डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
"नेपालको मौलिक ज्ञान, विराट चक्र विज्ञान* भाग-२ पोखरामा !"
विषय प्रवेश
विश्व समाजमा आएको आधूनिक भौतिक तथा प्राविधिक विकाससंगै आजको मनुष्यको जीवनशैली दिनदिनै भोगउन्मुख बन्दै गैरहेको छ र योगबाट टाढा हुदै गैरहेको छ । भोगउन्मुख जीवनशैलीले मनुष्यलाई क्रमशः रोग, शोक, दुःख, अशान्ति, विपन्नता, चिन्ता, अवसाद हुदै नारकीय दलदलमा पुर्याउँछ भने योगउन्मुख जीवनशैलीले मनुष्यलाई क्रमशः पूर्ण स्वास्थ्य, सुमधूर सम्वन्ध, आवश्यक समृद्धि, प्रतिष्ठा, शान्ति, आनन्द हुदै आत्मज्ञान, चैतन्यता तथा मोक्षसम्म पुर्याउँछ । त्यसैले हरेक मनुष्यले समयमै आफ्नो मन र जीवनलाई भोगछोडि योगतिर लगाउनु आवश्यक छ, योगको मार्ग नै जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द र मोक्ष प्राप्तिको सही बाटो हो ।
अध्यात्म, अध्यात्म साधना र योग साधना
अध्यात्मलाई सरल भाषामा दुई प्रकारले बुझ्ने गरिएको पाइन्छ । ‘अध्यात्म’ संस्कृत वागंमयका दुई शव्द अधि+आत्म मिलेर बनेको सन्धि शव्द हो । पहिलो– ‘अधि’ अर्थात ‘आध्य’ अर्थात सबैभन्दा पहिलो अर्थात शाश्वत अर्थात उच्च अर्थात श्रेष्ठ अर्थात परम अर्थात सर्वव्यापक अर्थात सर्वशक्तिमान +आत्मा = अध्यात्म अर्थात परमसत्य परमात्मा । दोस्रो– ‘अधि’ अर्थात श्रेष्ठ अर्थात परम+आत्मा = परमात्मा । यस अर्थमा अध्यात्म शव्द नै स्वयं परमात्मा हो । यीनै सर्वशक्तिमान, सर्वव्यापक अधि+आत्मा अर्थात आध्य+आत्मा अर्थात परम+आत्मा अर्थात मोक्षका प्रमुख कारक परमात्मा प्राप्तिको साधना नै अध्यात्म साधना हो । ‘योग’ अध्यात्म साधना कसरी गर्ने भनेर सिकाउने सही विधि तथा पद्धतिहरुको विज्ञान हो अर्थात योग अध्यात्मसम्म पुग्ने, पुग्न सिकाउने तथा पुर्याउने एकमात्र मार्गनिर्देशक हो र योगको साधना नै परमात्मा प्राप्तिको मूल बाटो हो । यस अर्थमा अध्यात्म साधना र योग साधना करिव–करिव एकै विषय हुन्, दुवैले मोक्ष हासिल गर्न तथा परमात्मामा सदाकालागि योगस्त हुन मार्गनिर्देश गर्दछन् ।
जन्म र मृत्युको दुःखदायि चक्रबाट मुक्त भएर मोक्ष अर्थात निर्वाण (लिवरेसन) प्राप्त गर्न तथा परमात्मामा सदाकालागि योगस्त हुन योग विज्ञानको साधना बाहेक अहिलेसम्म मनुष्यको समाजमा अर्को कुनै मार्ग तथा विकल्प फेला पारिएको छैन । तसर्थ समुच्चा विश्वकोलागि नेपालको मौलिक सनातन ज्ञान ‘योग विज्ञान’ पूर्वीय वैदिक सनातन दर्शनको अभूतपूर्व देन तथा वरदान हो र नेपाल योग र ध्यानको गुरुभूमि तथा मूलभूमि हो । मानव जीवनको उत्थानकालागि पूर्वीय सनातन दर्शनको अनुपम देन अध्यात्म विज्ञान तथा योग विज्ञानको