डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
पूर्वीय वैदिक सनातन दर्शनमा गर्दै आइएको अध्यात्म साधनाको प्रमुख विषय योग विज्ञान हो । अध्यात्म साधना सम्पूर्ण रुपमा योग विज्ञानकै वरिपरि घुम्दछ र ‘ध्यान साधना’ योग विज्ञानको अति महत्वपूर्ण अंग हो । सनातन शास्त्रहरुमा सैद्धान्तिक ज्ञान तथा व्यवहारीक प्रयोगको आधारमा योग विज्ञानलाई मोटामोटी रुपमा सात प्रकारमा विभाजन गरिएको छ– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, (७)सांख्य योग तथा राज योग । सबै प्रकारका योग साधनाहरुको प्रमुख लक्ष्य मनुष्यको काया तथा मन अर्थात चित्त शुद्धी गराएर आत्मज्ञान, तत्वज्ञान, ब्रह्मज्ञान हासिल गरि परमात्मामा योग हुनु तथा मोक्ष अर्थात निर्वाण प्राप्त गर्नु रहेको छ । योगका सबै प्रकारहरु उत्तिकै महत्वपूर्ण र प्रभावकारी छन्, हरेक व्यक्तिले आफ्नो स्वाभाव अनुसारको योगको प्रकार तथा यसका विधिहरु चयन गर्न सक्दछ र निष्ठापूर्वक ती विधिहरुको अनुशरण गरि अध्यात्म साधना गर्न सक्दछ । अध्यात्म दुई शव्द अधि+आत्म = अध्यात्म मिलेर बनेको छ । ‘अधि’ को तात्पर्य हो श्रेष्ठ अर्थात विशिष्ठ तथा परम, परम+‘आत्मा’ = परमात्मा अर्थात अध्यात्म परमात्मा प्राप्तिको साधना हो । योगका सबै प्रकारहरुमा 'ध्यान साधना' सबैको साझा विषय हो । 'ध्यान' क्रिया नभएर यो मन शुद्धि तथा विचार शुन्यताको अवस्थितिमा स्वतः घटित हुने एक अवस्था हो । आफ्नो स्वाभाव र शारिरीक, मानसिक, भावनात्मक तथा वौद्धिक अवस्था अनुसार आफूलाई उपयुक्त हुने प्रकारका योगका सैद्धान्तिक ज्ञान यम, नियम, प्रत्याहार, धारणा तथा ब्यवहारिक अभ्यासका विधिहरु योगासन, प्राणायामहरुको अनुशरणबाट काया(शरीर) तथा चित्त(मन) शुद्ध गरेको व्यक्तिले सहज रुपमा ध्यान साधना गर्न सक्छ र उसमा सहजै ध्यानको अवस्था घटित हुन्छ । ध्यानको गहिराईमा साधकमा समाधिको अवस्था घटीत हुन्छ र समाधिको अवस्थामा हुने भावातीत अनुभूतिहरुसंगै साधकको मन शुद्धि र चेतनामा स्तरोन्नति हुदैजान्छ र उसले आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हासिल गर्दछ र परमात्मातिर तथा मोक्षतिरको उसको अन्तरयात्राको विधिवत शुभारम्भ हुन्छ । साधकमा ‘म’ शरीर, मन, भाव, बुद्धि, चित्त, अहंकार होइन, ‘म’ शुद्ध आत्मा अर्थात चेतना हुँ, परमतत्व हुँ, ब्रह्मतत्व हुँ भन्ने वोध हुनु नै आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हुनु हो । समग्रमा भन्नु पर्दा, ध्यान साधना सम्पूर्ण रुपमा मनुष्यले आफूभित्रको अन्तरयात्रा गर्ने क्रममा क्रमशः उसको चेतनामा स्तरोउन्नति हुदै जाने प्रक्रिया हो र यस्तो अवस्थामा आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानको अनुभूतिमा अझै निखारता आउदै जान्छ ।
अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान
चेतना र यससंग सम्वन्धित मस्तिष्क, मन, भाव, बुद्धि, विवेक, चित्तको परिभाषा तथा विश्लेषणमा अध्यात्म विज्ञान स्पष्ट छ तर यस सन्दर्भमा आधूनिक मनोविज्ञानका अध्ययनहरु त्यति गहिराइमा पुग्न नसकेकाले यसले गरेका परिभाषा तथा विश्लेषणहरु अलि बुझाइमा स्पष्टता नहुने प्रकारका छन् अध्यात्म विज्ञानको तुलनामा । आधूनिक मनोविज्ञानमा मस्तिष्क, मन र चेतनाबारे कतै उही हो भन्ने र कतै फरक हो भन्ने बुझाइ तथा व्याख्या रहेकोले अष्पष्टता छ तर अध्यात्म विज्ञानले स्पष्टसंग भनेको छ मस्तिष्क भौतिक तथा स्थुल अंग हो, मस्तिष्कमा उत्पन्न हुने विचारहरुको समुह मन हो, मन मानिसको शरीर र आत्मा अर्थात चेतनालाई जोड्ने अति महत्वपूर्ण पुल हो त्यसैले मन भौतिक र पराभौतिक दुवै हो तर अध्यात्म विज्ञानको अनुसार मन धेरै हदसम्म पराभौतिक हो र थोरै मात्र भौतिक हो किनकी आत्मा अर्थात चेतनाको स्तरोन्नतिको प्रक्रियामा मन तथा मनको शुद्धिको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
मस्तिष्कको भौतिक र पराभौतिक बनावट
मानिसको शरीरको सबैभन्दा उपरी अंग टाउकोको भित्रि भागमा औषतमा डेढ किलोग्राम तौलमा रहेको नरम पदार्थ मस्तिष्क(Brain) हो । मस्तिष्क स्थूल स्वरूपमा भएकोले यो शतप्रतिशत भौतिक हो तर यसभित्र हुने गतिविधिहरु भौतिक र पराभौतिक दुवै प्रकारका हुन्छन् । भौतिक मस्तिस्कका हरेक गतिविधिहरुसंग मानिसको शरीर, मन, भाव, बुद्धि, विवेक, कर्म, चेतना प्रत्यक्ष रूपमा सम्बन्धित रहेका हुन्छन् । स्थुल स्वरूप मस्तिष्कका दुई भाग रहेकाछन्– (१)देब्रे मस्तिष्क अर्थात चेतन दिमाग जसमा जागरुकता, प्रश्न, जिज्ञासा तथा तर्कहरु चल्ने गर्दछन्, र (२)दाहिने मस्तिष्क अर्थात अवचेतन दिमाग जसमा हाम्रा बानी व्यवहारहरु संचित भएका हुन्छन् । मस्तिष्कको पछाडिको भाग(हाइपो थालामस) लाई अचेतन दिमाग भनिन्छ जसमा मानिसका जन्म–जन्मका स्मृतिहरु संचित भएका हुन्छन् प्रारब्ध कर्म तथा पूराना संस्कारका रुपमा र यिनै प्रारब्ध कर्म तथा पूराना संस्कारहरुले मानिसको वर्तमान जीवनको स्वभावमा प्रत्यक्ष प्रभाव(नव्वे प्रतिशत) पारिरहेका हुन्छन् । आधूनिक चिकित्सा विज्ञानका अनुसार मानिसको शरीरका सम्पूर्ण गतिविधिहरु मस्तिष्कले नै संचालन गर्ने हुनाले यसका तह तथा उपतह र अवस्था तथा उपअवस्थाहरु धेरै छन् । तर ग्रेग ब्रेडनद्वारा लिखित ‘द डिभाइन म्याट्रिक्स’ पुस्तकमा उल्लेख भए अनुसार, पछिल्लो समय अध्यात्म साधनाका क्रममा भएका अनुभवहरुले हृदय (चिकित्सकीय परिभाषा अनुसार हृदयलाई