'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २४४ वटा लेख समाहित छन् !

Friday, 29 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१७

 डासिर्जना भण्डारी

      #अध्यात्म_दर्शन #जीवन_दर्शन 




आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१६ को निरन्तरता


जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा

(क)योगीक आसनहरु

योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरिदै आइएको हठ योगमा मोटामोटी रुपमा ८४ प्रकारका योगका आसनहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खोजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसनहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र (४)उत्तानो पल्टेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँ तथा भिडभाडमा रहेको अवस्थामा; समय कम भएको तथा व्यस्त रहेको अवस्थामा; सामान्य प्रकारको अस्वस्थ रहेको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका आसनहरु विभिन्न प्रकारका रहेका छन् । यी मध्य विहान खालि पेटमा सबैभन्दा बढि अभ्यास गरिने चार अवस्थाहरु– उभिएर, बसेर, घोप्टेर र उत्तानो पल्टेर गरिने योगका आसनहरुबारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ । 


(३)घोप्टो परेर गरिने योगका आसनहरु

स्थुल शरीर तताउन शरीर चलायमान गराउने तथा हल्का उफ्रिने प्रकारका कदमचाल व्यायाम पाँच मिनेट र शरीर खुलाउन शरीरका हरेक अंग–अंगको सुक्ष्म व्यायाम पाँचदेखि दश मिनेट गरिसकेपछि मात्र उभिएर, बसेर, घोप्टेर तथा उत्तानो पल्टेर गर्ने योगका आासनहरु गर्न प्रारम्भ गर्नु पर्दछ ताकि योगासन गर्न शरीर र मन हरप्रकारले लचिलो, फुर्तिलो भएर तयार भएको होस् र आसनहरु लगाउदा सामान्य बाहेक जटिल प्रकारका असहजता, पिडा तथा अस्वस्थताहरु नआउन् । आमरुपमा प्रयोगमा ल्याउदै आइएका र सबै उमेर तथा लिंगका व्यक्तिहरुलाई उपयुक्त हुने प्रकारका र कुनै प्रकारका नकारात्मक प्रभाव नभएका उभिएर गरिने योगका केही आसनहरु र शरीर तताउन गरिने कदमचाल व्यायाम तथा शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम निम्नप्रकारका रहेका छन्– 


शरीर तताउन गरिने कदमचाल व्यायाम

सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।


शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम

कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं । 


सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णताले भरिन थाल्छ ।


शरीर तन्काउन घोप्टो परेर गरिने योगका प्रमुख १० आसनहरु

(१)भुजंग आसन

भुजंग आसन अर्ध, पूर्ण गरि दुई प्रकारले गर्ने गरिन्छ । अर्ध भुजंग आसन गर्नकोलागि घोप्टो परेर दुवै गोडा, पिडौला, जांग तनक्क तन्काऔं; दुवै हात घोप्टो पारेर एकमाथि अर्को खप्टेर चिउँडोमूनि राखौं र चिउँडोलाई खप्टिएका हातमाथि अड्याऔं; दुवै हातलाई घोप्टो पारेर छातिको दायाँ–बायाँ हात टेकौं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै दुवै हात र कुहिनो टेकेर शिर तथा गर्धन र छातिलाई विस्तारै माथितिर उठाऔं र आँखाले सिलिगं तथा आकाशलाई हेरौं; यही अवस्थामा आफूलाई सहज हुन्जेल श्वास रोकेर तथा सामान्य राखेर केहीबेर अडिऔं; पूरा श्वास भित्र भर्दै छाति र शिर तथा गर्धन र दुवै हातलाई पहिलाकै अवस्थामा ल्याऔं र खप्टिएका हातमाथि चिउँडो अड्याएर केहीबेर विश्राम गरौं । अर्ध भुजंग आसनबाट प्रभावकारी लाभ लिनकालागि यही क्रिया कम्तिमा तीनपटक गरौं ।


