'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 29 September 2024

अध्यात्म साधनाबाट हासिल हुने अक्षय खुशी, शान्ति र आनन्द नै मानिसको वास्तविक सफलता हो

                              डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन  #जीवन_दर्शन





विषय प्रवेश

सफलताका धेरै प्रकारका परिभाषाहरु छन् । मानिसहरुले आ–आफ्नो स्वभाव, क्षमता, उत्तरदायित्व, प्राथमिकता र जीवनको आवश्यकता अनुसार धेरै प्रकारले लिने गरेका छन् सफलतालाई । सफलता प्राप्त गर्नकालागि धेरैले धन कमाउनु पर्छ, शक्ति आर्जन गर्नुपर्छ, प्रसिद्धि हासिल गर्नुपर्छ भन्ने अर्थमा बुझ्ने गरेका छन् । यो सत्य हो कि धन, शक्ति, प्रसिद्धि आवश्यक छन् सफलता हासिल गर्नकालागि तर वास्तविकतामा धन, शक्ति, प्रसिद्धि सफलता नभएर सफलतालाई सम्भव बनााउने साधन मात्र हुन्, यी साध्य अर्थात सफलता होइनन् । त्यसोभए सफलता चाहिं के हो त ? यो जिज्ञासा उठ्नु एकदम स्वाभाविक हो किनकी आम रुपमा सफलताको सन्दर्भमा अधिकांश मानिसहरुको बुझाइ धन, शक्ति, प्रसिद्धि कमाउनु नै हो र वर्तमानमा संसारभरि यस्तै दौर चलिरहेको छ सफलताको सन्दर्भमा । तर वैदिक सनातन अध्यात्म विज्ञानले धन, शक्ति, प्रसिद्धिलाई वास्तविक सफलता मान्दैन किनकी यो भौतिक आर्जन हो, अनित्य र नाशवान छ जसले क्षणिक सुख, सुविधा मात्र प्रदान गर्न सक्छ, दिगो हुदैन । अध्यात्म दर्शनका अनुसार, वास्तविक सफलता मानिसले जीवनमा आर्जन गर्ने खुशी, शान्ति र आनन्द हो जो नित्य, दिगो र अक्षय(कहिल्यै क्षय नहुने, जन्मौ-जनमसम्म रहिरहने) छ । सफलताको केन्द्रमा गएर बुझ्दा मानिसले दिनरात मेहनत गरेर कमाएको धन, शक्ति, प्रसिद्धि सबै खुशी, शान्ति र आनन्द प्राप्त गर्नकैलागि हो तसर्थ मानिसको जीवनको वास्तविक सफलता धन, शक्ति, प्रसिद्धि कमाउनु नभई त्यसको माध्यमबाट खुशी, शान्ति र आनन्द हासिल गर्नु तथा कमाउनु हो जुन उ भित्रै सुसुप्त अवस्थामा रहेका छन् । हामीले जीवनमा कमाइ गरेको धन, शक्ति, प्रसिद्धिलाई सही ढंगले सदुपयोग गर्याैं भने आफूभित्रै रहेको खुशी, शान्ति र आनन्दलाई सहज प्रकारले जीवनमा प्रकट गर्न र सहज, सरल र सफल जीवन जिउन सकिन्छ ।


सफलताको परिभाषा र मानिसको मनोविज्ञान

सफलता भनेको के हो ? तिमी केलाई सफलता मान्छौं ? जीवनमा सफलता किन आवश्यक छ ? सफलताले के दिन्छ ? यस्ता प्रश्नहरु हरेकजसो प्रशिक्षण तथा सिकाइका कक्षाहरुमा विद्यार्थीहरुलाई सफलताका सन्दर्भमा उनीहरुको भाव तथा मनोविज्ञान जान्ने उदेश्यले सोध्ने गरिन्छ । अहिलेसम्म संसारभरि सफलता शव्दको निश्चित तथा किटान गरिएको परिभाषा फेलापरेको छैन किनकी सफलता सापेक्षिक विषय हो, यो मनको अवस्था हो जो व्यक्तिपिच्छे फरक पर्दछ र हरेक मानिसको मानसिक अवस्था तथा मनोविज्ञानमा निर्भर गर्दछ । कोही व्यक्तिले कुनै एक विषयको उच्चतम प्राप्ति तथा  अवस्थालाई सफलता मानेको हुनसक्छ भने अर्को व्यक्तिले त्यस विषयलाई सफलता नमान्न पनि सक्छ र अर्को विषयलाई सफलता मान्न सक्छ किनकी सफलता केलाई मान्ने भन्ने विषय व्यक्तिको प्रकृति, स्वभाव, उसको आवश्यकता, उत्तरदायित्व, जिम्मेदारी, प्राथमिकता, देश–काल–परिस्थिति तथा उसको जीवन र जगतप्रतिको बुझाई तथा हेराईमा निर्भर गर्दछ । कसैले शरीर र मनले भोग गर्ने सुख तथा सुविधाहरुलाई नै सफलता मान्दछन् जस्तोकि धन कमाउनु, जागिर गर्नु, पदोन्नती हुनु, सुख–सुविधाका सामग्रीहरु जोड्नु, व्यवसाय बढाउनु, विश्व भ्रमण गर्नु, चन्द्रमामा पुग्नु आदि भने कसैले आफू सुखी रहनु, परिवारलाई सुखी राख्नु, अरुलाई मद्धत गर्न परोपकार तथा समाज सेवा गर्नु, जीवनमा खुशी, शान्ति र आनन्द हासिल गर्न अध्यात्म साधना गर्नुलाई सफलताको रुपमा हेर्ने गर्दछन् जसवाट स्वस्थ तनमन, चैनको निद्रा, शुद्ध हाँसो, सुमधूर सम्वन्धहरु बनुन् ।


सबै मानिसको चाहना हुन्छ जीवनमा सफलताको उचाई चुम्ने तर विविध कारणले सबैको यो चाहना पूरा हुन सक्दैन । मानिसले आफूले इच्छ्याएको सफलता प्राप्त हुनु र नहुनुमा धेरै पक्ष र विषयहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका रहेका हुन्छन् । पहिलो र महत्वपूर्ण भूमिका त उसको व्यक्तित्वको रहेको हुन्छ र यसपछि अन्य परिस्थितिहरुको प्रभाव रहेको हुन्छ । सामान्यतया मानिसको व्यक्तित्व उसको धन, सम्पति, सुख, सुविधा, लवाई–खवाई, ठाँठवाठ, वंश–विरासतका आधारमा नाप्ने गरिन्छ तर यो मापदण्डले मानिसको व्यक्तित्वबारे सही जानकारी विलकुल दिदैन । मानिसको वास्तविक व्यक्तित्व उसको आन्तरीक अवस्था तथा मनोविज्ञान हो, उसको सोच, विचार, मन, भाव, बुद्धि, विवेक, ज्ञान, क्षमता, प्रतिभा, सिर्जनशीलता, तत्परता आदि हो जो नितान्त आन्तरिक विषय हो र मानिसलाई बाहिरबाट झट्ट हेरेर उ भित्र रहेका यी विषयबारे जान्न सकिदैन तर जान्न चाहेमा सम्भव छ । मसिनोसंग मानिसको जीवनशैली, बोलीचाली, व्यवहार, आचरण, खानपीन, पहिरनका रोजाई, साथीसंगत, सामाजिक संजालहरुमा देखिने उपस्थिति तथा प्रस्तुतिहरुबाट मानिसको वास्तविक व्यक्तित्व जान्न सकिन्छ र उसले आफ्नो जीवनमा केलाई प्राथमिकता प्रदान गरेको छ र केलाई सफलता मान्छ भन्ने पत्ता लगाउन सकिन्छ र त्यसै अनुसार उसले इच्छ्याएको सफलता हासिल गर्न उसलाई सही तरिका तथा प्रेरणा प्रदान गरेर मद्धत गर्न सकिन्छ ।


सफलताको आध्यात्मिक परिभाषा

सनातन अध्यात्म विज्ञानले मानिसले आफ्नो जीवनकालमा नगरी नहुने चार पुरुषार्थ– धर्म, अर्थ, काम, मोक्ष निर्धारण गरेको छ जसबाट उसले जीवनमा इच्छ्याएको सफलता हासिल गर्न सक्दछ । अध्यात्म दर्शनका अनुसार, (१)धर्म पुरुषार्थ- मानव धर्मको निष्ठापूर्वक पालन गर; (२)अर्थ पुरुषार्थ- धर्मको पालन गरेर अर्थ तथा धनसम्पति आर्जन गर; (३)काम पुरुषार्थ- कमाएको धनसम्पत्तिको सकारात्मक सदुपयोग गर्दै सबैलाई लाभ हुने सकारात्मक तथा पुण्यका काम गरेर आफ्नो र अरु(समग्र सृष्टि- प्रकृति, मानिस, प्राणी, जीव, वनस्पति, पदार्थ) सबैको कल्याण गर अर्थात आफू यो अवस्थासम्म आइपुग्न जस–जसबाट जे–जति सहयोग लिएकाछौ तथा प्राप्त गरेकाछौ सक्को सेवा प्रदान गरेर फिर्ता गर ताकि तिम्रो कारण अरु व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व, मानवीयता, सारा सृष्टि तथा प्रकृतिले लाभ लिन सकोस र यी सबैले आफूप्रति गरेको योगदान तथा लगाएका गुणहरुको कदर गरेर तिमी उऋण होउ । (४)मोक्ष पुरुषार्थ- यसप्रकारले तिमीले गरेका सर्वकल्णयाणका भलाइ तथा पुण्यका कामहरुबाट तिमीले मनमा सकारात्मकता, खुशी, शान्ति र आनन्द प्राप्त गर्नेछौ । सकारात्मक, खुशी, शान्ति र आनन्दित मन तथा जीवन नै मुक्तिको मार्ग र अवस्था हो, मुक्त मानव नै मोक्षको अधिकारी हुनेछ, यस्तो मानिसले नै परमात्मा साक्षातकार गर्न सक्नेछ र तिम्रोे जीवन पूर्णरुपमा सफलता तथा सुफलताले पूर्ण हुनेछ । यसप्रकार अध्यात्मले वास्तविक सफलता सकारात्मकता, खुशी, शान्ति र आनन्दित अवस्थालाई मान्दछ किनकी मानिसको गुण धर्म आफ्नो र अरुको सेवा गरेर आफू सकारात्मक, खुशी, शान्त, आनन्दित रहनु र अरुलाई सकारात्मक, खुशी, शान्त, आनन्दित बन्न मद्धत गर्नु हो । मानिसले यो कार्य अध्यात्म विज्ञानका प्रमुख विषय योग विज्ञान तथा ध्यान विज्ञानका पद्धतिहरु निष्ठापूर्वक आफुले सिकेर, आफ्नो जीवनमा अनुशरण गरेर र अरुलाई सेवा स्वरुप सिकाएर गर्न सक्दछ । मानिसको जीवनमा वास्तविक सफलता अध्यात्म साधनाको माध्यमबाट मात्र हासिल गर्न सहज र सम्भव छ । तसर्थ, अध्यात्म साधनाबाट हासिल हुने अक्षय खुशी, शान्ति र आनन्द नै मानिसको वास्तविक सफलता हो ।


सफलतामा अर्थशास्त्रको उपयोगीताको ह्रास नियम

जीवनमा जे–जति दुःख, परिश्रम गरेपनि र धन, शक्ति, प्रसिद्धि आर्जन गरेपनि मानिसको अन्तिम खोज खुशी, शान्ति र आनन्द नै हो । धन, शक्ति, प्रसिद्धि मात्रले मानिसको जीवन सहज र सफल हुदैन । वर्तमानमा संसारका मानिसको जीवनशैली हेर्ने हो भने धन, शक्ति, प्रसिद्धि कमाउने मानिसहरुनै बढि बेखुश, अशान्त, तनाव, चिन्ता, अवसादको अवस्थामा रहेका छन् । घनाड्य, शक्तिशाली र प्रतिष्ठित व्यक्ति तथा परिवारका सदस्यहरु नै अनेक रोगहरुबाट ग्रसित, अवसादग्रस्त, आत्महत्याको सोच तथा आत्महत्या जस्ता जघन्य समस्याहरुबाट ग्रसीत छन् । श्रद्धेय ओशो भन्नुहुन्छ, “संसारको अनुभवलाई हेर्दा धन, शक्ति, प्रसिद्धिबाट प्राप्त भौतिक सुख, सुविधाहरु नै समस्याका कारक बनेका देखिन्छन् । धन, शक्ति र प्रसिद्धिले नै सबैभन्दा बढि दुःख, पिडा, बेखुशी, अशान्ति जन्माउँछन् तथा कमाउँछन् ।” व्यस्टि अर्थशास्त्रको उपयोगीताको ह्रास नियमका अनुसार भौतिक संसारबाट प्राप्त हुने सुख सुविधाहरुले मानिसको मनलाई सन्तुष्ट गर्ने क्रम घट्दो हुन्छ जस्तोकि हामीले कुनै वस्तु तथा सुविधा अत्यन्तै चाह गरेर प्राप्त गर्छौं, त्यसले हामीलाई केही दिन खुव सुख, सुविधा र खुशी प्रदान पनि गर्छ तर समय वित्दै जाँदा मानिसको मन त्यो वस्तु तथा सेवाबाट भरिदै जान्छ र त्यसको भोगप्रति उसको रुची घट्दै जान्छ र विस्तारै उसको इच्छा त्यो भन्दा उच्चस्तरको वस्तु तथा सेवा, सुविधा प्राप्त गर्नमा तल्लीन हुन्छ र एवंरीतले मानिस चेतनामा बाचुन्जेल यो प्रक्रिया चलिरहन्छ तर मानिसको मन कहिल्यै तृप्त हुदैन तथा तृप्ति दिगो रहदैन र भौतिक संसारका सुख, सुविधाहरुबाट मानिसले कहिल्यै दिगो रूपमा खुशी, शान्ति र आनन्द हासिल गर्न सक्दैन । तर अध्यात्म साधनाबाट प्राप्त हुने पराभौतिक तथा अलौकिक उपलव्धि खुशी, शान्ति र आनन्दमा अर्थशास्त्रको उपयोगीताको ह्रास नियम लागू हुदैन । अध्यात्म साधनाको माध्यमबाट मानिसको जीवनमा जति-जति खुशी, शान्ति र आनन्द आउँछ यसले साधकलाई उतिनै बढि सन्तुष्टी तथा तृप्ति प्रदान गर्दै जान्छ, विचारहरु स्थिर हुन्छन् र मन शान्त हदै जान्छ, साधकका इच्छा चाहनाहरु सिमित हुदै जान्छन् र साधक वैराग्यताको अवस्थामा स्थित हुदै जान्छ, आनन्दित जीवनकालागि वैराग्यता  वरदान हो जसमा केवल पलपल बढिरहने खुशी, शान्ति र आनन्द मात्र छ किनकी 'खुशी' वाहिरका वस्तु तथा सुविधाहरुको मद्धतले आफ्नै मनभित्रबाट प्रकट हुन्छ, 'शान्ति' मन तथा भावनाको तृप्ति भएपछि आफ्नै अन्तरजगतबाट प्राप्त हुन्छ र आनन्द आत्मज्ञान, परमात्मा साक्षातकारबाट प्राप्त हुन्छ, परमात्मा साक्षातकारपछिको मोक्षको अवस्थामा परमानन्द, सतचितानन्द प्राप्त हुन्छ जो निरन्तर बढिरहन्छ र चीरकाल(पछिल्ला पुनरजन्महरुसम्म) रहीरहन्छ ।  


