डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
आध्यात्मिक सिद्ध महापुरुषहरुको ज्ञान तथा अनुभवका अनुसार मानिस परमात्माको अंश, आत्मा हो । मानिसको जीवन निरन्तर चलिरहने आत्माको यात्रा हो र शरीर आत्मयात्राको सवारी साधन हो । मानिसको एक जन्म जीन्दगी हो र जन्म–जन्मको यात्रा र यात्राको क्रममा हुने अनुभवहरुको समग्र स्वरुप जीवन हो, तसर्थ मानिसको जीवन अविरल वहिरहने यात्रा हो जो जन्म जन्मान्तर चलिरहन्छ र शरीरको मृत्यु जीवन यात्राका क्रममा आउने स्टेसनहरु हुन् । जीन्दगी जीउने क्रममा सबै मानिसको जीवनमा अनेक प्रकारका सजिला र अप्ठ्यारा अवस्थाहरु आउछन् र यस्ता अवस्थाहरुले मानिसलाई राम्रा तथा नराम्रा कर्महरु गर्न प्रेरित गर्दछन् तथा बाध्य पार्दछन् । भनिन्छ आदर्श जीवन जीउने मानिसहरुको जीवन सरल, सहज, सफल, शान्त तथा आनन्दित र स्वर्ग सरह हुन्छ ।
आदर्श जीवन भनेको कस्तो जीवन हो ?
सनातन संस्कृतिमा मानवीय भलाइ तथा सर्वकल्याणकालागि काम गर्ने महापुरुषहरुलाई(बुद्धत्व प्राप्त सिद्ध आत्मा अर्थात चेतना) आदर्श पुरुषका रुपमा मान्ने गरिएको छ । सनातन धर्ममा भगवान श्रीरामलाई मर्यादा पुरुसोत्तम तथा आदर्श पुरुषका रुपमा सर्वाधिक मान्यता दिइदै आइएको छ र रावणलाई आदर्शताको विपरीत मान्ने गरिन्छ । यस्तो मान्यता राखिनुको पछाडि भगवान श्रीराम र रावणमा के फरक छ त ? सनातन शास्त्रहरुमा उल्लेख गरिए अनुसार, “संसारको सबैभन्दा राम्रा सबैकुराहरु मलाई नै चाहिन्छ भन्ने सोच रावणले राख्दछ जो ‘अभाव’ तथा 'अतृप्त' जीवन हो र म संग जे छ त्यो नै संसारकै सबैभन्दा राम्रो कुरा हो भन्ने सोच भगवान श्रीरामले राख्नुहुन्छ जो ‘भाव’ तथा तृप्त 'जीवन' हो ।” यही भाव र अभाव तथा तृप्त र अतृप्त जीवनप्रतिको मनको बुझाइ नै प्रमुख फरक हो भगवान श्रीराम र रावणमा । जो व्यक्ति भावमा तथा तृप्ति अर्थात सन्तोषमा जीन्दगी जीउछ उ आदर्श व्यक्ति हो र जो अभावमा तथा अतृप्ति अर्थात असन्तोषमा जीन्दगी जीउछ उ आदर्श व्यक्ति होइन ।
भाव र अभाव, सुख र दुःख, तृप्ति र अतृप्त, स्वर्ग र नर्क सबै मानिसका मनका अवस्था हुन् र यी सापेक्षिक हुन्छन् अर्थात यी अवस्थाहरु मानिसको विषय तथा परिस्थितिलाई हेर्ने दृष्टिकोणमा निर्भर गर्दछ जो फरक-फरक हुने गर्दछन् । सिद्ध महापुरुषहरुले प्रदान गर्नु भएको जीवनको परिभाषा अनुसार, जो मानिस जीवनका आवश्यकताहरु परिपूर्ति भइकन पनि जीवनमा शान्तिकालागि अध्यात्मको खोजी गर्दैन, संधै अशान्त बस्छ, आफ्नो स्वास्थ्य, सम्बन्ध, शान्ति तथा आनन्दको ख्याल नगरी इच्छा तथा कामना परिपूर्तिकालागि सदा मरिमेट्छ उ अभावमा जीउने र सदा दुःखी रहने मानिस हो, उसले जीवनलाई नर्क बनाउँछ । तर जो मानिस जीवनका आवश्यकताहरु परिपूर्ति भइसकेपछि जीवनको सहज दैनिकिका साथसाथ शरीर, मन, भावना र आत्मा अर्थात चेतनाको स्वास्थ्य तथा शान्ति र आनन्दकालागि अध्यात्मको खोजी गर्छ र त्यसको अनुशरण गर्छ उ संधै स्वस्थ, सुखी, खुशी, शान्त, आनन्दित र सफल रहन्छ र उसले जीवनलाई स्वर्ग बनाउँछ ।
दुःखी, अशान्त र अभावको अवस्थामा रहेको मनलाई कसरी आदर्श मार्गमा लगाउने ?
