(One Earth, One Family, One Future)
डा. सिर्जना भण्डारी
विषय प्रवेश
वैदिक सनातन अध्यात्म दर्शनमा बहुप्रचलित पुर्वीय जीवन दर्शनको मूलसार ‘सबैमा म छु, ममा सबै छन्’ भन्ने भाव बोकेको सुत्रवाक्य ‘वसुधैव कुटुम्वकम’ अर्थात ‘पृथ्वी एक परिवार हो’ भन्ने शव्दावली बर्तमान समयमा विश्वव्यापि रुपमा अत्यन्तै लोकप्रिय बन्दै गैरहेकोछ । हाल विश्वमा सर्वाधिक प्रचलनमा रहेका विश्ववन्धुत्वको भावना, वैश्विकीकरण अर्थात भूमण्डलीकरण(ग्लोवलाइजेसन) तथा सम्पूर्ण विश्व एक गाउँ(ग्लोवल भिलेज) अभियानहरु वसुधैव कुटुम्वकमकै भावमा आधारीत रहेकाछन् । यी सबै अभियानहरुको मूलसार सारा विश्व सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, प्राविधिक रुपमा एकआपसमा निर्भर छन् र हामी सबै पृथ्वीवासी एकआपसमा जोडिएर तथा मिलिजुलीको व्यवहार गरेर मात्र पृथ्वी र पृथ्वीमा स्थित प्राणीहरुको संरक्षण तथा उद्धार गर्न सकिन्छ भन्ने रहेकोछ । वर्तमान समयमा विश्वमा देखिएका विविध प्रकारका चुनौतिहरुको सरलता तथा सहजतापूर्वक समाधान गर्न यी सबै अभियानहरुको सान्दर्भिकता अझ बढ्दै गैरहेकोछ र यसलाई व्यवहारमा उतार्ने प्रयासहरु निरन्तर चलिरहेकाछन् । यी प्रयासहरुमा पछिल्लो चरणको अर्को महत्वपूर्ण तथा प्रभावकारी कडी विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघले ‘विश्वव्यापि सदभावकालागि आन्तरीक शान्ति(इनर पिस फर ग्लोवल हारमोनी)’ मूलनाराका साथ घोषणा गरेको ‘विश्व ध्यान दिवस(डिसेम्बर २१)’ रहेको छ । ध्यान र योग पूर्वीय दर्शन तथा पूर्वीय जीवनशैलीको विरासत रहदै आएकोछ र आज संसारभरिका मनुष्यहरुलाई ध्यान र योगको अत्यन्तै आवश्यकता रहेकोछ । यस सन्दर्भमा वसुधैव कुटुम्वकमको मूलभावमा रहेर पूर्वले सहजै विश्वलाई ध्यान र योग प्रदान गरेर र पश्चिमले सहजै विश्वलाई धन र प्रविधि प्रदान गरेर हामी सबै पृथ्वीवासी एकआपसमा जोडिएर तथा मिलिजुलीको व्यवहार गरेर विश्वव्यापि सदभाव र आन्तरीक शान्तिकासाथ पूरै पृथ्वी एक परिवार भएर रहन सक्छौं ।
वसुधैव कुटुम्वकमको शाव्दिक अर्थ र पृष्ठभूमि
भाषा तथा साहित्यमा सम्पन्न र अग्रणी रहदै आएको संस्कृत भाषाको अत्यन्तै अर्थ तथा भावपूर्ण शव्दावली ‘वसुधैव कुटुम्वकम’ तीन शव्द वसुधा+इभा+कुटुम्वकमको संयोजनबाट बनेकोछ । वसुधा भन्नाले पुथ्वी र कुटुम्वकम भन्नाले परिवार भन्ने अर्थमा बुझिन्छ अर्थात पृथ्वी+परिवार= पूरै पृथ्वी एकै परिवार हो । यस अर्थमा पृथ्वीमा स्थित सम्पूर्ण प्राणीहरु एकै वैश्विक(विश्व) परिवार हुन् । सम्पूर्ण प्राणीहरु भन्नाले यस पृथ्वीमा आ–आफ्नो अस्तित्वमा रहेका मनुष्य, प्राणी, जीवजन्तु, पंक्षी, वनस्पति, पदार्थ आदि सबै भनेर बुझ्नु पर्दछ जसले पृथ्वीको पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण किसिमले प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका निर्वाह गरिरहेकाछन् । वसुधैव कुटुम्वकम कुनै सिद्धान्त तथा मान्यता नभएर यो वैदिक सनातन धर्मले प्रदान गरेको सुखी, समृद्ध र शान्त जीवन जीउने कलाको पवित्रतम भाव तथा सनातन धर्मको मूलसार हो ।
