लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
कथा 
‘फूललाई सोधें कहाँ गयो कता गयो भमरा...’
मेरा वास्तविक मित्रहरु म स्वयं र फूलविरुवाहरु हुन् । मेरो फुर्सदको अधिकांश समय आफैं र फूलविरुवाहरुसंग बित्ने गर्छ, एकप्रकारले म आफूले आफूलाई माली नै भन्न रुचाउछु । म आफ्नै मस्तीमा मोबाइलमा स्वर साम्राज्ञी अरुणा लामाको कालजयि गीत ‘फूललाई सोधें कहाँ गयो कता गयो भमरा...’ घन्काएर कौशीमा हुर्काइएका फराकिला गमलाहरुका फूलविरुवाहरु गोड्दै तोरीको पीनामल हालिरहेको थिएं । कालजयि गीतको आवाज बन्द गराएर फोनको रींगटोन बज्यो, काम गर्दै गरेकोले हात खालि थिएनन्, फोन नउठाउँकी जस्तो लाग्यो तर स्क्रिनमा पन्थी कैलाश नाम देखेपछि उठाउने विचार गरें किनकी उनले अष्ट्रेलिया फर्कने बेलामा म सकेसम्म आउने प्रयास गुर्छु नभए फोन गर्छु भनेका थिए । फोन उठाएं, पर्सि अष्ट्रेलिया फर्कदै छु, तिमी फुर्सद छौ भने आज आउँकी भनेर सोधे । मैले अर्कोतिर जानुपर्ने कामलाई अर्कोदिन सारेर उनलाई समय दिने विचार गरें र उनलाई आउन आग्रह गरें । दिउसो एक बजे उनी मकहाँ आइपुगे, हामी कफी पिउदै कौशीमा फूलविरुवाहरुसंगै बस्यौं केहीबेर । कैलाश र मैले अघिल्लो साता निस्प्रयास मौन साधना र साधनाका क्रममा भएका अनुभव तथा अनुभूतिहरुको बारेमा संवाद गरेका थियौं र अर्को बसाइमा संवादलाई फेरी यही विषयबाट निरन्तरता दिने सहमति भए अनुसार हामीले पुनः मौन साधनाकै विषयमा संवाद शुरु गर्यौं । यो बसाइमा उनले मौन साधनाको सैद्धान्तिक तथा व्यवहारिक चुरोबारे आ–आफ्नो बुझाइ, धारणा तथा अनुभव विस्तारमा विश्लेषण गरौं र संवादको अन्तिममा म विपासना मौन साधनामा भएका मेरा केही अनुभव तथा अनुभूतिहरुबारे बताउनेछु भने । मैले आफ्नो निस्प्रयास तथा स्वघटित मौन साधनाको क्रममा भएका आफ्ना अनुभव तथा अनुभूतिहरु अझ गहिरोसंग बुझाउने उद्देश्यले छेउमै रहेको पिटुनिय फूलसंगको मौन संवादको जिकिर गर्दै वास्तविक मौन तथा मौन साधना भनेको के रहेछ र यसको सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे आफ्नो बुझाईमा आए अनुसार बताउन प्रारम्भ गरें । यसपटक उनले मोबाइलमा रेकर्ड गर्ने विचार गरेका रहेछन्, रेकर्ड खोले र मलाई बोल्न प्रारम्भ गर्ने संकेत दिए हातले । 
मैले अघि मोबाइलमा बजिरहेको उनको फोन आएको कारणले रोकिएको गीत फेरी बजाएं र कौशीमा ढकमक्क फूलेको पिटुनिया फूलतिर इशारा गर्दै कैलाशलाई सोधें,
“जस्तोसुकै घाम–पानी, हुरी–वतासमा पनि सदा एकै ठाउँमा तुपचाप बसिरहने यी फूलविरुवाहरु देख्दा कस्तो लाग्छ तिमीलाई कैलाश ?”
“विचरा यी निशव्द जड प्राणीहरु चुपचाप सबै सहेर बसिरहन्छन्, न आफू चल्न सक्छन्, न आफुले बोलेर कसैसंग मद्धत माग्न सक्छन् !”
“यो तिम्रो बुझाइ हो कैलाश, फूलविरुवाको सन्दर्भमा मेरो बेग्लै बुझाई रहेको छ । यस सन्दर्भमा मेरो बुझाई म भन्नेछु, त्यसअघि यो बजिरहेको गीतको स्थाइ तथा मुखडा सुन हैत, ‘फूललाई सोधें कहाँ गयो कता गयो भमरा...’ । स्रष्टाले किन यस्तो भावमा गीतका शव्दहरु लेखे होलान, के लाग्छ तिमीलाई... ?”
“त्यो त गीत हो नि, गीतमा त जे लेखेपनि भैहाल्छ नि... !”
“तिमीले भनेको सही हुनपनि सक्ला अरु विषयहरुसंग सम्बन्धित गीतहरुमा तर यो गीतमा भएका शव्दका भावहरुमा सतप्रतिशत सत्यता छ । अहिले भर्खर मैले यो पिटुनिया फुललाई एकछिन अघि तिम्रो रसमा रमाइरहेको मौरी कता गयो भनेर सोधें भने यसले बताइदिन्छ मलाई उक्त मौरी कता गयो भनेर र त्यति मात्र होइन यसले मलाई पानी पुगेन, मल पुगेन, एकछिन हामीसंग पनि बस, हाम्रो कुरा सुन समेत भन्छ... !”
“हाहाहा... ओहो ! तिमी पनि आकाशमा उड्ने गजव प्रकारको साहित्यकार भैसकिछौ श्रीशा !”