चन्चलता, अस्थिरता र वाहिरका घटना तथा विषयहरुमा भुलिनु मनको मूल स्वाभाव हो । मानिसको दैनिक गतिविधिहरूमा ज्ञान इन्द्रियहरु– आँखा, कान, छाला, नाक, जिब्रोबाट सूचनाहरू प्राप्त हुन्छन्, यस्ता सूचनाहरु सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन सक्छन् । यी सूचनाहरुको प्रभावले मस्तिष्कका उक्त सूचनासंग सम्विन्धित स्नायु प्रणालीहरुमा स्पन्दन सिर्जना हुन्छन् र स्पन्दनका कारण सोचका तरंगहरु उठ्छन्, सोचका तरंगहरुको समुह विचार हो र विचारहरुको समुह मन हो । आधूनिक मनोविज्ञानका अनुसार हरेका मानिसमा २४ घण्टामा ६० हजार यस्ता सोच तथा विचारका तरंगहरु उठ्छन् । जो व्यक्तिले यस्ता सोच तथा विचारका तरंगहरुलाई सही दिशा दिन सक्षम हुन्छ उ सकारात्मक विचारको धनी र आदर्श व्यक्ति बन्दछ र जसले नकारात्मक दिशामा लगाउछ उ दुःखी, रोगी र असफल व्यक्ति बन्दछ किनकी अध्यात्म विज्ञान र आधूनिक मनोचिकित्सा विज्ञान दुवैको प्रामाणिाक तथ्यांकहरुका अनुसार मानिसको जीवनमा देखापर्ने हरेक प्रकारका दुःख, असफलता र शारीरिक तथा मानसिक रोगहरु नकारात्मक विचारहरुका उपज हुन् ।
ध्यान साधना र आदर्श जीवन
ध्यान साधनाबाट सहजै मनका नकारात्मक अवस्थाहरुलाई सकारात्मक अवस्थामा रुपान्तरण गर्न सकिन्छ । भगवान श्रीकृष्ण भन्नुहुन्छ, “मानिसको मन नै मुक्तिको द्वार हो र मन नै वन्धनको प्रमुख कारण हो ।” त्यस्तै भगवान बुद्ध भन्नुहुन्छ, “मानिसको मन खतरनाक मालिक हो र इमान्दार नोकर हो, मनलाई आफ्नो वसमा राखेर नोकर बनाउन सके यसले जीवनलाई स्वर्ग बनाउँछ र मनको वसमा आफू पर्यो भने यसले जीवनलाई नर्क बनाउँछ ।” भगवान श्रीकृष्ण र बुद्ध दुवै महापुरुषहरु भन्नुहुन्छ, नियमित ध्यान साधना गरेर मानिसको मनलाई आफ्नो वसमा राख्न र सकारात्मक तथा आदर्श बनाउन सकिन्छ । वहाँहरुको यो अनुभवलाई आधूनिक मनोचिकित्सा तथा मनोविज्ञानका विभिन्न वैज्ञानिक खोज, अनुसन्धान तथा अध्ययनहरुले सप्रमाण पुष्टी गरिसकेका छन् ।
आधूनिक मनोचिकित्सामा EEG र FMRI टेष्टमा मस्तिष्कका स्नायु प्रणालीहरुमा हुने सबै प्रकारका स्पन्दनहरु र यसबाट उठेका तरंगहरुका सबै गतिविधिहरु स्पष्ट रुपमा देख्न सकिन्छ जसलाई अंग्रेजीमा फायरिङ्ग भनिन्छ । मनोचिकित्सा तथा मनोविज्ञानका अनुसार, मानिस ध्यान साधनामा रहेको अवस्थामा ज्ञानइन्द्रियहरुबाट सूचना प्राप्त हुदैनन् । यस्तो अवस्थामा मस्तिष्कमा शरीरका अति आवश्यकीय स्वस्फूर्त हुने आन्तरीक गतिविधिहरु नियन्त्रण गर्ने बाहेकका स्नायु प्रणालीहरुमा