डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
‘सकारात्मक’ शव्दको प्रयोग मानिसको जीवनयापनसंग सम्वन्धित हरेक घटना तथा विषयहरुमा गर्ने गरिन्छ । कसैलाई सरसल्लाह तथा उपदेश दिदा अधिक मात्रामा प्रयोग गरिने शव्द सकारात्मकसता नै हो– सकारात्मक सोच्नु पर्छ, सकारात्मक विचार गर्नुपर्छ, सकारात्मक बन्नु पर्छ, सकारात्मक हुनु पर्छ, सकारात्मक भाव राख्नु पर्छ, सकारात्मक दृष्टिकोण बनाउनु पर्छ, नकारात्मकतामा पनि सकारात्मकता खोज्नुपर्छ, हरेक घटना तथा विषयहरुमा सकेसम्म सकारात्मकता खोज्नु पर्छ... आदि । सकारात्मक बन्नु तथा हुनु शव्द तथा सिद्धान्तमा प्रयोग गरिए जस्तो सहज तथा चुट्कीमा हुने विषय होइन । यसैकारण सकारात्मकताबारे धेरै प्रश्न तथा जिज्ञासाहरु उठ्ने गरेका छन्– (१)सकारात्मक बन्ने क्रिया हो या हुने अवस्था हो ? (२)सकारात्मक बन्न तथा हुन सैद्धान्तिक ज्ञान महत्वपूर्ण हुन्छ कि व्यवहारीक अभ्यास महत्वपूर्ण हुन्छ ? (३)सकारात्मक बन्न तथा हुन आहार, विहार र व्यवहारको के, कस्तो र कति भूमिका रहन्छ ? (४)सकारात्मक बन्न तथा हुन अध्यात्म साधना, योगासन, प्राणायाम र ध्यानको के, कस्तो र कति भूमिका रहन्छ ? (५)सकारात्मक बन्न तथा हुन शरीर, मस्तिष्क, मन, भावना र चेतनाको के, कस्तो र कति भूमिका रहन्छ ?
सकारात्मकता बढ्ने तथा बढाउने विज्ञान
अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञानको अत्याधूनिक अंग प्रमात्रा विज्ञान(Quantum Science) का अनुसार ब्रम्हाण्डमा स्थित हरचिज उर्जा हो । ब्रम्हाण्डमा हरक्षण असीम उर्जाको तरङ्गको प्रवाह चलिरहेको हुुन्छ किनकी यो ब्रह्माण्ड नै पूर्णतः उर्जाका तरंगहरुले निर्मित छ र ब्रम्हाण्डमा स्थित प्रकृतिमा रहेका हामी सबै मनुष्य, प्राणी, पंक्षी, वनस्पति, जड् वस्तु तथा पदार्थहरु सबै उर्जाका तरंगहरु नै हौं । कुनै एकको उर्जाको तरंगको गतिविधि तथा गुणको प्रत्यक्ष प्रभाव अर्कोको उर्जाको तरंगमा सहजै पर्दछ, यो तथ्य शाश्वत सत्य हो । यसर्थ, मानिसका सोच, विचार, भावना तथा चेतनाका उर्जाका तरङ्गहरु र ब्रम्हाण्डमा अविरल चलिरहने उर्जाका तरङ्गहरुको सम्योगबाट सारा सृष्टि चलिरहेको छ । अध्यात्म विज्ञान र प्रमात्रा विज्ञान दुवैले यो तथ्यलाई मान्यता प्रदान गरेका छन् कि मानिसले हरक्षण गर्ने हरेक प्रकारका सकारात्मक तथा नकारात्मक सोच, विचार, भावहरुद्वारा उर्जाका तरंगहरूको प्रवाह ब्रम्हाण्डमा छोडिरहेका हुन्छन् र यी उर्जाका तरगंहरुले ब्रम्हाण्डमा निरन्तर प्रवाह भैरहने त्यस्तै प्रकारका सकारात्मक तथा नकारात्मक उर्जाका तरंगहरुलाई आफूतिर आकर्षित गरिरहेका हुन्छन् र यही प्रक्रियाबाट मानिसको जीवन चलिरहेको हुन्छ, मानिसको जीवनमा घटनाहरु घटिरहेका हुन्छन् । हामीले सकारात्मक उर्जाको तरगं पठाइरहेका छौं भने ब्रम्हाण्डबाट सकारात्मक उर्जाको तरगं आफूतिर आकर्षित गर्छौं र नकारात्मक उर्जाको तरगं पठाइरहेका छौं भने ब्रम्हाण्डबाट नकारात्मक उर्जाको तरगं नै आफूतिर आकर्षित गर्छौं र यही उर्जाका प्रभावका कारण हामी सकारात्मक तथा नकारात्मक स्वभावका बन्दछौं । हामी कस्तो बन्छौं तथा हुन्छौ यो सबै हाम्रो सोच, विचार