'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 27 September 2024

चेतनाको विकास सैद्धान्तिक ज्ञान र व्यवहारीक अभ्यासबाट हुन्छ

                                            डा. सिर्जना भण्डारी

 #अध्यात्म_दर्शन  #जीवन_दर्शन





विषय प्रवेश

चेतना आफूभित्र र आफू वाहिरका सूचना तथा गतिविधिहरुबारे जान्न सक्ने क्षमता, शक्ति अर्थात उर्जा हो । अध्यात्म विज्ञानको परिभाषा अनुसार मानिसको चेतना एउटै हुन्छ । अध्यात्म विज्ञानको भाव अनुसार नै प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) ले पनि स्वीकार गरेको छ कि मोक्ष(इनलाइटेनमेन्ट) तथा निर्वाणको अवस्थामा त सारा ब्रह्मान्डकै चेतना एउटै हुन्छ जसलाई ब्राम्ही चेतना अर्थात विश्व चेतना(कस्मीक कन्सीवसनेस) भनिन्छ । तर आफूले बुझ्न र अरुलाई बुझाउन सरलीकृत गर्ने उदेश्यले श्रेष्ठ(कसमिक) तथा सिंगो चेतनालाई जानीजानी दुई प्रकारमा विभाजन गरिएको छ– (१)भोग चेतना, र (२)योग चेतना । संसारमा मानिस दुईप्रकारका छन्– (१)संसारी, र (२)संन्यासी । हरेक मानिसको चेतनाको विकास सैद्धान्तिक ज्ञान र व्यवहारीक अभ्यासबाट हुने गर्दछ । संसारी मानिसहरुको चेतनाको विकास उसले गर्ने दैनिक गतिविधिहरुको सिकाइबाट हुन्छ भने संन्यासीहरुको चेतनाको विकास दैनिक सिकाइकसाथै अध्यात्म विज्ञानका महत्वपूर्ण विषय योग तथा ध्यान  साधनाबाट हुन्छ । योग तथा ध्यान साधनाका सैद्धान्तिक ज्ञान र व्यवहारीक अभ्यासहरुले मानिसको चेतनामा स्तरोन्नती गराउँछ र मानिसले आत्मज्ञान अर्थात तत्वज्ञान अर्थात ब्रह्मज्ञान हासिल गरि अन्तत्वगत्वा मोक्ष तथा निर्वाणको अवस्था प्राप्त गर्दछ ।


भोग चेतना र योग चेतना
 
ओशो भन्नुहुन्छ, “मानिसको पूर्ण स्वरुप चेतना–मन–शरीर मिलेर बनेको हुन्छ । ‘मन’ शरीर र चेतनाको विचमा छ, शरीर भौतिक हो, चेतना पराभौतिक हो र मन भौतिक र पराभौतिक दुवै हो । मनलाई शरीरतिर फर्कायो भने मन भौतिक बन्दछ र यो भोगको अवस्था हो, मानिसको चेतना भोगतिर आकर्षित हुन्छ जसलाई ‘भोग चेतना’ भनिन्छ र मानिस संसारी बन्दछ । तर मनलाई चेतनातिर फर्कायो भने मन पराभौतिक बन्दछ र  यो योगको अवस्था हो, मानिसको चेतना योगतिर आकर्षित हुन्छ जसलाई ‘योग चेतना’ भनिन्छ र मानिस संन्यासी बन्छ । मनलाई सन्तुलित तथा सम्यक किसिमले चेतना र शरीर दुवैतिर फर्कायो भने मानिस मानव बन्दछ । हरप्रकारले सक्षम, सकारात्मक, मानवीयता तथा सर्वकल्याण्को भाव राख्ने र यस्ता गतिविधिहरुमा सदा चिन्तन् गर्ने मानिस पूर्ण मानव हो । हामी मानिसको मनलाई चेतनातिर फर्काउन प्रेरित गर्छौं र उसलाई ओशो संयासीको सम्मान प्रदान गर्छौं ।” ओशोको अर्थ हो पानीको थोपा सागरमा मिलेको अवस्थामा थोपाले गर्ने सागरीय अनुभूति हो र संयासीको अर्थ हो आफ्नो आत्मा अर्थात चेतना परमात्मासंग मिलेको अवस्थामा उसको चेतनाले गर्ने इश्वरीय परमानन्दको अनुभूति हो । संन्यासीले भौतिक संसारप्रतिको भोगमा तटस्थ(न्युनतम आवश्यकता मात्रको भोग) रहेर र पराभौतिक संसार अर्थात आध्यात्मिकताको यात्रामा अग्रसार भएर परमात्माको अनुभूति गर्दछ । यसैकारण ओशो तथा ओशोका आध्यात्मिक मुल्य मान्यताहरुलाई मान्ने वहाँका अनुयायीहरुलाई ओशो संन्यासीको गरिमामय विशेषण प्रदान गरिएको हो ।