मुटु भनिएपनि वास्तविकतामा हृदय मुटु होइन, हृदय पराभौतिक हो तर मुटु भौतिक हो) स्वयं वाहिर तथा भित्र प्रकट भएका भावहरु बुझ्ने र यसको विश्लेषण गर्ने क्षमता राख्दछ र हृदयले मस्तिष्कलाई आफूले बुझेको भाव अनुसार व्यवहार गर्नकालागि शरीरभरि जानकारी पठाउन निर्देशन दिन्छ । हृदयले नै भौतिक शरीर र पारभौतिक अर्थात सुक्ष्म शरीर अर्थात आत्मा अर्थात चेतनालाई एकसाथ सुक्ष्म रुपमा चलाइरहेको हुन्छ किनकी हृदय अर्थात अनहद चक्रका इलेक्ट्रो म्याग्नेटिक तरङ्गहरुको ब्रम्हाण्डीप इलेक्ट्रो म्यागनेटिक तरगहरुसंग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यसअर्थमा शरीर तथा मनलाई चलाउने प्रमुख तथा पहिलो अंग मस्तिष्क नभएर हृदय हो र दोस्रो अंग मस्तिष्क हो ।
मनको भौतिक र पराभौतिक बनावट
वैदिक सनातन अध्यात्म विज्ञानले मन तथा चेतनाका सात तह तथा अवस्था बताएको छ– (१)चेतन, (२)स्वप्न, (३)सुसुप्ति, (४)तुरीय, (५)तुरीयातीत, (६)भगवद्, र (७)ब्राह्मी चेतना । आधूनिक मनोविज्ञानमा सबैभन्दा महत्वपूर्ण तथा प्रभावकारी योगदान पुर्याएका महान व्यक्तित्व द्वय सिगमण्ड फ्रायड र वहाँका चेला कार्ल युंगका मनोवैज्ञानिक विश्लेषणहरुलाई नै आमरुपमा सन्दर्भ सामग्रीका रुपमा लिने गरिन्छ तर पछिल्लो चरणमा अरुपनि धेरै मनोविज्ञहरुका विविध विश्लेषणहरु आएका छन् । आधूनिक मनोविज्ञानले मन तथा चेतनाका चार तह तथा अवस्था र तीनका उपतह तथा उपअवस्थाहरु बताएको छ– (१)चेतन(Conscious), (२)अवचेतन(Sub-conscious), (३)अचेतन(Unconscious), र (४)विशिष्ठ चेतन(Super Conscious) । अचेतनलाई (क)व्यक्तिगत अचेतन(Individual Unconscious) र (ख)सामूहिक अचेतन(Collective Unconscious) गरि दुई तह तथा अवस्थामा विभाजन गरिएको छ । तर काम, प्रक्रिया तथा उपलव्धिका दृष्टिकोणबाट आधूनिक मनोविज्ञान अध्यात्म विज्ञानले गरेको खोजको चेतन, स्वप्न र सुसुप्तिको अवस्थासम्म मात्र पुगेको छ अहिलेसम्म त्यस भन्दा अगाडि बढ्ने क्षमताको विकास भएको छैन । मानिसको अचेतन मनभित्रनै सारा पराभौतिक तथा अलौकिक रहस्यहरु रहेका छन्, आधूनिक मनोविज्ञानले यसलाई खोतल्न सकेको छैन तर अध्यात्म विज्ञानमा अचेतन मनभित्रका सबै सुक्ष्म आयामहरुको विस्तृत वर्णन तथा विश्लेषणहरु गरिएका छन् । अध्यात्म विज्ञानका अनुसार मानिसको जन्म–जन्मका सबै प्रारब्ध कर्म तथा संस्कारहरु अचेतन मनभित्र तह-तह बनेर रहेका हुन्छन् । सिगमण्ड फ्रायडले अचेतन मनलाई तीन उपतह तथा उपअवस्थामा विभाजन गरेका छन्– (क)इड(Id), (ख)इगो(Ego), र (ग)सुपर इगो(Super Ego) । कार्ल युंगले पनि अलि फरक प्रकारले अचेतन मनलाई तीन उपतह तथा उपअवस्थामा विभाजन गरेका छन्– (क)व्यक्तिगत अचेतन, (ख)सामूहिक अचेतन, र (ग)आर्केटाइप्स अचेतन । आधूनिक मनोविज्ञानका स्रस्टा द्वय फ्रायड र युंगका यी सबै तह, उपतह तथा अवस्था, उपअवस्थाका व्याख्या विश्लेषणहरु एकअर्कासंग नजिक रहेकाछन् ।