तथा भावमा निर्भर गर्दछ तसर्थ सकारात्मक बन्न तथा हुन हरेक व्यक्तिले आफ्नो सोच, विचार तथा भावमा सकारात्मकता ल्याउनु अनिवार्य हुन्छ । ब्रम्हाण्डबाट सकारात्मक उर्जाका तरगंहरु आकर्षित गरेर जीवन सरल, सहज, शान्त, समृद्ध बनाउन सबैले सबैलाई सकारात्मक बन्नु पर्छ तथा हुनु पर्छ भनेर सल्लाह दिने गरिन्छ तर कसरी सकारात्मक बन्ने तथा हुने भन्ने सही तरिका तथा उपाय कसैले कसैलाई सिकाउदैनन् किनकी सकारात्मक बन्नु तथा हुनु कठिन, अलिक समय लाग्ने र अत्यन्तै बृहत विषय हो । वास्तवमा सकारात्मक बन्ने तथा हुने कुरा सैद्धान्तिक ज्ञानमा कम व्यवहारीक अभ्यासमा बढि निर्भर गर्ने विषय हो ।
बुदागत विश्लेषण
(१)‘सकारात्मक’ बन्ने क्रिया हो या हुने अवस्था हो ?
यस विषयका जानकारहरु भन्छन्, ‘सकारात्मक’ बन्ने क्रिया नभइ हुने अवस्था हो किनकी सकारात्मक बन्नु तथा हुनुमा मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाले गर्ने गतिविधिहरुको प्रत्यक्ष समलग्नता, भूमिका तथा प्रभाव रहेको हुन्छ र मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा आन्तरीक तथा विविध प्रकारका वाहिय गतिविधि, घटना तथा विषयहरुको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । सामान्य व्यक्तिहरुले सकारात्मक बन्ने तथा हुने सल्लाह तथा सुझावहरु केही हदसम्म अनुशरण गर्न प्रयाश गर्ला र संधैकालागि नभएपनि क्षणभरका लागि सफल पनि हुन सक्ला तर रोगी तथा विविध समस्याहरुबाट ग्रस्त विशेष प्रकारका मानिसहरुकोलागि सकारात्मक बन्न अत्यन्त कठिन हुन्छ किनकी सकारात्मक बन्ने क्रिया होइन क्रमशः हुने अवस्था हो । उदाहरणकालागि कोही शारीरिक रुपमा रोगी तथा समस्याग्रस्त छ भने उसलाई सकारात्मक बन तथा होउ भनेर उ तत्काल सकारात्मक बन्न तथा हुन सक्दैन । कोही मानसिक रुपमा रोगी तथा समस्याग्रस्त, तनाव तथा चिन्ताग्रस्त छ, विक्षिप्त छ भने उ तत्काल सकारात्मक बन्न तथा हुन सक्दैन । त्यस्तै कोही भावनात्मक रुपमा सबैतिरबाट निराश भएको तथा हरप्रकारले पूर्णतः भावनात्मक रुपमा टुटेको छ, आत्मविश्वास हराएको छ तथा आत्मसम्मान गुमाएको छ भने त्यस्तो व्यक्ति पनि तत्काल सकारात्मक बन्न तथा हुन सक्दैन । शरीर, मन, भावनामा आएका यसप्रकारका रोग तथा समस्याहरुले मानिसको आत्मा अर्थात चेतनासम्म गहिरो नकारात्मक प्रभाव पारेका हुन्छन् । उनीहरुकालागि चरणवद्ध रुपमा विशेष प्रकारले सकारात्मक बन्ने तथा हुने प्रक्रियाहरु सिकाउनु तथा प्रशिक्षण दिनु पर्दछ । यसकालागि सकारात्मक बन्न तथा हुन सहयोय गर्ने परिस्थिति तथा विषयहरुबारे आवश्यक सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरु प्रदान गरेर मानिसको जीवनमा क्रमिक रुपमा ती सिकाइ तथा अभ्यासहरुको व्यवस्थापन गर्नु अति आवश्यक हुन्छ । तल उल्लेखित विषय तथा गतिविधिहरुमा व्यवस्थापन गर्दै जाने क्रममा मानिस स्वतः सकारात्मक हुदै जान्छ र जीवनप्रति उ पूर्णरुपले सकारात्मक बन्दछ । यसकारण सकारात्मक बन्ने क्रिया नभएर क्रमिक रूपमा हुने अवस्था हो ।
(२)सकारात्मक बन्न तथा हुन सैद्धान्तिक ज्ञान महत्वपूर्ण हुन्छ कि व्यवहारीक ज्ञान तथा अभ्यास महत्वपूर्ण हुन्छ ?
