'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 5 February 2024

मनका समस्याहरुको समाधानमा ध्यान अति प्रभावकारी चिकित्सा पद्धति हो

Meditation is an Effective Therapy on Problems Solution of Mind

नवयुग निर्माणको आयाम: अध्यात्म जागरण तथा स्वजागरण !

                                        डा. सिर्जना भण्डारी



मानव शरीरका चार आयाम (Four Dimensions of Human Body)

हाम्रो शरीरका चार आयामहरु छन्- स्थुल शरीर, मनश शरीर, भाव शरीर र चेतन तथा आत्मिक शरीर। स्थुल शरीर दृश्य शरीर हो र बाँकी तीन प्रकारका नदेखिने तर सर्वाधिक महत्व राख्ने अदृश्य तथा सुक्ष्म शरीरहरु हुन्। शरीरका यि चारवटै आयामहरु विच एकअर्कासंग प्रत्यक्ष सम्वन्ध तथा प्रभाव रहेको हुन्छ। स्थुल शरीरमा भएका सकारात्मक तथा नकारात्मक परिवर्तनहरुले सुक्ष्म शरीरलाई प्रभाव पार्दछन्, त्यसैगरि सुक्ष्म शरीरमा भएका सकारात्मक तथा नकारात्मक परिवर्तनहरुले स्थुल शरीरलाई प्रभाव पार्दछन्। स्थुल शरीरमा हुने लगभग सबै किसिमका गतिविधि तथा परिवर्तनहरुलाई आधुनिक विज्ञानले आविस्कार गरेका अत्याधुनिक विभिन्न उपकरणहरुको माध्यमबाट देख्न तथा थाहा पाउन सकिन्छ तर बाँकी तीनवटा सुक्ष्म शरीरमा हुने सबै खालका गतिविधिहरुबारे थाहा पाउन सक्ने उपकरण हालसम्म हामी माझ उपलव्ध छैन। केही हदसम्म पछिल्लो चरणमा विकास भएका मनोविज्ञानका सिद्धान्तहरु र यस अन्तर्गत प्रयोग गरिने विभिन्न विधि तथा उपकरणहरुको माध्यमबाट मनस शरिरका मानसिक तथा मनोवैज्ञानिक गतिविधिहरु जान्न र तिनको आवश्यक उपचार गर्न सम्भव भएको त छ तर यो आवश्यकताको तुलनामा अत्यन्त अपर्याप्त छ। बाँकी दुईवटा भाव तथा चेतन शरीरसम्म आधुनिक विज्ञानको सोच समेत पुग्न सकेको छैन। एउटा प्रसिद्ध भनाई छ- ‘जहाँ विज्ञानको सिमा सकिन्छ त्यहाँबाट अध्यात्म शुरु हुन्छ’। यो भनाई सत्य हो किनकी अध्यात्म विज्ञानहरुको पनि विज्ञान ‘महाविज्ञान’ हो र दर्शनहरुको पनि दर्शन ‘महादर्शन’ हो। यो भनाइलाई पूर्वीय सभ्यताका प्राचीन वैज्ञानिक, हाम्रा पुर्खा, परमतपश्वी ऋषिमुनिहरुले लामो समय लगाएर गरेका आफ्ना विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धानहरुबाट दशौं हजार वर्षअघि नै प्रमाणित गरिसकेका थुप्रै प्रमाणहरु हामी समक्ष छन्। आधुनिक विज्ञान अध्यात्म विज्ञानको एउटा सानो साखा हो जसले दशौं हजार वर्षअघि अध्यात्मले गरेका प्रत्यक्ष वैज्ञानिक खोज तथा अनुसन्धानहरुलाई आधुनिक युगमा आविस्कार गरिएका नयाँ-नयाँ अत्याधुनिक प्रविधिहरुको माध्यमवाट पुनःखोज तथा अनुसन्धान गरेर प्रमाण सहित हाम्रा सामु राख्दै आइरहेको छ र आधुनिक भौतिक विज्ञान कहलाएको छ तर अत्यन्तै कम अंशमा यो काम भएको छ र सनातन अध्यात्म विज्ञानले खोजमा आएका अधिकांश विषयहरु आधुनिक भौतिक विज्ञानले पत्ता लगाउन बाँकी नै छ, भौतिक विज्ञानले पत्ता लगाउन बाँकी रहेका सत्य-तथ्यहरुलाई पराभौतिक विज्ञान भन्ने गरिन्छ। कम अंशमा भएको भएपनि भौतिक विज्ञानले अध्यात्म विज्ञानले गरेको खोजमाथि गरेको पुनःखोज तथा अनुसन्धानको कामले निरन्तरता पाइरहेको छ। अव आउने दिनहरुमा हाम्रा पुर्खाले गरेका प्राचीन वैज्ञानिक खोज तथा अनुसन्धानबाट उपलव्ध अभिलेखहरुको उत्खनन् गरि तिनको संरक्षण तथा प्रवद्र्धन गर्दै सबैको कल्याण हुने किसिमले व्यापक ढंगले तिनलाई उपयोगमा ल्याउने काममा अग्रसर भई आधुनिक भौतिक विज्ञानले गरेका खोज तथा आविश्कारका तथ्यांकहरुलाई बढि प्राथमिकता दिने तथा प्रामाणिक मान्ने पुस्ताहरुले बुझ्ने र अनुशरण गर्नेगरि व्यवहारमा तथा दृश्यमा ल्याउनु आज हामी सबैको उत्तरदायित्व बनेको छ।

 

मन तथा मनोविज्ञान के हो? (What is Mind and Psychology)

