डा. सिर्जना भण्डारी*
स्त्री सबलिकरणका तह र पक्रियाहरु
"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !" - ओशो रजनीश
खण्ड -४ को निरन्तरता-: (१)व्यक्तिगत तह, (२)पारिवारीक तह, (३)सांस्कृतिक तह, (४)सामाजिक तह, (५)धार्मिक तथा साम्प्रदायिक तह, (६)आध्यात्मिक तह, (७)संस्थागत तह, (८)राज्य तह, (९)विश्व तह, (१०)प्राकृतिक तह ।
(५)धार्मिक तथा साम्प्रदायिक तह
आमरुपमा सबै मानिसहरुले बुझ्दै आइरहेको ‘धर्म’को अर्थ तथा परिभषा सीमित रहेको छ तर धर्म अत्यन्तै वृहद र प्राकृतिक तथा ब्रम्हाण्डिय नियमसंग सम्वन्धित विषय हो र धर्मले मानिसको नितान्त आन्तरिक भाव तथा नियतसंग प्रत्यक्ष सरोकार राख्दछ । वर्तमान समयमा हामीले आमरुपमा बुझ्दै आइरहेको तथा बुझाउदै आइराखिएको धर्म वास्तविकतामा सम्प्रदाय हो जो हिन्दु, बौद्ध, जैन, शिख, इशाइ, इस्लाम आदि धेरै प्रकारका रहेकाछन् । धर्म प्रकृति प्रदत्त तथा प्राकृतिक नियम अनुसार चल्छ तर सम्प्रदाय मानव समाजले निर्माण गरेको समाजको नियम अनुसार चल्छ जो तत्कालीन आवश्यकता अनुसार समाजका सबैको सुविधाको लागि मानिसहरुले नै सामुहिक सहमति तथा कहिले काहीं जोरजवरजस्तीमा निर्माण गरेका नियम तथा मूल्य–मान्यताहरुको संमग्र स्वरुप हो । तर धर्मको कुनै विभाजन तथा किसिम हुदैन, धर्म एउटै हुन्छ जसले प्रकृतिमा रहेका हरेक प्राणी, वनस्पति तथा पदार्थहरुलाई धारण गरेको हुन्छ र हरेक प्राणी, वनस्पति तथा पदार्थमा धर्मको प्राकृतिक गुण स्थापित गरिदिएको हुन्छ । मानिसको धर्म मानवीयता, कर्तव्यनिष्ठता, प्रेम, सेवा हो जसलाई मानिसको प्राकृतिक तथा नैसर्गिक गुण पनि भनिन्छ जुन उसले जन्मजात लिएर आएको हुन्छ । वनस्पति तथा पदार्थहरुको धर्म आफ्नो प्राकृतिक तथा नैसर्गीक गुणहरुले सिंचित गरेर प्राणीहरुको जीवन विकास तथा जीवन रक्षा गर्न मद्धत गर्नु हो । यसकालागि पानीको धर्म तथा प्राकृतिक गुण शितलता र तरलता तथा रसपूर्णताले, सूर्यको धर्म तथा प्राकृतिक गुण ताप तथा प्रकाशले पृथ्वीमा रहेका प्राणी र वनस्पतिहरुको जीवन विकास तथा जीवन रक्षा गर्न मद्धत गर्दछन् । यसकारण स्त्री सबलिकरण गर्नमा धार्मिक तह मानिसहरुको नियन्त्रणभित्रको विषय होइन, यो स्वयं प्रकृति, ब्रम्हाण्ड तथा परमात्माको विषय हो । मानिसहरुले स्त्री सबलिकरणमा मानव समाजले निर्माण गरेका स्त्री र पुरुषका लागि छुट्टा-छुट्टै बनाइएका निश्चित प्रकारका विभेदयुक्त साम्प्रदायिक नियम, रीतिथीति, परम्परा, चालचलन, मूल्य–मान्यताहरुलाई युग सान्दर्भिक हुनेगरि सुधार तथा परिमार्जन गरेर साम्प्रदायिक तहबाट स्त्री सबलिकरणमा उल्लेख्य योगदान पुर्याउन सकिन्छ ।
