'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 16 February 2024

स्वास्थ्य उपचार, आधुनिक स्वास्थ्य चिकित्सा विज्ञान र अध्यात्म स्वास्थ्य चिकित्सा विज्ञानविच अन्तरसम्वन्ध

(Inter-relationship between Health Treatment, Modern Health Science and Spiritual Health Science)

(पूर्वीय अध्यात्म दर्शनको शोधमा आधारीत लेख)

                                        डा. सिर्जना भण्डारी




अध्यात्म स्वास्थ्य चिकित्सा विज्ञान (Spiritual Health Science)

अध्यात्म विज्ञान आफैंमा मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक र व्यवहारीक सबै किसिमका स्वास्थ्य समस्याहरुको उपचार तथा समाधान गर्न सक्ने एक विराट स्वास्थ्य चिकित्सा विज्ञान हो। गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक आधुनिक स्वास्थ्य चिकित्सा विज्ञानको जननी अध्यात्म स्वास्थ्य चिकित्सा विज्ञान नै हो। अध्यात्म चिकित्सा विज्ञानका विभिन्न शाखाहरु छन् र ति मध्य योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान प्रमुख मानिन्छन्। यिनै प्राचीन स्वास्थ्य उपचार तथा चिकित्सा पद्धतिहरुको अनुशरण गर्दै र समयको आवश्यकता अनुसार सकारात्मक परिमार्जन हुँदै आधुनिक चिकित्सा विज्ञान आजको यो अवस्थासम्म आइपुगेको हो र अवस्था, परिस्थिति तथा आवश्यकता अनुसार आधुनिक चिकित्सा विज्ञानका उपचार पद्धतिहरुमा, उपकरणहरुमा र औषधीहरुमा नयाँ-नयाँ खोज तथा अनुसन्धान गरी तिनमा सकारात्मक परिमार्जन तथा विकासको क्रिया निरन्तर चलिरहेकै छ। आधुनिक चिकित्सा विज्ञानले यस किसिमका नयाँ-नयाँ उपचार पद्धति, उपकरण तथा औषधीहरुको खोज तथा आविस्कार गरि मानवसेवामा ठूलो योगदान पुर्याउदै आइरहेको छ।


आधुनिक स्वास्थ्य चिकित्सा विज्ञान 

एउटा प्रसिद्ध भनाई हामी सुन्दै आइरहेका छौं- ‘स्वास्थ्य नै पहिलो सम्पत्ति हो अर्थात पहिलो प्राथमिकता स्वास्थ्यलाई दिइनु पर्दछ त्यसपछि मात्र सम्पत्ति तथा अरु चिजहरुलाई प्राथमिकता दिइनु पर्दछ’ यस अकाट्य भनाइलाई मूल प्राथमिकतामा राखेर आधुनिक चिकित्सा विज्ञानले मानव स्वास्थ्यको क्षेत्रमा ठूलो धनराशी र समय लगानी गर्दै आइरहेको छ। महान वैज्ञानिक अलवर्ट आइन्सटाइनले भनेका छन्- “कुनै पनि नयाँ खोज तथा आविस्कार पुरानो पुस्ताको ज्ञानको बुइ तथा काँध चढेर आएको हुन्छ र यो सत्य समाजका सबै क्षेत्र तथा विषयहरुमा भएका विकासक्रममा लागू हुन्छ”। तसर्थ हामी यो बुझौं कि आधुनिक चिकित्सा विज्ञान, प्राचीन चिकित्सा विज्ञानकै बुइ तथा काँध चढेर यहाँसम्म आइपुगेको हो अर्थात सहज भाषामा भन्नुपर्दा आज हामीलाई शारीरिक तथा मानसिक स्वास्थ्य उपचारमा अत्याधुनिक स्वरुपमा प्राविधिक सेवा प्रदान गरिरहेको आधुनिक चिकित्सा विज्ञान प्राचीन चिकित्सा विज्ञानकै परिमार्जित तथा विकसित स्वरुप हो।

 