आफ्नो जीवन त जनावर, पंक्षी, जीव, वनस्पतिहरुले पनि पाल्दछन्, मनुष्यको कर्तव्य आफूभन्दा माथि उठेर अरुको जीवन सहज बनाउनु हो तव मात्र उ सर्वश्रेष्ठ प्राणी कहलिन्छ, आफ्नोमात्र जीवन पाल्ने मानिस प्रकृतिको नियम अनुसार जनावर, पंक्षी, जीव, वनस्पति सरह नै मानिन्छ । वर्तमान अवस्थासम्म संसारमा सर्वश्रेष्ठ प्राणी मानिस मात्र हो तर सबै आम मानिसहरु यो वर्गमा पर्दैनन् । ज्ञानी शिद्ध महापुरुष(मुक्त आत्मा अर्थात चेतना) र सर्वकल्याणको चिन्तन् गर्ने र त्यसउपर काम गर्ने समाजसेवी मनहरु सर्वश्रेष्ठताको वर्गमा पर्दछन् तर यो संख्या अत्यन्त न्यून छ, यसकारण पृथ्वीमा हत्या, हिंसा, युद्ध, अन्याय, प्रदुषणका विपत्तिहरु बढ्दै गएका छन् र पृथ्वी तथा सिंगो प्रकृति प्रलयको अवस्थामा पुगेकोछ । अहिले नेपालमा बाढी, पहिरोले मच्चाएको विध्वन्स यसैको ज्वलन्त परिणाम हो, तसर्थ हामी मानिस जागौं, प्रकृति बचाऔं र आफूलाई सर्वश्रेष्ठ प्राणीको श्रेणीमा पुर्याउँ ।


वास्तविक सफलताका मूल गुणहरु

पूवीर्य अध्यात्म विज्ञानको अनुसार मानिसले जीवनमा जे सुकै कर्म गरोस, जस्तो गरोस, जसरी गरोस ती कर्महरुको माध्यमबाट उसको जीवनमा आउने खुशी, शान्ति र आनन्द नै वास्तविक सफलता हो । खुशी अरु व्यक्ति तथा वाहिरका वस्तुका सहयोगवाट प्राप्त हुन्छ तर आउन चाहिं म भित्रैबाट आउँछ किनकी खुशी हुन सक्ने क्षमता बाहिर कतै नभएर म भित्रै छ । शान्ति आफ्नै कारणले आफूभित्रबाट नै आउँछ । आनन्द आत्मा अर्थात चेतना अर्थात परमात्माबाट प्राप्त हुन्छ, आनन्द अकारण घटित हुन्छ र अक्षय अर्थात कहिल्यै क्षय नहुने प्रकारको हुन्छ । मानिसको शरीर शारीरिक परिश्रमबाट सुखी, खुशी, शान्त र आनन्दित हुन्छ । मन सकारात्मक सोच, विचार गर्दा सुखी, खुशी, शान्त र आनन्दित हुन्छ । भावना प्रेमका अनेक स्वरुपहरु– स्नेह, मायाँ, मैत्री, श्रद्धा, दया, करुणा, सेवा, परोपकार अरुमा संचारीत गर्दा खुशी, शान्त र आनन्दित हुन्छ र आत्मा अर्थात चेतना यी सबै पुण्य कर्महरुका कारण परमात्मामा स्थित भएपछि सुखी, खुशी, शान्त र आनन्दित हुन्छ र यही नै मनुष्य जीवनको वास्तविक सफलता हो । बुद्धत्व प्राप्त सिद्ध पुरुषहरु भन्छन् मनुष्यको जीवनमा सबैभन्दा ठूलो सफलता मोक्षको प्राप्ति हो र सबैभन्दा ठूलो असफलता आत्महत्या हो । bsirjana@gmail.com


Friday, 27 September 2024

चेतनाको विकास सैद्धान्तिक ज्ञान र व्यवहारीक अभ्यासबाट हुन्छ

                                            डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन





विषय प्रवेश

चेतना आफूभित्र र आफू वाहिरका सूचना तथा गतिविधिहरुबारे जान्न सक्ने क्षमता, शक्ति अर्थात उर्जा हो । अध्यात्म विज्ञानको परिभाषा अनुसार मानिसको चेतना एउटै हुन्छ । अध्यात्म विज्ञानको भाव अनुसार नै प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) ले पनि स्वीकार गरेको छ कि मोक्ष(इनलाइटेनमेन्ट) तथा निर्वाणको अवस्थामा त सारा ब्रह्मान्डकै चेतना एउटै हुन्छ जसलाई ब्राम्ही चेतना अर्थात विश्व चेतना(कस्मीक कन्सीवसनेस) भनिन्छ । तर आफूले बुझ्न र अरुलाई बुझाउन सरलीकृत गर्ने उदेश्यले श्रेष्ठ(कसमिक) तथा सिंगो चेतनालाई जानीजानी दुई प्रकारमा विभाजन गरिएको छ– (१)भोग चेतना, र (२)योग चेतना । संसारमा मानिस दुईप्रकारका छन्– (१)संसारी, र (२)संन्यासी । हरेक मानिसको चेतनाको विकास सैद्धान्तिक ज्ञान र व्यवहारीक अभ्यासबाट हुने गर्दछ । संसारी मानिसहरुको चेतनाको विकास उसले गर्ने दैनिक गतिविधिहरुको सिकाइबाट हुन्छ भने संन्यासीहरुको चेतनाको विकास दैनिक सिकाइकसाथै अध्यात्म विज्ञानका महत्वपूर्ण विषय योग तथा ध्यान  साधनाबाट हुन्छ । योग तथा ध्यान साधनाका सैद्धान्तिक ज्ञान र व्यवहारीक अभ्यासहरुले मानिसको चेतनामा स्तरोन्नती गराउँछ र मानिसले आत्मज्ञान अर्थात तत्वज्ञान अर्थात ब्रह्मज्ञान हासिल गरि अन्तत्वगत्वा मोक्ष तथा निर्वाणको अवस्था प्राप्त गर्दछ ।


भोग चेतना र योग चेतना
 
ओशो भन्नुहुन्छ, “मानिसको पूर्ण स्वरुप चेतना–मन–शरीर मिलेर बनेको हुन्छ । ‘मन’ शरीर र चेतनाको विचमा छ, शरीर भौतिक हो, चेतना पराभौतिक हो र मन भौतिक र पराभौतिक दुवै हो । मनलाई शरीरतिर फर्कायो भने मन भौतिक बन्दछ र यो भोगको अवस्था हो, मानिसको चेतना भोगतिर आकर्षित हुन्छ जसलाई ‘भोग चेतना’ भनिन्छ र मानिस संसारी बन्दछ । तर मनलाई चेतनातिर फर्कायो भने मन पराभौतिक बन्दछ र  यो योगको अवस्था हो, मानिसको चेतना योगतिर आकर्षित हुन्छ जसलाई ‘योग चेतना’ भनिन्छ र मानिस संन्यासी बन्छ । मनलाई सन्तुलित तथा सम्यक किसिमले चेतना र शरीर दुवैतिर फर्कायो भने मानिस मानव बन्दछ । हरप्रकारले सक्षम, सकारात्मक, मानवीयता तथा सर्वकल्याण्को भाव राख्ने र यस्ता गतिविधिहरुमा सदा चिन्तन् गर्ने मानिस पूर्ण मानव हो । हामी मानिसको मनलाई चेतनातिर फर्काउन प्रेरित गर्छौं र उसलाई ओशो संयासीको सम्मान प्रदान गर्छौं ।” ओशोको अर्थ हो पानीको थोपा सागरमा मिलेको अवस्थामा थोपाले गर्ने सागरीय अनुभूति हो र संयासीको अर्थ हो आफ्नो आत्मा अर्थात चेतना परमात्मासंग मिलेको अवस्थामा उसको चेतनाले गर्ने इश्वरीय परमानन्दको अनुभूति हो । संन्यासीले भौतिक संसारप्रतिको भोगमा तटस्थ(न्युनतम आवश्यकता मात्रको भोग) रहेर र पराभौतिक संसार अर्थात आध्यात्मिकताको यात्रामा अग्रसार भएर परमात्माको अनुभूति गर्दछ । यसैकारण ओशो तथा ओशोका आध्यात्मिक मुल्य मान्यताहरुलाई मान्ने वहाँका अनुयायीहरुलाई ओशो संन्यासीको गरिमामय विशेषण प्रदान गरिएको हो ।


भोग चेतनाको विकास

मानिस जन्मेदेखि भौतिक संसारमा उ सहज तथा सरल ढंगले रहनकालागि आवश्यक पर्ने सबै प्रकारका जानकारी तथा गतिविधिहरु सिक्दै जाँदा विकास हुदैजाने चेतनाको रुपमा बुझ्ने गरिन्छ भोग चेतनालाई, यो भौतिक संसारको भोगसंग सम्वन्धित रहेको छ । मानिसमा भोग चेतनाको विकास कसरी हुन्छ भन्ने सन्दर्भमा तीनवटा उदाहरणहरुले बुझौं– (१)चार वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता, (२)तीन वर्षसम्म बोली नफुटेकी बच्ची र उनको वास्तविकता, (३)अढाई वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता । यी सबै सत्य घटनामा आधारीत तथ्यहरु हुन् । हामी मध्य धेरैले मोग्ली, टार्जन जस्ता मानिसको बच्चा जंगली जनावरहरुसंग एडप्ट भएको र उसको चेतनाको विकास त्यस्तै प्रकारले भएको कथामा आधारीत सिनेमाहरु हेरेका छौं होला । सिनेमा अधिकतर काल्पनिक विषयहरुमा आधारीत हुने भएपनि केहीले मानव समाजको सत्यतथ्य कथाहरुलाई पस्किएका हुन्छन् । यी तीनवटा उदाहरणहरू लगभग यस्तै सत्यतथ्यमा आधारीत छन् । बालमानोविज्ञहरूका अनुसार जन्मिएको एक–दुई वर्षसम्म बच्चाको बोली फुटेन, उसले आफ्ना प्रश्न तथा जिज्ञासाहरु उजागर गर्न सकेन तथा अरुसंग दोहोरो संम्वाद गर्न सकेन भने बच्चामा र  हुर्किएपछि पनि उसको चेतनाको विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन सक्दैन ।


चार वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता*

नेपालको दुर्गम प्रदेश कर्णाली क्षेत्रमा काम गर्दा भएका हृदय हल्लाउने ज्वलन्त अनुभवहरु समेटीएको चिकित्सक डा. नवराज के.सी.को पुस्तक ‘शुन्यको मूल्य’ बाट साभार गरिएको सत्यतथ्य घटना हो यो । चार वर्षसम्म बोली नफुटेको बच्चाको बोली नफुट्नुको कारण जान्न र उपचार गर्न अनेक जोरजाम गरेर अति बिपन्न एकलआमा बच्चालाई लिएर अस्पताल गइन् । तर बच्चाको सबै जाँच रिपोर्टहरु सामान्य आयो, आमा डराइन र सोधिन डाक्टरलाई, "अव के उपाए छ त ?" डाक्टरले जुक्ति लगाए र बच्चालाई चकलेट देखाए बच्चाको भावनात्मक प्रतिक्रिया जान्न, बच्चाले हत्तपत्त चक्लेट लियो, खायो र खुशी व्यक्त गर्यो ढाडेविरालोको जस्तो आवाज निकालेर । डाक्टर छक्क परे र भने, “यो त बोल्छ त !” यसपछि डाक्टरको खोज शुरु भयो बच्चा कस्तो माहोलमा हुर्केको रहेछ भन्ने विषयबारे जान्न । आमाले हृदयबिदारक वास्तविता सुनाइन्, “बिहे भयो, बच्चा जन्मियो, बच्चाको बाउ इन्डिया कमाउन गएको तर फर्केर आएन, अव तँसंग आउदिन भनेर गएको थियो, आधा गालो सानो छंदै डढेको हो रे मेरो, म कुरुप भएकोले गाउँघरमा केही, कोही बिरामी तथा तलमाथि भयो भने मलाई बोक्सी दोष लगाएर कुटपिट गर्थे, थुक्थे, फोहोर खुवाउथे, त्यसैले बच्चा र म गाउँबाट अलग्ग वनको छेउमा बस्छौं, सानो झुप्रो बनाएको छु । बोल्ने र बोलाउने कोही मान्छे छैनन् हामीसंग, काम नगरी मुखमा माड लाग्दैन, बच्चासंगै रोटी, दुध र पानी राखेर बच्चालाई डोकोले छोपेर डोकोको माथि भारी ढुङ्गा राखेर दिनभरी काम गर्न जान्छु, नछोप्यो भने जंगली बिरालाहरु आएर खानेकुरा खाइदिन्छन्, स्याल पनि आउँछन्, स्पालले त बच्चालाई पनि खाइदिन सक्छ ।” डाक्टरलाई अनुमान भयो बच्चा स्याल र विरालाहरुसंग हुर्किएको रहेछ त्यसैले चकलेट पाउदा उसले विरालोको आवाजमा खुशी व्यक्त गर्यो । डाक्टरले एक मुठ्ठी चकलेट दिदै आमालाई सिकाए अवदेखि बा भन, आमा भन, भात, तरकारी भन.... भनेर सिकाउदै चकलेट दिनु तपाईंको बच्चा बोल्छ, उसले घरमा मानिसको बोलीनै नसुकेको र दोहोरो सम्वादको  व्यवहारिक अभ्यास नभएको कारण नबोलेको हो, कुनै रोग लागेको छैन भनेर घर पठाए । विस्तारै डाक्टर र आमाको प्रयासमा बच्चा मजाले बोल्न थाल्यो र परिस्थिति समान्य भयो । कुरुप हाम्रो समाज अनि कठै ती निमुखा वर्गहरू !