व्यवहारीक परिभाषा अनुसार हाम्रो दैनिक व्यवहार तथा जीवनशैलीमा हाम्रा ज्ञान तथा कर्म इन्द्रियहरुबाट प्राप्त सूचनाहरुका कारण दिमागका स्नायुहरु चलायमान हुन्छन् र विचारहरु उत्पन्न हुन्छन्, यिनै विचारहरुको समुह मन हो। विचारहरुका कारण मानिसको मनमा बनेका भाषा, व्यवहार तथा प्रकृति मनोविज्ञान हो जसले मानिसको मानसिकता र उसले गर्ने हरेक किसिमका क्रिया, व्यवहार तथा गतिविधिहरुमा प्रत्यक्ष प्रभाव पार्दछ। वास्तवमा भन्ने हो भने मन नै अति महत्वपूर्ण सुक्ष्म अंग हो अर्थात सबैथोक हो जो मनुष्यको जीवनको भौतिक विज्ञान तथा पराभौतिक विज्ञान दुवै आयामसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ र हाम्रा शरीरका चारवटै आयामहरुमा हाम्रो मन तथा मनोविज्ञानले प्रत्यक्ष प्रभाव पार्दछ। आधुनिक मनोविज्ञानका अनुसार हाम्रो मनका तीनतह छन्- चेतन, अवचेतन र अचेतन। अध्यात्म विज्ञानका अनुसार हाम्रो मनका साततह छन्, यि हाम्रो शरिरका सुक्ष्म उर्जा केन्द्र सात चक्रहरुसंग जोडिएका छन् र मनका यि साततहहरु योग साधनाका माध्यमबाट सक्रिय तथा जाग्रीत हुन्छन्। मनोविज्ञान भन्छ चेतन मन हाम्रो समुच्चा मनको केवल १० प्रतिशत अंश मात्र हो, बाँकी ९० प्रतिशत अंश अवचेतन र अचेतन मनले ओगटेको हुन्छ र प्राय हामीले दैनिक रुपमा गर्ने सबै किसिमका गतिविधिहरु अवचेतन र अचेतन मनबाट नै संचालित तथा नियन्त्रित हुन्छन्। मनोविज्ञान तथा अध्यात्म विज्ञानका अनुसार मनका सबै तहहरुको सिमा तथा क्षमता असिमित हुन्छ हाम्रो मनमा जन्म-जन्मदेखिका स्मृतिहरु संग्रहीत भएर रहेका हुन्छन् र यिनै जन्म-जन्मदेखिका संग्रहीत स्मृति तथा संचित संस्कारहरुलाई नै हाम्रो संचित कर्म, प्रारब्ध तथा भाग्यको रुपमा लिने गरिन्छ जुन हामीले भौतिक संसारमा जीवन जीउने क्रममा सकारात्मक तथा नकारात्मक परिणामका रुपमा हाम्रो दैनिक व्यवहार तथा जीवनमा घटित भएर देखापर्ने गर्दछन् ।

 

प्राविधिक तथा वैज्ञानिक परिभाषा अनुसार प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)को भाषामा उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह मन हो अध्यात्म विज्ञान  प्रमात्रा भौतिक विज्ञान दुवै भन्छन् उर्जाका परमाणुहरूद्वारा निर्मित संधै उर्जाको तरंगमा चलिरहने ब्रम्हाण्ड हरपल परिवर्तनशील , यहाँ केही पनि स्थिर छैन। ब्रह्माण्ड यिनै उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह हो र हाम्रो मन पनि यिनै विचारका उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह हो। किनकी हाम्रो विचार पनि उर्जा हो जो निरन्तर हाम्रो मस्तिष्कका स्नायुहरुवाट निस्किएर ब्रह्माण्डमा तरंगीत भइरहन्छ र हाम्रो मन यिनै विचारका उर्जाका तरंगहरुबाट निर्मित हुने हुनाले स्थिर छैन किनकी हरेक प्राणीहरुको मनलाई ब्रह्माण्डमा चलिरहने उर्जाका तरंगहरुले हरपल प्रभावित गरिरहेका हुन्छन्। अझ स्पष्ट भाषाका भन्नु पर्दा हामीभित्र लगातार प्रवाहित भैरहने यिनै विचारका उर्जा तरंग तथा सूचनाहरुको आदान-प्रदान नै हाम्रो मन हो जसलाई ब्रह्माण्ड भरि तरंगीत भैरहेका उर्जाका एलोक्ट्रो मेग्नेटीक तरंगहरुले प्रत्यक्ष रुपमा प्रभावित गरिरहेका हुन्छन् र हाम्रो मन, व्यवहार, भाषा, जीवनयापन, जीवनशैली  कुनै घटना तथा विषयप्रति हेर्ने हाम्रो दृष्किोणको निरन्तर निर्धारण र निर्माण गरिरहेका हुन्छन्। अव प्रश्न उठ्छ त्यसोभए हामीले हाम्रा ज्ञान इन्द्रियहरुबाट कस्ता सूचनाहरु ग्रहण गरिरहेका छौं, दिमागमा कस्ता विचारहरु आउन दिरहेका छौं, हाम्रो मन कस्तो बनाइहेका छौं, हाम्रो व्यवहार तथा भाषा कस्ता बनिरहेका छन् र हाम्रो जीवनयापन तथा जीवनशैली कस्तो बनाउने। यो पाठको सिकाइ र सिकाइको विधि हाम्रा पुर्खा, प्रचीन वैज्ञानिक ऋषिमुनिहरुले दशौं हजार वर्ष अघि नै पूर्वीय अध्यात्म दर्शनमा समावेश गरेर हामीलाई यो प्रज्ञाको धनी बनाइसकेका छन्। यसको तात्पर्य यो हो कि हाम्रो मनको सही व्यवस्थापन गर्ने सिकाइ हाम्रो सनातन अध्यात्म ज्ञान भित्रै छ तसर्थ यस सिकाइको सही उपयोग गर्दै सबै माझ पुर्याउनु अति आवश्यक छ।

 

मनोविज्ञान- हाम्रा विचारहरुले हाम्रो मनमा कुनै विषय तथा घटनाप्रति बनाएको छवि तथा नक्शाको आधारमा वास्तविक सत्य मानेको मानसिक अवस्था मनोविज्ञान हो। मानिसले कुनै पनि विषय तथा घटनाको सम्वन्धमा आफ्नो मनोविज्ञान अनुसार नै प्रतिक्रिया तथा व्यवहार प्रकट गर्ने गर्दछ। मानिसको मनोभाव अर्थात मानसिक तथा भावनात्मक अवस्था, मानसिक प्रक्रिया, अनुभव, व्यक्त-अव्यक्त व्यवहारहरुको क्रमवद्ध तथा वैज्ञानिक तवरले अध्ययन गर्ने विज्ञानलाई मनोशास्त्र अर्थात मनोविज्ञान भनिन्छ र यो अनुभवको विज्ञान हो।

