वामी शैलेन्द्र सरस्वती भन्नुहुन्छ, “अध्यात्म दर्शन अन्तर्गत मोक्ष प्राप्तिका अन्य मार्गहरु– कर्म योग, तन्त्र योग, हठ योग, ज्ञान योग आदि नियममा बद्ध भएकाल सबैकालागि बुझ्न सहज छन् किनकी यी वुद्धिको पकडमा आउँछन् तर भक्ति मार्ग तथा भक्ति योग हृदयको विषय हो, यो वुद्धिको पकडमा आउँदैन । भक्ति योगबारे गहिराइमा बुझ्न र यसको वास्तविक अनुभव गर्न भक्त स्वयं भक्ति रसमा डुब्नैपर्छ, स्वयंले भावातीत, गुणातीत रुपमा परमात्माको अनुभव गर्नैपर्छ । भनिन्छ प्रेम अन्धो हुन्छ, एकप्रकारले भन्ने हो भने यही अन्धो प्रेम नै शुद्ध तथा वास्तविक भक्ति हो । कोही व्यक्ति आफू स्वयं प्रेम भावमा नडुबीकन प्रेमको सही परिभाषा गर्न सक्दैन किनकी प्रेम पनि वुद्धिको पकडमा आउने विषय होइन, प्रेम हृदयको विषय हो । जसले स्वयं भोग्यो उसले मात्र जान्दछ प्रेम, परम प्रेम तथा शुद्ध भक्ति के हो भनेर । जव प्रेम चरम तथा परम बन्छ तव त्यो स्वतः शुद्ध भक्तिमा परिणत हुन्छ किनकी भक्ति प्रेमको उत्कृष्टतम रुप हो र यो विशुद्ध हृदयको भाषा हो । नारद भक्ति सुत्रमा भनिएको छ, “प्रेमको परम रुप भक्ति हो । प्रेम के होइन, प्रेम सबै थोक हो, प्रेमका अनेक रुप छन्– स्नेह, मायाँ, मैत्री, दया, करुणा, श्रद्धा, भक्ति आदि ।” नारद भक्ति सुत्रकै अनुसार कुनै एउटा परमतत्व तथा परमशक्तिमाथि विश्वास गरेर जीवनमा निरन्तर अगाडि बढिरहनु भक्ति हो । समर्पण भक्तिको पहिलो चरण हो । पहिलो चरणमा मनुष्यले परमात्मा प्राप्तिको गहन भाव मन तथा हृदयमा राखेर पुर्णतः परमात्माप्रति समर्पित भएर नामजप, यज्ञ, योग, यम, नियम अन्तर्गत सत्य, अहिंसा, तप, सन्तोष, शुद्धता, ब्रम्हचर्य, स्वाध्याय, इश्वर प्रणिधान आदिको माध्यमबाट आफ्नो तन, मन, भाव, चित्तलाई पवित्र गर्दछ ।