धर्म सदा प्राकृतिक मूल्य–मान्यतामा अपरिवर्तनशील रहन्छ तर सम्प्रदायहरु बन्ने, लोप हुने, फेरी बन्ने क्रम चलिरहन्छ मानव सभ्यताको विकासक्रमसंगै र सम्प्रदायहरुले आ–आफ्नो आवश्यकता अनुसार निर्माण गरेका साम्प्रदायिक नियम, मूल्य–मान्यताहरु पनि आवश्यकता अनुसार परिवर्तन तथा परिमार्जित भैरहन्छन् मानवीयतालाई ध्यानमा राखेर । धर्मले कसैलाई विभेद गर्दैन कुनै आधारमा, विभेद स्वार्थवस आफ्नो फाइदाकालागि निर्माण गरिएका सम्प्रदायका संस्कार, संस्कृति, परम्परा, रीतिथीति तथा मूल्य–मान्यताहरुले जानेर तथा नजानेर गरिरहेका हुन्छन् स्त्री र पुरुष दुवैको जीवन विकास तथा सबलिकरणमा अवरोध पुर्याइरहेका हुन्छन् । उदाहरणकालागि हिन्दु र इस्लाम सम्प्रदायका केही समुदायहरुमा स्त्रीहरुले घुम्टो ओढिरहनु पर्छ, आफ्नो श्रीमान बाहेक अरुले उनीहरुको चेहरा देख्नु हुदैन, हरबखत पूरै शरीर ढाक्ने लामा पहिरन लगाउनु पर्छ, निश्चित प्रकारका गरुंगा गहना तथा पहिरनहरु लगाइरहनु पर्छ, विवाह पश्चात घरवाहिर निस्केर कुनै पेशा, व्यवसाय, अध्ययन तथा सामाजिक भेटघाट गर्न प्रतिवन्ध लगाइन्छ, स्त्रीलाई श्रीमान तथा घरपरिवारको सम्पत्तिको रुपमा व्यवहार गरिन्छ । यस्ता स्त्रीहरुलाई पछाडि पारिरहेका समय असान्दर्भिक कुसंस्कार, कुरीति तथा कुप्रथाहरुमा समय सान्दर्भिक हुनेगरि सुधार तथा प्रभावकारी रुपमा परिमार्जन गरेर, स्त्रीहरुको दैनिक जीवन सहज र महत्वपूर्ण बनाएर, समानता र स्वतन्त्रताको मूल्य–मान्यतामा आधारित रहेर उनीहरुलाई जीवन विकासका अवसरहरु अध्ययन, ज्ञान तथा सिप आर्जन, पेशा, व्यवसायका गतिविधि गर्ने स्वतन्त्रता तथा सुविधा प्रदान गरेर साम्प्रदायिक तहबाट स्त्री सबलिकरणका गर्न सकिन्छ ।
(६)आध्यात्मिक तह
अध्यात्म दर्शन मानिसको चेतना तथा थाहा पाउने क्षमताको विकाससंग सम्वन्धित ज्ञान प्रदान गर्ने तथा काम गर्ने विज्ञान हो । यसअर्थमा अध्यात्म विज्ञान सबैभन्दा निश्पक्ष विषय हो किनकी यस अन्तर्गत मानव समाजमा विद्यामान विवादास्पद लिंग बिभाजन, लैंगिक विभेद जस्ता विषयहरु पर्दैनन् । अध्यात्म विज्ञान मानिसलाई पराभौतिक संसारका ब्रम्ह, ब्रम्हाण्ड, अस्तित्व, परमात्मा, आत्मा आदि अलौकिक विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरेर उनीहरुको सांसारिक र पारमार्थिक जीवन सहज, सरल, समृद्ध, सफल बनाउन उत्कृष्ट