'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 20 December 2024

'ध्यान योग' नै सबै योगको मुल हो !

                     डा. सिर्जना भण्डारी

                                                                                 

 #अध्यात्म दर्शन # जीवन दर्शन

“परमात्माको अर्थ हो समस्त समष्टिलाई जोड्नु ।” – ओशो रजनीश 


विषय प्रवेश
संस्कृत भाषाको तत्सम् शव्द ‘योग’को शाव्दिक अर्थ जोड्नु हो । मुख्यतया मानिसका चार प्रकारका शरीरहरु रहेकाछन्– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, र (४)आत्मिक अर्थात चेतनात्मक शरीर । सनातन अध्यात्म विज्ञानको परिभाषा अनुसार शरीरलाई मनसंग, मनलाई भावसंग, भावलाई चेतना अर्थात आत्मासंग र आत्मालाई परमात्मासंग जोड्नु योग हो । सैद्धान्तिक तथा व्यवहारीक रुपमा मोटामोटी सात प्रकारका योगहरु चलनचल्तीमा रहेका छन्– (१)कर्म योग(मूलाधार चक्रसंग सम्वन्धित), (२)तन्त्र योग(स्वादिष्ठान चक्र), (३)हठ योग(मणिपूर चक्र), (४)भक्ति योग(अनाहद चक्र), (५)ज्ञान योग(विशुद्धि चक्र), (६)ध्यान योग(आज्ञा चक्र), र (७)सांख्य योग तथा राज योग(सहश्रार चक्र) । सात प्रकारका योग मध्य वेदबाट निसृत सबै शास्त्रहरुको मूलसार श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले कर्म योग, भक्ति योग र ज्ञान योगलाई विशेष प्राथमिकता प्रदान गर्नु भएको छ । तर समग्रतामा सनातन अध्यात्म साधना प्रभावकारी तथा उपलव्धिमूलक गराउनकालागि ध्यान योगलाई अझ प्रमुखताकासाथ सर्वाधिक महत्व प्रदान गरिएको छ । ध्यान योगको प्रमुख उद्देश्य मानिसका ज्ञान तथा कर्म इन्द्रियहरुका माध्यमबाट भौतिक तथा वाहिरी संसारमा छरिएको चेतनालाई एकत्रित गरि आफूतिरै फर्काउनु हो र मोक्ष तथा निर्वाण प्राप्तिसम्म पुर्याउनु हो ।


अध्यात्म र योगको पृष्ठभूमि

अधि+आत्मा = ‘अध्यात्म’ । अध्यात्म दुई शव्दको सम्योजनबाट बनेको सम्युक्त शव्द हो । ‘अधि’को शाव्दिक अर्थ श्रेष्ठ तथा परम हो र परम+आत्मा = परमात्मा । शाव्दिक अर्थ अनुसार अध्यात्म भन्नु सवयं परमात्मा नै हो । योगको शाव्दिक अर्थ जोड तथा जोड्नु हो, आत्मालाई परमात्मासंग जोड्नु तथा योग गर्नु हो। वैदिक सनातन अध्यात्म दर्शन अनुसार जव अव्यक्त, निराकार, निर्गुण परमात्मालाई आफू व्यक्त, आकार र गुणमा प्रस्तुत हुने इच्छा(सकारात्मक अहंकार) भयो तव वहाँले सृष्टि अर्थात यस ब्रम्हाण्डको रचना गर्नुभयो । ब्रम्हाण्डको सृष्टि गर्ने क्रममा परमात्माको हिरण्यगर्भ(गर्भ) ठूलो ध्वानीकासाथ प्रष्फुटित भयो र एकैसाथ यस ब्रम्हाण्डका हरेक विषय तथा वस्तुहरु(तारा, ग्रह, जमीन, वनस्पति, प्राणी, पदार्थहरु)को उत्पत्ति भयो जसलाई आधूनिक भौतिक विज्ञानको नवीनतम शाखा प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)ले महाविश्फोट अर्थात विगव्यागंको रुपमा व्याख्या गर्दै आइरहेको छ जुन आजभन्दा १३.९ अरव वर्ष अगाडि भएको बताउदै आइएको छ । ब्रम्हाण्डको उत्पत्ति हुनेक्रममा प्रष्फुटीत भएको ध्वानी तथा आवाजको प्रकृति ठूलो तरंगकासाथ आ...... उ...... म..... थियो र यो ध्वनी ब्रम्हाण्डमा अझै पनि निरन्तर रुपमा गुञ्जीरहेको विभिन्न एस्ट्रोनोमिक अध्ययनका तथ्यांकहरुले बताउदै आएकाछन् । ‘आ+उ+म’ को सम्युक्त स्वरुप नै ॐ तथा ॐकार हो । यसर्थ ॐकारलाई अक्षर ब्रम्ह, शव्द ब्रम्ह, नाद(ध्वनी) ब्रम्हको रुपमा मानिन्छ तथा पुजिन्छ जो स्वयं परब्रम्ह अर्थात परमात्मा हुनुहुन्छ त्यसैले सनातन धर्ममा ॐकारको महत्व तथा मान्यता उच्चकोटीमा रहदै आएको छ । यसैकारण सनातन संस्कृतिमा सबै आध्यात्मिक तथा धार्मिक कार्यहरु ॐकार प्रणव ध्वनीको उच्चाहरण गरेर नै शुरू गरिन्छन् । वर्तमान समयमा विश्वमा मानिदै आइएका ॐकार तथा अब्राहमिक परिवारका सबै सम्प्रदायहरु(रिलिजन, धर्म होइन)मा कुनैनकुनै प्रकारले ॐकारको उच्चाहरण गर्ने गरिन्छ । 