तीन वर्षसम्म बोली नफुटेकी बच्ची र उनको वास्तविकता**

इन्डियनमूलकी दुवाइ, युएइ(UAE) निवासी आध्यात्मिक चिन्तक, न्यूरोलोजिस्ट डा. श्वेताको पनि तीनवर्ष पुग्दासम्म बोली फुटेन, उनका बाबा–आमा दुवै चिकित्सा क्षेत्रमा सम्वद्ध भएकोले अत्यन्तै व्यस्त जीवनशैली थियो । उनलाई पनि डाक्टरले जाँच गर्दा केही रोग तथा समस्या देखेनन् । डाक्टरले घरमा बोल्ने माहोल तथा दोहोरो सम्बादका नियमित व्यवहारिक अभ्यास नपुगेर बच्ची नबोलेकी हुन् परिवारमा लगेर राख्नु बोल्नेछिन् भनेपछि उनलाई इन्डिया हजूरआमाकहाँ लगेर राखियो र केही समयपछि उनी बोल्न थालिन । आश्चर्यको कुरा, तीन वर्षसम्म बोली नफुटेको बच्चीको पहिलो बोली लामो वाक्य सनातन गायत्री मन्त्र थियो । तीन वर्षकी बच्चीले त्यति लामो वाक्य गायत्री मन्त्र शुद्धसंग उच्चाहरण गरेको सुनेर सबै छक्क परे । बच्चीको बाबा–आमा नास्तीक थिए, उनीहरुले हामीले घरमा कहिल्यै पनि यो मन्त्र उच्चाहरण गरेका छैनौं, उनलाई कतैको मन्दिर पनि लगेका छैनौं र घरवाहिर त्यस्तो माहोलमा पनि लगेका छैनौं भने । तर बच्चीको आमाले पुरानो कुरा सम्झिन  सुनाइन, श्वेता गर्भमा छँदा आमाले नर्सिगंको तालिम लिएको ठाउँमा गायत्री मन्त्र वाचन गरिन्थ्यो दिनदिनै र आमाले यो वाचन सुनिरहेकी हुन्थिन संधै । यो विषय महाभारतको कथामा उल्लेखित राजकुमार अभिमन्यु माता सुमद्राको गर्भमा रहदा भगवान श्रीकृष्णले श्रेष्ठ पिता धनुरधर अर्जुनलाई चक्रभ्यूको प्रशिक्षण दिदा अभिमन्युले गर्भमै सुनेको र सिकेको तर कारणवस पूरा सुन्न तथा सिक्न नसकेको पराअलौकिक विषयसंग मिल्दोजुल्दो तथा सम्वन्धित छ । यस्ता सत्यतथ्यमा आधारीत उदाहरणहरु हाम्रा गाउँसमाजमा धेरै छन् ।
 

अढाई वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता***
(पंक्तिकार, म स्वयंको अनुभव)

मेरो ठूलो बाबु डा. मुकेश(PhD)को पनि अढाइ वर्षसम्म बोली फुटेन, आठ महिनामा पहिलो दाँत माथिपट्टीबाट आयो, अठार महिनामा गोडा टेकेर हिंड्यो, डाक्टर जाँचको रिपोर्ट सबै सामान्य र बच्चा स्वस्थ थियो । हाम्रो संस्कृति तथा परम्परा अनुसार बच्चा गर्भमा रहदा आमा भगवानको दर्शन गर्न मन्दिर जानु हुदैन भनिन्छ, गयो भने बच्चाको बोली फुट्दैन र बच्चा जन्मिएपछि त्यही मन्दिरमा लगेर भगवानसंग माफी र बोली फुटोस भनेर वरदान माग्नु पर्छ । बाबु गर्भमा रहेको तेस्रो महिनामा थाहा नपाएर म दक्षिणकाली देवीको मन्दिर दर्शन गर्न गएको थिएं । बाबु अढाई वर्षसम्म नबोलेपछि यही परम्परा अनुसार हामीले उसलाई दक्षिणकाली देवीको मन्दिर लिएर गयौं र दक्षिणकाली पुर्याएर पूजा, प्रार्थना सम्पन्न भएपछि बाबु त्यहीं मन्दिरमै पहिलो पटक बोल्यो । आश्चर्यको कुरा, अढाई वर्षसम्म कराउने, चिच्याउने तर नबोल्ने बच्चा मन्दिरै अगाडिको खोलाको जल अचाउँदा हाँस्दै एक्कासी उसले कुरा पुयाएर अर्थ लाग्ने सिंगो वाक्य “पानी कुलुलु बग्यो” भनेको थियो । हामी खुशी र आश्चर्याले अवाक भएका थियौं त्यतिबेला र विश्वास अझ गहिरो भएर गयो इश्वरको परालौकिक शक्तिप्रति । हाम्रो परिवारमा नबोल्ने माहोल थिएन, घरभरी परिवार भरीभराउ थियौं, अझ मैले त बाबु एक वर्षको भएपछि मेरो बुवा–आमासंग(जब्दि -४, सर्लाही) छ महिना छोडेको थिएं आफ्नो पढाई पूरा गर्ने शिलशिलामा, त्यहीपनि उसको बोली फुटेन । सायद चलिआएको संस्कृति तथा परम्परामा भनिए अनुसार इश्वरको केही अलौकिक तथा पराभौतिक चमत्कार नै थियो त्यो । यस्ता सत्यतथ्यमा आधारीत उदाहरणहरु हाम्रा गाउँसमाजमा धेरै छन् ।


माथि उल्लेखित उदाहरणहरूबाट यो स्पष्ट बुझ्न सकिन्छ कि मानिसको भोग चेतनाको विकासमा  परिवार, साथीसंगी, समाजसंगको संगत र दैनिक व्यवहारिक अभ्यासहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर मानिसको चेतना एउटै हुन्छ, सकारात्मक जीवनशैली जीउने तथा अध्यात्म साधनाका व्यवहारिक अभ्यासहरू गर्दै जाने क्रममा भोग चेतनाको विकास तथा स्तरोन्नती हुदै जादा भोग चेतनानै योग चेतनामा परिणत हुन जान्छ । मानव समाजमा आम रुपमा देखिदै आएको तथ्यका अनुसार अधिकांशतः मानिसहरु भोगबाट तृप्त हुदै गएपछि वैराग्य तथा संन्यासी जीवनशैली अंगालेपछि योगमा प्रवेश गर्दछन् र उनीहरूको भोग चेतनाको स्तरोन्नती भएर योग चेतनामा परिणत हुन्छ भने केही मानिसहरु जन्मदै परालौकिक शक्ति तथा इश्वरको आशिर्वाद आफू संगसंगै लिएर आएका हुन्छन् र जीवनको शुरु अवस्थादेखि नै योग चेतनामा जिउने गर्दछन् ।


योग चेतनाको विकास

मानिसले आफ्नो मनलाई संसारतिर फकार्यो भने आफूलाई हराउँछ तथा आफूबाट टाढा हुन्छ तर मनलाई आफूतिर फर्कायो भने आफूलाई भेटाउँछ र आत्मज्ञान प्राप्त गर्छ, आत्मज्ञान नै परमात्मामा स्थित हुने तथा मोक्ष प्राप्तिको पमुख कडी तथा पहिलो कदम हो । आफू अर्थात ‘म’ भनेको शरीर होइन, आत्मा अर्थात चेतना हो र यो परमात्माको अभिन्न अंश हो । यो सत्य हो कि हामीलाई भौतिक जीवनमा मानिसबाट मानव बन्न भौतिम संसारका भोगहरुले सहयोग गर्दछन् तसर्थ हाम्रो हरप्रकारको विकासकोलागि भौतिक संसारको भोग आवश्यक र पुर्णतः जायज छ । भौतिक संसार र यसको भोग पनि परमात्माकै सृष्टि हो र यो भोगकैलागि सृष्टि गरिएको हो तर संसारलाई भोग कसरी गर्ने भन्ने चाहिं प्रमुख सवाल हो । भगवद् गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ, “सांसारीक सुख, सुविधाहरुलाई तटस्थ तथा साक्षी भएर भोग गर्नु नै योगतिरको यात्रा प्रारम्भ गर्नु हो, यो नै वास्तविक वैराग्य अर्थात संन्यास जीवन हो र संन्यासी मात्र परमात्मामा योग हुन योग्य हुन्छ ।” योग विज्ञानको साधनाबाट नै योग चेतनाको विकास हुन्छ । ‘योग’ शरीर, मन हुदै आत्मा तथा आत्मवोध र परमात्मा तथा मोक्षसम्म पुर्याउने अति महत्वपूर्ण सवारी साधन हो । योग सात प्रकारका छन्– कर्म, तन्त्र, हठ, भक्ति, ज्ञान, ध्यान, सांख्य तथा राज योग । आफ्नो स्वभाव अनुसारको योग र यसका विधिहरु चयन गरि त्यसको निष्ठापूर्वक अनुशरण गरेर परमात्मातिरको यात्रा गर्ने क्रममा योग चेतनाको क्रमशः स्तरोन्नती हुदै जान्छ र मानिस मोक्षमा उपलव्ध हुन्छ ।

बुद्धत्वप्राप्त परम प्रकाशित सिद्ध महापुरुषहरुका अनुसार योग साधनामा ‘ध्यान’ अति महत्वपूर्ण सबै योगका प्रकारहरुको साझा विषय र प्रभावकारी व्यवहारीक साधना विधि हो । योग चेतनाको विकास तथा स्तरोन्नतीमा ध्यानका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरुले सबैभन्दा बढि र महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । ध्यान के हो र यसले मानिसको चेतनाको स्तरोन्नतीमा कस्तो प्रभाव पार्दछ भन्ने सन्दर्भमा बुद्धत्वप्राप्त महापुरुषहरु भन्नुहुन्छ–
ड्ड ध्यान त्यस्तो ‘अग्नि’ हो जसले मानिसका सबै नकारात्मक विचार, विकार तथा बानीहरु जलाएर भस्म पारिदिन्छ र काम लाग्ने तथा आवश्यक विचार तथा बानीहरुलाई खारेर उत्कृष्ट बनाएर मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।
ड्ड ध्यान त्यस्तो ‘मदानि’ हो जसले मानिसका सबै विचार, विकार तथा बानीहरुलाई मथेर काम लाग्ने विचार तथा बानीहरुलाई नौनीर्झै माथिमाथि उतारीदिन्छ र काम नलाग्ने तथा तत्काल आवश्यक नपर्ने विचार तथा बानीहरुलाई दहीको छोक्रा झैं तलतल थिगारी दिन्छ र मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।
ड्ड ध्यान त्यस्तो ‘प्रकाश’ हो जसले मानिसलाई आफूमा भएका राम्रा तथा नराम्रा, काम लाग्ने तथा नलाग्ने विचार तथा बानीहरुलाई छर्लंग देख्न सक्ने प्रकाश प्रदान गरि राम्रा, काम लाग्ने र आवश्यक विचार तथा बानीहरुलाई प्राथमिकताका आधारमा स्पष्ट देखाइदिन्छ र मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।
ड्ड ध्यान त्यस्तो ‘रेती’ हो जसले मानिसको चेतनालाई निरन्तर रेती लगाएर तथा अर्जापेर धारिलो बनाइदिन्छ र मानिसलाई राम्रो, नराम्रो र सही, गलत छुट्याउन सक्ने क्षमता प्रदान गरि उसको चेतनाको स्तरोन्नती गर्दछ । 
ड्ड ध्यान त्यस्तो ‘कुचो’ हो जसले मानिसको विचार, मन, भाव तथा चेतनामा रहेका विकारहरुको सफाइ गरेर मानिसको शरीर, मन भावना, बुद्धि, विवेक, चित्त, अंहकारको शुद्धिकरण गरि मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।

समग्रमा भन्नुपर्दा, ध्यान एकाग्रता हो जसले निरन्तर मानिसलाई चाहिएका अति आश्यकीय पक्ष तथा विषयहरुमा एकाग्र तथा केन्द्रित भइरहन मद्धत गर्दछ र मानिसले जीवनमा चाहेको इच्छा, कामना पूरा गर्दछ जसरी म्याग्नीफाइगं ग्लासले सुर्यका छरिएका किरणहरुलाई एकत्रित गरेर अत्यधिक ताप उत्पन्न गरि आगो बाल्दछ त्यसैगरि ध्यानले मानिसका विभिन्न विषयहरुमा छरिएको चेतनालाई एकिकृत गरि उसलाई आवश्यक परेको विषयमा केन्द्रित हुन र उक्त विषयको स्तरोन्नती गर्न भरपुर मद्धत गर्दछ ।