 

मनका समस्याहरु (Problems of Mind)

जीवन जिउने क्रममा मानिसका सामु विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारीक सजिला-अप्ठ्यारा परिस्थितिहरु आइपर्ने गर्दछन्। यस्ता परिस्थितिहरुलाई हेर्ने हरेक मानिसको आ-आफ्नो मनोविज्ञान अनुसार फरक-फरक दृष्टिकोण हुन्छ। मानिसले कुनै विषय तथा घटनालाई हेर्ने दृष्टिकोणमा उसले आफ्नो दिमाग, मन र भावमा सम्वन्धित घटना तथा विषयप्रतिको भोगाइ तथा अनुभव र त्यसका आधारमा तयार गरेको छवि तथा नक्शाको प्रत्यक्ष प्रभाव रहेको हुन्छ र उसले बनाएको छवि तथा नक्शामा उसको मनमा संग्रहित जन्म-जन्मका स्मृति तथा संस्कारहरु तथा वर्तमानमा उ रहदै आएको परिवेश, वातावरण तथा संस्कारको प्रत्यक्ष प्रभाव रहेको हुन्छ। यहीकारण हरेक व्यक्तिले एकै किसिमका घटना तथा विषयलाई फरक-फरक किसिमले लिने, त्यसउपर आफ्नो प्रतिक्रिया दिने तथा फरक किसिमले व्यवहार गर्ने गर्दछन्। यस्ता प्रतिक्रिया तथा व्यवहारहरु उनीहरुको आन्तरीक बुझाइ, क्षमता, साहस, आत्मचेतना, आत्मसम्मान तथा आत्मविश्वासको अवस्थामा पनि निर्भर गर्दछ। मानिसले कुनैपनि घटना तथा विषयमाथि आफ्नो दिमाग, मन र भावमा बनाएको छवि तथा नक्शा कतिको सत्य तथा वास्तविक हो या होइन भन्ने कुरामा त्यति विश्लेषण गर्दैन र तिनै पस्थितिहरुलाई सतप्रतिशत वास्तविक सत्य मानेर त्यसैलाई आफ्नो वास्तविक पहिचान मान्दछ र त्यही पस्थितिभित्र आफूलाई अभ्यस्त गर्दै मनपरे पनि मननपरे पनि जीउन बाध्य गराउँछ र यहीकारण जीवनमा विभिन्न किसिमका शारीरिक, मानसिक, व्यवहारीक समस्याहरु र अशान्त तथा अस्थिरताको अवस्था बेहोर्दछ।

 

वास्तविकता के हो र केलाई वास्तविक सत्य मान्ने? (What is Reality?)

मानिस आफूले जीवनयापन गरिरहेको भौतिक  संसार तथा भौतिक जीवनशैलीमा जे देख्छ, जे भोग्छ तथा जे अनुभव गर्छ त्यसैलाई वास्तविक सत्य हो भन्ने ठान्दछ किनकी यि दृश्य, भोगाई र अनुभवहरुका छवि तथा नक्शाहरुले उसको दिमाग, मन, भाव र चेतनामा गहिरोगरी छाप छोडेका हुन्छन् जसलाई उ सहजै होइन भनेर इन्कार गर्न, मनबाट हटाउन, मेटाउन तथा त्यसलाई नमान्न र परिवर्तन गर्न सक्दैन यसो गर्दा उ परिवार तथा समाजबाट अलग्निु पर्छ, परिवार तथा समाजले अस्वीकार गर्छ भन्ने डरले त्यसैको मुनि दबेर जीवन जीउन बाध्य हुन्छ। तर अध्यात्मले यो ब्रह्माण्ड पुरै माया हो, भ्रम हो, यहाँ केही पनि वास्तविक तथा सत्य छैन, यो सपना नगरी हो अनित्य  छ भनेर परिभाषित गर्दछ। वास्तविक सत्यलाई हेर्ने तथा बुझ्ने भौतिक विज्ञान र अध्यात्म विज्ञानको यही दृष्टिकोणलाई राम्ररी बुझ्न नसकेर आजका मनुष्य जीवनमा विभिन्न किसिमका कठिनाइहरु भोग्दै आइरहेका छन्।

 

वास्तवमा अध्यात्म विज्ञानले परिभाषित गरे जस्तै वास्तविक सत्य भन्ने केही पनि छैन, सबै घटना तथा विषयहरु भ्रम र हामी आफैं-आफैंले आ-आफ्नो दिमाग, मन, भाव र चेतनामा निर्माण गरेका छवि तथा नक्शाहरु हुन् जसलाई व्यक्तिपिच्छे, संस्कारपिच्छे, आयामपिच्छे फरक-फरक दृष्टिकोणबाट हेरिन्छ र फरक किसिमले परिभाषित गरिन्छ। उदाहरणकोलागि प्राकृतिक प्राणीहरु जस्तै ‘पेंटेड लेडी’ प्रजातिको पुतलीले यो प्रकृति तथा संसारलाई फरक किसिमले कलाइडोस्कोप(Kaleidoscope) अर्थात 3D ढाँचामा देख्छ, रातिमात्र आँखा देख्ने चरो लाटोकोसेरोले फरक किसिमले देख्छ, अरु प्राणीहरुले पनि फरक-फरक किसिमले देख्छन् र मानिसहरुले पनि फरक-फरक किसिमले देख्छन्। यि सबै प्राणीहरुकालागि आ-आफ्नै किसिमका वास्तविक सत्य छन्। मानिस प्राणीहरु मध्य सर्वोत्कृष्ट चेतनशील प्राणी भएकोले उसले हरेक भौतिक तथा पराभौतिक विषयहरुलाई आफ्नो समझ, बुझाइ, चेतनाको स्तर, अनुभव, भूगोल, समाज, धर्म तथा संस्कार अनुसार अझ फराकिलो ढंगले फरक देख्छ यो संसारलाई र झन धेरै प्रकारका वास्ताविक सत्यहरु निर्माण गर्दछ आफ्नो दिमाग, मन, भाव, चेतना अर्थात मनोविज्ञानमा। तसर्थ केलाई वास्ताविक सत्य मान्ने यो पहिलो प्रश्न हो। यदि वास्तविक सत्य अवस्था अनुसार फरक-फरक हुन्छ भने हामी किन हामीले मानेकै छवि, नक्शा तथा मान्यतालाई वास्तविक सत्य मानेर संधै दु:खी भैरहने यो दोस्रो प्रश्न हो। यदि वास्तविक सत्य फरक-फरक हुन्छ भने हामी वास्तविक ‘वास्तविक सत्य’को खोजी किन नगर्ने र भ्रमको जीवनबाट किन मुक्त नहुने यो तेस्रो प्रश्न हो। यसवोच्च सत्य यो हो कि र दुनियाको सर्वोच्च वास्तविक ‘वास्तविक सत्य’को खोजी केवल सनातन अध्यात्म विज्ञानका विधिहरुले मात्र सिकाउन तथा मद्धत गर्न सक्छ।

