'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 4 February 2024

वालवालिकाहरुको प्रभावकारी मानसिक विकास तथा सिकाइमा योग साधना पद्धतिको भूमिका

Role of Yoga Sadhana in Effective Psycho Development and Learning for Children

                                        डा. सिर्जना भण्डारी




विषय प्रवेश

भनिन्छ वालवालिकाहरु काँचो माटो हुन्, उनीहरुलाई चाहेजस्तो आकार दिन सकिन्छ तर यो भनाई पूर्णसत्य होइन किनकी हरेक व्यक्तिले जन्मदै आफूभित्र विशेष किसिमको क्षमता तथा प्रतिभा लिएर आएको हुन्छ, उसले जन्मदै लिएर आएको क्षमता तथा प्रतिभाको सही पहिचान गरी उसको प्रतिभा प्रष्फुटनमा आवश्यक मद्धत गरेर उसले चाहे जस्तो आकार प्रदान गर्न र भविश्यमा उसलाई असल, सफल, समृद्ध, सुखी तथा शान्त नागरीक बनाउन सकिन्छ, यो चाहिं पूर्णसत्य हो। हरेक व्यक्तिमा भौतिक रुपमा पाँच प्रकारका ज्ञान इन्द्रियहरु हुन्छन् र हरेकका विशेषता तथा कार्य क्षमताहरु फरक-फरक हुने गर्दछन्। यि पाँच ज्ञान इन्द्रियका कार्यहरुमा कोही व्यक्तिमा आँखाले देख्ने क्षमता(Visual Capacity), कोहीमा कानले सुन्ने क्षमता(Auditory Capacity) र कोहीमा मन-छाला-नाक-जिब्रोले अनुभव गर्ने क्षमता (Kinesthetic Capacity- Feeling/Touch/Olfactory/Taste)को प्रभाव बढि हुन्छ, जसलाई Predominant Sense भनिन्छ। हामीले चनाखो भएर अवलोकन गर्यौ भने हरेक वालवालिकामा रहेको यस किसिमको क्षमता स्पष्ट थाहा पाउन सकिन्छ तर केही वालवालिकाहरुमा यस किसिमको क्षमता सहजै थाहा पाउन त्यति सहज हुदैन। यस्तो अवस्थामा मनोचिकित्सा अर्थात साइको थेरापी स्नायु भाषा प्रणाली अर्थात NLP, योगआसन तथा प्राणायाम र ध्यान साधना पद्धतिका उपयुक्त किसिमका विधि, उपकरण तथा अभ्यासहरुको प्रयोग गरी वालवालिकाहरुको रुची तथा रोजाई पत्ता लगाएर उनीहरुको Predominant Sense सहजै थाहा पाउन सकिन्छ।


वालवालिकाको मानसिक विकास तथा सिकाइ

(Psycho Development and Learning of Children)

वालवालिकाहरुको मानसिक विकास तथा सिकाइमा उच्च प्रभावकारीता ल्याउन उनीहरुको देख्ने, सुन्ने र अनुभूति गर्ने क्षमता पहिचानको विशेष महत्व रहेने गर्दछ। कोही व्यक्तिमा निहीत प्रतिभा प्रस्फुटन गरेर उसको व्यक्तित्व प्रभावकारी बनाउन सम्वन्धित व्यक्तिको आफ्नो रुचीको विषय तथा क्षेत्र छनौट गरि त्यसमा काम गर्ने अवसर प्राप्तिको महत्वपूर्ण योगदान रहेको हुन्छ। तसर्थ वालवालिकाहरुको आन्तरिक क्षमता तथा प्रतिभा पहिचान गर्ने उनीहरुलाई उक्त विषय तथा क्षेत्रमा कामगर्ने अवसर प्रदान गर्ने अभियान विद्यालय तहबाट नै शुरु गर्नु अति आवश्यक हुन्छ। वालवालिकाको देख्ने क्षमता ज्यादा प्रभावकारी छ तथा उसले दृश्यवाला कार्य प्रभावकारी ढंगबाट गर्ने क्षमता राख्छ भने उसको दृश्य क्षमातालाई अझ बढावा दिने किसिमका कामहरुमा विद्यालयमा शिक्षक-शिक्षिकाहरुले र घरमा अभिभावकहरुले विशेष जोड दिनु पर्दछ। त्यस्तै सुन्ने तथा अनुभूति गर्नसक्ने क्षमता ज्यादा प्रभावकारी छ तथा उसले सुन्ने र अनुभूति गर्नेवाला कार्य प्रभावकारी ढंगबाट गर्ने क्षमता राख्छ भने उसको यस किसिमको क्षमतालाई अझ बढावा दिने किसिमका कामहरुमा विद्यालयमा शिक्षक-शिक्षिकाहरुले र घरमा अभिभावकहरुले विशेष जोड दिनु पर्दछ। 