कुनै प्रकारको स्पन्दन हुदैन, मस्तिष्कको गति सुस्त हुुदै जान्छ, गति अल्फा** तथा तुरीय र तुरीयातीत् अवस्थामा स्थित हुन्छ, सोच तथा विचारका तरंगहरु उठ्दैनन्, विचारहरु बन्दैनन् र विचार शुन्यताको अवस्था बन्छ । विचार शुन्यताको अवस्थामा मस्तिष्क र मनलाई पर्याप्त आराम मिल्छ, आरामको अवस्थामा मन शान्त हुन्छ र शान्त भएको अवस्थामा मस्तिष्कका विविध कारणले विग्रिएका, चुडिएका, च्यातिएका तथा अत्यधिक तनावा, चिन्ताबाट उत्पन्न भएको कोर्टिसोल हर्मोनका कारण नष्ट भएका स्नायु प्रणालीका सुक्ष्म कोशिकाहरुको आवश्यक मर्मत, संभार अर्थात रिपेयर हुन्छ र स्नायु प्रणालीमा नयाँ-नयाँ कोशिकाहरु वन्ने प्रक्रिया पनि सहज प्रकारले सुचारू हुन्छ र यसले मनको शक्ति तथा क्षमतामा वृद्धि गराउनुका साथै ज्ञान इन्द्रिय तथा कर्म इन्द्रियहरुको समवेदनशिलता र कार्यक्षमतामा प्रवलता प्रदान गर्दछ । ज्ञान इन्द्रियहरूको देख्ने, सुन्ने, सुघ्ने, स्पर्श गर्ने र स्वाने लिने तरिका र क्षमतामा अनुलनीय सुधार आउँछ र व्यक्ति कुशाग्र अर्थात चतुर हुन्छ ।
यही प्रक्रिया मानिसले नियमित रुपमा मनलाई वर्तमान अवस्था (आफ्नो श्वास, शरीर, वरिपरिको प्राकृतिक वातावरण- आवाज, सुगन्ध, हावा) मा टिकाएर हरेक दिन १५ देखि ३० मिनेट(अध्यात्म विज्ञानका अनुसार २४ घण्टामा ३० मिनेट योगाभ्यास, १५ मिनेट प्राणायाम र ४५ मिनेट ध्यान गर्नु सर्वाधिक सन्तुलित मानिएको छ) गर्दै गयो भने उसको मस्तिष्कका सूचना सम्प्रेसित गर्ने स्नायु प्रणालीहरुमा आएका नकारात्मक र सकारात्मक सूचनाहरुको विश्लेषण गर्न सक्ने, तिनमा फरक छुट्याउन सक्ने, राम्रा विचार छान्न सक्ने र ती विचारहरुलाई आफ्नो अनुकुल सकारात्मकतामा रुपान्तरण गर्न र छानिएका विचारहरुलाई सकारात्मक काममा प्रयोग गर्नसक्ने क्षमताको वृद्धि हुदै जान्छ । यस्तो अवस्थामा ज्ञान इन्द्रियहरुबाट सकारात्मक प्रकारका सूचनाहरु आए भने मनले सहजै अंगीकार गर्दछ र जीवन उपयोगी कर्ममा लगानी गर्दछ र नकारात्मक प्रकारका सूचनाहरु आए भने सहजै त्यसलाई सामना गर्न तथा वेवास्ता गर्न सक्ने र मनका विचारहरुको व्यवस्थापन गर्ने क्षमताको विकास हुदै जान्छ । यसरी विस्तारै मानिसको सोच सकारात्मक र व्यक्तित्व आदर्श बन्दै जान्छ । यस्तो सकारात्मक विचार भएको आदर्श मानिस सबैको भलाइ गर्नेतर्फ चिन्तनशील हुदै जान्छ र यसका साथै निरन्तर उसको आध्यात्मिक प्रगति पनि हुदै जान्छ । तसर्थ, सबैले ध्यान साधना गरौं, जीवनलाई सकारात्मक र आदर्श बनाउँ र मानव भएर जन्मिनुको मूल उदेश्य आफ्नो आत्मालाई परमात्मामा स्थित गरी जन्म र मृत्युको चक्रवाट मुक्त बनौं । जीवनमा स्वस्थ्य, सुख, खुशी, समृद्धि, प्रसिद्ध, सफलता, शान्ति र आनन्दकालागि भौतिक विज्ञानले पनि सहर्ष स्वीकार गरेको एकमात्र विकल्प ध्यान विज्ञानको साधना हो ।
**मन तथा मस्तिष्कको गतिको अवस्था
अध्यात्मले मन तथा मस्तिष्कका सात प्रकारका गति हुन्छन् भनेको छ- (१)चेतन, (२)स्वप्न, (३)सुसुप्ति, (४)तुरीय, (५)तुरीयातीत्, (६)भगवद् चेतना, र (७)ब्राह्मी चेतना भने आधूनिक मनोचिकित्सा विज्ञान तथा मनोविज्ञानले मन तथा मस्तिष्कका प्रतिसेकेन्ड हर्ज तथा तरंगमा चल्ने पाँच प्रकारका गति पत्ता लगाएको छ- (१)गामा(२०–१०० हर्ज), (२)बिटा(१२–२० हर्ज), (३)अल्फा(८–२० हर्ज), (४)थिटा(४–८ हर्ज), र (५)डेल्टा(०.५–४ हर्ज) प्रतिसेकेन्ड । मस्तिष्क तथा मन जाग्रीत तथा पूर्ण चेतनामा रहेको तथा तिब्रगतिमा चलेको क्रमशः बिटा र गामा तथा चेतन अवस्था हो भने विस्तारै मस्तिष्क तथा मनको चल्ने गति घट्दै गएर विचारशुन्य भएको अवस्था डेल्टा तथा भगवद् र ब्राम्ही चेतना हो । गहिरो निद्रा तथा समाधिको अवस्था डेल्टा तथा भगवद् र ब्राह्मी चेतनाको अवस्था हो, निदाएको तर सपना देखिरहेको अवस्था थिटा तथा स्वप्न अवस्था हो, आनन्द विभोर भएर चुपचाप आफ्नै तालमा मग्न बसेको तथा ध्यान साधनामा रहेको अवस्था अल्फा तथा तुरीय र तुरीयातीत अवस्था हो, पूर्णतः जाग्रीत, चेतनशील तथा सवाल, जवाफ, तर्क चलिरहेको बिटा र गामा तथा चेतन अवस्था हो । आधूनिक मनोचिकित्सा तथा मनोविज्ञानका अनुसार मस्तिष्क तथा मन अत्यन्त तिब्र गतिमा चलेको गामा अवस्था हो । बिटा र गामा हर्जमा चलेको मस्तिष्क तथा मनको गतिलाई सकारात्मक र नकारात्मक दुई अवस्थामा उल्लेख तथा विभाजन गरिएको छ । मस्तिष्क तथा मन बिटा हर्जमा चलेको अवस्था सकारात्मक रुपमा मानिस उत्प्रेरक मनस्थितिमा सिर्जनशील काम गरिरहेको अवस्था भनिएको छ र नकारात्मक रुपमा मानिस काम, क्रोध, लोभ, मोह, इष्र्या, बदला आदिको भावमा रहेको अवस्था भनिएको छ । त्यस्तै मस्तिष्क तथा मन गामा हर्जमा चलेको अवस्था सकारात्मक रुपमा मानिस समाज तथा मानवीयतामा कुनै ठूलो परिवर्तन ल्याउन सक्ने आविस्कार प्रकृतिको सिर्जनशील काम गरिरहेको अवस्था भनिएको छ र मस्तिष्क तथा मन गामा हर्जमा चलेको अवस्था नकारात्मक रुपमा मानिस वादविवाद, झगडा, तनाव, चिन्ता, अवसाद, विछिप्तता, पागलपन तथा आत्महत्याको सोच दिमागमा चलिरहेको अवस्था भनिएको छ ।
No comments:
Post a Comment