'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Sunday, 16 November 2025

मौन साधनाभित्रको साधना ‘नाम जप’

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन



आध्यात्मिक अज्ञानता र जीवनका कठिनाइहरु


अध्यात्म विज्ञान मनुष्यको आध्यात्मिक जीवन तथा आन्तरिक जीवन सन्तुलनमा राख्ने त्यस्तो महानतम ब्रम्हाण्डिय विज्ञान हो जहाँ मनुष्यको जीवनका सबै प्रश्न तथा जिज्ञासाहरु स्वस्फूर्त समाप्त र शान्त हुन्छन् । वर्तमान समयमा भौतिक विज्ञानमा आएको अकल्पनिय विकास तथा वरिवर्तनका कारण आजका मनुष्यहरुको सांसारिक जीवयापनका लागि आवश्यक हरप्रकारका वस्तु, सेवा तथा सुविधाहरु उपलव्ध छन्, उनीहरु हरप्रकारले सम्पन्न छन् तरपनि उनीहरुमा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द छैन किनकी भौतिक प्रगतिले मनुष्यको वाहिरी जीवनमा मात्र प्रगति ल्याउन सक्यो आन्तरिक जीवन कुनै परिवर्तन ल्याउन सकेन शरु भएकोमा पनि ह्रास ल्याइदियो । मनुष्यहरुमा यस्तो अवस्था आउनु अत्यन्तै स्वभाविक र सामान्य कुरा हो किनकी आन्तरिक सुख, खुशी, शान्ति, आनन्द अध्यात्म विज्ञान अन्तर्गत पर्ने अन्तरजगत तथा सुक्ष्म जगत तथा आन्तरिक जीवनका विषयहरु हुन, भौतिक विज्ञान अन्तर्गत पर्ने वाहिरी जगत तथा सांसारिक जीवनका विषयहरु होइनन् । यसैकारण आजको मनुष्यले हरप्रयासका वावजुद आफ्नो जीवनको अन्तिम घडिसम्म पनि सांसारिक जीवन तथा भौतिक जगतबाट आफ्नो शरीरमा पूर्णरुपमा स्थिरता तथा आरोग्यता; मनमा एकाग्रता; भावमा शान्ति, प्रेम, सन्तुष्टी, स्वीकार्यता; र आत्मा अर्थात चेतनामा जागरुकता तथा सचेतता हासिल गर्न सकेको छैन । आफ्नो जीवनकालागि अत्यावश्यक यी आन्तरिक जगतका विषयहरु– सुख, खुशी, शान्ति, आनन्द वाहिरी संसारमा जतिजति खोज्ने प्रयास गर्यो उतिनै वाहिरी संसारमा छरिएका देख्दा आकर्षक तर भित्रबाट खोक्रा विषयहरुको भ्रममा उ हराउदै गयो र आफूसंग भएको थोरबहुत आन्तरिक सुख, खुशी, शान्ति, आनन्द पनि गुमाएर शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक रुपमा झनझन कमजोर तथा अस्वस्थ बन्दै गयो । यो अवस्थाले मनुष्यलाई जीवनको निश्चित समय तथा आयु अगावै तनावग्रस्त, अस्वस्थ, रोगी, वृद्ध बनाएर चाँढैनै उसलाई जीवनबाट निष्क्रिय र असमयमै मृत्युवरण गर्न वाध्य पारिरहेको आजको कहालिलाग्दो यथार्थ दृश्य हाम्रासामु स्पष्ट छ । 