पूर्ण भुजंग आसन गर्नकोलागि घोप्टो परेर दुवै गोडा, पिडौला, जांग तनक्क तन्काऔं; दुवै हात घोप्टो पारेर एकमाथि अर्को खप्टेर चिउँडोमूनि राखौं र चिउँडोलाई खप्टिएका हातमाथि अड्याऔं; दुवै हातलाई घोप्टो पारेर छातिको दायाँ–बायाँ हात टेकौं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै दुवै हात टेकेर कुहिना नखुम्च्याइकन तनक्क पारेर शिर तथा गर्धन, छाति र नाभि तथा तल्लो पेटसम्मको भागलाई विस्तारै सकेजति माथितिर उठाऔं र आँखाले सिलिगं तथा आकाश हेरौं; यही अवस्थामा आफूलाई सहज हुन्जेल श्वास रोकेर तथा सामान्य राखेर केहीबेर अडिऔं; पूरा श्वास भित्र भर्दै छाति, शिर तथा गर्धन, पेट र दुवै हातलाई पहिलाकै अवस्थामा ल्याऔं र खप्टिएका हातमाथि चिउँडो अड्याएर केहीबेर विश्राम गरौं । पूर्ण भुजंग आसनबाट प्रभावकारी लाभ लिनकालागि यही क्रिया कम्तिमा तीनपटक गरौं । भुजंग आसनलाई थप प्रभावकारी बनाउन पूर्ण भुजंग आसनमा अडिएको समयमा शिरलाई पूरा श्वास छोड्दै र पूरा श्वास भर्दै दायाँ–वायाँ घुमाएर पैताला तथा हिप हेर्ने प्रयास गरिन्छ । यो क्रिया दुवैतिर कम्तिमा तीन–तीनपटक गर्नु अत्यन्तै लाभदायक हुन्छ । 


(२)सलभ आसन 

सलभ आसन विभिन्न प्रकारले गर्ने गरिन्छ तर सबै प्रकारमा पेटको बलमा शिर तथा गर्धन, छाति, हात र गोडा तनक्क तन्काएर माथितिर सकेजति उठाउन प्रउास गरिन्छ । सलभ आसन गर्नकोलागि घोप्टो परेर दुवै गोडा, पिडौला, जांग तनक्क तन्काऔं; दुवै हात घोप्टो पारेर एकमाथि अर्को खप्टेर चिउँडोमूनि राखौं र चिउँडोलाई खप्टिएका हातमाथि अड्याऔं; हिप क्षेत्र, जांग, पिडौला र गोडामा रंक्तसंचारको प्रवाह बढाउन तथा मांसपेसी, नशा–नाडी, हड्डि, जोर्नी खुकुलो तथा लचिलो बनाउन दुवै गोडाका कुर्कुच्चाले पालैपालो हिपमा हिर्काएर निर्लाम आसन गरौं; दुवै हातलाई तनक्क तन्काएर अगाडि लैजाऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै एकैपटक बिपरित हात र बिपरित गोडो विस्तारै सकेजति माथितिर उठाऔं; यही अवस्थामा आफूलाई सहज हुन्जेल श्वास रोकेर तथा समान्य राखेर केहीबेर अडिऔं; पूरा श्वास भित्र भर्दै सामान्य बनौं र दुवै हात एकआपसमा खप्टेर राखेर त्यसमाथि चिउँडो अड्याएर केहीबेर बिश्राम गरौं र कम्तिामा तीन–तीनपटक यो क्रिया गरौं । 