ब्रम्हाण्डको सृष्टिको क्रममै परमात्माको श्वासबाट वेद(ज्ञान तथा विज्ञान)को उत्पत्ति भएको हो भनिन्छ जसमा परमात्माका गाथा(ब्रम्ज्ञान, तत्वज्ञान, शाश्वतज्ञान) र सबै मानिस, प्राणी, वनस्पति तथा पदार्थहरुकालागि जीवन जीउने तथा यीनको सही उपयोग गर्ने तरिका तथा कलाका विषयहरु समेटीएका छन् जसलाई वैदिक सनातन धर्मले समग्रमा अध्यात्म विज्ञान भन्दछ । अध्यात्म विज्ञान वर्तमानका सबै विज्ञान तला शास्त्रहरुको जननी तथा मूलस्वरुप महाविज्ञान हो । परमात्माको श्वासबाट उत्पत्ति भएको वेद शुरुमा एउटै थियो । पछिल्ला दिनहरुमा मनुष्यका नयाँ-नयाँ पुस्ताहरुले वेदको ज्ञान सहजै बुझ्न सकुन, सहजै व्यवहारमा उतार्न सकुन र मनुष्यको जीवनयापन सहज बनोस भन्ने उद्देश्यले वेदलाई क्रमशः विषयगत प्राथमिकताका आधारमा क्रमवद्ध गर्दै चार भागमा विभाजन गरेर महर्षि वेदव्यासले लिपिवद्ध गर्नुभयो– (१)ऋग वेद, (२)यजुर वेद, (३)साम वेद, र (४)अथर्व वेद । ऋगवेदमा ब्रम्हज्ञान र आयुरवेद अर्थात चिकित्सा शास्त्रका विषयहरु समेटिएका छन्; यजुरवेदमा कर्मकाण्ड, संस्कार तथा संस्कृतिका विषयहरु समेटिएका छन्; सामवेदमा वाद्ययवादन, संगीत, राग, आलाप, गायन, भजन, किर्तन तथा नृत्यका विषयहरु समेटिएका छन्, र अथर्ववेदमा ज्योतिष, सांख्य तथा गणित, वास्तु, इन्जिनियरीगं, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, कुटनीतिशास्त्र तथा कलाशास्त्र आदि विषयहरु समेटिएका छन् । सबै मनुष्यहरुमाझ वेदका विषयहरुलाई अझ सहज ढंगले बुझाउने उद्देश्यले चारैवटै वेदका उपवेदहरु पनि तयार गरिएका छन् । यी ज्ञानहरुको माध्यमबाट हरेक मनुष्यलाई सरल र सहज ढंगले जीवनयापन गर्दै, योगको साधना गर्दै, ब्रम्हज्ञान हासिल गरेर जुन परब्रम्ह अर्थात परमात्माको गर्भबाट छुट्टिएका थियौं ब्रम्हाण्डको सृष्टिकालमा र यसपश्चात चौरासी लाख योनीमा घुमिरहने जन्म, मृत्यु, जरा, व्याधिको चक्र तथा दुःख काटीरहेका छौं यसबाट मुक्त भएर पुनः उही मूलमा अर्थात परमात्मामा फर्कने, पुनः परमात्मामा योग हुने तथा मोक्ष प्राप्ति गर्ने ज्ञान प्रदान गरिएको छ । तसर्थ सनातन अध्यात्म विज्ञानलाई मनुष्यलाई सरल तथा सहज जीवन जीउन सिकाउने कलाको विज्ञान(द आर्ट अफ लिभिगं)को रुपमा पनि परिभाषित गर्ने गरिन्छ ।  