प्राचीन स्वास्थ्य चिकित्सा विज्ञान

स्वास्थ्य चिकित्सा विज्ञानको इतिहासमा प्रवेश गर्दा समग्र स्वास्थ्य चिकित्सा विज्ञानमा पूर्वीय दर्शनको उल्लेख्य प्रभाव देख्न सकिन्छ। प्राचीन इतिहासमा भगवान श्रीहरी विष्णुका वाहन आदी शेषनागका अवतारको रुपमा मानिदै आइएका महान दार्शनिक, वैज्ञानिक तथा तन र मनका चिकित्सक महर्षि पतन्जलिले समग्र मानव जातिको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य सन्तुलनमा राख्न र सनातन पूर्वीय दर्शनलाई विश्वसामु फैलाउन थुप्रै महत्वपूर्ण ग्रन्थहरु प्रतिपादन गरे र यि मध्य तीन ग्रन्थहरु- पतन्जलितन्त्र, महाभाष्यम र योगशुत्र प्रमुख तथा सर्वाधिक लोकप्रिय र प्रचलित मानिन्छन्। यि तीन महत्वपूर्ण ग्रन्थहरु प्रतिपादन गरेर महर्षि पतन्जलिले सनातन पूर्वीय दर्शनको वैज्ञानिक विकासक्रममा अत्यन्तै महत्वपूर्ण र गरिमामय योगदान पुर्याएका छन्। महर्षि पतन्जलिले मानिसको शारीरिक स्वास्थ्यकालागि आयुर्वेद चिकित्सा पद्धतिलाई प्रमुखतामा राखेर ‘पतन्जलितन्त्र(समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान श्रीहरि विष्णुका अवतार कविराज धनवन्तरीको ज्ञानलाई लिपिवद्ध गरिएको)’, सामाजिक स्वास्थ्यकालागि ‘महाभाष्यम(अग्रज दार्शनिक गुरु पाणिनीको संस्कृत व्याकरण अष्टाध्यायिमाथि भाष्य लेखिएको)’ र मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक स्वास्थ्यलाई प्रमुखतामा राखेर आध्यात्मिक स्वास्थ्यकालागि ‘योगशुत्र’ जस्ता महानतम ग्रन्थहरुको प्रतिपादन गरि यि ग्रन्थका विधिहरु मानवको जीवनशैलीमा स्थापित गराइदिए र समग्र स्वास्थ्यको क्षेत्रमा आजसम्मनै सम्पूर्ण मानव जातिले यस वैज्ञानिक महाज्ञानको अभूतपूर्व लाभ लिदै आइरहेका छन्। यिनै प्राचीन ग्रन्थहरुका आधारशिलामा टेकेर समयक्रमसंगै विभिन्न चिकित्सा पद्धतिहरुले गति लिदै आएका छन् र आधुनिक वैज्ञानिक चिकित्सा पद्धति पनि प्राचीन वैज्ञानिक चिकित्सा पद्धतिकै विकसित स्वरुप हो। महर्षि पतन्जलिले भगवान श्रीहरि विष्णु र भगवान श्रीशिवबाट प्राप्त गर्नुभएको यो महाज्ञान क्रमशः आफ्ना शिष्यहरु जगतगुरु आदी शंकराचार्य लगायत अन्य शिष्यहरुमा सम्प्रेसित गरे र गुरुकुलको गुरु-शिष्य परम्परा मार्फत पछिल्ला पुस्ताहरुमा हस्तानतरण हुदै र आवश्यकता अनुसार परिमार्जित तथा विकसित हुदै मानवको स्वास्थ्य उपचारकालागि विभिन्न चिकित्सा पद्धतिहरु आजको यो अवस्थामा आइपुगेका छन् र यस क्षेत्रमा आजपनि परिवर्तन तथा विकासको श्रृंखलाहरु निरन्तर चलिरहेकाछन् र चलिनैरहनेछन् किनकी सृष्टिको सिद्धान्त अनुसार विश्व-ब्रह्माण्ड हरपल चलायमान तथा परिवर्तनशील छ, यहाँ केही पनि कहिल्यै पनि स्थिर तथा यथास्थितिमा रहदैन।

 