 

हामी स्वयंले र हाम्रा वालवालिकाहरुमा कयौं पटक अनुभव गरेका छौं कि कुनै काम गर्दा बारबारको अथक प्रयासका वावजुद पनि सोचे जति सफल हुन नसकेको अवस्था। यसो हुनुकोकारण हामीले वालवालिकाहरुको आन्तरीक क्षमता अर्थात Predominant Sense पत्ता लगाउन असक्ष भएकोले हो। शिक्षक-शिक्षिका तथा अभिभावकहरुको यही कमजोरीकोकारण वालवालिकामा भएको वास्तविक प्रतिभा तथा क्षमता प्रष्फुटित हुन सक्दैन र उनीहरु अन्जानमै तनावग्रस्त, बेखुशी, असफल, अशान्त, कम आत्मचेतना, आत्मविश्वास तथा आत्मसम्मानको अवस्थाबाट गुज्रिन बाध्य भएको कुरा नकार्न मिल्दैन। गहिरिएर हेर्ने हो भने यसो हुनुमा वालवालिकाहरुको त केही दोष छैन नै, साथसाथ शिक्षक-शिक्षिका तथा अभिभावकहरुको पनि खास दोष छैन किनकी वहाँहरुले नै प्रभावकारी हुनेगरि यस किसिमको सिकाइ सिक्ने अवसर पाउनु भएको छैन। यस्तो अवस्थामा वहाँहरुले वालवालिकाहरुलाई परिणाम आउने गरि सिकाउन नसक्नु स्वाभाविक हो तर यसो भनेर शिक्षक-शिक्षिका तथा अभिभावकहरुले छुटकारा पाउन सक्ने अवस्था भने विलकुल छैन किनकी शिक्षक-शिक्षिका तथा अभिभावकहरुको अकाट्य दायित्व हो यो वास्तविकतालाई गहन ढंगले मनन् गरेर, आफूमा यो क्षमता बढाएर आफ्ना वालवालिकाहरुलाई उनीहरुको Predominant Sense पत्ता लगाएर उनीहरुको रुची तथा रोजाई अनुसारको शिक्षाको विषय अध्ययन गर्न र त्यही अनुसारको कर्म क्षेत्र रोज्न तथा काम गर्ने वातावरण तयार गर्न मद्धत गर्नु।

 

आ-आफ्नो Predominant Sense पत्ता लगाएर सोही अनुसार जीवनका लक्ष्य तथा योजनाहरु बनाउनु केवल वालवालिकाकालागि मात्र नभएर जुकसुकै विषयलाई आफ्नो रुची तथा कर्मक्षेत्र बनाउनु भएका किशोर, युवा, प्रौढ, जेष्ठ नागरीक सबैकालागि उत्तिकै जीवनोपयोगी बन्न सक्छ र यो जानकारी हरेकको जीवनको हरेक क्षेत्रमा उपयोगी बन्न सक्छ। यदि हामीले आफ्नो Predominant Sense अर्थात हाम्रा आन्तरीक क्षमता तथा प्रतिभाहरु पत्ता लगाएर आफ्नो रुचीको विषयलाई कार्यक्षेत्र बनायौं भने हामी आफैं आफ्ना विशेष किसिमका प्रतिभा, क्षमता, विशेषता तथा आवश्यकताबारे जान्न र बुझ्न सक्ने हुनुकासाथै अरुका तथा आफ्नो वरपरको वातावरण तथा आवश्यकताबारे पनि अझ राम्ररी बुझ्न सक्ने र त्यस उपर उचित निर्णय लिनसक्ने हुन्छौं। हामी जति उच्च समझकासाथ कुनैपनि निर्णय लिन्छौं र त्यस उपर काम गर्छौं उतिनै सफल, समृद्ध र सबैकालागि उपयोगी बन्न सक्छौं। यस आलेखको मूल उदेश्य वालवालिकाहरुको मानसिक विकास तथा सिकाइ क्षमता अभिवृद्धि गर्दै उनीहरुमा निहित क्षमता तथा प्रतिभाहरु प्रष्फुटन गरि उनीहरुलाई वर्तमान र भविश्यमा कसरी सिर्जनशील, सुखी, खुशी, सफल, समृद्ध, शान्त, आनन्दित, उत्तरदायि, सहयोगी तथा परोपकारी बनाउन सकिन्छ र यसकालागि योग साधना पद्धतिका के-कस्ता विधि, उपकरण तथा अभ्यासहरु व्यवहारमा ल्याइनु पर्दछ भन्नेबारे प्रकाश पार्नु रहेको छ र यसकालागि के-कस्ता रणनीतिहरु अपनाउन सकिन्छ यसबारे विस्तारमा जानकारी लिनेछौं।