अर्को प्रकारको सलभ आसन गर्न बिश्रामपछि श्वास–प्रश्वासको लय मिलाएर पेटको बलमा दुवै हात र दुवै गोडा एकैसाथ उठाऔं ढाड र कम्मरको भाग धनुष्टंकार हुनेगरि; केहीबेर यही अवस्थामा अडिएर बसौं र विस्तारै सामान्य बनौं; यो क्रिया कम्तिमा तीनपटक गरौं । सलभ आसनका क्रियाहरु अझै बढाउन यही अवस्थामा दुवै हातलाई जांगमूनि राखौं र श्वास–प्रश्वासको लय मिलाएर पेट, छाति, शिर नउठाइकन गोडा, पिडौला, जांग मात्र माथितिर उठाऔं, एकछिन यही अवस्थामा अडिऔं र सामान्य बनौं । अर्को प्रकार– यही अवस्थामा दुवै हातलाई पछाडि कम्मरमाथि लैजाऔं; दुवै हातका औंला एकआपसमा फसाएर एउटै मुठ्ठि बनाऔं र दुवै हात तनक्क तन्काएर श्वास–प्रश्वासको लय मिलाएर शिर, छाति र पेट माथितिर उठाऔं; केहीबेर यही अवस्थामा अडिएर बसौं, विस्तारै सामान्य बनौं र यो क्रिया कम्तिमा तीनपटक गरौं । सलभ आसन गर्दा श्वास–प्रश्वासको लय मिलाएर शिर, छाति र पेट तथा गोडा, पिडौला, जांग उठाउदा आफ्नो सहजता र सुविधा हेरेर पाखुरा र हातलाई जतापनि लान तथा जुन अवस्थामा पनि राख्न सकिन्छ ।


(३)नौका आसन

नौका आसन गर्नकोलागि घोप्टो परेर दुवै गोडा, पिडौला, जांग तनक्क तन्काऔं; दुवै हात घोप्टो पारेर एकमाथि अर्को खप्टेर चिउँडोमूनि राखौं र चिउँडोलाई खप्टिएका हातमाथि अड्याऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुवै हात पछाडि लैजाउँ र दुवै गोडा माथि उठाएर हातले गोडाका पंजा समातौं; सकेजति बल प्रयोग गरेर हातले गोडा र गोडाले हात तानौं; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिएर बसौं श्वास रोकेर तथा समान्य राखेर र सामान्य बनौं; नौका अर्थात डुंगा आसनको अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीनपटक गरौं ।  


(४)अधोमुख आसन

अधोमुख आसन र सुर्य नमस्कारको एक अंश पर्वत आसनका प्रक्रिया र उद्देश्य एकै हुन् । अधोमुख आसन गर्नकालागि दुवै पैताला र दुवै हत्केला जमिनमा टेकेर हिपलाई सकेसम्म आकाशतिर ठेलौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै भुईंतिर निहुरिएको मुन्टो तथा शिरलाई सकेसम्म गोडाको नजिक ल्याउने तथा नाभि हेर्ने प्रयास गरौं; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं; अधोमुख आसनबाट अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीनपटक गरौं । 


अधोमुख आसन गरेर अझ अधिकतम लाभ लिनकालागि दुवै पैताला र दुवै हत्केला जमिनमा टेकेर हिपलाई सकेसम्म आकाशतिर ठेलौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै सकेजति पालो–पालो गरेर एउटा–एउटा गोडा उठाऔं; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; यो क्रिया कम्तिमा तीन–तीनपटक दुवै गोडा उठाएर गरौं र पूरा श्वास भित्र भर्दै घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं । अधोमुख आसनमा अर्को प्रकार पनि थप्न सकिन्छ( दुवै पैताला र दुवै हत्केला जमिनमा टेकेर हिपलाई सकेसम्म आकाशतिर ठेलौं; श्वास सामान्य राखेर उफ्रेर दुवै गोडालाई टाढा फार्दै नजिक ल्याउदै गरौं कम्तिमा १० पटकसम्म र पूरा श्वास भित्र भर्दै घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं ।


