'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 16 December 2024

मोक्ष प्राप्तिकालागि कर्म मार्ग तथा कर्म योग

                                         डा. सिर्जना भण्डारी


 #अध्यात्म_दर्शन  #जीवन_दर्शन




“परोपकार पुण्याय पापाय परपिडनम ।” अर्थात अरुकालागि परोपकारी कर्महरु गर्नु पुण्य तथा धर्म हो र अरुलाई पिर्नु तथा पिडा दिनु पाप तथा अधर्म हो । –महर्षि वेदव्यास

विषय प्रवेश
मनुष्यले शरीरका क्रिया र मनका सोच तथा विचारहरुद्वारा आफूले गर्ने तथा गराउने हरेक प्रकारका काम, क्रिया तथा गतिविधिहरु कर्म हुन् । यस अर्थमा परमात्माको भक्ति गर्नु तथा ज्ञान आर्जन गर्नु पनि कर्म नै हुन् । यसर्थ मोक्ष प्राप्तिका तीनवटै मार्गहरु– कर्म मार्ग, भक्ति मार्ग, ज्ञान मार्ग एकअर्कासंग अन्तर सम्विन्धित छन् र एकअर्काका परिपूरक हुन् । सनातन अध्यात्म दर्शनका ज्ञानी पुरुष(सिद्ध आत्मा)हरुका अनुसार यी तीन मार्गलाई एकअर्कोबाट अलग गरेर तथा फरक रुपमा हेरेर मोक्ष प्राप्तिको मार्गमा अगाडि बढ्न सकिदैन ।


मनुष्यले शारीरिक तथा मानसिक रुपले निश्पाप कर्म अर्थात सतकर्महरु गरेर आफ्ना जन्म–जन्मान्तरका संचित कर्म, वर्तमानमा फल प्रदान गरिरहेका प्रारब्ध कर्म र वर्तमानमा निरन्तर बनिरहेका सम्पूर्ण कर्महरु र तीनका फल तथा परिणामहरुलाई शुन्य बनाएर, कर्मको बन्धनबाट पूर्णतः मुक्त भएर आफ्नो आत्मालाई परमात्मामा स्थित गर्नु मोक्ष तथा निर्वाण(लिबरेसन) प्राप्त गर्नुु कर्म योग हो । तर मनुष्यले गर्ने सबै प्रकारका कर्महरु कर्म योग हुदैनन् तथा बन्न सक्दैनन् । वैदिक सनातन दर्शनका सबै शास्त्रहरुको सार महान ग्रन्थ श्रीमद्भगवद् गीताका अनुसार मोक्ष प्राप्तिकालागि शारीरिक तथा मानसिक रुपमा आफूले गर्ने तथा आफूद्वारा गराइने हरेक प्रकारका काम, क्रिया तथा गतिविधिहरुलाई कर्म मार्ग तथा कर्म योगको नियम अनुसार अकर्ता भाव राखेर, कर्मको फल तथा परिणामप्रति आशक्त नभइकन, सबै कर्महरु परमात्माकैलागि गरिएका हुन् भन्ने सम्झेर तथा बुझेर परमात्माप्रति समर्पित भएर, आफूलाई केवल परमात्माको निमित्त मात्र ठानेर आफ्नो तथा अरुको भलाईकालागि सर्बकल्याणकारी काम गर्नु कर्म योग हो जसले मनुष्यलाई मोक्ष प्राप्त गर्न तथा आत्माको परमात्मासंग योग गराउन सहजता प्रदान गर्दछ तथा मार्ग प्रसस्त प्रदान गर्दछ ।