सकारात्मक हुन सैद्धान्तिक ज्ञान र व्यवहारीक ज्ञान तथा अभ्यास दुवैको महत्वपूर्ण भूमिका रहेको भएपनि सैद्धान्तिक ज्ञान भन्दा व्यवहारीक ज्ञान तथा अभ्यासलाई बढि प्राथमिकता दिइन्छ किनकी मानिसको मनले ज्ञान भन्दा अभ्यासलाई छिटो र सहज रुपले ग्रहण गर्दछ, ज्ञान बुद्धिमा जान्छ तर अभ्यास मनमा जान्छ, मन तथा भावना त्यस्ता उर्जा हुन् जसले बुद्धिलाई टेर्दैनन् व्यवहारीक अभ्यासद्वारा बसेको बानीलाई टेर्दछन् । सैद्धान्तिक ज्ञान अन्तर्गत अध्यात्म विज्ञानको महत्वपूर्ण विषय योग विज्ञानमा सिकाइएका सात्विक जीवनका आधार स्तम्बहरु यम, नियम, प्रत्याहार र धारणाका ज्ञानहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु अति आवश्यक हुन्छ ।
पाँच यम– सत्य, अहिंसा, अस्तेय, ब्रम्हचर्य, अपरिग्रहले आफूप्रति गर्ने सकारात्मक, सात्विक तथा सम्यक व्यावहारहरुबारे सैद्धान्तिक ज्ञान सिकाउँदछ । यम जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।
पाँच नियम– शौच, संतोष, तप, स्वाध्याय, इश्वर प्रणिधानले अरु तथा आफूभन्दा वाहिरको संसारप्रति गर्नुपर्ने सकारात्मक, सात्विक तथा सम्यक व्यवहारबारे सैद्धान्तिक ज्ञान सिकाउँदछ । नियम जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।
प्रत्याहार– पौष्टिकतालागि ग्रहण गर्ने आहारका साथसाथ मानिसले दैनिक जीवनमा उसका ज्ञान इन्द्रियहरुको माध्यमबाट पनि आहार ग्रहण गरिरहेको हुन्छ जसले उसको जीवन कस्ताे बनाउने भन्ने बिषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । आँखाको आहार दृश्य हो, कानको आहार श्रव्य हो, नाकको आहार सुगन्ध हो, छालाको आहार स्पर्श हो र जिब्रोको आहार पौष्टिक खानपान र उसले बोल्ने शव्द हो । यी सबै प्रकारका आहारले मानिसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । आहार जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।
धारणा– मानिसले निरन्तर मनमा कस्ता प्रकारका विषय तथा दृश्यहरुलाई धारण गर्दछ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुन्छ । हरपल मनमा विगतका पिडादायि समृतिहरु, भविश्यका असुरक्षाका भाव तथा अनिश्चित कल्पनाहरु दौडाइरहने मानिसले आफ्नो जीवनको अत्यन्तै महत्वपूर्ण समय वर्तमानलाई विगार्दछ । मानिसको मस्तिष्क हरवखत वर्तमानमा चलिरहेने भौतिक यन्त्र हो, यसले विगत तथा भविश्यका विषय, झुठ, सत्य, कल्पना, सपना, बिपना आदि छुट्याउन नसक्ने र सबै स्मृति, सोच, विचार, कल्पना, दृश्य तथा काल्पनिक चित्रहरु सबैलाई वर्तमानमा भएको वास्तविक गतिविधि तथा अवस्था ठान्ने र त्यही अनुसार काम गर्न शरीरमा सबैतिर सूचना पठाउने र हाम्रो सोच, विचार, भावना, चेतना र सम्पूर्ण जीवन नै त्यस्तै बन्ने हुनाले यस्ता विगत र भविश्यका असान्दर्भिक तथा नकारात्मक विषयहरुलाई प्रश्रय नदिएर संधै वर्तमानमा भइरहेका सकारात्मक विषयहरुसंग जीउने, वर्तमानका गतिविधिहरुलाई स्वीकार गर्ने मानिस क्रमशः सकारात्मक हुदैजान्छ तसर्थ हाम्रो मस्तिष्कमा हरपल चलिरहेने विचार तथा धारणाहरु सदा स्वस्थ, सात्विक र सम्यक हुनु अति आवश्यक हुन्छ । धारणा जति स्वस्थ, सात्विक तथा सम्यक हुन्छन् उतिनै मानिसलाई सकारात्मक हुन थप मद्धत मिल्दछ ।