क्रियाका आधारमा भक्ति दुई प्रकारले गरिन्छ– (१)परा भक्ति(शारीरिक अर्थात भौतिक), र (२)अपरा भक्ति(मानसिक /भावनात्मक अर्थात पराभौतिक) । परा भक्तिमा आराध्य परमात्माको अव्यक्त, निराकार, निर्गुण स्वरुपलाई व्यक्त, आकार, सगुण मानेर भौतिक रुपमा यज्ञ, पूजा आराधना, अनुष्ठान, तीर्थ, व्रत आदि गरेर क्रिया तथा दृश्य कर्मको माध्यमबाट गर्ने गरिन्छ । अपरा भक्तिमा आराध्य परमात्माको उपासना मन, वचन, स्मरण गरेर मानसिक तथा भावनात्मक किसिमले अव्यक्त, निराकार, निर्गुण तथा व्यक्त, आकार, सगुण दुवै स्वरुपमा गर्ने गरिन्छ । श्रीमद्भगवद् गीतामा श्रीकृष्ण भगवानले परा र अपरा दुवै प्रकारका भक्तिलाई उत्तिकै प्रभावकारी र श्रेष्ठ बताउनु भएको छ । परमात्मालाई अव्यक्त, निराकार, निर्गुण स्वरुप मानेर मन, वचन, स्मरणबाट भक्ति गर्न सक्ने भक्तहरुकालागि त्यहीनै श्रेष्ठ छ र परमात्मालाई अव्यक्त, निराकार, निर्गुण स्वरुपमा बुझ्न, जान्न, थाहा पाउन तथा अनुभव गर्न नसक्ने भक्तहरुकालागि व्यक्त, आकार, सगुण रुपमा मानेर भौतिक रुपमा यज्ञ, पूजा, अनुष्ठान आदि गर्नु नै श्रेष्ठ छ । जसरी आफूलाई सहज हुन्छ त्यसरी नै परमात्माको भक्ति गर्नु सबैकालागि श्रेयस्कर हुन्छ । परा भक्तिबाट नै क्रमशः भक्त अपरा भक्तिमा प्रवेश गर्दछ तसर्थ मनुष्यको प्रकृति अनुसार परा र अपरा दुवै प्रकारका भक्ति उत्तिकै महत्वपूर्ण र आवश्यक मानिदै आइएका छन् । परा भक्ति ज्ञान योगसंग नजिक छ र अपरा भक्ति चरम तथा परम प्रेम भाव, आस्था, विश्वास, समर्पणमा आधारीत छ । अपरा भक्ति सदगुरु तथा सिद्धगुरूको सनिध्यमा बढ्दै जान्छ ।


आध्यात्मिक दृष्टिकोणबाट मोक्ष प्राप्तिकालागि भक्ति योगकै विशेष महत्व तथा स्थान रहदै आएको छ । समग्रमा भक्ति मार्गका चार सिंढी छन् (१)ओठ(स्थुल), (२)कण्ठ(मानसिक), (३)हृदय(भाव), र (४)साक्षी(आत्मा अर्थात चेतना) । पहिलो सिंढीमा ओठको माध्यमबाट ध्वनि निकालेर आफ्नो आराध्यको नामपज, मन्त्रजप, लीलाको गुण गान, भजन गान उच्चाहरण गर्ने गरिन्छ । दोस्रो सिंढीमा कण्ठको माध्यमबाट मनमनै मौन भएर नामजप, मन्त्रजप, लीलाको गुण गान, भजन गान तथा स्मरण गर्ने गरिन्छ । तेस्रो सिंढीमा हृदयको माध्यमबाट भावमा डुवेर, अस्था र समर्पण भावकासाथ मौन भएर नामजप, मन्त्रजप, लीलाको गुण गान, भजन गान तथा स्मरण गर्ने गरिन्छ । र चौथो सिंढीमा आत्मा अर्थात चेतनाको माध्यमबाट निरन्तर आफ्ना सबै प्रकारका गतिविधिहरुमा साक्षी भएर आफ्नो आराध्यको नामजप, मन्त्रजप, भजन गान तथा उपासना गर्ने गरिन्छ । परमात्माले निशव्द, मौन, स्मरण तथा उपासनाको भाषा बुझ्दछ तथा पुकार सुन्दछ तसर्थ मौन भएर मन तथा भावले आफ्नो आराध्यको नामजप, मन्त्रजप, लीलाको गुण गान, भजन गान, स्मरण, सुमिरन तथा उपासना गर्नु र आफ्ना सबै गतिविधिहरु सजगताकासाथ साक्षी भएर गर्नु शुद्ध भक्ति हो ।