सनातन अध्यात्म दर्शनको सबैभन्दा अग्रज तथा पुरानो(आजभन्दा झण्डै १२ हजार वर्षअघि लिपिवद्ध गरिएको) मूलशास्त्र ऋग वेदमा वसुधैव कुटुम्वकमको भाव झल्किने गरि भनिएको छ– “सबैको संकल्प, मन तथा हृदय एक रहोस्; सबै मिलिजुली रहुन्; सबैकोलागि समान भावना रहोस्; सबै सुखी रहुन् र एकअर्कासंग स्नेह गरुन् ।”
वैदिक सनातन अध्यात्म दर्शनको सबैभन्दा कान्छो तथा चौथो मूलशास्त्र अथर्व वेदमा भनिएको छ– “पृथ्वीभरिका सबै मनुष्यहरु एकआपसमा उसैगरि स्नेह गरुन जसरी गाइले आफ्ना बाछाबाछीलाई गर्दछ ।”
वैदिक सनातन शास्त्र महा उपनिषद, परिच्छेद–६, श्लोक–७१ म भनिएको छ–
“अयं निजः परो वेति गणना लघुचेतसाम, उदारचरितानां तु वसुधैव कुटुम्वकम ।”
अर्थ– यो मेरो हो, त्यो तेरो हो भन्ने भाव शंकुचित चित्त भएका मनुष्यहरुको मन तथा हृदयमा हुन्छ । जसको मन तथा हृदय विशाल तथा उदार छ उसकालागि सारा पृथ्वी आफ्नै परिवार सरह हुन्छ ।
वैदिक सनातन शास्त्र वृहदारण्यक उपनिषदमा भनिएको छ–
“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरनमयाः
सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग्भवेत ।”
अर्थ– सबै सुखी रहुन्; सबै रोगमुक्त रहुन्; सबैको जीवन मंगलमय रहोस्; कोही दुःखको भागी बन्नु नपरोस् ।
प्राचीन पूर्वीय सनातन संस्कृतिमा शुरुदेखि नै सबैलाई आफू समान तथा आफ्ना समान दृष्टिकोणले हेर्नुपर्छ तथा व्यवहार गर्नुपर्छ भन्ने सर्वजनहिताय, सर्वजनसुखाय अर्थात सबैको हित हुने तथा सबैलाई सुख प्रदान गर्ने विश्ववन्धुत्वको भावना रहदै आएकोछ । पुर्वीय जीवनशैलीमा यस्तो महत्वपूर्ण ज्ञान नयाँ पुस्ताहरुलाई नावालक उमेर छंदैदेखि घरपरिवारबाट र गुरुकुलहरुबाट प्रदान गरिदै आइएको पाइन्छ । पूर्वीय सनातन संस्कृतिमा परिवारलाई बडो महत्व तथा प्राथमिकता प्रदान गरिदै आइएकोछ । परिवार भन्नाले आफ्नो परिवार मात्र नभएर समाज, राज्य, देश–विदेश, पुरै प्रकृति तथा पृथ्वी सबैलाई एकै परिवारको रुपमा हेर्नु तथा व्यवहार गर्नु पर्दछ भनिएकोछ । पूर्वीय जीवन दर्शनमा हजारौं वर्षअघिदेखि नै सबैमा शान्तिपूूर्ण सहअस्तित्व र वन्धुत्वको महत्वलाई बुझेर व्यवहारिक रुपमा त्यसको अनुशरण गर्दै आइएकोछ । वर्तमान परिप्रेक्षमा वसुधैव कुटुम्वकमको भावले विश्ववन्धुत्वको भावलाई अझ प्रगाढ गर्दै लगेको पाइन्छ ।
