डा. सिर्जना भण्डारी
विषय प्रवेश
श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ, “मनुष्य जन्मको मूल उद्देश्य मोक्ष प्राप्ति गर्नु हो र मोक्ष प्राप्ति केवल मनुष्य योनीबाट हुुन्छ, यसैकारण मनुष्यको शरीरलाई मोक्षको द्वार भनिन्छ । चौराषी लाख योनीपछि मानव योनी तथा शरीर अत्यन्त मुुस्किलले प्राप्त भएको हुन्छ, तसर्थ मानव योनीलाई त्यसै खेर फाल्नु हुदैन, देवताहरु पनि मानव योनीको आकांक्षा गर्दछन् तर विडम्वना मानव आफ्नो दुर्लव र अत्यन्तै महत्वपूर्ण मानव योनीको इश्वरीय तथा आध्यात्मिक महत्व बुझ्दैन, जीवनको सारा आयु भोगविलासमा बिताउँछ, यतिमात्र नभएर मृत्युको अन्तिम घडीमा समेत इच्छा, कामना, वासनामै लिप्त भएर शरीर छोड्दछ र मोक्ष(निर्वाण) प्राप्तिको अमूल्य अवसरलाई बारबार गुमाइरहन्छ ।”
मोक्ष र मोक्षका प्रकार
समग्रमा, सबैप्रकारका अज्ञानताहरुबाट मुक्त हुनु नै मोक्षको प्राप्ति तथा संसाररूपी भवसागरबाट पार हुनु हो । देह, मन, भाव तथा चित्तका सबैप्रकारका अज्ञानताहरुबाट मुक्त भएर आत्म साक्षातकार गरि तमाम कर्महरुबाट मुक्त भएर आफूूलाई(आत्मा अर्थात चेतनालाई) परमात्मामा योग गराइ मोक्ष प्राप्त गर्नु मनुष्य योनीको आत्यन्तिक लक्ष्य हो । मोक्षका दुई प्रकार तथा तहहरु रहेकाछन्– (१)सामान्य तथा सांसारीक मोक्ष, र (२)आत्यन्तिक तथा इश्वरिय मोक्ष । जीवनका तमाम दुःखहरुबाट मुक्त भएर सुख, खुशी, शान्ति तथा आनन्द प्राप्त गर्नु नै पहिलो तहको मोक्ष हो । यो अवस्थामा जीवनमा आइपर्ने सांसारीक भोगाइहरुमा मानिसमा मात्तिने तथा आत्तिने प्रवृत्तिहरु कम हुदैजान्छन् र मानिसका कर्मबन्धनहरु बन्ने तथा कर्मबन्धनका फलहरु प्राप्त हुने प्रक्रियाको क्रम घट्दै जान्छ । यसप्रकारले मानिस आफ्नो जीवनमा पूर्णरुपले सुखी, खुशी, शान्त र आनन्दित भएपछि उसका कर्मबन्धनहरु बन्ने र कर्मबन्धनका फलहरु प्राप्त हुने प्रक्रियाहरु पूर्णरुपमा अन्त्य हुन्छन् । मानिसका कर्ममबन्धनहरु बन्ने क्रम समाप्त भएपछि आत्मा निरन्तर जन्म र मरणको चक्रबाट मुक्त हुन्छ, यो मोक्षको दोस्रो तह आत्यन्तिक तथा इश्वरिय मोक्ष हो, परमात्मा प्राप्ति हो, परमात्मामा सदाकालागि एकाकार अर्थात योगस्थ हुनु तथा निर्वाण प्राप्त गर्नु हो ।
मोक्ष प्राप्तिका प्रमुख तीन मार्ग
वैदिक अध्यात्म दर्शन तथा ज्ञानको मूल श्रोत वेदबाट निसृत ग्रन्थहरु मध्य वर्तमान युगमा विश्वव्यापि रुपमा सर्वाधिक उत्तम, वैज्ञानिक र अत्यन्तै व्यवहारिक रहेको मान्यता प्रदान गरिएको महान सनातन ग्रन्थ श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले मोक्षका मुख्य तीन मार्गहरु प्रमुखताकासाथ उल्लेख गर्नुभएको छ – (१) कर्म मार्ग, (२) भक्ति मार्ग, र (३) ज्ञान मार्ग । कुन मार्ग उत्तम तथा प्रभावकरी भन्ने सन्दर्भमा स्वामी वाल सुभ्रमन्यमले यी तीनवटै मार्गलाई एक आपसका पूरकका रूपमा परिभाषित गर्नु भएको छ । सनातन अध्यात्म दर्शनका प्रमुख शास्त्रहरुमा आफूूले मन, वचन तथा क्रियाका माध्यमबाट गरिने हरेकप्रकारका कर्महरुलाई शुुद्ध र उत्कृष्ट बनाउने प्रक्रियालाई कर्म मार्ग भनिएको छ; आफू र आफ्ना हरेक कर्महरुलाई इश्वरप्रति समर्पित गरि आफू हरप्रकारले शुद्ध भएर इश्वरको भक्ति गर्ने प्रक्रियालाई भक्ति मार्ग भनिएको छ; र ‘अथातो ब्रम्ह जिज्ञासा’ अर्थात ब्रम्ह के हो भन्ने जिज्ञासाको जवाफ खोजी गर्ने प्रक्रियालाई ज्ञान मार्ग भनिएको छ ।