अन्त्यमा
भोग चेतनाको विकास परिवार, साथीसंगी, समाजसंगको संगतको सिकाइबाट र सम्बन्धित विषयहरुका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरुबाट हुन्छ र योग चेतनाको विकास अध्यात्म, योग, ध्यानसंगको संगतको सिकाइबाट र सम्बन्धित विषयहरुका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरुबाट हुन्छ । bsirjana@gmail.com

..............................................
सन्दर्भ सामग्री:
*डा. नवराज
साभारः नवराज के.सी., (बि.सं. २०७९) । शुन्यको मूल्य । सास, साहस र स्नेहको कथा । अध्याय - १, पृष्ठ - ११।  सांग्रीला मिडिया ग्रुप प्रा.लि., काठमाडौं, नेपाल ।

**डा. श्वेता

***डा. मुकेश

Wednesday, 25 September 2024

सकारात्मकता नै सुख, शान्ति, समृद्धिको मूलआधार हो

                                   डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन





विषय प्रवेश

‘सकारात्मक’ शव्दको प्रयोग मानिसको जीवनयापनसंग सम्वन्धित हरेक घटना तथा विषयहरुमा गर्ने गरिन्छ । कसैलाई सरसल्लाह तथा उपदेश दिदा अधिक मात्रामा प्रयोग गरिने शव्द सकारात्मकसता नै हो– सकारात्मक सोच्नु पर्छ, सकारात्मक विचार गर्नुपर्छ, सकारात्मक बन्नु पर्छ, सकारात्मक हुनु पर्छ, सकारात्मक भाव राख्नु पर्छ, सकारात्मक दृष्टिकोण बनाउनु पर्छ, नकारात्मकतामा पनि सकारात्मकता खोज्नुपर्छ, हरेक घटना तथा विषयहरुमा सकेसम्म सकारात्मकता खोज्नु पर्छ... आदि । सकारात्मक बन्नु तथा हुनु शव्द तथा सिद्धान्तमा प्रयोग गरिए जस्तो सहज तथा चुट्कीमा हुने विषय होइन । यसैकारण सकारात्मकताबारे धेरै प्रश्न तथा जिज्ञासाहरु उठ्ने गरेका छन्– (१)सकारात्मक बन्ने क्रिया हो या हुने अवस्था हो ? (२)सकारात्मक बन्न तथा हुन सैद्धान्तिक ज्ञान महत्वपूर्ण हुन्छ कि व्यवहारीक अभ्यास महत्वपूर्ण हुन्छ ? (३)सकारात्मक बन्न तथा हुन आहार, विहार र व्यवहारको के, कस्तो र कति भूमिका रहन्छ ?  (४)सकारात्मक बन्न तथा हुन अध्यात्म साधना, योगासन, प्राणायाम र ध्यानको के, कस्तो र कति भूमिका रहन्छ ? (५)सकारात्मक बन्न तथा हुन शरीर, मस्तिष्क, मन, भावना र चेतनाको के, कस्तो र कति भूमिका रहन्छ ?


सकारात्मकता बढ्ने तथा बढाउने विज्ञान 

अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञानको अत्याधूनिक अंग प्रमात्रा विज्ञान(Quantum Science) का अनुसार ब्रम्हाण्डमा स्थित हरचिज उर्जा हो । ब्रम्हाण्डमा हरक्षण असीम उर्जाको तरङ्गको प्रवाह चलिरहेको हुुन्छ किनकी यो ब्रह्माण्ड नै पूर्णतः उर्जाका तरंगहरुले निर्मित छ र ब्रम्हाण्डमा स्थित प्रकृतिमा रहेका हामी सबै मनुष्य, प्राणी, पंक्षी, वनस्पति, जड् वस्तु तथा पदार्थहरु सबै उर्जाका तरंगहरु नै हौं । कुनै एकको उर्जाको तरंगको गतिविधि तथा गुणको प्रत्यक्ष प्रभाव अर्कोको उर्जाको तरंगमा सहजै पर्दछ, यो तथ्य शाश्वत सत्य हो । यसर्थ, मानिसका सोच, विचार, भावना तथा चेतनाका उर्जाका तरङ्गहरु र ब्रम्हाण्डमा अविरल चलिरहने उर्जाका तरङ्गहरुको सम्योगबाट सारा सृष्टि चलिरहेको छ । अध्यात्म विज्ञान र प्रमात्रा विज्ञान दुवैले यो तथ्यलाई मान्यता प्रदान गरेका छन् कि मानिसले हरक्षण गर्ने हरेक प्रकारका सकारात्मक तथा नकारात्मक सोच, विचार, भावहरुद्वारा उर्जाका तरंगहरूको प्रवाह ब्रम्हाण्डमा छोडिरहेका हुन्छन् र यी उर्जाका तरगंहरुले ब्रम्हाण्डमा निरन्तर प्रवाह भैरहने त्यस्तै प्रकारका सकारात्मक तथा नकारात्मक उर्जाका तरंगहरुलाई आफूतिर आकर्षित गरिरहेका हुन्छन् र यही प्रक्रियाबाट मानिसको जीवन चलिरहेको हुन्छ, मानिसको जीवनमा घटनाहरु घटिरहेका हुन्छन् । हामीले सकारात्मक उर्जाको तरगं पठाइरहेका छौं भने ब्रम्हाण्डबाट सकारात्मक उर्जाको तरगं आफूतिर आकर्षित गर्छौं र नकारात्मक उर्जाको तरगं पठाइरहेका छौं भने ब्रम्हाण्डबाट नकारात्मक उर्जाको तरगं नै आफूतिर आकर्षित गर्छौं र यही उर्जाका प्रभावका कारण हामी सकारात्मक तथा नकारात्मक स्वभावका बन्दछौं ।  हामी कस्तो बन्छौं तथा हुन्छौ यो सबै हाम्रो सोच, विचार तथा भावमा निर्भर गर्दछ तसर्थ सकारात्मक बन्न तथा हुन हरेक व्यक्तिले आफ्नो सोच, विचार तथा भावमा सकारात्मकता ल्याउनु अनिवार्य हुन्छ । ब्रम्हाण्डबाट सकारात्मक उर्जाका तरगंहरु आकर्षित गरेर जीवन सरल, सहज, शान्त, समृद्ध बनाउन सबैले सबैलाई सकारात्मक बन्नु पर्छ तथा हुनु पर्छ भनेर सल्लाह दिने गरिन्छ तर कसरी सकारात्मक बन्ने तथा हुने भन्ने सही तरिका तथा उपाय कसैले कसैलाई सिकाउदैनन् किनकी सकारात्मक बन्नु तथा हुनु कठिन, अलिक समय लाग्ने र अत्यन्तै बृहत विषय हो । वास्तवमा सकारात्मक बन्ने तथा हुने कुरा सैद्धान्तिक ज्ञानमा कम व्यवहारीक अभ्यासमा बढि निर्भर गर्ने विषय हो ।


बुदागत विश्लेषण

(१)‘सकारात्मक’ बन्ने क्रिया हो या हुने अवस्था हो ?
यस विषयका जानकारहरु  भन्छन्, ‘सकारात्मक’ बन्ने क्रिया नभइ हुने अवस्था हो किनकी सकारात्मक बन्नु तथा हुनुमा मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाले गर्ने गतिविधिहरुको प्रत्यक्ष समलग्नता, भूमिका तथा प्रभाव रहेको हुन्छ र मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा आन्तरीक तथा विविध प्रकारका वाहिय गतिविधि, घटना तथा विषयहरुको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । सामान्य व्यक्तिहरुले सकारात्मक बन्ने तथा हुने सल्लाह तथा सुझावहरु केही हदसम्म अनुशरण गर्न प्रयाश गर्ला र संधैकालागि नभएपनि क्षणभरका लागि सफल पनि हुन सक्ला तर रोगी तथा विविध समस्याहरुबाट ग्रस्त विशेष प्रकारका मानिसहरुकोलागि सकारात्मक बन्न अत्यन्त कठिन हुन्छ किनकी सकारात्मक बन्ने क्रिया होइन क्रमशः हुने अवस्था हो । उदाहरणकालागि कोही शारीरिक रुपमा रोगी तथा समस्याग्रस्त छ भने उसलाई सकारात्मक बन तथा होउ भनेर उ तत्काल सकारात्मक बन्न तथा हुन सक्दैन । कोही मानसिक रुपमा रोगी तथा समस्याग्रस्त, तनाव तथा चिन्ताग्रस्त छ, विक्षिप्त छ भने उ तत्काल सकारात्मक बन्न तथा हुन सक्दैन । त्यस्तै कोही भावनात्मक रुपमा सबैतिरबाट निराश भएको तथा हरप्रकारले पूर्णतः भावनात्मक रुपमा टुटेको छ, आत्मविश्वास हराएको छ तथा आत्मसम्मान गुमाएको छ भने त्यस्तो व्यक्ति पनि तत्काल सकारात्मक बन्न तथा हुन सक्दैन । शरीर, मन, भावनामा आएका यसप्रकारका रोग तथा समस्याहरुले मानिसको आत्मा अर्थात चेतनासम्म गहिरो नकारात्मक प्रभाव पारेका हुन्छन् । उनीहरुकालागि चरणवद्ध रुपमा विशेष प्रकारले सकारात्मक बन्ने तथा हुने प्रक्रियाहरु सिकाउनु तथा प्रशिक्षण दिनु पर्दछ । यसकालागि सकारात्मक बन्न तथा हुन सहयोय गर्ने परिस्थिति तथा विषयहरुबारे आवश्यक सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरु प्रदान गरेर मानिसको जीवनमा क्रमिक रुपमा ती सिकाइ तथा अभ्यासहरुको व्यवस्थापन गर्नु अति आवश्यक हुन्छ । तल उल्लेखित विषय तथा गतिविधिहरुमा व्यवस्थापन गर्दै जाने क्रममा मानिस स्वतः सकारात्मक हुदै जान्छ र जीवनप्रति उ पूर्णरुपले सकारात्मक बन्दछ । यसकारण सकारात्मक बन्ने क्रिया नभएर क्रमिक रूपमा हुने अवस्था हो ।


(२)सकारात्मक बन्न तथा हुन सैद्धान्तिक ज्ञान महत्वपूर्ण हुन्छ कि व्यवहारीक ज्ञान तथा अभ्यास महत्वपूर्ण हुन्छ ?
सकारात्मक हुन सैद्धान्तिक ज्ञान र व्यवहारीक ज्ञान तथा अभ्यास दुवैको महत्वपूर्ण भूमिका रहेको भएपनि सैद्धान्तिक ज्ञान भन्दा व्यवहारीक ज्ञान तथा अभ्यासलाई बढि प्राथमिकता दिइन्छ किनकी मानिसको मनले ज्ञान भन्दा अभ्यासलाई छिटो र सहज रुपले ग्रहण गर्दछ, ज्ञान बुद्धिमा जान्छ तर अभ्यास मनमा जान्छ, मन तथा भावना त्यस्ता उर्जा हुन् जसले बुद्धिलाई टेर्दैनन् व्यवहारीक अभ्यासद्वारा बसेको बानीलाई टेर्दछन् । सैद्धान्तिक ज्ञान अन्तर्गत अध्यात्म विज्ञानको महत्वपूर्ण विषय योग विज्ञानमा सिकाइएका सात्विक जीवनका आधार स्तम्बहरु यम, नियम, प्रत्याहार र धारणाका ज्ञानहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु अति आवश्यक हुन्छ ।

पाँच यम– सत्य, अहिंसा, अस्तेय, ब्रम्हचर्य, अपरिग्रहले आफूप्रति गर्ने सकारात्मक, सात्विक तथा सम्यक व्यावहारहरुबारे सैद्धान्तिक ज्ञान सिकाउँदछ । यम जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।

पाँच नियम– शौच, संतोष, तप, स्वाध्याय, इश्वर प्रणिधानले अरु तथा आफूभन्दा वाहिरको संसारप्रति गर्नुपर्ने सकारात्मक, सात्विक तथा सम्यक व्यवहारबारे सैद्धान्तिक ज्ञान सिकाउँदछ । नियम जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।

प्रत्याहार– पौष्टिकतालागि ग्रहण गर्ने आहारका साथसाथ मानिसले दैनिक जीवनमा उसका ज्ञान इन्द्रियहरुको माध्यमबाट पनि आहार ग्रहण गरिरहेको हुन्छ जसले उसको जीवन कस्ताे बनाउने भन्ने बिषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । आँखाको आहार दृश्य हो, कानको आहार श्रव्य हो, नाकको आहार सुगन्ध हो, छालाको आहार स्पर्श हो र जिब्रोको आहार पौष्टिक खानपान र उसले बोल्ने शव्द हो । यी सबै प्रकारका आहारले मानिसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । आहार जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।

धारणा– मानिसले निरन्तर मनमा कस्ता प्रकारका विषय तथा दृश्यहरुलाई धारण गर्दछ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुन्छ । हरपल मनमा विगतका पिडादायि समृतिहरु, भविश्यका असुरक्षाका भाव तथा अनिश्चित कल्पनाहरु दौडाइरहने मानिसले आफ्नो जीवनको अत्यन्तै महत्वपूर्ण समय वर्तमानलाई विगार्दछ । मानिसको मस्तिष्क हरवखत वर्तमानमा चलिरहेने भौतिक यन्त्र हो, यसले विगत तथा भविश्यका विषय, झुठ, सत्य, कल्पना, सपना, बिपना आदि छुट्याउन नसक्ने र सबै स्मृति, सोच, विचार, कल्पना, दृश्य तथा काल्पनिक चित्रहरु सबैलाई वर्तमानमा भएको वास्तविक गतिविधि तथा अवस्था ठान्ने र त्यही अनुसार काम गर्न शरीरमा सबैतिर सूचना पठाउने र हाम्रो सोच, विचार, भावना, चेतना र सम्पूर्ण जीवन नै त्यस्तै बन्ने हुनाले यस्ता विगत र भविश्यका असान्दर्भिक तथा नकारात्मक विषयहरुलाई प्रश्रय नदिएर संधै वर्तमानमा भइरहेका सकारात्मक विषयहरुसंग जीउने, वर्तमानका गतिविधिहरुलाई स्वीकार गर्ने मानिस क्रमशः सकारात्मक हुदैजान्छ तसर्थ हाम्रो मस्तिष्कमा हरपल चलिरहेने विचार तथा धारणाहरु सदा स्वस्थ, सात्विक र सम्यक हुनु अति आवश्यक हुन्छ । धारणा जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।

यम,नियम, प्रत्याहार र धारणाका सैद्धान्तिक ज्ञान तथा व्यावहारिक अभ्यासले मानिसले आफू र अरुप्रति हुनुपर्ने तथा गर्नुपर्ने धर्म, नैतिकता, निष्ठा, कर्तव्य, उत्तदायित्व, सोच, विचार, व्यवहार, आचरण, सकारात्मक भाव आदिको शुद्धिकरणकालागि जीवन उपयोगी ज्ञान प्रदान गर्दछन् ।

(३)सकारात्मक बन्न तथा हुन आहार, विहार र व्यवहारको के, कस्तो र कति भूमिका रहन्छ ? (४)सकारात्मक बन्न तथा हुन अध्यात्म साधना, योगासन, प्राणायम र ध्यानको के, कस्तो र कति भूमिका रहन्छ ?


