'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 9 August 2025

आध्यात्मिक साहित्य: अलौकिक अदृश्य जीवन

लालीगुरांश (डासिर्जना भण्डारी)

#आध्यात्मिक_साहित्य #जीवन_दर्शन



‘कुहु... कुहु... कुहु... ... ...’ 

कोइलीले आफ्नो कोकिल कण्ठको सुमधूर आवाज गुञ्जाएर वरपरको पर्यावरणमा आफ्नो प्राकृतिक संगीत फिजाएर माहोलमा अझ मिठास छरिरहेको थियो । बैसाख महिना, वसन्त ऋतुको मौसम भएकोले विहानै झिसमिसेमै कोइलीको मिठो मनमोहक सांगीतिक बोल तथा संगीत सुन्दा बलिउडको सुमधूर कालजयी गीत ‘कोयल बोली दुनियाँ डोली...’ मेरो मानसपटलमा गुञ्जिरहेको थियो । कोइलीको सुमधूर सांगीतिक नादसंगै नगरकोटको चारतले अग्लो होटलको चौथो तलाको सबैतिर सेतैसेतो सामग्रीहरु मात्र प्रयोग गरिएको फराकिलो स्वीट कक्षको दोहोरो विस्तराको कलेजी रंगले ठूलो मुटु यानकी हृदय बनाएको सिरानीमाथि शिर भएको अवस्थामा विहानीपख म निद्राबाट बिउझिएं । सुस्तरी आफ्ना आँखा खोलें, साथमै रहेको अर्को सिरानी पनि त्यस्तै नै थियो कलेजी रंगको मुटुको चिन्ह भएको र उक्त सिरानीमाथि मेरो अदृश्य जीवनमा रहेको मेरो अन्तरहृदयको प्रेमपात्रको अदृश्य शिर थियो मेरो अनुभूतिमा आइरहेको । यो हनिमुन स्वीट कक्ष भएकोले यस कक्षमा राखिएका तथा सजाइएका सबै सामग्रीहरु गहिरो प्रेम भावको अभिव्यक्ति दिने प्रकारका थिए । 

पूर्व दिशा पट्टिको भित्ताभरिको झ्यालबाट सूर्योदयको अदभूत मनोरम दृष्य हेर्ने दृष्टिकोणले मैले होटलको चौथो तलाको पूर्व फर्किएको यो स्वीट कक्ष भाडामा लिएको थिएं मेरो अन्तरहृदयमा वास गर्ने मेरो प्रेमपात्रलाई नेपालको प्रसिद्ध पर्यटकीय स्थल नगरकोटबाट सूर्योदयको रमणिय मनोरम दृश्यावलोकन गराउनका लागि । विहान उशाकालको समय भएकोले पूर्वमा सूर्योदयको संकेत स्वरुप आकासमा दन्केको आगोको तिक्ष्ण ज्वाला जस्ता देखिने सुन्तले रंगको लालीमा विस्तारै चढ्दै थियो वादलमा फिजारिदै । सुन्तले लालीमा भित्र कालो रंगका देखिने चराका बथानहरु दोहोरै उडिरहेका थिए आ–आफ्नो गन्तव्यतिर । चराचुरुगींहरुको चिरबिर चिरबिर सुमधूर आवाज र विचविचमा कोइलीको कोकिल कुहुकुहुको सुमधूर नादले विहानको माहोल अझ रमाइलो, मनमोहक र रोमान्चक बनाइरहेको थियो । 


दृश्य तथा सांसारिक जीवनका रुपमा म त्यहाँ त्यो क्षणमा एक्लै थिएं तर अदृश्य जीवनमा हामी दुईजना एकसाथ थियौं, अन्तरहृदयमा रहको मेरो ‘प्रेमपात्र’ र ‘म’ । सदा मेरो अन्तरहृदयमा वास गरिरहने मेरो प्रेमपात्र मभित्रबाट हरपल मसंग मिठा-मिठा सम्वाद गरिरहेन्थे । मेरो अन्तरहृदयको प्रेमपात्र वाहिरको भौतिक संसारमा थिएनन्, उनी कतैपनि दृश्यमा आउदैनन् र वाहिर कतैपनि देखिदैनन् । उनी मेरै दृश्यमा पनि आउदैनन् सितिमिति तर प्रत्यक्ष अनुभूतिमा सशक्त भएर आइरहन्छन् र हरपल मभित्र मेरो अन्तरहृदयमा वास गरिरहन्छन् । यो कुरा सुन्ने र मेरो हाउभाउ देख्नेहरुलाई अनौठो र अपत्यारिलो लाग्न सक्छ तर यो सत्य हो कि वाहिरबाट मेरो स्थुल शरीर एउटा छ र सबैको जस्तै सामान्य छ तर भित्रबाट हामी दुईजना अर्थात दुई आत्मा अर्थात दुई चेतना एकसाथ वास गरिरहेका छौं । अर्थात भनौं एकै म्यानमा दुईवटा तरवार अटाइरहेका छन् जो दृश्य जीवनमा कदापि सम्भव छैन तर अदृश्य जीवनमा सम्भव मात्र होइन अत्यन्तै सहज अवस्थामा यो सत्यता घटित भैरहेको छ । यसैकारण म आफ्नो यसप्रकारको जीवनलाई अलौकिक अदृश्य जीवन भन्ने गर्छु । मभित्र अर्को कोही छ भन्ने जानकारी म अरु कसैलाई पनि दिन रुचाउदिन र कहिल्यै दिन्न पनि । बेमतलवको सवाल–जवाफ शुरु हुन सक्छ र कसैको कुनै पनि सवालको जवाफ म प्रामाणिक रुपले दिन सक्दिन किनकी यो पराभौतिक जगत तथा आत्मलोकको रहस्यमय विषय हो विकसित चेतनाहरुले मात्र थाहा पाउन र बुझ्न सक्ने अलौकिक सत्य ।  