जीवनयापन अनुशरण गर्न सिकाउने कलाको विज्ञान(द आर्ट अफ लिभिगं) हो । अध्यात्म विज्ञानका मूल विषयहरु योग साधना र ध्यान साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास गरेर हरेक व्यक्ति आन्तरिक रुपमा सबल, सक्षम, आत्मविश्वास युक्त बन्न सक्छ किनकी योग साधना र ध्यान साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासहरुले मानिसको शरीर र स्वास्थ्यका शारीरिक, मानसिक, भावनात्म तथा चेतनात्मक सबै आयामहरुको उच्चतम विकास गरेर मानिसभित्र सुसुप्त अवस्थामा रहेका उसका जन्म–जन्मका आन्तरिक सम्पत्तिहरु प्रतिभा, क्षमता, सिर्जनशीतला, नवीनता, सकारात्मकताका गुणहरु जाग्रीत गर्न मद्धत गर्दछन् । यसप्रकार हरेक स्त्रीहरुलाई योग साधना र ध्यान साधनाका सैद्धान्तिक तथा प्रयोगात्मक अध्यासहरु सिकाएर उनीहरुको आन्तरिक विकास गरेर वाहिरी विकासमा प्रेरणा र सहजता प्रदान गरेर आध्यात्मिक तहबाट प्रभावकारी ढंगले उनीहरुको सबलिमरण गर्न सकिन्छ ।
(७)संस्थागत तह
व्यक्ति, परिवार, समाज, राज्यको सन्तुलित विकास तथा मानिसको सहज, सरल, समृद्ध, सफल जीवनका लागि सबैप्रकारका संस्थाहरुको प्रभावकारी भूमिका र महत्वपूर्ण योगदान रहेको हुन्छ तर लिंगका आधारमा हुने लैंगिक विभेदको दृष्टिकोणले हेर्ने हो भने संस्थाहरुको अर्को पाटो निकै डरलाग्दो रहेको छ किनकी जानेर तथा नजानेर हरेक प्रकारका संस्थागत तहहरु लिंगका आधारमा लैंगिक विभेद गर्ने सबैभन्दा ठूला कारखाना तथा नायकहरु हुन् । विशेषगरि समाजमा प्रभावशाली भूमिकामा रहेका संस्थाहरुले तय गर्दछन् या भनौं नियम नै निर्माण गर्दछन् स्त्री तथा पुरुषले के–के गर्ने तथा कस्ता–कस्ता भूमिकाहरु निर्वाह गर्ने भनेर । यिनै संस्थाहरुले विभिन्न तरिकाले निर्धारण गर्दछन् कि सेक्रेटरी तथा कार्यालय सहयोगी, नर्स, एयर होस्टेज, मोडेल, चमेनागृहमा भान्से, सरसफाइ गर्ने कारिन्दा, हेरचाहका कामगर्ने कारिन्दाहरु सबै स्त्रीहरुनै हुनुपर्दछ र डाक्टर, इन्जिनियर, पाइलट, प्रेफेसर, प्राविधिक, हाकिम तथा कार्यकारी, उच्चपदस्थ रानीतिज्ञ, अधिकारी तथा कर्मचारीहरु पुरुषहरुनै हुनु पर्दछ भनेर । यस्ता प्रकारका गतिविधि र अभ्यासहरुले व्यक्ति, परिवार, समाज र राज्यमा समेत स्त्रीहरुप्रति तल्लो, निच तथा तुच्छ भावनाले हेर्ने परिपाटीको विकास हुदै गैरहेको छ र यसको नकारात्मक प्ररिणाम स्वरुप स्त्रीहरु स्वयंमा आफूलाई त्यही सीमितताको दृष्टिले हेर्ने, सीमित घेराभित्र देख्ने तथा राख्ने, उनीहरुमा आत्मबल तथा