'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 14 February 2024

दिव्य प्रेम नै परमात्मामा हो

  प्रेम दिवस विशेष!

                                                                          डा. सिर्जना भण्डारी 




विषय प्रवेश

सनातन अध्यात्म दर्शनका अनुसार प्रेम दिवस नै परमात्मा दिवस हो किनकी प्रेम नै परमात्मा हो। भगवान श्री कृष्ण भन्नुहुन्छ "म भक्तहरु अर्थात प्रेमीहरुको हृदयमा वास गर्छु"। हामी सबैलाई थाहा छ कि भगवान राधा-कृष्णको जोडी दिव्य प्रेमको प्रतिकको रुपमा मानिन्छ, भनिन्छ 'प्रेमीहरु परमात्माका दुत हुन्'। राधा-कृष्ण एक आत्मा दुई शरीर भएर यस धर्तीमा अवतरण हुनु भयो सारा मनुष्य जगतलाई दिव्य प्रेम सिकाउन र बाँड्न। प्रेम नै परमात्मा भएकोले परमात्माको अर्थ विराट भएसंगै प्रेमको अर्थ पनि विराट छ। भगवान इशा मशिहले पनि भन्नु भएको छ- "Love is GOD अर्थात प्रेम नै परमात्मा हो"। हामी मानव भएर जन्मनुको मूल अर्थ नै पूर्णरुपमा दिव्य प्रेममा अर्थात परमात्मामा स्थापित हुनकालागि हो। अध्यात्म विज्ञानले भन्छ प्रेम नै परमात्मा हो तर परिवर्तित समयक्रमसंग प्रेमको वास्तविक परिभाषामा पनि परिवर्तन र संकुचन आयो र प्रेमको परिभाषा प्रेमी-प्रेमीकाविचको सम्वन्धमा सिमित हुनगयो। यो पनि  प्रेम हो तर यतिमा मात्र प्रेमको परिभाषा सिमित नभएर सारा जगत अर्थात ब्रह्माण्डसंग प्रेम गर्नु, सबैलाई प्रेम बाँड्नु वास्तविक प्रेम हो किनकी हामी कोही पनि केहीबाट अलग छैनौं न जडबाट न जीवबाट। अध्यात्म विज्ञान र आधुनिक प्रमात्रा भौतिक विज्ञान दुवैका अनुसार हामी सबै अर्थात सारा जगत उही एक विराट उर्जाका तरंगहरुका समग्र स्वरूप हौं। प्रेमका आयामहरु अलग-अलग छन्- भक्ति पनि प्रेम हो; आदर,सम्मान पनि प्रेम हो; दया, करुणा पनि प्रेम हो; दान, सेवा, उपकार, परोपकार पनि प्रेम हो; श्रृंगार रसको अनुभूति पनि प्रेम हो; प्रकृतिमा रमाउनु पनि प्रेम हो; समाज सेवा, राष्ट्र सेवा, मानव सेवा पनि प्रेम हो.... प्रेम के होइन! हाम्रो वरिपरी भइरहने तथा देखिने सबै सकारात्मक गतिविधिहरु प्रेम नै हुन्, यि सबै स्वयं परमात्मा कै स्वरूप तथा गतिविधिहरु हुन्। भौतिक जगतमा दैनिक रुपमा हाम्रो दृश्यमा आउने गतिविधिहरुले हामीलाई अलग-अलग जस्तो देखाइदिएको मात्र हो जो केवल माया मात्र हो, अदृश्य अर्थात निराकार, निर्गुण स्वरुपमा त हामी सबै एकस्वरुप छौं, हामी सबैको उत्पत्तिको श्रोत उही एक परब्रह्म हो। यो सत्य हो कि एक स्वरुप परब्रह्मको वास्तविक सत्यता जान्न र परब्रह्ममा स्थापित हुन सबैकालागि त्यति सहज छैन। यसकालागि विराट दिव्य प्रेम अर्थात परमात्मा तर्फ पहिलो कदम आफैंले चाल्नु पर्दछ यसपछिका कदमहरु स्वयं  परमात्माले चाल्नु हुनेछ र यस यात्राको एकमात्र पथ आफूभित्रको अन्तरयात्रा हो। अन्तरयात्रा अर्थात योग तथा ध्यान साधनाका विधिहरुलाई अनुशरण गरी आफ्ना सुक्ष्म शक्ति केन्द्र चक्रहरुको जागरण गरेर आफू भित्र गरिने अन्तरयात्रालाई दिव्य प्रेम अर्थात परमात्माको गन्तव्यसम्म पुर्याउन सकिन्छ। 

इश्वरको असिम कृपा आजकै दिन परमात्मा दिवसका प्रमुख दुई विषय विद्या दिवस अर्थात ‘श्री सरश्वती पूजा’ र प्रेम दिवस अर्थात ‘भ्यालेटाइन्स डे’ एकै दिन पर्न गएको छ, यि दुवै पावन पर्वहरुको हामी सबैलाई हार्दिक मंगलमय शुभकामना!!

--
कविता
             लालीगुरांश  (सिर्जना भण्डारी)

*दिव्य प्रेमको स्वरुप

दिव्य प्रेम प्रशाद रहेछ
हृदयमा अविरल अमृतधारा बहाइदिने।
दिव्य प्रेम प्रकृति रहेछ
जीवनमा रंगीन ऋतुहरु ल्याइदिने।
दिव्य प्रेम पुष्प रहेछ
अंगअंग मिठो सुवासले महकाइदिने।
दिव्य प्रेम जल रहेछ
तनमन, भावना परम-पवित्र गरिदिने।
दिव्य प्रेम वर्षा रहेछ
तनमन, भावना निथ्रुक्क भिजाइदिने।
दिव्य प्रेम मल रहेछ
जीवनमा परम-आनन्दको फल फलाइदिने।
दिव्य प्रेम संगीत रहेछ
हरपल कानमा स्व-राग गुञ्जाइदिने।
दिव्य प्रेम दर्पण रहेछ
आफूमा आफैंलाई सुन्दर देखाइदिने।
दिव्य प्रेम सागर रहेछ
असीम सुख, शान्ति अटाइदिने।
दिव्य प्रेम ओखती रहेछ
सारा रोग, पिडा हरिदिने।
दिव्य प्रेम सुविधा रहेछ
तनमनलाई आरामै आराम दिलाइदिने
दिव्य प्रेम अनुभूति रहेछ
प्रितीका मिठा स्मृतिहरुमा डुबाइदिने।
दिव्य प्रेम शान्ति रहेछ
जीवनका दुःख, तनाव हटाइदिने।
दिव्य प्रेम आनन्द रहेछ
हरपल दिव्यताको धाराले नुहाइदिने।
दिव्य प्रेम ज्ञान रहेछ
सुखी जीवन जीउन सिकाइदिने।
दिव्य प्रेम स्वाद रहेछ
हृदयमा प्रेमको अमृतरस वर्षाइदिने।
दिव्य प्रेम विश्वास रहेछ
प्रियतमको हृदयमा आफूलाई देखाइदिने।
दिव्य प्रेम आभास रहेछ
हृदयको गहिराइमा प्रियतममात्र छाइदिने ।

दिव्य प्रेम आभास रहेछ
हृदयको गहिराइमा प्रियतममात्र छाइदिने । -२

No comments:

Post a Comment