'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 9 December 2024

मोक्ष प्राप्तिका प्रमुुख तीन मार्ग– कर्म योग, भक्ति योग, ज्ञान योग; कुन श्रेष्ठ र कुन कसकालागि ?

                                       डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन  #जीवन_दर्शन




विषय प्रवेश

आफ्नो आत्मा अर्थात चेतनालाई परमात्मामा स्थित गराउनु योग हो । सनातन अध्यात्म दर्शनमा मोक्ष प्राप्ति तथा संसाररूपी भवसागरबाट पार हुनकालागि कर्म योग, भक्ति योग र ज्ञान योग प्रमुख तीन मार्गहरु उल्लेख गरिएका छन् । यी तीन मार्ग मध्य कुन मार्ग प्रभावकारी तथा श्रेष्ठ छ भन्ने सन्दर्भमा प्राचीनकालदेखि नै अलमल र तर्कवितर्कको विषय बन्दै आइरहेको छ । कसैले कर्म योगलाई प्रभावकारी तथा श्रेष्ठ मान्दछन्, कसैले भक्ति योगलाई प्रभावकारी तथा श्रेष्ठ मान्दछन् भने कसैले ज्ञान योगलाई प्रभावकारी तथा श्रेष्ठ मान्दछन् । यो अलमललाई दुर गर्न सनातन दर्शनका सबै शास्त्रहरुको सार महान ग्रन्थ श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “कर्म योग, भक्ति योग र ज्ञान योगका साधनाहरु एकआपसमा अलग–अलग जस्तो लागेपनि वास्तविकतामा यी समान, उत्तिकै श्रेष्ठ छन् र आपसमा अन्तरसम्बन्धित छन् ।” कर्म योगीले परमात्मालाई आफ्ना कर्महरुमा नजिकबाट देख्दछ तथा अनुभव गर्दछ, भक्ति योगीले परमात्मालाई सृष्टिको कणकणमा देख्दछ तथा अनुभव गर्दछ र ज्ञान योगीले परमात्मालाई आफ्नो अन्तरआत्मा भित्र देख्दछ तथा अनुभव गर्दछ तर सबैको आत्यन्तिक गन्तब्य परमात्मामा योग हुनु नै हो । यी तीनै योगमा आ–आफनै प्रकारका प्रधानता तथा श्रेष्ठता रहेका छन् । मोक्षको मार्गमा यस प्रकारको आस्था, विश्वास तथा अनुभूति व्यक्तिको प्रकृति तथा उसको मन, विचार तथा भावमा निर्भर गर्दछ ।


मोक्ष मार्गमा तीनबटै योग एकअर्काका परिपूरक हुन्

सनातन दर्शनका दर्शनशास्त्री तथा ज्ञानीहरुले कर्म योग, भक्ति योग र ज्ञान योग यी तीनवटै योगका मार्गहरु आ–आफ्नो स्थानमा श्रेष्ठ छन् र एकअर्काका परिपूरक हुन भन्ने मत राख्दै आएको पाइन्छ । स्वामी विवेकानन्दले भन्नु भएको छ, “कर्म योग, भक्ति योग र ज्ञान योग यी तीनवटै मार्ग एकअर्काका परिपूरक हुन्, यीनलाई एकआपसबाट अलग गरेर परिभाषा गर्न र व्यवहारमा अनुशरण गर्न मिल्दैन, यीनलाई अलग–अलग रुपमा हेरियो तथा अनुशरण गरियो भने मानिसको जीवनमा भ्रम, ढोंग, आडम्बर, अहंकार तथा अन्धविश्वास बढ्नेछ, मानिस संसारमा भड्किनेछ र यो पतनको कारण बन्नेछ अर्थात यसले पतनको रुप लिनेछ र मानिसको चेतनाको उत्थान हुनेछैन । आत्मा अर्थात चेतनाको उत्थान तीनवटै योग एकसाथ अनुशरण गरेर मात्र गर्न सकिन्छ । के कर्म गर्ने हो र कसरी गर्ने हो भन्ने सन्दर्भमा ज्ञान हुनु अति आवश्यक हुन्छ । त्यस्तै कसको भक्ति गर्ने हो र भक्ति कसरी गर्ने हो यसको ज्ञान बिना भक्ति शुद्ध हुदैन । कर्म, भक्ति र ज्ञान योग एकअर्काका परिपूरक हुन् र आपसमा अन्तरसम्बन्धित छन् किनकी भक्ति बिना कर्ममा स्वार्थ आउँछ र यो बेकार बन्दछ, त्यस्तै भक्ति बिनाको ज्ञान अहंकार बन्दछ र ज्ञान बिनाको कर्म र भक्ति स्वार्थ, अन्धविश्वास तथा आडम्बर बन्दछ । तसर्थ, सहि ढंगले चेतनाको उत्थान गर्नकालागि कर्म गर्नुपूर्व कर्म, अकर्म, विकर्म, सकाम कर्म, निस्काम कर्म, अकर्ता भावबारे ज्ञान लिनु अति आवश्यक हुन्छ; भक्ति गर्नु अघि परा भक्ति, अपरा भक्ति, नवधा भक्ति, सकाम भक्ति, निस्काम भक्ति, सात्विक भक्ति, राजसी भक्ति, तामसी भक्ति र यसका अन्य स्वरूप तथा विधिहरुबारे जान्नु आवश्यक हुन्छ; त्यसैगरि सदकर्म र शुद्ध भक्ति बिनाको ज्ञान पनि शुद्ध हुदैन, अशुद्ध ज्ञानले मानिसमा अहंकार तथा कर्ता (मैले गरेको) भाव, ज्ञाता (म जान्नेछु) भाव बढाउँछ ।” 