यम,नियम, प्रत्याहार र धारणाका सैद्धान्तिक ज्ञान तथा व्यावहारिक अभ्यासले मानिसले आफू र अरुप्रति हुनुपर्ने तथा गर्नुपर्ने धर्म, नैतिकता, निष्ठा, कर्तव्य, उत्तदायित्व, सोच, विचार, व्यवहार, आचरण, सकारात्मक भाव आदिको शुद्धिकरणकालागि जीवन उपयोगी ज्ञान प्रदान गर्दछन् ।
(३)सकारात्मक बन्न तथा हुन आहार, विहार र व्यवहारको के, कस्तो र कति भूमिका रहन्छ ? (४)सकारात्मक बन्न तथा हुन अध्यात्म साधना, योगासन, प्राणायम र ध्यानको के, कस्तो र कति भूमिका रहन्छ ?
सकारात्मक हुन मानिसले गर्ने आहार, विहार र व्यवहार स्वस्थ, सात्विक र सम्यक हुनु अति आवश्यक हुन्छ । सकारात्मक हुन र मानिसको सहज तथा सरल जीवनकालागि अध्यात्म साधना, योगासन, प्राणायम र ध्यान फरक तथा अझ विशेष प्रकारका आहार तथा व्यायाम हुन् ।
सम्यक अर्थात सन्तुलित आहार– मानिसको शरीर, मन, भावना तथा चेतनामा आहारको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । हामी जस्तो प्रकारको आहार सेवन गर्दछौं त्यस्तै बन्दै जान्छौं तसर्थ आहारको सन्दर्भमा निम्न पक्षहरुमा गंभिर हुनुपर्दछ– आहार उत्पादन गएिको मौसम तथा क्षेत्र; आहार उत्पादन गरिएको प्रक्रिया(जैविक तथा विषादीयुक्त); आहारको गुण(सत्व, रज, तम); आहार तयार गर्ने तरिका र प्रयोग गरिने भाँडा; आहार ग्रहण गर्ने तरिका र समय सबै सक्दो स्वस्थकर बनाउने प्रयास गर्नुपर्दछ ।
सम्यक अर्थात सन्तुलित विहार– मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा विहार तथा व्यायामको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । खेलकुद, नृत्य, प्राकृतिक भ्रमण, आरोहण, ट्रेकिगं, हाइकिगं, नियमित प्रातः भ्रमण, जिम, एरोबिक, योगासन, प्राणायाम विहार तथा व्यायाम अन्तर्गत पर्दछन् । सबै प्रकारका व्यायामहरुले मुख्यतः शरीरका वाहिरी अंगहरुलाई र केही हदसम्म आन्तरीक अंगहरुलाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछन् र प्राणायामले शरीरका आन्तरीक अंगहरु, मन र मानसिक अवस्थालाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछ । व्यायामपछि अनिवार्य रुपमा नगरी नहुने अर्को अति महत्वपूर्ण अध्यात्म साधनाको विषय 'ध्यान' हो । ध्यानले मन, भावना, आत्मा अर्थात चेतनालाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछ साथसाथ शरीरका वाहिरी अंग, आन्तरीक अंग र मानसिक अवस्थालाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्दछ तसर्थ मानिस सकारात्मक हुनकालागि विहार तथा व्यायाम सम्यक हुनु अतिआश्यक हुन्छ ।
सम्यक अर्थात सन्तुलित व्यवहार– यम, नियम, प्रत्याहार, धारणा, आहार, विहारले मानिसको सोच, विचार, बुद्धि, विवेक, मन, मानसिक अवस्था, भावना र चेतनामा प्रत्यक्ष प्रभाव पार्दछन् जसको आधारमा उसले गर्ने व्यवहार तथा आचरण निर्धारीत भएको हुन्छ तसर्थ मानिसको व्यवहार पनि सकारात्मकता जस्तै बन्ने क्रिया नभएर स्वतः हुने अवस्था हो । सकारात्मक तथा सम्यक व्यवहार सकारात्मकताको महत्वपूर्ण कडी हो ।
(५)सकारात्मक बन्न तथा हुन शरीर, मस्तिष्क, मन, भावना र चेतनाको के, कस्तो र कति भूमिका रहन्छ ?
