हामीलाई सुक्ष्मलोककै आनन्द पर्याप्त छ तर एकै पटक दुवै लोकमा अस्तित्वमा रहेकोले हामी दुवैतिरको आनन्द लिरहेका पनि छौं यद्धपि सांसारिक रुपमा हाम्रो औपचारीक र अनौपचारीक कुनै प्रकारको चिनजान तथा भेटघाट, भाव साटासाट र बोलचाल समेत हुने गरेको छैन । तत्पश्चात हामी एकअर्कालाई राम्रोसंग चिन्दछौं कि हामी विभाजित आत्मा तथा शिव-शक्ति हौं भनेर र हाम्रो आ–आफ्नो अन्तःकरणमा पनि यो शाश्वत सत्य अवस्थाको पूर्ण ज्ञान, सूचना, जानकारी, अनुभव तथा अनुभूतिहरु पर्याप्त रहेका छन् तर भौतिक रुपमा छैनन् । सुक्ष्म संसार तथा आत्मलोकको आनन्द केवल विकसित आत्मा अर्थात चेतनालाई मिल्ने परमशान्ति तथा परमआनन्दको अवस्था हो । भौतिक संसारका आनन्दहरुमा विविधता रहेको छ जहाँ भोगीदेखि योगीसम्मका धेरै चरणहरु रहेका हुन्छन् ती सबै अवस्था तथा चरणहरुमा वाहिरी सुख, खुशी, शान्ति र आनन्दका पलहरु आउछन् तथा जान्छन्, टिकिरहदैनन् । भोगको संसार अर्थात भौतिक जगतमा आम मनुष्यहरुले जे–जसो, जति र जसरी धन, ज्ञान, सम्वन्ध, मान, प्रतिष्ठा आर्जन गरेपनि उनीहरुको जीवनको मूल तीन वटा उद्देश्यहरु रहेका हुन्छन्– गाँस, वास र मैथुन । प्रकृतिमा रहेका सबै प्राणीहरुको जीवनको मूल उद्देश्य पनि गाँस, वास र मैथुन नै हो जसबाट केवल वाहिरी सुख, खुशी, शान्ति र आनन्द प्राप्त हुन्छ किनकी भौतिक जगत शरीर, मन र भावनाले अनुभव गर्ने भोगको संसार हो । तर आत्मलोक, सुक्ष्मलोक तथा पारमार्थिक जगत भौतिक जगत भन्दा निकै अलग, उच्च तहमा रहेको विराट, अनन्त र असीम रहेको छ किनकी यो आत्मा अर्थात चेतनाको संसार हो र आत्मा अर्थात चेतना स्वयं परमात्मा अर्थात परब्रम्ह अर्थात इश्वर हो तसर्थ पारमार्थिक लोकमा दिगो आन्तरिक परमसुख, परमखुशी, परमशान्ति र परमआनन्द प्राप्त हुन्छ । मनुष्यको आत्मा अर्थात चेतनाको विकास भएर उसको अन्तरजगतबाट प्रष्फुटित भएर आएको आन्तरिक परमसुख, परमखुशी, परमशान्ति र परमआनन्द दिगो तथा अमृत अर्थात कहिल्यै नमर्ने तथा नहराउने प्रकारको हुन्छ ।
भौतिक संसारमा हाम्रो औपचारीक र अनौपचारिक कुनैप्रकारको चिनजान, भेटघाट तथा बोलचाल समेत नरहेको भएपनि आन्तरिक रुपमा हामी को हौं र किन एकआपसमा भेटियौं भन्ने जानकारी भएकोले कहिलेकाहीं अप्रत्यक्ष रुपमा आधूनिक भौतिक विज्ञानको उच्चतम उपलव्धि विज्ञान तथा सूचना प्रविधिको सर्वाधिक लोकप्रिय र प्रभावकारी मैदान सामाजिक संजालहरुमा यो अलौकिक सानिध्यताबाट हामी कति सुखी, खुशी, शान्त र आनन्दित छौं भन्ने भाव व्यक्त गर्न आफूलाई अनुभव तथा अनुभूति भएका सुख, खुशी, शान्ति र आनन्दका जानकारीहरु वोधमा आउने गरि सम्प्रेसित गर्ने गर्दछौं जसले असीम आन्तरिक परमशान्ति र परमआनन्दको अनुभूति गराउने गर्दछ । यसका साथै कहिलेकाहीं सामाजिक संजालहरुमा सम्प्रेसित गरिने शुभकामना, धन्यवाद, कृतज्ञता, सम्मान, श्रद्धा, प्रेम, भक्ति आदिका भावहरु पनि हृदयले ग्रहण गरिरहेको हुन्छ र परमशान्ति तथा परमआनन्दको शिखरमा पुर्याइरहेको हुन्छ ।