आत्मविश्वासमा कमीका र्भको हिनताको भावले उनीहरु आफ्नो आन्तरिक तथा वाहिय दुवै प्रकारले आफूलाई विकास गर्न नसक्ने र जीवनमा पछाडि पर्ने डरलाग्दा नकारात्मक प्रभावहरु केवल स्त्रीहरुले मात्र भनएर पूरै मानव समाज, राज्य तथा मानवीयताले भोगीरहेको छ र अदृश्य रुपमा अपुरणीय क्षति बेहोर्दै आइरहेको छ । स्त्रीहरुलाई यसरी हिन भावले तोकिएका विविध दृष्टिकोणले तल्लो तथा कमसल पद तथा स्थानबाट माथि उठाएर उनीहरुको सबलिकरण गर्न सबैभन्दा प्रभावकारी भूमिका संस्थागत तहले खेल्न सक्छ र स्त्रीहरुको सबलिकरणमा महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ ।
(८)राज्य तह
प्राचीन अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान दुवैका शास्त्रीय अर्थ तथा परिभाषाहरुका अनुसार राज्य भनेको कुनै निश्चित भूगोल तथा क्षेत्र मात्र नभएर मानिसहरुको समुह तथा परिवार, समुदाय, समाज, समुदाय तथा सम्प्रदायहरुको सांगठनिक स्वरुप हो । हरेक राज्यमा संख्यात्मक दृष्टिकोणले प्रकृतिका जम्मा दुई जाति तथा प्रजाति स्त्री र पुरुषहरुको लगभग समान प्राकृतिक उपस्थिति रहेको हुन्छ तर विविध परिवन्दहरुले परिवार, समाज, राज्यमा स्त्री र पुरुषको गुणात्मक उपस्थितिमा भने भारी असन्तुलन र अव्यवस्था भएको देखिदै आइएको छ विश्वव्यापि रुपमा । प्राकृतिक नियम अनुसार कुनैपनि राज्यमा लिंग तथा लैंगिक दृष्टिकोणले स्त्री तथा पुरुष भन्ने भाव भन्दा माथि रहेर हरेक नागरिकको उत्तिकै अस्तित्व, महत्व, भूमिका तथा योगदान रहेको हुन्छ र यसका आधारमा राज्यले अनिवार्य रुपमा सबैको समान अधिकार हुन्छ भन्ने मान्यता अंगिकार गरिनुपर्ने हुन्छ तर वर्तमान समयमा यो अकाट्य प्राकृतिक मान्यता विश्वका अधिकांश देशहरुका राज्य तथा समाज संचालन गर्ने सिद्धान्त, नीति–नियम तथा कानूनका दस्तावेजहरुमा मात्र सीमित रहेको पाइन्छ । राज्यका यी सिद्धान्त, नीति–नियम तथा कानूनहरु व्यवहारिक रुपमा कार्यान्वित भएको पाइदैन, व्यवहारिक कार्यान्वयन अत्यन्तै फितलो तथा कमजोर रहेको देखिदै आइएको छ । राज्य तथा समाजको नीतिगत कार्यान्वयनको यस्तो कमजोर अवस्थाका नकारात्मकताहरुको प्रभाव सबैभन्दा बढि स्त्रीहरुको आन्तरिक र वाहिय विकास तथा उनीहरुको सबलिकरणमा पर्दै आइरहेका छ र स्त्रीहरु दोहोरो, तेहोरो रुपमा यस्तो अवस्थाको मार झेलिरहेका तथा खेपिरहेका छन् । पहिलो स्त्री भएको कारण, दोस्रो फरक सम्प्रदाय तथा फरक जातजातिका स्त्री भएका कारण र तेस्रो सबैको मन, मस्तिष्कमा जरा