समग्र मानव जातिको पूर्ण स्वास्थ्यकालागि महर्षि पतन्जलिद्वारा प्रतिपादित पतन्जलितन्त्रपछि पूर्वीय दर्शन अन्तर्गत आयुर्वेद चिकित्सा पद्धतिमा पछिल्लो पुस्ताका महान चिकित्सकद्वय आचार्य सुश्रुत र आचार्य चरकको अत्यन्तै महत्वपूर्ण योगदान रहेको पाइन्छ। आयुर्वेद चिकित्सा पद्धतिमा आचार्य सुश्रुतद्वारा लिखित ‘सुश्रुत सम्हिता’ र आचार्य चरक द्वारा लिखित ‘चरक सम्हिता’को अत्यन्तै महत्वपूर्ण योगदान रहेको पाइन्छ। सुश्रुत सम्हितामा चिकित्सा पद्धतिका आठ प्रकारका विशिष्ठीकृत सेवाहरुका बारेमा विस्तृतमा वर्णन गरिएको छ र आधुनिक चिकित्सा विज्ञानले पनि यिनै आठ प्रकारका विशिष्ठीकृत चिकित्सा सेवाहरु परिवर्तित समयको आवश्यकता तथा माग अनुसार परिमार्जन र विकास गरि उही, उस्तै तथा फरक नाम राखेर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। आधुनिक चिकित्सा विज्ञान र प्राचीन चिकित्सा विज्ञान दुवैले चिकित्सा पद्धतिमा अनुशरण गर्दै आएका आठ प्रकारका विशिष्ठीकृत चिकित्सा सेवाहरु निम्न रहेका छन्- (१) सल्य चिकित्सा, (२) सालाक्य चिकित्सा, (३) काया चिकित्सा, (४) ग्राह चिकित्सा, (५) विष चिकित्सा, (६) वजिकरण चिकित्सा, (७) रशायन चिकित्सा, र (८) वाल चिकित्सा। यि आठ प्रकारका विशिष्टीकृत हरेक चिकित्सा पद्धतिहरुका पाँच-पाँच आयाम, निर्देशन तथा प्रक्रियाहरु छन्- सुत्र, निदान, शरीर, चिकित्सा, र कल्प। यि आयाम, निर्देशन तथा प्रक्रियाहरुले कुन किसिमको स्वास्थ्य समास्याको उपचार कुन किसिमले गर्ने भन्नेबारे पूर्ण जानकारी प्रदान गरि अध्यापन गराइ चिकित्सकलाई उक्त विषयको विशेषज्ञ बनाइने गरेको उल्लेख पाइन्छ।  

सल्य चिकित्सा (Surgery)-  आयुर्वेद चिकित्सा विज्ञानमा सल्य चिकित्सालाई छुट्टै विशिष्ठ शाखाको रुपमा स्थापित गरि आठ फरक-फरक प्रकारका सल्य चिकित्सा उपचार पद्धति र सल्यक्रियामा प्रयोग गरिने वैज्ञानिक स्वास्थ्य उपकरणहरु र प्रयोग गरिने औषधीहरुकोबारेमा विस्तृतमा उल्लेख गरिएको छ।

सालाक्य चिकित्सा (ENT- Ear-Nose-Throat)- आयुर्वेद चिकित्सा विज्ञानले स्वास्थ्य क्षेत्रमा कान-नाक-गला/घाँटी यि तीन अंगहरुको एकअर्कासंग अत्यन्तै नजिकको अन्तरसम्वन्ध तथा प्रभाव रहने गरेको पहिचान गरेर छुट्टै विशिष्ठ शाखाको रुपमा स्थापित गरि यस विषयमा अध्यापन गराइ विशेषज्ञहरु तयार गरेर नाक-कान-गला/घाँटी को स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरेको उल्लेख छ। यसकासाथै स्वास्थ्य उपचारमा प्रयोग गरिने वैज्ञानिक स्वास्थ्य उपकरण र प्रयोग गरिने औषधीहरुकोबारेमा विस्तृतमा उल्लेख गरिएको छ।

काया चिकित्सा (General Medicine)- आयुर्वेद चिकित्सा विज्ञानले मानिसको काया अर्थात शरीरका मौसमी तथा सामान्य रुपमा उत्पन्न हुने स्वास्थ्य समस्याहरुको स्वास्थ्य उपचार गर्न काया चिकित्सा अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको उल्लेख छ।