 

वास्तविक सत्यलाई मानिसको व्यवहारीक परिवेशमा हेर्दा

स्वश्थ नाता-सम्वन्ध बेहोरेको व्यक्तिले हरेक नातेदार तथा सम्वन्धीहरुलाई खराव देख्छ र शंकाको दृष्टिले हेर्छ तर अर्कोकोलागि यो वास्तविक सत्य नहुन सक्छ, कुनै क्षेत्रमा सफलता पाउन नसकेको व्यक्तिले उक्त क्षेत्रलाई मुस्किल र सफलतालाई असम्भव देख्छ तर अर्कोकोलागि यो पनि वास्तविक सत्य नहुन सक्छ। त्यस्तै परिवारमा एकजनालाई नराम्रो किसिमको रोग लागेको छ भने परिवारको अर्को सदस्यले मलाई पनि यस्तै हुन्छ होला भनेर चिन्तित हुन थाल्छ तर उसकालागि यो पनि वास्तविक सत्य नहुन सक्छ। यो सबै मानिसको मनको भ्रम हो किनकी मानिसको मन नै सबैथोक हो, मनमा गहिरोसंग स्थापित भएको छवि तथा नक्शाले उसका हरेक गतिविधिहरुमा प्रत्यक्ष रुपमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्दछ। मानिसको मन स्वश्थ, सन्तुलित तथा सकारात्मक छ भने बिना कुनै ठूलो तथा विशेष मेहनत उसको जीवन सुखी, खुशी, शान्त, समृद्ध, सफल र आनन्दित हुन्छ। तर मन स्वश्थ, सन्तुलित तथा सकारात्मक छैन भने उसले विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारिक कठिनाइहरु बेहोर्दै बेखुशी र अशान्त जीवन जीवन बाध्य हुन्छ।

 

तसर्थ, मानिसको मनलाई दु:खी, असफल, अशान्त तथा रोगी बनाउने विविध कारणहरु पत्ता लगाएर त्यसको निदान खाोज्नु आजको विश्वमा हामी सबैको सबैभन्दा महत्वपूर्ण काम तथा उत्तरदायित्व भएको छ। भौतिक विज्ञान तथा आधुनिक चिकित्सा विज्ञानका पद्धतिहरुले जतिसुकै प्रगति गरेको भएपनि यि पद्धतिहरु मानिसको मनको धेरै भित्रसम्म पुग्न सकेका छैनन् तर अध्यात्म विज्ञान दशौं हजार वर्ष अगाडि देखि नै मानिसका मनका सबै तहहरुका साथसाथ, भावना र चेतनाका सबै तहहरुमा समेत पुगिसकेको छ र अध्यात्मसंग मन, भावना र चेतना शुद्ध राख्ने तथा उपचार गर्ने पर्याप्त विधिहरु पनि छन्। मानिसको मन सन्तुलित राख्नकालागि अध्यात्म विज्ञानमा सबैभन्दा बढि अनुशरण गरिने विधि योग हो, पातन्जल शुत्रका अनुसार योगका आठवटा अंगहरु छन्। प्रकृतिका आधारमा यि आठ अंगहरुलाई दुई भागमा विभाजन गरिएको छ, वहिरंग अंग र अन्तरंग अंग। वहिरंग अंग अन्तर्गत- (१)यम (२)नियम (३)आसन (४)प्राणायाम (५)प्रत्याहार रहेका छन् र अन्तरंग अंग अन्तर्गत- (६)धारणा (७)ध्यान र (८)समाधि रहेका छन्। योगका आठ अंगमा वहिरंग अंगका पाँच अंगहरु मानिसले आफू र संसारप्रति गर्नुपर्ने सद्व्यवहारहरुसंग समवन्धित छन् र अन्तरंग अंगका तीन अंगहरु आफैंभित्र आफूलाई खोजी आफ्नो चेतनाको स्तर बढाउने ध्यान साधनासंग सम्वन्धित छन्।

 