गाडेर बसेको विभेदपूर्ण मानसिकताका कारण । स्त्रीहरुलाई यस्तो कमजोर तथा निर्बल अवस्थाबाट माथि उठाएर उनीहरुको सबलिकरण गर्न सबैभन्दा बलियो र प्रभावकारी भूमिका राज्यस्तरबाट रहनु पर्दछ किनकी आफ्ना जनताहरुको सहजता र मानवीय विकास हेर्नु हरेक राज्यको पहिलो कर्तव्य तथा उत्तरदायित्व हो । यसकालागि राज्यका नीति, नियम, कानून, विभिन्न तह र तप्काहरुमा रहेका सबैप्रकारका त्रुटीपूर्ण व्यवहार, अभ्यास र गतिविधिहरुमा अनिवार्य रुपमा उचित परिवर्तन तथा परिमार्जन गरेर राज्यको तहबाट स्त्रीहरुको सबलिकरणमा प्रभावकारी पहलकदमि लिनु तथा योगदान पुर्याउनु अत्यावश्यक हुन्छ ।
(९)विश्व तह
विश्वमा झण्डै आठ अरव जनसंख्या, करिव २०० देश, धेरै प्रकारका धर्म तथा सम्प्रदाय र त्यसअनुसारका समुदाय, समाज, जातजाति, तिनका किसिम–किसिमका संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, रहनसहन, मूल्य–मान्यताहरुमा व्यापक विविधता रहदै आएको छ । समयक्रमसंगै विविधतामा अझ बढोत्तरी हुदै गैरहेको पनि छ तर विडम्वना नै भन्नुपर्छ कि विश्वभरिका प्राउ सबैजसो धर्म, सम्प्रदाय, समाज, संस्कार तथा संस्कृतिमा लिंगका आधारमा लैंगिक विभेद विद्यमान रहेको छ र विभेदको प्रताडना स्त्रीहरुमाथि बढि रहदै आएको पाइन्छ । खासगरि मासिनहरुको धर्म, सम्प्रदाय, समाज, संस्कार तथा संस्कृतिमा रहेका यस्ता विविधताहरुका कारण एउटा समुदायमा मान्य भएको उही विषय अर्को समुदायमा अमान्य सावित हुन्छ, एउटा समुदायमा महत्वपूर्ण तथा अपरिहार्य मान्दै आइएको उही विषय अर्कोमा सामान्य तथा अनावश्यक हुनसक्छ, अझ कतिपय अवस्थामा त असामाजिक, असांस्कृतिक र गैर कानूनी पनि हुनसक्छ । प्राकृतिक रुपमा हरेक व्यक्ति स्वतन्त्र छ, र आफ्नो समुदायमा चल्दै आएका संस्कार तथा संस्कृतिहरुको अनुशरण गर्न पनि य स्वतन्त्र छ । तर मानिसहरु आ–आफ्नो स्थानबाट सचेत रहनु आवश्यक हुन्छ कि आ–आफ्नो सम्प्रदाय तथा समुदायले अनुशरण गर्दै आइरहेका धार्मिक तथा साम्प्रदायिक संस्कार र संस्कृतिहरु मानवीय मूल्य मान्यतामा आधारित छन् कि छैनन्, कहींकतै संस्कार तथा संस्कृतिका नाममा कुसंस्कार तथा कुसंस्कृति पो हावी भैरहेको छ कि, यसका कारण समाज, परिवार, व्यक्तिहरु स्त्री तथा पुरुष दुवै अन्यायमा पो परिरहेका छन् कि, उनीहरुको नैसर्गिक अधिकार हनन् पो भैरहेको छ कि जस्ता अत्यन्तै समवेदनशील विषयहरुमा चिन्तन गर्नुपर्दछ किनकी संसारमा विभिन्नताका आधारमा जेजति विविधताहरु रहेका तथा भएका भएपनि मानव