लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
(४) मौनका उपलव्धिहरु
पूर्वीय सनातन साधना ‘मौन’
मनुष्यको व्यवहारिक जीवनमा मौन दुई प्रकारले गर्ने गरिन्छ तथा घटित हुने गर्दछ– (१)प्रयास मौन र (२)निस्प्रयास मौन । प्रयास मौन मनुष्य आफैंले कोशिश तथा प्रयास गरेर अनियन्त्रित अवस्थामा रहेका शरीर, इन्द्रिय, शव्द, मनका सोच, विचारहरु तथा भावका भावनात्मक संवेगहरुलाई सक्दो स्थिर तथा न्यूनतम सक्रियतामा राख्न प्रयत्न गर्दछ जसमाथि व्यक्तिको नियन्त्रण रहेको हुदैन । कम बोल्नु, कम प्रतिक्रियात्मक हुनु, एकान्तमा बस्नु तथा मौन व्रत बस्नु आदि गतिविधिहरु प्रयास मौन अन्तर्गत पर्दछन् र यी अवस्थाहरुमा व्यक्तिले आफूलाई सक्दो मौन राख्ने प्रयत्न गर्दछ । प्रयास मौनको प्रयोगात्मक अभ्यास गहिरिदै जाने क्रममा अध्यात्मको प्यास रहेका मुमुक्षु साधकहरुको आत्मा अर्थात चेतनामा विशेष प्रकारको विकास तथा परिवर्तन आउने हुनाले उसमा स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुने पृष्ठभूमि तयार हुदै जान्छ । प्रयास मौनमा साधकले आफू स्वयंले मौन रहन विशेष प्रयत्न गर्नुपर्ने हुनाले मौनको अभ्यास गर्न अलि मुस्किल हुन्छ । निस्प्रयास मौनमा साधकको विशेष प्रयत्न बिनानै उसका शरीर, इन्द्रिय, शव्द, मनका सोच, विचारहरु तथा भावका भावनात्मक संवेगहरु सबै क्रमशः न्यून तथा स्थिर हुन्छन् र यी सबै अवस्थाहरुमा उसको पूर्णतः नियन्त्रण बढ्दै जान्छ कस्ता सोच, विचार, भावनाहरु मन, मस्तिष्क तथा भावमा चल्न दिने तथा नदिने भन्ने सन्दर्भमा । निस्प्रयास मौनमा साधकको बिनाकुनै विशेष प्रयत्न मौनको अभ्यास निरन्तर हुनेहुनाले प्रयास मौनको तुलनामा निस्प्रयास मौन सहज हुन्छ ।सामान्यतया प्रयास मौनमा मनुष्यको वाणी तथा शव्दहरुको प्रवाह मात्र मौन हुने हुनाले साधकलाई यसका सकारात्मक लाभहरु सीमित मात्रामा मात्र हासिल हुन्छन् तर निस्प्रयास तथा आन्तरिक मौनमा मनुष्यको वाणी तथा शव्द, शरीर, इन्द्रिय, मन, भाव, सोच, विचार सबै स्वस्फुर्त रुपमा कम सक्रिय, स्थिर तथा मौन हुनेहुनाले मनुष्यको मानसिक तथा आन्तरिक अवस्था हरपल पूर्ण शान्ति तथा आनन्दमा स्थित रहन्छ र यस्तो अवस्थामा मनुष्यको शारीरिक तथा वाहिय समृद्धि र मानसिक तथा आन्तरिक शान्तिमा उल्लेख्य विकास देखा पर्दछ तथा प्रभावकारी उपलव्धिहरु हासिल हुन्छन् ।
पछिल्ला दिनहरुमा आधूनिक मनोविज्ञानका विभिन्न विद्याहरुले समय-समयमा गरेका वैज्ञानिकतामा आधाररित खोज तथा अध्ययनका तथ्यांकहरुका अनुसार मनुष्यको जीवनको समग्र विकासका लागि ध्यान तथा मौन साधनाका लाभहरु अत्यन्तै धेरै रहेको पाइएका छन् । ध्यान तथा मौनबाट हासिल हुने सकारात्मक लाभहरुले मनुष्यको स्थुल रुपमा शारीरिक विकास तथा वाहिय विकास र सुक्ष्म रुपमा मानसिक र भावनात्मक विकास तथा आन्तरिक विकासमा महत्वपूर्ण सकारात्मक प्रभावहरु पार्दछन् । मनुष्यको सुक्ष्म रुपमा हुने मानसिक र भावनात्मक तथा आन्तरिक विकास अन्तर्गत मन, भाव, आत्मा अर्थात चेतनाको विकास सबै एकसाथ मानसिक विकास अन्तर्गत पर्दछन् । विकसित शारीरिक तथा मानसिक अवस्था भएका मनुष्यहरुको सांसारिक जीवन र पारमार्थिक जीवन तथा आध्यात्मिक जागरणमा तिव्रगतिमा प्रगति हुने गरेको विभिन्न व्यवहारिक अनुभवहरु तथा वैज्ञानिक अध्ययनका तथ्यांकहरुले पुष्टि गरिसकेका छन् । मनुष्यको शारीरिक तथा मानसिक अवस्थाको उच्चतम विकास गर्न प्रयास र निस्प्रयास दुवै प्रकारका मौन साधनाको उल्लेख्य भूमिका रहने भएपनि उपलव्धिका दृष्टिकोणले निस्प्रयास मौन साधनाको विशेष भूमिका तथा योगदान रहेको पाइन्छ । निस्प्रयास मौन साधनाले साधकमा रहस्मय र चमत्कारिक इन्द्रियातीत, मनातीत, भावातीत अनुभव तथा अनुभूतिहरु गराएर उसलाई सनातन वेदान्त दर्शनले उल्लेख गर्दै आएको ब्रम्हाण्डको गहन रहस्य, अन्तिम तथ्य तथा परमसत्य अद्वेतसम्म पुर्याउछ । निस्प्रयास मौन साधनाको माध्यमबाट नै साधकले आफ्नो वास्तविक स्वरुप आत्मालाई जान्दछ, आत्मवोध तथा आत्माज्ञान हासिल गर्न सक्षम हुन्छ र यसपश्चात आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानको गहन अवस्था हुदै उ ब्रम्हाण्डको अन्तिम ज्ञानसम्म पुग्दछ जुन पछिल्ला दिनहरुमा आधूनिक भौतिक विज्ञानको नवीतम शाखा प्रमात्रा विज्ञान तथा क्वान्टम साइन्सका नयाँनयाँ खोज तथा अनुसन्धानका तथ्यांकहरुले उजागर गर्दै आएका छन् पुर्वीय सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शनका गहन तथ्यांकहरुसंग धेरै हदसम्म मिल्नेगरि ।
मौनको यही महत्वलाई बुझेर सनातन धर्मका अनुयायी ऋषिमुनि, सन्त, महात्मा, योगीहरुले प्राचीन कालदेखि मौनलाईनै अध्यात्म साधनाको प्रमुख तथा महत्वपूर्ण साधनका रुपमा मान्यता प्रदान गरेर मौन व्रत तथा मौन साधनाको नियमित प्रयोगात्मक अभ्यास गर्दै आइरहेका छन् र मौनको रहस्यमयी, चमत्कारिक, अलौकिक तथा दिव्य उपलव्धिहरुका कारण जीवनमा उच्चस्तरको आध्यात्मिक विकास गरेर विभिन्न प्रकारका दिव्य तथा चमत्कारिक इश्वरिय सिद्धि तथा निधिहरु समेत हासिल गर्न सक्षम भएका छन् । पूर्वीय सनातन अध्यात्म दर्शनले मनुष्यको जीवनमा शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको समग्र विकासका लागि सबैभन्दा उत्कृष्ट उपाय तथा साधनका रुपमा मान्यता प्रदान गर्दै आएको प्राचीन प्रयोगात्मक अभ्यास मौन अवस्था, मौन व्रत तथा मौन साधनाको महत्व र प्रभावकारितालाई आधूनिक विज्ञान, आधूनिक मनोविज्ञान तथा आधूनिक मनोचिकित्सा विज्ञानले पनि सहर्ष स्वीकार गरेका छन्, मान्यता पनि प्रदान गरेका छन् र अध्यात्म विज्ञानका मौनका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानविज्ञानलाई अनुशरण र आत्मसाथ गर्दै अगाडि बढिरहेको छन् ।
(क) मौन साधनाका उपलव्धिहरु समग्रतामा