विश्व ध्यान दिवस वसुधैव कुटुम्वकम सुत्रवाक्यकै मूलअवधारणा तथा मूलभावमा आधारीत अत्यन्तै महत्वपूर्ण कदम हो जसले विश्वव्यापि सदभाव र विश्व तथा आन्तरीक शान्तिकालागि प्रभावकारी भूमिका निर्वाह गर्नेछ । वैदिक सनातन संस्कृतिमा हजारौं वर्षअघिदेखि नै विश्ववन्धुत्वको भावना ज्ञात भैसकेको थियो कि तवमात्र यो समुच्चा मानव समुदायले सन्तुलित उन्नति गर्न, समृद्ध बन्न र शान्तिपूर्ण रहन सक्छ जव संसारका सबै मनुष्यहरु एकआपसमा मिलिजुली रहन्छन् । आ–आफ्नो स्वार्थ हेर्यौं भने हामी कोहीपनि मनुष्य सुखी, खुशी, समृद्ध र शान्त रहन सक्दैनौं । वसुधैव कुटुम्वकमको अवधारणको मूलभाव तथा प्रमुख सन्देश प्रत्यक व्यक्ति वैश्विक समुदायको सदस्य हो भन्ने रहेको छ । तसर्थ हामी सबैले एकअर्काको सम्मान गर्नु पर्दछ, सबैको गरिमाप्रति ध्यान पुर्याउनु पर्दछ, सबैप्रति दया तथा करुणाभाव राख्नु पर्दछ । यो भावले सबै मनुष्यमा अनेकतामा एकता तथा सबै देश र संस्कृतिहरुविच सहयोग, सदभाव तथा शान्ति स्थापना गर्ने भावना जागृत गर्न जोडदिन्छ र सबै जातजाति, धर्म, सम्प्रदाय एकआपसमा मिलेर बस्नुपर्छ भन्ने भाव सबैमाझ जगजाहेर गर्छ ।
वर्तमानमा विश्वले वसुधैव कुटुम्वकमकै मूलभावलाई अनुशरण गरेर भूमण्डलीकरण मार्फत सबैकालागि उच्चस्तरको विश्व समाज निर्माण गर्ने प्रयास गरिरहेको छ जसमा विश्व समाजलाई अधिक समावेसी, अधिक सामान्जस्यपूर्ण, अधिक शान्तिपूर्ण बनाउने प्रयास गरिदै आइएको छ । हाल विश्वका विभिन्न देशहरुले अपनाएका राज्य पद्धति, समाज पद्धति, संस्कृति, राजनीति, नीति, नियम, कानून, व्यवसाय, व्यापार आदि सबै वसुधैव कुटुम्वकमकै मूल्यमान्यतामा आधारित रहेर तयार गरिएका छन् । नेपाल चार जात छत्तिस वर्णको फूलवारी हो भन्ने श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश पनि यही अवधारणाको मूल्यमान्यतामा आधारीत रहेकोछ । वर्तमान समयमा विश्वव्यापि रुपमा चल्दै आइरहेको तुलनात्मक व्यापार तथा वहुराष्ट्रिय व्यवसायहरु पनि यही अवधारणाको मूल्यमान्यतामा अधारीत रहेकाछन् । हाल विश्वका राष्ट्रहरुविच हुदै आएका व्यापार तथा व्यवसायहरु विश्व अर्थनीति अन्तर्गत रहेर तुलनात्मक लाभलाई हेरेर गर्दै आइएकाछन् । जुन राष्ट्रसंग जे वस्तु तथा सेवा सहजै र सस्तोमा उपलव्ध हुन्छ तथा त्यस वस्तु तथा सेवाको उत्पादन तथा आपूर्तिको सम्भावना बढि छ तथा प्रचुरता छ त्यहाँबाट ती वस्तु तथा सेवाहरुको सम्भावना नभएका तथा कम सम्भावना भएका राष्ट्रहरुमा पुर्याएर जतिसक्दो बढि मनुष्यहरुको जीवन सहज, सरल, सुदृढ, समृद्ध तथा शान्त गराउन सकियोस भन्ने भाव शुरुआतदृखि नै तुलनातमक व्यापार तथा व्यवसायमा व्यापक रुपमा रहदै आएकोछ ।
सनातन संस्कृतिमा आधारीत जीवनशैली अनुशरण गर्दैआएका पूर्वीय राष्ट्रहरुमा मनुष्यको जीवन सुखी, खुशी, समृद्ध र शान्त बनाउन आवश्यक पर्ने तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ध्यान र योग संस्कृतिको बढि सम्भावना तथा प्रचुरता रहदै आएकोछ । विश्वव्यापि रुपमा आजका मनुष्य तथा समाजमा देखिएका ठूला चुनौतिहरु– रोग, शोक, भोक, गरिवी, असमानता, हिंसा, युद्ध, अशान्ति जस्ता भयावह अवस्थाहरुको समाधान केवल ध्यान र योगले मात्र गर्नसक्छ । यस्ता चुनौतिहरु