भोग चेतनाको विकास

मानिस जन्मेदेखि भौतिक संसारमा उ सहज तथा सरल ढंगले रहनकालागि आवश्यक पर्ने सबै प्रकारका जानकारी तथा गतिविधिहरु सिक्दै जाँदा विकास हुदैजाने चेतनाको रुपमा बुझ्ने गरिन्छ भोग चेतनालाई, यो भौतिक संसारको भोगसंग सम्वन्धित रहेको छ । मानिसमा भोग चेतनाको विकास कसरी हुन्छ भन्ने सन्दर्भमा तीनवटा उदाहरणहरुले बुझौं– (१)चार वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता, (२)तीन वर्षसम्म बोली नफुटेकी बच्ची र उनको वास्तविकता, (३)अढाई वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता । यी सबै सत्य घटनामा आधारीत तथ्यहरु हुन् । हामी मध्य धेरैले मोग्ली, टार्जन जस्ता मानिसको बच्चा जंगली जनावरहरुसंग एडप्ट भएको र उसको चेतनाको विकास त्यस्तै प्रकारले भएको कथामा आधारीत सिनेमाहरु हेरेका छौं होला । सिनेमा अधिकतर काल्पनिक विषयहरुमा आधारीत हुने भएपनि केहीले मानव समाजको सत्यतथ्य कथाहरुलाई पस्किएका हुन्छन् । यी तीनवटा उदाहरणहरू लगभग यस्तै सत्यतथ्यमा आधारीत छन् । बालमानोविज्ञहरूका अनुसार जन्मिएको एक–दुई वर्षसम्म बच्चाको बोली फुटेन, उसले आफ्ना प्रश्न तथा जिज्ञासाहरु उजागर गर्न सकेन तथा अरुसंग दोहोरो संम्वाद गर्न सकेन भने बच्चामा र  हुर्किएपछि पनि उसको चेतनाको विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन सक्दैन ।