आफू स्पष्ट हुन चाहान्छु, म, पंक्तिकार(सिर्जना भण्डारी) चिकित्सा विज्ञानको विद्यार्थी होइन, अध्यात्म साधक हुँ, नोभेम्बर सन् २०११ मा स्वतः घटित भएको अलौलिक क्षणदेखि निरन्तर अध्यात्ममा साधनारत रहदै आएको छु र यी सबै अनुभव तथा अनुभूतिहरु म स्वयंमा घटित भएका थिए, हुन् र भैरहेका छन् । मेरो शरीर, मन, बुद्धि, विवेक, अहंकार, भावना, आत्मा अर्थात चेतना यी सबै अध्यात्म साधनाका क्रममा हुने अनुभव तथा अनुभूतिहरुको सप्रमाण प्रयोगशाला बन्दै आएका छन् । यस लेखसंग सम्वधित विषयहरु मन, बुद्धि, विवेक, भावना, चेतना, स्मृति(जन्म–जन्मको), कर्म आदि भएकोले मस्तिष्कका यी शव्दावलीहरुसंग सम्वन्धित भाग तथा तहहरुको मात्र संक्षिप्त जानकारी पस्कने प्रयास गर्नेछु । मानिसको मन भौतिक मस्तिष्कका स्नायु प्रणालीहरुमा उत्पन्न हुने सोच तथा विचारहरुको समुह हो र मन थोरै हदसम्म भौतिक र अधिक मात्रामा पराभौतिक अत्यन्त शक्तिशाली उर्जा हो । मानिसको बुद्धि तथा विवेक मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स(PFC, अगाडि अर्थात निधार पट्टिको भाग) बाट संचालित हुन्छ र यो पनि अत्यन्त शक्तिशाली पराभौतिक उर्जा हो । बुद्धिले घटना तथा विषयहरुको जानकारी गराउँछ, विवेकले सही तथा गलत, राम्रो तथा नराम्रो छुट्याउँछ र के गर्ने तथा नगर्ने भन्नेबारे त्यही अनुसारको निर्णय लिन्छ । मानिसको भावना(प्रेम, श्रद्धा, सम्वन्ध तथा काम, क्रोध, लोभ, मोह, इष्र्या, अहंकार) एमिगडेला(टाउकोको पछाडिपट्टिको भाग) बाट संचालित हुन्छ र भावशक्ति सबैभन्दा शक्तिशाली पराभौतिक उर्जा हो । एमिगडेलाले मस्तिष्कलाई कस्ता प्रकारका भावनाहरुलाई कस्तो प्रकारले ग्रहण गर्ने तथा व्यवहार गर्ने भन्नेबारे निर्देशन दिन्छ संचित स्मृति अर्थात व्यक्तिगत अचेतन मनबाट जानकारी लिएर । वर्तमान जन्म तथा अघिल्ला जन्महरुको स्मृति तथा कर्मका बहिखाताहरु एमिगडेला भन्दा तल रहेको हाइपो थालामसमा संचित भएर रहेको हुन्छ । यसमायो व्यक्तिगत अचेतन र सामुहिक अचेतन मनका सबै स्मृति तथा कर्महरु रहेका हुन्छन ।
ध्यान साधनाको मस्तिष्कमा भौतिक तथा पराभौतिक प्रभाव