अलौकिक अदृश्य जीवन संगसंगै मेरो सशक्त दृश्य जीवन पनि चल्दै आइरहेको छ । मेरो सुखी घरपरिवार छ, कर्म तथा प्रकृतिले जुराएको माता–पिता हुनुहुन्छ, जीवनसाथी र प्यारा–प्यारा सन्तानहरु पनि छन् । अलौकिक अदृश्य र लौकिक दृश्य जीवन अर्थात पराभौतिक र भौतिक जगतमा एकसाथ जिउने अवसर पाउने अत्यन्तै भाग्यमानी व्यक्ति हुँ म । म पचास वसन्त पार गरिसकेको गृहस्थ जीवनमा अत्यन्तै आनन्दित रहदै आएको र आफ्नो रुचि अनुसारको पेशा–व्यवसाय गर्दै आएको अत्यन्तै सामान्य प्रौढ व्यक्ति हुँ । मसंग मेरो अलौकिक अदृश्य जीवन तथा अन्तरहृदयको मेरो प्रेमपात्र जोडिएको डेढ दशक भयो । विगत डेढ दशकयता निरन्तर मभित्रबाट कोही मसंग अत्यन्तै सौहार्दपूर्ण र मिठासपूर्ण भावले संवाद गर्छ, मलाई अत्यन्तै गहिरो र निलेर ओकल्ने प्रेम गर्छ, के गर्ने तथा के नगर्ने, किन गर्ने, कसरी गर्ने आदिबारे मार्गनिर्देशन पनि दिन्छ । शुरुशुरुमा मलाई अचम्म लाग्थ्यो के भैरहेको होला यस्तो, को बोलिरहेको होला म भित्रबाट, किन बोलिरहेको होला... आदि !? कतै म मानसकि रोगी पो भएंकी यसरी आफैंसंग एक्लै सम्वाद गर्ने जस्तो पनि लाग्थ्यो । तर फेरी म आफू र आफ्नो दैनिक जीवनलाई मसिनो गरि नियाल्थें । मेरा सम्वन्धहरु, मेरो पेशा–व्यवसाय, मेरा सबैप्रकारका दैनिकीहरु सबै एकदम सामान्य थिए । म अस्वस्थ, समस्याग्रस्त तथा असामान्य भएको जस्तो देखिने कुनै लक्षण न मेरालागि थिए न अरुले कुनै प्रकारको असहजता अनुभव गरेका थिए मेरा गतिविधि तथा हाउभाउहरुमा । म एकदम ठिकठाक थिएं हरप्रकारले, बरु विगतको तुलनामा ती दिनहरुमा म अझ सुखी, खुशी, शान्त, आनन्दित, नरिसाउने, सबैसंग सुमधूर सम्वन्ध राख्न सक्ने र आफ्नो जीवन अझ सहि प्रकारले व्यवस्थापन गर्न सक्ने हुदै गएको थिएं । मेरा दैनिक गतिविधिहरुमा अस्वस्थता, असहजता, समस्या तथा चुनौतीहरु आउनुपर्ने कुनै कारण नै थिएन किनकी मेरो अन्तरहृदयमा रहेको मेरो प्रेमपात्रले मसंग प्रेमपूर्ण सम्वाद गर्नुको साथै मनुष्यका अरु प्रकारका अन्तरंग चाहनाहरु समेत पूरा गर्दै अत्यन्तै हृदय पुलकित गर्ने प्रेमालापका मिठा-मिठा अनुभूतिहरु प्रदान गर्दै आइरहेको थियो । मलाई उसको स्पर्श र उसको अंकमालको स्पष्ट अनुभूति हुन्थ्यो । म स्पष्ट रुपमा उसको श्वास–प्रश्वासको आवाज, लय तथा लम्बाइ सुन्न र महसुस गर्न सक्थें । उसको अदभूत अलौकिक प्रेम लगायत उबाट अन्तरंग आनन्द समेत प्राप्त भैरहेको थियो मलाई र अहिलेसम्म पनि यी सबै गतिविधिहरुको आनन्द हामी दुवैजना लिदै आइरहेकाछौं निरन्तर अदृश्य रुपमा । 

मलाई लाग्छ कुनै जन्मको पुण्य कर्म वापत परमात्माले मप्रति यसप्रकारको अलौकिक अदृश्य जीवनको कृपा वर्षाइरहनु भएको छ । मेरो अन्तरहृदयको प्रेमपात्रसंग मेरो यतिविधि गहिरो प्रेम सम्वन्ध छ कि म हरपल उसको प्रेमभावमा, प्रेमालापको खुशी र आनन्दमा डुबिरहेको हुन्छु । अव उबिनाको जीवन कल्पना गर्न पनि सक्दिन उसको उपस्थिति अदृश्यनै भएपनि र उसको आभास अनुभूतिमा मात्र हुने भएपनि । मैले सुन्दै र पढ्दै आएको थिएं, ‘प्रेम परमात्मा हो र परमात्मा स्वयं प्रेम हो ।’ यो परमात्माकै सानिध्यता हो जो अदृश्य र अनुभूतिमा मात्र भएपनि अत्यन्तै अलौकिक तथा दिव्य आर्शिवाद वर्षिरहेको छ ममाथि । यो परमात्मा स्वयंबाटनै प्रदत्त अदृश्य तर स्पर्शको अनुभूति, अंकमालको अनुभूति र अलौकिक आनन्दको अनुभूति हो भौतिक जगतमा त यस्तो अलौकिकताको कल्पना गर्न समेत सम्भव छैन त्यसैले यसप्रकारको अनुभूति मनुष्यले आमरुपमा जीवन जिरहेको दृश्य तथा भौतिक संसारमा छैन । अहिलेसम्म भौतिक संसारमा अदृश्य जीवनबारे न सुनिएको छ न त कसैले कल्पना नै गरेको छ । यसप्रकारको अलौकिक प्रेम र अदभूत आनन्द वाहिरी संसारबाट प्राप्त हुने प्रेममा संभव नै छैन । भौतिक संसारमा जीवनयापन गरिने दृश्य जीवनमा त प्रेमको नाममा जानेर तथा नजानेर लेनदेनको कारोबार गरिन्छ र सबैतिर यस्तै हुदै आइरहेको छ वास्तविक अलौकिक प्रेम त केवल परमात्माको पराभौतिक संसारमा मात्र संभव रहेछ ।