चार वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता*

नेपालको दुर्गम प्रदेश कर्णाली क्षेत्रमा काम गर्दा भएका हृदय हल्लाउने ज्वलन्त अनुभवहरु समेटीएको चिकित्सक डा. नवराज के.सी.को पुस्तक ‘शुन्यको मूल्य’ बाट साभार गरिएको सत्यतथ्य घटना हो यो । चार वर्षसम्म बोली नफुटेको बच्चाको बोली नफुट्नुको कारण जान्न र उपचार गर्न अनेक जोरजाम गरेर अति बिपन्न एकलआमा बच्चालाई लिएर अस्पताल गइन् । तर बच्चाको सबै जाँच रिपोर्टहरु सामान्य आयो, आमा डराइन र सोधिन डाक्टरलाई, "अव के उपाए छ त ?" डाक्टरले जुक्ति लगाए र बच्चालाई चकलेट देखाए बच्चाको भावनात्मक प्रतिक्रिया जान्न, बच्चाले हत्तपत्त चक्लेट लियो, खायो र खुशी व्यक्त गर्यो ढाडेविरालोको जस्तो आवाज निकालेर । डाक्टर छक्क परे र भने, “यो त बोल्छ त !” यसपछि डाक्टरको खोज शुरु भयो बच्चा कस्तो माहोलमा हुर्केको रहेछ भन्ने विषयबारे जान्न । आमाले हृदयबिदारक वास्तविता सुनाइन्, “बिहे भयो, बच्चा जन्मियो, बच्चाको बाउ इन्डिया कमाउन गएको तर फर्केर आएन, अव तँसंग आउदिन भनेर गएको थियो, आधा गालो सानो छंदै डढेको हो रे मेरो, म कुरुप भएकोले गाउँघरमा केही, कोही बिरामी तथा तलमाथि भयो भने मलाई बोक्सी दोष लगाएर कुटपिट गर्थे, थुक्थे, फोहोर खुवाउथे, त्यसैले बच्चा र म गाउँबाट अलग्ग वनको छेउमा बस्छौं, सानो झुप्रो बनाएको छु । बोल्ने र बोलाउने कोही मान्छे छैनन् हामीसंग, काम नगरी मुखमा माड लाग्दैन, बच्चासंगै रोटी, दुध र पानी राखेर बच्चालाई डोकोले छोपेर डोकोको माथि भारी ढुङ्गा राखेर दिनभरी काम गर्न जान्छु, नछोप्यो भने जंगली बिरालाहरु आएर खानेकुरा खाइदिन्छन्, स्याल पनि आउँछन्, स्पालले त बच्चालाई पनि खाइदिन सक्छ ।” डाक्टरलाई अनुमान भयो बच्चा स्याल र विरालाहरुसंग हुर्किएको रहेछ त्यसैले चकलेट पाउदा उसले विरालोको आवाजमा खुशी व्यक्त गर्यो । डाक्टरले एक मुठ्ठी चकलेट दिदै आमालाई सिकाए अवदेखि बा भन, आमा भन, भात, तरकारी भन.... भनेर सिकाउदै चकलेट दिनु तपाईंको बच्चा बोल्छ, उसले घरमा मानिसको बोलीनै नसुकेको र दोहोरो सम्वादको  व्यवहारिक अभ्यास नभएको कारण नबोलेको हो, कुनै रोग लागेको छैन भनेर घर पठाए । विस्तारै डाक्टर र आमाको प्रयासमा बच्चा मजाले बोल्न थाल्यो र परिस्थिति समान्य भयो । कुरुप हाम्रो समाज अनि कठै ती निमुखा वर्गहरू !


तीन वर्षसम्म बोली नफुटेकी बच्ची र उनको वास्तविकता**

इन्डियनमूलकी दुवाइ, युएइ(UAE) निवासी आध्यात्मिक चिन्तक, न्यूरोलोजिस्ट डा. श्वेताको पनि तीनवर्ष पुग्दासम्म बोली फुटेन, उनका बाबा–आमा दुवै चिकित्सा क्षेत्रमा सम्वद्ध भएकोले अत्यन्तै व्यस्त जीवनशैली थियो । उनलाई पनि डाक्टरले जाँच गर्दा केही रोग तथा समस्या देखेनन् । डाक्टरले घरमा बोल्ने माहोल तथा दोहोरो सम्बादका नियमित व्यवहारिक अभ्यास नपुगेर बच्ची नबोलेकी हुन् परिवारमा लगेर राख्नु बोल्नेछिन् भनेपछि उनलाई इन्डिया हजूरआमाकहाँ लगेर राखियो र केही समयपछि उनी बोल्न थालिन । आश्चर्यको कुरा, तीन वर्षसम्म बोली नफुटेको बच्चीको पहिलो बोली लामो वाक्य सनातन गायत्री मन्त्र थियो । तीन वर्षकी बच्चीले त्यति लामो वाक्य गायत्री मन्त्र शुद्धसंग उच्चाहरण गरेको सुनेर सबै छक्क परे । बच्चीको बाबा–आमा नास्तीक थिए, उनीहरुले हामीले घरमा कहिल्यै पनि यो मन्त्र उच्चाहरण गरेका छैनौं, उनलाई कतैको मन्दिर पनि लगेका छैनौं र घरवाहिर त्यस्तो माहोलमा पनि लगेका छैनौं भने । तर बच्चीको आमाले पुरानो कुरा सम्झिन  सुनाइन, श्वेता गर्भमा छँदा आमाले नर्सिगंको तालिम लिएको ठाउँमा गायत्री मन्त्र वाचन गरिन्थ्यो दिनदिनै र आमाले यो वाचन सुनिरहेकी हुन्थिन संधै । यो विषय महाभारतको कथामा उल्लेखित राजकुमार अभिमन्यु माता सुमद्राको गर्भमा रहदा भगवान श्रीकृष्णले श्रेष्ठ पिता धनुरधर अर्जुनलाई चक्रभ्यूको प्रशिक्षण दिदा अभिमन्युले गर्भमै सुनेको र सिकेको तर कारणवस पूरा सुन्न तथा सिक्न नसकेको पराअलौकिक विषयसंग मिल्दोजुल्दो तथा सम्वन्धित छ । यस्ता सत्यतथ्यमा आधारीत उदाहरणहरु हाम्रा गाउँसमाजमा धेरै छन् ।
 