योगका यि आठ महत्वपूर्ण अंगहरुमध्य अध्यात्म विज्ञान र आधुनिक चिकित्सा विज्ञान दुवैले मानिसको शारीरिक, मानसिक र व्यवहारीक कठिनाइ तथा समस्याहरुको समाधान गर्न सबैभन्दा बढि योगासन, प्राणायाम र ध्यान साधनाका विधिहरुलाई व्यवहारमा प्रयोग गर्दै आइरहेको छ। योगासन र प्राणायाम बहिरंग विधि हुन जसको अभ्यासले अन्तरंग विधि ध्यान साधनालाई मानिसको जीवनमा अनुशरण गर्न सहज बनाउने हुनाले ध्यानको सहयोगी विधिको रुपमा अभ्यास गर्ने गरिन्छ तर ध्यान साधना गर्नकालागि योग तथा प्राणायाम गर्नुनै पर्छ भन्ने अनिवार्यता भने छैन। योगासन तथा प्राणायामको अभ्यास नगरीकन पनि ध्यान साधना गरेर हाम्रो शरीर, मन, भावना तथा चेतनाको सन्तुलीकरण गर्न सकिन्छ तर योगासन तथा प्राणायामको अभ्यास गर्नु अत्यन्त लाभदायक मानिन्छ जसले मानिसको शरीरका चारवटै आयामहरुलाई सन्तुलित राख्न मद्धत गर्दछ र ध्यान साधनामा प्रवेश गर्न सहज वातावरण तयार गर्दछ। मनिसको शरीर, मन, भावना तथा चेतनाको सन्तुलीकरण गर्न सर्वाधिक रुपमा ध्यानका विधिहरु अनुशरण गर्दै आइएको सन्दर्भमा ध्यानलाई एक महत्वपूर्ण मनोचिकित्सा पद्धतिको रुपमा मान्यता दिदै आइएको छ। वास्तवमा मानिसका सबै रोगहरु, असहज अवस्थाहरु, अप्ठ्यारा व्यवहार तथा गतिविधिहरु उसले आफ्नो मनमा कुनैपनि घटना तथा विषयहरुलाई हेर्न बनाएको छवि तथा नक्शाहरुको आधारमा हुने हुनाले साधनाका क्रममा ध्यानले थाहा नै नपाइकन मनुष्यको मनलाई क्रमिक रुपमा विस्तारै फकाउदै भन्छ- ‘हे भ्रमित मनुष्य तैंले यो दृश्य अर्थात भौतिक जगतमा जे देखिरहेको, भोगिरहेको तथा अनुभव गरिरहेको छस् ति सबै माया हुन, यहाँ केही पनि वास्तविक सत्य छैन, वास्तविक सत्य केवल म हुँ ‘ध्यान’, म तँलाई तेरो आत्मा, चेतना र त्यो परालौकिक अद्वेत सम्म पुर्याउने पथप्रदर्शक हुँ जो तेरो शरीर रहदा र नहरँदा दुवै अवस्थामा तँ संगै रहन्छ त्यसैले भौतिक संसारको पछि लाग्न छोड र मलाई अभ्यास गर्ने क्रियामा लाग भन्दै हाम्रो विचार, मन, भावना र चेतनामा गढेर रहेका भ्रमित, नकारात्मक तथा असन्तुलित छवि तथा नक्शाहरुलाई निर्मुल गरिदिन्छ र अन्त्यमा साधकको शरीर, मन, भावना र चेतनालाई पूर्णरुपमा सकारात्मक, निर्मल र सम्पूर्ण किसिमले स्वश्थ बनाइदिन्छ।

 

मनका समस्याहरुको समाधानमा ध्यान चिकित्सा पद्धतिको भूमिका

(Role of Meditation Therapy on Problems Solution of Mind)

हाम्रा ज्ञानइन्द्रियहरुले पाएको सूचनाका आधारमा हाम्रो दिमागका स्नायु/न्यूरोन्सहरु चलायमान हुन्छन् र हाम्रो विचार बन्दछ। यो विश्वास गरिदै आइएको छ कि हामी जस्तो विचार गर्छौं त्यस्तै नै बन्दै जान्छौं किनकी विचारले मन बनाउँछ, मनले हाम्रो व्यवहार तथा भाषा बनाउँछ र हाम्रो व्यवहार तथा भाषाले हाम्रो सम्वन्ध, जीवनयापन तथा जीवनशैली बनाउँछ। तसर्थ हामी कस्तो हुने तथा बन्ने भन्ने निर्णय गर्ने अधिकार हामीलाई नै छ अर्थात हामीले हाम्रो मनको सही व्यवस्थापन गरेर चाहे अनुसारको जीवनशैली निर्माण गर्ने अधिकार हामीलाई नै छ।

 

ध्यान चिकित्सा पद्धति (Meditation Therapy)

व्यवहारीक प्रयोगका आधारमा चिकित्सा अर्थात थेरापीलाई फिजियो थेरापी र साइको थेरापी दुइ किसिममा विभाजन गरिएको छ। सामान्यतया चिकित्सा शव्दलाई शारीरिक तथा मानसिक रोगहरुको उपचारसंग मात्र जोडेर बुझ्ने गरिन्छ तर वास्तविकतामा यसको दायरा फराकिलो रहेको छ। शारीरिक तथा मानसिक रोगहरुको मात्र नभएर सबै किसिमका समस्याहरुको समाधान तथा उपचार गर्नु पनि चिकित्सा नै हो भनेर बुझ्नु आवश्यक छ। मानिसको शरीर, मन, भावना, चेतनाका तथा व्यवहारीक समस्याहरुको समाधान गर्ने विभिन्न प्रकारका उपचार पद्धतिहरुमा प्राचीन सनातन योग तथा ध्यान चिकित्सा पद्धति देखि लिएर हालसम्मको वैज्ञानिक खोजको सबैभन्दा नयाँ आविस्कार तथा उपलव्धि आधुनिक चिकित्सा पद्धतिसम्म धेरै प्रकारका चिकित्सा पद्धतिहरु र तिनका विधिहरु उपलब्ध छन्। मानिसको समस्याको प्रकृति अनुसार फरक-फरक मानिसकालागि फरक-फरक चिकित्सा पद्धति तथा तिनका विधिहरु प्रभावकारी हुन सक्छन्। प्राय सबै चिकित्सा पद्धतिहरुको उदेश्य समस्याको सर्वोत्कृष्ट समाधान तथा उपचार उपलव्ध गराउनु भएपनि तिनका विषेशता तथा उपचार गर्ने पद्धति, विधि तथा तौर-तरिकाहरु फरक-फरक किसिमका छन्। यि विभिन्न प्रकारका चिकित्सा पद्धतिहरु मध्य ध्यान चिकित्सा पद्धतिलाई सबैभन्दा प्राचीन र वर्तमान समयमा विश्वभरिनै आधुनिक चिकित्सा पद्धतिसंग समन्वय गर्दै मानिसकका शारीरिक, मानसिक, भावनात्म, चेतनात्मक तथा व्यवहारीक समस्याहरुको उपचारमा सर्वाधिक उपयोगमा ल्याइएको अत्यन्त प्रभावकारी मनोचिकित्सा पद्धतिको रुपमा मानिन्छ।