ग्राह चिकित्सा (Psychology)- मानिसको मानसिक, भावनात्मक तथा व्यवहारगत असन्तुलन (Mental, Emotional, Behavioral disorders) भई स्वास्थ्यमा आउने समस्याहरु सम्वन्धि बिमारी ठिक गर्ने स्वास्थ्य उपचार सेवा ग्राह चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

विष चिकित्सा (Antidotes)- मानिसको शरीरमा विभिन्नकारणले शरीरका भित्री तथा वाहिरी अंगहरुमा फैलिएको विष(Poison) कम तथा निर्मुल गरी बिमारी ठिक गर्ने स्वास्थ्य उपचार सेवा विष चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

वजिकरण चिकित्सा (Reproductive)- महिला पुरुष दुवैको शरीरमा देखिने यौन दुर्वलता तथा असक्षमता (Sexual Disorder) र प्रजनन् दुर्वलता तथा असक्षमता (Infertility) सम्वन्धि स्वास्थ्य समस्याहरु ठिक गर्ने स्वास्थ्य उपचार सेवा वजिकरण चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

रशायन चिकित्सा (Chemo)- मानिसको शरीर तथा स्वास्थ्य सन्तुलनमा राख्न शरीरका विभिन्न ग्रन्थीहरुद्वारा स्वस्फुर्त रुपमा उत्पन्न हुने रशायनको उत्पादनमा असन्तुलन भएकोकारण विभिन्न अंगहरुमा देखिएका स्वास्थ्य समस्याहरु ठिक गर्ने स्वास्थ्य उपचार सेवा रशायन चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ। सबै प्रकारका फिजियो थेरापीहरु, अकुपन्चर, अकुप्रेशर, मसाज आदि स्वास्थ्य सेवाहरु रशायन चिकित्सा अन्तर्गत पर्दछन्।

वाल चिकित्सा (Paediatric)- भर्खर जन्मिएका नावालक, शिशु तथा वालालिकाहरुको स्वास्थ्य समस्याहरु ठिक गर्ने स्वास्थ्य उपचार सेवा वाल चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

 

आधुनिक चिकित्सा विज्ञानले पनि स्वास्थ्य उपचारको यही प्राचीन चिकित्सा पद्धतिकै ढाँचाको अनुशरण गर्दै यसमा समयको माग र आवश्यकता अनुसार समग्र स्वास्थ्य उपचारका केही नियम, विधि तथा प्रकृतिमा सुधार तथा परिमार्जन गरेर स्वास्थ्य सम्वन्धि विभिन्न नयाँ-नयाँ विषयहरु, स्यास्थ्य उपचार गर्ने नयाँ-नयाँ उपकरणहरु तथा नयाँ-नयाँ औषधीहरुमा खोज तथा अनुसन्धान गरेर विशिष्ठता र विशेषज्ञता हासिल गरी वर्तमान समयमा समस्त मानव जातिलाई अति विशिष्ठ किसिमको स्वास्थ्य सेवाहरु प्रदान गर्दै आइरहेको छ।

 

मानव स्वास्थ्य विज्ञान

मानव स्वास्थ्यको परिभाषा स्वास्थ्य सेवासंग सम्वन्धित विभिन्न संघ-संस्थाहरुले आफ्नो उदेश्य तथा स्वास्थ्य सेवाको प्रकृति अनुसार फरक-फरक किसिमले दिने गरेको पाइने भएपनि सबै परिभाषाहरुको समग्र उदेश्य तथा अन्तिम लक्ष्य मानव स्वस्थ्यलाई सबै किसिमले चुस्त-दुरुस्त बनाउन मद्धत गर्नु नै हो।

 

