'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 7 February 2024

योग-ध्यान प्रभावकारी मनोचिकित्सा अर्थात साइको थेरापी हो

                                       डा. सिर्जना भण्डारी




विषय प्रवेश

वर्तमान समयमा आधुनिक चिकित्सा विज्ञान तथा मनोविज्ञानले पनि ध्यान साधनालाई प्रभावकारी मनोचिकित्सा अर्थात साइको थेरापीको रूपमा अनुसरण गर्दै आइरहेको छ


ध्यान साधनाको व्यवहारीक प्रयोग (Practical Meditation)

अध्यात्म विज्ञान भन्छ मानिस आँखाले देख्न सक्ने पदार्थहरुको जोडले बनेको भौतिक शरीरको पिण्ड मात्र नभएर उ भित्र हाम्रा नांगा आँखा तथा आधुनिक विज्ञानले आविश्कार गरेका कुनैपनि उपकरणहरुको माध्यमबाट स्थुल तथा चित्र रुपमा देख्न नसकिने सुक्ष्म तत्वहरु मन, भावना, चेतना तथा उर्जाका केन्द्र चक्रहरुको अझ ठूलो फैलावट तथा उपस्थिति छ र हाम्रो स्थुल शरीर यिनै सुक्ष्म तत्वहरुबाट नै निरन्तर परिचलित भइरहेको हुन्छ। प्रमात्रा भौतिक विज्ञान भन्छ ब्रह्माण्डका हरेक वस्तुहरु उर्जाको तरंगबाट निर्मित छन्, हरवखत चलायमान छन् र यहि नियम अनुसार मानिसका शरीरका भौतिक तथा सुक्ष्म चारवटै आयामहरु पनि उर्जाका तरंगहरुबाट निर्मित, चलायमान र परिवर्तनशील छन्। हर समय मानिसको मस्तिष्कका स्नायुसहरुमा चलिरहने विचारका तरंगहरु सवभन्दा महत्वपूर्ण र प्रभावकारी उर्जाका तरंगहरु हुन् जसलाई चेतनाको रुपमा बुझिन्छ, यही चेतनाको उर्जाबाट हाम्रो ब्रह्माण्डको निर्माण भएको हो। हाम्रा विचारका उर्जाका तरंगहरुले ब्रह्माण्डमा भएका अन्य उर्जाका तरंगहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछन् र ब्रह्माण्डमा रहेका उर्जाका तरंगहरुले हाम्रो विचार, मन, भाव तथा चेतनामा चलिरहेका उर्जाका तरंगहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछन्। ब्रह्माण्डको आकर्षणको नियमको प्रभावका कारण हाम्रो मस्तिष्कबाट जस्तो प्रकारका विचारका चुम्बकिय विद्युत तरंगहरु ब्रह्माण्डमा पठाउँछौं समले समलाई आकर्षित गर्ने नियम अनुसार ब्रह्माण्डबाट त्यस्तै किसिमका विचारका उर्जाका तरंगहरु आफूतिर आकर्षित गर्दछौं र यिनै आकर्षित उर्जाका तरंगहरुले हाम्रा क्रिया, गतिविधि, व्यवहारहरु तथा समग्र जीवनमा सकारात्मक तथा नकारात्मक परिणामहरु ल्याउँदछन्। त्यसैले भन्ने गरिन्छ ‘यथा पिण्डे तथा ब्रह्माण्डे’ अर्थात हामी जस्तो विचार गर्दछौं त्यस्तै बन्दछौं र त्यसै अनुसार हाम्रा भाषाको प्रयोग, व्यवहार तथा क्रियाहरु गर्दछौं। ब्रह्माण्डको यो नियम अनुसार हामी सुखी, खुशी, सफल, समृद्ध, शान्त र आनन्दित बन्न हामीले गर्ने विचारहरुलाई हर प्रकारले सकारात्मक बनाउनु अति आवश्यक छ र हाम्रो विचार शुद्ध, सकारात्मक तथा सहयोगी बनाउन ध्यान साधना सबैभन्दा महत्वपूर्ण र उपयोगी विधि हो किनकी ध्यान साधना सम्पूर्ण रुपमा ब्रह्माण्डमा तैरिरहेका उर्जाका तरंगहरुसंग जोडिने र ब्रह्माण्डका सकारात्मक तरंगहरु आफूतिर आकर्षित गर्ने हालसम्मकै सवोत्कृष्ट साधना पद्धति हो।


