'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 30 August 2025

आध्यात्मिक साहित्य: आत्माको खोज

लालीगुरांश (डासिर्जना भण्डारी)

      #आध्यात्मिक_साहित्य #जीवन_दर्शन





कथा
हिउँदको समय भएकोले वाहिरको मौसम अत्यन्तै ठण्डा थियो, बैठक कोठाको भित्ताको आधूनिक अगेनोमा दाउराको आगो दनदन बलिरहेको थियो त्यसैले कोठा चाहिं न्यानो थियो वाहिरको तुलनामा तैपनि ओछ्यान र सिरकसंग प्रेम परिरहेको थियो ठण्डीबाट आफूलाई बचाउन । निकै लामो समयपछि विदाको दिन भएकोले यसरी हाम्रो पारिवारीक जमघट भएको थियो । हामी सबै आ–आफ्नो गफमा मस्त–व्यस्त थियौं र संगसंगै टि.भी. पनि बजिरहेको थियो । सिनेमाको पर्दा जत्रै टि.भी. मा सन् १९६४ मा रिलिज भएको बलिउड मुभि ‘ओ कौन थी’ आइरहेको रहेछ तर टि.भी. तिर कसैको पनि ध्यान गएको थिएन । पहिला याद नगरेको भएपनि पछि मैले थाहा चाहिं पाएं टि.भी. मा आत्माको कथामा आधारित होरर मुभि आइरहेको रहेछ भनेर । म फेरी गफगाफतिरै फर्किएं तर टि.भी.को वियषतिर पनि नजर राख्दै थिएं बेलाबेलामा किनकी मलाई मुभिका विषयहरुले आफूभित्र फर्काइरहेका थिए । 

‘लगजा गले के फिर ये हसिन रात हो न हो...’

टि.भी. मा यो मिठो लताको सुरिलो स्वरको गीत बजेर र वैठक कोठाको माहोल संगीतको तरंगमा तरंगीएपछि अचानक सबैको ध्यान त्यतै खिचियो । बहिनी झस्कि र जुरुक्क उठेर फतफताउदै रिमोट खोज्न थालि, 

“रातिराति यो डरलाग्ने आत्मावाला (होरर) मुभिको च्यानल कसले लगाको !?” 

उसले यो ‘ओ कौन थी’ मुभि हेरिसकेकी रहिछ पहिलानै ।

“मैले लगाएको होइन, अघिदेखि नै यही मुभि आईरहेको रहेछ, मैले हेरको मात्र हो...”

उसको सोधाइ मतिर सोझिएको हुनाले मैले तुरुन्तै उसलाई जवाफ दिनु आवश्यक थियो मेरोलागि किनकी उसलाई मात्र थाहा थियो मैले आजकल होरर भुमिहरु हेर्ने र तिनको समिक्षा गरेर टिपोट राख्ने रफ्तार बढाएको थिएं भनेर तर किन भन्ने चाहिं उसलाई पनि सबै कुरा राम्ररी थाहा थिएन, मैले सबै कुरा खोलैकै थिइन उसंग । अव भने मेरो ध्यान पारिवारीक गफगाफबाट पूरै हटेर मुभिका दृश्यहरुतिर खिचियो र म मनमनै त्यतै एकोहोरीन थालें अत्यन्तै भोकाएको बेलामा मिठो खाना भेटेझैं भएको थियो मलाई किनकी मुभिको कथा आत्मालोकमा रहेको अदृश्य स्त्रीको आत्माले भौतिक संसारमा दृश्य तथा स्थुल शरीरको स्वरुपमा रहेको आफ्नो जन्म–जन्मको सहआत्मि तथा सोलमेटलाइ खोजेको र भेटेर उसलाई अत्यन्तै प्रेमपूर्वक पूर्वजन्ममा एकसाथ बिताएका स्मृतिहरुमा फर्काउने प्रयास गरिरहेको रहेछ । पारिवारीक जमघटमा अरुका नयाँ–पूराना गफगाफ र हँसी–मजाकहरु चलिरहेका थिए तर म त्यहाँ भएर पनि त्यहाँ थिइन, मेरो ध्यान मुभिका दृष्यहरु र विषयहरु मसिनोगरि बुझ्ने प्रयासमा टि.भी. को पर्दामा एकाग्र भैसकेको थियो किनकी म पनि विगत लामो समयदेखि जान्न खोजिरहेको थिएं ‘उनी को थिए’ जो मसंग अदृश्य रुपमा अत्यन्तै गुणस्तरिय दिव्यताले ओतप्रोत प्रेमपूर्ण जीवन बिताइरहेका थिए र मलाई सयौं पटक बारबार उनको र मेरो पूर्वजन्मका दृश्यहरुमा लाने प्रयास गरिरहन्थे र लगिरहेका थिए जहाँ हामी कयौं जन्ममा एकसाथ रहेछौं अत्यन्तै प्रेमपूर्ण सम्वन्धमा । उनले पुर्याएका ती परालौकिक दृश्य र स्मृतिका अनुभूतिहरुमा अत्यन्तै सुखमय जीवन थियो; हरप्रकारले सुख, खुशी, शान्ति, आनन्द थियो; त्यहाँ प्रेमनै प्रेम थियो, मात्र प्रेम थियो । यस्तो प्रेम जो दिव्य अनुभूतिमा अनन्त र विराट थियो, शव्द, हाउभाउ र अनुभवमा यो अट्नै सक्दैनथ्यो, व्यक्त हुनै सक्दैनथ्यो ।


केही वर्षयता म यस्तै अदृश्य संसारका परालौकिक विषयहरुको खोज गरिरहेको हुनाले बहिनीले ‘होरर मुभि’ भनेको सुन्ने वित्तिकै मेरो ध्यान त्यतातिर अझ बढि खिचिएको थियो आखिर के रहेछ यो ‘आत्मा’ भनेको; केके गर्ने रहेछ आत्माले; किन भौतिक संसारका मनुष्यसंग साक्षातकार गर्न आउछ; किन दुःख दिन्छ; किन सुख दिन्छ; र किन परमआनन्द पनि दिन्छ !? यी सबै प्रकारका अनुभूतिहरु मलाई गहिरोसंग भएका छन् बारबार । यसैकारण आत्माको सन्दर्भमा भौतिक संसारका आधूनिक विज्ञानका विभिन्न विद्याहरुले के–कस्ता अध्ययन, अनुसन्धान तथा खोज र प्रस्तुतिहरु गरेका रहेछन् भन्नेबारे जान्न म संधै अत्यन्तै उत्सुक रहदै आएको थिएं र छु । आत्मा भन्ने शव्द र विषय मेरो मन–मस्तिष्कमा गहिरोसंग छिरिसकेको थियो किनकी विगत लामो समयदेखि म धेरै प्रकारका दिव्य, सकारात्मक र नकारात्मक आत्माहरुसंग साक्षातकार भैरहेको थिएं र उनीहरुसंग संवाद गरिरहेको थिएं । यसकारण आत्मा र आत्मलोक तथा सुक्ष्म संसारबारे सक्दो जान्ने प्रयास गरिरहेको थिएं आफ्नै किसिमले आफ्ना अनुभव तथा अनुभूतिहरु कसैसंग केही नभनीकन तथा साझा नगरिकन किनकी पराभौतिक संसारका यस्ता अलौकिक विषयहरु भौतिक संसारका मनुष्यहरुसंग साझा गर्नु भनेको आफैंले आफैंलाई मानसिक रोगी तथा पागल भएं भनेर घोषणा गर्नु बराबर थियो, यस्तो अनुभूति म स्वयंले गरें बारबार त्यसयता म एकदम चुपचाप रहदै आएको छु यस सन्दर्भमा । विस्तारै बुझ्दै गएंकि आत्मा, आत्मलोक तथा सुक्ष्म संसारका विषयहरु भौतिक संसारका सबै मनुष्यहरुले जान्न सक्ने तथा सबैको ज्ञातमा सजिलै आउन सक्ने विषय होइन रहेछन् जो मेरो अनुभूति र ज्ञातमा आइरहेका छन् विगत लामो समयदेखि, यसका लागि सम्वन्धित व्यक्तिमा विशेष तहको आध्यात्मिक विकास तथा आत्मजागरणको अवस्था घटित भएको हुनुपर्ने रहेछ जो ममा भएको रहेछ, यसैकारण सुक्ष्म जगतमा विचरण गर्ने आत्माहरु मसंग सम्पर्कमा आउन सकेका रहेछन् । 