ज्ञान मार्ग तथा ज्ञान मार्गी
सनातन दर्शनका मूल शास्त्रहरुमा ब्रम्ह(परमात्मा)काबारे उल्लेख गरिएका ज्ञानहरुको सैद्धान्तिक र व्यवहारीक अनुभूति गर्दै मोक्ष प्राप्तिको साधना गर्नु ज्ञान मार्ग हो र यसप्रकारको मुमुक्षा राख्ने तथा यही मार्गलाई अनुशरण गर्ने साधकहरु ज्ञान मार्गी हुन् । श्रद्धेय स्वामी श्रीहरिदाषजी भन्नुहुन्छ जो मानव ज्ञान मार्गबाट मोक्ष प्राप्त गर्ने मुमुक्षा राख्दछ उसले वहिरंग र अन्तरंग गरेर आठ प्रकारका भूमिका तथा तहहरु पार गर्नुपर्दछ । वहिरंग तह– (१)विवेक, (२)वैराग्य, (३)षटसम्पत्ति, (४)मुमक्षत्व । अन्तरंग– (५)श्रवण, (६)मनन्, (७)नीधिध्यासन, (८)समाधि ।
ज्ञान दुइप्रकारका छन्– (१)मृत तथा नस्वर(सांसारीक) ज्ञान, र (२)अमृत तथा साश्वत(इश्वरिय) ज्ञान । सांसारीक र इश्वरिय ज्ञानका पनि दुइ प्रकार छन्– शाव्दिक ज्ञान(थेउरीटिकल नलेज) र अनुभवात्मक ज्ञान(प्राक्टिकल नलेज) । अमृत तथा साश्वत(इश्वरिय) ज्ञान अन्तर्गत शाव्दिक ज्ञान भन्नाले वेद/वेदान्त शास्त्रको ज्ञान हासिल गर्नु र अनुभवात्मक ज्ञान भन्नाले वेद/वेदान्त शास्त्रले बताएको मार्गद्वारा साधना गरेर ब्रम्हको स्वअनुभव हासिल गर्नु हो ।
मोक्ष प्राप्तिमा अत्यन्त प्रभावकारी योग मार्ग
आत्मालाई परमात्मामा सदाका लागि एकाकार गर्नु तथा स्थित गर्नु योग हो र यही नै मोक्ष तथा निर्वाणको अवस्था हो । योगका साधना विधिहरु धेरै छन् । ज्ञान मार्ग अन्तर्गत सनातन शास्त्रहरुमा मोक्ष प्राप्तिका विविध प्रकारका मार्गहरु उल्लेख गरिएका छन्, ती मध्य योग मार्ग तथा योग साधनालाई व्यवहारीक र प्रभावकारी मार्गका रुपमा दर्शाइएको पाइन्छ । योग मार्ग अन्तर्गत प्रमुख रुपमा सात प्रकारका योग रहेका छन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग तथा राज योग । योग मार्गमा अमृत तथा साश्वत(इश्वरिय) ज्ञानका दुवै प्रकारहरु– शाव्दिक ज्ञान र अनुभवात्मक ज्ञानका अभ्यासहरु गरिन्छन् जसले साधकहरुको ब्रम्हको ज्ञान प्राप्त गर्ने मुमुक्षामा सरल किसिमले सहजता प्रदान गर्दछन् । योगहरु मध्य पनि सबै प्रकारका साधकहरुकालागि राज योगलाई अति उपयुक्त तथा व्यवहारिक मानिएको छ । वर्तमान समयमा विश्वव्यापि रुपमा अभ्यास गरिदै आइएको सर्वाधिक लोकप्रिय महर्षि पतंजलिद्वारा संकलीत पतंजलि योग सबै प्रकारका योगहरुको सारका रुपमा अभ्यास गरिदै आइएको राज योगमा आधारीत साधना पद्धति हो । पतंजलि योग तथा राज योगका आठ अंग- पाँच वहिरंग अंग- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, र तीन अन्तरंग अंग- धारणा, ध्यान, समाधि रहेका छन् जसले साधकहरुलाई शाव्दिक ज्ञान र अनुभवात्मक ज्ञान हासिल गर्न मरपूर मार्गदर्शन गर्दछन् । हाल विश्वव्यापि रूपमा पतंजलि योगका सुत्रहरुको अनुशरण सबै प्रकारका साधकहरुकालागि हरप्रकारले उपयुक्त, सरल, सहज, व्यवहारीक र प्रभावकारी साधनाका रुपमा प्रयोगमा ल्याइदै आइएको छ ।
bsirjana@gmail.com
No comments:
Post a Comment