सकारात्मक हुन मानिसले गर्ने आहार, विहार र व्यवहार स्वस्थ, सात्विक र सम्यक हुनु अति आवश्यक हुन्छ । सकारात्मक हुन र मानिसको सहज तथा सरल जीवनकालागि अध्यात्म साधना, योगासन, प्राणायम र ध्यान फरक तथा अझ विशेष प्रकारका आहार तथा व्यायाम हुन् ।


सम्यक अर्थात सन्तुलित आहार– मानिसको शरीर, मन, भावना तथा चेतनामा आहारको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । हामी जस्तो प्रकारको आहार सेवन गर्दछौं त्यस्तै बन्दै जान्छौं तसर्थ आहारको सन्दर्भमा निम्न पक्षहरुमा गंभिर हुनुपर्दछ– आहार उत्पादन गएिको मौसम तथा क्षेत्र; आहार उत्पादन गरिएको प्रक्रिया(जैविक तथा विषादीयुक्त); आहारको गुण(सत्व, रज, तम); आहार तयार गर्ने तरिका र प्रयोग गरिने भाँडा; आहार ग्रहण गर्ने तरिका र समय सबै सक्दो स्वस्थकर बनाउने प्रयास गर्नुपर्दछ ।


सम्यक अर्थात सन्तुलित विहार– मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा विहार तथा व्यायामको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । खेलकुद, नृत्य, प्राकृतिक भ्रमण, आरोहण, ट्रेकिगं, हाइकिगं, नियमित प्रातः भ्रमण, जिम, एरोबिक, योगासन, प्राणायाम विहार तथा व्यायाम अन्तर्गत पर्दछन् । सबै प्रकारका व्यायामहरुले मुख्यतः शरीरका वाहिरी अंगहरुलाई र केही हदसम्म आन्तरीक अंगहरुलाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछन् र प्राणायामले शरीरका आन्तरीक अंगहरु, मन र मानसिक अवस्थालाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछ । व्यायामपछि अनिवार्य रुपमा नगरी नहुने अर्को अति महत्वपूर्ण अध्यात्म साधनाको विषय 'ध्यान' हो । ध्यानले मन, भावना, आत्मा अर्थात चेतनालाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछ साथसाथ शरीरका वाहिरी अंग, आन्तरीक अंग र मानसिक अवस्थालाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछ तसर्थ मानिस सकारात्मक हुनकालागि विहार तथा व्यायाम सम्यक हुनु अतिआश्यक हुन्छ ।

 
सम्यक अर्थात सन्तुलित व्यवहार– यम, नियम, प्रत्याहार, धारणा, आहार, विहारले मानिसको सोच, विचार, बुद्धि, विवेक, मन, मानसिक अवस्था, भावना र चेतनामा प्रत्यक्ष प्रभाव पार्दछन् जसको आधारमा उसले गर्ने व्यवहार तथा आचरण निर्धारीत भएको हुन्छ तसर्थ मानिसको व्यवहार पनि सकारात्मकता जस्तै बन्ने क्रिया नभएर स्वतः हुने अवस्था हो । सकारात्मक तथा सम्यक व्यवहार सकारात्मकताको महत्वपूर्ण कडी हो ।


(५)सकारात्मक बन्न तथा हुन शरीर, मस्तिष्क, मन, भावना र चेतनाको के, कस्तो र कति भूमिका रहन्छ ?
आधूनिक चिकित्सा विज्ञानका अनुसार मानिसलाई मस्तिष्कले संचालन गर्दछ जो भौतिक अंग हो र अध्यात्म विज्ञानका अनुसार मानिसलाई आत्मा अर्थात चेतनाले संचालन गर्दछ जो पराभौतिक अंग हो । वास्तविकतामा मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतना सबै एकआपसमा बलियोसंग अन्तरसम्वधिन्त हुन्छन् र सबै अंगहरुको सक्रिय सम्योजनबाट मानिसको जीवन चलेको हुन्छ । मानिसको मस्तिष्क भौतिक हो तर यसभित्र हुने सबै अदृश्य गतिविधिहरु पराभौतिक हुन् जसलाई आत्मा अर्थात चेतनाले संचालित गरिरहेको हुन्छ । मानिसको देब्रे मस्तिष्क चेतन तथा जाग्रीत अवस्था हो जसले तत्काल गर्नुपर्ने गतिविधिहरु गरिहेको हुन्छ । दाहिने मस्तिष्क अवचेतन हो जसले देब्रे मस्तिष्कको मद्धतले हाम्रा कर्म र ज्ञान इन्द्रियहरुले गरेका गतिविधिहरुलाई स्मृतिमा राख्दछ । मानिसले जुन काम तथा विषय बारबार दोहोर्याउँछ ती विषयहरुलाई दाहिने मस्तिष्कले बानीको रुपमा ग्रहण गर्दछ र यी बानीहरु मानिसका व्यवहार तथा आचरणमा प्रकट हुन्छन् र मानिसको कर्म त्यसै अनुरुप हुदै जान्छन् । मानिसले देब्रे मस्तिष्क मार्फत राम्रा सोच, विचार, भाव तथा कामहरु बारबार गरेको छ र ती विषयहरुलाई दाहिने मस्तिष्कले बानी बनाएको छ भने मानिसले सकारात्मक कर्महरु गर्दछ र उ स्वतः सकारात्मक हुन्छ । कर्म सिद्धान्तका अनुसार सोच्नु, कल्पना गर्नु, विचार गर्नु तथा भाव (पिडा, खुशी, आनन्द) ब्यक्त गर्नु पनि कर्म हुन्, यीनको परिणाम शरीरका अंगहरुमा लागेको बानी भन्दा अझ प्रगाढ हुन्छन् र उल्लेख्य किसिमले वाहिर प्रकट हुन्छन् । मानिसका आदत, व्यवहार, आचरण, कर्ममा बुद्धि तथा विवेकले भन्दा बानीले बढि प्रभाव पारेको हुन्छ तसर्थ स्वस्थ, सात्विक तथा सम्यक बानी बसाल्न सक्यो भने मानिस स्वतः सकारात्मक बन्छ तथा हुन्छ ।

सकारात्मकता चुट्कीमा बन्ने तथा हुने अवस्था होइन यसकोलागि सैद्धान्तिक र व्यवहारीक दुवैप्रकारका ज्ञान र व्यवहारहरुको अभ्यास आवश्यकता अनुसार गर्नु अनिवार्य हुन्छ । सकारात्मक मानिसका व्यवहारमा स्वतःस्फुर्त रुपमा क्षमा, स्वीकार, धन्यवाद, कृतज्ञता, प्रशंशा, प्रेम, सेवा, सहयोग, उत्प्रेरणा, नैतिकता, निष्ठा, उत्तरदायित्व, संकल्प, दृढता, सदविचार, सदकर्म, सदव्यवहार, आत्मविश्वास, आत्मसम्मान तथा अरुप्रति सम्मान आदि इश्वर प्रदत्त गुणहरू र मानवीय तथा सर्वकल्याणका भावहरु प्रकट हुन्छन्, उ पूर्णरूपमा सकाकारात्मक हुन्छ र सकारात्मक मानिसको जीवनमा सुख, शान्ति, समृद्धि स्वतः प्रकट हुदै जान्छ ।  bsirjana@gmail.com  

Monday, 23 September 2024

ध्यान साधना मस्तिष्क, मन, चेतना शुद्धिकरण गर्ने प्रभावकारी उपकरण हो

                                     डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन

                                      


विषय प्रवेश

पूर्वीय वैदिक सनातन दर्शनमा गर्दै आइएको अध्यात्म साधनाको प्रमुख विषय योग विज्ञान हो । अध्यात्म साधना सम्पूर्ण रुपमा योग विज्ञानकै वरिपरि घुम्दछ र ‘ध्यान साधना’ योग विज्ञानको अति महत्वपूर्ण अंग हो । सनातन शास्त्रहरुमा सैद्धान्तिक ज्ञान तथा व्यवहारीक प्रयोगको आधारमा योग विज्ञानलाई मोटामोटी रुपमा सात प्रकारमा विभाजन गरिएको छ– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, (७)सांख्य योग तथा राज योग । सबै प्रकारका योग साधनाहरुको प्रमुख लक्ष्य मनुष्यको काया तथा मन अर्थात चित्त शुद्धी गराएर आत्मज्ञान, तत्वज्ञान, ब्रह्मज्ञान हासिल गरि परमात्मामा योग हुनु तथा मोक्ष अर्थात निर्वाण प्राप्त गर्नु रहेको छ । योगका सबै प्रकारहरु उत्तिकै महत्वपूर्ण र प्रभावकारी छन्, हरेक व्यक्तिले आफ्नो स्वाभाव अनुसारको योगको प्रकार तथा यसका विधिहरु चयन गर्न सक्दछ र निष्ठापूर्वक ती विधिहरुको अनुशरण गरि अध्यात्म साधना गर्न सक्दछ । अध्यात्म दुई शव्द अधि+आत्म = अध्यात्म मिलेर बनेको छ । ‘अधि’ को तात्पर्य हो श्रेष्ठ अर्थात विशिष्ठ तथा परम, परम+‘आत्मा’ = परमात्मा अर्थात अध्यात्म परमात्मा प्राप्तिको साधना हो । योगका सबै प्रकारहरुमा 'ध्यान साधना' सबैको साझा विषय हो । 'ध्यान' क्रिया नभएर यो मन शुद्धि तथा विचार शुन्यताको अवस्थितिमा स्वतः घटित हुने एक अवस्था हो । आफ्नो स्वाभाव र शारिरीक, मानसिक, भावनात्मक तथा वौद्धिक अवस्था अनुसार आफूलाई उपयुक्त हुने प्रकारका योगका सैद्धान्तिक ज्ञान यम, नियम, प्रत्याहार, धारणा तथा ब्यवहारिक अभ्यासका विधिहरु योगासन, प्राणायामहरुको अनुशरणबाट काया(शरीर) तथा चित्त(मन) शुद्ध गरेको व्यक्तिले सहज रुपमा ध्यान साधना गर्न सक्छ र उसमा सहजै ध्यानको अवस्था घटित हुन्छ । ध्यानको गहिराईमा साधकमा समाधिको अवस्था घटीत हुन्छ र समाधिको अवस्थामा हुने भावातीत अनुभूतिहरुसंगै साधकको मन शुद्धि र चेतनामा स्तरोन्नति हुदैजान्छ र उसले आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हासिल गर्दछ र परमात्मातिर तथा मोक्षतिरको उसको अन्तरयात्राको विधिवत शुभारम्भ हुन्छ । साधकमा ‘म’ शरीर, मन, भाव, बुद्धि, चित्त, अहंकार होइन, ‘म’ शुद्ध आत्मा अर्थात चेतना हुँ, परमतत्व हुँ, ब्रह्मतत्व हुँ भन्ने वोध हुनु नै आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हुनु हो । समग्रमा भन्नु पर्दा, ध्यान साधना सम्पूर्ण रुपमा मनुष्यले आफूभित्रको अन्तरयात्रा गर्ने क्रममा क्रमशः उसको चेतनामा स्तरोउन्नति हुदै जाने प्रक्रिया हो र यस्तो अवस्थामा आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानको अनुभूतिमा अझै निखारता आउदै जान्छ ।



अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान

चेतना र यससंग सम्वन्धित मस्तिष्क, मन, भाव, बुद्धि, विवेक, चित्तको परिभाषा तथा विश्लेषणमा अध्यात्म विज्ञान स्पष्ट छ तर यस सन्दर्भमा आधूनिक मनोविज्ञानका अध्ययनहरु त्यति गहिराइमा पुग्न नसकेकाले यसले गरेका परिभाषा तथा विश्लेषणहरु अलि बुझाइमा स्पष्टता नहुने प्रकारका छन् अध्यात्म विज्ञानको तुलनामा । आधूनिक मनोविज्ञानमा मस्तिष्क, मन र चेतनाबारे कतै उही हो भन्ने र कतै फरक हो भन्ने बुझाइ तथा व्याख्या रहेकोले अष्पष्टता छ तर अध्यात्म विज्ञानले स्पष्टसंग भनेको छ मस्तिष्क भौतिक तथा स्थुल अंग हो, मस्तिष्कमा उत्पन्न हुने विचारहरुको समुह मन हो, मन मानिसको शरीर र आत्मा अर्थात चेतनालाई जोड्ने अति महत्वपूर्ण पुल हो त्यसैले मन भौतिक र पराभौतिक दुवै हो तर अध्यात्म विज्ञानको अनुसार मन धेरै हदसम्म पराभौतिक हो र थोरै मात्र भौतिक हो किनकी आत्मा अर्थात चेतनाको स्तरोन्नतिको प्रक्रियामा मन तथा मनको शुद्धिको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।