क्रिया र भावका आधारमा भक्तिका दुई प्रकार छन्– (१) आशक्त(कामना सहीत) भक्ति, (२) अनाशक्त(कामना रहीत) भक्ति । आशक्त भक्तिमा भक्तको स्वार्थ लुकेको हुन्छ, यसमा परमात्माबाट केही प्राप्त गर्ने अपेक्षा गरिन्छ अर्थात सुख, सुविधा, सेवाको माग राखिन्छ तर अनाशक्त भक्ति निस्वार्थ हुन्छ, यसमा परमात्माबाट केही प्राप्त गर्ने अपेक्षा राखिदैन बरु पूर्णतः आस्था र समर्पण भावले परमात्मा स्वयंमको दर्शन तथा मोक्ष प्राप्तिको आकांक्षा राखिन्छ । आशक्त भक्ति परमात्मा र भक्तविच लेनदेनको व्यवहार जस्तो मात्र बन्दछ, नजिकको दिव्य सम्वन्ध बन्दैन, परमात्मासंग लेनदेनको व्यवहार जस्तो अवस्था भक्तले आफैं निर्माण गर्दछ । आशक्त भक्तिमा भक्तको इच्छा, कामना पूर्तितिर मात्र लच्छित हुन्छ तर भक्तको जीवन तथा मन, भाव, चित्तमा शान्ति र आनन्द आउदैन किनकी मनुष्यको इच्छा, कामना, वासना अन्त्यहिन हुन्छन्, कहिल्यै अन्त्य हदैनन्, उसले एकको परिपूर्तिपछि निरन्तर अरु इच्छा, कामना, वासनाहरुको अपेक्षा गर्दछ । शान्ति र आनन्द अनाशक्त भक्तिबाट मात्र आउँछ जहाँ सांसारीक वस्तु, सेवा तथा सुविधाहरुप्रति भक्तको आशक्ति तथा अपेक्षा न्यून हुन्छ केवल जीवन निर्वाहकालागि मात्र हुन्छ किनकी आशक्त भक्ति गर्ने भक्तको जीवन र जगतलाई हेर्ने दृष्टिकोण नै अलग तथा सर्वकल्याण भावले भरिएको हुन्छ र आफूलाई म सबैकालागि हुँ भनेर बुझ्दछ तसर्थ उ सदा सुखी, खुशी, शान्त र आनन्दित हुन्छ । आशक्त भक्ति गर्नेले जनकल्याणको भाव राख्दैन, उसले आफ्नै मात्र सुख, सुविधा तथा स्वार्थ हेर्दछ तथा खोज्दछ किनकी उ इन्द्रियहरुको वसमा रहेको हुन्छ । अनाशक्त भक्ति गर्ने मनुष्य महान हुन्छ, उ इन्द्रिय निग्रह गरेर पुर्णतः स्थितप्रज्ञ भैसकेको हुन्छ, उसले कुनै प्रकारले आफ्नो मात्र हित हेर्दैन, हरप्रकारले सर्वकल्याणको हित हुने भाव मात्र राख्दछ र उसमा सिर्फ सबैको सेवाको माध्यमबाट परमात्मा प्राप्तिको भाव शेष रहेको हुन्छ । अनाशक्त भक्ति परम प्रेमको चरम अवस्था हो जसमा स्वयं परमात्मा पनि भक्तसंग हार्दछ र भक्तलाई दर्शन दिन तथा आफू कुनै न कुनै रुपमा प्रकट हुन बाध्य हुन्छ किनकी परमात्मा यस्तै शुद्ध तथा परम भक्तिको आकांक्षी हुन्छ । भक्तले आन्तरीक अनुभूतिमा परमात्माको दर्शन पाइसकेपछि उ कणकणमा परमात्मा देख्न तथा अनुभूति गर्न थाल्छ र उसका हरेक कार्य तथा क्रियाकलापहरु सर्बकल्याणकालागि हुन थाल्दछन् । अनाशक्त भक्तिले मात्र वास्तविक मोक्ष प्रदान गर्न सक्दछ किनकी अनाशक्त भक्ति गर्ने भक्तको मनस्थिति सुख र दुःखमा एकसमान भइसकेको हुन्छ, यस्तो अवस्थामा उसको कर्म बन्ने प्रक्रिया र कर्मको फल प्राप्तिको श्रींखला शुन्य बन्दछ र उ स्वतः परमात्माको निराकारमा तथा मोक्ष अर्थात निर्वाणमा उपलव्ध हुन्छ ।