सांसारिक तथा पारमार्थिक जीवनमा आफूले इच्छ्याए अनुसारको प्रगति तथा विकास हासिल गर्न मनुष्यको शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य, शुद्धता, सक्रियता, स्थिरता, सन्तुलनता तथा व्यवस्थापनको दृष्टिकोणले प्रयास तथा निस्प्रयास मौन साधना अत्यन्तै उपयोगी रहदै आएको पाइएको छ । प्रयास मौन साधनाले मनुष्यको सांसारिक जीवनको प्रगति तथा विकासमा उपलव्धिमूलक परिणामहरु ल्याउनुका साथै क्रमिक रुपमा यसले निष्प्रयास मौन घटित हुने वातावरण तथा पृष्ठभूमि समेत तयार गर्दछ । प्रयास मौनको गहन अवस्थामा स्वस्फुर्त घटित भएको निस्प्रयास मौन साधनाले मनुष्यको सांसारिक जीवनका साथसाथ पारमार्थिक तथा आध्यात्मिक जीवनको प्रगति तथा विकासमा अत्यन्तै उपलव्धिमूलक चमत्कारिक परिणामहरु ल्याउदछ किनकी मनुष्यको जीवनको सांसारिक तथा पारमार्थिक समग्र विकासका लागि सनातन धर्ममा प्राचीनकालादेखि नै निस्प्रयास मौन साधनालाई सर्वाधिक उत्कृष्टतम उपकरण तथा साधना पद्धतिको रुपमा मान्यता प्रदान गरिदै आइएको छ र व्यवहारमा प्रयोगात्मक अभ्यास समेत गरिदै आइएको छ जसले साधकको सांसारिक र पारमार्थिक जीवनमा समग्र विकास ल्याउन सहयोग गर्नसक्ने अत्यन्तै प्रभावकारी र महत्वपूर्ण भूमिका तथा योगदान पुर्याएका धेरै उदाहरणहरु हामी समक्ष रहेका छन् । मौन साधनाले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक उर्जा तथा शक्तिमा सकारात्मक बढोत्तरी ल्याउने हुनाले यही बढेको उर्जा तथा शक्तिको प्रभावका कारण मनुष्यको सांसारिक तथा पारमार्थिक जीवनमा दृश्य तथा अदृश्य रुपमा जान्न सकिने र जान्नै नसकिने प्रकारका अनन्त सकारात्मक उपलव्धि तथा लाभहरु क्रमशः हासिल हुदै जान्छन् ।
जीवनोपयोगी सांसारिक उपलव्धिहरु
मौन साधनाले मनुष्यको सांसारिक जीवनमा अदभूत सकारात्मक परिवर्तनहरु ल्याएको यस सन्दर्भमा गरिएका वैज्ञानिक खोज तथा अध्ययनका प्रतिवेदनहरुले उजागर गरिसकेका छन् । मौन साधनाले मनुष्यमा धैर्यता, एकाग्रता, कुनै विषयमाथि ध्यान केन्द्रित गर्न सक्ने क्षमता बढाउछ । मस्तिष्कका स्नायु प्रणालीहरु सक्रिय हुन्छन् । नयाँ-नयाँ कोषहरु बन्न थाल्छन् र मस्तिष्क स्वस्थ, शान्त, ठण्डा, सक्रिय र जागरुक रहन्छ । मस्तिष्क, शरीर, मन, भावको थकान हट्छ र शारीरिक स्थिरता, मानसिक एकाग्रता, भावनात्मक शान्ति तथा चेतनात्मक जागरण बढाउछ । मनुष्यको तर्क, वुद्धि, विवेकको क्षमता बढाउछ; आत्म नियन्त्रित बनाउछ तथा आफूमाथिको नियन्त्रण बढाउछ । मौन साधनाले मनुष्यको धैर्यता, एकाग्रता, कुनै विषयमाथि ध्यान केन्द्रित गर्न सक्ने क्षमताको विकास गर्ने हुनाले कार्यक्षमता तथा कार्यसंपादन, उत्पादनशीलता र प्रस्तुतिकरण राम्रो बनाउछ । मनुष्यमा क्षमाशिलता, धन्यता, समझदारी, सन्तोष तथा स्वीकार्यता भाव बढाउछ । आन्तरिक सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द बढाउछ । प्रेमका तह तथा श्रृंखलाहरु– स्नेह, मैत्री, मायाँ, श्रद्धा, भक्ति, दया, करुणा, सेवा, सहयोग, दान, पुण्य, परोपकारको भाव बढाउछ । क्रोध तथा अहंकार र यसका कारण हुनसक्ने गलत निर्णयबाट बचाउछ र सहि समयमा सहि निर्णय लिने क्षमता बढाउछ । वहस, विवाद, झगडा साम्य गर्न मद्धत गर्दछ र सम्वन्धहरु सरल तथा सहज बनाउछ । आफूभित्र दबेर सुसुप्त अवस्थामा रहेका जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशीलत, नवीनता, सकारात्मकता प्रकट तथा प्रष्फुटन गराउछ । जीवनप्रति दिक्दार भएर विरक्तता नभई स्वस्फर्त रुपमा स्वीकार भावले सांसारिक जीवनबाट वैराग्यता तथा वितरागको अवस्था घटित गराउछ अर्थात स्वीकार भावले आवश्यक नभएका सांसारिक भोगहरुको त्याग गर्नसक्ने क्षमता बढाउछ ।
जीवनोपयोगी पारमार्थिक तथा आध्यात्मिक उपलव्धिहरु
मौन साधनाले मनुष्यको आध्यात्मिक विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने योग विज्ञानका प्रमुख तह तथा सिढिहरु- धारणा, ध्यान, समाधि साधनामा सहजता र प्रभावकारिता ल्याउछ । मौन अभ्यासको क्रममा धारणा, ध्यान, समाधिका गहन अवस्थाहरुले मनुष्यको सोच्ने, बुझ्ने, आफूलाई जान्न सक्ने क्षमतामा वृद्धि ल्याउनुका साथै आत्मवोधको अनुभूति दिलाउछ र आफूभित्रको अन्तरयात्रा सहज गराउछ । अन्तरमन, अन्तरहृदय तथा अन्तरआत्मा जाग्रीत गराउछ र आफ्नो अन्तरमन, अन्तरहृदय तथा अन्तरआत्माको आवाज सुन्न सक्ने क्षमता बढाउछ । आज्ञा चक्र साथै सबै चक्रहरु सक्रिय, सन्तुलित तथा जाग्रीत गराउछ । मौनको नियमित साधनाले मनुष्यमा आन्तरिक शक्ति, परमसुख, परमखुशी, परमशान्ति, परमआनन्द बढाउनुकासाथै अन्तरज्ञान, आत्मवोध तथा आत्मज्ञान जाग्रीत गराउछ र आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान, परमसत्यको ज्ञानसम्म पुर्याउछ । परमात्मा मौनमा मात्र प्रकट हुनेहुनाले मौनको नियमित अभ्यासले आन्तरिक गुरुसंग साक्षातकार गराएर आत्मा र परमात्माको दोहोरो संवाद प्रारम्भ गराउछ । मौन साधनाको महत्वपूर्ण उपलव्धि स्वरुप जाग्रीत भएको आज्ञा चक्रमा अवतरित हुने अन्तरज्ञानले मनुष्यमा भूत, वर्तमान, भविश्यका सूचना, जानकारी तथा ज्ञानविज्ञानहरु बढाउछ । पराभौतिक संसारका अलौकिक, चमत्कारिक, रहस्मयी, दिव्य इन्द्रियातीत, मनातीत, भावातीत अनुभव तथा अनुभूतिहरु गराउछ र पारमार्थिक सिद्धि तथा निधिहरु हासिल गराउछ । अन्ततः मनुष्यलाई मोक्षमा उपलव्ध गराएर जन्म र मृत्युको दुष्चक्र तथा दुःखको भवसागरबाट सदाकालागि मुक्ति दिलाउछ र उसलाई नित्यनिरन्तर सतचितआनन्दमा स्थित गराउछ । भौतिक र पराभौतिक दुवैकिसिमले मनुष्यको व्यक्तित्व, नेतृत्व र बुद्धत्वको विकास गरि उसलाई भौतिक संसार र पराभौतिक संसारमा प्रभावशाली व्यक्तित्वको रुपमा स्थापित गराउछ ।
(ख) मौन साधनाका उपलव्धिहरु विस्तारमा
मौन साधनाका भौतिक र पराभौतिक तथा सांसारिक र पारमार्थिक तथा आध्यात्मिक उपलव्धि तथा लाभहरु अनन्त रहेका छन् । मौन साधनाका उपलव्धिहरु दुईप्रकारले विस्तारमा विश्लेषण गर्न सकिन्छ– (अ)मौन साधनाका भौतिक तथा सांसारिक उपलव्धिहरु; र (आ)मौन साधनाका पराभौतिक तथा पारमार्थिक उपलव्धिहरु ।
(अ)मौन साधनाका भौतिक तथा सांसारिक उपलव्धिहरु