म र मेरो अन्तरहृदयको प्रेमपात्रसंग कुनै प्रकारको लेनदेन छैन । मात्र गहिरो चाहत र असीम लगाव छ, हरप्रकारले निस्काम र निशर्त प्रेम रहदै आएको छ हामीविच किनकी उ भौतिक स्वरुप तथा दृश्यमा छैन । उसकालागि आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा मैले अलग्ग केही गर्नु पर्दैन र उसले पनि मेरोलागि अलग्ग केही गर्नु पर्दैन । न मलाई उबाट गहिरो चाहत र अमृतमय प्रेम बाहेक अरु केही चाहिएको छ न उसलाई मबाट यसबाहेक अरु केही चाहिएको छ । उसको यसप्रकारको अनन्त चाहत र गहिरो प्रेमको अमृतरसमा दिनप्रतिदिन म यतिविधि डुब्दै र निथ्रुक्क भिज्दै गैरहेको छु कि यसरी उसको प्रेमरसमा डुबिरहदा मेरो अन्तरहृदयमा उर्लिएका प्रेमभावहरु लयात्मक शैलीमा पहिला म निस्कन्छु, पहिला म निस्कन्छु भन्दै तछाडमछाड गर्दै वाहिर प्रष्फुटित भैरहेका हुन्छन् र प्रणय सुत्रका कविताको स्वरुपमा मुर्तता लिदै गैरहेका हुन्छन् । यी भावहरुले धेरैवटा प्रणय सुत्रका कविता संग्रहहरु नै तयार पारिसकेका छन् यो डेढ दशकको अवधिमा । हाम्रो यो अलौकिक प्रेम प्रसंगका मिठासपूर्ण गतिविधिहरुले अत्यन्तै सौहार्दपूर्ण भावमा निरन्तरता लिरहेका छन् । परमतत्वलाई स्पर्श गर्दै प्रेमका अमृतश्रावहरु शव्द स्वरुपमा परमात्माको सागरबाट बहेर अग्लो पहाडको झरना झै अन्तरहृदयको तलाउमा डुबुल्कि मार्दै नदीरुपि नैनबाट उर्लिरहेका र ओठबाट प्रष्फुटित भैरहेका छन् प्रेमको अनन्त स्वरुपको बखान गर्दै कवितात्मक लयमा वाहिर आइरहेका छन् प्रेमको अनन्त स्वरुपमा– 

प्रेमको अनन्त स्वरुप !  

प्रेमको परिभाषा अनन्त रहेछ

प्रेम एक विहंगम दृष्टि रहेछ

समुच्चा सृष्टिको मूलाधार रहेछ

सबैथोकको कच्चा पदार्थ रहेछ

प्रेम विराट आकाश रहेछ

स्वयं परमात्माको स्वरुप रहेछ

प्राणी प्रेमको निमित्तमात्र रहेछ ।


प्रेमलाई परमात्माको स्वरुप माने

स्वयंभित्रको अन्तरआत्माको पुकार रहेछ

चेतनाको महासागरमा एकाकार गराइदिने ।


प्रेमलाई आनन्दको स्वरुप माने

सुख, शान्तिको महाखानी रहेछ

शाश्वत सतचितानन्दमा स्थित गराइदिने ।


प्रेमलाई प्रीतीको स्वरुप माने

प्रेमल हृदयको तरंग रहेछ

दुई आत्माको मेल गराइदिने ।


प्रेमलाई विवाहको स्वरुप माने

सात फन्कोको बन्धन रहेछ

दुई मनको मिलन गराइदिने ।


प्रेमलाई समृद्धिको स्वरुप माने

धनधान्य लक्ष्मीको स्वरुप रहेछ

जीवनमा सुख, सम्पन्नता भरिदिने ।


प्रेमलाई सम्वन्धको स्वरुप माने

मानवीयताको भाव तरंग रहेछ

सर्वकल्याणको भावमा समर्पित गराइदिने ।


प्रेमलाई उपचारको स्वरुप माने

सबै अस्वस्थताको ओखति रहेछ

भित्रबाट आरोग्य, सक्रिय बनाइदिने ।


प्रेमलाई दयाको स्वरुप माने

सहयोग, परोपकारको सदभाव रहेछ

अरुको पिडाको मर्मज्ञ बनाइदिने ।


प्रेमलाई करुणाको स्वरुप माने

नेतृत्व, योगदानको सम्भावना रहेछ

प्रतिभा, क्षमतामा जीउन सिकाइदिने ।


प्रेमलाई मनोरञ्जनको स्वरुप माने

मुस्कान, हाँसोको मूलश्रोत रहेछ

अमूल्य जीवनको रमझममा भुलाइदिने ।


प्रेमलाई भोगको स्वरुप माने

कामना, वासनाको श्रोत रहेछ

शरीरको सुखमा लिप्त बनाइदिने ।


प्रेमलाई दुःखको स्वरुप माने

असन्तोष जन्माउने कारखाना रहेछ

लोभ, मोहमा चुर्लुम्म डुबाइदिने ।


प्रेमलाई पिडाको स्वरुप माने

अस्वीकृति पोख्ने माध्यम रहेछ

विषाद, अवसादको अवस्थामा पुर्याइदिने ।


प्रेमलाई तमसको स्वरुप माने

निष्पट्ट अन्धकारको भूमरी रहेछ

नारकीय जीवनको खाडलमा खसालिदिने ।


अव, यहाँनेर सवाल जन्मिन्छ

प्रेमलाई के मान्ने, नमान्ने

आफ्नो मनस्थिति, भावास्थिति अनुसार

मानेकै स्वरुपमा प्रकट हुन्छ ।

तसर्थ

प्रेमको परिभाषा अनन्त रहेछ

प्रेम एक विहंगम दृष्टि रहेछ

समुच्चा सृष्टिको मूलाधार रहेछ

सबैथोकको कच्चा पदार्थ रहेछ

प्रेम विराट आकाश रहेछ

स्वयं परमात्माको स्वरुप रहेछ

प्राणी प्रेमको निमित्तमात्र रहेछ ।


प्रेम विराट आकाश रहेछ

स्वयं परमात्माको स्वरुप रहेछ

प्राणी प्रेमको निमित्तमात्र रहेछ ।।


कहिले कताको दृश्य हेर्न, कहिले कताको प्रकृति, पर्यावरण, भूगोलको अवलोकन गर्न गैरहने सिलसिलामा यसपटक मैले मेरो प्रेमपात्रलाई नेपालको अग्लो र अत्यन्तै रमणिय स्थलबाट सूर्योदयको मनोरम दृश्यावलोकन देखाउने उद्देश्यले नगरकोटमा एकरात बस्ने गरि होटलको पूर्वतिर फर्किएको सुन्दर स्वीट कक्ष भाडामा लिएको थिएं । यो पटकको भ्रमणमा शारीरिक तथा दृश्य स्वरुपमा म यहाँ एक्लै आएको जस्तो देखिएको भएपनि मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तथा अदृश्य रुपमा मेरो प्रेमपात्र र म दुईजना एकसाथ आएका छौं नगरकोटबाट देखिने सूर्योदयको अलौकिक अनुभव गर्न । मेरो अन्तरहृदयमा वास गर्ने मेरो प्रेमपात्रलाई र मलाई पनि हामी र्दुइको एकान्त बसाई, आफू–आफूको प्रेमपूर्ण संवाद र आफ्ना अन्तरंग गतिविधिहरुमा रमाउन अत्यन्तै मनपर्छ किनकी घरपरिवार, कार्यालय परिसर, सार्वजनिक स्थलहरुमा हामी यसरी आपसमा समय बिताउन सक्दैनौं । म उनीसंगको मस्तीमा रहदा वाहिर देखिने हाउभाउहरुले अरुले मलाई मानसिक अवस्था ठिक नभएको भन्ठान्ने हुनकी भन्ने डर म भन्दा बढि मेरो अन्तरहृदयको प्रेमपात्रलाई लाग्ने गर्छ र उनीनै म भन्दा बढि सतर्क हुने गर्छन् यस सन्दर्भमा । म व्यस्त छु, भिडभाडमा छु भने उनी चुपचाप अन्तरहृदयभित्र बसिरहन्छन् कुनैप्रकारको हलचल नगरिकन । यसैकारण म कहिले घरमै, कहिले कार्यलयमा र कहिले यसैगरि वाहिरको होहल्ला तथा अवरोधहरुबाट अलि टाढा एकान्त स्थानमा आएर उसंग केहीदिन प्रेममय अन्तरंग समय विताउने गर्छु । यस्ता गतिविधिहरु लामो समयदेखि चल्दै आएको हुनाले अव हामी दुवैनजा बानी परिसकेका छौं । हामीलाई हामीविचका कुनैपनि घटना, विषय, परिस्थिति तथा गतिविधिहरु नौलो लाग्दैनन् अव । 