यही गरिमा तथा महत्वलाई गहिरोसंग बुझेर र हृदयांगम गरेर नै विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघले वेदको आँखा मानिने सनातन ज्योतिष शास्त्रले योग–ध्यान साधनाकालागि अत्यन्तै उपयुक्त समयको रुपमा महत्वपूर्ण मान्यता प्रदान गर्दै आएको पृथ्वीको सबैभन्दा लामो दिन जुन २१(असार ६ गते) लाई ‘विश्व योग दिवस’ र पृथ्वीको सबैभन्दा छोटो दिन डिसेम्बर २१(पौष ६गते) लाई ‘विश्व ध्यान दिवस’को रुपमा मनाउने घोषणा गरेको छ र यी अत्यन्तै महत्वपूर्ण दुई दिनलाई पृथ्वीका सबै सदस्य तथा परिवारहरुको उत्थान गर्ने माध्यमका रुपमा विशिष्ठ मान्यता प्रदान गरेको छ र अव यीनै घोषणाहरुका माध्यमबाट विश्व कल्याणको यात्रा प्रारम्भ हुनेछ तथा भैसकेको छ ।
भोगमा रुमल्लिएको मनुष्यको जीवन
आजको ममुष्यको जीवनशैली जानेर तथा नजानेर भोगमा रुमल्लिएको छ । भोगमा हराएकै कारण मनुष्यले आफू अर्थात वास्तविक ‘म’ लाई विर्सेको छ र आफैंबाट तथा परमात्माबाट अपरिचित र टाढा हुदै गैरहेको छ । मनुष्यले योग छोडेर भोगको बाटो लिएको छ तथा उसले बाटो बिराएको छ र उ भोगको जीवनशैलीमै नराम्रोसंग अलमलिएको तथा डुबेको छ । यसैकारण मनुष्य परम तृप्तिदायि योगी जीवनबाट अलग भएर अत्यन्त दुःखदाई भोगी जीवन जीरहेको छ । मनुष्यले भौतिक संसारबाट मिल्ने वस्तु तथा सेवाका सुख र सुविधाहरु प्राप्त गर्नु नै आफ्नो अमूल्य जीवनको अन्तिम लक्ष्य ठान्ने भूल गरिहेको छ । यही भूलकाकारण भौतिक संसारका वस्तु तथा सेवाहरुप्रति जागेका अनावश्यक इच्छा, कामना तथा वासनामा लिप्त भएर आवश्यकता भन्दा बढि भौतिक वस्तु तथा सेवाहरु थुपार्ने अति आकांक्षा, होड तथा प्रतिस्पर्धामै आफूलाई पूर्णतः खर्चिएको छ । यस्तो असन्तुलित र अति भोगयुक्त जीवनशैलीका कारण मनुष्यको जीवनमा अनेक प्रकारका समस्याहरु सिर्जित भएकछन् र उ तन, मन, भाव तथा चित्तको रोगी बन्दै गैरहेको छ । यस्तो परिस्थितिमा उसलाई सहयोेग तथा सहाराको आवश्यकता परेको छ । सनातन वेद र वेदवाट निसृत शास्त्रहरुका सारा ज्ञान; अध्यात्मका सारा साधना; योगका सारा विधि तथा पद्धति; धर्मका सारा निष्ठा, कर्तव्य, उत्तरदायित्व; सम्प्रदायका सारा संस्कृति, पूजापाठ, होम, यज्ञ, कर्मकाण्ड, व्रत, तीर्थ, परम्परा, रीतिरीवाज आदि सबै मनुष्यको भोगमा अड्किएको मन तथा जीवनलाई योगतिर फर्काएर मुक्ति तथा मोक्षसम्म पुर्याउने वैज्ञानिक उपायहरु हुन् ।
भोगदेखि योगसम्मको यात्राकालागि योग साधना एकमात्र मार्गनिर्देश