मौन साधनाले धेरै हदसम्म मनुष्यको शरीरका वाहिय तथा आन्तरिक अंगहरु; मनका सोच तथा विचारहरु; भावका भावनात्मक सन्देशहरु; निकट तथा दुरका सम्वन्धहरु आदिलाई शुद्ध, स्वस्थ, सक्रिय, स्थिर, सकारात्मक, सन्तुलित, व्यवस्थित तथा सहज राख्न अचुक औषधि तथा अमृतको काम गर्दछ र मनुष्यको सांसारिक जीवनमा हरप्रकारले सहजता प्रदान गर्दछ ।
स्वस्फुर्त रुपमा शारीरिक उपचार
मनुष्यको भौतिक तथा स्थुल शरीर दृश्य अवस्थामा रहेको हुन्छ र मानसिक, भावनात्मक तथा सुक्ष्म शरीर अदृश्य अवस्थामा रहेका हुन्छन् । सुक्ष्म शरीर अदृश्य अवस्थामा रहेको भएपनि स्थुल शरीरमाथि सुक्ष्म शरीरको प्रत्यक्ष नियन्त्रण र प्रभाव रहेको हुन्छ । यसैकारण मनुष्यको मनका सोच तथा विचारहरुमा र भावका भावनात्मक संवेगहरुमा आएका साना–साना हलचल तथा परिवर्तनहरुले उसको स्थुल शरीरको शुद्धता, सक्रियता, स्वास्थ्य, सन्तुलन, स्थिरता तथा व्यवस्थापनमा तुरुन्तै प्रत्यक्ष प्रभाव पार्दछन् । प्राचीन सनातन चिकित्सा पद्धति आयुरवेद र आधूनिक चिकित्सा पद्धति दुवैले सैद्धान्तिक तथा व्यवहारिक रुपमा मान्दछन् कि मनुष्यको शरीर, मन तथा भावका सबैप्रकारका गतिविधिहरु, विचारहरु तथा भावनात्मक संवेगहरु उसको शरीरमा रहेका प्रमुख सात प्रकारका ग्रन्थीहरुबाट उत्पन्न हुने ग्रन्थीरस तथा रसायनहरु(हर्मोन्स)को उत्पादनको अवस्थाका उपज तथा परिणामहरु हुन् । श्रद्धेय खप्तड बाबाद्वारा प्रतिपादित अत्यन्तै व्यविहारिक, तथ्यपरक, विश्व प्रसिद्ध लोकप्रिय पुस्तक ‘विचार विज्ञान’ का अनुसार यी ग्रन्थीरसहरुको उत्पादन कहिले–कति–कस्ता–कसरी–किन उत्पादन हुने तथा नहुने भन्ने विषय पूर्णतः मनुष्यको मनमा चल्ने सोच तथा विचारहरु र भावमा चल्ने भावनात्मक संवेगहरुमा निर्भर गर्दछन् र उसका विचार तथा भावनात्मक संवेगहहरु प्रत्यक्ष रुपमा उसको जीवनशैलीमा निर्भर गर्दछन् । यदि मनुष्यको जीवन सहज, सरल र व्यवस्थित छ र उसको मन, मस्तिष्क, भाव तथा हृदयमा सकारात्मक प्रकारका सोच, विचार तथा भावनाहरु चलिरहेका छन् भने सकारात्मक ग्रन्थीरस तथा रसायनहरु(ह्यापि हर्मोन्स) उत्पन्न हुन्छन् र शरीरमा औषधि तथा अमृत सरह काम गर्दछन् तर यसको विपरित जीवन सहज, सरल र व्यवस्थित छैन र नकारात्मक प्रकारका सोच, विचार तथा भावनाहरु चलिरहेका छन् भने नकारात्मक ग्रन्थीरस तथा रसायनहरु(स्ट्रेस हर्मोन्स) उत्पन्न हुन्छन् र शरीरमा विष सरह काम गर्दछन् र यिनले शारीरिक, मानसिक र भावनात्मक अस्वस्थता तथा रोगहरु उत्पन्न गराउछन् । सकारात्मक सोच, विचार तथा भावनाहरुका कारण रसायन तथा हर्माेन्सहरुमा आएको सकारात्मक परिवर्तनले मनुष्यको शारीरिक स्वास्थ्य अन्तर्गत रक्तसंचार, रक्तचाप, मुटुको धड्कन, श्वास–प्रश्वास, पाचन क्रिया, पाचन प्रणाली, नशा, मांसपेशी, हाड–जोर्नी, अस्थिमज्जा, अष्टधातु, मुटु, फोक्सो, मृगौला, कलेजोका गतिविधिहरुलाई क्रियाशिल, शुद्ध, स्वस्थ, सन्तुलित तथा व्यवस्थित राख्न तथा रहन मद्धत गर्दछ । यसका साथै शरीर, मन, भावनाका अन्य प्रकारका गतिविधिहरु– निद्रा, ताजगी, धैर्यता, स्थिरता, एकाग्रता, सन्तुलनता, उत्साह, जोश, आत्मविश्वास, खुशी, शान्ति, आनन्द तथा चेतनाको जागरुकताको अवस्थालाई सन्तुलित तथा व्यवस्थित राख्दछ र मनुष्यलाई पुर्ण रुपमा स्वस्थ तथा आरोगी बन्न प्रत्यक्ष रुपमा मद्धत गर्दछ ।मनुष्य स्वस्थ तथा आरोग्य रहनकालागि यी रसायनहरुले औषधि तथा अमृत सरह काम गर्दछन् किनकी मनुष्यको शरीरमा रहेका प्रमुख सात ग्रन्थीहरु औषधि उत्पादन गर्ने कारखानाहरु हुन् जो मनुष्यको सुक्ष्म शरीरमा रहेका प्रमुख सात चक्रहरुसंग प्रत्यक्ष सम्वन्धीत रहेका हुन्छन् । वर्तमान समयमा आधूनिक चिकित्सा शास्त्रमा बहस प्रारम्भ भएको र सबैकालागि सहज तथा व्यवहारिक बन्दै गैरहेको जैविक चिकित्सा तथा वायो हिलिगं थेरापी र शरीर-मन-भावका स्वस्फुर्त प्राकृतिक चिकित्सा तथा क्वान्टम हिलिगं थेरापी शरीरको रसायन विज्ञानका सिद्धान्तहरुमा आधारित रहेका छन् । एलोपेथिक चिकित्सा पद्धति र केही हदसम्म आुयुरवेदिक चिकित्सा पद्धतिका उपचार प्रक्रियाहरुले मनुष्यको शरीर, मन, भाव तथा चेतन चेतनामा अनेकौं अतिरिक्त नकारात्मक प्रभावहरु पार्ने गर्दछन् तर वायो हिलिगं थेरापी र क्वान्टम हिलिगं थेरापीका शरीर, मन, भाव तथा चेतन चेतनामा कुनै प्रकारको नकारात्मक प्रभावहरु हुदैनन्, केवल सकारात्मक प्रभावहरु मात्र हुन्छन् ।
आधूनिक चिकित्सा विज्ञान, मनोचिकित्सा विज्ञान तथा मनोविज्ञानले समय–समयमा गरेका वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारीत अध्ययनहरुका प्रामाणिक तथ्यहरुले उजागर गरे अनुसार मौनमा रहेको अवस्थामा मनुष्यको शारीरिक, मानसिक, भावनात्मक स्वास्थ्यमा गहिरो सकारात्मक प्रभाव पर्दछ । यो अवस्थामा मनुष्यको मन, भाव तथा शरीरबाट उत्पन्न हुने सबैप्रकारका शारीरिक, मानसिक, भावनात्मक अस्वस्थता तथा रोगहरु क्रमशः निको हुन थाल्छन् र उ विस्तारै स्वस्थ तथा आरोगी बन्दै जान्छ । आरोग्यताको अवस्थामा मनुष्यमा शरीर, मन, भावनाका अस्वस्थता तथा रोगहरु, चुनौति, समस्या तथा प्रतिकुल परिस्थितिहरुसंग लड्न सक्ने आन्तरिक क्षमतामा वृद्धि हुनेहुनाले फेरी सितिमित ती अस्वस्थता तथा रोगहरु, चुनौति, समस्या तथा प्रतिकुल परिस्थितिहरु मनुष्यको जीवनमा दोहोरिएर आउने सम्भावना अत्यन्तै कम रहन्छ । साथै कतिपय अस्वस्थता तथा रोग, चुनौति, समस्या तथा प्रतिकुल परिस्थितिहरु समुल नष्ट भएर जान्छन् पुनः कहिल्यै नफर्किने गरि । स्वास्थ्य सम्वन्धी विश्वका विश्वसनिय ठूला–ठूला स्वास्थ्य संगठन तथा अनुसन्धन केन्द्रहरुले गरेका वैज्ञानिक तथ्यांकहरुले स्पष्ट रुपमा उल्लेख गरेका छन् कि मनुष्यको पूरै जीवन उसको शरीरबाट उत्पन्न हुने ग्रन्थी रस तथा रसायनको उपज तथा खेल हो । मनुष्य शरीर, मन, भावले मौन रहेको तथा ध्यानस्थ रहेको अवस्थामा उसको शरीरका अनावश्यक चन्चलताहरु, मन तथा मस्तिष्कमा उत्पन्न हुने अनियन्त्रित नकारात्मक सोच तथा विचारहरु र भाव तथा हृदयमा उत्पन्न हुने नकारात्मक भावनात्मक संवेगहरुमा न्यूनता तथा स्थिरता आउने तथा बन्द हुदै जाने हुनाले