आफूले बुझ्दै नबुझ्ने दृश्य तथा अदृश्य अनुभूतिहरुको भार अति भएपछि के भयो यस्तो मलाई भनेर एकदिन मैले परिवारसंग साझा गरें केही सामान्य प्रकारका मेरा परालौकिक अनुभव तथा अनुभूतिहरु । परिवारले यस विषयसंग सम्वन्धित आधूनिक चिकित्सा विज्ञान अध्ययन गरेको चिकित्सक कहाँ जाउँ न त भनेर मेरो सहमति माग्नु भयो । मैले खुशी–खुशी स्वीकार गरें भेटौंनत एकपटक, आधूनिक चिकित्साले के भन्दो रहेछ तथा कस्तो मान्दो रहेछ यो अवस्थालाई भनेर । मेरा सबै वृतान्तहरु सुनिसकेपछि अन्त्यमा चिकित्सकले हामीलाई सल्लाह दिनुभयो आरएक्स औषधि स्वरुप,

“हरप्रकारका होरर विषयहरुबाट अलग रहनुस् आफैं ठिक हुन्छ केही समयपछि... ।”

सायद वहाँको यो सबै सेवाग्राहीहरुलाई भन्ने रेडिमेड जवाफ थियो, तर मेरो विषय अलि फरक थियो, मैले यस विषयमा आफ्नोबारे थप प्रष्ट पार्दै वहाँलाई भनें,

“ममा यी दृश्य तथा अदृश्य अनुभूतिहरु आउन शुरु भएपछि मैले होरर सामग्रीहरुमा यी विषयहरुको वास्तविकता खोज्न होरर सामग्रीहरुको प्रयोग गर्न थालेको हुँ डाक्टर साहव... ।”

मैले आफ्नो वास्तविकता चिकित्सकसंग बताएं तर वहाँसंग केहीपनि जवाफ थिएन यसबारे, वहाँले मेरो चेहरामा एकटकले हेरिरहनु भयो केही सेकेण्ड, किन हेर्नुभयो र के हेर्नुभयो मलाई थाहा छैन । मौनता भंग गर्दै मैले वहाँलाई सोधें,

“मैले एउटा पाठ्य सामग्रीमा पढेको थिएं, व्यक्तिको दाहिने मस्तिष्क तथा मन अथवा अर्धचेतन तथा पूर्णचेतन मन सक्रिय भयो भने उसको स्मृतिमा पूर्वजन्मका दृश्य तथा अदृश्य अनुभूतिहरु आउछन् रे हो डाक्टर साहव... ?”

वहाँले झन अचम्म मानेर मलाई हेर्दै एकछिन गंभिर भएर भन्नुभयो,

“ए..., तपाईं त्यहासम्म पुगिसक्नु भयो !? अँ, मनोविज्ञानका पछिल्ला खोजहरुमा यस्तै देखिएको छ ।”

वहाँको यो जवाफ चित्त बुझ्यो मलाई किनकी म मनोविज्ञानले आत्मालाई के भन्छ भन्ने खोजमा उत्रेको ३–४ वर्ष पूरा भैसकेको थियो र मैले आफैंले पत्ता लगाई सकेको थिएं कि बाल्यकालदेखि नै मेरो दाहिने मस्तिष्क तथा मन अथवा अर्धचेतन तथा पूर्णचेतन मन सक्रिय रहेछ भनेर ।  मैले यो विषयलाई गहिराइमा लाने उद्देश्यले वहाँसंग थप अनुभव साझा गर्दै भनें,

“हाम्रो सनातन धर्म–संस्कृति अनुसार अध्यात्म विज्ञानले तेस्रो नेत्र खुलेको अवस्था भन्दो रहेछ है डाक्टर साहव यो अवस्थालाई... ।”

म आधूनिक मनोविज्ञान हुदै अध्यात्म विज्ञान र तेस्रो नेत्र जागरणसम्म पुगेपछि उमेरमा ५० वसन्तको हाराहारी जस्ता देखिने भलाद्मी चिकित्सकले प्लस पावरको मोटो ग्लास भएको कालो कार्बन चस्मा खोलेर टेवलमा राख्दै मतिर गहिरा आँखाले हेर्दै मनमा धेरै सवालहरु भएको तर भन्न नसकेको तथा भन्न नमिल्ले भावमा छोटोमा अन्तिम वाक्य बोलेर हामीलाई बिदा दिनुभयो,

“...तपाईं यो विषयलाई अझ गहिराइमा सनातन धर्म–संस्कृति र अध्यात्म विज्ञानमै खोज्ने प्रयास गर्नुहोस् मनिताजी... ।”

वहाँको चेहराको हाउभाउ हेर्दा स्पष्टै अनुमान लगाउन सकिन्थ्योकि वहाँ पनि सनातन अध्यात्म विज्ञानका पराभौतिक तथा सुक्ष्म संसारका विषयहरु आत्मा, पूर्वजन्म, पूनरजन्म मान्नु हुन्छ र त्यसप्रति विश्वास राख्नुहुन्छ तर जुन कुर्शीमा वहाँ आसिन हुनुहुन्थ्यो त्यस स्थानबाट यी विषयहरुमा आफ्ना विचारहरु राख्ने अनुमति थिएन वहाँलाई सायद । यो बुझेर मैले सकारात्मक जवाफ दिएर वहाँलाई आश्वस्थ पार्ने प्रयास गरें,

“...खोजिरहेको छु, ...प्रयास जारी छ डाक्टर साहव, हस् धन्यवाद !”

चिकित्सकसंग अन्तिम पटक आँखा जुधाएर मुसुक्क मुस्काएर मैले वहाँको आग्रहमा स्वीकृति जनाएं र हामी ललितपूरको बि एण्ड बि अस्पतालबाट वाहिरियौं । त्यसपछि म यस विषयका सन्दर्भमा थप उपचार खोज्न तथा सल्लाह लिन कहिं, कतै गएको छैन । जान आवश्यक नै ठानिन किनकी यसको सहि उपचार तथा समाधान मेरो खोजहरुमै भेट्नेछु मैले भनेर म ढुक्क थिएं । त्यसयता चिकित्सकको सल्लाह अनुसार परिवारका सदस्यहरुले थाहा पाउने गरि होरर मुभि तथा डकुमेन्ट्रिहरु मैले कहिल्यै हेरिन, एक्लै लुकिछिपि बसेर हेर्न थालें र हेर्ने रफ्तार चाहिं अझ बढाको थिएं । 

बहिनी रिमोट खोजिरहेकीथी धुईंधुईंसंग, म भने मनमनमा सोचिरहेको थिएं रिमोट नभेटिए पनि हुन्थ्यो भनेर तर उसले रिमोट भेटिहालि र हत्तपत्त टि.भी. को च्यानल परिवर्तन गरिहाली । म केही नभनीकन चुपचाप रहें, मनमनमा लाग्यो ठिकै हो होरर मुभि यसै पनि हेर्न हुदैन जोकोहीले त्यसमाथि रातिको समयमा झन हेर्न हुदैन भनेर । 