योग र योगको उद्देश्य

सनातन अध्यात्म दर्शनका अनुसार योग एक अत्यन्तै वृहत विषय तथा दर्शन शास्त्र हो । सबैलाई सरल तथा सहज ढंगले बुझाउने तथा बुझ्ने आशयले योगलाई (१)सैद्धान्तिक ज्ञान र (२)व्यवहारिक अभ्यास गरि दुईप्रकारमा विभाजन गरिएको छ । योगको सैद्धान्तिक ज्ञानले अध्यात्म दर्शन(ब्रम्हज्ञान) तथा जीवन दर्शन(जीवन विज्ञान)का विषयहरुलाई समेट्दछ भने योगको व्यवहारिक अभ्यासले मनुष्यको शरीर, शरीरका आन्तरीक तथा वाहिय अंगहरु र मन, भाव तथा चित्तले योगासन, प्राणायाम तथा ध्यानका विभिन्न विधिका गतिविधिहरु प्रत्यक्ष तथा प्रयोगात्मक रुपमा गर्ने तथा गराइने क्रियाकलापका विषयहरुलाई समेट्दछ । योगको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासको ज्ञानको पूर्णतापछि मात्र मनुष्यले आफ्नो जीवनमा सही प्रकारले आध्यात्मिक उन्नती गर्न र मोक्ष तथा निर्वाण प्राप्तिको मार्गमा अग्रसर हुन सक्दछ ।


समयको विभिन्न कालखण्डमा सनातन अध्यात्ममा मनुष्यको जीवनयापन तथा जीवन जीउने व्यवस्था अझ सहज गर्दै उसलाई पुनः परमात्मामै फर्काउने तथा परमात्माबाट अलग भएको मनुष्यको आत्मालाई पुनः परमात्मामै योग गराउने तथा मोक्षमा पुर्याउने उदेश्यले योगका अनेक–अनेक विद्या, ज्ञान, शास्त्र, ग्रन्थ, पुस्तक, दर्शन तथा सिद्धान्तहरु लेखिए । योगका प्रकारहरु विभिन्न भएपनि मुख्य रुपमा सात प्रकारका योगलाई उच्च मान्यता प्रदान गरिदै आइएको छ र सात मध्य पनि व्यवहारिकता र प्रभावकारीताका आधारमा मुख्य तीन प्रकारका योग– (१)कर्म योग, (२)भक्ति योग, र (३)ज्ञान योग लाई बढि प्राथमिकतामा राखिएको छ र समग्रमा यी सबै योगहरुको मूल तथा अन्तिम गन्तव्य ध्यान योगलाई नै मानिएको छ । सबै योगका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासका विधिहरुले अन्तत्वगत्वा मनुष्यलाई ध्यान योगमा नै जोड्दछन् तथा पुर्याउँछन् किनकी मोक्ष तथा निर्वाण(लिवरेसन)को मार्गमा ध्यान योग नै एकमात्र विकल्प रहदै आएको छ । बिना ध्यान मनुष्य आफूतिर फर्कन सक्दैन र आफूतिर नफर्किकन उसलाई आत्मज्ञान प्राप्त हुदैन, आत्मज्ञानको प्राप्तिपछि मात्र मोक्ष तथा निर्वाणको मार्गमा अगाडि बढ्न तथा मोक्ष तथा निर्वाण प्राप्त गर्न सक्दछ ।