उसको शरीर तथा मसितष्क, मन र भावमा सकारात्मक प्रभाव पर्दछ । यो सकारात्मक प्रभावले शरीरमा उत्पन्न हुने रसायन उत्पादन गर्ने ग्रन्थीहरुको क्रियाशिलतामा प्रत्यक्ष रुपामा सकारात्मक नै प्रभाव पार्दछ । ग्रन्थीहरुको क्रियाशिलतामा परेको सकारात्मक प्रभावका कारण मनुष्य स्वास्थ, सक्रिय, सन्तुलित र व्यवस्थित रहनका लागि शरीरमा आवश्यक पर्ने सकारात्मक रसायनहरु(ह्याप्पि हर्मोन्स– एन्डोर्फिन्स, डोपामिन, सेरोटोनीन, मेलाटोनीन)को उत्पादन स्वस्फुर्त रुपमा बढ्न प्रारम्भ हुन्छ र नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स– कोर्टिसोल, एडर्नलिन) को उत्पादन स्वतः न्यून हुन्छ तथा बन्द भएर जान्छ । यसकारण बायो हिलिगं तथा क्वान्टम हिलिगं थेरापीले शरीरका रसायन ग्रन्थीहरुलाई औषधि तथा अमृत उत्पादन गर्ने प्रमुख कारखानाका रुपमा लिने गर्दछन् जसले शरीर, मन, भावना, चेतना स्वस्थ रहनकालागि आवश्यक पर्ने औषधि तथा अमृतजन्य तत्वहरु उत्पादन गरेर मनुष्यलाई हरप्रकारले स्वस्थ तथा आरोगी रहन मद्धत गर्दछन् र सबैले अनिवार्य रुपमा जान्नै पर्ने कुरा, ध्यान तथा मौनको अभ्यास साथै योगीक साधना का विधिहरु (यम, नियम, योगासन, प्राणायाम, क्रिया, मुद्रा, वन्द, एकाग्रता, धारणा) यी ग्रन्थी तथा कारखानाहरु सुचारु रुपले चल्न मद्धत गर्ने उर्जा तथा इन्धनको मूल श्रोत हो ।
स्वस्फुर्त रुपमा मानसिक तथा भावनात्मक उपचार
व्यवहारिक जीवनलाई हेर्दा मनुष्यको शारीरिक अस्वस्थता तथा रोगहरु स्पष्ट रुपमा देख्न र अनुभव गर्न सकिने हुनाले सामान्यतया अस्वस्थता तथा बिमारी भनेको शरीरमा मात्र हुन्छ भन्ने आम बुझाइ रहदै आएको छ । मानसिक तथा भावनात्मक अस्वस्थता तथा बिमारीहरु अदृश्य र मापन गर्न कठिन हुनेहुनाले मानसिक तथा भावनात्मक अस्वस्थताको अवस्थालाई उति गणना गरिदैन तथा त्यति महत्व दिइदैन । अझ कतिपय अवस्थामा त आम मानिसहरुलाई मानसिक तथा भावनात्मक बिमारी पनि हुन्छ, आफूलाई मानसिक तथा भावनात्मक बिमारी भएको छ र यो शारीरिक बिमारी भन्दा पनि बढि जटिल र नकारात्मक प्रभाव पार्ने खतरनाक प्रकृतिको हुन्छ भन्नेबारे थाहा समेत छैन । तर मनुष्य शरीरको स्वाथ्य तथा आरोग्यताको वास्तविकता भने आम मनुष्यहरुको सामान्य बुझाइ भन्दा ठिक विपरित बुझ्न अलि जटिल रहेको छ । आम मनुष्यले यो कुरा राम्ररी बुझेको छैन कि शरीरमा देखिने अस्वस्थता तथा बिमारीहरु मनुष्यको मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक असहज अवस्थाका प्रत्यक्ष तथा अप्रत्यक्ष लक्षण, प्रतिविम्वि तथा परिणामहरु हुन् किनकी मनुष्यको शरीर उसको मन, भावना र चेतनाकै प्रतिविम्व, छायाँ तथा विस्तारित स्वरुप हो । यस सन्दर्भमा श्रद्धेय खप्तड बाबाको बहुचर्चित पुस्तक 'विचार विज्ञान'को मूल निष्कर्ष र पछिल्लो समयमा यसै सन्दर्भमा वैज्ञानिकतामा आधारित रहेर विश्वचर्चित स्वास्थ्य संगठन तथा प्रतिष्ठानहरुद्वारा गरिएका थुप्रै मनोवैज्ञानिक खोजमूलक अध्ययन तथा अनुसन्धान र यसैलाई आधार बनाएर प्रकाशन गरिएका आधूनिक मनोविज्ञानका पुस्तकहरुको पनि मूल निष्कर्ष एउटै रहेको छ कि दुर्घटना तथा कुनै वाहिरी चोटपटकका कारणले मनुष्यको शरीर, मन, भावना तथा चेतनामा हुने चोटपटक जन्य अस्वस्थता तथा बिमारीहरु बाहेक शरीरभित्रबाट उव्जिने साना-साना घाउ–खटिरादेखि सितिमिति उपचार नै गर्न नसकिने अर्बुद अर्थात क्यान्सरसम्मका सबै रोगहरु मनुष्यको नकारात्मक, अनियन्त्रित, असन्तुलित तथा अस्वस्थ मानसिक, भावनात्मक र चेतनात्मक अवस्थाका प्रत्यक्ष तथा अप्रत्यक्ष परिणामहरु हुन् । तसर्थ शरीरका समस्या, अस्वस्थता तथा रोगहरुको सहि ढंगले दिगो समाधन तथा उपचार गर्नकालागि पूर्वीय सनातन अध्यात्म विज्ञानको विरासत योग विज्ञान अन्तर्गतका योगीक साधनाका वैज्ञानिकतामा आधारित विधिहरु तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट मनुष्यको मन, भाव र चेतनाको शुद्धिकरणमा काम गर्नुपर्दछ जसले मनुष्यको शरीर, मन, भाव, चेतनामा जमेर बसेका विषाक्त विजातिय तत्वहरु, अनियन्त्रित नकारात्मक विचारहरु र अपराधवोध, हिनतावोधले थिचिएको मन तथा भावलाई प्रत्यक्ष रुपमा शुद्ध, स्वस्थ, स्तिर र शान्त बनाउन मद्धत गर्दछ । सनातन योग विज्ञान अन्तर्गत पर्ने मौन साधना योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुमा आधारित मनुष्यको मन, भाव र चेतनाको शुद्धिकरणमा प्रत्यक्ष रुपमा प्रभावकारी ढंगले काम गर्ने सबैभन्दा भरपर्दो र अत्यन्तै महत्वपूर्ण साधना पद्धति तथा भरपर्दो र व्यवहारिक चिकित्सा पद्धति थियो, हो र सदा रहिरहनेछ ।
पूर्वीय मानव सभ्यतामा प्राचीनकाल देखिनै सनातन योग विज्ञानमा आधारित मौन साधनालाई मनुष्यको मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक साथै शारीरिक अवस्थाको शक्ति तथा उर्जा बढाउनका लागि सबैभन्दा भरपर्दो र महत्वपूर्ण श्रोत, साधन तथा उपकरणको रुपमा मान्दै र प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गर्दै आइएको यस व्यवहारिक पक्षलाई आत्मसाथ गर्दै वर्तमान समयमा पनि खासगरि पूर्वीय गुरुकुल संस्कृतिमा व्यवहारिक रुपमा मौन साधनालाई प्रयोगमा ल्याइदै आइएको पाइन्छ यद्धपि पछिल्लो समय अत्यधिक आधूनिक चिकित्साको भ्रमयुक्त प्रचार–प्रसार, अन्धा–धुन्ध प्रयोग र यस सन्दर्भमा मनुष्यहरुको अपर्याप्त जागरणका कारण मौन योगीक साधनाको परम्परा छायाँमा पर्दै गैरहेको भएपनि आजका सचेत पुस्ताहरु यस सन्दर्भमा क्रमिक रुपमा जागरुक हुदै गैरहेका छन् र विशेषगरि सनातन ज्ञान योग र ध्यान तथा आयुरवेदमा आधारित सनातन आरोग्य चिकित्साका जैविक चिकित्सा तथा वायो हिलिंग र शरीर-मन-भावको स्वस्फुर्त प्राकृतिक चिकित्सा तथा क्वान्टम हिलिंगतिर आकर्षित हुदै गैरहेका छन् र शरीर तथा स्वस्थ्यका चारवटै आयामहरु– शारीरिक, मानसिक, भावनात्म र आत्मिक अर्थात चेतनात्मक स्वास्थ्यको सन्दर्भमा चेतनशील र जागरुक हुदै गैरहेका छन् । प्रयास तथा खासगरि निस्प्रयास मौन साधनाको अवस्थामा स्वतः मनुष्यको