ध्यान साधनाका लाभहरु अनन्त छन्, ध्यानका विधिहरुको उपयुक्त अनुसरणबाट मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको समाधान गर्न सकिन्छ। मानिस जव आफ्ना ज्ञान इन्द्रियहरुलाई वाहिरको संसारबाट अलग गरि आफूतिर फर्काएर मेरुदण्ड(कम्मर, ढाड, गर्धन) सिधा गरेर ध्यानस्त हुन्छ तव उ भित्र आन्तरीक रुपमा सकारात्मक परिवर्तनहरु हुन शुरु हुन्छन्। आन्तरीक रुपमा उ भित्र भएका सकारात्मक परिवर्तनहरुले सुक्ष्म तरिकाले विस्तारै उसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको समाधान तथा उपचार गर्न शुरु गर्दछन्। ध्यान साधना मानिसका सबै किसिमका समस्याहरुको समाधान गर्ने अचुक उपचार पद्धति हो भन्ने विषयमा स्वास्थ्य तथा व्यवस्थापनको विषय हेर्ने तथा अध्ययन गर्ने विभिन्न विशिष्ठ व्यक्तित्वहरु तथा संघसंस्थाहरुले गरेका थुप्रै वैज्ञानिक अध्ययन तथा अनुसन्धानका तथ्यांकहरुले प्रमाणित गरिसकेका छन्।


मानिस ध्यानस्त रहदा ज्ञान इन्द्रियहरुले वाहिरबाट प्राप्त गर्ने सूचनाहरुको प्रवाह बन्द हुन्छ र हाम्रा चेतन मस्तिष्कका स्नायुहरु सूचनाको अभावमा चल्न बन्द हुन्छन् र विचारहरुको प्रवाह पनि विस्तारै कम हुदै जान्छ र मन शान्त हुन्छ। र ध्यानस्त रहदा अवचेतन मनबाट पनि विचारहरु उठ्ने हुनाले तिनलाई निस्तेज गर्न ध्यान साधनाको समयमा विशेष गरिकन चेतनालाई श्वास-प्रश्वासमा केन्द्रित गर्ने, आफ्नो शरीरका सम्पुर्ण अंगहरुको सुक्ष्म निरीक्षण तथा याद गर्ने, कुनै सकारात्मक कल्पनाको धारणामा चेतनालाई केन्द्रित गर्ने, आफ्नोलागि सकारात्मक भावहरु मनमा दोहोर्याइरहने, कुनै विशेष भगवानको मन्त्रो उच्चाहरण गर्ने तथा जप्ने आदि विधिहरु अपनाइन्छ जसले साधकको चेतन तथा अवचेतन मनमा उठ्ने अतिविचारहरु खासगरि नकारात्मक विचारहरुलाई निर्मुलिकरण र विस्तारै निर्मलिकरण गर्दछ। यो अवस्थामा साधकमा भौतिक र अभौतिक अर्थात शारीरिक र मानसिक दुइ किसिमका सकारात्मक परिवर्तनहरु देखापर्न थाल्छन्। जव साधकको मन शान्त र सकारात्कम बन्छ यस्तो अवस्थामा हाम्रो शरीरका उर्जा केन्द्रहरु अर्थात हाम्रा सात चक्रहरुसंग सम्वन्धित रहेका ग्रन्थीहरुले शारीरिक र मानसिक स्वस्थकालागि सन्तुलित मात्रामा आवश्यक पर्ने तर धेरै उत्पादन भयो भने हानीकारक हुने रश तथा हर्मोनहरु जस्तै कोर्टिसोल(Cortisol), एल्डोस्टीरोन(Aldosterone), एण्ड्रोजेन(Androgens), एड्रेनालाईन(Andrenaline) सन्तुलित मात्रामा उत्पादन गर्दछन् र शारीरिक र मानसिक स्वस्थकालागि अतिआवश्यक पर्ने रश तथा हर्मोनहरु जस्तै खुशी तथा आनन्द प्रदान गर्ने डोपामिन(Dopamine- Reward Chemical), ओक्सीटोसिन(Oxytocin- Love Hormone), सेरोटोनिन (Serotonin- Mood Stabilister), एन्डोर्फिन(Endorphin- Painkiller Hormone) उत्पादन गर्दछन् जसले रोग लागेका अंगहरुको रोग निको पार्न मद्धत गर्दछन् र रोग नलागेका अंहरुहरुलाई रोगसंग लड्ने क्षमता प्रदान गरेर अझ मजबुत तथा निरोगी बन्न मद्धत गर्दछन्। शरीरका भौतिक अंगहरुका साथै यि रशहरुले मन, भावना, चेतनामा लागेका मानसिक रोगहरुको उपचार गर्न तथा रोग लाग्न नदिन महत्वपूर्ण भूमिका खेल्दछन्। विभिन्न संस्थाहरुले गरेका वैज्ञानिक खोज तथा अनुसन्धानका तथ्यांकहरुले शारीरिक तथा मानसिक स्वाश्थ्यमा ध्यान साधनाका असिमित सकारात्मक लाभहरु रहने गरेको वृहद तथ्य उजागर गरेका छन्, ध्यान साधनाबाट हुने प्रमुख लाभहरु मध्य केही निम्न रहेका छन्-