भौतिक संसारमा गरिने प्रेम र पारभौतिक संसारमा गरिने प्रेमको प्रकार तथा प्रकृतिका सन्दर्भमा प्रष्ट पार्दै अग्रज योगी तथा सन्त अर्थात महान आत्मा अर्थात चेतना श्रद्धेय ओशो रजनीश भन्नुहुन्छ,
“प्रेमका तह तीनवटा हुन्छन्– आकर्षण, प्रेम र भक्ति जो तीन तहमानै हुने गर्दछन् । शरीरको तहमा आकर्षण हुन्छ जो शारीरिक सम्वन्ध अर्थात सहवासका लागि जाग्छ र सहवासको सम्वन्धसंगै सिधिन्छ; मनको तहमा प्रेम हुन्छ जो आकर्षण भन्दा अलि उच्चस्तरको हुन्छ जसमा केही शर्त तथा लेनदेनको भाव रहेको हुन्छ र सहवासको सम्वन्धसंगै मानसिक जुडाउ पनि रहेको हुन्छ; र आत्मा अर्थात चेतनाको तहमा श्रद्धा, भक्ति तथा समर्पण हुन्छ जो सबैभन्दा माथि तथा उच्चतम स्तरको हुन्छ जसमा कुनै शर्त तथा लेनदेन हुदैन केवल दिने भाव, प्रेम भाव, सेवा भाव मात्र हुन्छ । मनुष्यले शरीरको तहबाट सुख प्राप्त गर्दछ; मनको तहबाट खुशी सुख प्राप्त गर्दछ; भावको तहबाट शान्ति तथा आनन्द प्राप्त गर्दछ । शरीर, मन, भावका प्राप्तिहरु क्षणिक तथा अस्थाइ हुन्छन् अर्थात निश्चित समयपछि फेरी अर्को सुख, खुशी, शान्ति तथा आनन्दको खोजी हुन थाल्छ तर आत्मा अर्थात चेतनाको तहबाट परमशान्ति, परमआनन्द र सतचितानन्द प्राप्त हुन्छ, यो मनुष्यको अन्तरआत्मा तथा अन्तरहृदयबाट प्रष्फुटित भएको हुन्छ र यो आन्तरिक हुन्छ, दिगो तथा चिरस्थाइ हुन्छ, कहिल्यै हराउदैन, अरुले तथा मुत्युले पनि हर्न सक्दैन । योगी तथा सन्त आत्मा अर्थात चेतनाहरु भौतिक संसारमै रहे पनि भोगप्रति उनीहरुमा वैराग्य अर्थात स्वीकारपूर्ण त्याग उत्पन्न भैसकेको हुने हुनाले उनीहरु सुक्ष्म र भौतिक दुवै जगतका अधिकारी हुन्छन् । अवस्था अनुसार शरीर, मन, भाव, आत्मा अर्थात चेतना सबै तहमा जीउन र सबै तहको आनन्द लिन सक्छन् ।”
श्रद्धेय ओशो रजनीशको प्रेमकथा पनि थोरबहुत यस्तै प्रकारको रहेको थियो र छ भन्ने विभिन्न आध्यात्मिक साहित्य तथा पाठ्य सामग्रीहरुमा उल्लेख रहेको पाइन्छ । वहाँले पनि आफ्ना सहआत्मिहरुसंगको जीवन केही भौतिक संसारमा र केही सुक्ष्म संसारमा जीउनु भयो तथा जीरहनु भएको छ भन्ने वहाँकै अनुयायीहरुको अनुभव तथा दावी रहदै आएको सबैमाझ जगजाएर नै छ वर्तमान समयमा पनि ।