मस्तिष्कको भौतिक र पराभौतिक बनावट

मानिसको शरीरको सबैभन्दा उपरी अंग टाउकोको भित्रि भागमा औषतमा डेढ किलोग्राम तौलमा रहेको नरम पदार्थ मस्तिष्क(Brain) हो । मस्तिष्क स्थूल स्वरूपमा भएकोले यो शतप्रतिशत भौतिक हो तर यसभित्र हुने गतिविधिहरु भौतिक र पराभौतिक दुवै प्रकारका हुन्छन् । भौतिक मस्तिस्कका हरेक गतिविधिहरुसंग मानिसको शरीर, मन, भाव, बुद्धि, विवेक, कर्म, चेतना  प्रत्यक्ष रूपमा सम्बन्धित रहेका हुन्छन् । स्थुल स्वरूप मस्तिष्कका दुई भाग रहेकाछन्– (१)देब्रे मस्तिष्क अर्थात चेतन दिमाग जसमा जागरुकता, प्रश्न, जिज्ञासा तथा तर्कहरु चल्ने गर्दछन्, र (२)दाहिने मस्तिष्क अर्थात अवचेतन दिमाग जसमा हाम्रा बानी व्यवहारहरु संचित भएका हुन्छन् । मस्तिष्कको पछाडिको भाग(हाइपो थालामस) लाई अचेतन दिमाग भनिन्छ जसमा मानिसका जन्म–जन्मका स्मृतिहरु संचित भएका हुन्छन् प्रारब्ध कर्म तथा पूराना संस्कारका रुपमा र यिनै प्रारब्ध कर्म तथा पूराना संस्कारहरुले मानिसको वर्तमान जीवनको स्वभावमा प्रत्यक्ष प्रभाव(नव्वे प्रतिशत) पारिरहेका हुन्छन् । आधूनिक चिकित्सा विज्ञानका अनुसार मानिसको शरीरका सम्पूर्ण गतिविधिहरु मस्तिष्कले नै संचालन गर्ने हुनाले यसका तह तथा उपतह र अवस्था तथा उपअवस्थाहरु धेरै छन् । तर ग्रेग ब्रेडनद्वारा लिखित ‘द डिभाइन म्याट्रिक्स’ पुस्तकमा उल्लेख भए अनुसार, पछिल्लो समय अध्यात्म साधनाका क्रममा भएका अनुभवहरुले हृदय (चिकित्सकीय परिभाषा अनुसार हृदयलाई मुटु भनिएपनि वास्तविकतामा हृदय मुटु होइन, हृदय पराभौतिक हो तर मुटु भौतिक हो) स्वयं वाहिर तथा भित्र प्रकट भएका भावहरु बुझ्ने र यसको विश्लेषण गर्ने क्षमता राख्दछ र हृदयले मस्तिष्कलाई आफूले बुझेको भाव अनुसार व्यवहार गर्नकालागि शरीरभरि जानकारी पठाउन निर्देशन दिन्छ । हृदयले नै भौतिक शरीर र पारभौतिक अर्थात सुक्ष्म शरीर अर्थात आत्मा अर्थात चेतनालाई एकसाथ सुक्ष्म रुपमा चलाइरहेको हुन्छ किनकी हृदय अर्थात अनहद चक्रका इलेक्ट्रो म्याग्नेटिक तरङ्गहरुको ब्रम्हाण्डीप इलेक्ट्रो म्यागनेटिक तरगहरुसंग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यसअर्थमा शरीर तथा मनलाई चलाउने प्रमुख तथा पहिलो अंग मस्तिष्क नभएर हृदय हो र दोस्रो अंग मस्तिष्क हो ।


मनको भौतिक र पराभौतिक बनावट

वैदिक सनातन अध्यात्म विज्ञानले मन तथा चेतनाका सात तह तथा अवस्था बताएको छ– (१)चेतन, (२)स्वप्न, (३)सुसुप्ति, (४)तुरीय, (५)तुरीयातीत, (६)भगवद्, र (७)ब्राह्मी चेतना । आधूनिक मनोविज्ञानमा सबैभन्दा महत्वपूर्ण तथा प्रभावकारी योगदान पुर्याएका महान व्यक्तित्व द्वय सिगमण्ड फ्रायड र वहाँका चेला कार्ल युंगका मनोवैज्ञानिक विश्लेषणहरुलाई नै आमरुपमा सन्दर्भ सामग्रीका रुपमा लिने गरिन्छ तर पछिल्लो चरणमा अरुपनि धेरै मनोविज्ञहरुका विविध विश्लेषणहरु आएका छन् । आधूनिक मनोविज्ञानले मन तथा चेतनाका चार तह तथा अवस्था र तीनका उपतह तथा उपअवस्थाहरु बताएको छ– (१)चेतन(Conscious), (२)अवचेतन(Sub-conscious), (३)अचेतन(Unconscious), र (४)विशिष्ठ चेतन(Super Conscious) । अचेतनलाई (क)व्यक्तिगत अचेतन(Individual Unconscious) र (ख)सामूहिक अचेतन(Collective Unconscious) गरि दुई तह तथा अवस्थामा विभाजन गरिएको छ । तर काम, प्रक्रिया तथा उपलव्धिका दृष्टिकोणबाट आधूनिक मनोविज्ञान अध्यात्म विज्ञानले गरेको खोजको चेतन, स्वप्न र सुसुप्तिको अवस्थासम्म मात्र पुगेको छ अहिलेसम्म त्यस भन्दा अगाडि बढ्ने क्षमताको विकास भएको छैन । मानिसको अचेतन मनभित्रनै सारा पराभौतिक तथा अलौकिक रहस्यहरु रहेका छन्, आधूनिक मनोविज्ञानले यसलाई खोतल्न सकेको छैन तर अध्यात्म विज्ञानमा अचेतन मनभित्रका सबै सुक्ष्म आयामहरुको विस्तृत वर्णन तथा विश्लेषणहरु गरिएका छन् । अध्यात्म विज्ञानका अनुसार मानिसको जन्म–जन्मका सबै प्रारब्ध कर्म तथा संस्कारहरु अचेतन मनभित्र तह-तह बनेर रहेका हुन्छन् । सिगमण्ड फ्रायडले अचेतन मनलाई तीन उपतह तथा उपअवस्थामा विभाजन गरेका छन्– (क)इड(Id), (ख)इगो(Ego), र (ग)सुपर इगो(Super Ego) । कार्ल युंगले पनि अलि फरक प्रकारले अचेतन मनलाई तीन उपतह तथा उपअवस्थामा विभाजन गरेका छन्– (क)व्यक्तिगत अचेतन, (ख)सामूहिक अचेतन, र (ग)आर्केटाइप्स अचेतन । आधूनिक मनोविज्ञानका स्रस्टा द्वय फ्रायड र युंगका यी सबै तह, उपतह तथा अवस्था, उपअवस्थाका व्याख्या विश्लेषणहरु एकअर्कासंग नजिक रहेकाछन् ।


आफू स्पष्ट हुन चाहान्छु, म, पंक्तिकार(सिर्जना भण्डारी) चिकित्सा विज्ञानको विद्यार्थी होइन, अध्यात्म साधक हुँ, नोभेम्बर सन् २०११ मा स्वतः घटित भएको अलौलिक क्षणदेखि निरन्तर अध्यात्ममा साधनारत रहदै आएको छु र यी सबै अनुभव तथा अनुभूतिहरु म स्वयंमा घटित भएका थिए, हुन् र भैरहेका छन् । मेरो शरीर, मन, बुद्धि, विवेक, अहंकार, भावना, आत्मा अर्थात चेतना यी सबै अध्यात्म साधनाका क्रममा हुने अनुभव तथा अनुभूतिहरुको सप्रमाण प्रयोगशाला बन्दै आएका छन् । यस लेखसंग सम्वधित विषयहरु मन, बुद्धि, विवेक, भावना, चेतना, स्मृति(जन्म–जन्मको), कर्म आदि भएकोले मस्तिष्कका यी शव्दावलीहरुसंग सम्वन्धित भाग तथा तहहरुको मात्र संक्षिप्त जानकारी पस्कने प्रयास गर्नेछु । मानिसको मन भौतिक मस्तिष्कका स्नायु प्रणालीहरुमा उत्पन्न हुने सोच तथा विचारहरुको समुह हो र  मन थोरै हदसम्म भौतिक र अधिक मात्रामा पराभौतिक अत्यन्त शक्तिशाली उर्जा हो । मानिसको बुद्धि तथा विवेक मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स(PFC, अगाडि अर्थात निधार पट्टिको भाग) बाट संचालित हुन्छ र यो पनि अत्यन्त शक्तिशाली पराभौतिक उर्जा हो । बुद्धिले घटना तथा विषयहरुको जानकारी गराउँछ, विवेकले सही तथा गलत, राम्रो तथा नराम्रो छुट्याउँछ र के गर्ने तथा नगर्ने भन्नेबारे त्यही अनुसारको निर्णय लिन्छ । मानिसको भावना(प्रेम, श्रद्धा, सम्वन्ध तथा काम, क्रोध, लोभ, मोह, इष्र्या, अहंकार) एमिगडेला(टाउकोको पछाडिपट्टिको भाग) बाट संचालित हुन्छ र भावशक्ति सबैभन्दा शक्तिशाली पराभौतिक उर्जा हो । एमिगडेलाले मस्तिष्कलाई कस्ता प्रकारका भावनाहरुलाई कस्तो प्रकारले ग्रहण गर्ने तथा व्यवहार गर्ने भन्नेबारे निर्देशन दिन्छ संचित स्मृति अर्थात व्यक्तिगत अचेतन मनबाट जानकारी लिएर । वर्तमान जन्म तथा अघिल्ला जन्महरुको स्मृति तथा कर्मका बहिखाताहरु एमिगडेला भन्दा तल रहेको हाइपो थालामसमा संचित भएर रहेको हुन्छ । यसमायो व्यक्तिगत अचेतन र सामुहिक अचेतन मनका सबै स्मृति तथा कर्महरु रहेका हुन्छन ।


ध्यान साधनाको मस्तिष्कमा भौतिक तथा पराभौतिक प्रभाव

जव हामी ध्यान साधनाका विधि निष्ठापूर्वक अनुशरण गरेर स्थिर बस्दछौं तव मनमा विचारका प्रवाहहरु कम हुदै जान्छन् र मनको चल्ने गति विस्तारै कम हुदै जान्छ र बिटा, अल्फा, थिटा हुदै डेल्टामा पुग्छ । मनको डेल्टा गति(०.५ देखि ४.० हर्ज प्रति सेकेन्ड) भएको अवस्थामा हृदय र मस्तिष्कको प्रत्यक्ष सम्वन्ध बन्दछ । हृदय र मस्तिष्कको यस्तो सम्वन्ध बनेको समयमा हृदय र मस्तिष्कका इलेक्ट्रो म्याग्नेटीक उर्जाका तरंगहरुले हाम्रो वरिपरी अविरल प्रवाह भैरहने उस्तै प्रकारका गुण भएका ब्रम्हान्डीय उर्जाका इलेक्ट्रो म्याग्नेटीक उर्जाका तरंगहरुलाई आकर्षित गर्दछन् र यी दुई तरंगहरुको संगमबाट उत्पन्न हुने तरंगहरुले हाम्रो शरीर, मन, भाव, बुद्धि, विवेक, चित्त, कर्मका जन्म-जन्म हाम्रो स्मृतिमा संचित भएर रहेका विकार तथा नकारात्मकताहरू शुद्धिकरणको काम गर्न शुरु गर्दछन् । यो पुरै प्रक्रिया पराभौतिक हुन्छ, यहाँ कुनै प्रकारका भौतिक प्रमाणहरु भेटीदैनन्, यो साधकको इन्द्रियातीत, शव्दातीत तथा भावातीत अनुभूति हो जसलाई शव्द, इशारा तथा हाउभाउबाट समेत अरु समक्ष व्यक्त गर्न तथा बुझाउन सकिदैन । यही क्रममा साधकले आफ्ना विगतका तथा पूर्व जन्मका स्मृतिहरु खासगरी पिडादायक स्मृतिहरु जो चोट बनेर अचेतन मनमा दबेर रहेकका हुन्छन् ती विषयहरु देख्न र भोग्न थाल्दछ प्रत्यक्ष रुपमा, साधकको चेतना त्यही अवस्थामा पुग्दछ र उसले बोलेर तथा शरीरका हाउभाउ बाट त्यस्तै प्रकारका गतिविधिहरु देखाउदछ जसमा आफू र आफूसंग सम्वन्धित मानिस, घटना, विषय, वस्तु तथा पदार्थहरुलाई सिनेमाको पर्दामा जस्तैगरि स्पष्ट रूपमा देख्दछ । यो शरीर, मन, भाव, बुद्धि, विवेक, कर्म, चेतना शुद्धिकरणको अत्यन्तै महत्वपूर्ण प्रक्रिया तथा क्षण हो । शुद्धिकरणको  प्रक्रिया बिना साधकको अध्यात्म साधना अगाडि बढ्न सक्दैन किनकी यी स्मृतिहरुका कारण साधकको आत्मा अर्थात चेतना भारी भएको हुन्छ, भारी चेतनको स्तरोन्नति हुन सक्दैन । शुद्धिकरणपछि आत्मा अर्थात चेतना हलुका हुन्छ र स्तोरोन्नतिका लागि योग्य बन्दछ । हलुका भएको चेतनाको शक्ति अनन्त हुन्छ, पुरै ब्रम्हाण्ड विचरण गर्न सक्छ र यस्तो चेतनाले अनेक-अनेक चमत्कारहरु देख्न तथा गर्न सक्छ किनकी चेतनाको स्तरोन्नती संगसंगै उसलाई अनेक प्रकारका अलौकिक सिद्धि तथा नीधिहरु हासिल हुदै जान्छन् तर यो कुनै जादु तथा तन्त्रको शक्ति होइन यो परमात्मा प्रदत्त शुद्ध र सकारात्मक दिव्य ब्राम्ही अर्थात ब्रम्हाण्डको उर्जा हो । शुद्धिकरणको प्रक्रिया कति समयसम्म चल्छ भन्ने कुरा व्यक्तिको पूर्वजन्मका संचित कर्महरुको बहीखाता(कम तथा बढी) मा निर्भर गर्दछ । शरीर, मन, भाव, बुद्धि, विवेक, कर्म, चेतना शुद्धिकरणको प्रक्रिया मोक्ष अर्थात निर्वाण अर्थात इनलाइटमेन्टको मार्गमा अग्रसर हुने शुरुआति अवस्था तथा चरण हो ।