गुणका आधारमा भक्ति तीन प्रकारका छन्– (२)सात्वीक भक्ति, (२)राजसी भक्ति, र (३)तामसी भक्ति । मनुष्य र परमात्मा विचको सबैभन्दा ठूलो पर्खाल अहंकार हो । सात्वीक भक्ति शुद्ध भक्ति हो जसमा भक्तको अहंकार शुन्य हुन्छ; म, मेरो, मैले, मलाई भन्ने कर्ता भाव, म भन्ने भाव, ज्ञाता तथा जान्ने छु भन्ने भाव, लोभ, इष्र्या, क्रोध सबै मेटिन्छ र उ परमात्माप्रति पूर्णरुपमा आस्थावान र समर्पित हुन्छ, सबैमा आफूलाई देख्दछ, आफूमा सबैलाई देख्दछ, कणकणमा परमात्मालाई देख्दछ किनकी वास्तविक भक्त सत्वगुणी सम्पत्तिले ओतप्रोत भएको हुन्छ र यीनै सत्वगुणी सम्पतिहरुको सदुपयोग गरेर हरप्रकारले सर्वकल्याणका कार्यहरु गर्दछ । भगवान श्रीकृष्ण भन्नुहुन्छ, “अहिंसा नै परमधर्म हो र सत्य, अक्रोध, त्याग, दया, करुणा, प्रेम, अनिन्दा, अकर्ता भाव, निरहअहंकारीता, सहनशीलता, शुद्धता, तेज, क्षमा, धैर्य, दम, जप, तप आदि मनुष्यका सत्वगुणी सम्पत्ति हुन् ।”


तर अहंकार र म, मेरो, मैले, मलाई भन्ने भावले भरिएको मनुष्यमा कर्ता भाव अर्थात मैले गरेको हो, मैले गर्दा भएको हो, यसको हकदार म हुँ, मैले यो गरें, मैले त्यो गरें, मैले गरेको काम सबैभन्दा श्रेष्ठ छ भन्ने र ज्ञाता भाव अर्थात म जान्ने छु, म ज्ञानी छु, मैले मात्र जान्दछुु, अरु नजान्ने छन्, मलाई मानसम्मान पुर्याउनु पर्छ, मेरो ज्ञान तथा विचारलाई सबैले मान्नु पर्छ, मैले भनेकै जस्तो हुनुपर्छ भन्ने अहंकार रहन्छ । यस किसिमका मनुष्यहरुले गर्ने भक्ति राजसी तथा तामसी भक्ति अन्तर्गत पर्दछ । राजसी भक्तिमा परमात्मासंग प्रार्थनाका नाममा अपेक्षा गरिन्छ अर्थात मेरो फलानो इच्छा पुर्याइदेउ म फलानो चिज चढाउँछु, भाकल गर्छु भनेर परमात्मासंग लेनदेनको कारोबार तथा व्यापार गर्दछन् र प्राप्त नभए परमात्माप्रति अविश्वास गर्ने, अपहेलना गर्ने तथा गाली, अपशव्द प्रयोग गर्ने गर्दछन् । तामसी भक्तिमा परमात्माको सेवा तथा उपासनाको नाममा आडम्बर गर्ने, आफूले मानेकै धर्म तथा सम्प्रदाय, गुरु, देवता, भगवान, संस्कृति, परम्परा मात्र ठूलो तथा श्रेष्ठ हो भनेर अरुलाई हेप्ने, होच्याउने, निन्दा गर्ने र साम्प्रदायिकीकरण गरेर हिंसा समेत भड्काउने र मारकाटमा समेत उत्रिने तथा उतार्ने अवस्थाको निर्माण गर्दछन् । आजको मनुष्य तथा समाजको व्यवहार दिनदिनै तामसी भक्तिमा रुपान्तरण हुदै गैरहेको अवस्था वर्तमान समयको निकै ठूलो चिन्ता र चिन्तनको विषय बनेको छ ।