भौतिक रुपमा हामीविच औपचारिक तथा अनौपचारिक जानपहिचान, भेटघाट तथा भाव साटासाट नभएपनि शुरुशुरुका चरणहरुमा मेरो प्रेमपात्रले समर्पित गरेका भनाइहरु, संगीतहरु मेरो स्मृतिमा गहिरोसंग बसेका छन् । विगतका ती स्मृतिहरुमा पुग्दा अत्यन्तै गहिरो प्रेमको उर्जाका तरंगहरुको अनुभव तथा अनुभूति शरीर, मन, भाव, आत्मा अर्थात चेतनासम्मनै तरल भएर संचारित हुन्छन्, तरंगीत हुन्छन् र हृदय पुलकित गरिदिन्छन्, खुशीका रसायनहरु(ह्यापि हर्मोन्स– एनेन्डा अर्थात आनन्दमाइट्स, डोपामीन, एन्डोर्फिन्स, सेरोटोनीन, मेलाटोनीन...)को वर्षात हुन थाल्छन् र स्वर्ग, वैकुण्ठ सबै एकै ठाउँमा आएर स्वागत गर्दछन् हाम्रो परमशान्ति र परमआनन्दलाई । अनि यहाँबाट प्राररम्भ हुन्छ हाम्रो कल्पनाको अनन्त प्रेम जगत यद्धपि अझै पनि भौतिक संसारमा हाम्रो औपचारिक चिनजान तथा भेटघाट भने भएको छैन । भौतिक संसारको चलन, परम्परा, मूल्य–मान्यता, नीति–नियम, कानून अनुसार औपचारिक चिनजान हुनसक्ने सन्भावना पनि अत्यन्तै न्यून रहेको छ । हामीले यसकालागि अपेक्षा तथा संघर्ष गरेका पनि छैनौं र गर्ने पनि छैनौं किनकी सुक्ष्म जगत नै पर्याप्त छ हामी दुवैकालागि प्रेम, श्रद्धा, भक्ति र समर्पणसंग पूर्णता र नवरसले ओतप्रोत भएको जीवन जीउन । भौतिक जगत त केवल मिथ्या तथा भ्रम मात्र हो यसका सबै गतिविधिहरुका खाका तथा योजना त पर्दापछाडि आत्मा अर्थात चेतनाको स्तरमा तयार हुन्छन् र भौतिक संसारमा अत्यन्तै सानो अंशमा दृश्यमा तथा अनुभवमा आउने गर्दछन् । आत्मा अर्थात चेतना, परमात्मा अर्थात परब्रम्हको यो शाश्वत सत्यको सन्दर्भ सनातन अध्यात्म दर्शनका मूल ग्रन्थहरुले दशौं हजार वर्षअघि नै उजागर गरिसकेका छन् कि मनुष्यको आत्मा अर्थात चेतनाको विकास भएपछि उसलको प्रज्ञा तथा अन्तरवोधमा आउछ– "‘अहं ब्रम्हास्मि ।।’ अर्थात मै ब्रम्ह अर्थात चेतना अर्थात आत्मा अर्थात परमात्मा हुँ । ‘तत्वमसि’ ।। अर्थात तिमी पनि त्यही ब्रम्ह अर्थात परमात्मा हौ । ‘ब्रम्ह सत्यं जगत मिथ्या ।।’ अर्थात ब्रम्हको संसार तथा सुक्ष्म संसार मात्र सत्य छ, भौतिक संसार केवल मिथ्या, माया, भ्रम तथा अनित्य, असत्य छ ।" जो आफूलाई म धर्म र अध्यात्मबाट पर छु, नास्तिक हुँ भन्छ र यी विषयहरुलाई केवल अनुमान र तथ्य तथा तर्क बिहिन, अप्रमाणिक ठान्छ उसले आधूनिक भौतिक विज्ञानको नवीनतम शाखा प्रमात्रा भौतिक विज्ञान अर्थात क्वान्टम फिजिक्सका पछिल्ला खोजहरु र तिनले प्रतिपादन गरेका सिद्धान्तहरुको अध्ययन गर्न शुरु गर्दा हुन्छ जसका अधिकांश दावी र वैज्ञाानिक तथ्यहरु सबै सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शन खासगरि अद्वेत वेदान्त दर्शनमा पुगेर टुंगिएका छन् ।