योगासन तथा प्राणायामको प्रयोगबाट फिजियो थेरापी र ध्यान साधनाको प्रयोगबाट साइको थेरापी अर्थात चिकित्साका दुवै पद्धति अपनाइने 'ध्यान' साधनामा अधारीत एकप्रकारको मनोचिकित्सा पद्धति हो जसमा साधकले साधनाको माध्यमबाट आफ्ना विचार, मन, भावना र चेतनालाई ब्रह्माण्डीय चेतनाको एक विशेष अवस्थामा पुर्याउने प्रयास गर्दछ। ध्यान साधनाका विभिन्न विधिहरु छन्, व्यक्तिको आवश्यकता हेरी ति विधिका नियम अनुसार उपयुक्त किसिमले अनुसरण गरेर इच्छ्याइएको उदेश्य तथा उपलव्धि हासिल गर्न सकिन्छ। प्रयोगका आधारमा ध्यान साधनालाई दुइ किसिमले उपयोग गर्दै आइएको पाइन्छ (१) ध्यान साधनाको भावातीत प्रयोग र (२) ध्यान साधनाको व्यवहारीक प्रयोग। ध्यान साधनाको भावातीत प्रयोग पराभौतिक अर्थात अध्यात्म विज्ञान अन्तर्गत गर्ने गरिन्छ। भावातीत ध्यान साधनामा साधकले आफ्नो चेतनाको रुपान्तरण गरि ब्रह्मको यात्रा गर्ने क्रममा परालौकिक तथा पराभौतिक अनुभूतिहरु हासिल गर्दछ जसमा साधकले आफूभित्र आन्तरिक रुपान्तरण तथा आत्मिक नवीनीकरण को दिव्य अनुभूति गर्दछ यस्ता अनुभूतिहरु शव्द तथा भावहरुमा व्यक्त गर्न नसकिने भावातीत (भाव-अतीत, भावभन्दा पर) किसिमका हुन्छन् अर्थात जसले यस्ता अनुभूतिहरु हासिल गरेको छ उसैले मात्र जान्दछ ति अनुभूतिहरु अरु समक्ष बोलेर तथा इशारा गरेर जस्ताको तस्तै बुझाउन सकिदैन। प्राचीन कालमा प्राचीन वैज्ञानिक अर्थात पूर्वीय ऋषिमुनिहरुले ध्यान साधनाको भावातीत प्रयोग बढि गर्नुभयो तर वर्तमान समयमा ध्यान साधनाको भावातीत प्रयोग कम र व्यवहारीक प्रयोग बढि गर्दै आइरहेको देखिन्छ खासगरि शारीरिक तथा मानसिक स्वाश्थ्य लाभकालागि। ध्यान साधनाको व्यवहारीक प्रयोगमा मानिसको आवश्यकता हेरी ध्यानका विभिन्न विधिहरु मध्य केहीको उपयोग गरि उनीहरुको विचार, मन, भाव तथा चेतनामा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउने प्रयास गरिन्छ र यस किसिमको पूर्णताउन्मुख परिवर्तनहरुले विस्तारै मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक समस्याहरुको समाधान गर्न सहयोग गर्दछन्। यस आलेखको उदेश्य ध्यान साधनाको व्यवहारीक प्रयोगबाट मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक समस्याहरुको समाधानका विषयहरुलाई प्रकाश पार्नु रहेको छ।

ध्यान साधना कसरी एक विशिष्ठ चिकित्सा पद्धति हो र यसले कसरी काम गर्छ?

ध्यान साधनाको व्यवहारीक प्रयोग (Practical Meditation)

अध्यात्म विज्ञान भन्छ मानिस आँखाले देख्न सक्ने पदार्थहरुको जोडले बनेको भौतिक शरीरको पिण्ड मात्र नभएर उ भित्र हाम्रा नांगा आँखा तथा आधुनिक विज्ञानले आविश्कार गरेका कुनैपनि उपकरणहरुको माध्यमबाट स्थुल तथा चित्र रुपमा देख्न नसकिने सुक्ष्म तत्वहरु मन, भावना, चेतना तथा उर्जाका केन्द्र चक्रहरुको अझ ठूलो फैलावट तथा उपस्थिति छ र हाम्रो स्थुल शरीर यिनै सुक्ष्म तत्वहरुबाट नै निरन्तर परिचलित भइरहेको हुन्छ। प्रमात्रा भौतिक विज्ञान भन्छ ब्रह्माण्डका हरेक वस्तुहरु उर्जाको तरंगबाट निर्मित छन्, हरवखत चलायमान छन् र यहि नियम अनुसार मानिसका शरीरका भौतिक तथा सुक्ष्म चारवटै आयामहरु पनि उर्जाका तरंगहरुबाट निर्मित, चलायमान र परिवर्तनशील छन्। हर समय मानिसको मस्तिष्कका स्नायसहरुमा चलिरहने विचारका तरंगहरु सवभन्दा महत्वपूर्ण र प्रभावकारी उर्जाका तरंगहरु हुन् जसलाई चेतनाको रुपमा बुझिन्छ, यही चेतनाको उर्जाबाट हाम्रो ब्रह्माण्डको निर्माण भएको हो। हाम्रा विचारका उर्जाका तरंगहरुले ब्रह्माण्डमा भएका अन्य उर्जाका तरंगहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछन् र ब्रह्माण्डमा रहेका उर्जाका तरंगहरुले हाम्रो विचार, मन, भाव तथा चेतनामा चलिरहेका उर्जाका तरंगहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछन्। ब्रह्माण्डको आकर्षणको नियमको प्रभावका कारण हाम्रो मस्तिष्कबाट जस्तो प्रकारका विचारका चुम्बकिय विद्युत तरंगहरु ब्रह्माण्डमा पठाउँछौं समले समलाई आकर्षित गर्ने नियम अनुसार ब्रह्माण्डबाट त्यस्तै किसिमका विचारका उर्जाका तरंगहरु आफूतिर आकर्षित गर्दछौं र यिनै आकर्षित उर्जाका तरंगहरुले हाम्रा क्रिया, गतिविधि, व्यवहारहरु तथा समग्र जीवनमा सकारात्मक तथा नकारात्मक परिणामहरु ल्याउँदछन्। त्यसैले भन्ने गरिन्छ ‘यथा पिण्डे तथा ब्रह्माण्डे’ अर्थात हामी जस्तो विचार गर्दछौं त्यस्तै बन्दछौं र त्यसै अनुसार हाम्रा भाषाको प्रयोग, व्यवहार तथा क्रियाहरु गर्दछौं। ब्रह्माण्डको यो नियम अनुसार हामी सुखी, खुशी, सफल, समृद्ध, शान्त र आनन्दित बन्न हामीले गर्ने विचारहरुलाई हर प्रकारले सकारात्मक बनाउनु अति आवश्यक छ र हाम्रो विचार शुद्ध, सकारात्मक तथा सहयोगी बनाउन ध्यान साधना सबैभन्दा महत्वपूर्ण र उपयोगी विधि हो किनकी ध्यान साधना सम्पूर्ण रुपमा ब्रह्माण्डमा तैरिरहेका उर्जाका तरंगहरुसंग जोडिने र ब्रह्माण्डका सकारात्मक तरंगहरु आफूतिर कर्षित गर्ने हालसम्मकै सवोत्कृष्ट साधना पद्धति हो।