सोच, विचार, भावनाहरुको कोलाहल कम हुने; बोलि तथा शव्द कम हुने; बोल्दाखेरी आवाज, चिन्तन, मननमा खर्च हुने उर्जा वचत हुने; र यसरी वचत तथा संचित भएको सकारात्मक उर्जाको शक्तिले आफ्ना सोच, विचार तथा भावनाहरुलाई आफू अनुकुल हुनेगरि चलाउन तथा नियन्त्रण गर्न सक्ने क्षमतामा वृद्धि हुदै जाने हुनाले मनुष्यको शरीरका गतिविधिहरु, मनोदशा, भावदशा, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरु पनि स्वतः सकारात्मक हुदै जान्छन् र उसका शरीर तथा स्वास्थ्यका आयामहरु सबै स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित र जाग्रीत हुन थाल्छन् । मनुष्यको मन तथा भावनामा चल्ने अनियन्त्रित सोच, विचार तथा भावनात्मक संवेगहरु नियन्त्रणमा आएसंगै उसमा सकारात्मक सोच, विचार तथा भावनाहरु उत्पन्न हुन प्रारम्भ हुनेहुनाले तनाव, चिन्ता, विषाद, अवसाद जस्ता मानसिक, भावनात्मक तथा चेतनात्मक अस्वस्थता र यसका कारणले उत्पन्न हुने सबै प्रकारका शारीरिक समस्या, अस्वस्थता तथा रोगहरु सबै कम हुदै जान्छन् र यसको चौतर्फि सकारात्मक प्रभाव मनुष्यको वाहिय र आन्तरिक जीवनमा बढ्दै तथा देखापर्दै जान्छ र उ आन्तरिक रुपमा हरप्रकारले सुखी, खुशी, समृद्ध, सहज, सरल, सफल, शान्त, आनन्दित तथा जिम्मेदार मनुष्य बन्दछ ।
अनियन्त्रित सोच, विचार, भावना र वाणीमा स्वस्फुर्त स्थिरता
प्रकृतिले सोच, विचार, भावना र वाणीद्वारा अभिव्यक्तिको क्षमता मनुष्यलाई मात्र दिएको छ र मनुष्यकालागि यो प्रकृतिको अमूल्य वरदान हो तर क्षमताको सहि ढंगले सदुपयोग गर्नसके मात्र यो वरदान बन्न सक्दछ, सहि ढंगले त्यसको सदुपयोग गर्न नजान्दा यही वरदान अधिसापमा परिणत हुन पनि सक्दछ । हिजोआज अधिकांश मनुष्यहरुमा यो अदभूत क्षमताको सहि किसिमले सदुपयोग गर्न नजान्दा तथा आफ्नो सोच, विचार, भावना र वाणीमा आउने भाव र वाणीका शव्दहरुलाई सन्तुलन गर्न नजान्दा यो अमुल्य वरदान अभिसाप बन्दै गैरहेको प्रतित हुन्छ । एउटा प्रचलित भनाइ रहदै आएको छ, ‘संसारको सबैभन्दा धारिलो हतियार मनुष्यको जिब्रो हो र सबैभन्दा कडा विष उसका सोच, विचार, भावना र वाणीमा व्यक्त हुने नकारात्मक भाव तथा शव्दहरु हुन्’ । वैज्ञानिक पास्कलले भनेका छन्, “मनुष्यले आफ्नो जीवनमा ९० प्रतिशत मुस्किलहरु आफ्ना सोच, विचार, भावना र वाणीमा व्यक्त हुने भाव तथा शव्द र शरीर तथा इन्द्रियका हाउभाउ तथा प्रतिक्रियाहरुकै कारण निम्त्याउदछ” । प्राय मनुष्यलाई आफ्नो मन तथा भावमा लागेका सबै कुरा बिनारोकटोक स्वतन्त्र भएर बोल्न पाउदा र अरुले आफूप्रति गरेका टिप्पणीहरुका बारेमा तुरुन्त प्रतिक्रिया फर्काउन पाउदा तत्काल बडो आनन्द आउछ र जितेको महसुस हुन्छ तर हरेक मनुष्यको जीवनको वास्तविकतालाई हेर्ने हो भने केही समय पश्चात तिनै वाणी, शव्द तथा प्रतिक्रियाहरु नै उसको मानसिक तनाव, भावनात्मक अस्थिरता, जीवनका चुनौति तथा समस्याका रुपमा उ स्वयंकै अनुभवमा आउन थाल्छन् । यिनै तनाव, अस्थिरता, चुनौति तथा समस्याहरु नै ढिलोचाँढो उसको शारीरिक तथा मानसिक अस्वस्थता तथा रोग बनेर प्रकट हुन थाल्छन् किनकी अध्यात्म विज्ञान, आधूनिक चिकित्सा विज्ञान तथा मनोविज्ञानका अनुसार शरीरबाट उत्पन्न हुने सबैप्रकारका रोगहरुको मुलश्रोत तथा आधारभूमि मनुष्यकै नकारात्मक सोच, विचार, भावना तथा वाणीहरु हुन् ।
ज्यादातर मनुष्यहरुको आदत हुन्छ आफ्ना कुराहरु मात्र अरुलाई सुनाउने तर अरुका कुरा आफूले नसुन्ने, या सुन्दासुन्दै विषय मोड्ने, या विचमा कुरा काट्ने तथा हस्तक्षेप गर्ने किनकी यस्ता मनुष्यहरुमा अरुका कुरा सुन्ने धैर्यतानै हुदैन । थुप्रै व्यवहारिक अनुभवहरुले पुष्टि गरिसकेका छन् कि धेरै बोल्ने व्यक्तिहरुमा अत्यन्तै धेरै अनियन्त्रित सोच तथा विचारहरु चल्ने; अनावश्यक कुराहरु बढि बोल्ने; बोल्दाबोल्दै अत्यन्तै अस्थिर, भावुक, अनियन्त्रित, क्रोधित तथा हिंसात्मक हुने; धेरै बोलेर आफ्ना निकटका सम्वन्धहरु समेत बिगार्ने; आफ्नो काम तथा व्यवसाय बिगार्ने; दुःख गरेर जोडेको धनसम्पत्ति निमेसमै गुमाउने आदि प्रकारका ठूला-ठूला समस्याहरु उसको जीवनमा आइपर्दछन् । अनियन्त्रित नकारात्मक सोच, विचार तथा भावनात्मक संवेगहरुका कारण मनुष्यमा आउने अस्थिरता, भावुकता, असन्तुलन, क्रोधले मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा नकारात्मक उर्जाको प्रवाह बढाउदछ र यस्तो उर्जाले मनुष्यले आफू लगायत उसको निकट रहेका मनुष्य, प्राणि, वनस्पति, पदार्थ तथा वरिपरिको वातावरण, पर्यावरण तथा समग्र माहोललाई समेत त्यस्तै प्रकारको नकारात्मक बनाउछ र सबैलाई हानि पुर्याउछ । यसरी उत्पन्न भएको नकारात्मक उर्जाले मनुष्यको शरीरमा आहार, विहार, व्यवहार, सोच, विचार, भावनात्मक संवेगहरुको सन्तुलनलाई बिगार्छ तथा असन्तुलित बनाउछ र यस्तो अवस्थामा उसको शरीर, मन, भावनाले विषयुक्त रसायनहरु(कोर्टिसोल, एडर्नलिन) निर्माण गर्दछन् र यी विषयुक्त रसायनहरुले उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थालाई समेत विषाक्त बनाउछन् र मनुष्य अस्वस्थ तथा रोगी, नकारात्मक, निराशावादी, अस्थिर, अशान्त, बेचैन हुन्छन् । यस्तो नकारात्मक उर्जा विष बनेर शरीरभरि फैलिन्छ र यसले शरीर तथा स्वास्थ्यका सबै आयामहरुलाई नोक्सान पुर्याउदछ । विस्तारै यिनै समस्याहरु तनाव, चिन्ता, अपच, अनिद्रा, अशान्ति, विषाद, अवषाद, विक्षिप्तता, पागलपन, आत्महत्याको सोच तथा प्रयास हुदै शारीरिक, मानसिक तथा भावनात्मक रोगका रुपमा देखा पर्दछन्, मनुष्य पूर्णरुपमा उ आफैंले सिर्जना गरेको नकारात्मक उर्जाको जालोमा आफैं घेरिदै तथा जकडिदै जान्छ र आफ्नो जीवन बर्बादीउन्मुख बनाउछ ।