योग विज्ञानका सैद्धान्तिक तथा व्यवहारीक वैज्ञानिक विधि तथा पद्धतिहरुलाई आफ्नो दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण तथा अभ्यास गरेर योगको वैज्ञानिक साधना मार्फत मनुष्यको मन तथा जीवनलाई भोग जीवनबाट योग जीवनतिर फर्काउन सकिन्छ । योग दर्शनका सारा साधना, विज्ञान, विधि तथा पद्धतिहरु यही विषयहरुको वरीपरि घुम्दछन् । सनातन शास्त्रहरुमा अध्यात्म तथा योग साधनाकालागि अपनाइने योगका धेरै विधि तथा पद्धतिहरु उल्लेख गरिएका छन् । व्यवहारिक प्रयोगका आधारमा सात प्रकारका योगहरु प्रमुख मानिएका छन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग तथा राज योग । सम्पूर्ण वैदिक शास्त्रहरुको मूलसार ग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले यी सात योग मध्य सबै मनुष्यकालागि व्यवहारीक तथा प्रभावकारी हुने किसिमले तीन योग– (१)कर्म योग, (२)भक्ति योग, र (३)ज्ञान योगलाई प्रमुख मान्यता तथा प्राथमिकता प्रदान गर्नुभएको छ । योगको साधनामा अझ महत्वपूर्ण र प्रभावकारी कुरा के छ भने कर्म योग, भक्ति योग, ज्ञान योग यी तीनवटै योग तथा मार्गहरुको प्रस्थान विन्दु र आत्यन्तिक गन्तव्य ध्यान योग हो । प्रभावकारीताका आधारमा प्राचीनकालदेखि हालसम्म भएका तथा गरिएका योग साधनाका सबै प्रयोगात्मक, अनुसन्धानात्मक तथा खोजमूलक अध्ययनहरुमा प्रमुख रुपमा ध्यान योगले नै मनुष्यलाई भोग, रोग, शोकको जीवनबाट योगमय जीवनमा फर्काउन महत्वपूर्ण योगदान पुर्याएका तथ्य तथा तथ्यांकहरु प्रसस्त पाइन्छन् ।
राज योगका विधिहरु अनुशरण गर्न प्रोत्साहित गर्ने योग दर्शनको महान ग्रन्थ पतंजलि योग सुत्रको अष्टांग योगमा ध्यानलाई योग साधनाको सातौं अंगका रुपमा उल्लेख गरिएको छ र आठौं अंग समाधि रहेको छ । पतंजलि योग सुत्रका अगाडिका ६ वटा अंगहरु– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, र (६)धारणा मध्य यमले मनुष्यलाई आफूले संसारप्रति गर्नुपर्ने सन्तुलित व्यवहार; नियमले आफूले आफैंप्रति गर्नुपर्ने सन्तुलित व्यवहार; आसनले आफ्नो शरीरको पूर्ण स्वस्थताकालागि शरीरप्रति गर्नुपर्ने सन्तुलित व्यवहार तथा प्रयोगात्मक अभ्यास; प्राणायामले आफ्नो मन साथै शरीरका आन्तरीक अंगहरुको पूर्ण स्वस्थताकालागि मनप्रति गर्नुपर्ने सन्तुलित व्यवहार तथा प्रयोगात्मक अभ्यास; प्रत्याहारले योगउन्मुख सन्तुलित जीवनकालागि आफ्ना ११ वटा इन्द्रियहरु (५ ज्ञान इन्द्रिय, ५ कर्म इन्द्रिय र १ मन) प्रति गर्नुपर्ने इन्द्रिय निग्रहको सन्तुलित व्यवहार तथा प्रयोगात्मक अभ्यास; र धारणाले मन तथा भावको एकाग्रताकालागि खासगरि आफ्नो सोच तथा विचारप्रति गर्नुपर्ने सन्तुलित व्यवहार तथा अभ्यासबारे ज्ञान प्रदान गर्दछन् र यी सबै सन्तुलित व्यवहार तथा प्रयोगात्मक अभ्यासहरु ध्यानकालागि पूर्वतयारीका अवस्थाहरु हुन् ।