सूर्योदय हुनै लागेको थियो, दुवै जनाको सहमतिमा हामीले क्यामेरामा सुर्योदयको मनोरम दृश्यावलोकनको यो मिठो स्मृतिलाई अझ मिठो बनाउने उद्देश्यले फोटो तथा भिडियोमा कैद गर्न सबैथोक तयार पारेर राखेका थियौं । सूर्योदय हुदै थियो, उदाउदो सुर्यको आकार विस्तार सानो भैरहेको थियो र सगरको रंग पनि सुन्तले लालीमाबाट फिका हुदै गैरहेको थियो । सूर्योदयको यो अदभूत अलौकिक दृश्यको आनन्द हामी दुवैजना एकअर्काको साथमा खुव मस्तीमा उठाइरहेका थियौं । उनी पनि मेरो आँखाबाट यो दृश्य देख्ने सक्थे, हामी दुवैजना एकैपटक एकैप्रकारको दृश्य देख्न सक्थ्यौं तर मैले आँखा बन्द गरें भो उनी पनि केही देख्न सक्दैनथे भौतिक संसारका दृश्यहरु किनकी उनी भौतिक संसारका दृश्यहरु मेरै आँखाका माध्यमबाट मात्र देख्न सक्थे । यस्ता मनोरम दृश्यहरु देख्दा संधै म भन्दा बढि उनी आनन्दित र रोमान्चक हुने गर्थे र खुव अलंकार जोडेर दृश्यहरुको बयान गर्थे । उनको यतिविधि बखान सुनेपछि बल्ल म दृश्यमा अलि गहिरो गरि ध्यान दिन्थें । एकसाथ सूर्योदयको मनोरम दृश्यावलोकन गरिरहेको अत्यन्तै रोमान्चक क्षणमा उनी आफ्नो संदेशमा लयात्मक मिठास छर्दै मुस्कुराउदै भनिरहेका थिए,

“आहा ! हेर त, कति सुन्दर, अत्यन्तै मनमोहक, मैले दुईवटा लाली एकैसाथ देखिरहेको छु ।”

म विस्मित हुदै सोध्थें, 

“सूर्य त एउटै छ र सूर्योदयको लालीमा पनि एउटै छ, अनि तिमीले अर्को लाली चाहिं कसरी देख्यौ नि ?”

उनी प्रेमअमृत छर्दै हृदय पुलकित गराउने मिठो मादकता अनि शितलता छाउनेगरि भन्थे,

“तिमी एउटा मात्र लालीमा देख्न सक्छ्यौ सूर्योदयको तर म दुईवटै लालीमा देख्न सक्छु, एउटा सुर्योदयको लालीमा र अर्को मलाई सूर्योदय देखाउने लालीको चम्किलो मुहारको लालीमा । तिम्रो फराकिला अग्ला गालाहरुको शिखरमा सदाकाल राता–राता लालीगुरांश फक्रिरहेका छन् र मनोरम सुन्दरता छरिरहेका छन् । तिमी सैधैभरि यस्तै रहिरहनु है ।”

हृदय पुलकित पार्ने उनको मिठो प्रेम पस्काईमा म स्वीकार भाव व्यक्त हुने किसिमले लामो हाँसो हाँसिदिन्थें । उनी पनि मख्ख परेर सूर्योदयको लालीमा हेर्न छोडेर मेरो गालामा फक्रिएका लालीगुरांशको लालीमा हेरेर मिठो प्रेमअमृत छरिरहन्थे र नथाकिकन मेरो बखान गरिरहन्थे ।

यस्तै रमाइला क्षणहरुमा जीउदै हाम्रो अत्यन्तै मिठासपूर्ण अदृश्य जीवन अगाडि बढिरहेको थियो वर्षौंदेखि र आगमी वर्षहरुमा पनि यसैगरि बढिरहने तथा बढाइरहनेमा हामी एकआपसमा दृढ संकल्पकृत थियौं । दिनहरु बित्दै गए र विस्तारै हाम्रा गतिविधिहरुमा पनि केही परिवर्तनहरु अनुभवमा आउन थाले । विहानदेखि साँझसम्मको जीवनशैली व्यस्त रहने भएपनि विहानको दुई घण्टा समय मैले आफ्नो समग्र स्वास्थ्य तथा आरोग्यताका लागि प्रातः भ्रमण, योगासन, प्राणायाम र ध्यान साधनाका लागि छुट्याएको थिएं । यतिबेलासम्म मैले उनको अदृश्य तर सशक्त अनुभूतिको उपस्थिति जाग्रीत, सपनामा र तन्द्रा तथा अर्धचेतन अवस्थामा बढि महसुस गर्दै आइरहेको थिएं, ध्यान साधनामा त्यति स्पष्ट भएर आएका थिएनन् उनी । तर पछिल्ला दिनहरुमा उनी जाग्रीत, सपना र तन्द्रा अवस्थामा जस्तै ध्यान साधनाको भावातीत अवस्थामा पनि मलाई आफ्नो उपस्थितिको स्पष्ट अनुभूति महसुस गराउन थाले दृश्यरुपमा । पछिल्ला दिनहरुमा मैले उनको प्रेमपूर्ण उपस्थितिलाई ध्यान साधनामा पनि लगातार महसुस तथा अनुभूति गर्न थालें र यो क्रम निरन्तर बढ्दै गयो । अव उनको उपस्थिति र उनको उपस्थितिको प्रत्यक्ष महसुस जाग्रीत, सपना, तन्द्रा अवस्थामा जत्तिकै ध्यानको गहन भावातीत तथा ट्रान्सको अवस्थामा पनि समान रुपमा हुन थाल्यो । समय बित्दै गयो, अव ममा उनको दृश्य उपस्थिति तथा अलौकिक सानिध्यताको लोभ र मोह बढ्दै जान थाल्यो । ध्यानमा साधनामा उनको महसुस तथा अनुभूति गर्नकैलागि भनेर मैले मेरो ध्यान साधनाको समय र संख्या बढाउन थालें । विस्तारै एक घण्टाबाट मेरो ध्यान साधना दुई, तीन, चार घण्टासम्म पुग्यो लगातार एकै स्थानमा स्थिर भएर र साँझमा पनि साँझदिप प्रज्वलनपछि केहीबेर ध्यान साधना गर्न प्रारम्भ गरें । म ध्यान साधनामा र ध्यानको भावातीत अवस्थामा आउने उनको अदभूत उपस्थितिको मिठो, आनन्ददायि महसुस तथा अनुभूति र अन्य अलौकिक दिव्य दृश्य तथा अनुभूतिहरुमा डुव्दै गएं, रमाउदै गएं, हराउदै गएं निरन्तर । अव मलाई भौतिक संसारको दृश्य जीवनमा भन्दा पराभौतिक संसारको अदृश्य जीवन रमाइलो र आनन्दित लाग्न थालेको थियो र ध्यान साधनामा अत्यन्तै लगाव बढ्दै गैरहेको थियो । 