अध्यात्म चिकित्सा विज्ञानका अनुसार स्वास्थ्यको परिभाषा

स्वास्थ्यको शाव्दिक अर्थ स्व+स्थ हो अर्थात आफ्नो स्वरुपमा स्थित हुनु। जो व्यक्ति आफ्नो स्वरुपमा स्थित छ उसलाई स्वस्थ व्यक्ति मानिन्छ। कस्तो व्यक्ति आफ्नो स्वरुपमा स्थित हुन्छ? जो व्यक्ति शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक, व्यवहारिक, सामाजिक तथा आध्यात्मिक आदि सम्पूर्ण रुपले स्वस्थ हुन्छ उ आफ्नो स्वरुपमा स्थित रहेको तथा पूर्णरुपमा स्वस्थ रहेको मानिन्छ। अध्यात्म चिकित्सा विज्ञानका अनुसार मानिसको स्वास्थ्यका चार आयाम रहेका छन्- शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य र चेतनात्मक तथा आत्मिक स्वास्थ्य। अध्यात्म चिकित्सा विज्ञानले हाम्रो शरीरमा रहेका उर्जा तथा शक्तिका केन्द्र प्रमुख सात चक्रहरु र तिनमा निरन्तर संचारित भैरहने कुण्डलीनी उर्जा र यस उर्जाको वितरण तथा कार्यका आधारमा अझ विस्तृत व्याख्या गर्दै मानिसका सात किसिमका स्वास्थ्यबारे उल्लेख गरेको छ।

 

आयुर्वेद चिकित्सा विज्ञानका अनुसार स्वास्थ्यको परिभाषा

आयुर्वेद चिकित्साका ज्ञाता आचार्य सुश्रुतको सुश्रुत संहिता अनुसार-

समदोषः समाग्निश्च समधातुमलक्रिया:

प्रसन्नात्मेन्द्रियमनाः स्वस्थ एत्यभिधीयते।।

अर्थात दोष, धातु, अग्नि, मल क्रिया आदि जो व्यक्तिको सम अर्थात सन्तुलनमा हुन्छ साथै व्यक्तिको इन्द्रिय, मन र आत्मा प्रसन्न हुन्छ उही पूर्णरुपमा स्वस्थ मानिन्छ।

समदोष- मानिसको शरीरका सबै प्रक्रियाहरुलाई संचालित गर्ने तीन दोष- वाथ, पित्त कफ सम अवस्थामा छन् भने शरीर स्वस्थ मानिन्छ।

समधातु तथा समाग्नि- मानव शरीरमा तेह्र प्रकारका अग्निहरु पंच-भूताग्नि, सप्त-धात्वाग्नि तथा जठराग्निको सम अर्थात सन्तुलित स्थितिमा रहेको छ भने मात्र खाएको खानाको सम्यक पाचन गर्न सक्छ र शरीर स्वस्थ हुन्छ।

सममल क्रिया- शरीरले अनावश्यक तत्वको रुपमा वाहिर निस्कासन गर्ने मल, मूत्र तथा पसीना सम रहेको अवस्थामा मात्र शरीर स्वस्थ मानिन्छ।

इन्द्रियहरुको प्रसन्नता- मानव शरीरका पंच-ज्ञानइन्द्रियहरु तथा पंच-कर्मइन्द्रियहरुले आफ्ना सबै कार्यहरु समरुपमा गरिरहेका छन् भने मात्र मानिसको शरीर स्वस्थ रहन्छ।

मनको प्रसन्नता- मनमा सात्विक, राजसिक र तामसिक तीन अवस्थाहरुको प्रधानता रहन्छ, यि अवस्थाहरु सम अवस्थामा छन् भने मानिसको मन सदा प्रसन्न तथा सकारात्मक रहन्छ र मानिस स्वस्थ रहन्छ।

आत्माको प्रसन्नता- निश्वार्थ भावले सामाजिक कार्य गर्दा र परोपकारको भावले आवश्यकतामा रहेकाहरुलाई दान, सेवा तथा सहयोग प्रदान गर्दा र एक मात्र परमशक्तिमाथि आस्था राख्दा आत्मा प्रसन्न हुन्छ र मानिस स्वस्थ रहन्छ।

 