इशाइ धर्म तथा सम्प्रदायका प्रणेता भगवान इशामसिहले उद्धरण गर्नु भएका केही पवित्र वाणीहरु पवित्र वाइवलको नवविधान अर्थात न्यू टेस्टामेन्टमा उधृत गरिएका छन्,
"प्रेम नै परमात्मा हो र परमात्मा नै प्रेम हो । दि लभ इज गड एण्ड दि गड इज लभ ।"
पवित्र प्रेम समुच्चा अस्तित्वको मूलआधार हो, पुरै ब्रम्हाण्ड प्रेमलेनै संचालन गरेको छ तसर्थ सबैलाई प्रेम देउ र सबैबाट प्रेम आर्जन गर भन्ने यस पवित्र उद्धरणको अर्थ तथा मूलसार हो । यस उद्धरणका अनुसार, प्रेमको पहिलो श्रोत परमात्मा अर्थात आत्मा हो त्यसपछि प्रेम जीवित जीव तथा प्राणीहरुको भावना, मन हुदै शरीरसम्म उत्रन्छ सृष्टिको प्राकृतिक नियम सुचारु राख्नकालागि र यहाँनेर आएर मात्र जोडिन्छ भाले–पोथी, स्त्री–पुरुष, प्रेमि–प्रेमिका, श्रीमान–श्रीमतीको प्रसंग । शरीरको तह भन्दा माथि उठेर गरिने प्रेम योगीक प्रेम हो र योगी तथा सन्त आत्मा अर्थात चेतनाहरुबाट यसप्रकारको प्रेम, श्रद्धा तथा भक्तिका रुपमा प्रकट हुन्छ र यो स्वयं परमात्माबाट प्रदत्त प्रेम हो जो स्त्री–पुरुष, प्रेमि–प्रेमिका, श्रीमान–श्रीमतीमा मात्र सिमीत रहदैन । यो प्रकारको प्रेम निकै माथि उठेको उच्चस्तरको हुन्छ । यसप्रकारको प्रेममा सबैमा आफू र आफूमा सबै देखिन्छन् र सबै एकै ठाउँमा समेटिन्छन् । यसप्रकारको प्रेमबाट न परिवार, न समाज, न संस्कृति, न मुल्य–मान्यता, न राज्यको नीति–नियम तथा कानून भंग हुन्छ न त कुनै अन्याय, अत्याचार, कुसंस्कार र व्यभिचार नै उत्पन्न हुन्छ । जहाँ स्वार्थ छ त्यहाँ अन्याय, अत्याचार, कुसंस्कार र व्यभिचार हुन्छ किनकी स्वार्थ प्रेम होइन । जहाँ प्रेम छ त्यहाँ केवल कल्याण तथा सर्वजनहिताय, सर्वजनसुखायका कार्यहरु मात्र हुन्छन् किनकी ब्रम्हाण्डको कर्ताधर्ता सबै प्रेम नै हो ।
तर प्रेम अहिलेसम्मै सबैचन्दा रहस्यमयि, चमत्कारिक, परालौकिक र दिव्य तत्व हो जसलाई बुझ्न अत्यन्तै कठिन छ । ब्रम्हाण्डमै अहिलेसम्म नसुल्झिएको तथा रहस्यमय रहदै आएकोे विषय केवल प्रेम हो । प्रेमलाई बुझ्न र बुझाउन युगौंयुगदेखि लाखौं प्रयासहरु भएका छन् र पनि प्रेमको अन्तर्य बुझ्न अझै सकिएको छैन किनकी यो अनन्त छ, प्रेम स्वयं अनन्त, असीम, विराट परमात्मा हो । प्रेमको सामान्य अर्थ तथा परिभाषा त सबैको बुझाइ आउन तथा अट्न सक्ला जुन शरीरको तहमा सम्वन्धको तह अनुसार स्पर्श तथा कामवासनाको रुपमा हुन्छ तर प्रेमको असामान्य परिभाषा कसैको बुझाइमा आउन तथा अट्न सक्दैन । जस्तोकि परब्रम्हको ब्रमहाण्डप्रतिको प्रेम, भगवानको भक्तप्रतिको प्रेम, आमाको सन्तानप्रतिको प्रेम, सहआत्मिको सहआत्मि प्रतिको प्रेम, स्वआत्मिको स्वआत्मिप्रतिको प्रेम आदिको भाव