ध्यान योग

ध्यान योग मनुष्यको सुक्ष्म शरीरमा स्थित आज्ञा चक्र अर्थात दिव्य चक्षुसंग सम्वन्धित योग हो । मनुष्यले जव वाहिरी संसार देखिने चर्म चक्षुहरुलाई बन्द गरेर, सम्पूर्ण ज्ञान तथा कर्म इन्द्रियहरुलाई र मनलाई निग्रह(नियन्त्रण) गरी ध्यानमा स्थिर भएर एकाग्र हुन्छ तव उसको दिव्य चक्षु तथा तेस्रो आँखाको सक्रियता बढ्न थाल्छ र दिव्य चक्षुको दृष्टि खुल्न थाल्छ । अहिलेका मनुष्यहरुकालागि आजको व्यस्त तथा भारी प्रतिस्पर्धायुक्त भागदौडपूर्ण जीवनमा वाहिरी संसार देखिने चर्म चक्षुहरुलाई बन्द गरेर सम्पूर्ण ज्ञान तथा कर्म इन्द्रियहरु र मनलाई स्थिर गरेर ध्यानमा आसिन हुन तथा एकाग्र हुन त्यति सहज भने छैन तर यो असम्भव कुरा पनि हैन । लगनशीलता र निरन्तरको प्रयासबाट ध्यानमा सहजै प्रवेश गर्न, म शरीर हुँ, म मन तथा विचार हुँ, म भाव हुँ भन्ने बुझाइ विस्तारै दुर हुदै जान्छ र ध्यानका चमत्कारिक अनुभव तथा अनुभूतिहरु हासिल गर्दै मोक्ष्को प्राप्ति गर्न हरेक मानिसकालागि सम्भव हुनसक्छ । 


मनुष्यले सैद्धान्तिक रुपमा वेद तथा वेदबाट निसृत शास्त्रहरुको अध्ययन र तीनको सैद्धान्तिक ज्ञान हासिल गरेर र व्यवहारिक अभ्यास गरेर पुनः परमात्मामा योग हुन तथा मोक्ष हासिल गर्न सक्दछ । यसकालागि योग दर्शनले सुझाएका ध्यान योगका ज्ञान तथा विधिहरुको निष्ठापूर्वक व्यवहारमा अनुशरण गर्नु आवश्यक हुन्छ । राज योग तथा ध्यान योगलाई अत्यन्तै सुन्दर र प्रभावकारी ढंगले व्याख्या गरिएको योग दर्शनको महान ग्रन्थ पतंजलि योगशास्त्र वर्तमान समयमा विश्वव्यापि रुपमा लोकप्रिय हुदै गैरहेकोछ र व्यापक रुपमा व्यवहारिक प्रयोगमा समेत ल्याइदै आइएको छ । पतंजलि योगशास्त्रले योग साधनालाई वहिरंग र अन्तरंग गरि दुई भाग, आठ अंगमा विभाजन गरेको छ, जसलाई योगका आठ अंग अर्थात अष्टांग योगका रुपमा बुझ्ने गरिन्छ र यस बुझाइसंगै अनुशरण गरिदै पनि आइएको छ– वहिरंग अंगः– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, र अन्तरंग अंगः– (६)धारणा, (७)ध्यान, (८)समाधि ।


पतंजलि योगका यी आठवटै अंगहरुले मानिसलाई म शरीर हुँ, म मन तथा विचार हुँ, म भाव तथा भावना हुँ भन्ने भ्रमवाट माथि उठाएर म शुद्ध, वुद्ध, प्रवुद्ध, शाश्वत आत्मा हुँ, वोध हुँ, चेतना हुँ भन्ने परमसत्यको ज्ञान गराई आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानमा स्थित गराएर मोक्ष तथा निर्वाण प्राप्तिसम्म पुर्याउन मद्धत गर्दछन् । अष्टांग योगको पहिलो अंग यमले मनुष्यले संसारप्रति गर्नुपर्ने सम्यक व्यवहारहरुबारे सिकाउँदछ; नियमले आफूले आफैंप्रति गर्नु पर्ने सम्यक व्यवहारहरुबारे सिकाउँदछ; आसनले योगका आसनहरु गरेर शरीर स्वस्थ राख्ने प्रक्रिया तथा अभ्यासहरुबारे सिकाउँदछ; प्राणायामले श्वाश–प्रश्वासद्वारा सही ढंगले प्राणको आयाम गरेर मन स्वस्थ राख्ने प्रक्रियाबारे सिकाउँदछ; प्रत्यहारले ज्ञान इन्द्रिय तथा कर्म इन्द्रियहरुलाई निग्रह गरेर आफ्नो आचार तथा व्यवहार स्वस्थ राख्ने प्रक्रियाबारे सिकाउँदछ; धारणाले आफूले इच्छ्याइएको वस्तु तथा विषयमाथि एकाग्र तथा अभ्यस्त हुनसक्ने प्रक्रियाबारे सिकाउँदछ; एकाग्रता हासिल भएपछि साधकमा विस्तारै ध्यानको अवस्था घटित हुनथाल्छ; र ध्यानको गहिराइमा साधकमा समाधिको दिव्य अवस्था फलित हुन्छ । समाधिको अवस्थामा साधकमा पराभौतिक संसारमा भएका शाश्वत सत्य तथा यससंग सम्वन्धित विभिन्न विषय तथा घटनाहरुका चमत्कारहरु अनुभूति हुनथाल्छ ।