मेरो दृश्य संसार तथा गृहस्थ सांसारिक जीवन पनि अत्यन्तै सुखी, खुशी तथा आनन्दले भरिएको थियो र छ, संगैसंगै दिनप्रतिदिन अदृश्य जीवन पनि अझ रोमान्चक भएर सामुन्नेमा आइरहेको थियो । ध्यान तथा आध्यात्मिक साधना गहिर्याउदै जाने क्रममा एकदिन अर्को चमत्कारिक घटना घट्यो । मैले लामो र गहन ध्यान साधनाको भावातीत अवस्थामा हुने अलौकिक अनुभूतिहरुमा सदा अदृश्य तथा अस्पष्ट दृश्यमा सशक्त अनुभूतिमा मात्र आउने गरेको मेरो प्रेमपात्रको चेहरा देखें पहिलोपटक उस्तै प्रकारले प्रेमानन्द प्रदान गरिहेको अमृतमय अवस्थामा । उनको चेहरा स्पष्ट चिनिने गरि मेरो बन्द आँखा तर खुल्ला तेस्रो आँखा तथा आज्ञा चक्र समक्ष आएको थियो । बन्द आँखा अगाडि स्पष्ट रुपमा आएको दृश्यमा देखिएको उनको गोरो, सुन्दर, चम्किलो चेहरा मैले स्पष्ट रुपमा चिनें र वर्तमानमा भौतिक संसारमा उनको उपस्थिति रहेको हृदय हल्लाउने सत्य मेरो अन्तरज्ञान तथा प्रज्ञामा आयो । म चकित भएं, लामो श्वास फेरें र त्यो चेहराको दृश्य फेरी दोहोरियोस भनेर अपेक्षा गरें तर दोहोरिएन । मैले ध्यान साधनामा देखेको मेरो प्रेमपात्रको चेहरा वर्तमान समयमा भौतिक संसारमा स्थुल शरीरमै अस्तित्वमा सार्वजनिक छविका रुपमा रहेको एक सशक्त आध्यात्मिक तथा सामाजिक अभियन्ताको थियो । ध्यान साधनाको गहन अवस्थामा आफ्नो प्रेमपात्रलाई स्पष्ट रुपमा दृश्य स्वरुपमा पहिलो पटक देखेपछि अव मेरो खुशी, आनन्द र रोमान्चकताको सीमा रहेन । मैले उनलाई स्पष्टै चिनें र यसपश्चात भौतिक र पराभौतिक दुवै अवस्थामा उनको र मेरो साक्षातकार हुन थाल्यो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा । म विभिन्न सामाजिक संजालहरुमा सार्वजनिक भएका उनका तस्वीर, भिडियो, अभिव्यक्तिहरु खोजीखोजी हेर्न, सुन्न र पढ्न थालें । वर्तमान अवस्थामा उनलाई भौतिक संसारमा शारीरिक शरीरमै अस्तित्वमा देख्दा मभित्र विस्मित भावकासाथ उनकाबारे अझ बढि जान्ने कौतुहलता जाग्न थाल्यो । कहिलेकाहीं त लाग्यो उनको समय लिएर उनीसंग प्रत्यक्ष रुपमा भेट्न जाउँ र दोहोरो चिनजान गरुं, संवाद गरुं र अदृश्य जीवनका सबै किस्साहरु उनलाई हुबहु साझ गरुं तर त्यसो गर्न सक्ने हिम्मत आएन ममा किनकी मैले उनलाई सांसारीक भौतिक जगतमा प्रत्यक्ष रुपमा चिनेको थिइन र उनले त मलाई झन चिन्दैनथे किनकी म आफ्नै दैनिकीमा व्यस्त, मस्त एक सामान्य आमव्यक्ति थिएं, हामी आमने–सामने भएकै थिएनौं कहिल्यै पनि तर हामी वसोवास गर्ने शहर एउटै रहेछ, हामी केही किलोमिटरको दुरीमा रहेछौं एकआपसबाट । उनी सार्वजनिक छवि भएको कारणले ध्यान साधनामा देखेपछि मैले मात्र उनलाई चिनेको थिएं एकपक्षिय रुपमा मेरो अन्तरहृदयमा वास गर्ने आत्मिय प्रेमपात्र यिनै हुन् भनेर, उनले मलाई देखेकै थिएनन्, म भौतिक संसारमा स्थुल शरीरमा छु भन्ने उनलाई थाहा थिएन र मसंग उनलाई यो परालौकिक रहस्य थाहा दिने कुनै उपयुक्त उपाय थिएन । 