मानिसले सांसारिक मोक्ष तथा आत्यन्तिक मोक्ष प्राप्त गर्न सनातन वैदिक शास्त्रहरुलाई प्रवृत्ति (प्रगतिशिल तथा क्रियाशिल) मार्ग अनुसार विश्लेषण तथा संश्लेषण गर्नुपर्छ र प्रवृत्ति मार्गलाई व्यवहारीक रुपमा आत्मसाथ गर्दै अभ्यास गर्नुपर्छ भन्ने अवधारणामा जोड दिदै आएका स्वामी तिलकले पनि मोक्ष मार्गका तीन योगका सन्दर्भमा स्वामी विवेकानन्दकै अवधारणामा जोड दिनु भएको छ । श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “मानव योनी कर्म योनी हो; कर्म नगरी जीवनयापन गर्ने कुनै उपाय नै छैन तसर्थ आफू, परिवार, समाजबाट नभाग, संघर्ष गर, निस्काम कर्म गर र सबैको साथमा रहेर सबैको सेवा गर्दै, परमात्माको भक्ति गर्दै, आफूमा ज्ञानको दायरा बढाएर चेतनालाई मोक्षको मार्गमा लगाउ ।”


स्वामी अरविन्द वालसुभ्रमण्यम भन्नुहुन्छ, “कर्म योग, भक्ति योग र ज्ञान योग मोक्ष मार्गका उत्तिकै महत्वपूर्ण घडीका तीन सुइ जस्तै हुन् । सेकेण्ड सुइ कर्म योग हो, मिनेट सुइ भक्ति योग हो र घण्टा सुइ ज्ञान योग हो । त्यस्तै तहगत हिसावले कर्म योग प्राथमिक विद्यालयको शिक्षा हो, भक्ति योग माध्यमिक विद्यालयको शिक्षा हो र ज्ञान योग विश्वविद्यालयको शिक्षा हो । निरन्तर निस्काम कर्म योग गर्दै गएपछि साधकको शरीर र मन शुद्ध हुदै जान्छ र विस्तारै परमात्माको भक्तिमा चित्त गहिरिदै जान्छ र ज्ञानले मोक्ष प्राप्तिमा अझ प्रवलता तथा प्रभावकारीता थप्दछ तसर्थ यी तीन योग आपसमा पुरक हुन् ।”


स्वामी श्री सत्य साइबाबा भन्नुहुन्छ, “कर्म मार्ग(पाथ अफ एक्सन), भक्ति मार्ग(पाथ अफ डिभोसन) र ज्ञान मार्ग(पाथ अफ नलेज) मोक्ष प्राप्तिका अलग–अलग मार्ग होइनन्, एउटै मार्गका तीन तह हुन् । चेतना अर्थात आत्माको उत्थानकालागि तीनवटै मार्गलाई एकसाथ साधना गर्नु पर्दछ ।”


स्वामी बैंकट रमणले भन्नु भएको छ, “कर्म योग, भक्ति योग र ज्ञान योग मोक्ष मार्गकालागि अध्यात्म साधना सवारीका बराबर महत्व भएका तीन पांग्रा हुन् । तीनवटै पांग्रा उत्तिकै महत्वपूर्ण छन्, कुनै एक बिना सवारी चल्न सम्भव हुदैन । ज्ञान योग बिना कर्म योग र भक्ति योग दुवै अधूरो हुन्छ र कर्म योग र भक्ति योग बिना ज्ञान योग अधूरो हुन्छ ।”