माथि उल्लेखित सबै प्रकारका चुनौति तथा समस्याहरुको दिगो समाधानको एक मात्र भरपर्दो उपाय मौनको अभ्यास हो किनकी मौन साधना शरीर, मन, भावनामा जमेर रहेका विषक्तता तथा विजातिय तत्वहरुलाई नष्ट गर्ने तथा निर्मलिकरण(डिटक्सिफिकेन) गर्ने वैज्ञानिकतामा आधारित अत्यन्तै प्रभावकारी योगीक साधना विधि तथा प्रक्रिया र भरपर्दो चिकित्सा पद्धति हो । तर विडम्वना हिजोआजका मनुष्यहरु मौनको रहस्य र यसका उच्चकोटीका आफ्नो सर्वकल्याण गर्ने सकारात्मक लाभहरुबारे बुझेका छैनन्तथा स्पष्ट छैनन् । उनीहरुलाई लाग्छ मौन बसियो तथा बोलिएन भने अरुले कमजोर ठान्छन्; जीवनमा आफूले चाहे अनुरुप समृद्धि तथा सफलता हासिल हुदैन; आफूले अपेक्षा गरे अनुरुपको जीवन बन्दैन; आफूले रोजेका सम्वन्धहरु बन्दैनन् आदि तर मनुष्यको जीवनको वास्तविकता भने यसको ठिक विपरित रहेको छ । मनुष्यका असन्तुलित, अव्यवस्थित र अनियन्त्रित सोच, विचार, भावना, वाणी तथा शव्दहरु नै उनीहरुका जीवनका सबैभन्दा ठूला चुनौति तथा समस्या हुन् र मौनको अभ्यास यस्ता चुनौति तथा समस्याहरुबाट मुक्ति दिलाउने सबैकालागि उपयुक्त हुने अत्यन्तै व्यवहारिक एक मात्र भरपर्दो र प्रभावकारी उपाय हो । मौनमा रहदा यी समस्याहरुबाट मुक्ति मिल्छ किनकी मनुष्यले आफ्नो वाणीलाई मात्र मौन राख्न सक्यो भने उसका दैनिक जीवनयापनका ९० प्रतिशत चुनौति तथा समस्याहरु क्रमशः न्यूनिकरण हुदै जान्छन् र एक निश्चित अवस्थामा पुगेपछि समाप्त भएर जान्छन् । मौनको अभ्यास गर्दा बिना कारणका बेतुके वातचितहरु बन्द हुन्छन्; बोल्दा तथा प्रतिक्रिया व्यक्त गर्दा खर्च हुने समय र उर्जाको वचत हुन्छ; शरीर, मन, भाव, आत्मा, चेतनामा सकारात्मक उर्जाको प्रवाह बढ्छ; र विकसित जीवनकालागि आवश्यक उपयोगी सोच, विचार तथा भावनाहरु मन, मस्तिष्क तथा भावमा प्रष्फुटन हुन तथा तैरिन थाल्छन् किनकी मौन एकप्रकारकोसशक्ति मदानी हो । मौन साधनाका क्रममा शरीर, मन, भाव, आत्मा, चेतनामा बढेको सकारात्मक उर्जाको शक्तिको प्रवाहले मनुष्यभित्र चलिरहने अनियन्त्रित, नकारात्मक, असन्तुलित, अव्यवस्थित अतिविचार तथा नकारात्मक भावनात्मक संवेगहरुलाई मौनले छान्दछ मदानीले दही र नौनी छानेझैं । जसरी दही मथेर मोही पार्दा दहीका नचाहिने छोक्राहरु तलतल थिग्रिन्छन् र आवश्यक नौनी घिउ माथि-माथि सतहमा तैरिदै आउछ ठिक त्यसैगरि मौनको मदानीले मनुष्यका नराम्रा, अनावश्यक, नकारात्मक, असन्तुलित, अव्यवस्थित अतिविचार तथा नकारात्मक भावनात्मक संवेगहरुलाई मन, मस्तिष्क तथा भावको तल-तल थिगारिदिन्छ, विस्तारै मन, मस्तिष्क तथा भावबाट नै बाहिर निकालिदिन्छ र राम्रा, आवश्यक, सकारात्मक सोच, विचार तथा नकारात्मक भावनात्मक संवेगहरुलाई मन, मस्तिष्क तथा भावको माथि-माथि उतारेर दैनिक व्यवहारको अभ्यासमा ल्याइदिन्छ । यसर्थ, जो मनुष्य सोच, विचार, भाव, वाणी तथा शव्दहरुको माध्यमबाट ज्यादा बोल्छ तथा अनावश्यक रुपमा आफूलाई वाहिर अभिव्यक्त गर्दछ उसले आफ्नो अमूल्य समय, उर्जा, सम्वन्ध, मानप्रतिष्ठा, सम्पत्ति, समृद्धि, अवसर, सुख, खुशी, शान्ति, आनन्द सबै गुमाउछ र साथसाथ सरल, सहज, सफल जीवनकालागि अत्यावश्यक जीवनका सिकाइहरु सिक्ने अवसर पनि गुमाउछ तर जो मनुष्य मौनको अभ्यास गर्छ, कम बोल्छ तथा कम प्रतिक्रियात्मक हुन्छ, एकान्तमा रहन्छ, एक्लोपनको सदुपयोग गर्छ र अरुका कुरा तथा अनुभवहरु ज्यादा सुन्छ उसले आफ्नो अमूल्य समय, उर्जा, सम्वन्ध, मानप्रतिष्ठा, सम्पत्ति, समृद्धि, अवसर, सुख, खुशी, शान्ति, आनन्द सबै बढाउछ, अरुबाट सरल, सहज, सफल जीवनकालागि आवश्यक सिकाइहरु ज्यादा सिक्छ, संसार जित्छ र आफूलाई उच्च व्यक्तित्वमा स्थापित गर्न सक्षम हुन्छ ।
जीवन स्वस्फुर्त व्यवस्थित र विकसित हुन्छ
सरल, सहज र सफल जीवन पद्धति अपनाउन मनुष्यको जीवन हरप्रकारले व्यविस्थित हुनु अत्यावश्यक हुन्छ । अनियन्त्रित किसिमले लगातार अनावश्यक रुपमा बोलिरहदा बोल्न हुने, बोल्न नहुने सबैप्रकारका बोलि तथा शव्दहरु बोलिने हुदा मनुष्यको मन, मस्तिष्क तथा भाव अति धेरै विचारहरुमा उल्झिन्छ र जीवन अव्यवस्थित तथा बरवाद गर्नसक्ने बिध्वन्सकारी विचार तथा भावनाहरु व्यक्त हुन सक्छन् बेहोसिमा बोलिने अनावश्यक शव्दहरु मार्फत । मौनको अभ्यासले यसरी अनियन्त्रित रुपमा बोलेर र शरीर तथा इन्द्रियका विभिन्न हाउभाउहरुबाट, मनका विचारहरु तथा भावका भावनात्मक संवेगहरुबाट वाहिर प्रवाहित भएर अनावश्यक रुपमा शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको उर्जा ज्यादा खपत हुनबाट तथा खेरजानबाट बचाउछ र यसरी खपत भएको उर्जालाई अर्को महत्वपूर्ण ठाउँमा लगानी तथा खपत गरेर जीवनको उच्चतम विकास तथा व्यवस्थापन गर्न सकिन्छ किनकी मनुष्यसंग उसका शरीर, मन, भावका सबैप्रकारका गतिविधिहरुमा खपत हुने उर्जा एउटै हुन्छ जसलाई सनातन अध्यात्म विज्ञानले कुण्डलिनी उर्जा भन्दछ । मनुष्यको जीवनमा सबैप्रकारले सांसारिक र पारमार्थिक तथा आध्यात्मिक विकास गर्न अत्यावश्यक पर्ने मूल उर्जा कुण्डलिनी उर्जा नै हो । कुण्डलिनीे उर्जा जति बढि वचत तथा संरक्षित हुन्छ उतिनै मनुष्यको सांसारिक जीवन सुखी, खुशी, समृद्ध, सफल, सरल, सहज, शान्त, आनन्दित हुन्छ र यस्तो मनुष्यकोआत्मा अर्थात चेतनाको विकास तथा जागरण तिब्रगतिमा हुनेहुनाले उसको पारमार्थिक तथा आध्यात्मिक जीवनको मार्ग समेत सहज हुदै जान्छ । यस्तो व्यक्तिमा बोल्नु तथा प्रतिक्रिया दिनुअघि सुक्ष्म रुपमा सोचेर बोल्ने क्षमताको विकास हुदै जान्छ, उसको जीवनमा सकारात्मक परिवर्तनहरु देखिन थाल्छन् र उसका सबैप्रकारका व्यवहार र सम्वन्धहरु सुध्रिदै जान्छन् । मौनले आवश्यकता अनुसार भावनामा बहेर र आवश्यकता अनुसार पर्याप्त तर्क र वुद्धिको उपयोग गरेर जीवनका महत्वपूर्ण निर्णयहरु लिन तथा दिन शक्ति प्रदान गर्दछ किनकी मनुष्यको सहज, सरल तथा सफल जीवनकालागि कुनैपनि काम कुशलतापूर्वक गर्न तर्क तथा वुद्धिको आवश्यकता पर्दछ र सम्वन्धहरु सुमधूर तथा मजबुत बनाउन भावनाको आवश्यकता पर्दछ । निर्यण प्रक्रियालाई सहज बनाउनका लागि कुनैपनि महत्वपूर्ण निर्णय लिनु तथा दिनुअघि कम्तिमा पाँच मिनेट तथा आवश्यकता अनुसार समय लगानी गरेर पूर्णतः मौन रहने अभ्यास गर्दा मस्तिष्कका स्नायु प्रणालीहरुले केहीबेर आराम गर्ने र ठण्डा हुने अवसर पाउदछन् र यो अवस्थामा स्नायु प्रणालीका कोशिकाहरुले सहि ढंगले सोच्ने तथा विचार गर्ने शक्ति प्राप्त गर्दछन् । पाँच मिनेट तथा यो भन्दा बढि समय गरिने मौनको अभ्यासले मस्तिष्क, मन र भावमा विचार तथा भावनात्मक संवेगहरुका भिडभाड तथा कोलाहलहरु शान्त गराउन मद्धत गर्दछ र यो अवस्थाले मनुष्यको वुद्धिमत्तापूर्ण ढंगले सोच्ने तथा विचार गर्ने क्षमताको विकास गर्दछ । यसरी मौनको गहिराइबाट आएका तथा अभिव्यक्त भएका निर्णयहरु प्रभावशाली हनुकासाथै प्रभावकारी र उच्चतम परिणाममुखी र सफलताउन्मुख हुन्छन् र मनुष्यको जीवन व्यवस्थित हुदै जान्छ ।