ध्यान साधनाका शारीरिक स्वाश्थ्य लाभहरु (Physical Health Benefits of Meditation)

दैनिक नियमित रुपमा गरिने योगआसन, प्राणायाम तथा ध्यान साधनाले आस्तमा, माइग्रेन, क्रोनिक पेन, मुटुको रोग, उच्च तथा न्युन रक्तचाप, अपच, हाड-जोर्नी-मांसपेसी, क्यानसर, अनिद्रा जस्ता शररीरिक रोग तथा समस्याहरुमा सन्तुलन प्रदान गर्दछ; पाचनक्रिया मजबुत बनाउँछ; मुटुको धड्कन सन्तुलित राख्दछ; शरीरमा कुनै रोगकाकारण तथा बिनाकारण हुने दुखाइहरु, तथा दुखाइका भ्रमहरु हटाउँदछ; शरीर तथा मनमा लागेका रोगहरु निको पार्दछ र रोगसंग लड्ने क्षमता बढाउँछ; शरीर तथा मनमा उर्जाको प्रवाह बढाउँछ र जीवनशैली श्वस्थ बनाउँछ; नराम्रा बानी तथा एडिक्सनबाट मुक्त गराउँछ; बुढ्यौली सुस्त गर्दछ आदि।

 
ध्यान साधनाका मानसिक स्वाश्थ्य लाभहरु (Psychological Health Benefits of Meditation)

दैनिक नियमित रुपमा गरिने योगआसन, प्राणायाम तथा ध्यान साधनाले तनाव, डर तथा डिप्रेसनबाट मुक्त गर्दछ; सोच तथा व्यवहार सकारात्मक बनाउँछ; सुखी, खुशी, शान्त तथा आनन्दित रहन मद्धत गर्दछ र सुदृढ जीवनशैली बनाउँछ; आत्मचेतना तथा सुझबुझ क्षमता अभिवृद्धि गरि कुनै घटना तथा विषयप्रति हेर्ने दृष्टिकोणमा स्पष्टता प्रदान गर्दछ; आत्मसम्मान, आत्विश्वास, उत्साह तथा प्रोत्साहन बढाउँछ; स्मरणशक्ति, ध्यानाकर्षणको क्षमता अभिवृद्धि गरी कामको प्रतिफल वृद्धि गर्दछ; जीवन तथा ब्रह्माण्डप्रति आशावादी र आस्तिक बनाउँछ; सेवा, प्रेम, दया, करुणा भाव बढाइ सम्वन्ध सुधार तथा वृद्धिमा मद्धत गर्दछ र सबैकालागि म भन्ने भावकासाथ स्वयंसेवा तथा परोपकारका काममा लाग्न प्रोत्साहन गर्दछ आदि।