कैलाशले मेरो कुरामा विश्वास गरेनन्, गरुन पनि कसरी त, यो हृदयको सम्वेदनशिलताको गहन विषय हो जुन हरकोहीमा कहाँ घटित हुन्छ र ! म हल्का मुस्कुराएं मात्र र उनलाई भनें, 
“मुखबाट प्रष्फुटन हुने शव्द मात्र भाषा होइन कैलाश, मौन अझ शक्तिशाली भाषा हो, जो अन्तरहृदयमा लाउड स्पिकर सरह गुञ्जिन्छ । तिमीले शव्दहरुमा बोलेको भाषा मेरा कानमा गुञ्जिन्छ तर यी फूलविरुवाहरुले बोलेको मौनको भाषा तिमीले बोलेको भन्दा ठूलो आवाजमा मेरो अन्तरहृदयमा गुञ्जिन्छ । यो सत्य हो कैलाश, यिनीहरु मसंग पानी माग्छन, खाना माग्छन्, सेवा-सुसारको आश राख्छन्, आफ्ना कुरा सुनाउन उत्सुक हुन्छन्, मसंग मित्रताको अपेक्षा गर्दछन्... । मैले तिमीलाई अघिल्लो बसाइको संवादमा भनेको थिएं, मेरो निस्प्रयास मौन साधनाको क्रममा मसंग प्राणी, वनस्पति, पदार्थ तथा वस्तुहरु सबैले संवाद गरे भनेर, बिर्सियौ र तिमीले... ?”
“अँ, भनेकी थियौ, तर यो पिटुनिया... !?”
“हो, पिटुनिया लगायत सबै वनस्पतिहरु, पानीको लेउदेखि लिएर भिमकाय सख्वा, बर, पिपलका बोट तथा वृक्षहरु सबैले संवाद गर्छन र आ–आफ्ना भाव प्रकट गर्छन मौनको भाषामा । शव्दको भाषाबाट गरिने अभिव्यक्ति भन्दा मौनको भाषाबाट गरिने अभिव्यक्ति अझ सशक्त र स्पष्ट हुन्छ कैलाश । अध्यात्ममा रुचि रहेछ तिमीलाई, केही सिद्ध योगीहरुको अध्यात्म साधनाका अनुभव तथा अनुभूतिहरु समेटिएका वहाँहरुको जीवनी पढ्यौ भने यसबारे सबै जानकारी पाउन सक्छौ तिमीले । पहिलो चरणमा म तिमीलाई श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तक पढ्न सुझाव र आग्रह गर्छु, सबैभन्दा पहिले अध्याय आठ पढ, त्यस अध्यायमा सम्वेदनशील हृदय भएका मनुष्य तथा सिद्ध योगीहरुले फूलविरुवा र वस्तु तथा पदार्थहरुसंग पनि दोहोरो संवाद गर्न सक्छन् भन्नेबारे वैज्ञानिक तवरले पुष्टि गर्दै उल्लेख गरिएको छ । सनातन अध्यात्म दर्शनको प्रमुख विषय वेदान्त दर्शनका अनुसार, ‘सबै चैतन्य छन्’ अर्थात ब्रम्हाण्डमा स्थित सबै प्राणी, वनस्पति र पदार्थहरु फरक–फरक प्रकारले जीवित तथा चेतनशील छन् र उनीहरुको चेनताको भाषा मौन हो, मौनमै उनीहरु आफ्ना भावहरु अरु समक्ष व्यक्त तथा सम्प्रेसित गर्दछन् । तसर्थ मौन निशव्द, शुन्य तथा खालिपन होइन, मौन सशक्त भाषा हो र पूर्ण मात्र होइन भरिपूर्ण तथा सम्पूर्ण हो । मेरो बुझाइ, अनुभव र अनुभूति अनुसार मौन के हो भन्ने सन्दर्भ यहींबाट उठान हुने भएकोले हाम्रो संवादको मूल विषयमा प्रवेश गर्नुपूर्व मैले तिमीलाई यति जानकारी दिन आवश्यक ठानें । अव यसपछि शुरु गर्छु मौन के हो र यसका सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुबारे बताउन, ध्यानपूर्वक सुन कृपया...”  
(१) मौन के हो ?
एउटा अत्यन्तै लोकप्रिय भनाइ रहदै आएको छ, ‘शव्द शक्ति हो र निशव्द तथा मौन महाशक्ति हो’ । तर निशव्द तथा मौन किन र कसरी महाशक्ति हो भन्ने विषय सबैको बुझाइमा सहजै आउन सक्दैन किनकी यसकालागि मनुष्यको अन्तरहृदयमा गहन अवस्था घटित भएको हुनुपर्दछ । निशव्द तथा मौनले मनुष्यको सांसारिक जीवनमा र पारमार्थिक जीवनमा महत्वपूर्ण सकारात्मक परिवर्तन ल्याउछ । निशव्द तथा मौनले मनुष्यको सांसारिक जीवनमा सहजता, सरलता, सफलता ल्याएर जीवनमा सोचे अनुरुपको सकारात्मक परिवर्तन ल्याएर आफ्नो अक्ष्य अनुरुप विकसित जीवन जीउन मद्धत गर्दछ । त्यस्तै, निशव्द तथा मौनले मनुष्यको आत्मा अर्थात चेतनाको  विकास गरेर पारमार्थिक जीवनमा सहजता, सरलता, सफलता ल्याएर मोक्षमा उपलव्ध हुन मद्धत गर्दछ । सामान्यतया भौतिक जगतमा मौनलाई निशव्द, खालिपन तथा शुन्यताको रुपमा परिभाषित गर्दै आइएको पाइन्छ तर आध्यात्मिक जगतमा मौनलाई संवादको सशक्त वाहक र पूर्णता मात्र नभएर सम्पूर्णताका रुपमा परिभाषित गरिएको छ किनकी प्रकृतिको अकाट्य नियम अनुसार केही पनि चिज कहिल्यै पनि खालि रहदैन, पूर्ण तथा भरिपूर्ण नै रहन्छ दृश्य तथा अदृश्य रुपमा । सनातन अध्यात्म दर्शनका अनुसार जुन ठाउँ खालि हुन्छ त्यो