मनुष्यको जीवनमा यस्तो शंकट आउनुको एकमात्र मूलकारण उसको आध्यात्मिक जीवन तथा आन्तरिक जीवनप्रतिको अज्ञानता रहदै आएको छ र मनुष्यको यो अज्ञानतालाई सांसारिक जीवनका भोग प्रवृत्ति तथा भौतिकतावादी जीवनशैलीले अझ फैलाउदै र गहिर्याउदै लगिरहेको छ र उ आफू स्वयंबाट झनझन दुर हुदै गैरहेको छ । हाम्रा पुर्खाहरुको जीवनशैली शात्विक तथा आध्यात्मिक थियो, उनीहरुले हामीलाई पनि आध्यात्मिक जीवन जीउन सिकाए किनकी शात्विक तथा आध्यात्मिक जीवनशैलीमा मनुष्यको जीवनमा सितिमिति कठिनाइहरु नै आउदैनन् र आइहाले भने पनि सबै किसिमका कठिनाइ तथा समस्याहरु सहजै समाधान हुन्छन् । आध्यत्मिक जीवनशैलीको अनुशरणले मनुष्यको समग्र जीवन व्यवस्थित सहज, सरल र सफल बन्न सक्छ तर यस सन्दर्भमा हामी सबै सावधान तथा होसियार हुनु अत्यन्तै आवश्यक हुन्छ किनकी मनुष्यको जीवनमा आध्यात्मिकताको महत्व बुझेर अनधिकृत तथा व्यवहारिक अनुभव नभएका कमाउ खाउ प्रकृति भएका स्वार्थी अध्यात्म व्यापारीहरुले सनातन अध्यात्मका दिव्य तथा अलौकिक विषयका शक्तिशाली सुत्रहरुलाई कमाइ खाने भाँडो बनाइरहेका छन् अध्यात्मको नियम विपरित गएर । उनीहरु सिधासिधा दाबी गर्दछन् र भन्दै आइरहेका छन् पूर्ण ग्यारेन्टीका साथ हरेक मनुष्यले आफ्नो जीवनमा इच्छ्याएका हरप्रकारका अपेक्षाहरु निश्चित अवधिमा पूरा गरिदिन सक्छौं भनेर, चाहे ती अपेक्षाहरु सकारात्मक नियत भएका हुन् या नकारात्मक नियत भएका हुन् । अधिकांश मनुष्य भयानक अज्ञानतामा जीवन जीरहेका छन् कि अहिलेसम्म यस इहलोक र उस परलोक कहीं पनि र केहीमा पनि पूर्ण ग्यारेन्टीका विषयहरु केही पनि छैनन् र हुन पनि सक्दैनन् । अध्यात्म व्यापारीहरु भन्ने गर्दछन् मनुष्यको सुक्ष्म शरीरमा रहेका विशेष चक्र तथा सबै चक्रहरु केही घण्टामा तथा केही दिनमा जागरण गरिदिन्छौं; केही घण्टामा तथा केही दिनमा कुण्डलिनी जागरण गराइदिन्छौं; सनातन अध्यात्मका शक्तिशाली विधिहरुको प्रयोग सिकाएर मनुष्यको जीवनमा सम्पन्ता, सफलता, ज्ञान, सम्वन्ध, प्रभाव तथा आकर्षण बढाइदिन सक्छौं; यतिमात्र नभएर अरुलाई आफूप्रति सम्मोहित गराइदिन सक्छौं; अरुको सम्पन्नता तथा सफलता रोकेर त्यसलाई आफूतिर आकर्षित गराइदिन सक्छौं; केही समयकालागि अदृश्य बनाइदिन सक्छौं; परमशान्ति र परमआनन्दमा पुर्याइदिन सक्छौं; मनपरेको स्त्री तथा पुरुषलाई आफूतिर आकर्षित गराइदिन सक्छौं... आदि जस्ता नकारात्मक परिणाम दिने कालो नियत र कालो विषयहरुलाई अध्यात्म विज्ञानसंग जोडिरहेका छन् । यसको फेहरिस्त निकै लामो छ, यस्ता गतिविधिहरु सरासर झुठ हुन् किनकी मनुष्यको जीवनमा रातरात तथा केही घण्टा र केही दिनमा यस्ता परिवर्त ल्याउन सकिदैन किनकी हरेक सकारात्मक उपलव्धिले निश्चित समयको साधना, निष्ठा, निरन्तरता, सकारात्मक भावको माग गर्दछन् । यी सबै ठगेर कमाउने र खाने भ्रमका खेती हुन्, अज्ञानवस गरिएका यस्ता गतितिविधिहरुले अमूल्य जीवनमा अपुरणीय क्षति पुर्याउन सक्छन् तसर्थ सर्वप्रथम यो अज्ञानताबाट वाहिर आउँ र वास्तविक अध्यात्म विज्ञान के हो र वास्तविक आध्यात्मिक जीवन तथा शात्विक जीवनबारे सहि ज्ञान लिऔं, सहि ज्ञान सिकाउने गुरु तथा संस्थाहरुको पहिचान गरौं र आफूले सहि ज्ञान लिएर अरुलाई पनि सहि ज्ञान प्रदान गरौं, जीवनका कठिनाइहरुबाट आफू पनि वाहिर आउँ र अरुलाई पनि वाहिर निकालौं । 