तुलनात्मक रुपमा पूर्वीय समाज तथा राष्ट्रहरुमा भन्दा पश्चिमी समाज तथा राष्ट्रहरुमा बढि देखिएकाछन् । यस परिप्रेक्षमा ध्यान र योगको आवश्यकता पश्चिमी राष्ट्रहरुलाई अझ बढि रहेको स्पष्ट देखिन्छ र पूर्वीय राष्ट्रहरुमा ध्यान र योगका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरु प्रदान गर्न सक्ने क्षमता रहेकोछ । समग्रमा भन्नुपर्दा पूर्वीय राष्ट्रहरु अर्थात हामीसंग ध्यान छ र पश्चिमी राष्ट्रहरुसंग ध्यान किन्न सक्ने धन छ र ध्यानलाई समयसान्दर्भिक किसिमले विश्वव्यापि सदभावकालागि आन्तरीक शान्ति अझ प्रभावकारी तथा सर्वव्यापक बनाउन सक्ने प्रविधि र क्षमता दुवै छ । संयुक्त राष्ट्रसंघले भर्खरै घोषणा गरेको विश्व ध्यान दिवसले पनि सबै मुष्यहरुको उच्चतम हित हुनेगरि विश्वमा जहाँ जुन वस्तु तथा सेवा सहजै उपलव्ध छैन त्यो वस्तु तथा सेवा त्यहाँ पुर्याउ र आफूकहाँ जे वस्तु तथा सेवा सहजै उपलव्ध छैन त्यो ल्याउ, तुलनात्मक लेनदेन तथा व्यापार, व्यवसाय गर र विश्व समाजलाई हरप्रकारले सदभावपूर्ण, समृद्ध र शान्तपूर्ण बनाउ र यसकालागि ध्यान र धन तथा प्रिविधिको तुलनात्मक व्यापार तथा व्यवसाय गर तथा गर्न प्रोत्साहन गर भनेर हामी सबैलाई यो अमूल्य अवसर प्रदान गरेकोछ ।
आजको विडम्वना र तितो वास्तविकता
हाल विश्वभरिनै वसुधैव कुटुम्वकम सुत्रवाक्यको अवधारणा तथा मूलभावलाई व्यवहारमा इमान्दारीपूर्वक नउतारीएको तथा अनुशरण नगरिएको कारण विश्वका विभिन्न देशहरुकाविच विविध विषयहरुमा मनमुटाव, मतभेद तथा विवाद भएर बिखण्डान र युद्धको अवस्था बनिरहेकोछ र विश्वका केही क्षेत्रहरुमा विध्वन्सात्मक युद्धहरु भैरहेकाछन् । पृथ्वीकै सम्हार गर्नसक्ने परमाणु हतिरयारको संकलन गर्ने होडबाजी पनि चलिरहेको छ, विश्वशक्ति राष्ट्र बन्ने प्रतिस्पर्धाको भावनाले बढावा पाइरहेको छ र यसकैकारण विश्वमा दिनप्रतिदिन रोग, शोक, भोक, असमानता, गरिवी, अशान्ति जस्ता चुनौतिहरु बढिरहेकाछन् । यस्तो परिस्थितिमा सबै मनुष्यहरुको जीवन सरल र सहज गर्न तथा सम्पूर्ण पुथ्वीवासीहरु एकै परिवार हौं भन्ने सदभावले भरिएको जीवन जीउन सिकाउने, विश्ववन्धुत्वको भाव जगाउने सुत्रवाक्य वसुधैव कुटुम्वकमको सान्दर्भिकता अझ बढि प्रासंगीक हुनआउँछ । समग्रमा भन्नुपर्दा, विश्वमा व्याप्त रहेका यसप्रकारका चुनौतिहरुको समाधानको एकमात्र उपाय ध्यान र योग नै हो । पूर्वीय जीवनशैलीमा हजारौं वर्षदेखि अनुशरण गर्दै आइएको ध्यान र योग वैज्ञानिक पद्धतिमा आधारीत शतप्रतिशत वैज्ञानिक साधना विधि हो । विश्वका सबै व्यक्तिहरुमा ध्यान र योगका वैज्ञानिक साधना पद्धतिहरु पुर्याएर र विश्वलाई ध्यानमय तथा योगमय बनाएर मात्र मनुष्यका सारा पिडा, रोग, भोक, शोक, गरिवी, असमानता, अशान्ति कम तथा निर्मुल गर्न सकिन्छ र पृथ्वीलाई एक परिवार बनाउन सकिन्छ । bsirjana@gmail.com
No comments:
Post a Comment