दैनिक जीवनमा ध्यानको महत्व तथा प्रभावकारीता 

स्वस्थ जीवन जीउनकालागि हरेक मानिसले दैनिक रुपमा नियमित ध्यान योग साधना गर्नु आवश्यक हुन्छ । सनातन अध्यात्म दर्शनको स्वास्थ्यको परिभाषालाई नै आत्मसाथ गर्दै विश्व स्वाथ्य संगठन(डब्लु.एच.ओ.)ले शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपले स्वस्थ मानिसनै पूर्णस्वस्थ हो भनेर परिभाषा गरेको छ । मानिस पूर्णरुपमा स्वस्थ रहनकालागि योग साधना गर्नु अति आवश्यक हुन्छ । योगासनको नियमित अभ्यासले मानिसलाई शारीरिक रुपमा स्वस्थ तथा तन्दुरुस्त राख्दछ; प्राणायामको नियमित अभ्यासले मानिसलाई मानसिक रुपमा स्वस्थ तथा तन्दुरुस्त राख्दछ; र ध्यानको नियमित अभ्यासले मानिसलाई भावनात्मा र आत्मिक अर्थात चेतनात्मक रुपमा स्वस्थ तथा तन्दुरुस्त राख्दछ । ध्यान साधना सहज, नियमित तथा प्रभावकारी हुन तथा गराउनकालागि ध्यान गर्नुअघि योगासन र प्राणायामका अभ्यासहरु गरेर शरीर र मनलाई सक्रिय, उर्जावान, शुद्ध तथा स्वस्थ बनाएर ध्यानकालागि तयार गर्नु अपरिहार्य हुन्छ । शरीर र मन सक्रिय, उर्जावान, शुद्ध तथा स्वथ्य बर्नार गरिएको ध्यान साधनाको प्रभावकारीता अत्यन्तै उपलव्धिमूलक रहेको विश्वव्यापि रुपमा यस सन्दर्भमा गरिएका विभिन्न खोजमूलम अध्ययन तथा अनुसन्धाहरुले निरन्तर उजागर गरिरहेकाछन् । मानिसको जीवनमा चमत्कारिक तथा युगान्तकारी परिवर्तन ल्याउन ध्यानलाई अत्यन्तै उपयोगी, प्रभावकारी तथा महत्वपूर्ण औजारका रुपमा लिदै आइएको छ । यस सन्दर्भमा योग साधनाको माध्यमबाट शुद्ध, वुद्ध, प्रवुद्ध, शाश्वत सत्य वोध गरिसक्नु भएका आत्मज्ञानी, तत्वज्ञानी, ब्रम्हज्ञानी महापुरुषहरु(वोधिसत्वमा उपलव्ध महान आत्मा अर्थात चेतनाहरु)ले ध्यानलाई अत्यन्तै ठूलो औजार, उपकरण तथा हतियारका रुपमा बताउदै आउनु भएका छन् । वहाँहरुका अनुसार ध्यान त्यस्तो मदानी हो जसले मानिसको मनमा हरक्षण मडारीरहने विचारहरुलाई मथेर उसकालागि आवश्यक तथा उपयोगी विचारहरुलाई छानेर नौनीझैं माथितिर ल्याइदिन्छ र अनावश्यक विचारहरुलाई दहीको छोक्राझैं तलतल थिगारीदिन्छ; ध्यान त्यस्तो मल हो जसले मानिसका मनका विरुवारुपि विचारहरुमा जुन विरुवामा हाल्यो त्यही विरुवालाई हलक्क सपारीदिन्छ तथा हुर्काइदिन्छ; ध्यान त्यस्तो कुचो हो जसले मानिसको मनमा रहेका आवश्यक, काम लाग्ने तथा सकारात्मक विचारहरुलाई राखेर अनावश्यक तथा काम नलाग्ने विचारहरुलाई बढारेर सफा गरिदिन्छ; ध्यान त्यस्तो महाप्रकाश हो जसले अन्धकारमा रुमल्लिरहेका आवश्यक र सकारात्मक तथा सिर्जनशील विचारहरुलाई उज्यालो देखाएर अगाडि बढ्न मद्धत गर्दछ; ध्यान त्यस्तो तिखो तथा लाग्ने धार हो जसले मानिसका जीवनका दुःखहरुलाई जरैदेखि काटेर उसको जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द भरिदिन्छ... आदि । 