आधूनिक चिकित्सा विज्ञानका अनुसार मानिसलाई मस्तिष्कले संचालन गर्दछ जो भौतिक अंग हो र अध्यात्म विज्ञानका अनुसार मानिसलाई आत्मा अर्थात चेतनाले संचालन गर्दछ जो पराभौतिक अंग हो । वास्तविकतामा मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतना सबै एकआपसमा बलियोसंग अन्तरसम्वधिन्त हुन्छन् र सबै अंगहरुको सक्रिय सम्योजनबाट मानिसको जीवन चलेको हुन्छ । मानिसको मस्तिष्क भौतिक हो तर यसभित्र हुने सबै अदृश्य गतिविधिहरु पराभौतिक हुन् जसलाई आत्मा अर्थात चेतनाले संचालित गरिरहेको हुन्छ । मानिसको देब्रे मस्तिष्क चेतन तथा जाग्रीत अवस्था हो जसले तत्काल गर्नुपर्ने गतिविधिहरु गरिहेको हुन्छ । दाहिने मस्तिष्क अवचेतन हो जसले देब्रे मस्तिष्कको मद्धतले हाम्रा कर्म र ज्ञान इन्द्रियहरुले गरेका गतिविधिहरुलाई स्मृतिमा राख्दछ । मानिसले जुन काम तथा विषय बारबार दोहोर्याउँछ ती विषयहरुलाई दाहिने मस्तिष्कले बानीको रुपमा ग्रहण गर्दछ र यी बानीहरु मानिसका व्यवहार तथा आचरणमा प्रकट हुन्छन् र मानिसको कर्म त्यसै अनुरुप हुदै जान्छन् । मानिसले देब्रे मस्तिष्क मार्फत राम्रा सोच, विचार, भाव तथा कामहरु बारबार गरेको छ र ती विषयहरुलाई दाहिने मस्तिष्कले बानी बनाएको छ भने मानिसले सकारात्मक कर्महरु गर्दछ र उ स्वतः सकारात्मक हुन्छ । कर्म सिद्धान्तका अनुसार सोच्नु, कल्पना गर्नु, विचार गर्नु तथा भाव (पिडा, खुशी, आनन्द) ब्यक्त गर्नु पनि कर्म हुन्, यीनको परिणाम शरीरका अंगहरुमा लागेको बानी भन्दा अझ प्रगाढ हुन्छन् र उल्लेख्य किसिमले वाहिर प्रकट हुन्छन् । मानिसका आदत, व्यवहार, आचरण, कर्ममा बुद्धि तथा विवेकले भन्दा बानीले बढि प्रभाव पारेको हुन्छ तसर्थ स्वस्थ, सात्विक तथा सम्यक बानी बसाल्न सक्यो भने मानिस स्वतः सकारात्मक बन्छ तथा हुन्छ ।
सकारात्मकता चुट्कीमा बन्ने तथा हुने अवस्था होइन यसकोलागि सैद्धान्तिक र व्यवहारीक दुवैप्रकारका ज्ञान र व्यवहारहरुको अभ्यास आवश्यकता अनुसार गर्नु अनिवार्य हुन्छ । सकारात्मक मानिसका व्यवहारमा स्वतःस्फुर्त रुपमा क्षमा, स्वीकार, धन्यवाद, कृतज्ञता, प्रशंशा, प्रेम, सेवा, सहयोग, उत्प्रेरणा, नैतिकता, निष्ठा, उत्तरदायित्व, संकल्प, दृढता, सदविचार, सदकर्म, सदव्यवहार, आत्मविश्वास, आत्मसम्मान तथा अरुप्रति सम्मान आदि इश्वर प्रदत्त गुणहरू र मानवीय तथा सर्वकल्याणका भावहरु प्रकट हुन्छन्, उ पूर्णरूपमा सकाकारात्मक हुन्छ र सकारात्मक मानिसको जीवनमा सुख, शान्ति, समृद्धि स्वतः प्रकट हुदै जान्छ । bsirjana@gmail.com
No comments:
Post a Comment