सभ्यतामा प्राकृतिक रुपमा जम्मा दुई वटा विविधता छन्– (१)स्त्री, र (२)पुरुष । अस्तित्व, प्रकृति तथा समाजमा स्त्री र पुरुष दुवैको महत्व र हैसियत बराबर छ किनकी कुनै एकको अनुपस्थितिमा अस्तित्व, प्रकृति तथा समाजका कुनै पनि गतिविधिहरु अगाडि बढ्न सक्दैनन् । यसकारण स्त्री र पुरुषमा को बढि महत्वपूर्ण या को कम महत्वपूर्ण तथा को ठूलो या को सानो भन्ने सवाल नै खडा हुनु हुदैन किनकी प्राकृतिक नियमका आधारमा सुष्टिको चक्रको निरन्तरताको दृष्टिकोणले लिंगका आधारमा लैंगिकता विभेदको कुनै औचित्य नै छैन, प्रकृतिले यस्तो प्रकारको विभेदलाई कुनै प्रकारको मान्यता नै दिदैन भने हामी मानिसहरु को हौं र प्रकृतिको नियमलाई नमान्ने स्वयं प्रकृतिकै अभिन्न अंश भइकनपनि ।
विभिन्न प्रकारका विविधताका वावजुद वर्तमान समयमा विश्वका कुनाकुनामा लैंगिक समानता र स्त्रीको सबलिकरणका आवाजहरु उठिरहेका छन् र व्यवहारिक रुपमा पनि धेरै उल्लेखनिय प्रयास र कामहरु हुदै आइरहेका छन् । स्त्री सबलिकरणको यो विश्वव्यापि अभियानमा हरेक व्यक्ति, परिवार, समाज, राज्यले आ–आफ्नो तवरबाट समर्थन र सहभागिता जनाएर व्यावहारिक रुपमा अगाडि बढाउनु अत्यावश्यक हुन्छ । एक–एक मिलेर नै समग्र बन्ने हो, व्यक्ति, परिवार, सकाज, राज्य, विश्व समाज सबैले यो अभियानमा साथ दियौं भने विश्व तहबाट स्त्री सबलिकरणको महाअभियानलाई सजिलै अगाडि बढाउन सकिन्छ । यसकालागि राज्यको तहबाट व्यक्तिगत, पारिवारिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, राजनीतिक सबै क्षेत्रहरुमा स्त्रीको पहुच बढाएर तथा स्त्री सबलिकरण गर्नकालागि कुनैपनि धर्म, सम्प्रदाय, समाज, संस्कार तथा संस्कृतिका स्त्री यस्तो हुनुपर्छ, स्त्रीले यसो गर्नुपर्छ, पुरुष यस्तो हुनुपर्छ, पुरुषले यसो गर्नुपर्छ भन्ने विविध प्रकारका विभेदित मूल्य–मान्यताहरु तर्फ आफूलाई केन्द्रिन नगरि मानवीयताको मुल मान्यतामा केन्द्रित मानवीय धर्ममा आधारित भएर स्त्री र पुरुषलाई समानताको हक प्रदान गर्दै समान व्यवहार र समान अवसरहरु प्रदान गर्नुपर्दछ विश्व समाजको तहबाटै ।
(१०)प्राकृतिक तह
प्रकृति संधै निश्पक्ष हुन्छ, प्रकृतिले सृृष्टि संचालनका लागि सबैप्रकारका प्राणी र वनस्पतिहरुमा दुई प्रकरका प्रजातिका रुपमा सृष्टि गर्यो– (१)स्त्रीलिंग, र (२)पुलिंग तर प्रकृतिले स्त्रीलिंग र पुलिंग भनेर नामाकरण गरेको छैन । स्त्रीलिंग र पुलिंगमा कुन प्रजाति बढि महत्वपूर्ण र कुन प्रजाति कम महत्वपूर्ण तथा कुन प्रजाति