 

सही ढंंगले गरिएको ध्यान साधनाले मानिसको जीवनमा आमूल परिवर्तन ल्याउन सक्दछ । सही प्रकारले गरिएको ध्यान साधनाको माध्यमबाट आफ्नो आत्मिक अर्थात सुक्ष्म शरीरमा रहेका उर्जाका महत्वपूर्ण केन्द्र सात चक्रहरुको जागरण गरि मानिसले आफ्नो जीवनकालमा उचित वातावरण तथा अवसरको अभावमा उभित्र जन्मौं–जन्मदेखि दबेर संचित भएर रहेका क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्म, सिर्जनात्मक तथा रचनात्मक विचारहरु, आफूभित्रै रहेका स्वस्थ हुनसक्ने, समृद्ध हुनसक्ने, सुखी तथा खुशी हुनसक्ने क्षमता, आत्मबल तथा आत्मविश्वासको क्षमता, समृद्ध तथा ऐश्वर्यवान बन्नसक्ने क्षमता, प्रेमल, क्षमाशील, दयालु, करुणादायी, श्रद्धावान हुनसक्ने क्षमता, स्वीकार भावले भरिनसक्ने क्षमता, वुद्धि, ज्ञान, विवेक, प्रज्ञाशील बन्नसक्ने क्षमता, आत्मज्ञानी, तत्वज्ञानी, ब्रम्हज्ञानी बनेर मोक्ष तथा निर्वाणसम्म हासिल गर्नसक्ने क्षमता अभिवृद्धि गराउन सक्दछ र जीवनमा हरप्रकारले सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित बन्न सक्दछ । यसरी ध्यान साधनाको माध्यमबाट जीवनमा सफलताको शिखर चुम्न सफल धेरै मानिसहरु देखिएकाछन्... bsirjana@gmail.com


+++++++++++++++++++++++++++++++++

* 'ध्यान' तिमीलाई अनन्त साधुवाद !

निष्पट्ट अज्ञानी थिएं
ज्ञानको मूलज्योति ध्यान
तिमी आयौ जीवनमा
ज्ञानको अमृत पिलायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

शरीरमा हराएको थिएं
कर्मको मूलपाठ ध्यान
तिमी आयौ कर्ममा
कर्मको विज्ञान बुझायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

मनमा अलमलिएको थिएं
आत्मज्ञानको मूलाभ्यास ध्यान
तिमी आयौ विचारमा
वास्तविक ‘म’ चिनायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

भावनामा बिलाएको थिएं
परमसत्यको मूलश्रोत ध्यान
तिमी आयौ भावमा
भक्तिको रसमा डुबायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

मायानगरीमा अड्कीएको थिएं
दयालु तारणहार ध्यान
तिमी आयौ जीवनमा
परालौकीक संसार चिनायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

सम्वन्धहरुमा विरक्तिएको थिएं
प्रेमल परममित्र ध्यान
तिमी आयौ जीवनमा
आफैंलाई खोज्न सिकायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

भिडमा दिशाबिहिन थिएं
सही दिशानिर्देशक ध्यान
तिमी आयौ जीवनमा
जीवनको लक्ष्य सिकायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

प्रतिस्पर्धामा रुमल्लिएको थिएं
स्पष्टताको प्रतिक ध्यान
तिमी आयो जीवनमा
आफूमै सबैलाई देखायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

अहंकारले भरिएको थिएं
सरलताको प्रतिक ध्यान
तिमी आयौ जीवनमा
सबैमा आफूलाई देखायौ
जन्म धन्य बनायौ
तिमीलाई अनन्त साधुवाद !

सबै तिमीलाई चाहन्छन्
सबैको जीवनमा आऊ
सबैलाई स्वशासन सिकाउ
जीवन धन्य बनाउ
आफ्नो किर्ति फैलाउ
विश्वमा शान्ति ल्याउ
सबैलाई परमसत्य चिनाउ !

आफ्नो किर्ति फैलाउ
विश्वमा शान्ति ल्याउ
सबैलाई परमसत्य चिनाउ !!


                                                    





No comments:

Post a Comment