सनातन शास्त्रहरुमा विभिन्न प्रकारका भक्तिहरुको वर्णन गरिएका छन्– (१)नवधा भक्ति, (२)प्रेमा भक्ति, (३)साधन भक्ति... आदि । आस्था, श्रद्धा, समर्पणका आधारमा नवधा भक्तिलाई सबैभन्दा श्रेष्ठ मानिदै आइएको छ । भक्त प्रल्हादद्वारा प्रतिपादित नवधा भक्तिका निम्न नौ चरणहरु रहेका छन्(पोष्टको रेकर्डमा सुन्न सक्नुहुन्छ)–(१)श्रवण, (२)कीर्तन, (३)स्मरण, (४)पाद सेवन, (५)अर्चना, (६)वन्दना, (७)दास्य, (८)साख्य, (९)आत्म निवेदन । कानको माध्यमबाट परमात्माको महिमा, उसको नाम, गुण, लीला, शक्ति, महिमा, मंगल चरित्र, भजन, संकीर्तन आदि सुन्नु श्रवण भक्ति हो । सतसंगमा सुनेको परमात्माको नाम, गुण, लीला, शक्ति, महिमा, मंगल चरित्र, भजन, संकीर्तन आदिलाई आफ्नो जीवनमा उतार्नकालागि यसको जप, तप, वर्णन गर्नु कीर्तन भक्ति हो । जे जति परमात्माको बारेमा पढेका, सुनेका तथा अनुभव गरेका सकारात्मक कुराहरुलाई आफ्नो शव्द, मन, भाव, चित्तमा बारबार दोहोर्याउनु तथा चिन्तन् गरिरहनु स्मरण भक्ति हो । परमात्माको श्रीचरण कमलको सेवा गर्नु पादसेवन भक्ति हो । वैदिक सनातन शास्त्रहरुमा बर्णन गरिए अनुसार सोही रीतले परमात्माको आस्था तथा श्रद्धापूर्वक समर्पित भएर जप, तप, वर्णन, पूजन गर्नु अर्चना भक्ति हो । आफूलाई असाहाय मानेर सबैकुरा परमात्मा उपर छोडदीनुु, पूर्ण रुपमा परमात्माप्रति आस्थावान रही समर्पित हुनु तथा समर्पणको भाव राख्नु वन्दना भक्ति हो । आफ्ना सबै कर्महरु परमात्माकैलागि गरेको हुँ भनेर पुर्णरुपमा सुम्पिएर आफूलाई परमात्मा र परमात्माका सबै शक्तिहरुको दाष तथा सेवक मान्नु दाष्य भक्ति हो । आफ्नो आराध्यदेव परमात्माप्रति मित्रता तथा सखाको भाव राखेर उसको सेवा, आराधना गर्नु साख्य भक्ति हो । आफू, आफ्नो ज्ञान, वुद्धि, संकल्प, कर्म, मन, भाव, चित्त आदि आफ्ना सबैथोक आफ्नो नसम्झेर परमात्माकै हो भनेर सम्झिनु, मान्नु तथा उसको चरणमा अर्पित गर्नु आत्म निवेदन भक्ति हो । नवधा भक्तिलाई अनुशरण गर्ने साधक नै वास्तविक भक्त हो र उ स्वतः मोक्षको अधिकारी बन्दछ ।