माथि उल्लेखित कुनैपनि पक्षमा सम तथा सन्तुलनको अवस्था छैन अर्थात यि अंगहरुमा अनियमितता छ भने मानिसको शरीर पूर्णतः स्वस्थ रहदैन। योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानले पनि स्वास्थ्यको परिभाषा यही सेरोफेरोमै दिएका छन् र हरप्रकारले मानिसका स्वास्थ्यका सबै आयामहरु पूर्णरुपमा स्वस्थ रहनु पर्ने कुरानै प्रमुख प्राथमिकतामा राखेका छन्।


विश्व स्वास्थ्य संगठन(WHO)का अनुसार स्वास्थ्यको परिभाषा

सम्युक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनले दिएको पुरानो परिभाषामा मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई मात्र समावेस गरिएको तथा जोड दिइएको थियो। तर वास्तविक व्यवहारमा केवल यि तीन पक्षमा मात्र जोड दिदा मानिस पूर्णरुपमा स्वस्थ रहन नसकेको र उसको भावनात्मक र चेतनात्मक तथा आत्मिक अर्थात आध्यात्मिक स्वास्थ्य कमजोर रहेकोकारण उ पुर्णरुपमा स्वस्थ हुन र उसको स्वास्थ्यका सबै आयामका समस्याहरु समाधान नभएको स्वास्थ्य सम्वन्धि गरिएका विभिन्न वैज्ञानिक अनुसन्धानका तथ्यांकहरुले देखाएकाकोकारण मानिस पूर्णरुपमा स्वस्थ रहन उसको आध्यात्मिक स्वास्थ्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने आवश्यकता महसुस गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको पुनर परिभाषा गर्यो र आध्यात्मिक स्वास्थ्यलाई पनि स्वास्थ्यको परिभाषामा समावेस गर्यो। यो स्पष्ट छ कि अध्यात्म तथा प्राचीन चिकित्सा विज्ञान, आधुनिक चिकित्सा विज्ञान र विश्व स्वास्थ्य संगठन सबैले दिएको स्वास्थ्यको परिभाषा अनुसार यदि कुनै व्यक्ति शारीरिक रुपमा पूर्णतः स्वस्थ छ तर उसको स्वास्थ्यका अन्य पक्षहरु मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक अर्थात उसको व्यवहार, बोलीचाली तथा सामाजिक सम्वन्धहरु मध्य कुनै एक मात्र पनि सहि छैन भने उलाई पूर्णरुपमा स्वस्थ व्यक्ति मानिदैन।

 

विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको पुनर परिभाषा अनुसार मानिसको शरीर र मन सामाजिक तथा आध्यात्मिक दृष्टिले स्वस्थ रहुनु नै पूर्ण स्वास्थ्य हो। विश्व स्वास्थ्य संगठनले अध्यात्म तथा प्राचीन चिकित्सा विज्ञानका प्रमुख अंगहरु योग चिकित्सा विज्ञान, आयुर्वेदिक चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानले दिएका परिभाषाहरुलाई नै आधार मानेर स्वास्थ्यको यस्तो समग्र परिभाषा प्रस्तुत गरेको हो। यिनै प्राचीन चिकित्सा विज्ञानका परिभाषाहरुलाई आधार मानेर हाल संचालनमा आएका स्वास्थ्य सेवासंग सम्वन्धित भिन्न-भिन्न संध-संस्थाहरु तथा स्वास्थ्य पेशाकर्मीहरुले स्वास्थ्यको परिभाषा गर्दै आएका छन्। विभिन्न स्वास्थ्य संध-संस्थाहरुले आ-आफ्नो उदेश्य तथा सेवाको प्रकृति अनुसार फरक-फरक किसिमले स्वास्थ्यको परिभाषा गर्ने गरेका भएपनि समग्रतामा सबैले भन्न तथा दिन खोजेको कुरा एउटै हो मानव सेवा र मानवको पूर्ण स्वास्थ्य।

 