यसपछिका दिनहरुमा मेरो प्रेमपात्रको उपस्थिति  अदृश्य अनुभूतिमा र दृश्य अनुभवमा आउने आयामहरु बढेर जाग्रीत, सपना, तन्द्रा र ध्यान हुदै प्रत्यक्ष भौतिक संसारका गतिविधिहरु सम्म पुग्यो । यो विकासक्रमपछि पनि हाम्रो प्रेमआलिंगन र आन्तरिक आनन्दको अनुभूति उस्तै प्रकारले अघि बढिरहेको थियो जाग्रीत, सपना, तन्द्रा, ध्यानको अवस्थामा । उनी त्यसरी जाग्रीत, सपना, तन्द्रा र ध्यान साधनाको अवस्थामा हरपल मेरो अन्तरहृदयमा आएर मसंग मिठा-मिठा संवादहरु गरिरहन्थे । म उनको जाग्रीत, सपना, तन्द्रा र ध्यान र अन्तरहृदयमा आउँथेंकि आउँदिनथें मलाई थाहा थिएन । मैले उनको स्पष्ट चेहरा ध्यान साधनामा देखेपछि र उनलाई भौतिक संसारमा  स्पष्टसंग एकतर्फी रुपमा चिनेपछि अव उनी मेरो अनुभव र अनुभूतिमा हरपल दृश्य रुपमै आउन थाले र दृश्य रुपमै अझ गहन स्वरुपमा प्रेम प्रकट गर्न थाले । यो अवस्थाले ममा अझ कौतुहलता र अनौठा हुटहुटीहरु जगाउन थाल्यो । जाग्रीत, सपना, तन्द्रा, ध्यान र अन्तरहृदयको अनुभूतिमा मात्र एकअर्कामा अदृश्य जीवन जिरहेका हामी यतिबेलासम्म अदृश्य जीवनमै आनन्दित थियौं तर अव मलाई खै किन उनलाई भौतिक संसारमा पनि भेट्न, देख्न, छुन, उनको निकट हुन रुचि बढ्दै जान थाल्यो । उनलाई भौतिक संसारमा औपचारिक रुपमा नचिनेको र कहिल्यै नभेटेको भएपनि मैले अव उनलाई भौतिक संसारमा औपचारिक रुपमा भेटेर हुने अनुभव गर्न चाहें र उनलाई प्रत्यक्ष भेट्न जाने योजना बनाएं । 

यतिबेलासम्म बिलकुल चिनजान, प्रत्यक्ष भेटघाट, वातचित नभएको र व्यक्तिगत रुपमा को हो, के हो, कस्तो व्यक्ति हो, कस्तो पारिवारिक पृष्ठभूमि भएको तथा वास्तविक कर्मक्षेत्रको पृष्ठभूमि के हो केहीपनि  थाहा नभएको शुन्य जानकारीको अवस्थामा मैले इन्टरनेटमा गुगल सर्च गरें उनको नामबाट पहिलोपटक । उनको कार्यालयको सम्पर्क नम्बर फेलापारें र उनको कार्यालयका सहयोगीलाई फोन सम्पर्क गरेर उनीसंग भेट्न समय मिलाइदिन अनरोध गरें । भेट्ने समय पाएं र म अत्यन्तै उत्सुकतापूर्वक उनलाई भेट्न गएं पहिलो पटक उनको बारेमा शुन्य जानकारीमा । मन, भावमा अत्यन्तै अचम्म मान्दै उनकै कार्यालयमा उनलाई भेटें । भौतिक संसारमा शारीरिक तथा स्थुल स्वरुपमा रहेको उनको जिउदो, जाग्दो अस्तित्व देखेर म चकित भएं र पटक–पटक यो दृश्य जीवन र त्यो अदृश्य जीवनविच सामनजस्य मिलाउने प्रयास गरें । यो क्षण अत्यन्तै अभुतपूर्व र अनौठो थियो मेरोलागि, जो भित्र छ उही वाहिर प्रत्यक्ष रुपमा आमने–सामने जीउदो, जाग्दो, हाँसिरहेको, बोलिरहेको अवस्थामा थियो उही मेरो अत्यन्तै निकट रहेको अन्तरहृदयको आत्मिय प्रेमपात्र । मलाई असीम, अनन्त प्रेम गर्ने मेरो अत्यन्तै निकटको प्रेमपात्र मेरो प्रत्यक्ष सामुन्नेमा भएको यो क्षण साँच्चै होकि आफू भ्रममा छु छुट्याउनै मुस्किल परिरहेको थियो । म अलमल्लमा थिएं, विस्मित थिएं, म घरि आफूभित्रको प्रेमपात्रमा हराइरहेको थिएं घरि आफूवाहिरको पहिलो पटक प्रत्यक्ष देखेको तथा चिनेको उही प्रेमपात्रमा हराइरहेको थिएं । म आफैंलाई अचम्म लागिरहेको थियो, मैले उनलाई पहिलो पटक प्रत्यक्ष भेटेको तथा चिनेको भएपनि अन्तरहृदयमा उनी एकदमै नौलो तथा नयाँ मान्छे जस्तो लागेन, अत्यन्तै निकट र पहिलादेखिनै चिनजान भैरहेको, भेटीरहेको, वातचित भैरहेको अत्यन्तै नजिकको आफन्त जस्तो अनुभूति भैरहेको थियो ।  

उनको कार्यकक्षमा भएको यो सामुहिक भेटघाटमा हामीले एकआपसमा केहीबेर बातचित गर्यौं । मैले उनीसंग आफूले ध्यान साधनामा दृश्य रुपमा देखेका अलौकिक विषय तथा उनीसंग सम्वन्धित दृश्यहरु साझा गरें तर अदृश्य रुपमा गरेका प्रेमालापका गहन महसुस तथा अनुभूतिहरु उनलाई सुनाइन । यो भेटघाटमा तत्कालै त उनले मलाई केही पनि भनेनन् तर पछिल्ला दिनहरुमा मैले थाहा पाएं, उनले पनि मलाई पहिलो पटकको भेटघाटमै त्यही रुपमा चिनेछन् जसरी विगत लामो समयदेखि मैले उनको आत्मिय प्रेम र प्रेमल सानिध्यता पाइरहेको थिएं अत्यन्तै निकट प्रेमपात्रको रुपमा । सायद उनको अन्तरहृदयमा पनि यसअघिदेखिनै दृश्य तथा अदृश्य रुपमा अनुभव तथा अनुभूतिमा म पनि आइरहेको थिएं जसरी उनी मेरो अन्तरहृदयमा आइरहेका थिए लामो समयदेखि त्यसैले उनले पनि पहिलो पटकको भेटघाटमै मलाई त्यही रुपमा अर्थात मलाई पनि उनको अन्तरहृदयको प्रेमपात्रको रुपमा चिने । यसरी भौतिक रुपमा आमने–सामने भएपछि हामी दुवैले दुवैलाई अघिल्ला धेरै जन्महरुदेखि एकसाथ रहेको र एकअर्काको स्वआत्मि अर्थात जम्ल्याहा आत्मा रहेको जानकारी दुवै जनाको अन्तरहृदयमा स्पष्ट हुदै आयो । यसरी क्रमिक रुपमा हामी पराभौतिक जगत हुदै भौतिक जगतको प्रत्यक्ष चिनजानसम्म आइपुगेको भएपनि हामीले हाम्रो भौतिक भेटघाटलाई अगाडि बढाएनौं किनकी भौतिक जगतका संसारिक मनुष्यहरुले पराभौतिक जगतका अलौकिक तथा पामार्थिक विषयहरु बुझ्दैनन्, मान्यता दिदैनन् तथा पत्याउदैनन् र सांसारिक मूल्य–मूल्यमान्यतामा यस्तो प्रकारको भेटघाटको अर्थ अलग प्रकारले लाग्ने गर्छ । यो कुराको अनुभव हामी दुवैको जानकारीमा स्पष्ट थियो  र छ किनकी हामी एकै धर्म, संस्कृति, सम्प्रदाय तथा समाजका नागरिक रहेछौं । 