ध्यान साधनाका लाभहरु अनन्त छन्, ध्यानका विधिहरुको उपयुक्त अनुसरणबाट मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको समाधान गर्न सकिन्छ। मानिस जव आफ्ना ज्ञान इन्द्रियहरुलाई वाहिरको संसारबाट अलग गरि आफूतिर फर्काएर मेरुदण्ड(कम्मर, ढाड, गर्धन) सिधा गरेर ध्यानस्त हुन्छ तव उ भित्र आन्तरीक रुपमा सकारात्मक परिवर्तनहरु हुन शुरु हुन्छन्। आन्तरीक रुपमा उ भित्र भएका सकारात्म परिवर्तनहरुले सुक्ष्म तरिकाले विस्तारै उसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको समाधान तथा उपचार गर्न शुरु गर्दछन्। ध्यान साधना मानिसका सबै किसिमका समस्याहरुको समाधान गर्ने अचुक उपचार पद्धति हो भन्ने विषयमा स्वास्थ्य तथा व्यवस्थापनको विषय हेर्ने तथा अध्ययन गर्ने विभिन्न विशिष्ठ व्यक्तित्वहरु तथा संघसंस्थाहरुले गरेका थुप्रै वैज्ञानिक अध्ययन तथा अनुसन्धानका तथ्यांकहरुले प्रमाणित गरिसकेका छन्।

मानिस ध्यानस्त रहदा ज्ञान इन्द्रियहरुले वाहिरबाट प्राप्त गर्ने सूचनाहरुको प्रवाह बन्द हुन्छ र हाम्रा चेतन मस्तिष्कका स्नायुहरु सूचनाको अभावमा चल्न बन्द हुन्छन् र विचारहरुको प्रवाह पनि विस्तारै कम हुदै जान्छ र मन शान्त हुन्छ। र ध्यानस्त रहदा अवचेतन मनबाट पनि विचारहरु उठ्ने हुनाले तिनलाई निस्तेज गर्न ध्यान साधनाको समयमा विशेष गरिकन चेतनालाई श्वास-प्रश्वासमा केन्द्रित गर्ने, आफ्नो शरीरका सम्पुर्ण अंगहरुको सुक्ष्म निरीक्षण तथा याद गर्ने, कुनै सकारात्मक कल्पनाको धारणामा चेतनालाई केन्द्रित गर्ने, आफ्नोलागि सकारात्मक भावहरु मनमा दोहोर्याइरहने, कुनै विशेष भगवानको मन्त्रो उच्चाहरण गर्ने तथा जप्ने आदि विधिहरु अपनाइन्छ जसले साधकको चेतन तथा अवचेतन मनमा उठ्ने अतिविचारहरु खासगरि नकारात्मक विचारहरुलाई निर्मुलिकरण र विस्तारै निर्मलिकरण गर्दछ। यो अवस्थामा साधकमा भौतिक र अभौतिक अर्थात शारीरिक र मानसिक दुइ किसिमका सकारात्मक परिवर्तनहरु देखापर्न थाल्छन्। जव साधकको मन शान्त र सकारात्कम बन्छ यस्तो अवस्थामा हाम्रो शरीरका उर्जा केन्द्रहरु अर्थात हाम्रा सात चक्रहरुसंग सम्वन्धित रहेका ग्रन्थीहरुले शारीरिक र मानसिक स्वस्थकालागि सन्तुलित मात्रामा आवश्यक पर्ने तर धेरै उत्पादन भयो भने हानीकारक हुने रश तथा हर्मोनहरु जस्तै कोर्टिसोल(Cortisol), एल्डोस्टीरोन(Aldosterone), एण्ड्रोजेन(Androgens), एड्रेनालाईन(Andrenaline) सन्तुलित मात्रामा उत्पादन गर्दछन् र शारीरिक र मानसिक स्वस्थकालागि अतिआवश्यक पर्ने रश तथा हर्मोनहरु जस्तै खुशी तथा आनन्द प्रदान गर्ने डोपामिन(Dopamine- Reward Chemical), ओक्सीटोसिन(Oxytocin- Love Hormone), सेरोटोनिन (Serotonin- Mood Stabilister), एन्डोर्फिन(Endorphin- Painkiller Hormone) उत्पादन गर्दछन् जसले रोग लागेका अंगहरुको रोग निको पार्न मद्धत गर्दछन् र रोग नलागेका अंहरुहरुलाई रोगसंग लड्ने क्षमता प्रदान गरेर अझ मजबुत तथा निरोगी बन्न मद्धत गर्दछन्। शरीरका भौतिक अंगहरुका साथै यि रशहरुले मन, भावना, चेतनामा लागेका मानसिक रोगहरुको उपचार गर्न तथा रोग लाग्न नदिन महत्वपूर्ण भूमिका खेल्दछन्। विभिन्न संस्थाहरुले गरेका वैज्ञानिक खोज तथा अनुसन्धानका तथ्यांकहरुले शारीरिक तथा मानसिक स्वाश्थ्यमा ध्यान साधनाका असिमित सकारात्मक लाभहरु रहने गरेको वृहद तथ्य उजागर गरेका छन्, ध्यान साधनाबाट हुने प्रमुख लाभहरु मध्य केही निम्न रहेका छन्-