वर्तमानमा स्वास्थ्यका सम्वन्धमा मनन् नगरी नहुने महत्वपूर्ण विषय

प्राचीन चिकित्सा विज्ञानले मानिसलाई पूर्णरुपमा स्वस्थ रहनकालागि योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानका विधिहरुलाई जीवनमा अनुसरण गर्न गुरुकुल तथा सामाजिक शिक्षा मार्फत योगका सबै अभ्यासहरु गर्न; असन्तुलित खानपानकाकारण शरीरमा रोग लाग्न नदिन स्वस्थ तथा शुद्ध खानपान गर्न; शरीर तथा वरपरको वातावरण अशुद्धिकाकारण रोग लाग्न नदिन उचित सरसफाइ गर्न; मन, भावना, चेतना तथा आत्म अशुद्धिकाकारण रोग लाग्न नदिन सकारात्मक सोचविचार तथा निश्वार्थ सेवाभाव राख्न प्रेरित गर्दै मानिसको जीवनशैली सहज तथा सक्रिय बनाउन सिकाइन्थ्यो र अवस्था अनुसार यि आचरणहरु अनुशरण गर्न अनिवार्य पनि गरिन्थ्यो जसले मानिसलाई रोगी हुनबाट बचाउँथ्यो र सानोतिनो स्वास्थ्य समस्या भैहाल्यो भनेपनि सहजै स्वस्थ गराउन सकिन्थ्यो किनकी प्राचीन चिकित्सा पद्धति रोग लागेपछि उपचार गर्नु भन्दा आफ्नो जीवनशैली सहज र सक्रिय राखेर रोग नै लाग्न नदिनु निको भन्ने आर्दशलाई आत्मसाथ गरेर चलेको पद्धति हो।

 

तर यो अकाट्य तथ्यगत सत्यताका वावजुद अज्ञानतावस आधुनिक चिकित्सा क्षेत्रमा आधुनिक चिकित्सा विज्ञानको चमकदकम, आधुनिकता, व्यवसायिक सोच, होडबाजी, आडम्वर आदि बिकृतिहरु अत्यधिक हाबी भएकोकारण प्राचीन चिकित्सा विज्ञान र मानिसलाई पूर्ण रुपमा स्वस्थ राख्न मद्धत गर्ने यसका सहज तथा अति उपयोगी विधिहरु ओझलमा परेका छन्। यही कारणले आजको मनुष्यले स्वास्थ्य सेवा क्षेत्रमा झेलिरहेको विडम्वना कति दुखदायि छ भने सनातन अध्यात्म चिकित्सा विज्ञान अन्तर्गत रहेका प्रमुख चिकित्सा पद्धतिहरु आयुर्वेद चिकित्सा विज्ञान, योग चिकित्सा विज्ञान, प्राकृतिक चिकित्सा विज्ञानकै काँध तथा बुई चढेर अस्तित्वमा आएको र हालको समयमा बहुचर्चित रहेको आधुनिक चिकित्सा विज्ञानले प्राचीन चिकित्सा विज्ञानका मानव जीवनकालागि नभइ नहुने, अतिउपयोगी, अतिआवश्यक तथा अतिमहत्वपूर्ण सबै आदर्शहरु लगभग बिर्सिसकेको छ र आधुनिक चिकित्सा विज्ञान पद्धतिलाई लंगडो बनाएको छ। प्राचीन चिकित्सा विज्ञानले मानिसको स्वास्थ्यका चारवटै महत्वपूर्ण आयामहरु शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक तथा आत्मिक स्वास्थ्य र विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार मानिसको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका सबै आयामहरुको उपचारमा समान प्राथमिकता प्रदान गरिनु पर्दछ भन्नेकुरामा जोड दिएको छ तर आधुनिक चिकित्सा विज्ञानले मानिसको केवल शारीरिक स्वास्थ्य र केही मात्रामा मानसिक स्वास्थ्यलाई मात्र आफ्नो प्राथमिकतामा राख्दै आएको छ। त्यस्तै प्राचीन चिकित्सा विज्ञानको अर्को अति महत्वपूर्ण आदर्श रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिने उपायहरुलाई मानिसको दैनिक व्यवहारमा अनुशरण गर्नुपर्छ जस्तो कि योग अभ्यास तथा व्यायाम, प्राणायाम, ध्यान, सकारात्मक सोच, निश्वार्थ सेवा, मनोरन्जन आदिलाई मानिसको जीवनशैली वनाउनु पर्छ भन्ने पक्षमा पछिल्लो समयमा केही हदसम्म आधुनिक चिकित्सिा विज्ञानले आफ्नो मत राख्दै आएको भएतापनि यसलाई प्राथमिकता राखेर यि गतिविधिहरुलाई किन मानिसको जीवनशैली बनाउने र कसरी मानिसको जीवनशैलीमा अनिवार्य गर्न सकिन्छ भनेर स्वास्थ्य सेवाग्राहीहरुलाई सिकाउने सम्वन्धमा आफ्नो उत्तरदायित्व भित्र राखेको समेत छैन, केवल भन्नकोलागि मात्र स्वास्थ्य सेवाग्राहीहरुलाई आफ्नो जीवनशैली सुधार्नुस भन्ने गरेका छन्, कस्तो जीवनशैली अपनाउने र कसरी त्यसलाई सम्भव गराउने भन्ने सम्वन्धमा मौन रहने गरेको तथा कुन विधिले जीवनशैली सुधार गर्ने भन्ने पक्षमा त्यति चासो नदिइएको देखिन्छ।