शुद्धिकरणको प्रक्रिया चलिरहदा साधकमा विविध प्रकारका शारीरिक, मानसिक तला भावनात्मक क्रिया तथा प्रक्रियाहरु स्वतःस्फुर्त रुपमा चल्दछन् जस्तोकि हातमा मुद्रा बन्ने, शरीरमा कम्पन हुने, शरीरमा अनेक प्रकारका हाउभाउहरु हुने, रुने, मुस्कुराउने, हाँस्ने, चिच्याउने, गीत गाउने, नाच्ने, एक्लै बोल्ने, आँखा बन्द भैरहने, योगासन तथा प्राणायामहरु गर्ने हुन्छ । यो अवस्था मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल सात केन्द्र सात चक्रहरुमा रहेको कुण्डलिनी उर्जा जाग्रीत भएर यसले हाम्रो शरीर, मन, भाव, बुद्धि, विवेक, चेतना, कर्म शुद्धिकरणको प्रक्रिया गरिरहेको हो, यो समान्य अवस्था हो, डराउनु पर्ने अवस्था होइन तर यस्तो अवस्थामा आत्मविश्वासमा कमी भयो भने हानी हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ तसर्थ शिद्ध योगगुरु तथा सदगुरुको सानिध्यमा रहनु बुद्धिमानी हुन्छ । शरीर, मन, भाव, बुद्धि, विवेक, चेतना, कर्मको शुद्धिकरणको प्रक्रिया सकिएपछि साधकमा भौतिक संसारमा कल्पना समेत गर्न नसकिने चमत्कारीक इन्द्रियातीत, शव्दातीत, भावातीत अनुभूतिहरु निरन्तर हुदै जान्छन् । यो प्रक्रिया शुरु भएपछि साधक जति-जति ध्यानको गहिराइमा समाधिमा डुब्दै जान्छ उति नै इश्वर अर्थात परमात्मा अर्थात परब्रम्हको नजिक हुदै जान्छ र मोक्ष अर्थात निर्वाण अर्थात इनलाइटमेन्टका आयामहरुको अनुभूति गर्दै जान्छ र परमात्माका २१ आयामहरुको अनुभूति गरिसकेपछि मोक्ष अर्थात निर्वाण अर्थात इनलाइटमेन्ट प्राप्त गर्दछ अर्थात परमात्मामा सदाकालागि स्थित हुन्छ र जन्म-मृत्युको दुःखदायी चक्रबाट मुक्त हुन्छ र इच्छा जन्मको वरदान प्राप्त गर्दछ । यो नै बुद्धत्व प्राप्त अर्थात ब्रह्माण्डीय उर्जा (Cosmic Energy)अर्थात ब्राह्मी चेतना अर्थात विशिष्ठ चेतन(Super Conscious) मा एकाकार भएको अध्यात्म साधनाको सबैभन्दा उच्चतम उपलव्धि तथा अवस्था पूर्ण प्रकाशन हो । 

पछिल्लो समय प्रतिपादित अत्याधुनिक प्रमात्रा भौतिक विज्ञान (Quantum Science) का विभिन्न सिद्धान्तहरु- स्ट्रिङ थेपरी (String Theory), सुपर स्ट्रिङ थेयरी (Super String Theory) तथा हिग्स वोजोन पार्टिकलस(Higgs Boson, GOD Particles भनिएको) यिनै विषयहरुसंग सम्बन्धित रहेकाछन् । प्रमात्रा विज्ञानले ल्याएको एकीकृत ब्रम्हाण्ड (Unified Universe अर्थात  Unified Field of the Universe अर्थात Unified Field Theory) यही विषयको एक कडी हो ।

परमात्माका २१ आयामहरु-
(१)निराकार, (२)नाद, (३)ज्योति, (४)अमृत, (५)उर्जा, (६)शक्ति, (७)उमंग, (८)मंगल, (९)स्वाद, (१०)सुगन्ध, (११)मंद नशा, (१२)चैतन्य, (१३)स्पर्श, (१४)आनन्द, (१५)प्रेम, (१६)सुन्दरम, (१७)सहज, (१८)अचल, (१९)पारदर्शी, (२०)निरञ्जन, र (२१)अनन्त ।    bsirjana@gmail.com 


Friday, 20 September 2024

वर्तमानमा जीउने कला तथा अभ्यास नै ध्यान योग हो

                                                             डा. सिर्जना भण्डारी

                                                     

                                            #अध्यात्म_दर्शन  #जीवन_दर्शन





योग विज्ञान के हो ?

सहज, सरल तथा स्वस्थ जीवन जीउनकालागि सैद्धान्तिक तथा व्यवहारीक दृष्टिकोणले योग विज्ञान पूर्वीय अध्यात्म दर्शनको सबैभन्दा प्रभावकारी विषय हो र मानव कल्याणकालागि अति महत्वपूर्ण योगदान हो । वैदिक सनातन शास्त्रहरुका अनुसार निरन्तर आत्मस्मरण अथवा म आत्मा अर्थात चेतना हुँ भन्ने भावमा जीउनुु सही अर्थमा योग हो । वर्तमान समयमा आफ्ना वरपर भैरहेका हरपलका गतिविधिहरुप्रति जागरुक, साक्षी तथा होसपूर्ण रहनु योगको सरल र नवीन परिभाषा हो । वर्तमान गतिविधिहरुमा मनलाई केन्द्रित गरिएको अवस्थामा हाम्रो शरीरका चारवटै आयामहरु– शारीरिक शरीर, मानसिक शरीर, भावनात्म शरीर र आत्मिक अर्थात चेतनात्मक शरीर सहज रूपमा योगमा एकाकार हुन्छन् । वैदिक शास्त्रहरुका अनुसार प्रयोगका आधारमा मुख्यतया सात प्रकारका योगहरु प्रचलनमा रहेकाछन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, (७)सांख्य योग तथा राज योग । सबै योगका आ–आफ्नै प्रकारका परिभाषा, विधि तथा विशेषताहरु रहेकाछन् र अनेक विभिन्नताविच एकआपसमा केही विषयहरुमा यी योगका प्रकारहरुमा एकरुपता पनि रहेकाछन् ।

 

ध्यान योग के हो ?

सात प्रकारका योगहरु मध्य ध्यान योग सबैभन्दा महत्वपूर्ण, सहज, परिणाममुखी, विश्वव्यापि प्रचलनमा रहदै आएको लोकप्रिय अभ्यात्म साधनाको वैज्ञानिक विधि हो । सामान्यतया ध्यान योग दुुई प्रकारले गर्ने गरिन्छ– (१)विषय केन्द्रित ध्यान, र (२)साक्षी भाव ध्यान । विषय केन्द्रित ध्यान विधिमा हात तथा औँलामा ध्यान तथा ज्ञान मुद्रा लगाएर, आँखा बन्द गरेर, मेरुदण्ड सिधा गरेर कुनै निश्चित आसनमा बसेर तथा सबआसनमा पल्टेर, मनलाई कुनै निश्चित विषयमाथि निरन्तर टिकाएर गर्ने गरिन्छ । आफ्नो धर्म तथा संस्कृति अनुसार आफूले मान्दै आएका भगवान, देवीदेवता तथा गुरुहरुको आकृति स्मरण, नाम तथा मन्त्र स्मरण, जप गरेर; श्वासको आउने जाने क्रमलाई हेरेर; शरीरका बाहिरी अंगहरुलाई शिरदेखि पाउसम्म सुक्ष्म अवलोकन गरेर; वरपरको प्राकृतिक वातावरणमा भएका सुगन्ध, आवाज, तापक्रम आदिको अनुभवप्रति साक्षी रहेर; विगतका रमाइला विषय तथा घटनाहरुको स्मरण गरेर विषय केन्द्रित ध्यान गर्ने गरिन्छ । विषय केन्द्रित ध्यानको गहिराइमा साधकको क्रमशः मन स्थिर हुदैजान्छ, आनन्द बढ्दै जान्छ र विविध प्रकारका इन्द्रियजनित अनुभव र इन्द्रियातीत, शब्दातीत तथा भावातीत अनुभूतिहरु हासिल हुदै जान्छन् र कुण्डलिनी उर्जाको उर्धगमनसंगै साधकको चेतनाको तहमा प्रगति हुदै जान्छ । साक्षी भाव ध्यान विधिमा भूतकालका स्मृतिहरु र भविश्यकालका कल्पनाहरुबाट मनलाई अलग गरेर वर्तमानमा आफू समलग्न रहेका तत्क्षणका गतिविधिहरु र आफू रहेको स्थान वरपर भैरहेका पलपलका गविविधिहरुप्रति निरन्तर जागरुग रहेर तथा ती गतिविधिहरुमा ध्यान केन्द्रित गरेर गर्ने गरिन्छ ।  दुवै प्रकारका ध्यान योगका विधिहरुको उदेश्य फरक फरक ढंगले मानिसलाई विगतका  स्मृति र भविश्यका कल्पनाहरूबाट अलग रहेर वर्तमानमा जीउन सिकाउनु नै हो किनकी वर्तमानमा जीउने कला तथा अभ्यास नै ध्यान योग हो ।

 

ध्यान योगका उपलव्धिहरु

सनातन अध्यात्म विज्ञानका अनुसार मानिस दुई प्रकारका शरीरमा जीरहेको हुन्छ– (१)भौतिक तथा स्थुल शरीर अर्थात प्रकृति, र (२)पराभौतिक तथा सुक्ष्म शरीर अर्थात आत्मा अर्थात पुरुष । ध्यान योग पूर्णतः कुण्डलिनी उर्जाको शुद्धता र मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका प्रमुख सात केन्द्रहरु मूलाधार चक्र हुदै कुण्डलिनी उर्जा  माथिका चक्रहरुमा उर्धगमन हुदैजाने प्रक्रिया संगसंगै मनुष्यको आत्मा अर्थात चेतनाको तहमा वृद्धि हुदैजाने प्रक्रियासंग सम्विन्धित पूर्ण वैज्ञानिक र व्यवहारिक विज्ञान हो । ध्यानका उपलव्धिहरुको विश्लेषण आत्मा अर्थात चेतनाको तह वृद्धि र त्यसबाट साधकमा आएका तथा आउने सकारात्मक प्रभाव तथा परिवर्तनहरुका आधारमा गर्ने गरिन्छ । यस सन्दर्भमा मस्तिष्कको उर्जा, मनको उर्जा, भावको उर्जा, चित्तको उर्जा, आत्मा अर्थात चेतनाको उर्जालाई समष्टीमा उर्जाको रुपमा बुझिन्छ र त्यसको तहगत स्तरको विश्लेषण गर्ने गरिन्छ तर आध्यात्म दर्शनले यी सबैको सुक्ष्म परिभाषा गर्दछ र अवस्था तथा आवश्यकता अनुसार केही हदसम्म समान तथा केही हदसम्म अलग किसिमले विश्लेषण गर्दछ ।

 

ध्यान योगको प्रकार र ध्यान साधनाको विधि तथा ध्यान साधनाको समययावधि अनुसार यसका उपलव्धिहरु पनि फरक व्यक्तिमा फरक प्रकारका हुने गर्दछन् । विषय केन्द्रित ध्यान योगका विधिहरु निष्ठापूर्वक अनुशरण गरेर ध्यान साधना गरिएको छ भने विस्तारै मन स्थिर तथा विचार शुन्य हुदै जान्छ र विचार शुन्यताको कुनै विन्दुमा ध्यानको अवस्था घटित हुन्छ । ध्यान घटित भएको अवस्थामा मानिसको शरीर तथा मस्तिष्कमा श्राव हुने सकारात्मक रासायनिक ग्रन्थीरसहरु(ह्यापि हर्मोन्स–सोरोटोनीन, डोपामीन, एन्डोर्फीनस, मेलाटोनीन आदि)को प्रभावका कारण मानिसको शरीर, मन, बुद्धि, भाव, चित्त लगायत शारीरिक तथा मानसिक स्वाथ्यका सबै आयामहरुमा सकारात्मक परिवर्तन तथा परिणामहरु देखापर्न थाल्छन् । ध्यान साधनामा अभ्यस्त साधकको जीवनमा विस्तारै भगवद् गीतामा उल्लेखित ज्ञान, धन, शक्ति, यश, सौन्दर्य, वैराग्य सबै प्रकारका ऐश्वर्यहरु साथै स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति सबै प्रकारका प्रगतिहरु हासिल हुदै जान्छन् । यसका साथै भौतिक जीवनमा कल्पना गर्न समेत नसकिने उल्लेख्य अलौकिक, इन्द्रियातीत, शव्दातीत तथा भावातीत चमत्कारहरु अनुभूतिमा आउन थाल्छन् । ध्यानको गहिराइमा समाधि घटित हुन्छ र साधकमा आत्मवोध हुन्छ । आत्मवोधको अवस्थामा साधकले आफू र आफ्ना गतिविधिहरु अर्थात आफैंले आफूलाई सिनेमाको पर्दामा जस्तै स्पष्ट रूपमा देख्न सक्दछ । यसप्रकार आत्मा र शरीर अलग रहेछ, म आत्मा अर्थात चेतना रहेछु, म शरीरलाई देख्ने र शरीर, मन, बुद्धि, भाव, चित्तलाई संचालित गर्नेवाला परमतत्व, ब्रम्हतत्व रहेछु भन्ने प्रत्यक्ष अनुभूति हुनु नै आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हुनु हो किनकी मानिस स्वयं ब्रम्ह हो र ब्रह्माण्डका सबै सृष्टिहरु ब्रम्ह हुन् । महाकवि श्रद्धेय श्री लक्ष्मी प्रसाद देवकोटाज्यूको ‘यात्री’ आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानले ओतप्रोत आध्यात्मिक अलौकिक दिव्य कविता हो जसको सार रहेको छ, “तिमी स्वयं पवित्र मन्दिर हौ जहाँ इश्वरको वास छ, इश्वरलाई वाहिरको संसारमा नखोज, आफूभित्रै अन्तरयात्रा गरेर  खोज; तिमी स्वयं इश्वर अर्थात ब्रम्ह हौ; आफू र आफू जस्तै ब्रम्ह र ब्रम्हका अन्य सृष्टिहरुको सेवा गर किनकी यो ब्रह्माण्डमा भएका सम्पूर्ण वस्तुहरु स्वयं परब्रम्ह, परमात्मा तथा इश्वर हुन्; दुःखीहरुको पिडा कम गराउ, दिनदुःखीहरुलाइ सहयोग गर, सेवा तथा उपकारको पुण्यकर्मबाट इश्वरको साक्षात्कार हुन्छ तथा इश्वर प्रप्ति हुन्छ ।” विषय केन्द्रित ध्यान साधनामा समाधिको अवस्थामा निरन्तर चेतनाको स्तर वृद्धिका अनेकौं तहहरु आउछन् र ध्यान साधनाको निरन्तरता र गहिराइसंगै परमात्माका २१ आयामहरु साधकको अनुभव तथा अनुभूतिमा क्रमशः आउँदै जान्छन् । 