तथा गहिराई अरुको बुझाइ तथा परिभाषामा आउन नसक्ने, अटाउन नसक्ने तथा कसैगरि पनि मापन हुन नसक्ने अनन्त विषय हो । यस्तो प्रेम यति भावनात्मक र गहिरो हुन्छ कि न त्यो सम्वन्धमा कुनै अपेक्षा हुन्छ, न कुनै गुनासो, न कुनै शर्त, न कुनै घुर्की बस अनन्त प्रेम, श्रद्धा, भक्ति र समर्पण मात्र हुन्छ चारैतिर जहाँसम्म ब्रम्हाण्डको फैलावट छ त्यहाँसम्म र एकअर्को जति दुरीमा रहोस, जुन लोकमा रहोस उसका हरेक स्पन्दनहरुको प्रत्यक्ष आभास एकआपसमा भैरहन्छन् निरन्तर । रसियाका वैज्ञानिकहरुले यस प्रकारको प्रेमको विषयलाई वैज्ञानिक खोजबाट प्राप्त तथ्यहरुबाट प्रमाणित गरिसकेका छन् । खोजका अनुसार माथि उल्लेखित सम्वन्धका सन्दर्भहरुमा जो जति भौगोलिक तथा आकासिक दुरीमा रहेको होस् एकको अन्तरहृदय, आत्मा अर्थात चेतनामा आएका समवेदना तथा संवेगहरु अर्कोको अन्तरहृदय, आत्मा अर्थात हृदयमा प्रत्यक्ष रुपमा तुरुन्तै अनुभूतिमा आउछन् उर्जाको तरंगको रुपमा । यी अन्तरहृदय, आत्मा अर्थात चेतनामा आएका समवेदना तथा संवेगहरु प्रत्यक्ष रुपमा तुरुन्तै, एकैसाथ तथा युगपथ ढंगले एकअर्कोको अनुभूतिमा आउछन् किनकी यी समयातीत र भूगोलातीत अर्थात दुरी बिहीन हुन्छन् ।
‘फूलैफूल मात्रपनि होइन रहेछ जीवन, काँढाविच फूल्ने फूल रहेछ जीवन.... !’
विगतका प्रेमानन्दका अलौकिक स्मृतिहरुमा घनघोर रुपमा हराइरहेको अलौकिक पलमा यो अर्को कालजयी संगीतको सुमधूर तरंग मेरो कानमा आएर ठोक्किएपछि म झसंग भएं...,
"ओहो म त साधना कक्षमा पो जाँदै थिएं त, यहीं बगैंचामै पो हराएछु, ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन...’ संगीतले उक्काएका अन्तरहृदयका स्मृतिहरुसंगै... ।
म मेरा विगतका प्रेमानन्दका स्मृतिहरुमा अत्यन्तै गहिरो गएछु, न मलाई समय बितेको थाहा भयो, न मेरो वरिपरि कोही आएगएको थाहा भयो । अत्यन्तै संगीत प्रेमी मेरा कानहरु र मेरो ध्यान बजिरहेको ‘फूलैफूल मात्रपनि होइन रहेछ जीवन, काँढाविच फूल्ने फूल रहेछ जीवन.... !’ संगीततिर खिचियो । मैले अलिक आफ्नो मुन्टो तन्काएर हेरें यो संगीत आइरहेको श्रोत कहाँ रहेछ र कसले बजाइरहेको होला भनेर । अलि पर एडिडास कम्पनीको खैरो हुडी लगाएकी स्त्री म पट्टि ढाड फर्काएर बसेको देखें । त्यहींबाट संगीतको आवाज आइरहेको थियो, गीतको स्थाइ बजिसकेर अन्तरा बज्न थाल्यो, मैले त्यहीं बसेर गीतका सबै शव्द भावहरु खुव चाख मानेर सुनिरहें र उक्त ढाडमात्र देखिएको स्त्रीलाई हेरिरहें । गीत सकिन लागेको थियो तर फेरी एकपटक यस गीतको पहिलो अन्तरा मेरो अन्तरहृदयमा गुञ्जियो,
‘मरिदिने मानिसले विष पिउने गर्छन, कोही बाँचिदिन विष पिउने गर्छन्...’