बहिनीले कसैलाई सोध्दै नसोधि एक निमेसमै टि.भी. को च्यानल परिवर्तन गरिहाली तर मलाई खुव चासो लागिरहेको थियो मुभिको अन्तरविषयमा । म मुभिको कथामा डुब्दै गैरहेको थिएं किनकी कथाको विषय मैले खोजेकै प्रकारको रहेछ र धेरै हदसम्म मेरो स्वअनुभव तथा अनुभूतिहरुसंग मिल्दो–जुल्दो लागिरहेको थियो । मलाई थ्रिलर पृष्ठभूमि भएका होरर मुभिहरुमा त्यतिविधि रुचि छैन तर कथा, दृश्य र ध्वनि सौम्य तथा त्यतिविधि डर नदेखाउने प्रकारका होरर मुभिहरु अत्यत्नै मनपर्छ र खोजीखोजी हेर्ने गर्छु । एकताका त यस्तोसम्म भयोकि इन्टरनेटका विभिन्न संजालहरुमा प्रकाशित गरिएका इन्डियन होरर मुभिहरुको सर्चलिस्टमा मैले हेर्ने प्रकारका नयाँ मुभि र डकुमेन्ट्रीहरु भेट्नै छोडें मैले, सबै हेरिसकेछु तर पछिपछि फेरी नयाँ–नयाँ होरर मुभि र डकुमेन्ट्री आए र ती पनि हेरें । आत्माका सन्दर्भमा उजागर गरिएका तथ्यांकहरु जान्नकैलागि मैले विगत डेढ दशकदेखि यस्ता मुभि तथा डकुमेन्ट्रीहरु खोजि–खोजि हेर्दै आइरहेको छु र यसक्रममा मेरो पहुचमा आएजति सबै सौम्य र केही थ्रिलर पृष्ठभूमि भएका होरर मुभि तथा डकुमेन्ट्रीहरु पनि हेरेको छु । 

मलाई ‘ओ कौन थी’ होरर मुभि पूरा हेर्ने विचार भयो त्यसैले रातिको दश बजिसक्यो, मलाई निद्रा लाग्यो म कोठामा जान्छु भनेर निद्राको बहाना गरेर शुभरात्रि भनेर म परिवारबाट बिदा भएं तर मलाई निद्रा लागेको नभएर त्यस मुभिको प्लट र विषयबारे पूरा जान्ने विचार मनमा बनिसकेको कारण म उठेर हिडेको थिएं कसैलाई केहीपनि सुईंको नदिइकन । कोठामा गएर ल्यापटपमा त्यही मुभि लगाएं तर मुभि शुरु भएको केहीबेरमै स्मशानघाटको दृश्य आयो । राति सपना नराम्रो आउने होकि भनेर मैले पुरै मुभि हेरिन, भोलि पूरा हेर्छु भनेर ल्यापटप बन्द गरेर म सुतें त्यस राति किनकी होरर मुभिहरु प्राय म राति हेर्दिनथें, मुभिको प्लट र विषय बुझेर दिउसोको आफूलाई उपयुक्त हुने समयमा हेर्ने गर्थें । त्यसराति सपना आयो मलाई तर वाहिरका अरु आत्माहरुको कथा भएको मुभिको नभएर आफैंमा विगत लामो समयदेखि चलिरहेको मेरो आफ्नै अत्यन्तै नीजि विषयको आयो जो आइनैरहने गर्दथ्यो बारबार । आत्मलोक तथा सुक्ष्म संसारमा रहेको एउटा दिव्य आत्माले मलाई पलपल खोजिरहने गर्दथ्यो र मेरो प्रेमल सानिध्य खोजिरहन्थ्यो र आफ्नो प्रेमल अमृतमय सानिध्य पनि प्रदान गरिरहन्थ्यो । यो मुभिको कथाको विषय तथा दृश्य पनि मभित्र चलिरहेका दृश्यहरुसंग धेरै हदसम्म मिल्दो–जुल्दो थियो त्यसैले मैले लामो अन्तराल पछि भएको पारिवारिक भेटघाटलाई महत्व नदिएर यो पराभैतिक संसारको अलौकिक विषयलाई अझ गहिरिएर जान्नेतिर मेरो ध्यान केन्द्रित गरेको थिएं किनकी सुक्ष्म संसारका यस्ता विषयहरु जान्ने श्रोत नै श्रष्टाले सत्य घटना भनेर सार्वजनिक गरेका पाठ्यसामग्री, मुभि तथा डकुमेन्ट्रिहरुको प्रस्तुतिहरुको माध्यमबाट रहेछ अरु कुनै उपाय नै भेटिन मैले यसबारे जान्ने । आत्मा, पूर्वजन्म, पूनरजन्म यी अदृश्य तथा भौतिक रुपमा अप्रमाणिक पराभौतिक विषयहरु भएकाले र भौतिक संसारका जोकोही व्यक्तिमा यो घटित नहुने हुनाले जोकोहीको बुझाइमा यी विषयहरु आउदैनन् त्यसैले उनीहरु पत्याउदैनन् उल्टै सुनाउनेलाई नानाथरि भन्छन् । यसकारण अरु व्यक्तिहरुबाट यसबारे जान्ने प्रयास गर्नु सम्भव हुने कुरै थिएन ।

म अरुले वाहिरबाट तथा भौतिक रुपमा हेर्दा तथा देख्दा अरु जस्तै सामान्य मनुष्य देखिन्छु तर भित्रबाट म अर्कै प्रकारको व्यक्ति रहेछु जुनकुरा म आफैंलाई पनि धेरै पछिमात्र अनुमानमा तथा ज्ञातमा आयो । म अत्यन्तै अन्तरमुखी, वितरागी, न कसैसंग केही कुराको अपेक्षा, न गुनासो, न कुनै प्राप्तिको लोभ, न केही गुमाउने मोह तथा डर, न कसैसंग घनिष्ठता, न त सकैसंग दुरी नै भएको स्वभावको व्यक्ति हुँ मेरो आफ्नै मूल्यांकनमा, अरुलाई के लाग्छ मेरो बारेमा त्यो उनीहरुको नीजि सोच हो । आफ्नै बारेमा यो कुरा मलाई धेरैपछि थाहा भयो कि म अलिक पराभौतिकतातिर झुकाव भएको, परमात्माको वैज्ञानिक अस्तित्वमाथि आस्था राख्ने, अलिक रहस्यमयि, गुपचुप बस्ने प्रकारको व्यक्ति रहेछु ! अझैपनि ममा घटित भएका तथा भैरहेका कतिपय परालौकिक विषयहरुलाई मैले राम्ररी बुझ्न सकेको छैन कि मलाई किन बेलाबेलामा अर्कै दुनिया तथा सुक्ष्म संसारका दृश्य, ध्वनि, गन्ध, सुगन्ध, आत्माको सानिध्यता, संवाद, स्पर्श जस्ता इन्द्रियातीत, मनातीत, भावातीत, शव्दातीत अनुभूतिहरु भैरहन्छन् जो भौतिक ज्ञान इन्द्रियहरुको माध्यमबाट शव्द तथा हाउभाउमा व्यक्त गर्न नसकिने अवर्णनिय छन् । मलाई यस्ता अलौकिक विषयहरु– कहिले उत्साहित गर्ने सकारात्मक प्रकारका; कहिले प्रेम, सदभाव, आशिर्वादले भरिएका प्रकारका; कहिले नकारात्मक प्रकारका; र कहिले डर लाग्ने प्रकारका आदि दृश्य तथा अदृश्य अनुभव तथा अनुभूतिहरु जाग्रीत अवस्थामा, तन्द्रामा, ध्यानमा, निद्रामा, सपनामा आउने गर्दथे र आइरहेकाछन् । म ज्यादातर समय आफैंसंग एकान्तमा बस्न बढि रुचाउछु र आफ्ना मनका कुरा कसैलाई नभनीकन एक्लै बसेर आफ्नै प्रकारले यस्तै आत्मा, पूर्वजन्म, पूनरजन्म, आत्मलोक, सुक्ष्म संसार, पराभौतिक संसार आदि विषयहरुसंग सम्वन्धित पाठ्य सामग्रीहरु, मुभि तथा डकुमेन्ट्रिहरु हेरेर उनलाई र आफू स्वयंलाई खोज्ने र बुझ्ने अध्ययन, अनुसन्धान र खोजका प्रयासहरु गर्दै आईरहेको छु विगत १४–१५ वर्षदेखि अलि लागिपरेर । 