ठाउँ पुरानो भन्दा अझ राम्रो विषय तथा सशक्त उर्जाले भरिन्छ । ध्यान तथा मौन साधनाका कारण खालि तथा शुन्य भएको मनुष्यको मन तथा हृदयमा परमात्मा स्वयं पदार्पण हुन्छ र मनुष्य शुन्यताबाट पूर्णता र पूर्णताबाट सम्पूर्णतातर्फ उन्मुख हुन्छ । यो अवस्थाले मनुष्यको सांसारिक जीवन र पारमार्थिक जीवनमा पूर्णताको प्राप्ति हुन्छ । तसर्थ मौन शुन्यता होइन पूर्णता हो, अझ भनौं, मौनबाट सिर्जित भएको शुन्यतामा सांसारिक र पारमार्थिक दुवै प्रकारका उपलव्धिहरु हासिल हुने भएकोले शुन्यता नै पूर्णता हो । यही कारणले सनातन शास्त्रहरुमा आप्त वचन ‘मौनं सर्वार्थ साधनं’ अर्थात मौननै सबैप्रकारको साधना हो भनेर उल्लेख गरिएको हो । यही मान्यतालाई शिरोपर गर्दै संसारभरिका सबै धर्म तथा सम्प्रदायहरु र सबै सिद्ध पुरुषहरुले मौन साधनालाई विशेष महत्व र प्राथमिकता प्रदान गर्दै आएका छन् ।
आमरुपमा प्राय सबैले बुझ्ने गरेको ‘मौन’को अर्थ चुपचाप रहेको अवस्था हो तर अध्यात्म विज्ञानका अनुसार मौनको अर्थ तथा परिभाषा अत्यन्तै वृहद र गहन रहेको छ । मौन दुई प्रकारका हुन्छन्– (१)वाहिय मौन, र (२)आन्तरिक मौन । सामान्य परिभाषा अनुसार, मुखबाट कुनै शव्द ननिकाल्नु, नबोल्नु तथा कुनै प्रकारको इशारा तथा हाउभाउ प्रकट नगर्नु र शरीरलाई हलनचलन नगराइकन एक स्थानमा एकै अवस्थामा स्थिर भएर रहनु वाहिय मौन हो । मनुष्यको मनमा चल्ने अतिविचारहरु र भावमा चल्ने अनियन्त्रित भावनाहरुलाई न्यून गर्नु तथा शुन्य अवस्थामा पुर्याएर भित्रबाट आफू स्थिर रहनु आन्तरिक मौन हो । वाहिय मौनको अवस्थालाई आफू तथा अरुले सहजै महसुस तथा अनुभव गर्न सकिन्छ तर आन्तरिक मौनको अवस्थालाई आफू स्वयंमले मात्र महसुस तथा अनुभव गर्न सकिन्छ अरुले गर्न सक्दैनन् । आन्तरिक मौन नै वास्तविक मौन हो किनकी मौन बोलिने शव्द र शरीरको हाउभाउ बन्द गर्नु मात्र होइन । सनातन अध्यात्म साधना गरेका अनुभवी तथा सिद्ध महापुरुषहरुका अनुसार यस्तो प्रकारको वाहिय मौन अध्यात्म साधनाको केवल १० प्रतिशत भाग मात्र हो । मौनको ९० प्रतिशत भाग त विचारहरुको समुह मन र भावनाहरुको समुह भावको स्थिर अवस्था हो । मनुष्यको आध्यात्मिक साधनाको प्रगतिमा वाहिय मौनको योगदान १० प्रतिशत मात्र रहेको हुन्छ र आन्तरिक मौनको योगदान ९० प्रतिशत रहेको हुन्छ । मनुष्यको जीवनमा हलचल, उतारचढाव तथा उथलपुथल ल्याउने मनका अति विचार र भावका अनियन्त्रित भावनाहरुले नै हो खासगरि मानवीय विकार तथा क्लेशयुक्त विचार तथा भावहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, तुलना, अहंकार आदि हुन् । अहंकार अर्थात म, मेरो, मलाई, मैले भन्ने भाव सबैभन्दा सबैभन्दा खरतरनाक र मूल बाधकको मनुष्यको आध्यात्मिक साधनाको विकासमा । मौनले यस्ता मानवीय विकार तथा क्लेशहरुलाई पगाल्छ र साधकको सौसारिक तथा पारमार्थिक जीवनमा सहजता, सरलता, समृद्धि, शान्ति, आनन्द ल्याउछ । 
विचार शुन्यता तथा भाव शुन्यता भनेको मनका अतिविचार तथा भावका अनियन्त्रित भावनाहरुबाट मुक्तताको अवस्था हो । विचार तथा भाव शुन्यताको अवस्था भनेको विचारको अभाव होइन, बेहोसी अर्थात आफूले थाहा नपाइकन मनमा चलिरहने अनियन्त्रित अतिविचार तथा भावनाहरु माथि नियन्त्रण गर्नसक्नु  र आफूले चाहेका विषयहरुमा मन तथा भावमा विचार, कल्पना तथा चिन्तन् गर्नसक्ने अवस्था हासिल गर्नु विचार तथा भाव शुन्यताको अवस्था हो । विचार तथा भाव शुन्यताको एकप्रकारको धारा हुन्छ यसलाई बेहोसीमा चल्ने अतिविचार तथा अनियन्त्रित भावनाहरुले खण्डित गरिदिन्छन् र मनुष्य आफ्नो जीवनको लक्ष्यमा चाहेजति अगाडि बढ्न सक्दैन । मौन आन्तरिक रुपमा मनमा निरन्तर चलिरहने अतिविचार र भावमा चलिरहने अनियन्त्रित भावनाहरुको हलचलहरुबाट मुक्ति दिलाउने सबैभन्दा भरपर्दो साधन तथा उपकरण हो । मनुष्य पुर्णरुपमा विचार तथा भाव शुन्य भएपछि मात्र प्रारम्भिक चरणमा प्रयास मौन र विस्तारै निस्प्रयास मौन घटित हुन्छ । मनुष्यमा विचार तथा भाव शुन्यताको अवस्था घटित हुन प्रक्रियागत किसिमले क्रमशः एकान्त पन, एकाग्रता, धारणा, ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यास गर्दै जानुपर्दछ र यो अवस्थामा विस्तारै क्रमिक रुपमा आन्तरिक मौन तथा वास्तविक मौनको पृष्ठभूमि तयार हुदै जान्छ । 