मौनको अभ्यासले असन्तुलित जीवनशैली, शारीरिक गतिविधि, मानसिक उथलपुथल तथा भावनात्मक संवेगहरुका कारण शरीरमा फैलिएका नकारात्मक उर्जाहरु, विषक्तता तथा बिजातिय तत्वहरु विस्तारै कम हुन थाल्छन्, तिनले गर्ने हानिहरु न्यून हुदै जान्छन् तथा रोकिन्छन् र मनुष्यमा सकारात्मक गुणहरु वृद्धि हुदै जान थाल्छन् । उसको हृदयमा आफ्नो आलोचना सुन्न सक्ने क्षमताको विकास हुन्छ । आफूमाथि भएको आलोचनालाई सुनेर त्यसलाई सामान्य रुपमा लिदा तथा पचाउदा वाहिय रुपमा शरीरको शक्ति र आन्तरिक रुपमा मन, भाव, आत्मा अर्थात चेतनाको शक्ति बढ्छ र यसबाट मानसिक एकाग्रता तथा भावनात्मक सन्तुलन बढ्ने हुनाले प्रतिकुल अवस्थामा पनि धैर्य, प्रसन्न, शान्त, आनन्दित र स्वीकार भावमा रहन सक्ने क्षमतामा वृद्धि हुन्छ । कुनै बहस तथा छलफलमा तुरुन्त प्रतिक्रिया दिइएन भने आफ्नो मानसिक शक्ति बढ्छ र सामनेवालाको आवाज तथा शक्ति स्वतः कमजोर हुन्छ तथा सन्तुलनमा आउछ । मौन रहने, कम बोल्ने तथा आवश्यकता जति मात्र बोल्ने मनुष्यहरुका कुरा तथा विषयहरु दुरगामी र असरदार प्रकारका हुन्छन् । यसकासाथै मौनले भौतिक रुपमा स्नायु प्रणाली(न्युरल नेटवर्क) मजबुत बनाउने र सुक्ष्म रुपमा मनको एकाग्रता र भावको स्थिरतामा सकारात्मक बढोत्तरी ल्याउने हुनाले यस्तो अवस्थामा मन, मस्तिष्क र भावनाको क्रियाशिलता स्वतः बढेर जान्छ र आफ्ना दैनिक कामका प्रस्तुतिहरुमा सजगता बढ्छ, अध्ययन तथा कामकाजमा उत्पादकत्व बढ्छ र वाहिरी तथा आन्तरिक दबाव धान्न सक्ने क्षमतामा समेत वृद्धि हुन्छ । मौनको अभ्यासले अरुलाई सकारात्मक किसिमले प्रभावित पार्न सक्ने क्षमता प्रदान गर्छ र सकारात्मक रुपमा अरुको मन, मस्तिष्कमा टिकीरहन सकिन्छ । उर्जाको सिद्धान्त अनुसार अरुले आफूलाई सकारात्मक किसिमले आफ्नो मन, मस्ष्किमा, वाणीमा, शव्दमा, कुराकानी, यादमा बसाले तथा सकारात्मक भावले याद गरे भने उनीहरुको सकारात्मक भावका कारण मेरो सकारात्मक उर्जा बढ्छ, मेरो आभामण्डल तथा उर्जा क्षेत्र फराकिलो हुन्छ र सनातन अध्यात्म विज्ञानले यही अवस्थालाई अरुबाट आफूलाई प्राप्त हुने आशिर्वाद तथा कृपाको रुपमा परिभाषित गरेको छ । जो मनुष्यको व्यक्तिगत तथा सांसारिक जीवन आफूले चाहे अनुसारको हुन्छ उसको जीवनमा पारमार्थिक तथा आध्यात्मिक विकास तिब्रगतिमा हुन्छ र उ चाँढैनै मोक्षको अधिकारी हुन्छ । यसैकारण भन्ने गरिएको हो कि मौन साधनानै मनुष्यको जीवनको सबैभन्दा ठूलो र महत्वपूर्ण अनुशासन हो जसले मनुष्यको जीवनमा गहिरो सोच, उच्चतम विकास, आफूले चाहेको सफलता तथा प्रभावकारी परिणामहरु ल्याएर हरप्रकारले उसको जीवनलाई व्यवस्थित गर्दछ ।
व्यक्तित्व, नेतृत्व र वुद्धत्वको विकास हुन्छ
मौन साधना र मनुष्यको वाहिय तथा आन्तरिक शक्तिविच गहिरो सम्वन्ध रहेको हुन्छ । मौन रहने तथा कम बोल्ने मनुष्यको वाणी, शव्द तथा विषयमा ज्यादा वज तथा वजन हुन्छ र अरुले उसलाई ध्यानपूर्वक सुन्छन् । मौन साधनामा रहने व्यक्तिको आभामण्डलको उर्जाको फैलावट अनन्त र शक्तिशाली बन्दै जान्छ क्रमिक रुपमा किनकी आभामण्डलको उर्जाको फैलावट, तोरा तथा शक्तिमा ह्रास ल्याउने तथा विभिन्न प्रकारले नकारात्मक प्रभाव पार्ने मनुष्यका शरीर, मन, भावका हरप्रकारका नकारात्मक गतिविधिहरु नै हुन् र मौनको अभ्यासले उसको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई शुद्ध, स्वस्थ, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित राखेर निरन्तर आभामण्डलको उर्जाको फैलावट, तोरा शक्ति बढ्न मद्धत गर्दछ । शक्तिशाली आभामण्डल भएकोे मनुष्यका शव्द, आवाज तथा वाणी र उपस्थिति मात्रले पनि अरुको व्यक्तिगत जीवनमा, समाजको सामुहिक अवस्थामा, राष्ट्रमा, विश्वमा, प्रकति तथा ब्रम्हाण्डमा सकारात्मक परिवर्तन ल्याउन सक्ने प्रेरणा र शक्ति प्रदान गर्ने अदम्य क्षमता राख्दछ किनकी मौन साधना मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक उर्जा बढाउने भरपर्दो सनातन साधना विधि, उपकरण, साधन तथा माध्यम हो । बोल्दा, हेर्दा तथा इन्द्रियहरुका गतिविधिहरु गर्दा शारीरिक, मानसिक तथा भावनात्मक क्रियाकलापहरुबाट अत्यन्तै धेरै कुण्डलिनी उर्जा सांसारिक जीवनका गतिविधिहरुको माध्यमबाट वाहिर निस्कन्छ तर मौनको अभ्यासमा रहदा सांसारिक जीवनका गतिविधिहरु गर्दा इन्द्रियहरुको माध्यमबाट वाहिरको संसारतिर फर्किएको उर्जा हरप्रकारले आफूतिरै फर्कन्छ, संचित भएर बसिरहन्छ र आफूतिर फर्कन तथा आफूतिरको अन्तरयात्रा गर्न मद्धत गर्दछ । यसरी संचित भएर रहेको कुण्डलिनी उर्जालाई अर्को कुनै महत्वपूर्ण तथा उत्पादनमुलक काममा प्रयोग गर्न सकिन्छ । यसरी संचित भएर रहेको कुण्डलिनी उर्जाले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तथा आध्यात्मिक प्रगति तथा विकासमा निरन्तर मद्धत गर्दछ । यसप्रकारको उर्जाशील मनुष्यको व्यक्तित्व, नेतृत्व र वुद्धत्वमा स्वस्फुर्त रुपमा निरन्तर उच्चतम विकास हुदै जान्छ र अन्ततः उ मोक्षको अधिकारी हुन्छ ।
(आ)मौन साधनाका पराभौतिक तथा पारमार्थिक उपलव्धिहरु