 

स्नायु भाषा प्रणाली अर्थात Neuro Linguistic Programing (NLP), योगआसन तथा प्रणायाम र ध्यान साधना पद्धतिका विधि, उपकरण तथा अभ्यासका तौरतरिकाहरु केही फरक भएपनि यिनको मूल विधि र सिकाइको प्रमुख उदेश्य एकै छन्- सुक्ष्म रुपमा मानिसको मन, भावना र चेतनामा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याएर उनीहरुको विचार, सोच, भाषा शैली, व्यवहारमा सकारात्मक रुपान्तरण गर्नु भएकोले यि तीनवटै साधना पद्धतिहरुलाई योग साधना अन्तर्गत राख्न सकिन्छ किनकी यि तीनवटै पद्धतिहरुमा उत्कृष्ट उपलव्धिकालागि सम्वन्धित व्यक्तिको आवश्यकता अनुसार एकले अर्को पद्धतिका विधि, उपकरण तथा अभ्यासहरुलाई अनुशरण गर्दै आइरहेका छन्। Predominant Sense अर्थात हाम्रा आन्तरीक क्षमता तथा प्रतिभाहरु पत्ता लगाउन विश्वमा भइरहेका व्यवहारीक प्रयोगहरु हेर्दा योग साधना पद्धतिका (१)स्नायु भाषा प्रणाली अर्थात Neuro Linguistic Programing (NLP) लाई बढि प्रयोगमा ल्याइएको पाइन्छ यसका साथसाथ (२)योगआसन तथा प्राणायाम (३)ध्यान साधनाका विधिहरुलाई पनि प्रयोगमा ल्याइएको पाइन्छ र यि तीन किसिमका साधना पद्धतिका विधि, उपकरण तथा अभ्यासहरुको प्रभाव तथा परिणामहरु पनि प्रयोग अनुसार फरक-फरक रुपमा देखिएको पाइन्छ। 

 

(१) स्नायु भाषा प्रणाली अर्थात Neuro Linguistic Programing (NLP)