अढाई वर्षसम्म बोली नफुटेको बच्चा र उसको वास्तविकता***
(पंक्तिकार, म स्वयंको अनुभव)

मेरो ठूलो बाबु डा. मुकेश(PhD)को पनि अढाइ वर्षसम्म बोली फुटेन, आठ महिनामा पहिलो दाँत माथिपट्टीबाट आयो, अठार महिनामा गोडा टेकेर हिंड्यो, डाक्टर जाँचको रिपोर्ट सबै सामान्य र बच्चा स्वस्थ थियो । हाम्रो संस्कृति तथा परम्परा अनुसार बच्चा गर्भमा रहदा आमा भगवानको दर्शन गर्न मन्दिर जानु हुदैन भनिन्छ, गयो भने बच्चाको बोली फुट्दैन र बच्चा जन्मिएपछि त्यही मन्दिरमा लगेर भगवानसंग माफी र बोली फुटोस भनेर वरदान माग्नु पर्छ । बाबु गर्भमा रहेको तेस्रो महिनामा थाहा नपाएर म दक्षिणकाली देवीको मन्दिर दर्शन गर्न गएको थिएं । बाबु अढाई वर्षसम्म नबोलेपछि यही परम्परा अनुसार हामीले उसलाई दक्षिणकाली देवीको मन्दिर लिएर गयौं र दक्षिणकाली पुर्याएर पूजा, प्रार्थना सम्पन्न भएपछि बाबु त्यहीं मन्दिरमै पहिलो पटक बोल्यो । आश्चर्यको कुरा, अढाई वर्षसम्म कराउने, चिच्याउने तर नबोल्ने बच्चा मन्दिरै अगाडिको खोलाको जल अचाउँदा हाँस्दै एक्कासी उसले कुरा पुयाएर अर्थ लाग्ने सिंगो वाक्य “पानी कुलुलु बग्यो” भनेको थियो । हामी खुशी र आश्चर्याले अवाक भएका थियौं त्यतिबेला र विश्वास अझ गहिरो भएर गयो इश्वरको परालौकिक शक्तिप्रति । हाम्रो परिवारमा नबोल्ने माहोल थिएन, घरभरी परिवार भरीभराउ थियौं, अझ मैले त बाबु एक वर्षको भएपछि मेरो बुवा–आमासंग(जब्दि -४, सर्लाही) छ महिना छोडेको थिएं आफ्नो पढाई पूरा गर्ने शिलशिलामा, त्यहीपनि उसको बोली फुटेन । सायद चलिआएको संस्कृति तथा परम्परामा भनिए अनुसार इश्वरको केही अलौकिक तथा पराभौतिक चमत्कार नै थियो त्यो । यस्ता सत्यतथ्यमा आधारीत उदाहरणहरु हाम्रा गाउँसमाजमा धेरै छन् ।