कर्म र यसका प्रकारहरु

कर्मको दायरा तथा परिभाषा वृहत छ, तसर्थ कर्म के हो भनेर निश्चित शव्द तथा वाक्यहरुबाट बुझाउन त्यति सहज छैन । प्रत्यक्ष तथा अप्रत्यक्ष, जानेर तथा नजानेर मनुष्यको शरीरका क्रिया, मनका सोच तथा विचारहरु, भावका भावनाहरु, चित्तका अनुभूतिहरुबाट हुने सबै प्रकारका सकारात्मक तथा नकरात्मक काम, क्रिया तथा गतिविधिहरु कर्म हुन् । भगवान श्रीकृष्ण भन्नुहुन्छ, “मनुष्य योनी कर्म योनी हो, कर्मबिना मनुष्यको जीवन सम्भव छैन । आफ्नो जीवन निर्वाहकालागि हरेक उमेर, अवस्था, परिस्थिति अनुसार मनुष्यले आ–आफ्नो हिस्साको कर्म गर्नै पर्छ ।” भनिन्छ मनुष्य नावालक छँदा उसको चित्त अर्थात आत्मा अर्थात चेतना शुद्ध तथा शास्वत हुन्छ । उसमा केवल आफू हुनुको(म शुद्ध आत्मा अर्थात चेतना हुँ भन्ने भाव) शास्वत भाव मात्र रहेको हुन्छ । उसमा म को हो तथा म के हो भन्ने कृत्रिम तथा माया/भ्रमको भाव आइसकेको हुदैन । जव उसको उमेर बढ्दै जान्छ, हुर्कदै जान्छ उसमा वाहिरको वातावरण(एपिजेनेटीक) प्रभाव बढ्दै जान्छ र वाहिरको(परिवार, साथी, संगत, शिक्षा, कर्म क्षेत्र आदि) प्रभावले उसको शरीर, मन, भाव, चित्तमा म को हो र म के हो भन्ने सन्दर्भमा आफ्नो प्रकारको सुझबुझ र आफूमाथिको नियन्त्रण बढ्दै जान्छ तव उसमा क्रमशः आफू हुनुको भाव अर्थात आत्माको शास्वत शुद्धता कम हुदै तथा घट्दै जान्छ र विस्तारै उसले आफूलाई वाहिरबाट सिकेको ज्ञान अनुसार शरीर, मन, भावको रुपमा बुझ्न तथा व्यवहार गर्न थाल्छ र उसका सबै कर्महरु त्यसै अनुसार हुदै जान्छन् । आफूलाई ज्यादातर शरीर स्वरुप मान्ने मानिसहरु शारीरिक बलले गर्ने कर्महरु गर्न अग्रसर हुन्छन् र यस प्रकारका गतिविधिहरु कर्म मार्ग तथा कर्म योग अन्तर्गत पर्दछन् । आफूलाई ज्यादातर मन स्वरुप मान्ने मानिसहरु मानसिक बल अर्थात विचारको बलले गर्ने कर्महरु गर्न अग्रसर हुन्छन् र यस प्रकारका गतिविधिहरु ज्ञान मार्ग तथा ज्ञान योग अन्तर्गत पर्दछन् । त्यसैगरि, आफूलाई ज्यादातर भाव स्वरुप मान्ने मानिसहरु भावनात्मक बलले गर्ने कर्महरु गर्न अग्रसर हुन्छन् र यस प्रकारका गतिविधिहरु भक्ति मार्ग तथा भक्ति योग अन्तर्गत पर्दछन् ।


श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले क्रियाका आधारमा दुई प्रकारका कर्महरुको उल्लेख गर्नु भएको छ– (१)शारीरिक कर्म, र (२)मानसिक कर्म । शरीरका अंग तथा इन्द्रियहरुले गर्ने सबै प्रकारका काम, क्रिया तथा गतिविधिहरु शारीरिक कर्म हुन् र मन, विचार तथा भावले गर्ने सबै प्रकारका काम, क्रिया तथा गतिविधिहरु मानसिक कर्म हुन् । त्यसैगरि, भावका आधारमा पनि भगवान श्रीकृष्णले दुई प्रकारका कर्महरुको उल्लेख गर्नु भएको छ– (१)आशक्त तथा सकाम कर्म, र (२)अनाशक्त तथा निस्काम कर्म । शारीरिक तथा मानसिक रुपले सर्वकल्याणको भाव राखेर, कर्मको फल तथा परिणामप्रति आशक्त नभइकन तथा अनाशक्त रहेर, निस्काम(निस्वार्थ) भावले परमात्माकै काम परमात्मकै माध्यमबाट गरिरहेको छु, आफू केवल निमित्त मात्र हुँ भन्ने अकर्ता भाव राखेर गरिने तथा गराइने सबै प्रकारका कर्महरु कर्म योग हुन् तर कर्मको फल तथा परिणामप्रति आशक्त भएर तथा सकाम(स्वार्थ) भावले गरिने कर्महरु कर्म योग बन्दैनन् । आफूले गर्ने हरेक कर्म पूजा बन्नु पर्दछ तव मात्र यी कर्महरु कर्म योग बन्दछन् र मोक्षको मार्गकालागि उपयोगी हुन्छन् ।