 

तसर्थ वर्तमान समयमा ठूलो समस्याको स्वरुप लिदै गैरहेको मानिसहरुको समग्र स्वास्थ्य सबै किसिमले सन्तुलनमा राख्न प्राचीन चिकित्सा विज्ञानले अनुशरण गर्दै आएका योग अभ्यास, प्राणायाम, ध्यान, खानपान, सरसफाइ, सकारात्मक सोविचार, निश्वार्थ सेवाभाव जस्ता उपयोगी आचरण र आदर्शहरु तथा आध्यात्मिक जीवनशैलीलाई आधुनिक चिकित्सा विज्ञानले पनि अनुशरण गर्नु आवश्यक छ र यसकालागि आधुनिक चिकित्सा विज्ञानका पाठ्यक्रहरुलाई पुनःपरिमार्जन गरि प्राचीन चिकित्सा विज्ञानका उपयोगी विषयहरुलाई समावेश गर्नुपर्ने आवश्यकता टडकारो देखिएको छ अन्यथा आगामी दिनहरुमा आधुनिक चिकित्सा विज्ञानले स्वास्थ्यको समस्या खासगरि मानसिक स्वास्थ्य समस्या धान्न नसक्ने गरि बढेर जाने विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले देखाइसकेको छ।

 

तर यस सम्वन्धमा स्वास्थ्य क्षेत्रमा केही हुदै नभएको भने अवश्य होइन, हाम्रो वरीपरि भएका सकारात्मक कुरालाई हामीले साथ दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ र त्यसको सिको गर्न अझ बढि फैलाउन मद्धत गर्नुपर्छ। पछिल्लो समयमा मानिसलाई पूर्णरुपमा स्वस्थ राख्नकालागि शारीरिक तथा मानसिक स्वास्थ्यका साथसाथ मानिसको भावनात्मक, चेतनात्मक तथा आत्मिक अर्थात सामाजिक, आध्यात्मिक स्वास्थ्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ भनेर बुझ्न सक्षम तथा आध्यात्मिक रुपले जाग्रीत स्वास्थ्यकर्मीहरुले प्राचीन चिकित्सा विज्ञानले सुझाएका तथा प्राथमिकतामा रोखेका मानिसको शारीरिक र मानसिकका स्वास्थ्यकासाथै सामाजिक तथा आध्यात्मिक स्वास्थ्य पनि सही गर्न मद्धत गर्ने प्राचीन चिकित्सा पद्धतिका विधिहरुलाई आफ्नो स्वास्थ्य संस्था तथा पेशाहरुमा अनुशरण गर्न प्रारम्भ गरेका छन्। अव यो क्रमलाई स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीहरुले मात्र नभई व्यक्ति, समाज तथा राष्ट्रका सरकारी तथा नीजि हरेक अंग तथा निकायहरुले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान पर्याउनु पर्ने आवश्यकता टडकारो देखिन्छ किनकी समग्र विकास सामुहिक प्रक्रिया तथा उत्तरदायित्व हो एक्लैले गरेर सम्भव हुदैन। यो सुविचार सबैको हृदयमा प्रकाशित होस्।

 


No comments:

Post a Comment