माथि उल्लेखित उदाहरणहरूबाट यो स्पष्ट बुझ्न सकिन्छ कि मानिसको भोग चेतनाको विकासमा  परिवार, साथीसंगी, समाजसंगको संगत र दैनिक व्यवहारिक अभ्यासहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर मानिसको चेतना एउटै हुन्छ, सकारात्मक जीवनशैली जीउने तथा अध्यात्म साधनाका व्यवहारिक अभ्यासहरू गर्दै जाने क्रममा भोग चेतनाको विकास तथा स्तरोन्नती हुदै जादा भोग चेतनानै योग चेतनामा परिणत हुन जान्छ । मानव समाजमा आम रुपमा देखिदै आएको तथ्यका अनुसार अधिकांशतः मानिसहरु भोगबाट तृप्त हुदै गएपछि वैराग्य तथा संन्यासी जीवनशैली अंगालेपछि योगमा प्रवेश गर्दछन् र उनीहरूको भोग चेतनाको स्तरोन्नती भएर योग चेतनामा परिणत हुन्छ भने केही मानिसहरु जन्मदै परालौकिक शक्ति तथा इश्वरको आशिर्वाद आफू संगसंगै लिएर आएका हुन्छन् र जीवनको शुरु अवस्थादेखि नै योग चेतनामा जिउने गर्दछन् ।


योग चेतनाको विकास

मानिसले आफ्नो मनलाई संसारतिर फकार्यो भने आफूलाई हराउँछ तथा आफूबाट टाढा हुन्छ तर मनलाई आफूतिर फर्कायो भने आफूलाई भेटाउँछ र आत्मज्ञान प्राप्त गर्छ, आत्मज्ञान नै परमात्मामा स्थित हुने तथा मोक्ष प्राप्तिको पमुख कडी तथा पहिलो कदम हो । आफू अर्थात ‘म’ भनेको शरीर होइन, आत्मा अर्थात चेतना हो र यो परमात्माको अभिन्न अंश हो । यो सत्य हो कि हामीलाई भौतिक जीवनमा मानिसबाट मानव बन्न भौतिम संसारका भोगहरुले सहयोग गर्दछन् तसर्थ हाम्रो हरप्रकारको विकासकोलागि भौतिक संसारको भोग आवश्यक र पुर्णतः जायज छ । भौतिक संसार र यसको भोग पनि परमात्माकै सृष्टि हो र यो भोगकैलागि सृष्टि गरिएको हो तर संसारलाई भोग कसरी गर्ने भन्ने चाहिं प्रमुख सवाल हो । भगवद् गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ, “सांसारीक सुख, सुविधाहरुलाई तटस्थ तथा साक्षी भएर भोग गर्नु नै योगतिरको यात्रा प्रारम्भ गर्नु हो, यो नै वास्तविक वैराग्य अर्थात संन्यास जीवन हो र संन्यासी मात्र परमात्मामा योग हुन योग्य हुन्छ ।” योग विज्ञानको साधनाबाट नै योग चेतनाको विकास हुन्छ । ‘योग’ शरीर, मन हुदै आत्मा तथा आत्मवोध र परमात्मा तथा मोक्षसम्म पुर्याउने अति महत्वपूर्ण सवारी साधन हो । योग सात प्रकारका छन्– कर्म, तन्त्र, हठ, भक्ति, ज्ञान, ध्यान, सांख्य तथा राज योग । आफ्नो स्वभाव अनुसारको योग र यसका विधिहरु चयन गरि त्यसको निष्ठापूर्वक अनुशरण गरेर परमात्मातिरको यात्रा गर्ने क्रममा योग चेतनाको क्रमशः स्तरोन्नती हुदै जान्छ र मानिस मोक्षमा उपलव्ध हुन्छ ।