जव हामी ध्यान साधनाका विधि निष्ठापूर्वक अनुशरण गरेर स्थिर बस्दछौं तव मनमा विचारका प्रवाहहरु कम हुदै जान्छन् र मनको चल्ने गति विस्तारै कम हुदै जान्छ र बिटा, अल्फा, थिटा हुदै डेल्टामा पुग्छ । मनको डेल्टा गति(०.५ देखि ४.० हर्ज प्रति सेकेन्ड) भएको अवस्थामा हृदय र मस्तिष्कको प्रत्यक्ष सम्वन्ध बन्दछ । हृदय र मस्तिष्कको यस्तो सम्वन्ध बनेको समयमा हृदय र मस्तिष्कका इलेक्ट्रो म्याग्नेटीक उर्जाका तरंगहरुले हाम्रो वरिपरी अविरल प्रवाह भैरहने उस्तै प्रकारका गुण भएका ब्रम्हान्डीय उर्जाका इलेक्ट्रो म्याग्नेटीक उर्जाका तरंगहरुलाई आकर्षित गर्दछन् र यी दुई तरंगहरुको संगमबाट उत्पन्न हुने तरंगहरुले हाम्रो शरीर, मन, भाव, बुद्धि, विवेक, चित्त, कर्मका जन्म-जन्म हाम्रो स्मृतिमा संचित भएर रहेका विकार तथा नकारात्मकताहरू शुद्धिकरणको काम गर्न शुरु गर्दछन् । यो पुरै प्रक्रिया पराभौतिक हुन्छ, यहाँ कुनै प्रकारका भौतिक प्रमाणहरु भेटीदैनन्, यो साधकको इन्द्रियातीत, शव्दातीत तथा भावातीत अनुभूति हो जसलाई शव्द, इशारा तथा हाउभाउबाट समेत अरु समक्ष व्यक्त गर्न तथा बुझाउन सकिदैन । यही क्रममा साधकले आफ्ना विगतका तथा पूर्व जन्मका स्मृतिहरु खासगरी पिडादायक स्मृतिहरु जो चोट बनेर अचेतन मनमा दबेर रहेकका हुन्छन् ती विषयहरु देख्न र भोग्न थाल्दछ प्रत्यक्ष रुपमा, साधकको चेतना त्यही अवस्थामा पुग्दछ र उसले बोलेर तथा शरीरका हाउभाउ बाट त्यस्तै प्रकारका गतिविधिहरु देखाउदछ जसमा आफू र आफूसंग सम्वन्धित मानिस, घटना, विषय, वस्तु तथा पदार्थहरुलाई सिनेमाको पर्दामा जस्तैगरि स्पष्ट रूपमा देख्दछ । यो शरीर, मन, भाव, बुद्धि, विवेक, कर्म, चेतना शुद्धिकरणको अत्यन्तै महत्वपूर्ण प्रक्रिया तथा क्षण हो । शुद्धिकरणको प्रक्रिया बिना साधकको अध्यात्म साधना अगाडि बढ्न सक्दैन किनकी यी स्मृतिहरुका कारण साधकको आत्मा अर्थात चेतना भारी भएको हुन्छ, भारी चेतनको स्तरोन्नति हुन सक्दैन । शुद्धिकरणपछि आत्मा अर्थात चेतना हलुका हुन्छ र स्तोरोन्नतिका लागि योग्य बन्दछ । हलुका भएको चेतनाको शक्ति अनन्त हुन्छ, पुरै ब्रम्हाण्ड विचरण गर्न सक्छ र यस्तो चेतनाले अनेक-अनेक चमत्कारहरु देख्न तथा गर्न सक्छ किनकी चेतनाको स्तरोन्नती संगसंगै उसलाई अनेक प्रकारका अलौकिक सिद्धि तथा नीधिहरु हासिल हुदै जान्छन् तर यो कुनै जादु तथा तन्त्रको शक्ति होइन यो परमात्मा प्रदत्त शुद्ध र सकारात्मक दिव्य ब्राम्ही अर्थात ब्रम्हाण्डको उर्जा हो । शुद्धिकरणको प्रक्रिया कति समयसम्म चल्छ भन्ने कुरा व्यक्तिको पूर्वजन्मका संचित कर्महरुको बहीखाता(कम तथा बढी) मा निर्भर गर्दछ । शरीर, मन, भाव, बुद्धि, विवेक, कर्म, चेतना शुद्धिकरणको प्रक्रिया मोक्ष अर्थात निर्वाण अर्थात इनलाइटमेन्टको मार्गमा अग्रसर हुने शुरुआति अवस्था तथा चरण हो ।