(५)उत्थान पृष्ठ आसन

उत्थान पृष्ठ आसन सूर्य नमस्कार आसनको एक अंश हो । उत्थान पृष्ठ आसन गर्नकालागि दुवै पैताला र दुवै हत्केला सकेसम्म अगाडि–पछाडि दुरीमा राखेर जमिनमा टेकौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै एउटा गोडालाई खुम्च्याउदै अगाडि ल्याएर भुईंमा टेकेको हातसंग समानान्तर हुनेगरि राखौं र आँखा सिधा अगाडि हेरौं; कुहिना टेकेर पनि यही प्रक्रिया गर्न सकिन्छ । आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै गोडालाई पछाडि पहिलाकै अवस्थामा ल्याऔं र घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं; अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीनपटक गरौं । उत्थान पृष्ठ आसनको लाभ तथा प्रभावकारिता बढाउन उसमा अर्को प्रकार पनि थप्न सकिन्छ– दुवै पैताला र दुवै हत्केला सकेसम्म अगाडि–पछाडि दुरीमा राखेर जमिनमा टेकौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै एउटा गोडालाई खुम्च्याउदै अगाडि ल्याएर भुईंमा टेकेको हातसंग समानान्तर हुनेगरि राखौं र आँखा सिधा अगाडि हेरौं; यही अवस्थामा कानले भुईं छुने प्रयास गरौं; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै भुईंमा टेकेको कार उठाऔं र गोडालाई पछाडि पहिलाकै अवस्थामा ल्याऔं; घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं; अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीनपटक गरौं ।


(६)गौ आसन र मार्जर आसन

गौ अर्थात गाई आसन गर्नकालागि दुवै घुँडा र दुवै हत्केला सकेसम्म अगाडि–पछाडि दुरीमा राखेर जमिनमा टेकौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै आँखा सिधा अगाडि हेरेर ढाडलाई सकेसम्म गहिरो पारौं तथा भुईंतिर ठेलौं र हिपलाई सकेसम्म माथितिर उचालौं । मार्जर अर्थात बिरालो आसन गर्नकालागि गौ आसनकै अवस्थाबाट पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै आँखा भुईंतिर हेरेर ढाडलाई सकेसम्म आकाशतिर उठाऔं र हिपलाई सकेसम्म तलतिर झारौं । आफूलाई सहज हुन्जेल केहीबेर गौ र मार्जर आसनको अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै शिर, ढाड र हिपलाई पहिलाकै अवस्थामा ल्याऔं र घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं; अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीन–तीनपटक गरौं ।


(७)चतुरअंग दण्ड आसन

चतुरअंग दण्ड आसन गर्नकालागि दुवै पैताला र दुवै हत्केला सकेसम्म अगाडि–पछाडि दुरीमा राखेर जमिनमा टेकौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै आँखा सिधा अगाडि हेरेर गोडाका दुवै पंजा र दुवै हात भुईंमा टेकौं; दुवै घुँडा र दुवै कुहिना नखुम्च्याइकन सिधा राखेर ढाड र कम्मरलाई सकेसम्म भुईंतिर झार्ने प्रयास गरौं; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं; अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीनपटक गरौं ।


(८)अष्टांग आसन

अष्टांग आसन सूर्य नमस्कार आसनको एक अंश हो । अष्टांग आसन गर्नकालागि दुवै पैताला र दुवै हत्केला सकेसम्म अगाडि–पछाडि दुरीमा राखेर जमिनमा टेकौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुवै घुँडा जमिनमा टेकौं; यसपछि छाति र चिउँडो जमिनमा टेकौं र हिपलाई सकेसम्म आकासतिर ठेलौं; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै घुँडा टेकेर हात भुईंमा पसारेर हिपलाई माथितिर उचालेर तथा पिडौलामाथि अड्याएर केहीबेर बिश्राम गरौं; अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीनपटक गरौं ।


(९)मेरु पृष्ठ आसन

मेरु पृष्ठ आसन गर्नकालागि दायाँ तथा बायाँ कोल्टो पल्टिऔं; थोरै शिर र गर्धन उठाऔं र भुईंतिर परेको हातको कुहिनो टेकेर हातले कान र गालामा आड दिऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै माथिपट्टि परेको गोडा विस्तारै आकाशतिर उठाऔं घुँडो सिधा पारेर र अर्को हातले गोडाको बुढी औंलो समातौं कुहिनो सिधा पारेर; आफूलाई सहज हुन्जेल केहीबेर यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर; पूरा श्वास भित्र भर्दै अघिकै समान्य अवस्थामा आऔं केहीबेर बिश्राम गरौं; अधिकतम लाभ लिनकालागि यो क्रिया कम्तिमा तीन–तीनपटक गरौं दुवै कोल्टो पल्टेर र दुवै गोडा उठाएर ।