सन् १९७० बाट प्रयोगमा आएको NLP एक नयाँ वैज्ञानिक साधना पद्धति हो, यस पद्धतिमा मानिसको मस्तिष्क पनि कम्प्यूटर तथा मोबाइल जसरी नै सफ्टवेयर प्रोग्रामबाट चल्ने एक किसिमको डिजिटल मेसिन हो। योग साधना पद्धतिका विशेष विधि, उपकरण तथा अभ्यासहरुको प्रयोग गरेर मस्तिष्कको सफ्टवेयर प्रोग्रामलाई पनि परिवर्तन, पुनरप्रक्रिया अर्थात रिप्रोग्राम तथा यसभित्र नयाँ विषय प्रत्यारोपण गर्न सकिन्छ भन्ने मान्यता राखिन्छ र मानिसको मस्तिष्क तथा अवचेतन मनलाई कुनै विषय तथा घटनाकाबारेमा नयाँ एवं फरक ढंगले विचार गर्न तथा सोच्न तालिम दिइन्छ अर्थात रिप्रोग्राम गरिन्छ। वर्तमान समयमा विश्वव्यापि रुपमा प्रयोगमा ल्याइएको सफल पद्धति NLP को प्रयोग र यसको सकारात्मक उपलव्धिको उच्च परिणाम सवैभन्दा बढि वालवालिकाहरुमा पाइएको NLP का विशेषज्ञहरुको दावी रहेको छ र विभिन्न वैज्ञानिक तथा सामाजिक तथ्यांक अनुसार यो दावी सही प्रमाणित भएको पाइएको पनि छ। NLP मा विशेष तालिमको माध्यमबाट कुनै विषय तथा घटनाको सम्वन्धमा कसरी सोच्ने तथा विचार गर्ने भन्ने तरिका दिएर वालवालिकाहरुलाई निश्चित समय (केही दिन, हप्ता तथा महिना) निरन्तर साधना तथा अभ्यास गराएर उनीहरुको अवचेतन मनमा गहिरोसंग गढेको नकारात्मक भाव, छवि तथा नक्शा जस्तो कि- यो काम मुस्किल छ म सक्दिन, म अज्ञानी तथा असक्षम छु, म बिरामी, कमजोर तथा अशक्त छु, म मा आत्मचेतना, आत्मसम्मान, आत्मविश्वास, साहस छैन भन्ठान्ने भ्रमित तथा हिनताबोधले भरिएका नकारात्मक सोचहरुलाई बदलेर म सक्छु, म सक्षम छु, म मा आत्मविश्वास तथा साहस छ भन्ने सकारात्मक भाव, छवि तथा नक्शा प्रत्यारोपण गराइन्छ र ति विषय तथा घटनाको सम्वन्धमा सकारात्मक किसिमले सोच्न तथा विचार गर्न लगाइन्छ। NLP मा कुनै विषय तथा घटनाको सम्वन्धमा वालवालिकाहरुको अवचेतन मनमा रहेको नकारात्मक भाव, छवि तथा नक्शालाई बदलेर सकारात्मक भाव, छवि तथा नक्शा प्रत्यारोपण गरिसकेपछि वालवालिकाहरुले ति विषय तथा घटनाहरुको सम्वन्धमा सकारात्मक किसिमले सोच्न तथा विचार गर्न थाल्दछन्। वालवालिकाहरुको मस्तिष्कले कुनै विषय तथा घटनाको सम्वन्धमा सकारात्मक किसिमले सोच्न तथा विचार गर्न थालेपछि ब्रह्माण्डको वैज्ञानिक तथ्य आकर्षणको नियम (Law of Attraction) अनुसार ब्रह्माण्डबाट सकारात्मक उर्जाका चुम्बकिय विद्युत तरंगहरु उ तिर आकर्षित हुन थाल्छन् र उसका दैनिक क्रियाकलाप तथा गतिविधिहरुमा सकारात्मक परिणाम तथा उपलब्धिहरु देखा पर्दै जान्छन् र ब्रह्माण्डबाट उ तिर आकर्षिक भएका यस्ता सकारात्मक उर्जाका तरंगहरुले उसलाई सफलताको नयाँ मुकाममा पुर्याउन मद्धत गर्दछन्। यो समयमा-समयमा विश्वका विभिन्न संस्थाहरुले गरेको वैज्ञानिक खोज तथा अनुसन्धाहरुले प्रमाणित गरेको सत्य तथ्य हो।

 

अध्यात्मले कुनै पनि व्यक्ति आफ्नो लक्ष्यमा सफल हुन सर्वप्रथम उ पूर्णरुपमा स्वाश्थ हुनुपर्दछ अर्थात उसका स्वाश्यका चारवटै आयामहरु- स्थुल शरीर, मनस शरीर, भाव शरीर र चेतन तथा आत्मिक शरीर स्वश्थ हुनुपर्दछ भन्ने न्युनतम मान्यता राख्दछ र यसकालागि योग साधना पद्धतिको अनुसरण गर्नु आवश्यक हुन्छ। पातन्जल योगसुत्रका अनुसार योगका अन्तरंग(आफूप्रति र संसारप्रति गरिने व्यवहार) र वहिरंग(आफैंतिर फर्किने आन्तरीक साधना) गरि आठ अंगहरु रहेकाछन्- यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, र समाधि। यि सबै अंगहरुले मानिसलाई शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक रुपमा स्वश्थ रहन मद्धत गर्दछन्। योगका यि आठ अंगहरु मध्य योगआसन तथा प्राणायाम र ध्यान साधनालाई प्रमुख अंगका रुपमा व्यवहारमा बढि मात्रामा प्रयोग गर्दै आइरहिएको छ।