मौनको सन्दर्भमा आप्त पुरुषका आप्त वाणीहरु
महर्षि अष्टाबक्रले भन्नुभएको छ, “योगी तथा साधकहरुका लागि मौन साधना आध्यात्मिक उन्नतिको अत्यन्तै महत्वपूर्ण र प्रमुख साधन हो । मौन साधनाले मनुष्यको जीवनलाई सांसारिकताबाट माथि उठाएर आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान, परमसत्यको ज्ञानमा स्थित गरिदिन्छ ।” 
भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नुभएको छ, “जो मनुष्य मौनको शक्तिलाई बुझेर आफ्नो जीवनमा त्यसको अनुशरण गर्दछ, उ आत्मज्ञानको नजिक हुन्छ ।”    
भगवान बुद्धले भन्नु भएको छ, “मौनले मनुष्यको सारा दुःख, पिडा, तनाव, चिन्ता तुरुन्तै समाधान गरिदिन्छ । मौन साधेर जीवनलाई आफूले चाहे अनुसार सकारात्मक दिशा प्रदान गर्न तथा बदल्न सकिन्छ ।” भगवान बुद्ध निरन्तर छ वर्ष एकान्त जंगलमा वोधिवृक्षमूनि ध्यानस्थ भएर निर्वाणमा उपलव्ध हुनुभएको थियो । भगवान बुद्धले आफ्ना शिष्यहरुलाई अधिकांश समय मौन रहन प्रेरित गर्नुहुन्थ्यो र आफैंले मौन साधना पनि गराउनु हुन्थ्यो ।
भगवान महावीरले भन्नुभएको छ, “मनुष्यको वास्तविक शक्ति शव्दमा छैन, मौनमा छ ।” भगवान महावीर निरन्तर १२ वर्ष मौन रहनु भएको थियो ।” भगवान महावीरले आफ्ना शिष्यहरुलाई अधिकांश समय मौन रहन प्रेरित गर्नुहुन्थ्यो र आफैंले मौन साधना पनि गराउनु हुन्थ्यो ।
अर्थशास्त्री तथा कुटनीतिज्ञ चाणक्यले भन्नुभएको छ, “मौन रहने व्यक्तिलाई कमजोर ठान्नु हुदैन किनकी वास्तविकतामा मौनता नै मनुष्यको शक्तिशाली हतियार तथा महाशक्ति हो । जव उ बोल्न थाल्छ तव अरुको बोलि बन्द हुन्छ ।” 
स्वामी विवेकानन्दले भन्नुभएको छ, “ज्यादा बोल्ने मनुष्यले आफ्नो उर्जा बरबाद गर्दछन्, मौनबाट मनुष्यको वास्तविक शक्ति प्रकट हुन्छ । शान्त मस्तिष्क सबैभन्दा बढि प्रभावशाली र शत्तिलशाली हुन्छ । मन र भावनामा नियन्त्रण राख्न मौन साधना सबैभन्दा उत्कृष्ट साधन तथा उपाय हो । मौन रहदा मनुष्यको मस्तिष्कमा उसको जीवन भोगाइका स्मृतिहरु संग्रहीत रहने क्षेत्रको विकास हुन्छ यसकारण उसको स्मरण क्षमता प्रभावकारी हुन्छ ।” 
सन्त राजनीतिज्ञ महात्मा गान्धीले भन्नु भएको छ, “मौनले मनुष्यको आत्मनियन्त्रण, आत्मसंयमता, आत्म निररिक्षण, आत्म विश्लेषण गर्ने क्षमता गहन रुपमा बढ्छ । यस्तो अवस्थामा मनुष्यले आफ्ना कमीकमजोरीहरु छुट्याउन र सूधार गर्न सक्छ ।” सदा अहिंसा प्रेमी रहनु भएका महात्मा गान्धीले जीवनभर मौनलाई प्राथमिकता दिनुभयो, आफू हरेक सोमबार मौन व्रत राख्नुहुन्थ्यो र सबैलाई आफ्नो दैनिक जीवनमा सकेसम्म कम बोल्न तथा मौनता अपनाउन प्रेरित गर्नुहुन्थ्यो । 
युग ऋषि ओशो रजनीशले भन्नु भएको छ, “मौनको शुन्यता र पूर्णताबाट गुञ्जिएको ध्वनि सत्य र प्रामाणिक हुन्छ । मौनबाट मनुष्यको जीवनमा महाशक्ति, सत्य, शितलता, संगीत, वज हासिल हुन्छ र परनिर्भरता छुट्छ । वाणी तथा शव्दबाट पार भएर मौनको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका शिद्ध पुरुषहरुको वाणी शास्त्र हो र उ आफू शास्ता हो । यस्तो महापुरुष आप्त हुन्छ र उबाट वेदको पूनरजन्म हुन थाल्छ ।”  अध्यात्म साधनाका क्रममा ओशो रजनीश छ महिनासम्म मौन रहनु भयो ।
अश्वेत राजनीतिज्ञ अमेरीकी राष्ट्रपति अब्रहम लिंकनले भन्नुभएको छ, “आफूबाट राम्रो तथा सहि विचार, भाव, शव्द, वचन, प्रक्षेपण गर्न एक घण्टा समय छ भने ५५ मिनेट विलकुल मौन भएर आफ्नो विषयबारे खोज्नु, सोच्नु, सुन्नु पर्दछ र ५५ मिनेसम्म आफूले संग्रहित विषय सम्वन्धित ज्ञान ५ मिनेटमा बोल्नु पर्दछ । मौनको गहिराइको खोजतलासबाट आएको यस्तो बोलि निकै प्रभावशाली, ओजिलो र प्रेरणादायि हुन्छ ।”
(२) मौन किन आवश्यक छ ?