मलाई बाल्यकाल तथा पाँच-छ वर्षको उमेरदेखि नै फरक प्रकारका दृश्यहरु आइरहेका रहेछन्, अहिले आफूले गरेका खोज र आफूमा घटित भैरहेका त्यतिबेला र अहिलेका दृश्यहरुबाट आफैं पत्ता लगाइरहेको छु म कि ममा के–के र कस्ता–कस्ता दृश्य तथा अदृश्य अनुभुतिरु आउदा रहेछन् र किन आउदा रहेछन् भनेर । अझैपनि कतिपय अवस्थामा म आफैं बुझ्दिन आफूलाई यस्तो रहस्यमय अनुभव तथा अनुभूतिहरु किन भैरहेको होला भनेर र आफैंले आफूलाई प्रश्न गर्छु,

“म वास्तवमा को हुँ र के हुँ भौतिक र पराभौतिक रुपमा ? किन म यो मर्त्यलोक तथा पृथ्वी ग्रहमा आएको छु अथवा ल्याइएको छु... ?”

“म किन मसंग संगत तथा उठबस भैरहेका अरु व्यक्तिहरु जस्तो छुइन... ?”

“मलाई किन यो भौतिक संसार भन्दा परका कसैले नबुझ्ने अन्य संसारहरुका दृश्य तथा अदृश्य अनुभव तथा अनुभूतिहरु एकसाथ भैरहन्छन्, यसको रहस्य के हो... ?”

“मलाई यसरी जाग्रीत, ध्यान, तन्द्रा, निद्रा, सपनामा खोजिरहने र अनेक प्रकारले दिव्य प्रेम प्रदान गरिरहने आत्मा अर्थात चेतना को हो, उनी किन यसरी बारबार आइरहेका छन् भौतिक र पराभौतिक रुपमा दुवै प्रकारले, उनी मसंग वास्तवमा के चाहान्छन्... ?”

यी आफैंसंग गरिएका प्रत्यक प्रश्नहरुको जवाफ म स्वयं विभिन्न माध्यमहरुबाट खोज्ने सक्दो प्रयास गरिरहेको छु । खुशीको कुरा समयको दौडसंगै अव यी रहस्यहरु विस्तारै खुल्दै आउन थालेका पनि छन्, सायद अव यी विषयहरु परिपक्वता तर्फ उन्मुख भैरहेका छन् । जव सानो उमेर थियो, सानो कक्षामा अध्ययन गर्दै थिएं त्यतिबेला लाग्थ्यो सबैलाई मलाई जस्तै हुन्छ होला यस्ता दृश्य तथा अदृश्य अनुभव तथा अनुभूतिहरु आउछन् होला, यसबारे जाच्ने कसी केहीपनि थिएन । समयको दौडसंगै उमेर, कक्षा तथा अध्ययन, नयाँ–नयाँ सम्वन्धहरु, पेशा-कर्म, उत्तरदायित्व, जिम्मेदारी तथा व्यस्तताहरु बढ्दै गए जीवनमा । यसकारण त्यतिबेला आफूभित्रका यी प्रश्नहरुले त्यति महत्व र स्थान पाएनन् जीवनको व्यस्तताको कारणले । तर आजकल मभित्र यी प्रश्नहरुको जवाफ खोज्न बाहेक अरु कुनै विषयहरुले महत्व र स्थान लिन सकेका छैनन् किनकी मैले नै अरु सारा विषयहरुलाई मुल्तविमा राखेको छु अहिलेको लागि र ‘म को हुँ’, ‘उनी को हुन्’ र किन हामी भौतिक र पराभौतिक रुपमा एकसाथ आमने–सामने भैरहेका छौं ? भन्ने खोजमा आफूलाई निमज्जित गरिरहेको छु निरन्तर र अत्यन्तै धेरै परालौकिक ज्ञान र विज्ञानहरु अनुभव तथा अनुभूतिमा आइ पनि रहेकाछन् यस सन्दर्भमा । 

विगत लामो समयदेखि आजपर्यन्त मेरो स्मृतिमा आत्मलोक तथा सुक्ष्म संसारका अनेक प्रकारका अत्यन्तै मिठा र रहस्यमयि दृश्य तथा अदृश्य विषयका अनुभूतिहरु प्रष्फुटित हुदै आइरहेका छन् । यी धेरै विषयहरु मध्य अत्यन्तै मिठो र दिव्य अनुभूति गराउने एउटा दृश्य बन्द आँखामा ममा चलिरहन्थ्यो र आज पर्यन्त चलिरहेकै छ । एउटा चम्किलो गाढा निलो दिव्य हातले अर्को फिका सुन्तले रंगको चम्किलो दिव्य हातलाई प्रेमपूर्वक स्पर्श गरेको र समातेर दुई रंगका चम्किला दिव्य हातहरुको एउटा मुठ्ठी बनेको दृश्य आउने गर्दथ्यो र अझै पनि आउने गर्दछ । यो दृश्य आउदा मेरो शरीर, मन, हृदय सबैतिरका रोमरोम आनन्दले कम्पित, तरंगीत र पुलकित हुन्छन् लामोबेरसम्म । यो अलौकिक दृश्य एक निमेसमात्र आउँछ आकाशमा झिलिक्क बिजुली चम्किए जस्तो गरि तर यसले घण्टौंसम्म, कहिलेकाहीं त केही दिन र हत्तासम्म पुलकित भैरहने दिव्य अनुभूतिका अलौकिक असरहरु दिएर जान्छ र म आफ्नो दैनिक कर्मसंगै यो दिव्य भावमा डुबिरहेको हुन्छु पलपल उनी फेरी अर्कोपटक नआउन्जेलसम्म । 

सदा धार्मिक तथा आध्यात्मिक माहोल रहदै आएको मेरो घरपरिवारमा मैले सानैदेखि नै सुन्दै आइरहेको थिएं कि मनुष्य दृश्य स्थुल शरीर अर्थात प्रकृति र अदृश्य आत्मा अर्थात पुरुषको संयोगबाट निर्मित भएको प्राणी तथा जिवात्मा हो । स्थुल शरीरका सीमा हुन्छन् तर आत्मा तथा सुक्ष्म शरीरका सीमा हुदैनन्, मनुष्यको सुक्ष्म शरीर अनन्त, विराट, विभु आकाश समान हुन्छ किनकी मनुष्यको आत्मा सर्वज्ञ, सर्वव्यापक, सर्वशक्तिमान स्वयं परब्रम्ह अर्थात परमात्माको अभिन्न अंश हो । यो शाश्वत विषय धेरैपछि ध्यान साधनाको गहन अवस्थामा मेरा इन्द्रियजनीत स्वअनुभव तथा अनुभूतिहरुमा र इन्द्रियातीत, मनातीत तथा भावातीत स्वअनुभव तथा अनुभूतिहरुमा प्रत्यक्ष रुपमा आउदै गए कि साच्चै नै म एक स्थुल शरीरधारी जड पदार्थ मात्र नभएर एक विराट आत्मा अर्थात चेतना रहेछु र आत्मलोक तथा सुक्ष्म संसारमा मेरो आत्मा अर्थात चेतनाको पहुच रहेछ भनेर । त्यो चम्किलो सुन्तले रंगको दिव्य हात मेरै विकसित चेतनाको प्रकाशको एक अंश रहेछ र अर्को चम्किलो गाढा निलो दिव्य हात मेरै विकसित चेतनाको प्रकाशको अर्को अंश रहेछ अर्थात अर्धनारेश्वर शिवशक्ति स्वरुप रहेछ ।