(१०)बाल आसन

बाल आसन माथि उल्लेखित योगका आसनहरु गरेर थाकेको शरीरलाई आराम गराउने आसन हो । दुवै हात र दुवै गोडा खुकुलो छोडेर घोप्टो परेर लम्पसार परौं; आफ्नो सुविधा अनुसार हातलाई एकआपसमा खप्टेर चिउँडोमूनि राख्न पनि सकिन्छ अथवा हातलाई शरीर तथा जांगमूनि राखेर गाला भुईंमा सटाएर अड्याऔं; एउटा गोडालाई सिधा पारीराखौं घोप्टो अवस्थामै र अर्को गोडाको घुँडा खुम्च्याएर छातिसम्म माथिरतिर ल्याऔं; आँखा बन्द गरेर लामो गहिरो श्वास लिदै–छोड्दै गरौं र आउदै–जाँदै गरेको श्वासलाई याद गरेर आफूलाई सहज हुन्जेल र समय भइन्जेल आरामको अवस्थामा रहिराखौं ।


माथि उल्लेखित घोप्टो परेर गरिने योगका आसनहरुले पूरै मेरुदण्ड, गर्धन, कुम, ढाड, कम्मर, छाति, माथ्लो पेट, तल्लो पेट, प्रजनन् अंग, पाखुरा, हात, जांग, पिडौला, गोडा आन्तरिक तथा वापहर सबै अंगहरुमा प्रत्यक्ष रुपमा पर्याप्त खिचाव तथा दवाव पर्ने हुनाले यी आसनहरुले शरीरका सबै आन्तरिक तथा वाहिय अंगहरुका सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उचित किसिमले उपचार तथा समाधान गर्न प्रत्यक्ष मद्धत गर्दछन् र अन्य धेरै प्रकारका थाहा पाउन सकिले तथा थाहा पाउन नसकिने सकारात्मक लाभहरु प्रदान गर्दछन् । खासगरि मेरुदण्ड, ढाड, कम्मर र पेटमा आइपर्ने सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचारमा रामबाण इलाज मान्ने गरिन्छ घोप्टो परेर गरिने योगका सबैप्रकारका आसनहरुलाई ।

  

घोप्टो परेर गरिने योगका आसनहरुको लाभ 

माथि उल्लेखित घोप्टो परेर गरिने सबै प्रकारका योग आसनहरुले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ । योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसानभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर गरिने सबैप्रकारका योगका आसनहरुले सकारात्मक लाभ मात्र प्रदान गर्दछन् तर प्रक्रिया र विधि नपुर्याइकन र तोकिएका अनुसानहरुको अनुशरण नगरिकन योगका आसनहरु गर्दा यसले नकारात्मक हानि पुर्याउन सक्छ ।