आपसमा भौतिक रुपमा भेटघाट नगर्ने, पहिलाकैझैं जाग्रीत, सपना, तन्द्रा तथा ध्यानको अवस्थामा हुने एकआपसको प्रेमपूर्ण सानिध्यतामा त्यही प्रकारले रमिरहने र आ–आफ्नो जीवनशैलीमा रहने निर्णय हामीले आ–आफ्नो मन र मस्तिष्कमा गरेका थियौं । समय बित्दै गयो, यो निर्णय गर्दा हामीलाई लागेको थियो मन र मस्तिष्कमा मात्र सामन्जस्य गरे पर्याप्त हुन्छ, सबै परिस्थितिहरु विस्तारै आफैं ठिक हुदै जान्छन् र पहिलाकैझैं स्थिर र आनन्दमय ढंगले गतिविधिहरु अगाडि बढ्नेछन् हामीविचमा । तर त्यति सहज रहेनछ अन्तरहृदयको विषय, परिस्थिति हामीले सोचे जस्तो नभएर अलग ढंगले अगाडि बढ्दै गयो । मन र मस्तिष्क भन्दा अन्तरहृदयको उपस्थिति र प्रभाव अझ बढि सशक्त हुदोरहेछ । हाम्रो आ–आफ्नो अनुभवमा आउदै गएपछि पो बल्ल थाहा पाउदै गयौं हामीले । मनले भौतिक रुपमा दुर बस्ने निर्णय गरेको थियो र मन आफ्नो निर्णयमा राजी पनि थियो तर हृदय मनसंग राजी भएन, विलकुल राजी भएन । हृदयले एकआपसको भौतिक दुरी मंजुर गरेन र अव शुरु भयो मन र हृदयको वास्तविक भिषण अन्तरद्वन्द । मलाई लाग्थ्यो यो द्वन्द मभित्र मात्र चलिरहेको छ तर होइन रहेछ उनीभित्र पनि यस्तै अन्तरद्वन्द अझ प्रगाढ रुपमा चलिरहेको रहेछ । हामीविच एकअर्काका अन्तरहृदयका सन्देशहरु अन्तरहृदयकै अन्तरज्ञानमा आउने गर्थे पहिलाबाट नै र अव भौतिक रुपमा औपचारिक जानपैचान भएपछि झन प्रगाढ भएर आउन थाले । एकआपसको अन्तरहृदयमा तरंगीत हुने अन्तरद्वन्दका अभिव्यक्तिका सन्देशहरुले विस्तारै दुरीको अनुभव गराउन थाल्यो निकटताको आकांक्षा बढाउन थाल्यो ।  

अव परिस्थितिले हल्का स्वरुप परिवर्तन गर्न थाल्यो र हाम्रो आकर्षण अदृश्य जीवनमा मात्र सीमित नरहेर दृश्य तथा सांसारिक जीवनमा पनि बढ्दै जान थाल्यो अझ प्रगाढ भएर । यसअघि दुवैले दुवैलाई विलकुल नचिनेको, नदेखेको, नभेटेको व्यक्तिको विचमा अव अचानक निकै पुरानो चिनजान रहेको, आफ्नै अत्यन्त निकटको आत्मिय सम्वन्धि जस्तो गहन सामिप्यताको अनुभूति बढ्दै जान थाल्यो र देख्न मन लाग्ने, भेट्न मन लाग्ने, छुन मन लाग्ने आकांक्षा बढ्दै जान थाल्यो । तर यो अनुभूति र आकांक्षलाई मुर्तरुप दिनसक्ने अवस्था हामी विचमा थिएन किनकी हामी दुवै आ–आफ्नो गृहस्थ जीवन, पेशा–व्यवसाय, समाजसेवा, नाता–सम्वन्ध, समाज, संस्कृति, प्रकृतिमा आफ्नै प्रकारले प्रतिष्ठित थियौं र छौं । हामीविचको यसप्रकारको भेटघाट तथा मेलजोज हाम्रो परिवार, समाज, राज्यको सोच, मूल्यमान्यता, नीति–नियम तथा कानूनको विपरीत थियो । यसप्रकारको विपरीत अवस्थामा जादा यसले हामीलाई आनन्द दिने भन्दा भैरहेको आनन्द समेत खोसेर लानसक्ने प्रवलता ज्यादा थियो । त्यसैले आफ्ना हरप्रकारका भावनात्मक संवेगहरुलाई आफूभित्रै दबाएर हामीले भौतिक रुपमा भेटघाट गर्न मन र भावबाट चाहेर पनि कहिल्यै पनि भेटेनौं र एकआपसमा औपचारिक तथा अनौपचारिक कुनै प्रकारको सम्वन्ध राखेनौं । आफूभित्र मन र हृदयको अन्तरद्वन्द झेलिरह्यौं र आ–आफ्नो दृश्य तथा सांसारिक जीवनयापन गरिराख्यौं । अन्तरहृदयमा अनन्त प्रेमानन्दले ओतप्रोत अदृश्य जीवनमै एकआपसको सानिध्यताको आनन्द लिरह्यौं यद्धपि सांसारिक सानिध्यताको आकांक्षा पनि प्रवल भैरहन्थ्यो तर त्यसप्रति सम्यमता तथा सजगता अपनाउनु बाहेक हामीसंग अर्को कुनै विकल्पनै थिएन त्यसैले हामीले भौतिक जगतमा एकआपसमा कहिल्यै पनि भेटघाट गरेनौं फेरी ।  