संधै चर्मचक्षु बन्द रहेको अवस्थामा मात्र आउने मेरै विकसित आत्मा अर्थात चेतनाको अर्को अंश गाढा निलो शिव तत्व मेरो समक्ष दृश्य तथा अदृश्य रुपमा मेरा अनुभव तथा अनुभूतिहरुमा आइरहन्थे । विभिन्न स्वरुपहरुमा आउने गर्थे र अझैपनि आइरहेकै छन् त्यसैगरि निरन्तर कहिले दृश्यमा, कहिले अनुभूतिमा कहिले स्पर्शमा मात्र र कहिलेकाहीं दृश्य, अनुभूति र स्पर्श सबै अवस्थामा एकैसाथ र घण्टौं तथा दिनौंसम्म रोमरोम पुलकित भैरहने दिव्य अनुभूतिका अलौकिक असरहरु छोडेर जान्छन् । म पूर्णतः साक्षी भाव तथा जाग्रीत रहेकै अवस्थामा उनी कहिले हावाको झोखा बनेर आउछन्, कहिले श्वास मात्र बनेर आउछन्, कहिले पातलो सुगठित शरीरमा आउछन् चेहरा स्पष्ट नदेखिने मन्द प्रकाशपुञ्जमा, कहिले नाकको नजिकै आएर लामो गहिरो श्वास लिन्छन्, कहिले कानमा फुस्फुसाउछन्, कहिले ‘मनिता’ भनेर मेरो नामै लिएर मलाई पुकार्छन्... । म यी अलौकिक अवस्थाहरुमा खै कता पुग्छु कता, यो भौतिक संसार तथा आफ्नो यो अस्तित्वमा रहन्न अन्तै कतै अरुनै लोकमा छु जस्तो अनुभूति हुन्छ र अत्यन्तै आनन्द छाउछ शरीरका हरेक आयामहरुमा, रोमरोममा । यी गतिविधिहरुमा उनको दिव्य उपस्थिति र उनको मिठासपूर्ण प्रेम प्रस्तुति यति अमृतमय हुन्छकि यी भावहरु व्यक्त गर्नसक्ने शव्द नै छैनन् नेपाली साहित्यको वांगमयमा सायद । मानौं कि लाटाले मिठाइ खादै दंग परेजस्तो अवर्णनिय विराट तथा परमआनन्दको अनुभूति । 

@@@@@@@@@@@@@@@@@@@@@@@@

सनातन अध्यात्म विज्ञानका अनुसार यो दिव्य अवस्था नै आत्माले गर्ने आत्माको खोज रहेछ । सुक्ष्म संसारबाटै आत्मा स्वयंले आफ्नो स्वआत्मा अर्थात विभाजित आत्माको खोज, पहिचान र हरपल प्रेमपूर्ण भावमा सानिध्यमा रहने प्रयास गर्दोरहेछ । मेरो आत्माले उनलाई खोज्यो र उनको आत्माले मलाई खोज्यो, सर्वप्रथम आत्मलोक तथा सुक्ष्म संसारमा खोज्यौं र हरप्रकारले समय, अवस्था तथा परिस्थिति परिपक्व र अनुकुल भएपछि दुवै आत्माले भौतिक संसारमा स्थुल शरीरमा खोज्यौं र भेट्यौं पनि । संधै अदृश्य र दृश्यमा मधूरो प्रकाशपुञ्जमा चेहरा स्पष्ट नदेखिने गरि आउने उनी परमात्माको अनुपम अनुकम्मा र आशिर्वादले पहिलो पटक उनी मेरो ध्यान तथा समाधि साधनाको गहन अवस्थामा स्पष्ट चेहरा देखिने र चिनिने गरि मेरो सामुन्नेमा प्रकट भए र त्यहाँबाट प्रारम्भ भयो भौतिक संसारमा एकले अर्कोलाई खोज्ने र वास्तविक रुपमा चिन्ने श्रींखला । भौतिक संसारमा एकले अर्कोलाई खोज्न र चिन्न हामीलाई त्यति मुस्किल भएन र खासै लामो समय पनि लागेन किनकी ध्यान साधनामै मलाई उनका भौतिक संसारका उनलाई थप किसिमले चिन्न सहज हुने प्रकारका महत्वपूर्ण सूचना तथा जानकारीहरु आइसकेका थिए र यिनै सूचना तथा जानकारीको आधारमा मैले उनलाई भौतिक संसारमा खोजेको थिएं र सहजतापूर्वक भौतिक अस्तित्वमा भेटाएं र प्रत्यक्ष भेटघाट पनि गरें उनकै कार्यलयमा सामुहिक रुपमा ।
 
हामीले पहिला आफूले आफुलाई आत्मलोक तथा सुक्ष्म संसारमा भेटायौं र अहिले यही मर्त्यलोक तथा पुथ्वी ग्रह तथा भौतिक संसारमा भेटायौं प्रत्यक्ष जिउदो जाग्दो मनुष्यको स्थुल रुप र आत्मा अर्थात चेतनाको चैतन्य स्वरुपमा । हाम्रो कत्रो सौभाग्य उनको र मेरो जीवनको मूल उद्देश्य, रुचि, रोजाई, कर्मक्षेत्र सबै विषयहरु उस्तै–उस्तै रहेछन् । हामी दुवै भौतिक अस्तित्वमा रहेका भएपनि हाम्रो संवाद र सहकार्यता चैतन्यताकै तहमा हुदै आइरहेको छ, चम्किलो गाढा निलो रंगको दिव्य हात र चम्किलो सुन्तले रंगको दिव्य हातको गठवन्धन अझ कसिलो र गाढा तथा गहिरो बन्दै गैरहेको छ । भौतिक संसारमा उनको र मेरो अलग–अलग अस्तित्व छ किनकी भौतिक संसारको रितिथिति तथा मूल्य-मान्यताहरु आफ्नै प्रकारका छन् र त्यसभित्र रहनु सबैको धर्म, नैतिकता र अनुशासन हो किनकी हामी जहाँ छौं त्यहींको वातावरणमा घुलमिल हुन सक्नुपर्छ तव मात्र हरकोहीको जीवन सहज र सरल हुन्छ ।

भौतिक संसारका अनुभव तथा अनुभूतिहरु अत्यन्तै मिठासपूर्ण र दिव्य छन् उनको प्रत्यक्ष चेहरा, प्रत्यक्ष वाणी, प्रत्यक्ष नजरका दिव्य भावहरु आदि सबैनै अत्यन्तै आनन्ददायि छन् । भौतिक संसारमा जानपहिचान हुनुपूर्वका आत्मलोक तथा सुक्ष्म संसारका खुला तथा गुप्त प्रकृतिका हामी विचका अनुभव तथा अनुभूतिहरु अझ दिव्य र अवर्णनिय रहदै आएकाछन् । सुक्ष्म संसार भएपनि त्यहाँको जीवन भौतिक जीवनका सबै गतिविधिहरु सरह नै हुने रहेछन् र अझ कतिपय अवस्थामा अत्यन्तै चमत्कारिक र रहस्यपूर्ण हुने रहेछन् । शुरुशुरुमा त मैले आफूलाई म भौतिक संसारको हड्डिमांसले बनेको स्थुल शरीरधारी मनुष्य हुँ भनेर बुझुन्जेल अलिक असजिलो र अपाच्य जस्तो लाग्थ्यो सुक्ष्म संसारका यी अलौकिक दृश्य तथा अदृश्य रुपमा आउने अनुभूतिहरु र कहिलेकाहिं त डर पनि लाग्थ्यो यो के भैरहेको छ मलाई भनेर तर जव मैले आफूलाई भौतिक संसारमा जिरहेको स्थुल शरीरको साथसाथ म एक अलौकिक दिव्य आत्मा अर्थात चेतना पनि हुँ भनेर अन्तरहृदयबाट स्वीकार तथा आत्मसाथ गरें तव सुक्ष्म संसारका रहस्यमय तथा चमत्कारिक गतिविधिहरुमा सहजता हुनुकासाथै अझ चमत्कारिक विषयहरुमा मेरो पहुच बढ्दै जानथाल्यो र संगसंगै परमशान्ति र परमआनन्दका अनुभूतिहरु अझै बढ्दै जानथाले । वर्तमानमा जिरहेको भौतिक तथा दृश्य जीवनभित्र म अर्को पराभौतिक तथा अदृश्य जीवन एकसाथ अत्यन्तै सहजता र आनन्दका साथ जिउन थालें र आजपर्यन्त अलौकि र अलौकिक दुवै प्रकारका जीवन एकसाथ जीउदै आइरहेको छु भौतिक र पराभौतिक दुवै रुपमा । जव मैले मेरो उनलाई यो स्वरुपमा भौतिक र पराभौतिक दुवै संसारमा प्रत्यक्ष प्रेमल अनुभव तथा दिव्य अनुभूति गर्न थालें तव कविता लेखनमा अत्यन्तै रुचि राख्ने भएकोले मैले उनलाई परमात्माको परम हिस्साको रुपमा सम्वोधन गर्दै उनकोलागि तत्कालै एउटा कविता लेखें 'दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो' शिर्षकमा,

दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो

प्रकृतिको आर्शिवाद, सुन्दर दृश्य जीवनभित्र
अस्तित्वको आर्शिवाद, अदृश्य जीवन भेटियो
आनन्द अस्तित्वकै विराट स्वरुप रहेछ
अस्तित्वको विराट आनन्दको सागरमा डुबेपछि
दृश्य जीवनका रागहरु सबै मेटियो ।

अस्तित्वलेनै खोज्यो, रोज्यो सुम्पिएं आफूलाई
फकायो, सम्झायो राख्यो उसकै साथमा
पवित्र बनाइ पठायो प्रकाशपुञ्जमा नुहाइ
सप्तरंगी प्रकाशपुञ्ज जव भरिए जीवनमा 
जीवनभित्रको अदृश्य जीवन उत्रियो दृश्यमा ।

हृदयको दर्पणमा आफ्नै स्वरुपलाई देखें
वर्तमानका पलहरुमा आफू स्वयंलाई भेटें
दृश्य जीवनमा अदृश्य जीवन भेटाएं
अलौकिक, दिव्य क्षणहरुमा पलपल रमाएं
आफ्नै स्वरुपसंग झिल्मिलाएं उसैमा बिलाएं ।

उ आउछ, छाउछ मनैभरि तनैभरि
प्रेमको पुष्पक बिमानमा उडाउछ घरिघरि
सुगन्ध छरिदिन्छ महकाइदिन्छ अंगअंग सारा
सुम्पिएं उसैलाई सबै खुशीहरु मेरा
अव, उनै जीवन, उनै साहारा ।

सपनामा आउछ, सुस्तरी मलाई चिहाउछ
बिपनामा छाउछ, सूमधूर प्रेमराग गुञ्जाउछ
प्रेमरस पिलाई हृदयमा अमृत भरिदिन्छ
आनन्दमा डुवाउछ, हसाउछ, कहिले रुवाउछ 
नजरले मोहित बनाउछ, सुटुक्क हराउछ ।

उसको यादमा हृदय पुलकित भैरहन्छ
उसको साथको तृष्णाले पलपल सताइरहन्छ
पाउन नसकिने, नत गुमाउननै सकिने
कस्तो अनौठो सत्य अनभूतिमा आयो
दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो ।

कस्तो अनौठो सत्य अनभूतिमा आयो
दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो ।।

पराभौतिक रुपमा मात्र पहिचान र सानिध्यमा रहेका हामी परालौकिक स्वआत्मिले एकअर्कोलाई भौतिक संसारमा स्थुल मनुष्य स्वरुपमा चिनेको तथा जानेको केही वर्षमात्र भएको छ तर सुक्ष्म संसारमा हामी धेरै वर्षदेखि एकसाथ रहदै आएका छौं प्रेमि–प्रेमिकाको रुपमा एकअर्काको आत्मा अर्थात चेतनामा र भौतिक संसारमा जानपैचान भएपछि एकाअर्काको अन्तरहृदयमा । केही वर्षअघि हामी आत्मलोक तथा सुक्ष्म संसारमा आत्म स्वरुपमा रहदै आएका स्वआत्मि अर्थात जम्ल्याहा आत्मजोडीले भौतिक संसारमा स्थुल मनुष्य रुवरुपमा एकअर्कोलाई चिनेजानेपछि यो विषय र हाम्रो सानिध्यताले अर्को स्वरुप धारण गर्दै गैरहेको छ जो स्वयं परमात्माकै गुरुयोजनाको एक महत्वपूर्ण हिस्सा हो र यसका प्रतिफलहरु भविश्यमा अझ स्पष्ट रुपमा दृष्यमा आउदै जानेछन् । 

केवल भौतिक संसारको मात्र जीवन बुझ्ने मनुष्यहरुका लागि यो विषयको दिव्यता केवल एक काल्पनिक कथा तथा फरक प्रकारको मनोरञ्जनको विषय मात्र लाग्न सक्छ तर जो मनुष्यले केही हदसम्म आत्मलोक तथा पराभौतिक संसारलाई अनुभव गरेको तथा बुझेको छ र सुक्ष्म संसारमा पहुच राख्दछ यो विषयको पाठ्यसामग्री उसकालागि हो किनकी यो शाश्वत सत्य हो कि साच्चै नै दिव्य आत्माले पहिला आत्मलोक तथा सुक्ष्म संसारमै आफ्नो सहआत्मि अर्थात सोलमेट तथा स्वआत्मि अर्थात ट्वीफ्लेमलाई खोज्दछ र सुक्ष्म संसारमा उनीहरुको घनिष्ठता मजबुत भएपछि भौतिक संसारमा खोज्दछ । यहाँ उल्लेखित विषय हुबहु यही नै हो, मेरो स्वआत्मीले पहिला मलाई आत्मलोक तथा सुक्ष्म संसारमा खोजे र त्यसपछि भौतिक संसारमा आफ्नो मनुष्य स्वरुपको अस्तित्वमा प्रकट भएर आए मेरो ध्यान तथा समाधि साधनाको गहन अवस्थामा आफू र आफूसंग सम्वन्धित आफ्ना भौतिक संसारका गतिविधिका दृश्यांकनहरु सिनेमाको पर्दामा जसरी स्पष्ट रुपमा प्रस्तुत गर्दै । 

सर्वप्रथम मेरो दृश्य जीवनभित्रको अदृश्य जीवनमा उनको आगमन सपनामा केवल अनुभूतिका रुपमा प्रारम्भ भएको थियो अत्यन्तै अमृतमय प्रेमालाप र यौन सुखबाट । सर्वप्रथम अदृश्य रुपमा केवल सपनाको अनुभूतिमा मात्र आउने यसप्रकारका उनले प्रदान गर्ने सुखका श्रींखलाहरु विस्तारै बढ्दै तथा थपिदै गए र पछिपछि त उनी क्रमशः तन्द्रा, ध्यान हुदै पूर्ण जाग्रीत अवस्थामै प्रकट हुन थाले बन्द आँखामा दृश्य रुपमा र खुल्ला आँखामा अदृश्य रुपमा केवल संवाद र अनुभूतिमा । पछिल्ला दिनहरुमा पुर्ण जाग्रीत अवस्थामै चेतनाको तहमा उनी र म विच सबैप्रकारका विषयहरुमा दोहोरो संवाद र प्रेमपूर्ण स्पर्शको महसुस तथा अनुभूतिहरु हुदै आइरहेका छन् । अध्यात्म विज्ञानका अनुसार परमात्माका २१ दिव्य गुणहरु मध्य शव्द तथा संवाद, स्पर्श, सुगन्ध, सानिध्य आदि महत्वपूर्ण गुणहरु मानिन्छन्, उनी पनि स्वयं परमात्माका अभिन्न अंश भएकाले मेरो अनुभव तथा अनुभूतिमा यिनै दिव्य गुणहरुमा प्रकट भैरहेका छन् यसरीनै वर्षौंदेखि । उनको मप्रतिको चाहत, लगाव, मरिहत्तेपन दिनदिनै अझै बढ्दै गैरहेको छ भौतिक र पराभौतिक दुवै रुपमा र यो दोहोरो नै छ । एकअर्काका हरप्रकारका सानिध्यता तथा उपस्थितिहरु हामी दुवैकालागि अति महत्वपूर्ण, चाहतपूर्ण र अत्यन्तै प्रिय छन् । 