योगका सबैप्रकारका गतिविधिहरु- शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम र शरीर तन्काउन गरिने योगका आसनहरु गर्दा सबै प्रकारका गतिविधिहरुमा आफ्नो शरीरमा भएका हरप्रकारका क्षण(क्षणका महसुस, अनुभव तथा अनुभूतिहरु जस्तोकि श्वास(प्रश्वास बढेको, मुटुको धड्कन बढेको, रंक्तसंचारको प्रवाह बढेको, शरीरका अंगहरुमा दबाव तथा खिचाव भएको, शरीरमा गर्मीं तथा ठण्डाको महसुस भएको आदि अवस्थाहरुमा मन तथा ध्यान केन्द्रित गर्नुपर्दछ ताकि मन तथा ध्यान अरु अनावश्यक तथा नकारात्मक विचारहरुमा जान नसकोस् । यसरी आफ्नो शरीरमा भैरहेका महसुस तथा अनुभवका अवस्थाहरुमा मनलाई केन्द्रित गर्नु वर्तमानमा साक्षी रहनु हो र यो प्रक्रिया पतंजतिल योगसुत्रको छैठौं अंग धारणाको एक अत्यन्तै महत्वपूर्ण अवस्था हो । धरणा तथा एकाग्रताका अवस्थाहरुका सकारात्मक लाभहरु धेरै रहेका छन् र ध्यानबाट प्राप्त हुने लाभ समेत यो अवस्थामा हासिल गर्न सकिन्छ । यसरी शरीरका अंगहरुमा भएका गतिविधिहरुमा मन तथा ध्यानलाई केन्द्रित गर्दा श्वास तथा प्राण वायू तथा ब्रम्हाण्डिय महाउर्जा तत तत क्षेत्रमा पुग्ने हुनाले व्यायाम तथा आसनहरुबाट हुने लाभहरुमा उल्लेख्य बढोत्तरी आउछ र योग साधक हरप्रकारले स्वस्थ, आरोग्य, सुखी, खुशी, शान्त र आनन्दित हुदै जान्छ । उसको जीवन सहज, सरल, व्यवस्थित, समृद्ध र सफल हुदै जान्छ र उ परिवार, समाज, राज्य, विश्वसमाज, मानवीयता, प्रकृति सबैतिर योगदान दिनसक्ने सुयोग्य नागरिक बन्दछ ।


घोप्टो परेर गरिने योगका आसनहरु गर्दाका सावधानीहरु

योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसानभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर सबैप्रकारका योगका आसनहरु सबैले गर्न सकिन्छ तर स्वास्थ्य अवस्था तथा शरीरको विशेष अवस्थामा अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र शरीरको रोग, अस्वस्थता तथा शरीरको विशेष अवस्थासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु अनिवार्य हुन्छ । रक्तचाप उच्च तथा न्यून भएका; रगत सम्वन्धि अरु प्रकारका रोग तथा अस्वस्थता भएका व्यक्तिहरु; मुटुका रोगीहरु; गर्ववती स्त्री आदिले झुकेर गर्ने योगका आसनहरु गर्नु हुदैन । शल्यक्रिया गरेका, त्यस्तै हड्डि सम्वन्धि विभिन्न प्रकारका समस्या भएका; जोर्नी खिइएका तथा सरेका(स्लिप डिस्क); मेरुदण्ड खिइएका तथा सरेका व्यक्तिहरुले पनि शरीर धेरै झुकाउने, शरीर मर्काउने तथा तन्काउने प्रकारका योगका आसनहरु गर्नु हुदैन । यस्ता प्रकारका व्यक्तिहरुका लागि रोग तथा बिरामीको अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । रजश्वला भएका स्त्रीहरुले कम्तिमा पाँचदिनसम्म यस्ताप्रकारका योगासनहरु गर्नु हुदैन र पाँचदिनपछि पनि रक्तश्राव निरन्तर भैरहेको छ भने अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु पर्दछ । त्यस्तै गर्भवती स्त्रीले पनि सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र स्त्री रोगसंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । गर्भवती स्त्रीकालागि छुट्टै प्रकारका योगका आसनहरु रहेका छन् । तर शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम र शरीरमा अक्सिजनको मात्रा बढाउन गरिने अनुलोमविलोम प्राणायाम र लामो गहिरो श्वास लिने र छोड्ने विज प्राणायाम सबै प्रकारका र सबै उमेर भएका व्यक्तिहरुले हल्का किसिमले गर्न सकिन्छ, यसकालागि कसैको सल्लाह लिराख्नु पर्दैन तर आफूलाई असहज तथा पिडा भैरहेको छ भनेचाहिं विचार गर्नु पर्छ तथा सल्लाह लिन पनि सकिन्छ । शरीरमा अक्सिजनको पर्याप्तताले रक्तकणहरुलाई शुद्ध राख्दछ, शरीरभरि रक्तसंचारको प्रवाह बढाउछ र शरीरका सबै अंगहरु खुकुलो, लचिलो बनाउनुका साथै हरप्रकारले संतुलनलमा राख्दछ । 


छिट्टै,

उत्तानो पल्टेर गरिने योगका आसनहरु


No comments:

Post a Comment