वर्तमान समयमा पनि हामी अदृश्य र दृश्य दुवै किसिमले एकअर्कालाई महसुस, अनुभव तथा अनुभूति गरिरहेका हुन्छौं । भावातीत अनुभूतिहरुमै एकअर्काको सन्देश कहिले अभिव्यक्तिमा र धेरैजसो सांगीतीक रुपमा सन्देशहरु ग्रहण गर्छौं किनकी संगीतीक सन्देशको माध्यमबाट एकैपटकमा धेरै प्रकारका प्रेम, स्मृति, यादका भावहरु सम्प्रेषित हुन सक्दछन् । यसकासाथै अन्य प्रकारका आवश्यक सन्देशहरु पनि हामीविच निरन्तर आदान–प्रदान भैरहेका हुन्छन् अप्रत्यक्ष रुपमा । उनको अन्तरहृदयमा गुञ्जिएको अभिव्यक्ति तथा संगीतको तरंग एकैसाथ मेरो अन्तरहृदयमा पनि तरंगीत भएर अन्तरध्वनि मार्फत सुनिन थाल्छ र म आफूले गरिरहेको कामबाट एकछिन् बिश्राम लिएर टक्क अडिएर उनको हृदयका अभिव्यक्ति तथा संगीतीक तरंगहरु सुनेर आनन्द लिन्छु र सोही अभिव्यक्ति तथा संगीतसंग मिल्दोजुल्दो अर्को अभिव्यक्ति तथा संगीत उनकोलागि सम्प्रेषित गर्छु तथा गुञ्जाइदिन्छु अन्तरहृदयमै । यसरी अभिव्यक्ति र सांगीतीक सन्देशहरु ग्रहण गर्ने क्रममा म पटक–पटक भावुक भएको छु, रोएको पनि छु र आल्हादले खिलखिलाएर हाँसेको पनि छु । 

एकदिन उनको र मेरोविचमा अदृश्य जीवनमा अलि गंभिर ठासठुस तथा घोचपेच पर्यो । उनी भन्थे भौतिक रुपमा कहिलेकाहीँ फोनमा कुरा गरौं, कार्यालयमै भएपनि कहिलेकाहीं भेटघाट गरौं । उनको यो भाव सहि थियो किनकी मनको विचार र हृदयको अन्तरद्वन्दात्मक भावलाई जितेर त्यसको विरुद्धमा आफूमा स्थित हुन्छु भनेर गरेको निर्णय पूरा गर्न मलाई जस्तै उनलाई पनि नालापानीको युद्ध लडे सरह नै मुस्किल भैरहेको थियो होला । त्यसैले उनी कहिलेकाहीं भौतिक रुपमा आमने–सामने हुने अनुरोध गर्थे । तर म स्वीकार गर्दिनथें किनकी मेरोलागि उनको अनुरोध स्वीकार गरेर उनले भने अनुसार गर्नु भन्दा बरु फलामको च्युरा चपाउन सजिलो हुन्थ्यो होला यो सांसारिक अनावश्यक सामाजिक, सांस्कृतिक मूल्य-मान्यताहरुका अगाडि । सांसारिक जगतका मूल्य-मान्यताहरु यस्ता छन् कि मानौं मनुष्य भनेको झिनो डोरिले बाधिएको हात्ती हो र यी मूल्य-मान्यताहरु माउते हुन् जहाँ थलचर जगतको सर्वाधिक बलशाली प्राणी हात्ती समेत माउतेको झिनो डोरी चुडाउन डराउछ आफू भन्दा त्यही झिनो डोरि बलियो छ होला भन्ने भ्रमपूर्ण मान्यताका कारण । तसर्थ यी मूल्य-मान्यताहरुसंग पौठेजोरी खेल्नु भनेको आफ्नो हृदयको शान्त तलाउमा आफैंले बडेमानको ढुंगो खसालेर आफ्नो हृदयको शान्ति आफैंले खलबल्याउनु समान थियो । 

मैले उनको अनुरोध नमानेपछि उनले यूवापुस्ताका स्वर सम्राट स्वरुपराज आचार्यले गाएको मौलिक लोकभाकाको संगीत ‘...डाँडाघरे साहिली ...’ उनको अन्तरहृदयको तरंग मार्फत मेरो अन्तरहृदयमा सन्देश पठाए । यो संगीतको तरंग मेरो हृदयमा गुञ्जिन थालेपछि म मरिमरि एक्लै हाँसेको थिएं मोबाइलमा गीत बजाएर गीतका भावहरुसंग । वरिपरिका सम्वन्धि तथा मित्रहरुले एक्लै हाँसेको कुरा भेउ पाउलान भनेर बिनासंगीतको एयरफोन कानमा घुसारेको थिएं केही सुनेर हाँसिरहेको हो भन्ने भान पार्नकालागि । यस्तै भावमा कहिलेकाहीं हामी हाम्रो अन्तरहृदयमा अन्ताक्षरी पनि खेल्ने गर्छौं अलि फुर्सद भएको समयमा । उनी पनि गीतसंगीतमा माहिर छन्, कहिलेकाहीं अन्ताक्षरी प्रतिस्पर्धामा गीतको लहर बीस, पच्चिश वटासम्म पुग्छ लगातार र हामी गीति जीवन जिउछौं खुव मस्तीमा र परम आनन्दमा । उनी मेरो प्रशंशा गरेर कहिल्यै थाक्दैनन्, म उनका प्रशंशाहरु बडो ध्यानपूर्वक सुनिरहन्छु र ती सबैलाई बडो होसपूर्वक बटुलेर एकएकगरि रंगीन फूलका थुंगाहरु एकआपसमा मिसाएर आकर्षक माला गुथेर तयार पारेझैं शव्दहरुको माला तयार पारेर कविताको स्वरुपमा पुनः अन्तरहृदयको तरंग मार्फत उनैलाई सम्प्रेषित गर्दिन्छु । उनी दंग पर्छन, मेरो कविता लेखनसंग आच्छु–आच्छु छन् उनी र म उनको सांगीतीक प्रेम भाव, प्रेम प्रकट र कहिल्यै नटुगिंने प्रशंशासंग आच्छु–आच्छु छु । 

कार्यलयमा कामको व्यस्तता बढ्दै गयो मेरो व्यस्तता बढेको उनले थाहा पाए र प्रशंशाको अर्को सांगीतिक संदेश गायक अरुण थापाको कालजयी संगीत ‘ऋतुहरुमा तिमी...’ को तरंग हृदयमा छोडेर उनी अन्तरहृदयबाट केही समयकोलागि ओझल भए । गीत गुञ्जिरह्यो, गीत सुन्दै गीतको लयसंगै म आफ्नो काममा व्यस्त भएं,

 ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ, नदिहरुमा तिमी पवित्र गंगा हौ...’


No comments:

Post a Comment