बुद्धत्वप्राप्त परम प्रकाशित सिद्ध महापुरुषहरुका अनुसार योग साधनामा ‘ध्यान’ अति महत्वपूर्ण सबै योगका प्रकारहरुको साझा विषय र प्रभावकारी व्यवहारीक साधना विधि हो । योग चेतनाको विकास तथा स्तरोन्नतीमा ध्यानका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरुले सबैभन्दा बढि र महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । ध्यान के हो र यसले मानिसको चेतनाको स्तरोन्नतीमा कस्तो प्रभाव पार्दछ भन्ने सन्दर्भमा बुद्धत्वप्राप्त महापुरुषहरु भन्नुहुन्छ–
ड्ड ध्यान त्यस्तो ‘अग्नि’ हो जसले मानिसका सबै नकारात्मक विचार, विकार तथा बानीहरु जलाएर भस्म पारिदिन्छ र काम लाग्ने तथा आवश्यक विचार तथा बानीहरुलाई खारेर उत्कृष्ट बनाएर मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।
ड्ड ध्यान त्यस्तो ‘मदानि’ हो जसले मानिसका सबै विचार, विकार तथा बानीहरुलाई मथेर काम लाग्ने विचार तथा बानीहरुलाई नौनीर्झै माथिमाथि उतारीदिन्छ र काम नलाग्ने तथा तत्काल आवश्यक नपर्ने विचार तथा बानीहरुलाई दहीको छोक्रा झैं तलतल थिगारी दिन्छ र मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।
ड्ड ध्यान त्यस्तो ‘प्रकाश’ हो जसले मानिसलाई आफूमा भएका राम्रा तथा नराम्रा, काम लाग्ने तथा नलाग्ने विचार तथा बानीहरुलाई छर्लंग देख्न सक्ने प्रकाश प्रदान गरि राम्रा, काम लाग्ने र आवश्यक विचार तथा बानीहरुलाई प्राथमिकताका आधारमा स्पष्ट देखाइदिन्छ र मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।
ड्ड ध्यान त्यस्तो ‘रेती’ हो जसले मानिसको चेतनालाई निरन्तर रेती लगाएर तथा अर्जापेर धारिलो बनाइदिन्छ र मानिसलाई राम्रो, नराम्रो र सही, गलत छुट्याउन सक्ने क्षमता प्रदान गरि उसको चेतनाको स्तरोन्नती गर्दछ । 
ड्ड ध्यान त्यस्तो ‘कुचो’ हो जसले मानिसको विचार, मन, भाव तथा चेतनामा रहेका विकारहरुको सफाइ गरेर मानिसको शरीर, मन भावना, बुद्धि, विवेक, चित्त, अंहकारको शुद्धिकरण गरि मानिसको चेतनाको स्तरोन्नती गर्दछ ।

समग्रमा भन्नुपर्दा, ध्यान एकाग्रता हो जसले निरन्तर मानिसलाई चाहिएका अति आश्यकीय पक्ष तथा विषयहरुमा एकाग्र तथा केन्द्रित भइरहन मद्धत गर्दछ र मानिसले जीवनमा चाहेको इच्छा, कामना पूरा गर्दछ जसरी म्याग्नीफाइगं ग्लासले सुर्यका छरिएका किरणहरुलाई एकत्रित गरेर अत्यधिक ताप उत्पन्न गरि आगो बाल्दछ त्यसैगरि ध्यानले मानिसका विभिन्न विषयहरुमा छरिएको चेतनालाई एकिकृत गरि उसलाई आवश्यक परेको विषयमा केन्द्रित हुन र उक्त विषयको स्तरोन्नती गर्न भरपुर मद्धत गर्दछ ।

अन्त्यमा
भोग चेतनाको विकास परिवार, साथीसंगी, समाजसंगको संगतको सिकाइबाट र सम्बन्धित विषयहरुका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरुबाट हुन्छ र योग चेतनाको विकास अध्यात्म, योग, ध्यानसंगको संगतको सिकाइबाट र सम्बन्धित विषयहरुका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरुबाट हुन्छ । bsirjana@gmail.com

..............................................
सन्दर्भ सामग्री:
*डा. नवराज
साभारः नवराज के.सी., (बि.सं. २०७९) । शुन्यको मूल्य । सास, साहस र स्नेहको कथा । अध्याय - १, पृष्ठ - ११।  सांग्रीला मिडिया ग्रुप प्रा.लि., काठमाडौं, नेपाल ।

**डा. श्वेता

***डा. मुकेश

No comments:

Post a Comment