शुद्धिकरणको प्रक्रिया चलिरहदा साधकमा विविध प्रकारका शारीरिक, मानसिक तला भावनात्मक क्रिया तथा प्रक्रियाहरु स्वतःस्फुर्त रुपमा चल्दछन् जस्तोकि हातमा मुद्रा बन्ने, शरीरमा कम्पन हुने, शरीरमा अनेक प्रकारका हाउभाउहरु हुने, रुने, मुस्कुराउने, हाँस्ने, चिच्याउने, गीत गाउने, नाच्ने, एक्लै बोल्ने, आँखा बन्द भैरहने, योगासन तथा प्राणायामहरु गर्ने हुन्छ । यो अवस्था मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल सात केन्द्र सात चक्रहरुमा रहेको कुण्डलिनी उर्जा जाग्रीत भएर यसले हाम्रो शरीर, मन, भाव, बुद्धि, विवेक, चेतना, कर्म शुद्धिकरणको प्रक्रिया गरिरहेको हो, यो समान्य अवस्था हो, डराउनु पर्ने अवस्था होइन तर यस्तो अवस्थामा आत्मविश्वासमा कमी भयो भने हानी हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ तसर्थ शिद्ध योगगुरु तथा सदगुरुको सानिध्यमा रहनु बुद्धिमानी हुन्छ । शरीर, मन, भाव, बुद्धि, विवेक, चेतना, कर्मको शुद्धिकरणको प्रक्रिया सकिएपछि साधकमा भौतिक संसारमा कल्पना समेत गर्न नसकिने चमत्कारीक इन्द्रियातीत, शव्दातीत, भावातीत अनुभूतिहरु निरन्तर हुदै जान्छन् । यो प्रक्रिया शुरु भएपछि साधक जति-जति ध्यानको गहिराइमा समाधिमा डुब्दै जान्छ उति नै इश्वर अर्थात परमात्मा अर्थात परब्रम्हको नजिक हुदै जान्छ र मोक्ष अर्थात निर्वाण अर्थात इनलाइटमेन्टका आयामहरुको अनुभूति गर्दै जान्छ र परमात्माका २१ आयामहरुको अनुभूति गरिसकेपछि मोक्ष अर्थात निर्वाण अर्थात इनलाइटमेन्ट प्राप्त गर्दछ अर्थात परमात्मामा सदाकालागि स्थित हुन्छ र जन्म-मृत्युको दुःखदायी चक्रबाट मुक्त हुन्छ र इच्छा जन्मको वरदान प्राप्त गर्दछ । यो नै बुद्धत्व प्राप्त अर्थात ब्रह्माण्डीय उर्जा (Cosmic Energy)अर्थात ब्राह्मी चेतना अर्थात विशिष्ठ चेतन(Super Conscious) मा एकाकार भएको अध्यात्म साधनाको सबैभन्दा उच्चतम उपलव्धि तथा अवस्था पूर्ण प्रकाशन हो ।
पछिल्लो समय प्रतिपादित अत्याधुनिक प्रमात्रा भौतिक विज्ञान (Quantum Science) का विभिन्न सिद्धान्तहरु- स्ट्रिङ थेपरी (String Theory), सुपर स्ट्रिङ थेयरी (Super String Theory) तथा हिग्स वोजोन पार्टिकलस(Higgs Boson, GOD Particles भनिएको) यिनै विषयहरुसंग सम्बन्धित रहेकाछन् । प्रमात्रा विज्ञानले ल्याएको एकीकृत ब्रम्हाण्ड (Unified Universe अर्थात Unified Field of the Universe अर्थात Unified Field Theory) यही विषयको एक कडी हो ।
परमात्माका २१ आयामहरु-
(१)निराकार, (२)नाद, (३)ज्योति, (४)अमृत, (५)उर्जा, (६)शक्ति, (७)उमंग, (८)मंगल, (९)स्वाद, (१०)सुगन्ध, (११)मंद नशा, (१२)चैतन्य, (१३)स्पर्श, (१४)आनन्द, (१५)प्रेम, (१६)सुन्दरम, (१७)सहज, (१८)अचल, (१९)पारदर्शी, (२०)निरञ्जन, र (२१)अनन्त । bsirjana@gmail.com
No comments:
Post a Comment