चेतनाको विस्तार, चेतनाको प्रकृति र कसकालागि कुन मार्ग सही

जन्मेर ४–५ वर्षको उमेरसम्म मानिसको चेतना शुद्ध रहेको हुन्छ, उसको चेतनामा आफू हुनुको भाव मात्र रहेको हुन्छ अर्थात म फलानो हूँ भन्ने भाव आइसकेको हुदैन किनकी उ नावालक भएकोले कतै जोडिएको हुदैन, म को हो अथवा म के हो भन्ने थाहा पाएको हुदैन । हुर्कदै जाने क्रममा विस्तारै उसमा क्रमशः म शरीर हुँ, म मन हुँ, म विचार हुँ, म भाव हुँ भन्ने भ्रम बढ्दै जान्छ; उ आफू शुद्ध चेतना अर्थात आत्मा हुँ भन्ने शास्वत भावबाट क्रमशः टाढिदै जान्छ र आफूलाई पूर्णरुपमा शरीर, भाव र मन तथा विचार सम्झिन थाल्छ र शरीर, भाव र मनप्रति नै उसको तादात्म्यता बढ्दै जान्छ । यस पश्चात उसको चेतना शरीर, भाव र मनमा अड्कीएर तथा रोकिएर बस्छ । यही तीन ठाउँमा रोकिएर बसेको मनुष्यको चेतनालाई फेरी आफैंतिर फर्काएर आफू हुनुको अनुभूति गर्न, चेतना अर्थात आत्माको शुद्धता कायम गर्न तथा म शरीर, मन, भाव होइन परमात्माको अंश शुद्ध आत्मा अर्थात दिव्य चेतना हुँ भन्ने भाव जगाउन प्राचीन वैज्ञानीक तथा हाम्रा पुर्खा ऋषिमूनिहरुले मोक्षका तीन मार्ग– कर्म योग, भक्ति योग र ज्ञान योगको मार्ग प्रसस्त गरिदिएका छन् । शरीरसंग चेतनाको तादात्म्यता भएका मानिसहरुका लागि कर्म योग अपनाउनु सरल, सहज तथा प्रभावकारी मानिएको छ । भावसंग चेतनाको तादात्म्यता भएका मानिसहरुका लागि भक्ति योग अपनाउनु सरल, सहज तथा प्रभावकारी मानिएको छ र मन तथा विचारसंग चेतनाको तादात्म्यता भएका मानिसहरुका लागि ज्ञान योग अपनाउनु सरल, सहज तथा प्रभावकारी मानिएको छ । यसप्रकारका मानिसहरुकालागि आफ्नो प्रकृति अनुुसार कुन मार्ग सही, सहज तथा प्रभावकारी हुन्छ भनेर जान्नकालागि गुुरु, सिद्ध पुरुष तथा सनातन दर्शनशास्त्रीहरुले आफैंले आफ्नो जाँच गर्न सकिने विधि पनि बताइदिएका छन् । यस विधिका अनुसार तीनवटै मार्ग तथा योगलाई २१–२१–२१ दिनसम्म अनुशरण गरेर आफ्नो अनुभूतिलाई हेरौं, कुन मार्ग तथा योगमा आफूलाई सबैभन्दा बढि सुख, खुशी, एकाग्रता, शान्ति, आनन्द प्राप्त हुन्छ त्यही मार्ग अपनाउन सुझाव दिइएको पाइन्छ । यसरी आफ्नो प्रकृति तथा रुची अनुसारको मार्गलाई अनुशरण गर्दै जाँदा मानिसमा विस्तारै तीनवटै मार्ग तथा योगको सम्योजन देखापर्दै जान्छ जसबाट मानिसले सांसारिक र आत्यन्तिक दुवै प्रकारको मोक्ष प्राप्त गर्न सक्दछ ।

 
वैदिक सनातन अध्यात्मका दर्शनशास्त्री श्रद्धेय डा. हिम्मत सिन्हा भन्नुहुन्छ, “यी तीनवटै मार्ग एकआपसमा अलग–अलग जस्तो देखिन्छन् र स्वतन्त्र छन् तर वास्तविकतामा एक मार्गले अर्को मार्गलाई सहयोग, साथ, समर्थन, मार्गनिर्देशन गर्दछन् र एकले अर्कोलाई सन्तुलनमा राख्न मद्धत गर्दछन् ।” bsirjana@gmail.com



No comments:

Post a Comment