'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 22 February 2024

योग-ध्यानको माध्यमबाट आफूभित्रको दिगो खुशी प्रकट गरौं

                                                         डा. सिर्जना भण्डारी 


विषय प्रवेश
हामी मनुष्यहरु दुई किसिमको जीवन जीरहेका हुन्छौं, एउटा भौतिक जीवन (शरीर) र अर्को पराभौतिक अर्थात आध्यात्मिक जीवन(आत्मा)। भौतिक जीवनमा मानिसले सुख खोज्दछ जो वाहिरी जगतका वस्तुहरुबाट प्राप्त गर्न सकिन्छ र आध्यात्मिक जीवनमा मानिसले खुशी तथा शान्ति, आनन्द खोज्दछ जो आन्तरीक जगत अर्थात आफूभित्रबाट प्राप्त गर्न सकिन्छ किनकी खुशी वाहिर कतै नभएर हामी भित्रको आन्तरीक जगतमा रहेको छ।


वाहिरी जगतका वस्तुहरुबाट प्राप्त गरेको सुखले पनि खुशी, शान्ति तथा आनन्द प्रदान गर्छ तर यो क्षणिक हुन्छ, किनकी मानिसका इच्छा तथा आकांक्षाहरु अन्त्यहिन हुन्छन्, उसले एउटा सुख प्राप्तिपछि अर्को त्यो भन्दा माथिल्लो तहको सुख खोज्न थाल्छ र यही चक्रभ्युमा जन्मौंजन्म फंसिरहन्छ र सदा दु:खी तथा अशान्त जीवन बाँचिरहन्छ। तर आन्तरीक जगत अर्थात आफूभित्रबाट प्रकट भएको खुशी दिगो हुन्छ, किनकी खुशी वाहिर कतै तथा भौतिक जगतका वस्तु तथा सेवाहरुमा नभएर हामी भित्रै निहित छ। आफूभित्रबाट प्रकट भएको खुशीले क्रमशः मन, भावना, चेतना तथा आत्मामा दिगो शान्ति, आनन्द, परम आनन्द हुदै सतचितआनन्दमा पुर्याउँछ किनकी आफू भित्रको आन्तरीक जगतबाट प्रकट भएको खुशी एकपटक प्राप्त गरिसकेपछि यसमा कहिल्यै कमी आउदैन बरु कयौं गुणा बढेर जान्छ। हामी भित्रको दिगो खुशी जगाउने तथा प्रकट गराउने एकमात्र विधि योग तथा ध्यान साधना हो। मानिसले अनुभव गर्ने सुख, खुशी, शान्ति तथा आनन्द सबै मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको वास्तविक अवस्थामा निर्भर गर्दछ किनकी उसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको अवस्था अनुसारनै उसको सोच, विचार, बोली, भाषा तथा व्यवहार बन्ने गर्दछ र यसैको आधारमा कुनै पनि विषय तथा घटनाबारे उसले आफ्नो मनमा आफ्नै प्रकारको छवि तथा नक्शा तथार गर्दछ र त्यही अनुसार नै आफू रहेको परिवार, समाज, देश तथा अन्य वातावरणबाट सुख, खुशी, शान्ति, आनन्दको अनुभूति गर्दछ तर उसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको अवस्था असन्तुलित, नकारात्मक तथा निराशाजनक अवस्थामा छ भने उसले जीवन पर्यन्त सुख, खुशी, शान्ति, आनन्दको अनुभूति गर्न सक्दैन। हाम्रो सुख, खुशी, शान्ति, आनन्दको बाधक असन्तुलित, नकारात्मक तथा निराशाजनक जीवनशैली हो। यस किसिमको जीवनशैलीबाट मुक्त भएर जीवनमा कहिल्यै नहराउने दिगो सुख, खुशी, शान्ति, आनन्दको संचार गर्न जीवनमा नियमित रुपले योग तथा ध्यानका विधिहरुको अनुशरण गर्नु अति आवश्यक हुन्छ।


मानिसको दुःख तथा अशान्तिका  कारणहरु उसको रोग तथा समस्याग्रस्त शरीर, मन, भावना, आत्मा अर्थात चेतना हो। हामीमा हरवखत चलिरने अति विचार खासगरि नकारात्मक विचारहरुले विभिन्न किसिमका रोग तथा समस्याहरु जन्माउँदछन्। योग आसनका अभ्यासहरुले मानिसको शरीरका रोग तथा समस्याहरुको निराकरण गर्दछन्, प्राणायामका विधिहरुले मानिसको सोच, विचार तथा मनका रोग तथा समस्याहरुको निराकरण गर्दछन् र ध्यानका विधिहरुले मानिसको मन, भावना, आत्मा अर्थात चेतनामा रहेका जन्म-जन्मका नकारात्मक स्मृतिहरुको (रोग, घाउ, चोट, डर, त्रास, विसाद, दुर्व्यसन, अन्य विकार तथा समस्याहरु) निराकरण गर्दछन्। जव मानिस योगस्थ तथा ध्यानस्थ हुदै जान्छ तव उसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको शुद्धीकरणको प्रक्रिया शुरु हुन्छ र उ विस्तारै शरीरिक, मानसिक तथा भावनात्मक रुपले स्वस्थ, सकारात्मक सोच राख्ने, सुखी, खुशी, शान्त, सफल, समृद्ध र आनन्दित बन्दै जान्छ। योग तथा ध्यानवाट हुने यस्ता महत्वपूर्ण लाभका यि तथ्यहरु कुनै विश्वास तथा मान्यतामा अधारीत नभएर आधुनिक चिकित्सा क्षेत्र अर्थात स्वास्थ्य तथा मनोविज्ञानसंग सम्वन्धित विभिन्न संघसंस्थाहरुले गरेका वैज्ञानिक खोज अथा अनुसन्धानहरुले उजागर गरेका विश्वासनीय प्रामाणिक तथ्यांकहरुले पुष्टी गरेका विषयहरु हुन्। 

तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 

No comments:

Post a Comment