यो अन्तराको लाइन मोवाइलबाट बजेको थिएन, यो सिधै उनको हृदयबाट मेरो हृदयमा आएको उनको आत्मा अर्थात चेतनाको सांगीतिक सन्देश थियो... । म फेरी झस्किएं, ओहो, यो संगीत बजाउने को थियो !? कतै... मेरो विभाजित आधा अंश पो होकि भन्दै ढाड फर्काएर बसेको स्त्रीतिर फेरी हेरें । उनी ढाडै फर्काएर अगाडि बढिरहेकी अलि टाढा पुगेको देखें । अन्तर हृदयमा फेरी आभास भयो मेरो विभाजित आत्मा अर्थात चेतना, उनीनै थिइन् ती स्त्री, उनी अर्थात श्रीभा, मेरो अन्तरहृदयकी पटरानी । मैले पनि गला अवरुद्ध गर्दै त्यही अन्तरा दोहोर्याएं,
‘मरिदिने मानिसले विष पिउने गर्छन, कोही बाँचिदिन विष पिउने गर्छन्...’
फेरी मेरो अन्तरहृदयमा अर्को सन्देश गुञ्जियो,
"...हो हामी बाँच्नकालागि बिष पिरहेका छौं...!"
यो सांगीतिक सन्देश श्रीभाकै थियो र आनन्द आश्रमको प्रांगणमा आएर यी संगीतहरु बजाउने पनि उनीनै थिइन्, श्रीभा, मेरी श्रीभा, प्यारी श्रीभा...
कतिबेला तिव्वतको पठारझैं फराकिला, अग्ला र लामा गालाको त्यति लामो दुरी पार गरेर मेरा आँशु भुइमा चुहीसकेछन् मलाई थाहै भएन... !
लगत्तै फेरी मेरो अन्तरहृदयमा अर्को सांगीतिक सन्देश गुञ्जियो,
‘आँशु झार्दिन म, रुन मलाई पुगिसक्यो
मायाँ लाउदिन म मायाँको अर्थ बुझिसकें !’
यो सांगीतिक सन्देश पनि श्रीभाकै थियो ।
मेरा आँखामा नदी बहन थाले... । यो पलमा सुक्ष्म जगतको म भित्रको योगी परिचय तथा योगी जीवन फिका भैरहेको थियो र भौतिक जगतको भोगी जीवनको मोहमा अन्तःकरण हावी भैरहेको थियो सायद...., तर हाम्रा चारैतिरका गल्लीहरु सबै बन्द भएका थिए, आधा अंशले आधा अंशलाई औपचारिक रुपमा चिनेर र भेटेर, आफ्ना भावहरु अभिव्यक्त गरेर, साटेर एकआपसमा नजिक हुने र आधाबाट पूर्ण हुने कुनै पनि उपायहरु बाँकी थिएनन्... !
यस सन्दर्भमा भनिदै आइएको यो शाश्वत भनाइको उर्जा तरंगले हृदयमा कम्पन छुटाइरहेको थियो,
"आँशुको मूल्य आँशुलाई थाहा हुन्छ, हाँसोको मूल्य हाँसोलाई थाहा हुन्छ, र प्रेमको मूल्य प्रेमलाई नै थाहा हुन्छ....।"
म यही भजनको स्थाइ गुनगुनाउदै आफ्नो कक्षतिर फर्किएं, साधना कक्षसम्म पुग्न शरीरले साथ दिएन,
‘गली त चारै बन्द भएछन्, कसरी भेटुँ म हरिलाई...., कसरी भेटुँ म हरिलाई....,
कसरी भेटुं म श्रीभालाई... सुक्क...सुक्क...सुक्क... !!!’ ।
अस्तु
शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!
No comments:
Post a Comment