ठूलो र कुन प्रजाति सानो भनेर प्रकृतिले निर्धारण गरेको होइन । मानव सभ्यताको विकास हुदैजाने क्रममा मानव समाजले नै स्त्रीलिंग र पुलिंगहरुलाई छुट्याउन र बुझ्न सहज होस् भन्ने दृष्टिकोणले एकप्रकारका विशेषताहरु भएको प्रजातिलाई स्त्रीलिंग नामाकरण गर्यो र अर्काप्रकारका विशेषताहरु भएको प्रजातिलाई पुलिंग नामाकरण गर्यो । मानव समाजले निर्धारण गरेको यसप्रकारको सामाजिक ज्ञान अनुसार हरेक प्राणी तथा वनस्पतिका स्त्रीलिंग प्रजातिहरुले सन्तान प्रजनन् तथा उत्पादन गर्दछन् र सन्तान प्रजनन् तथा उत्पादन प्रक्रियामा पुलिंग प्रजातिले बिज प्रदान गर्दछन् । स्त्रीलिंग र पुलिंग अर्थात स्त्री र पुरुषको सन्दर्भमा अकाट् प्राकृतिक नियमको ज्ञान यत्तिमात्र हो । यो भन्दा बढि ज्ञान तथा कु–ज्ञानका परिणामहरु विभिन्न कालखण्डदेखि मानव सभ्यता तथा समाजले झेल्दै तथा भोग्दै आइरहेको छ स्त्रीलिंग र पुलिंगको सन्दर्भमा लिंग(प्राकृतिक) तथा लैंगिकता(सामाजिक) विभेदका नाममा यी सबै अप्राकृतिक र आ–आफ्नो अनुकुलता अनुसार शक्तिशाली वर्गले शक्तिहिन तथा कमजोर वर्गलाई आफ्नो नियन्त्रणमा राख्न तथा वसमा लिन धर्म तथा सम्प्रदाय, संस्कार, संस्कृति, परम्परा तथा रितिरिवाज आदि विभिन्न प्राकृतिक दृष्टिकोणले अमान्य बहानाहरुको आडमा बनाइएका बनावटी अप्राकृतिक सामाजिक नीति–नियमहरु हुन् । यसकारण यस्ता अप्राकृतिक तथा अमान्य साम्प्रदायिक तथा सामाजिक मूल्य–मान्यताहरुलाई तोडेर व्यक्तिगत, पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक सबै क्षेत्रहरुमा स्त्रीको पहुच बढाएर उनीहरुको सबलिकरण गर्न कुनैपनि नीति, नियम, कानून, मूल्य, मान्यताहरुको वकालत र अनुशरण गरेर स्त्री यस्तो हुनुपर्छ, स्त्रीले यसो गर्नुपर्छ, पुरुष यस्तो हुनुपर्छ, पुरुषले यसो गर्नुपर्छ भन्ने तर्फ आफूलाई केन्द्रिन नगरि सबैले धर्म तथा कर्तव्यनिष्ठ भएर प्राकृतिक नियमलाई अनुशरण गर्नु पर्दछ किनकी जहिले पनि मनुष्य प्रजाति सबै भन्दा माथि हुन्छ कुनैपनि नीति, नियम, कानून, मूल्य, मान्यताहरु, सम्प्रदाय, संस्कार, संस्कृति, जाजजाति भन्दा चाहे स्त्री होस् या पुरुष उ सिर्फ मनुष्य हो र प्राकृतिक नियमको सिद्धान्त अनुसार सबैप्रति समान व्यवहार गरिनु पर्दछ र सबैलाई समान अवसार प्रदान गरिनु पर्दछ । यसकालागि हरेक मानिसले प्राकृतिक तहबाट स्त्री सबलिकरणका लागि समान दृष्टिकोण राखेर सोच्नु पर्दछ र सबैको विकासको भाव राखेर अगाडि बढ्नु पर्दछ ।
No comments:
Post a Comment