प्रकृतिका आधारमा कर्म दुइ प्रकारका उल्लेख गरिएका छन्– (१)आफैं हुने प्राकृतिक तथा इश्वरीय कर्म, र (२)मनुष्यले योजना बनाएर गर्ने कृत्रिम तथा सांसारीक कर्म । शरीरका वाहिरी तथा आन्तरीक अंगहरुमा नित्य निरन्तर स्वतःस्फुर्त रुपमा भैरहने क्रियाहरु प्राकृतिक कर्म हुन् जसमा चाहेर पनि मनुष्यको नियन्त्रण रहदैन र मनुष्यले आफ्ना इन्द्रियहरुको माध्यमबाट वुद्धि, विवेक, विचार, मन तथा भावको प्रयोग गरेर, योजना बनाएर जानीजानी शारीरिक तथा मानसकि रुपले गर्ने क्रियाहरु कृत्रिम कर्म हुन् ।


श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले क्रिया तथा भावका आधारमा तीन प्रकारका कर्महरु उल्लेख गर्नुभएको छ– (१)कर्ता कर्म, (२)अकर्म कर्म, र (३)बिकर्म कर्म । मनुष्यले शारीरिक तथा मानसिक रुपले कर्ता भाव राखेर अर्थात यो काम मैले गरेको हो, मैले गर्दा भएको हो, यसको जस, फल तथा परिणाम मैले प्राप्त गर्नुपर्छ, फलको बढि हिस्सा मेरो हुनुपर्छ भन्ने भाव राखेर कर्मको फलप्रति आशक्त भएर तथा सकाम भावले गरिएका तथा गराइएका कर्महरू कर्ता कर्म हुन् । भगवान श्रीकृष्णका अनुुसार यस प्रकारका कर्महरु कर्म योग बन्दैनन्, यस्ता कर्महरुले मनुष्यको कर्म बन्धन बढाउँछन् र मोक्षको मार्गमा वाधा खडा गर्दछन् । मनुष्यले शारीरिक तथा मानसिक रुपले कर्म फलको आशा नराखीकन, कर्मको फल तथा परिणामप्रति आशक्त नभइकन तथा अनाशक्त रहेर, निस्काम भावले परमात्माकै काम परमात्मकै माध्यमबाट गरिरहेको छु, आफू केवल निमित्त मात्र हुँ भन्ने अकर्ता भाव राखेर गरिने तथा गराइने कर्महरु अकर्म कर्म हुन् । यस्ता कर्महरुले मनुष्यलाई मोक्ष प्राप्तिको मार्गमा सहायता पुर्याउँदछन् । र प्रकृतिको नियम विपरीत गएर मनुष्यले शारीरिक तथा मानसिक रुपले आफ्नो तथा अरुको हित नहुने गरि गरेका तथा गराइएका सबै प्रकारका कर्महरु बिकर्म कर्म हुन् । यस प्रकारका कर्मलाई पाप कर्मको श्रेणीमा राखिएको छ । यस्ता पाप कर्महरुले कर्मको लेखाजोखा तथा कर्मको बहिखातामा खराव कर्महरु थप्दछन् र कर्म बन्धनको भार अझ बढाउँछन् र मोक्षको मार्गमा यात्रा अझ कठिन बन्दै जान्छ साथै कर्ताले पाप तथा नर्कको भागी समेत बन्नु पर्दछ ।