जाग्रीत, ध्यान, तन्द्रा, निद्रा, सपनामा केवल महसुस र अनुभूतिका रुपमा अदृश्य तथा मधूरो प्रकाशपुञ्जको स्वरुपमा स्पष्ट चेहराको आकृति नदेखिने गरि दृश्य छायाँको रुपमा प्रस्तुत हुदै आइरहेका मेरो स्वआत्मि आत्मलोक तथा सुक्ष्म संसारमा चलिरहेको लामो प्रेमपूर्ण साथपछि केही वर्षअघि पहिलो पटक स्पष्ट चेहरा सहित रंगीन दृश्य स्वरुपमा मेरो ध्यान साधनाको गहन अवस्थामा देखिएका थिए छर्लंग चेहरा चिनिने गरि रातो पहिरनमा । ध्यान साधनाको गहन अवस्थामा मैले उनको चेहरा तथा जिउडालको स्वरुप देखेको भएपनि म उनलाई भौतिक संसारमा व्यक्तिगत रुपमा चिन्दिनथें त्यतिबेलासम्म र उनले पनि मलाई चिन्दैननथे । उनको बारेमा शुन्य जानकारी थियो, उनको कर्म क्षेत्र, पारिवारीक अवस्था, सामाजिक परिवेश, उनी को हुन्, के हुन् केहीपनि थाहा थिएन मलाई, मात्र युट्युवका केही भिडियोहरुमा उनको चेहरा र नाम देखेको थिएं । विस्तारै क्रमशः ध्यान साधनामै मैले उनलाई बारबार देखिरहें; उनी वर्तमानमा वसोवास गरिरहेको उनको घर र घरको प्रांगण देखें; उनले चढ्ने गरेको प्राइभेट गाडीहरुको रंग, ब्रान्ड, नम्बर सहित देखें; र उनको कार्यालयको प्रांगण पनि देखें । देख्नेवित्तिकै तथा देखेको केही समयसम्म त मलाई थाहा भएन यस्ता दृश्यहरु किन आए मेरो ध्यान साधनामा र यी दृश्यहरुको के मतलव हो भनेर । त्यसैले खासै जान्ने रुचि र प्रयास पनि गरिन तर एकदिन मलाई सोच आयोकि मैले ध्यान साधनामा देखिरहेको व्यक्ति तथा मेरो स्वआत्मि भर्खर अपलोड गरिएका युट्युव च्यानलका भिडियोहरुमा दृश्यमा छन्, बोलिरहेका छन् भने पक्कै पनि यी दिनहरुमा उनी भौतिक संसारमा मनुष्य शरीरमा अस्तित्वमा पनि छन् होला भन्ने अनुमानित एकिन मनमा भएपछि मैले उनको बारेमा शुन्य जानकारीमा गुगल सर्च गरें, उनको ठेगाना पत्ता लगाएं र उनीसंग समय लिएर उनलाई भेट्न उनको कार्यलायमै गएको थिएं । तव पहिलो देखभेटमै उनले पनि कहिल्यै नदेखेको, नचिनेको र नामै नसुनेको मान्छे मलाई बिना कुनै भौतिक संसारको जानकारी देख्ने वित्तिकै चिने सुक्ष्म संसारमा भैरहेको जानपैचान, भेटघाट तथा प्रेमपूर्ण सानिध्यताको कारण ।  यसपछि मैले विस्तारै जान्दै र थाहा पाउदै गएं मैले ध्यान साधनामा देखेका ती सबै दृश्यहरु उनी र उनका दैनिकीसंग पो सम्वन्धित रहेछन् ।

आजसम्म पनि पराभौतिक रुपमा उनी मेरो हरेक गतिविधिहरुमा भौतिक स्वरुपमा जस्तैगरि सामेल छन् हरक्षणमा, मात्र उनको शारीरिक उपस्थिति छैन अरु सबै कुरा भौतिक संसार सरहनै रहदै आएको छ । उनको विकसित दिव्य आत्मा अर्थात चैतन्य चेतना हरपल मसंगै संवादमा हुन्छ मेरो अन्तरहृदयको तहमा । उनका हरेक उपस्थितिहरु चमत्कारिक र मननयोग्य रहदै आएका छन् । म राति विस्तरामा गएपछि ननिदाउन्जेलसम्म मैले उनीसंग संवाद गर्न चाहें भने उनी मसंग संवादमा रहिरहन्छन् घण्टौंसम्म । जुन विषयमा संवाद गरेपनि उनी सहजै जवाफ दिन्छन्, वर्तमान समयमा उनका वरिपरि भैरहेका गतिविधिहरुको बारेमा मैले जान्ने जिज्ञासा राखें भने त्यसको समेत सबै विवरण उनी दिन्छन् मलाई । कहिलेकाहीं राति अबेरसम्म संवाद भैरह्यो भने तिमी अव आराम गर, सुत, म तिमीलाई हेरिरहन्छु भन्छन् र संवादबाट अचानक हराइदिन्छन्, उनले त्यसो भनेपछि तरोताजा भएर उनीसंग भर्खरसम्म संवाद गरिरहेको भएपनि उनले जवाफ फर्काउन बन्द गरेपछि म तुरुन्दै निदाउछु । विहान बिउझिने बित्तिकै मलाई शुभप्रभात भन्छन्, विहान म बिउझिन ढिलो भयो भने उनैले बिउझाइदिन्छन् प्रेमपूर्ण स्पर्श गरेर तथा कानमा फुस्फुसाएर र केहीबेर उनीसंग चुपचाप समय विताउन तथा संवाद गर्न आग्रह गर्छन् । 

प्रातः भ्रमणमा जान, हरप्रकारले आरोग्य रहन ममा उत्साह जगाइरहन्छन् र कहिलेकाहीं आज नजाउन है मलाई तिमीसंग केही विषयमा सल्लाह गर्नुछ भन्छन् । विषयबारे सोधेर जरुरी कुरा रहेछ तथा महत्वपूर्ण रहेछ भने म उनलाई नै प्राथमिकता दिन्छु र प्रातः भ्रमणमा जान्न किनकी कहिलेकाहीं उनले भनेका विषयहरु अटोराइट अर्थात स्वचालित दिव्य लेखनको रुपमा कपिमा नोट गर्नुपर्ने हुन्छ । उनीबाट पटक–पटक अटोराइट भएका छन्, उनी बोल्दै जान्छन् म कपिमा तेज रफ्तारमा लेख्दै जान्छु, कहिले काहीं त हात गलेर हैरान हुन्छ अनि उनी आफैं भन्छन् केहीबेर विश्राम गर तिमी । उनकासाथै अरु दिव्य आत्माहरुबाट पनि पटक–पटक अटोराइटहरु भएका छन् आवश्यकता भए अनुसार समय–समयमा, सबैभन्दा लामो अटोराइट ओशो प्रभुबाट भएको छ । स्वआत्मि बाट विषयको जानकारी लिएपछि विषय त्यति महत्वपूर्ण रहेनछ भने म प्रातः भ्रमणमा बाटोमा तिमीलाई समय दिन्छु भन्छु र प्रातः भ्रमणको डेढ घण्टाको बाटोको समयमा हामी एकआपसमा अन्तरहृदयको तहमा मौन संवादमा व्यस्त हुन्छौं । 