आफ्नो दैनिक जीवनमा योगका यसप्रकारका सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अभ्यासका विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण र प्रयोगात्मक अभ्यास गर्दै गएपछि मनुष्यलाई क्रमशः आफ्नो शरीर, मन, भाव, चित्तको बारेमा वास्तविक ज्ञान हासिल हुदै जान्छ । यसपछि विस्तारै उसको मन तथा जीवन भोगबाट योगतिर फर्कन प्रारम्भ हुन्छ । यसक्रममा मनुष्यलाई ‘म’ शरीर, मन, भाव, चित्त होइन; म शुद्ध, वुद्ध, प्रवुद्ध आत्मा हुँ; सर्वव्यापक, सर्वशक्तिमान परमात्माको अभिन्न अंश हुँ भन्ने आत्मज्ञानको व्यवहारिक अनुभव हासिल हुदै जान्छ र उसको जीवनमा भौतिक संसारप्रतिको मोह तथा भौतिक वस्तु तथा सेवाप्रतिका उसका अति इच्छा, कामना तथा वासनाहरु विस्तारै कम हुदै जान्छन्, शरीर र मनको सुखकालागि आफू र आफ्नो पूरा समय खर्च गर्न भाव कम हुदै जान्छ र आधारभूत आवश्यकता लाई प्राथमिकता दिन्छ, भौतिक वस्तु तथा सेवाको सुखभोगप्रति अति इच्छा, कामना, वासनाको त्याग गर्न थाल्छ । यसप्रकार मनुष्यभित्र वैराग्यता, सन्यासी, योगी, महात्माको भाव भरिदै जान्छ अर्थात वास्तविक सुख, खुशी, शान्ति, आनन्द भौतिक संसारका अनित्य वस्तु तथा सेवाहरुवाट प्राप्त हुने होइन, यी सबै म भित्रै छन् यसकालागि मैले आफूलाई चिन्नुपर्छ भन्ने अन्तर ज्ञान बढ्दै जान्छ र मनुष्य अध्यात्म तथा योग साधनामा अभ्यस्त हुदै जान्छ । अध्यात्म तथा योग साधनाको निरन्तरताले अन्त्यमा साधक सदाकालागि परमात्मामा योगस्त हुनपुग्दछ तथा मोक्ष अर्थात निर्वाण(लिवरेसन) हासिल गर्दछ ।
वैराग्यता तथा सन्यास जीवनबारे आजका मनुष्यहरुमा अष्टपटता तथा भ्रम छ । वैराग्यता भनेको खानपान त्याग्नु, परिवार तथा घरव्यवहार छोड्नु र जोगी तथा सन्यासी भएर विशेष प्रकारको टिका, माला, पहिरन धारण गरेर हिड्नु तथा एक्लै बस्नु भन्ने गलत बुझाइ रहेको छ । तर श्रीमद भगवद् गीतामा भगवान श्रीकृष्णले स्पष्ट भन्नु भएको छ कि वैरागी तथा सन्यासी त्यस्तो मनुष्य हो जसमा भौतिक संसारका विषय, वस्तु तथा सेवा, सुविधाहरूको प्राप्ति तथा भोगप्रति लिप्त भाव नहुनु अर्थात आवश्यकता भन्दा वढि तीनको प्राप्तिप्रति अति इच्छा, कामना तथा वासना नहुनु हो । परिवार संगै रहेर, घरव्यवहार धानेर, आफ्ना सबै धर्म तथा कर्तब्य, उत्तरदामित्वयरू निष्ठापूर्वक पूरा गर्दै समाज, राष्ट्र, प्रकृति सबैको माझमा रहेर सबैकाे सेवा गर्दै भौतिक संसारका वस्तु, सेवा तथा सुविधाहरूप्रति आवश्यकता जति मात्र आश्रीत रहेर तटस्थ रहेदै सुखी, खुशी, शान्त, आनन्दित जीवनयापन गर्नु वास्तविक वैराग्य तथा सन्यासी जीवन हो । bsirjana@gmail.com
No comments:
Post a Comment