मनुष्यले मानसिक रुपमा मन, विचार तथा भावले गरिने कर्महरु शारीरिक रुपले गरिने भन्दा अझ प्रभावकारी र महत्वपूर्ण हुन्छन् किनकी शरीर भन्दा मनको प्रभाव सयौं गुणा बढि तथा प्रभावकारी हुन्छ; मन भन्दा भावको प्रभाव सयकडौं गुणा बढि तथा प्रभावकारी हुन्छ; र भाव भन्दा चित्त अर्थात आत्मा अर्थात चेतनाको प्रभाव हजारौं गुण बढि तथा प्रभावकारी हुन्छ । शरीर तथा मनले जे जस्तो क्रिया गरोस उक्त कर्मको भाव सबैभन्दा बढि महत्वपूर्ण हुन्छ । कर्म सकारात्मक भावले गरिएको हो कि होइन र उक्त कर्म आफू लगायत अरुको हित गर्ने प्रकारको छ कि छैन, कर्मको यो प्रमुख विषय हो । सकारात्मक कर्म तथा नकारात्मक कर्म जे कर्म, जस्तो कर्म गरेपनि अरुले संधै देख्न नसक्लान तर आफूबाट कदापि कुनै पनि सत्यता छुप्दैन, आफूले आफूलाई ढाँट्न तथा धोका दिन सकिदैन । यदि हामीले जानी–जानी अरुले देख्दैनन् भन्ने छलकपटभाव राखेर अर्काको आँखा छलेर नकारात्मक कर्म तथा पापकर्म गरेका छौं भने समय आएपछि हाम्रै आत्मा अर्थात चेतनाले नै हामीलाई उक्त पापकर्मको फल तथा सजाय पठाउँछ अनेक रुपमा । कर्मको सिद्धान्त अनुसार हरेक सकारात्मक तथा नकारात्मक कर्मको फल दिलोचाँढो समय आएपछि अनिवार्य रुपमा मिल्छ–मिल्छ, कर्मको हिसावकिताब बराबर भएर नै छाड्छ । तसर्थ यो शाश्वत सत्यको ज्ञान वेदबाट निसृत शास्त्रहरुको माध्यमबाट सबै मनुष्यहरुलाई अनिवार्य रुपमा हुनु पर्दछ तव मात्र मनुष्यले शुद्ध कर्म योग, शुद्ध भक्ति योग र शुद्ध ज्ञान योगको मार्ग अगाल्न सक्दछ र मोक्षको मार्गमा अगाडि बढ्न सक्दछ । प्राय सर्वकल्याणको भाव राखेर सामुहिक हित हुने कार्य गर्ने वैज्ञानिक तथा आविस्कारकहरु, नवीनतम सिर्जना गर्नेहरु, स्वयंसेवी, समाज सेवी तथा आध्यात्मिक, धार्मिक, सामाजिक अभियन्ताहरु आदि अकर्ता कर्मप्रति अकर्ता भाव राखेर र कर्मको फलप्रति अनाशक्त रहेर सर्वकल्याणका ठूला तथा विराट कार्यहरु गर्दछन् ।


कर्म योग तथा कर्म मार्ग र मोक्षको प्राप्ति

सर्वकल्याकाणकालागि सकारात्मक कर्महरुको माध्यमबाट पुण्य हासिल गरि आफ्ना सबै प्रकारका कर्म बन्धनहरु शुन्य बनाएर मोक्ष प्राप्तिको प्रयास गर्नु कर्म मार्ग हो । सबै प्रकारका कर्महरु कर्म योग बन्दैनन् । श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “कर्ता भाव राखेर कर्मको फलप्रति आशक्त भएर गरिएका कर्महरु मनुष्यका कर्म बन्धन बन्दछन् र यीनले मोक्ष प्राप्तिमा बाधा गर्दछन् । आफूले गर्ने हरेक प्रकारका कर्महरुको फल तथा परिणामप्रति कत्तिपनि आशक्त नभइकन आफूले अकर्ता भाव राखेर सबै कर्महरु परमात्माकालागि गरिएका हुन भन्ने समर्पण भावले गरिएका कर्महरु मात्र कर्म योग बन्दछन् ।”


कर्मको वृहद परिभाषा अनुसार शरिर, मन, भाव, चित्तबाट भएका तथा गरिएका सबै काम, क्रिया तथा गतिविधिहरु कर्म हुन् तर यस लेखको मूल लक्ष्यसंग सान्दर्भिक हुनेगरि कर्मको परिभाषा सरल तथा सहज किसिमले गर्नु पर्दा– शरीर प्रधान मानिसहरुले गर्ने कर्मलाई शारीरिक बलको माध्यमबाट गरिने तथा गराइने कर्म र मन तथा भाव प्रधान मानिसहरुले गर्ने कर्मलाई मानसिक बलको माध्यमबाट गरिने तथा गराइने कर्म मानेर बुझ्न सहज हुन्छ । यो कर्म मार्ग तथा कर्म योगको सिमीत तथा सहज परिभाषा हो । आ–आफ्नो प्रकृतिका आधारमा मानिसले आफ्नो कर्मको बाटो रोज्दछ । आफूलाई शरीर स्वरुप मान्ने मानिसले शरीरद्वारा गरिने क्रिया तथा कर्महरु गर्नमा रुची राख्दछ र आफूलाई मन तथा भाव स्वरुप मान्ने मानिसले मानसिक रुपमा गरिने क्रिया तथा कर्महरु गर्नमा रुची राख्दछ । यस्ता मानिसहरुकालागि कर्म मार्ग तथा कर्म योगको माध्यमबाट मोक्ष प्राप्त गर्न सहजता तथा शिघ्रता मिल्दछ ।