 

ध्यान साधनाका शारीरिक स्वाश्थ्य लाभहरु (Physical Health Benefits of Meditation)

दैनिक नियमित रुपमा गरिने योगआसन, प्राणायाम तथा ध्यान साधनाले आस्तमा, माइग्रेन, क्रोनिक पेन, मुटुको रोग, उच्च तथा न्युन रक्तचाप, अपच, हाड-जोर्नी-मांसपेसी, क्यानसर, अनिद्रा जस्ता शररीरिक रोग तथा समस्याहरुमा सन्तुलन प्रदान गर्दछ; पाचनक्रिया मजबुत बनाउँछ; मुटुको धड्कन सन्तुलित राख्दछ; शरीरमा कुनै रोगकाकारण तथा बिनाकारण हुने दुखाइहरु, तथा दुखाइका भ्रमहरु हटाउँदछ; शरीर तथा मनमा लागेका रोगहरु निको पार्दछ र रोगसंग लड्ने क्षमता बढाउँछ; शरीर तथा मनमा उर्जाको प्रवाह बढाउँछ र जीवनशैली श्वस्थ बनाउँछ; नराम्रा बानी तथा एडिक्सनबाट मुक्त गराउँछ; बुढ्यौली सुस्त गर्दछ आदि।

 

ध्यान साधनाका मानसिक स्वाश्थ्य लाभहरु (Psychological Health Benefits of Meditation)

दैनिक नियमित रुपमा गरिने योगआसन, प्राणायाम तथा ध्यान साधनाले तनाव, डर तथा डिप्रेसनबाट मुक्त गर्दछ; सोच तथा व्यवहार सकारात्मक बनाउँछ; सुखी, खुशी, शान्त तथा आनन्दित रहन मद्धत गर्दछ र सुदृढ जीवनशैली बनाउँछ; आत्मचेतना तथा सुझबुझ क्षमता अभिवृद्धि गरि कुनै घटना तथा विषयप्रति हेर्ने दृष्टिकोणमा स्पष्टता प्रदान गर्दछ; आत्मसम्मान, आत्विश्वास, उत्साह तथा प्रोत्साहन बढाउँछ; स्मरणशक्ति, ध्यानाकर्षणको क्षमता अभिवृद्धि गरी कामको प्रतिफल वृद्धि गर्दछ; जीवन तथा ब्रह्माण्डप्रति आशावादी र आस्तिक बनाउँछ; सेवा, प्रेम, दया, करुणा भाव बढाइ सम्वन्ध सुधार तथा वृद्धिमा मद्धत गर्दछ र सबैकालागि म भन्ने भावकासाथ स्वयंसेवा तथा परोपकारका काममा लाग्न प्रोत्साहन गर्दछ आदि।

 

ध्यान साधनाको भावातीत प्रयोग (Transcendental Meditation)

इस्वी १६ औं शताव्दीदेखिनै मनोविज्ञानले दर्शनशास्त्रसंग नजिक रहेर मानिसको मनोविज्ञानको अध्ययन कार्य अघि बढाउँदै आएको छ र आधुनिक मनोविज्ञानका सिद्धान्तहरुले पनि दर्शनशास्त्रका कुराहरुलाई आत्मसाथ गर्दै आइरहेका छन्। आधुनिक मनोविज्ञानका सिद्धान्तहरुले गतिको आधारमा मानिसको चेतनालाई पाँच तहमा विभाजित गरेका छन्- (क)गामा, (ख)विटा, (ग)अल्फा, (घ)थिटा, र (ङ)डेल्टा जसलाई अध्यात्मले सात तह तथा अवस्थामा विभाजित गरेको छ- (क)चेतन, (ख)स्वप्न, (ग) सुषुप्ति (घ)तुरीय, (ङ)तुरीयातीत, (च)भगवत् चेतना र (छ)ब्राह्मी चेतना। यि पाँचवटै तथा सातवटै तहहरुका विचारका उर्जाका चुम्बकिय विद्युत तरंगहरु ब्रह्माण्डमा पठाउने र ब्रह्माण्डबाट आफूले उर्जाका चुम्बकिय विद्युत तरंगहरु प्राप्त गर्ने गति तथा गुणस्तर फरक-फरक रहेका हुन्छन्। साधक जति-जति ध्यानमा गहिरिदै जान्छ उति-उति उ क्रमश: गामा तह तथा चेतना अवस्थाबाट डेल्टा तह तथा ब्राह्मी चेतना अवस्थामा प्रवेश गर्दै जान्छ अर्थात तर्क गर्ने, सोचमग्न हुने तथा अतिविचार चल्ने अवस्थाबाट शुन्यतातिर प्रवेश गर्दछ र उसको विचार, मन, भावना, चेतनामा सकारात्मक परिवर्तन तथा प्रगति आउँदै जान्छ। साधकको सोच, क्रिया, गतिविधि तथा व्यवहारमा सकारात्मक परिवर्तन आएकैकारण विस्तारै उसको व्यक्तित्व आध्यात्मिक बन्दै जान्छ। यही क्रममा यदि अति गंभिर अवस्थामा छैनन् भने साधकका सम्पूर्ण शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक रोगहरु तथा व्यवहारीक समस्याहरु समाधान तथा पूर्ण रुपमा निर्मुल हुदै जान्छन् र साधक पूर्ण रुपमा स्वश्थ बन्दछ। यस्तो क्रमिक वदलावको अवस्थामा साधकभित्र भौतिक परिवर्तनहरुका साथसाथ पराभौतिक रुपमा विशिष्ठ अलौकिक तथा दिव्य परिवर्तनहरु घटित हुदै जान्छन् र विस्तारै भावातीत अनुभूतिहरुमा प्रवेश गरी चेतनाको उच्च तह हासिल गर्दछ र प्रकाशित हुन्छ। अध्यात्मको भाषामा आत्मज्ञान तथा वुद्धत्व प्राप्त गर्दछ अर्थात ब्रह्मतत्वमा समाहित भई जन्म-मृत्युको चक्रबाट सदाकालागि मोक्ष प्राप्त गर्दछ। 


No comments:

Post a Comment