 
ध्यान साधनाको भावातीत प्रयोग (Transcendental Meditation)

इस्वी १६ औं शताव्दीदेखिनै मनोविज्ञानले दर्शनशास्त्रसंग नजिक रहेर मानिसको मनोविज्ञानको अध्ययन कार्य अघि बढाउँदै आएको छ र आधुनिक मनोविज्ञानका सिद्धान्तहरुले पनि दर्शनशास्त्रका कुराहरुलाई आत्मसाथ गर्दै आइरहेका छन्। आधुनिक मनोविज्ञानका सिद्धान्तहरुले गतिको आधारमा मानिसको चेतनालाई पाँच तहमा विभाजित गरेका छन्- (क)गामा, (ख)विटा, (ग)अल्फा, (घ)थिटा, र (ङ)डेल्टा जसलाई अध्यात्मले सात तह तथा अवस्थामा विभाजित गरेको छ- (क)चेतन, (ख)स्वप्न, (ग) सुषुप्ति (घ)तुरीय, (ङ)तुरीयातीत, (च)भगवत् चेतना र (छ)ब्राह्मी चेतना। यि पाँचवटै तथा सातवटै तहहरुका विचारका उर्जाका चुम्बकिय विद्युत तरंगहरु ब्रह्माण्डमा पठाउने र ब्रह्माण्डबाट आफूले उर्जाका चुम्बकिय विद्युत तरंगहरु प्राप्त गर्ने गति तथा गुणस्तर फरक-फरक रहेका हुन्छन्। साधक जति-जति ध्यानमा गहिरिदै जान्छ उति-उति उ क्रमश: गामा तह तथा चेतना अवस्थाबाट डेल्टा तह तथा ब्राह्मी चेतना अवस्थामा प्रवेश गर्दै जान्छ अर्थात तर्क गर्ने, सोचमग्न हुने तथा अतिविचार चल्ने अवस्थाबाट शुन्यतातिर प्रवेश गर्दछ र उसको विचार, मन, भावना, चेतनामा सकारात्मक परिवर्तन तथा प्रगति आउँदै जान्छ। साधकको सोच, क्रिया, गतिविधि तथा व्यवहारमा सकारात्मक परिवर्तन आएकैकारण विस्तारै उसको व्यक्तित्व आध्यात्मिक बन्दै जान्छ। यही क्रममा यदि अति गंभिर अवस्थामा छैनन् भने साधकका सम्पूर्ण शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक रोगहरु तथा व्यवहारीक समस्याहरु समाधान तथा पूर्ण रुपमा निर्मुल हुदै जान्छन् र साधक पूर्ण रुपमा स्वश्थ बन्दछ। यस्तो क्रमिक वदलावको अवस्थामा साधकभित्र भौतिक परिवर्तनहरुका साथसाथ पराभौतिक रुपमा विशिष्ठ अलौकिक तथा दिव्य परिवर्तनहरु घटित हुदै जान्छन् र विस्तारै भावातीत अनुभूतिहरुमा प्रवेश गरी चेतनाको उच्च तह हासिल गर्दछ र प्रकाशित हुन्छ। अध्यात्मको भाषामा आत्मज्ञान तथा वुद्धत्व प्राप्त गर्दछ अर्थात ब्रह्मतत्वमा समाहित भई जन्म-मृत्युको चक्रबाट सदाकालागि मोक्ष प्राप्त गर्दछ। 

No comments:

Post a Comment