भक्ति योगको महिमा

अध्यात्मका सारा राम्रा गुणहरुको खानी हो भक्ति मार्ग तथा भक्ति योग । शुद्ध भक्तिमा परमात्माको कृपा वर्षिरहन्छ र भक्तलाई आफ्नो पात्रतामा कमी आएको अनुभूति भैरहन्छ तसर्थ उ सदा सजक तथा साक्षी बनीरहन्छ आफ्ना हरप्रकारका गतिविधिहरुप्रति । भक्ति साधनामा सदा सजक तथा साक्षी रहनु मोक्ष प्राप्तिको प्रमुख कडीको रुपमा मानिदै आइएको छ । नारद भक्ति सुत्रका अनुसार, परमात्मा प्रति परम प्रेम हुनु, परमात्माप्रति पूर्ण आस्था, श्रद्धा, समर्पण भाव हुनु नै शुद्ध भक्ति हो । परम प्रेम तथा शुद्ध भक्ति त्यस्तो हो जो कुनै वस्तु, देश, काल, व्यक्ति, परिस्थितिमा निर्भर गर्दैन, विलकुल अलग र निरपेक्ष हुन्छ । परम प्रेम तथा शुद्ध भक्ति मनुष्यको भावना तथा आत्मामा सिर्जित हुने भावातीत आन्तरीक अनुभूति हो । वाहिरका भौतिक बस्तु, सेवा तथा सुविधाहरु भन्दा अलग हुन्छ र दिगो हुन्छ । भावातीत आन्तरीक अनुभूतिमा परम शान्ति र परम आनन्द घटित हुन्छ । वाहिरका कुनै पनि वस्तु, सेवा तथा सुविधाहरुले दिगो आनन्द दिदैनन्, वाहिरका वस्तुहरुको आनन्द क्षणिक, अनित्य तथा नाशवान हुन्छ किनकी यस्ता वस्तु, सेवा तथा सुविधाहरु संधै समान रुपले मन परिरहदैनन् तसर्थ यी विषयहरुसंग कदापि परम प्रेम तथा लगाव हुनसक्दैन । परम प्रेम त्यससंग मात्र हुन्छ जसबाट हामीलाई परम शान्ति, परम आनन्द प्राप्त हुन्छ । परमात्मा स्वयं परम शान्ति, परम आनन्द हो त्यसैले परमात्मासंग परम प्रेम हुन्छ, शुद्ध भक्ति हुन्छ, गहिरो लगाव हुन्छ, आस्था, श्रद्धा र समर्पण भाव रहन्छ । परम प्रेम, शुद्ध भक्ति कहिल्यै वाहिरका वस्तु, सेवा तथा सुविधाहरुमा निर्भर गर्दैन, यो आफैंभित्रबाट निरन्तर वर्षिरहन्छ अमृतको फोररा फुटेझैं, वाहिरको कुनै श्रोतको आवश्यकता पर्दैन आफूमा आनन्दको सिर्जना गर्न । यो आफैंप्रति अर्थात आत्माप्रतिको परम प्रेम हो र आत्माप्रतिको परम प्रेम नै परमात्माप्रतिको परम प्रेम तथा शुद्ध भक्ति हो ।


भक्ति बोलेर, देखेर, पढेर, लेखेर, सुनेर, हिडेर, हातका क्रिया गरेर हुदैन । पारमात्माले लाटा, अन्धा, बहिरा, लंगडा, डुंडा तथा लुलाहरुको पुकार पनि सुन्छ । भक्ति धनले तथा शक्तिले हुदैन, परमात्माले गरिव, कमजोर तथा निमुखाहरुको पुकार पनि सुन्छ । तसर्थ सरलतम किसिमले भक्तिलाई दुई शव्दमा बुझ्नु उचित हुन्छ– (१)परम, र (२)प्रेम । समग्रमा परम प्रेम । परम प्रेम मनुष्यको भाव शक्तिबाट जन्मिन्छ । परमको अर्थ हुन्छ सबै कुरा भन्दा अधिक, सबै भन्दा माथि, श्रेष्ठ, अतुलनिय । सबै कुरालाई भन्दा माथि राखेर परमात्मालाई प्रेम गरिन्छ भने यही नै परम प्रेम, शुद्ध भक्ति, परम भक्ति हो । शुद्ध भक्तिमा प्रवेश गरेपछि भक्तले परमात्माको बिभिन्न प्रकारका उपस्थितिहरु अनुभव गर्न र परमात्माको नाद श्रवण गर्न सक्षम हुन्छ र यो परमात्माको परम कृपा भक्तबाट कहिल्यै छुट्दैन, निरन्तर बढेर नै जान्छ । यो अवस्थामा साधक आफू मेटीन्छ, केवल परमात्मा मात्र रहन्छ कर्ता, साधक, भक्त पुर्णतः परमात्मामा विलय हुन्छ, साधकमा म भन्ने भाव र अहंकार भाव सदाकालागि समाप्त भएर जान्छ र उ स्वयं ब्रम्ह बन्दछ ।