होहल्लाको जीवनबाट वाहिर आएर शान्त जीवन जीउन 
आजको संसार अत्यन्तै हल्लाखल्लाले व्याप्त छ । भोग बिलास, मोबाइल, टि.भि. सामाजिक संजाल, तर्क, बहस सबै अवस्थाहरुले मनुष्यको शरीर असन्तुलित, मन चन्चल, भाव अशान्त र आत्मा अर्थात चेतनालाई भ्रमित गरिरहेका छन् । होहल्लाले व्याप्त वाहिरी संसारमै हराएको छ जसको नकारात्मक परिणाम स्वरुप मनुष्य आफू हुनुबाट तथा आफ्नो आत्मा अर्थात चेतनाबाट झनझन दुर हुदै तथा आफूबाट टुट्दै गैरहेकाछन् र विविध प्रकारका अस्वस्थता, समस्या तथा चुनौतिहरुले घेरिएको तनाव र चिन्ताग्रस्त अवस्थामा जीवन जीरहेको छ । सांसारिक जीवनको भोग, अपेक्षा, देखासेखि, तुलना, प्रतिस्पर्धा मनुष्य हराउनुका प्रमुख कारणहरु बनेका छन् । उनीहरु दैनिक रुपमा हजारौंको विचमा छन् तर पनि एक्लो, पिडा, तनाव, चिन्ता महसुस गर्छन् । वैज्ञानिक पास्कल भन्छन्, मनुष्यको ९० प्रतिशत भन्दा बढि पिडा, तनाव, चिन्ता, एक्लोपन, समस्या तथा चुनौतिहरु उसको बोली, शव्द, प्रतिक्रिया, इशारा, हाउभाउ आदि व्यवहारका कारणहरुले हुने गर्दछन् । यी सबै प्रकारका असहजताहरुको उचित समाधान मौनले गर्छ यसकारण हरेक मनुष्यकालागि मौन आवश्यक छ ।
एक्लोपन तथा एकान्त अवस्थाको सदुपयोग गर्न
संसारको होहल्लाले पिडित भएको कारण मनुष्य भिडभाडको विचमा पनि आफूलाई एक्लो भएको महसुस गर्दछ । एक्लोपन संधै नराम्रो होइन, यदि मनुष्य शारीरिक, मानसिक  तथा भावनात्मक रुपले स्वस्थ छ भने एक्लोपन विकसित सांसारिक र पारमार्थिक जीवन जीउनकालागि अमूल्य अवसर तथा भरपर्दो उपकरण बनन सम्छ । तर आजका मनुष्यहरु अज्ञानवस एक्लोपनलाई जीवनको गाली, पाप, श्राप, असहजता, समस्था तथा चुनौति भन्ने ठान्छदन्, यसको परिपुर्ति हुने आशले बारबार भिडतिरै फर्किन प्रयास गरिरहनछन् र भिडसंग रमाउने प्रयत्न गरिरहन्छन् र आफैंले आफूलाई आफूबाट दुर गरिरहन्छन् । तर एक्लोपनले एकान्तको माहोल बनाउछ, एकान्तले धारणा, ध्यान तथा मौनको माहोल बनाउछ र मौनले उसले जीवनमा अपेक्षा गरेका तथा खोजेका सांसारिक र पारमार्थिक सबै कुराहरु हासिल गर्न सकारात्मक किसिमले मद्धत गर्दछ भन्ने उसलाई थाहा नै छैन । पहिलो त मनुष्य ध्यान तथा मौन साधनामा बस्यो भने उसले क्रमशः सांसारिक र पारमार्थिक लगायत भेरै प्रकारका उपलव्धिहरु हासिल गर्नसक्छ, र अनेक प्रकारका अस्वस्तथा, समस्या, चुनौति तथा अप्ठ्याराहरुबाट मुक्ति पाउछ  । मौन नै मनुष्यको वास्तविक साथी र गंभिर शुभचिन्तक हो । उसले मौनमा वास्तविक आफू अर्थात आत्मा अर्थात ठूलो ‘म’ र आफ्नो मूलस्वरुप परमात्मालाई समेत भेट्छ । मनुष्यले एक्लो हुनु, एकान्त हुनु तथा मौन हुनुलाई खालिपन, शुन्यपन भन्ने ठान्दछ तर मौन कहिल्यै शुन्य तथा खालि हुदैन, यो संधै भरि तथा पुर्णताले लादिएको हुन्छ । प्रकृतिको नियम छ एक कुरा खालि हुनेवित्तिकै अर्को कुराले त्यो ठाउँ भरिन्छ । गिलासमा पानी सकियो भने त्यो स्थान हावाले भरिन्छ । ठिक त्यस्तै मनुष्यको मन वाहिरी सांसारिक विषय, अपेक्षा, सम्वन्धहरुबाट खालि भयो भने त्यो खालि तथा शून्य भएको मौन क्षेत्रमा अस्तित्व तथा परमात्माको महाउर्जा, महाशक्ति ब्रम्हाण्डिय उर्जाले भरिन्छ, तसर्थ हरेक मनुष्यकालागि मौन आवश्यक छ ।
वैज्ञानिकतालाई आत्मसाथ गर्दै जीवनको विकास गर्न
वर्तमान समयमा आधूनिक चिकित्सा तथा मनोचिकित्साका उपचार पद्धतिहरुमा चिकित्सकहरु, मनोविज्ञहरु, करियर काउनसेलिगंका विशेषज्ञहरुले पनि मनुष्यमा शारीरिक सन्तुलन, मानसिक एकाग्रता, भावनात्मक शान्ति, चेतनात्मक जागरुकता, जीवनमा सकारात्मकता बढाउन, आफ्नो प्रतिभा, क्षमता, सिर्जनशीलता, नवीनताको विकास गर्न, स्मरण शक्ति बढाउन आदिकालागि ध्यान साधना तथा मौन साधना गर्ने सल्लाह सुझाव दिदै आइरहेका छन् । उनीहरुका अनुसार मनुष्यको स्थुल शरीरको सबैभन्दा शक्तिशाली हिस्सा मस्तिष्क हो र सुक्ष्म शरीरको सबैभन्दा शक्तिशाली हिस्सा मन हो । ध्यान तथा मौन साधनाले मस्तिष्क र मन दुबै शक्तिशाली हिस्सालाई उर्जा प्रदान गरेर स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यववस्थित रहन मद्धत गर्दछ । शरीरका मांसपेशीहरुलाई योगीक साधना तथा व्यायामका प्रयोगात्मक अभ्यासहरुले तनदुरुस्ती प्रदान गरेजस्तै मस्तिष्क र मनका प्रणालीहरुलाई ध्यान तथा मौन साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुले तनदुरुस्ती प्रदान गर्दछन् । मौन मस्तिष्कको व्यायाम हो र जान्ने तथा अनुभवीहरुका अनुसार मस्तिष्कको वास्तविक भोजन नै ध्यान तथा मौन हो । ध्यान तथा मौनको सबैभन्दा शक्तिशाली सकारात्मक प्रभाव मनुष्यको मस्तिष्कको स्नायु प्रणालीमा, मनका विचारहरुमा, भावका भावनाहरुमा र चेतनाको जागरुकतामा पर्ने गर्दछ । रहस्यको कुरा यो छ कि आजसम्मका कुनैपनि वैज्ञानिक खोज तथा अनुसन्धानहरुले मनुष्यको मस्तिष्क, मन, भाव र चेतनाको क्षमता कति छ, गहिराइ तथा दायरा कति छ र यसको रहस्य के हो भन्ने तथ्य पत्ता लगाउन सकेका छैनन् । यसकारण आफ्नो मस्तिष्क, मन, भाव र चेतनाको क्षमता, गहिराइ, दायरा तथा रहस्य आफू स्वयंले जान्नकालागि ध्यान तथा मौन साधना आवश्यक छ । मौनको अवस्थामा मनुष्य आफूतिर फर्कन्छ, आफैंसंग आन्तरिक संवाद तथा वातचित गर्न प्रारम्भ गर्दछ र आफ्नो मस्तिष्क, मन, भाव र चेतनाको क्षमता, गहिराइ, दायरा तथा रहस्य आफैंले जान्ने अवसर प्राप्त गर्दछ । आन्तरिक संवादबाट मनुष्यलाई नयाँ प्रकारको मानसिक उर्जा प्राप्त हुन्छ । 
प्रामाणिक आध्यात्मिक लाभ हासिल गरेर जीवनको विकास गर्न
मौन साधनाले मनुष्यको जीवनमा सांसारिक र पारमार्थिक रुपमा अत्यन्तै महत्वपूर्ण र अत्यन्तै प्रभावकारी बदलाव ल्याउछ । बौद्ध दर्शन अन्तर्गत रहेको विपासना मौन ध्यान साधनामा गरिएका वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका प्रामाणिक तथ्यांकहरुले उजागर गरे अनुसार, चुपचाप तथा मौन रहदा मनुष्यको शरीर, मन, भावना र आत्मा अर्थात चेतनामा समवेदनशिलता बढ्न प्रारम्भ हुन्छ किनकी मौनका विधि तथा प्रक्रियाहरुको सहि अनुशरणले साधकलाई विगतका नकारात्मक स्मृति र भविश्यका असुरक्षाको डरबाट अलग गरेर वर्तमानमा ल्याउछ । सनातन अध्यात्मका अनुसार वर्तमानमा जीउनुनै मनुष्यको वास्तविक जीवन हो र सुख, खुशी, शान्ति, आनन्दको अनुभूति केवल वर्तमानमा मात्र पाउन सकिन्छ किनकी विगत गैसक्यो कसैगरे पनि फेरी फर्केर आउदैन र भविश्य आएकै छैन आउछ कि आउदैन पनि थाहा छैन । मनुष्यको मस्तिष्क संधै वर्तमानमा जीउछ, मस्तिष्कसंग भूत र भविश्य भनेर छुट्याउन सक्ने प्रविधि छैन, तत्काल मस्तिष्क, मन तथा भावमा जे–जस्ता तरंग, विचार तथा भावनाहरु आउछन् सबै अवस्थालाई वर्तमानमा भैरहेको मान्दछ र त्यही अनुसार मनुष्यको शरीर, मन, भाव, चेतनाले काम गर्दछ र मनुष्यको दैनिक जीवनका गतिवितिहरु चल्ने गर्दछन् । वर्तमान समयमा मस्तिष्कमा राम्रा तरंग, विचार तथा भावहरु आएका छन् भने उसको जीवन राम्रो, सहज तथा सरल हुन्छ, नराम्रा तरंग, विचार तथा भावहरु आएका छन् भने उसको जीवन खराव, असहज तथा कठिन हुन्छ । ध्यान तथा मौन साधनाको समयमा मनुष्यको मस्तिष्कलाई लगातार ब्रम्हाण्डबाट अत्यधिक मात्रामा सबैप्रकारका सूचनाहरु मिलिरहन्छन् । ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यास गर्ने मनुष्यको सोच, विचार, मन एकाग्र हुन्छ, भाव शान्त हुन्छ, चेतना जाग्रीत हुन्छ, मनुष्य आत्म नियन्त्रित हुन्छ, तार्किक, वुद्धिमान, विवेकशिल हुन्छ र यस्तो मनुष्यले संधै सहि समयमा सहि कुरा बोल्छ र सहि निर्णय लिन्छ जसले उसको जीवनलाई सहज, सरल, समृद्ध, सफल, शान्त, आनन्दित बनाउन मद्धत गर्दछ । मानव सभ्यताको इतिहास हेर्दा, संसारका र मानव जीवनका सबैभन्दा ठूला लडाइहरु,  सबैभन्दा ठूला आध्यात्मिक क्रान्ति, सबैभन्दा ठूला राजनीतिक क्रान्ति, सबैभन्दा ठूला सामाजिक क्रान्तिहरु मनुष्यको मौन भित्रबाट नै जन्म लिएका थिए । ध्यान तथा मौनले मनुष्यलाई डर, शुन्यता, खालिपन होइन भित्रबाट मजबुत बनाउछ र पूर्णताले भरिदिन्छ, सर्वाधिक शक्तिशाली बनाउछ । 
तर विडम्वना आजका मनुष्यहरु ध्यान तथा मौन साधनाको अभ्यास गर्दैनन् । अधिकांश मनुष्यहरु वर्तमानमा कम विगत र भविश्यमा ज्यादा जीरहेका छन् र यहीकारणले दुुःख, पिडा, अशान्ति, बेचैनी, रोग, शोक, विषाद, अवषाद, सम्वन्ध विच्छेद, असामयिक मृत्यु, आत्महत्याको कहर झेलिरहेका छन् । वैज्ञानिक अध्ययनका प्रामाणिक तथ्यांकहरुका अनुसार ध्यान तथा मौन साधनाको माध्यमबाट मनुष्यको जीवनमा आइपरेका यस्ता असहजता तथा जटिलताका अवस्थाबाट वाहिर निस्कन र मुक्ति पाउन सकिन्छ, धेरैले पाएका प्रामाणिक उदाहरणहरु हाम्रा समक्ष प्रसस्त छन् । वैज्ञानिक तथ्यांक र अनुभवीहरुको स्वअनुभवका अनुसार मनुष्यको जीवनमा नचाहेका यस्ता उथल–पुथल तथा उतार–चढाउ ध्यान तथा मौनको अभावका कारण भएको हो, यो सबैले बुझ्नु जरुरी छ । यसर्थ सबैकालागि ध्यान तथा मौन साधना अत्यावश्यक छ । 