मैन साधनाको अवस्थामा मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको अवस्थामा आउने सकारात्मक रासायनिक परिवर्तनहरुले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, 'चेतन' चेतनात्मक अवस्थामा उच्चतम प्रगति तथा विकास गर्नुका साथसाथ आत्मिक अर्थात 'चैतन्य' चेतनात्मक अवस्थामा समेत उल्लेख्य प्रगति तथा विकास गरेर उसको पारमार्थिक तथा आध्यात्मिक जीवनमा समेत अभूतपूर्व प्रगति तथा विकास ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ किनकी अनुभवी सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका अनुसार मनुष्यको आध्यात्मिक विकासका लागि मौन साधनाले सर्वाधिक महत्वपूर्ण र प्रभावकारी उपकरणका रुपमा भूमिका खेल्दछ ।
स्वस्फुर्त आफूभित्रको अन्तरयात्रा प्रारम्भ हुन्छ
हाम्रा पुर्खा तथा प्राचीन वैज्ञानीक ऋषिमुनिहरुको शास्वत वाणी रहेको छ कि, ‘मनुष्यले सांसारिक जीवनमा आफूलाई हराउछ तर मौन साधनाको माध्यमबाट हासिल भएको आन्तरिक जीवनमा आफूलाई भेटाउछ’ । मनुष्य जति एकान्त रुचाउछ; एक्लै बस्छ तथा आफूसंग समय बिताउछ; मौनको अभ्यासमा रहन्छ उसले उतिनै आफूभित्रको आन्तरिक जीवनमा प्रवेश पाउदै जान्छ र आफूभित्रको गहिराइमा नै उसले वाहिरको सांसारिक जीवनमा हराएको आफ्नो वास्तविक तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द फेला पार्दछ । मनुष्य जति आफूभित्रको आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको केन्द्रमा पुग्छ उतिनै उसको वाहिरी र आन्तरिक जीवन सुखी, खुशी, समृद्ध, सफल, सरल, सहज, सन्तुलित, व्यवस्थित, शान्त, आनन्दित हुदै जान्छ । प्रयास तथा निस्प्रयास मौन साधनाको अवस्थामा मनुष्यका इन्द्रियहरुको माध्यमबाट वाहिरी संसारमा छरिएको आफ्नो चेतनाको उर्जा आफूभित्रै संचित भएको तथा आफूतिर फर्किएको प्रत्याहारको अवस्थामा मनुष्यले आफ्नोबारेमा सोच्ने, खोज्ने, विश्लेषण गर्ने र आफू र आफ्नो अस्तित्वलाई गहिराइमा जान्ने मौका हासिल गर्दछ र यस्तो अलौकिक घडिमा सहजै उ आफूभित्र प्रवेश गर्दछ, स्वस्फुर्त रुपमा उसको आफूभित्रको अन्तरयात्रा प्रारम्भ हुन्छ र उसको जीवनमा आध्यत्मिक विकास विधिवत रुपमा प्रारम्भ हुन्छ ।
आत्मा अर्थात चेतनाको स्वस्फुर्त उच्चतम विकास
प्रयास मौनको पृष्ठभूमिबाट क्रमिक रुपमा विकसित हुदै साधनाको गहन मौन अवस्थामा आत्मा अर्थात चेतनामा आउने अलौकिक रुपान्तरणपछि स्वस्फुर्त रुपमा घटित भएको मौन साधनाको प्रज्वलित अग्निले मनुष्यको अनावश्यक, अनियन्त्रित र नकारात्मक सोच, विचार तथा भावनाहरुले भरिएर उकुशमुकुश भएको ग्रसित मन, मस्तिष्क, भाव, आत्मा अर्थात चेतनालाई क्रमिक रुपमा खालि तथा शुन्य बनाउदै तिनको आध्यात्मिक उपचार गर्दछ । आध्यात्मिक उपचारले आध्यात्मिक मार्गमा अगाडि बढ्न सहज हुने प्रकारले मनुष्यको स्थुल तथा काया शरीर र सुक्ष्म तथा चित्त शरीर(मन, वुद्धि, अहंकार)लाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित, व्यवस्थित र जाग्रित गराउन मद्धत गर्दछ । मौन साधनाले सिर्जित गरेको अन्तरहृदयको शुन्यता शक्तिशाली प्रभावका कारण मनुष्यको काया शरीर र चित्त शरीर शुद्ध भएपछि क्रमिक रुपमा साधक भौतिक तथा सांसारिक जीवनबाट पराभौतिक तथा पारमार्थिक जीवनमा प्रवेश गर्दछ र स्वस्फुर्त रुपमा उसको आत्मा अर्थात चेतनाको उच्चतम विकास हुन प्रारम्भ हुन्छ । यसपश्चात आध्यात्मिक मार्गमा आवश्यक पर्ने पात्रताका इकाइहरु उसको जीवनमा हासिल हुदै जान्छन् र उ परमात्मामा एकाकार भएर मोक्षमा उपलव्ध हुन योग्य बन्दै जान्छ ।
आन्तरिक सुख, खुशी, शान्ति, आनन्द, परोपकारदेखि परमात्मासम्म
मौन साधनाका क्रममा विस्तारै मनुष्यका अनियन्त्रित, अनावश्यक, नकारात्मक सोच, विचार तथा भावनात्मक संवेगहरु स्थिर, मौन तथा शुन्य हुदै जान्छन् र उसको मन, मस्तिष्क तथा भावमा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द छाउछ । यो अवस्थाको सकारात्मक प्रभाव स्वरुप उसको वाहिरी तथा सांसारिक जीवनमा उसले आफूले इच्छ्याएका सकारात्मक परिवर्तनहरु हासिल हुन प्रारम्भ हुन्छन् । सांसारिक जीवनमा प्रगति गरेको मनुष्यमा क्रमशः आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको तोरा झन-झन बढ्दै जान्छ र उसले विस्तारै आफूलाई वाहिरी संसारबाट आन्तरिक संसारतिर फर्काउन र आफू तथा आफ्नो अस्तित्व खोज्न तथा जान्न प्रयास प्रारम्भ गर्दछ । वाहिरी जीवन र आन्तरिक जीवनमा सुखी, खुशी, शान्त, आनन्दित रहेको मनुष्यमा क्रमशः सकारात्मक विशेषता तथा आध्यात्मिक गुणहरु भरिदै आउछन् । विस्तारै उ आफ्नो सफलता, सकारात्मकता, व्यक्तित्व, नेतृत्व मार्फत अरुको जीवनमा सहजता ल्याउने सर्वकल्याणका कामहरुमा अग्रसर हुदै जान्छ । उसको सोच, विचार, वाणी, व्यवहार, आचरणमा सेवा भाव, प्रेम भाव, दया, करुणा, दान, पुण्य, उपकार तथा परोपकारका निस्वार्थ तथा निस्काम भावहरु भरिदै जान्छन् । यस्तो अवस्थामा उभित्र सबैप्रति क्षमाशिलता, धन्यता, कृतज्ञता र आफूप्रति सन्तोष तथा स्वीकारका भावहरु भरिदै आउने हुनाले उसको मन, मस्तिष्क, भाव, आत्मा अर्थात हृदयमा एकप्रकारको अकारण परमसुख, परमखुशी, परमशान्ति, परमआनन्दको अवस्था स्वस्फुर्त रुपमा घटित हुन्छ अरुको सेवाबाट प्राप्त भएका आशिर्वादहरु र परमात्माको कृपाका कारण । जो मनुष्यमा यसप्रकारका सेवा, प्रेम, परोकारका भावहरु भरिदै जान्छन् उभित्र क्रमशः परमात्मा उत्रिने पुष्ठभूमि तयार हुदै जान्छ किनकी परमात्माको वास्तविक स्थान नै सेवा, प्रेम, परोकारका भावहरुले भरिएको भक्त तथा सेवकहरुको अन्तरहृदय हो । परमात्माका १६ कलाहरुले युक्त परमात्मा स्वयंका साकार, व्यक्त तथा गुण स्वरुप भगवान श्रीकृष्ण स्वयंले श्रीमद् भगवद् गीता महाग्रन्थमा भन्नुभएको छ, “म भक्तहरुको हृदयमा वास गर्दछु” । श्रीकृष्ण भगवानले भन्नुभएको भक्त त्यस्तो भक्त हो जो निस्वर्थ तथा निस्काम भावले परमात्माका सिर्जन तथा सन्तानहरुको सहजताका लागि परोपकारका कर्महरु गर्दछ । निरन्तर मौन साधना गर्ने, परोपकारको मार्गमा हिड्ने परम श्रद्धा, समर्पण तथा आस्था र भक्ति भावले भरिएको आध्यात्मिक यात्राले मनुष्यलाई अन्तः परमात्मा साक्षातकार र परमात्मामा एकाकारसम्म पुर्याउछ ।
***********************
छिट्टै(सम्पादनको चरणमा रहेको)
मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि
No comments:
Post a Comment