 

(२) योगआसन तथा प्राणायाम(Yogashan and Pranayama)

सामान्यतया योगआसन शारीरिक श्वास्थ्यकोलागि र प्राणायाम मानसिक श्वास्थ्यकोलागि लाभदायक हो भन्ने मान्यता राखेर गरिने भएपनि हाम्रो स्वाश्यका चारवटै आयामहरुमा योगआसन र प्राणायामको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहने गर्दछ। वर्तमानमा व्यवहारमा देखिएको शिक्षा प्रणालीमा वालवालिकाहरुले विहानदेखि साँझसम्मको अधिक समय विद्यालयमा विताउने हुनाले राष्ट्रभरिका सबै विद्यालयहरुले योगआसन तथा प्राणायामका अभ्यासहरु पाठ्यक्रममै सामेल गरेर योग साधनाका अभ्यासहरु शुरु गर्नु अतिआवश्यक छ। पछिल्लो समयमा आध्यात्मिक रुपमा जागरुक केही विद्यालयका संचालकहरुले यो सह्रानिय काम शुरु गरेका पनि छन्। अन्य उमेरका मानिसहरुको तुलनामा वालवाकिाहरुकालागि योगआसन तथा प्राणायामका सकारात्मक लाभहरु धेरै छन। वालवाकिाहरुको विकसित हुदै गरेको शरीरका अंगहरु, मस्तिस्क र स्वच्छ मनकालागि (जसमा कुनै विषय तथा घटनालाई हेर्ने सकारात्मक तथा नकारात्मक दृष्टिकोण पूर्णरुपमा बनिसकेको हुदैन) नियमित योगआसन तथा प्राणायामका अभ्यासहरु गराउनु अतिआवश्यक छ। नियमित रुपमा गराइएका योगआसन तथा प्राणायामका अभ्यासहरुले वालवालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा सन्तुलन प्रदान गरी उनीहरुलाई पूर्णरुपमा स्वश्थ रहन मद्धत गर्दछ। पूर्णरुपमा स्वश्थ वालवालिकाहरुमा यो काम मुस्किल छ, म सक्दिन, म अज्ञानी तथा असक्षम छु, म बिरामी, कमजोर तथा अशक्त छु, म मा आत्मचेतना, आत्मसम्मान, आत्मविश्वास, साहस छैन भन्ने भ्रमित तथा हिनताबोधले भरिएका नकारात्मक सोचहरु आफैं हराएर जान्छन् र म सक्छु, म सक्षम छु, म मा आत्मविश्वास तथा साहस छ भन्ने सकारात्मक भावहरु स्वतः जाग्रीत हुन्छन् र यसले वालवालिकाहरुको प्रभावकारी मानसिक विकास तथा सिकाइमा उच्चतम परिणाम देखा पर्न थाल्छ र यो परिवर्तन उनीहरु स्वयंले प्रत्यक्ष अनुभूति गर्दछन्। शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक रुपमा स्वश्थ तथा सन्तुलित वालवालिकाहरु आफू स्वयं आफ्नो आन्तरीक क्षमता तथा प्रतिभाहरुको पहिचान गर्न तथा अरुलाई गराउन र त्यसलाई अझ प्रभावकारी ढंगले अघि बढाउदै लान सक्षम हुन्छन्।

 

(३) ध्यान साधना(Meditation)