 

साक्षी भाव ध्यानमा माथि उल्लेखित इन्द्रियद्वारा अनुभव गर्न सकिने भौतिक परिवर्तनहरु र केही हदसम्म इन्द्रियातीत अनुभूतिहरु हासिल गर्न सकिन्छ, मानिस स्वस्थ, सिर्जनशील, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित हुन्छ तर ध्यानका सन्दर्भमा गरिएका विभिन्न वैज्ञानिक खोज तथा अध्ययनहरुले विषय केन्द्रित ध्यानको गहिराइमा तथा समाधिको अवस्थामा प्राप्त हुने इन्द्रियातीत, शव्दातीत तथा भावातीत अनुभूतिका उपलव्धिहरु साक्षी भाव ध्यानबाट हासिल गर्न सहज नहुने तथ्यहरु उजागर भएका छन् ।

 

मानव मस्तिष्क, वर्तमान समय र ध्यान योग

मानिसको शरीरको टाउकोमा रहेको औषतमा करिव डेढकिलो मस्तिष्क भौतिक पदार्थ हो जसको मुख्य काम ज्ञानइन्द्रियहरुबाट आएका सूचनाहरुलाई बुद्धि, विवेक, भावना आदिको माध्यमबाट अतिशिघ्र विश्लेषण गरेर आवश्यक सूचनाहरु शरीर, मन, भावना, चित्तमा पुर्याउनु र मानिसमा त्यस अनुसारका गतिविधिहरु गर्ने अवस्था सिर्जना गर्नु तथा गराउनुु हो । वाहिरी संसारका विषयहरुको अनुभवका आधारमा ज्ञानइन्द्रियहरुबाट प्राप्त भएका सूचनाहरुका स्पन्दनका कारण मस्तिष्कका स्नायु प्रणालीहरुमा उत्पन्न हुने सोचहरुको समुह विचार हो, विचारहरुको समुह मन हो र मन अत्यन्तै शक्तिशाली उर्जा हो । मन मानिसको शरीर र आत्मा अर्थात चेतनालाई जोड्ने पुल हो तसर्थ यो भौतिक(फिजिक्स) र पराभौतिक(मेटाफिजिक्स) दुवै हो । सनातन अध्यात्म दर्शनको दृष्टिकोणबाट हेर्दा मन थोरै प्रतिशत भौतिक र धेरै प्रतिशत पराभौतिक हो । भगवान श्रीकृष्ण भन्नुहुन्छ, “मन नै मनुष्यको मुक्तिको द्वार हो र मन नै सबै विपत्तिहरुको प्रमुख कारण हो ।” मनलाई सकारात्मक बनाउन सकेको अवस्थामा मात्र मनुष्यले मुक्तिकोलागि साधना गर्न सक्छ र मुक्ति प्राप्त गर्न सक्छ अन्यथा उसको जीवन अनेक विपत्तिहरुले संधै घेरीइरन्छ र ८४ लाख योनीमा घुमिरहन्छ ।

 

अध्यात्म विज्ञान र आधूनिक विज्ञान दुवैले स्वीकार गरेकाछन् मानिसको मस्तिष्क सदा वर्तमान समयमा जीरहेको हुन्छ र मस्तिष्ककालागि भूतकाल तथा भविश्यकाल भन्ने समय विभाजन हुदैन । वास्तवमा ब्रम्हाण्डकै नियममा भूतकाल तथा भविश्यकाल भन्ने समय विभाजन छैन, समय निरन्तर चलिरहने प्रक्रिया हो जो सदा वर्तमान अवस्था हो । महान वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्नुहुन्छ समय सापेक्ष हुन्छ र यो फरक अवस्थामा फरक किसिमले चल्दछ । मानव ब्रम्हाण्डको अंश स्वयं ब्रम्ह हो र मस्तिष्क उसको जीवन चलाउने प्रमुख भौतिक यन्त्र हो । मस्तिष्कमा सिर्फ वर्तमान समयको अर्थ तथा महत्व रहन्छ, भूतकालमा के भएको थियो र भविश्यकालमा के हुनेवाला छ भनेर मस्तिष्कले बुझ्दैन तथा छुट्याउन जान्दैन, मस्तिष्कमा समय विभाजनको कुनै मेकानिजम नै छैन  तसर्थ मस्तिष्ककालागि हरक्षण वर्तमान हो । भूतकाल र भविश्यकाल आफ्ना इच्छा, कामनाहरु पूर्तिकालागि, धन संकलनकालागि, जीवनका वितेका घटना र आगामी योजनाहरु निर्माणकालागि  र आफ्नो उमेरको गणना सहजतापूर्वक गर्नकालागि मानिस आफैंले निर्माण गरेको अवैज्ञानिक मापदण्ड हो भन्ने अनौपचारीक सामग्रीहरु पढ्न र सुन्न पाइन्छ ।

 

जव हामी मस्तिष्कमा कुनैपनि विचारलाई स्थान दिन्छौं, मस्तिष्कले र उक्त विचारले आफ्नो गुण धर्म अनुसार तुरुन्तै काम गर्न शुरु गर्दछन् । मानव मस्तिष्क ब्रह्माण्डको नियम अनुसार नै हरपल वर्तमानमा चलिरहने भौतिक यन्त्र भएको हुनाले तत्काल मस्तिष्कमा चलिरहेको विचार भूतकालको हो वा भविश्यकालको हो भनेर छुट्याउने कुनै प्रकारको व्यवस्था छैन , मस्तिष्कले सिर्फ वर्तमानको रूपमा बुझ्छ सबै विचारहरुलाई जसरी ग्रह, तारा, पृथ्वी, सुर्य तथा अन्य पिण्डहरु निरन्तर आफ्नो अक्षमा घुमिरहन्छन तथा चलिरहन्छन् समयको अगाडि, पछिडिको कुनै प्रकारको भेदबिना जहाँ सिर्फ वर्तमान छ । हामीले भूतकालका स्मृतिहरु भनेर स्मरण गरेपनि ती स्मृतिहरुलाई मस्तिष्कमा वर्तमानमै ल्याएर मात्र अनुभव गर्न सकिन्छ र भविश्यकालका कल्पनाहरु भनेर स्मरण गरेपनि ती कल्पनाहरुलाई मस्तिष्कमा वर्तमानमै ल्याएर मात्र अनुभव गर्न सकिन्छ । मस्तिष्ककालागि विगत, वर्तमान तथा भविश्य जहिलेका विचारहरु भएपनि ती सतप्रशित वर्तमानका विचारहरु हुन तसर्थ मस्तिष्कले ग्रह, ताराझैं समयको वोधबिना निरन्तर चलिरहने आफ्नो गुण धर्म अनुसार काम गर्दछ र विचारको प्रकृति अनुसारको सकारात्मक तथा नकारात्मक रासायनिक ग्रन्थीरहरु उत्पनदन गर्न शरीरका ग्रन्थीहरुलाई निर्देशन दिन्छ र शरीरका ग्रन्थीहरुले विचार अनुसारकै ग्रन्थीरसहरु उत्पादन गर्दछन् र शरीर, मन, बुद्धि, भाव तथा चित्तमा त्यस्तै प्रकारल प्रभाव पार्दछन् ।

 

पूर्वीय ऋषि तथा प्राचीन वैज्ञानिकहरु ब्रह्माण्डको वर्तमान समयको शाश्वत सत्य जान्दथे त्यसैले उनीहरुले चतुर्याईपूर्वक मानव जीवनलाई ध्यान योगसंग जोडिदिए ताकि मानिसले हरपल वर्तमानको अभ्यास गरिरहन सकोस । मानव जीवन र ध्यान साधनाको अन्तरसम्वन्धको सन्दर्भमा ऋषिहरुले लामो समय लगाएर गरिएका ध्यान तथा समाधिका साधनाहरुमा आफूलाई प्राप्त भएका भौतिक तथा पराभौतिक शक्ति तथा सिद्धिहरुको उच्चतम प्रयोगद्वारा धेरै वैज्ञानिक खोज, अध्ययन, अनुसन्धानहरु गरेर ध्यान साधनालाई वर्तमानको साक्षीको रुपमा परिभाषित तथा स्थापित गराए र मानिसका आवश्यकताहरु हेरेर उसलाई ध्यान साधना अर्थात शाश्वत वर्तमानमा जोड्नकालागि विभिन्न प्रकारका तन्त्र, मन्त्र, शास्त्र, कर्मकाण्ड, चाडवाड, उत्सव, परम्परा, रहनसहन जस्ता संस्कृतिहरु र निश्चित ऋतुमा  तीनमा प्रयोग गरिने विविध सामग्रीहरु- जडीबुटी, वाध्यवादनका सामग्रीहरु, नैवेध तथा पकवान, गोरष आदिको प्रयोग गर्ने चलन चलाइदिए धर्म र पुण्यकर्मसंग जोडेर ताकि मानिसले इमान्दार भएर निष्ठापूर्वक ती परम्पराहरुको अनुशरण गरोस ।

 

आजभोलि मानिसहरु ध्यान परम्पराको अज्ञानता र दिनप्रतिदिन अत्यन्तै जटिल बन्दै गैरहेको प्रतिस्पर्धात्मक तथा भागदौडपूर्ण जीवनशैलीका कारण बारबार विगतमा भोगेका पिडाहरुको स्मरण र भविश्यको असुरक्षाको चिन्ता तथा अनिश्चित योजनाहरुको कल्पनाका विषयहरुमा मनलाई केन्द्रित गरिरहन्छन् र परमात्मा प्रदत्त वर्तमान क्षणको आनन्द लिनबाट आफैंले आफैंलाई बन्चित गराउँछन् । यहीकारण मानिसहरु एउटै घटना, पिडा तथा असुरक्षाको  नकारात्मक अतिविचारबाट बारबार नकारात्मक किसिमले प्रभावित भैरहन्छ र अनेक खालका शारीरिक तथा मानसिक रोगहरु, अवसाद, विक्षिप्तता, पागलपन, आत्महत्याको सोच र जीवनमा अनेकन चुनौति, चिन्ता, असफलता तथा असहजता जस्ता समस्याहरुबाट ग्रसित रहेकाछन् किनकी अध्यात्म विज्ञान र आधूनिक विज्ञान दुवैले सबै प्रकारका समस्या तथा रोगहरुको मूलश्रोत मानिसको मस्तिष्कमा चल्ने अनावश्यक, नकारात्मक अतिविचारहरु नै हुन् जसले शरीरका ग्रन्थीहरुलाई शरीर, मन, भाव, बुद्धि तथा चित्तलाई हानी गर्ने नकारात्मक रासायनिक ग्रन्थीरसहरु उत्पादन गर्न बाध्य पार्दनन् भन्दछ । क्यान्सर रो विजेता डाक्टर लुइज हे को पुस्तक You Can Heal Your Life (1984) अतन्त सान्दर्भिक पुस्तक रहेको छ जसमा कस्ता विचारबाट शरीर, मन तथा भावमा कस्ता कस्ता प्रकारका रोग उत्पन्न हुन्छ्न् भन्ने सन्दर्भमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।

 

वर्तमान समय र मानिसको मस्तिष्कको नितान्त प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ । मानिस खुशी तथा शान्त रहदा मस्तिष्क र शरीरका ग्रन्थीहरुले स्वस्थ, सरल र सहज जीवनकालागि आवश्यक पर्ने सकारात्मक रसायनहरु उत्पादन गर्दछन् भने मानिस भूतकाल र भविश्यकालको पिडा तथा असुरक्षाको अवस्थामा दुःखी, बेचैन, बेखुशी, अशान्त रहेको अवस्थामा मस्तिष्क र शरीरका ग्रन्थीहरुमा सकारात्मक रसायनहरुको उत्पादन हुन बन्द हुन्छ र शरीरलाई हानी गर्ने नकारात्मक कोर्टीसोल, एडरनलिन जस्ता रसायनहरु उत्पादन हुन्छन् र शारीरिक तथा मानसिक रुपमा विभिन्न प्रकारका समस्याहरु देखिन्छन् किनकी मानिसको शरीर सम्पूर्ण रुपमा रसायनहरुको खेलौना हो र यी रसायनहरु उत्पादन गराउने प्रमुख कारक तत्व हाम्रा रंगीविरंगी विचारहरु नै हुन् । अव हामी आफैं विचार गरौं कस्ता प्रकारका विचारहरु हाम्रो मस्तिष्कमा ल्याउने र कस्तो प्रकारको जीवन जीउने । आफ्नो जीवनशैली कस्ताे बनाउने हामी आफैंमा निर्भर गर्दछ र यसकालागि हामी  पूर्णतः स्वतन्त्र छौं ।