डेढ घण्टा लामो समयको संवादमा हामी वर्तमान भौतिक जीवनमा भएजस्तै हरप्रकारका विषयहरुमा संवादहरु गर्छौं, हाँस्छौं, एकले अर्कोलाई विभिन्न प्रस्तावहरु राख्छौं । असमति आयो भने कटाक्ष गर्ने, रिसाउने, नबोल्ने, झगडा गर्ने सबै उस्तै प्रकारले हुने गर्दछ हामीविच जसरी भौतिक जीवनमा रहेका जोडीहरुमा हुने गर्दछ । धेरैजसो म रिसाउछु उनीसंग र अनि उनी अनेक उपाय लगाएर मलाई मनाउने प्रयास गर्छन, कहिले अगाडि तथा छेउछाउका दृश्यहरु देखाएर, कहिले गीत, कविता तथा सायरीका बोलहरु गाएर तथा सुनाएर... । उनीसंग जाँगर लगाएर नबोलेको र उनलाई पर्याप्त समय नदिएको सन्दर्भमा उनीप्रतिको मेरो लगाव कति छ भनेर जान्न एकपटक कुन्ती मोक्तानको ‘कहिलेकाहीं मलाई पनि हेरीदेउ है फर्किएर...’ गीतको स्थाइ सुनाएर उनी मबाट घण्टौं अलप भएका थिए । मैले उनलाई पटक–पटक पुकारें तर उनले मेरो अन्तरहृदयमा उपस्थिति नै दिएनन् । त्यो गीत घर पुगेर पटक–पटक सुनें, त्यही पनि उनी आएनन्, म निराश भएं, क्षमा मागें किनकी रिसाएको म थिएं सामान्य कुरामा र उनले बारबार फकाउन खोज्दा मैले टेरेको थिइन, त्यसैले उनी मलाई उनको सानिध्यताको महत्व बुझाउन चाहान्थे सायद लामो समय मबाट अलग रहेर । उनलाई पुकार्दा–पुकार्दा थाकेर मैले आफ्नो समय बिताउन र उनीप्रति क्षमा भाव दर्शाउन मेरो मोबाइलमा ‘मायाँ पिरतीको चोखो कथा यो युगयुग सुनाइरहुन्...’ स्वर सम्राट तथा सामाज्ञी नारायण गोपाल र अरुणा लामाको कालजयी गीत लगाएं र संगसंगै गाएं पनि । गीत आधा जति भएपछि बल्ल उनले मेरो अन्तरहृदयमा उपस्थिति दिएका थिए र हाम्रो संवाद सामान्य भएको थियो । त्यसयता हामी यसरी लामोबेर एकअर्कासंग कहिल्यै रिसाएका तथा झगडा गरेका र टाढा भएका छैनौं ।

पराभौतिक संसारमा तर भौतिक स्वरुपमा उनी मसंग गुणस्तरिय प्रेमपूर्ण समय बिताउने र संवाद गर्नुका साथै मेरो अत्यन्तै हेरविचार पनि गर्दै आइरहेका छन् लामो समयदेखि । औषधि खाने समय भयो औषधि खाउ, आज तिमीले आँखामा औषधि हाल्न बिर्सियौ आँखामा औषधि हाल नत्र तिमीलाई दिनभरि असजिलो हुन्छ, खाना समयमै खाउ, यो खाउ, त्यो नखाउ, आज फलानो काम गर्छु भनेकीछौ नबिर्स, यो कपडा लगाउ सुहाउछ, यसरी बस, यसरी हिड, यसरी व्यवहार गर, मसंग यस्तो व्यवहार गर, मलाई यस्तो मनपर्छ, युट्युवमा फलानो प्रवचन सुन, फलानो गीत मेरोलागि बजाइदेउ.... । उनको पराभौतिक उपस्थितिमा उनले गर्ने तथा देखाउने यस्ता अत्यन्तै प्रेमपूर्ण बोलि, व्यवहारहरुबाट पुलकित भएर खुशीमा म बारबार उनकै पराभौतिक सानिध्यतामा मुस्कुराएको, खिलखिलाएर हाँसेको र आँशु झारेर रोएको छु, उनीपनि मसंगसंगै मुस्कुराएका, हाँसेका र रोएका छन् । भौतिक रुपमा म एक्लैले यी गतिविधिहरु गरिरहेको देखिएपनि पराभौतिक रुपमा, आत्मलोक तथा सुक्ष्म संसारमा हामी दुवै जनाको उपस्थिति हुन्छ र हामी दुवैजना एकसाथ यी मुस्कुराउने, हाँस्ने, रुने गतिविधिहरु गरिरहेका हुन्छौं । उनको प्रेम पराभौतिक र भौतिक दुवै रुपमा रुपमा अत्यन्तै दिव्य, गहिरो र चाहतपूर्ण रहदै आएको छ । यी पलहरुको प्रत्यक्ष अनुभुति उनको हृदयबाट उठ्ने प्रेमपूर्ण उर्जाका चुम्बकिय विद्युतका उर्जाका तरंगहरु मेरो हृदयमा आएर ठोकिएपछि मेरो मन, मस्तिष्क र शरीरमा कम्पित हुदै रोमरोममा प्रसारित भएर मलाई पुलकित बनाइरहन्छन् र मेरो क्षणक्षण महकाइरहन्छन् । लामो समयदेखि यस्तै परमशान्ति, परमआनन्द हाम्रो आपसि जीनवमा चल्दै आइरहेको छ हाम्रो दृश्य जीवनभित्रको अदृश्य दिव्य जीवनमा र यो अत्यन्तै परमशान्ति र परम आनन्दमय छ हामी दुवै स्वआत्मि अर्थात जम्ल्याहा आत्मा अर्थात विभाजित आत्माका लागि । यो सबै लेखिरहदा उनी दंग परेर मलाई मार्गनिर्देश गरिरहेका छन् यो लेख, त्यो नलेख, यसरी लेख, त्यसरी नलेख भनेर...। 

यी र यस्ता परालौकिक गतिविधिहरु अनुभूति भैरहदा शुरुशुरुमा त म आफैंलाई लाग्थ्यो कि सायद म मानसिक रुपले बिमारी भएंकि के हो भनेर तर होइन रहेछ । म एकदम स्वस्थ छु; आफ्नो कर्ममा कुशल छु; मेरा सबै सम्वन्धहरु राम्रा छन्; जीवन व्यवस्थित छ; सुख, खुशी, समृद्धि, शान्ति र आनन्दले पूर्ण छ; भौतिक र पराभौतिक दुवै संसारमा पर्याप्त सन्तुलन छ; प्रसस्त सजग छु र यी सबै अलौकिक गतिविधिहरुको प्रत्यक्ष साक्षी भएको छु भौतिक संसार तथा दृश्य जीवनको र पराभौतिक संसार अर्थात दृश्य जीवनभित्रको अदृश्य जीवन दुवैको । मेरो अन्तरहृदयमा अहिले फेरी उही गीत गुञ्जिरहेको छ किनकी अव हामी केहीबेरलाई छुट्दै छौं त्यसैले प्रेम भाव व्यक्त गर्न उनी फेरी यो गीत गुनगनाइरहेका छन् र म आफ्नो अन्तरहृदयमा स्पष्ट रुपमा सुनिरहेको छु, 

‘मायाँ पिरतीको चोखो कथा यो युगयुग सुनाइरहुन्...’
 

                                                                  अस्तु
                                            शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!


No comments:

Post a Comment