मोक्ष प्राप्तिका प्रमुख तीन मार्ग– कर्म योग, भक्ति योग र ज्ञान योगविचको अन्तरसम्वन्ध

मनुष्यहरुको व्यवहार, रुची, प्राथमिकताको क्षेत्र तथा प्रकृति फरक–फरक हुने भएकोले सबै मनुष्य मोक्ष मार्गका सबै मार्ग तथा योगमा सहजतापूर्वक अभ्यस्त हुन तथा डुब्न सक्दैनन् । कर्म योगी भक्ति योगमा आवश्यकता जति डुब्न सक्दैन, भक्ति योगी कर्म योग तथा ज्ञान योगमा आवश्यकता जति डुब्न सक्दैन र त्यसैगरि ज्ञान योगी कर्म योग तथा भक्ति योगमा आवश्यकता जति डुब्न सक्दैन । तर मनुष्यले गरेका तथा गराइएका हरेक कर्महरु कर्म योग बन्न ज्ञान योगको महत्वपूर्ण भूमिका रहेको हुन्छ । शरीरका इन्द्रिय तथा अंगहरुले र मन, विचार, भाव, चित्तले के र कस्ता काम, क्रिया तथा गतिविधिहरु गर्ने तथा नगर्ने भन्ने निर्णय वुद्धि तथा विवेकले लिने गर्दछ जसकालागि आफूले गर्ने तथा गराइने कर्महरुको बारेमा ज्ञान हुन अनिवार्य हुन्छ, यहाँनेर कर्म योगको मार्ग लिनेहरुलाई ज्ञान योगको आवश्यकता पर्दछ । मनुष्यले गर्ने परमात्माको भक्ति कसको गर्ने, किन गर्ने, कसरी गर्ने आदि विषयहरुको निर्णय लिन पनि वुद्धि तथा विवेक लगाउनु पर्ने हुन्छ, बिना ज्ञान यो काम मुस्किल हुन्छ तसर्थ भक्ति योगको मार्ग लिनेहरुलाई ज्ञान योगको आवश्यकता पर्दछ । त्यसैगरि, कस्तो भाव रोखेर कर्म गर्ने, आफूले आर्जन गरेको ज्ञानलाई कसरी सबैको हित तथा सर्वकल्याणमा उपयोग गर्ने भन्ने कुरालाई सही दिशा प्रदान गर्न शुद्ध भक्तिको सहयोग आवश्यक पर्दछ किनकी हामीले आम रुपमा देख्दै आइरहेका छौं भक्तिबिनाको कर्म कर्ता, अकर्म, अन्धविश्वास बनेका छन् र शुद्ध भक्तिबिनाका ज्ञान अहंकार, आडम्बर, साम्प्रदायिक बनेका छन् र यही बिकृतिले अध्यात्म, धर्म, संस्कृति तथा सम्प्रदायहरुविच मनुष्य मनुष्यविच वैमनस्य, उचनिच, सानाठूलो, निन्दा, थिचोमिचो, अत्याचार, हिंसा, हत्या सम्मको अवस्था निर्माण भएको छ । तसर्थ कर्म मार्गी र भक्ति मार्गी दुवैले शुद्ध कर्म तथा शुद्ध भक्ति अगाल्न अनिवार्य रुपमा ज्ञान मार्गलाई एकसाथ अगाडि बढाउनु पर्दछ र त्यसैगरि ज्ञान मार्गी तथा कर्म मार्गीले शहंकार तथा आडम्बर रहति ज्ञान मार्ग अपनाउन र कर्ता भाव तथा अकर्मबाट आफूलाई अलग राख्न अनिवार्य रुपमा भक्ति मागलार्ई एकसाथ अगाडि बढाउनु पर्दछ । bsirjana@gmail.com

No comments:

Post a Comment