मानिसको समग्र विकासकालागि योगका विभिन्न साधना पद्धतिहरु मध्य सबैभन्दा सर्वोत्कृष्ट विधि ध्यान साधनाको वालवालिकाहरुको प्रभावकारी मानसिक विकास तथा सिकाइमा महत्वपूर्ण प्रभावकारिता रहदै आएको सत्य-तथ्य धेरै वैज्ञानिक खोज तथा अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् र वर्तमान समयमा यो विश्वव्यापि सर्वचर्चित विषय हो। वालवालिकाहरुको म, भावना तथा चेतनामा कुनै विषय तथा घटनाहरुलाई हेर्ने, सोच्ने तथा विश्लेषण गर्ने दृष्टिकोणमा उनीहरुको मस्तिष्कमा उक्त विषय तथा घटना उपर आफ्नै प्रकारको छवि तथा नक्शा विकास नभसकेको हुने हुनाले ध्यान साधनाको सकारात्मक प्रभाव उनीहरुका चाँढै र प्रभावकारी देखिन्छ। ध्यान साधना पद्धतिले वालवालिकाहरुमा रहेका शारीरिक, मानसिक तथा व्यवहारिक समस्या तथा दुर्वलताहरुको उचित किसिमले उपचार तथा समाधान गर्न मद्धत गर्दछ। नियमित ध्यान साधना गर्ने वालवालिकाहरु खुशी, शान्त हुन्छन् र आफ्नो अध्ययन तथा कार्य क्षेत्रमा सफल हुन्छन्। खुशी, शान्त र सफल वालवालिकाहरुमा हिनता भाव तथा नकारात्मक सोच नहुने हुनाले उनीहरुको ज्ञान इन्द्रियहरुको क्षमताको विकासका साथै मानसिक विकास सन्तुलित किसिमले हुन्छ र सन्तुलित मानसिक विकासले चेतनाको विकासलाई पनि निरन्तरता र प्रभावकारीता प्रदान गर्दछ। सन्तुलित मानसिक तथा चेतनाको विकास भएका वालवालिकाहरु पुर्णरुपमा स्वश्थ र आत्मचेतना तथा आत्माविश्वासले युक्त हुनेहुनाले उनीहरुमा स्वतः उनीहरुको आन्तरीक क्षमता, प्रतिभा अर्थात Predominant Sense पहिचान गर्न तथा अरुलाई गराउन उनीहरु स्वयं सक्षम हुन्छन् र शिक्षक-शिक्षिका तथा अभिभावकहरुको सहयोगमा उनीहरु आफ्नो रुचीको विषयको अध्ययन तथा रोजाइको क्षेत्रमा काम गरि आफ्नो जीवन सहज ढंगले अघि बढाउन सक्षम हुन्छन् र भविश्यमा अस तथा सफल नागरीक बन्न सक्छन्।

 

NLP, योगआसन तथा प्राणायाम र ध्यान साधना पद्धतिका विधिहरुको अनुशरण गरि नियमित तिनको अध्यास गरेका वालवालिकाहरु पूर्णरुपमा स्वश्थ हुने हुनाले यस्ता वालवालिकाहरुले सहजै आफ्नो Predominant Sense अर्थात उनीहरुका देख्ने, सुन्ने तथा अनुभूति गर्ने आन्तरीक क्षमता तथा प्रतिभाहरु पत्ता लगाइ सोही विषय तथा क्षेत्रमा आफूलाई समर्पित गरि जीवनमा सुख, खुशी, सफलता, समृद्धि, शान्ति तथा आनन्द हासिल गरेका थुप्रै सफल उदाहरणहरु देखिएका छन्। तसर्थ शान्त नेपाली, समृद्ध नेपाल निर्माणकालागि विद्यालयको पाठ्यसामग्रीहरुमै अनिवार्य रुपमा NLP, योगआसन तथा प्राणायाम र ध्यान साधना का पद्धतिहरुलाई समावेश गरेर वालवालिकाहरुलाई जतिसक्दो सानै उमेरदेखि NLP र योग साधनामा अभ्यस्त तथा निपुर्ण बनाउदै उनीहरुको मानसिक विकास र सिकाइमा प्रभावकारीता ल्याएर उनीहरुलाई सफलता समृद्धि तथा आनन्दको मार्गतिर उन्मुख गराउनु आजको सर्वोपरि आवश्यकता हो।

समग्रमा भन्नुपर्दा प्राचीन कालदेखि निरन्तर अभ्यास गर्दै आइरहेको योग साधना यस्तो यस्तो विशिष्ठ पद्धति हो जसले वालवालिकामा अन्तरनिहित जन्मदै लिएर आएका सबै किसिमका क्षमता तथा प्रतिभाहरु अर्थात Predominant Sense प्रस्फुटन गर्न र तिनलाई प्रभावकारी ढंगले व्यवहारमा उतार्न मद्धत गर्दछ।

 


No comments:

Post a Comment