दैनिक जीवनयापन सहज बनाउन
पर्याप्त अनुभवहरुका आधारमा स्थापित भएको तथ्यका अनुसार संसारमा सबै भन्दा धारिलो तरवार मनुष्यको जिब्रो हो र सबैभन्दा खतरनाक हतियार मनुष्यले बोल्ने वाणी तथा शव्दहरु हुन् जसले बिना कुनै झगडा तथा बिना रक्तपात नै अर्को मनुष्यलाई भित्रभित्रै मारिदिन, खोक्रो बनाइदिन, आन्तरिक बल तथा आत्मविश्वास गिराइदिन र जीवनबाट नै पलायन गराइदिन सक्छ । वैज्ञानिक पास्कल भन्छन्, “मनुष्यको जीवनमा ९० प्रतिशत तनाव, दुःख, पिडाहरु उसको बोलि, शव्द, हाउभाउ, प्रतिक्रिया तथा समग्रमा उसले आफू र अरुप्रति गर्ने व्यवहारहरुका कारण आउने गर्दछन्” । सहि समयमा गरिने सहि व्यवहारहरुले मनुष्यलाई सुखी, खुशी, सम्पन्न, समृद्ध, सफल, प्रतिष्ठित, महान, शान्त, आनन्दित बनाउछन् । सहि समयमा सहि ढंगले व्यवहारहरु गर्न जानेन भने यसैले मनुष्यलाई दुःखी, बेखुशी, विपन्न, असफल, मानहानि, अशान्त, असन्तुष्ट र पतन समेत गराइदिन्छन् । किनकी ज्यादा बोल्ने मनुष्यको शव्द, प्रतिक्रिया, हाउभाउमा आफ्नो नियन्त्रण रहदैन, उसले बोेल्न र गर्न हुदैनहुने कुरा बोल्छ, गर्छ बेहोसीमा र आफूले आफैंलाई समस्यामा पार्छ र पछि पछुताउछ । तर यसको विपरित मौनले मनुष्यका सारा समस्या तथा चुनौतिहरुको समाधान गर्दछ र फेरी कहिल्यै आउन दिदैन । सहि समयमा जो बोल्न र मौन रहन जान्दछ उही सुखी, खुशी, शान्त, आनन्दित, शक्तिशाली, समृद्ध, सफल र प्रतिष्ठत व्यक्ति बन्दछ, यो विश्वव्यापि रुपमा सबैको जानकारीमा आएको प्रामाण्कि तथ्य हो । आधूनिक मनोवैज्ञानिक दृष्टिकोण अनुसार, मनुष्य मौन रहदा उसको मस्तिष्कमा गहिरो सोच विकसित हुन्छ । स्नायु विज्ञानका अनुसार, जव मनुष्य मौन रहन्छ यस अवधिमा उसको स्नायु प्रणालीका सुक्ष्म गतिविधिहरु सक्रिय हुन्छन्, स्नायु तन्त्रिकाहरु बढ्न तथा फैलिन थाल्छन् जसले गर्दा मनुष्यको सहि समयमा सहि सोच्ने, बोल्ने, बुझ्ने, सहि निर्णय गर्ने क्षमता वृद्धि हुदै जान्छ । आधूनिक मनोचिकित्सा तथा मनोविज्ञानका वैज्ञानिक खोज तथा अनुसन्धानका प्रामाणिक प्रतिवेदनहरुका तथ्यांक अनुसार जो मनुष्य कम बोल्छ र अरुका कुरा बढि सुन्छ उ ज्यादा वुद्धिमान, प्रभावकारी, आत्मनियन्त्रित र आत्मविश्वासले भरिएको हुन्छ किनकी मनुष्यले आफूले कम बोल्नु, कम हाउभाउ देखाउनु, कम प्रतिक्रिया दिनु र अरुका कुरा धैर्यता र ध्यानपूर्वक सुन्नु एकप्रकारले ध्यान तथा मौनकै अभ्यास गर्नु हो । मौन रहेर आफू र अरुलाई असहज अवस्थाहरुबाट वाहिर निकाल्न सक्छ र जीवनमा नयाँ–नयाँ ज्ञानहरु हासिल गर्नसक्छ । यसर्थ सबैकालागि ध्यान तथा मौन साधना अत्यावश्यक छ । 
महापुरुषका अनुभवहरु आत्मसाथ गरेर जीवनको समग्र विकास गर्न
मनुष्यको सांसारिक र पारमार्थिक जीवनको उच्चतम विकासमा ध्यान तथा मौन साधनाको प्रभावकारिता र महत्वका सन्दर्भमा धेरै महापुरुषहरुले आ–आफ्ना स्वअनुभवका आधारमा अत्यन्तै महत्वपूर्ण ज्ञान प्रदान गर्नुभएको छ । युग पुरुषहरुका आप्त वाणी तथा ज्ञानहरुले मनुष्यको जीवनलाई सकारात्मक मार्गमा सर्लक्कै रुपान्तरण गरेका उदाहरणहरु पनि हाम्रा सामु पर्याप्त रहेका छन् । ध्यान तथा मौन साधनाका प्रयोगात्मक अभ्यासले मनुष्यको केवल शव्द, हाउभाउ, प्रतिक्रियामा नियन्त्रण तथा सन्तुलन कायम गर्नुका साथसाथ मनुष्यको समग्र जीवनलाई नै अनुशाशित, सन्तुलित र व्यवस्थित राख्न मद्धत गर्दछ । ध्यान तथा मौनको नियमित रुपमा व्यवहारिक तथा प्रयोगात्मक अभ्यासले मनुष्यको शरीर, इन्द्रियहरु, सोच, विचार, मन, भाव, चेतनालाई सम्यमित राख्न मद्धत गर्ने हुनाले उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सन्तुलन र विकास गर्नमा प्रभावकारी मद्धत मिल्दछ । मनुष्यले गर्ने सबैप्रकारका शारीरिक क्रियाकलापहरु गर्दा, मानसिक तथा भावनात्मक क्रियाकलापहरु विचार गर्दा, बोल्दा, हेर्दा उर्जाको अत्यधिक खपत हुन्छ । तर ध्यान तथा मौनमा उर्जा वचत हुन्छ र वचत भएको उर्जाले मनुष्यको मस्तिष्क, मन, भाव, चेतनालाई उर्जाशील, सक्रिय, सन्तुलित, सिर्जनात्मक राखिराख्न मद्धत गर्दछ । यस्तो व्यक्तिनै जीवनका सबै क्षेत्रहरुमा प्रभावशाली, सफल, शक्तिशाली र उदयमान भएर निस्कन्छ । जीवनका पलपलका घुम्तिहरुमा कम बोल्ने, बढि सुन्ने र अधिकांश समय चुप तथा मौन साध्न सक्ने साधक तथा मनुष्यको आन्तरिक विकास हुन्छ र उसलाई अलौकिक दृष्टिकोण प्राप्त हुन्छ । यस्तो व्यक्तिले साधारणमा विषय तथा अवस्थाहरुमा पनि असाधारण अवसर तथा उपलव्धिहरु देख्न थाल्छ जसबाट आफू प्रेरित हुन्छ र आफ्नो प्रेरणाबाट सारा मनुष्यतालाई प्रेरणा प्रदान गरेर जगतलाई नै बदल्न सक्ने ताकत राख्दछ । सनातन अध्यात्म विज्ञानका अनुसार ध्यान तथा मौनबाट मनुष्यले सांसारिक र पारमार्थिक दुवै जीवनको विकासका लागि अत्यावश्यक ब्रम्हाण्डिय महाउर्जा प्राप्त गर्दछ किनकी मौन नै सहज, सरल, समृद्ध, सफल र मुक्त जीवन हासिल गर्न तथा गराउन सक्ने सबैभन्दा भरपर्दो साधना विधि, उपकरण तथा उपाय हो, यसकारण सबै मनुष्यहरुका लागि मौन अत्यावश्यक छ । 
आफूले भन्नुपर्ने विषयहरु सकिएपछि मैले कैलाशलाई विपासना मौन ध्यान साधनाका तीन पटकका २१–२१ दिने मौन साधनामा भएका उनको व्यक्तिगत अनुभव तथा अनुभूतिहरु सुनाउन आग्रह गरें । उनले खासै भनने रुचि देखाएनन् तैपनि मैले आग्रह गरें केही त भन, 
“मलाई यस्तो गहन अनुभव भएको छैन तिमीलाई जस्तो श्रीशा, सायद म प्रारम्भिक चरणमै छु त्यसैले मलाई मौनको क्रममा एकदम डर लाग्छ किनकी अन्धकार मात्र देख्छु अनि खै केले जोडले त्यो अध्यारोतिर तानेको तान्यै गर्छ, म एकदम धेरै डराएर बेस्सरी चिच्याउछु र मनमा लाग्छ, ओहो मैले अरुको साधनालाई बाधा गरिरहेको छु यसरी चिच्याएर भनेर तर ध्यानबाट वाहिर निस्केपछि थाहा पाउछु कि म आन्तरिक रुपमा मात्र चिच्याएको हुदोरहेछु डराएर, म चिच्याएको अरुले सुन्दा रहेनछन् । वास्तविकतामा म अरु जस्तै स्थिर भएर ध्यानमा बसिरहेको हुदो रहेछु । तिम्रो स्वघटित निस्प्रयास मौन साधनाको अनुभव तथा अनुभूतिहरु सुनेपछि मलाई लाग्यो अहिलेसम्म मेरो मौन निस्प्रयास भएको रहेनछ, प्रयासनै रहेछ किनकी मलाई बोल्न अनुमति भएको भए म बोल्न सक्थें । तिमीमा घटित भएको मौन तिमीले चाहेर पनि बोलि नआउने रहेछ त्यसैले निस्प्रयास मौन भनेकी रहिछौ, बल्ल बुझें ‘निस्प्रयास’ भनेर किन त्यति जोड दिएकी थियौ भनेर तर मैले त आफैंले मौन रहने प्रयास गरेको हुँ, विपासना साधनाबाट निस्कने वित्तिकै बोल्न सक्छु म । निस्प्रयास मौन साधनाका तिम्रा अनुभव तथा अनुभूतिहरु सुनेर म स्पष्ट भएं र मलाई धेरै विषयहरुमा मार्गदर्शन पनि मिल्यो कि श्रीबुद्ध प्रभुले मौन ध्यान साधनाका क्रममा मारहरुले सताउछन् भन्नु भएको भौतिक संसारप्रतिको तृष्णा, आशक्ति, राग, द्वेश मात्र होइन रहेछ, पराभौतिक संसारमा रहेका खराव आत्मा अर्थात चेतना अर्थात उर्जाहरुले पनि अदृश्य रुपमा सताउने रहेछन् । यही कुरा विपासनामा रहदा एकजना गहिरो साधकले भन्नु भएको थियो, सुक्ष्म संसारमा रहेका नियत राम्रो नभएका नकारात्मक उर्जाहरुले अदृश्य रुपमा दुःख दिने र साधना भाँड्ने प्रयास गर्दारहेछन् बारबार, साधक आफैं निकै सजक हुनुपर्ने रहेछ र सदगुरुको मार्गनिर्देश लिरहनु पर्ने रहेछ । बौद्ध दर्शनको कथाहरुमा पनि धेरै आउछन् यी विषयहरु तर मलाई लाग्थ्यो भौतिक संसारका आशक्तिहरुलाई नै मारको रुपमा सांकेतिक दृष्टिकोण दिइएको होला भन्ने तर होइन रहेछ, तिमीबाट यसबारे मलाई गहन मार्गनिर्देश भयो धेरै धन्यवाद श्रीशा । विपासना ध्यान साधना भने पनि र कुण्डलिनी ध्यान साधना भने पनि साधनाको गहनता एउटै रहेछ, गन्तव्य सबैको एउटै रहेछ, यो परम सत्य बुझ्ने अवसर पाएं, म भविश्यमा मेरो साधनाको क्रममा हुने नयाँ अनुभव तथा अनुभूतिहरुको अपडेट तिमीलाई अवश्य गराउनेछु र आवश्यकता महसुस भयो भने म फेरी तिमीकहाँ आउने छु श्रीशा ‘गुरुजी’ ।”
“अवश्य, शुभकामना कैलाश.... जी...  !”
“ॐ नमो बुद्धाय !”
“हरि ॐ ततसत् !”
हामी एकसाथ मुस्कुरायौं हाम्रो नामको पछाडि फरी ‘जी’ जोडिएको सुनेर र प्रभुलाई नमन गर्दै हामी एकआपसबाट छुट्यौं ।
                                                                   अस्तु 
                                                शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!
छिट्टै(सम्पादनको चरणमा रहेको)
मौनका आयाम: प्रयास मौन र निस्प्रयास मौन
मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक
मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि
No comments:
Post a Comment