भक्ति मार्गमा आएका विकृतिहरु

सबैकालागि यति सहज, सरल, प्रभावकारी भएपनि आजभोलि भक्ति मार्गमा विचलन तथा विकृति आएको छ । सकाम भक्ति, राजसी भक्ति, तामसी भक्ति, परा भक्तिको होड, परमात्मा प्रति गुनासो, अहंकार, आडम्वर, साम्प्रदायिकीकरण, प्रतिस्पर्धा, देखावा, साना–ठूलो तथा उच–निचको भाव, हिंसा, हत्या जस्ता अपराधजन्य विकृतिहरुले भक्ति योगमा चुनौतिहरु थपिरहेका छन् । तर परमात्माको कारण यस्तो भएको होइन, परमात्मा न केही बनाउँछ न केही बिगार्छ, यसले हरेक मनुष्यलाई परम स्वतन्त्रता प्रदान गर्दछ, यी सबै अवान्छित गतिविधिहरु सबै मानिसका आ–आफ्ना तत्कालीन तथा प्रारब्ध कर्म तथा संस्कारको कारण भएका हुन् । भगवान श्रीकृष्ण भन्नुहुन्छ, “मनुष्यको जीवनमा कर्म र भोग अनिवार्य छ । कर्मको विधान यस्तो छ जसले जस्तो कर्म गर्छ त्यो अवश्य भोग्छ ।” परमात्माको कृपा त निररन्तर बर्षिरहेको छ तर दिनदिनै मनुष्यको पात्रतामा कमी आउदै गैरहेको छ । परमात्माको कृपा हामीले त्यतिनै प्राप्त गर्न सक्छौं, हामीसंग उक्त कृपा ग्रहण गर्ने पात्र जत्रो छ । भक्ति तव फलित हुन्छ जव कर्ता मेटिन्छ । कर्ता भाव, ज्ञाता भाव रहुुन्जेल मनुष्य भक्त बनेपनि उ भक्ति भावले भरिन सक्दैन । आजको समाजमा भक्त धेरै छन् तर शुद्ध भक्ति अत्यन्तै न्यून छ ।


हाम्रो मन विराट पात्र(भाँडो) हो, यसभित्र विचाररुपि अनगिन्ती इच्छा, कामना, वासनाहरु छन््, यीनै विचारहरुले हामीलाई मोक्षको मार्गमा जानबाट रोक्दछन् । आजको मनुष्य हरप्रकारले सम्पन्न छ तर सुखी, खुशी, सन्तुष्ट, स्वस्थ, शान्त, आनन्दित छैन किनकी यो भौतिक संसारबाट आर्जित गरिएका सबै समृद्धिहरु नाशवान र क्षणिक सुख, सुविधा तथा खुशी प्रदान गर्ने किसिमका छन्, यीनले दिगो सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्न सक्दैनन् । संसारबाट जतिसुकै मिलोस तर त्यस परम सत्यको कृपा छैन, उ प्रति आस्था, भक्ति, समर्पण छैन भने ती सबै चिजहरु मनुष्यको जीवनमा कहिल्यै दिगो सुख, खुशी, सन्तोष, शान्ति, आनन्द ल्याउदैनन्, त्यस्तो प्रकारको समृद्धिको कुनै औचित्य तथा अर्थ छैन । भौतिक संसारका सबै कमाइहरु शरीरको मृत्युसंगै छुट्छन् तर पराभौतिक तथा आत्मा अर्थात चेतनाले गरेको कमाइ मृत्यु पश्चात सुक्ष्म शरीर अर्थात आत्मा संगै संस्कार बनेर हामी आफैंसंग जान्छन् । आजको मनुष्य आफ्ना इच्छा, कामना, वासना पूर्तिकालागि इश्वरको भक्ति गर्छ यो अशुद्ध, राजसी, तामसी तथा सकाम भक्ति हो शुद्ध भक्ति होइन, यसप्रकारको भक्तिमा मनुष्यले परमात्मालाई आफ्ना कामना पूर्तिको सिंढी मात्र बनाउँछ तर सिंढी छोड्दै आफूभित्र गहिरिदै जानु तथा परमात्माको नजिक हुदै जानु शुद्ध भक्ति हो तथा भक्ति योग हो किनकी शुद्ध भक्तिको माध्यमबाट आफू तथा आत्मालाई परमात्मामा स्थि तगर्नु तथा योग गर्नु नै वास्तविक शुद्ध भक्ति योग हो । bsirjana@gmail.com


No comments:

Post a Comment