वास्तविक अर्थमा अध्यात्म विज्ञान मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको क्रमिक रुपमा उच्चतम विकास गर्न मद्धत गर्ने पूर्णतः सात्विक गतिविधिहरुमा आधारित आन्तरिक विकासको विज्ञान हो, सांसारिक वस्तु तथा विषयहरु जीवनमा आकर्षित गर्न तथा जोड्न र जीवनलाई अझ भोगवृत्तिको दलदलमा फसाउन होइन । बल गरेर मनुष्यलाई संसारिक जीवनतिर फर्काउन खोज्ने र वाहिरको जगतमा केन्द्रित बनाएर आफूबात दुर गराउन खोज्ने यी राजसिक तथा हदैसम्मका तामसिक वृत्तिहरु हुन् । मनुष्यको जीवनमा क्रमिक रुपमा सकारात्मकता, स्वीकार र सन्तोषको भाव बढाएर स्वीकार भावसहितको त्याग अर्थात वैराग्यत उन्मुख गराएर सांसारिक भोगवृत्तिको दलदलबाट वाहिर निकालेर सदाकालागि योगवृत्ति तथा शात्विक जीवनमा स्थित हुनकालागि जीवनको विज्ञान सिकाउने जीवन विज्ञान को मूलविज्ञान तथा महाविज्ञान अध्यात्म । अध्यात्म विज्ञानका अनुसार शात्विक जीवनशैली अपनाएको आन्तरिक रुपमा स्थिर, सुखी, खुशी, शान्त, आनन्दित मनुष्य स्वतः सांसारिक जीवनमा पनि सहज, सरल, समृद्ध, सफल, प्रतिष्ठित, स्थिर, सुखी, खुशी, शान्त, आनन्दित जीवन जीउन सक्छ र आध्यात्मिक तथा धार्मिक(कर्तव्यनिष्ठ) बन्न सक्छ । आध्यात्मिक तथा धार्मिक व्यक्तिको जीवनप्रतिको बुझाइ आम मनुष्यको भन्दा निकै फरक र निकै गहिरो हुन्छ, उसलाई जीवमा आन्तरिक रुपमा स्थिर, सुखी, खुशी, शान्त, आनन्दित हुनकालागि सांसारिक विषय, वस्तु, सेवा तथा सुविधा जस्ता कुनै प्रकारका भौतिकवादी तामझामहरुको आवश्यकता पर्दैन, उ वैराग्यता तथा वितरागको भावमा स्थित हुन्छ र यस्तै मनुष्यलाई भगवान श्रीकृष्णले सच्चा योगीको संज्ञा दिनुभएको छ जो सांसारिक जीवनमा छ तर संसारप्रति लिप्त छैन र आफूसंग भएका सांसारिका विषय, वस्तु, सेवा तथा सुविधाहरुलाई मनुष्य भएर जन्म लिनुको एकमात्र लक्ष्य आध्यात्मिक जीवनशैली अपनाउदै, सबैको कल्याण गर्दै, परोपकारदेखि परमात्मासम्म पुर्याउने निस्काम कर्महरुमा आफूलाई निमज्जित गर्दछ र पूरै जीवनलाई मोक्ष प्राप्तिका लागि साधनामय बनाउछ । 



अध्यात्म साधककालागि सावधानी र चेतावनी

अध्यात्म विज्ञानका सुत्र तथा विषयहरुको प्रयोग गरेर मनुष्यको वास्तविक जीवन तथा आन्तरिक जीवनको विकासलाई प्राथमिकतामा नराखीकन, आवश्यक प्रक्रिया तथा विधिहरुको सहि ढंगले अनुशरण नगरिकन सिधै, जवरजस्ती तथा हरहालमा मनुष्यको वाहिय जीवनको विकास गर्ने प्रयास गरियो भने मनुष्यको जीवनमा त्यसको सामान्यदेखि असामान्य र दुरगामी नकारात्मक प्रभाव पर्न सक्छ यस जन्म र जन्म–जन्मसम्म किनकी मनुष्यको आजको कर्मनै भोलिको जीवन तथा अर्को जन्मको जीवनको भाग्य तथा नियति बनेर प्रकट हुन्छ । अध्यात्म विज्ञानको मूलमर्ममा छेडछाड गर्ने यस्ता अवान्छित गतिविधि तथा घटनाहरु हिजोआज हाम्रो गाउँ, समाजमा धेरै देखिदै आइरहेका छन् ठगिको धन्दाको रुपमा किनकी केही मनुष्यहरुको सोच, विचार, नियत, भाव, कर्म सहि छैन । उनीहरु स्वधोषित धार्मिक तथा आध्यात्मिक पहिरन, माला, टिका, शव्दोच्चाहरण तथा नाराका नाममा तथा आवरणमा यस्ता अध्यात्म विरोधी अवैधानिक गतिविधिहरु गर्दै आइरहेका छन् । यसउपर कडा अनुगमन र निगरानीको खाँचो छ, यो सबै सनातनीहरुको कर्तव्य र उत्तरदायित्व हो, सजग रहौं र अरुलाई पनि सजग बनाऔं किनकी यस्ता गलत गतिविधिहरुले अध्यात्म विज्ञानका शक्तिशाली सुत्रहरुको अनुचित प्रयोग तथा दुरुपयोग गरेका कारण एकातिर मनुष्यको जीवनयापन अझ कष्टकर हुदै गैरहेको छ र अर्कोतिर धर्म र अध्यात्ममा विकृति बढेका कारण पूरै समाज गलत अभ्यासतिर उन्मुख हुदै गैरहेको छ छोटो बाटोबाट जीवनमा सबैथोक पाउने भ्रममा र ठूलो प्राप्तिलाई ठूलै प्रयास तथा गहन साधना चाहिन्छ भन्ने शास्वत ज्ञान हराउदै गैरहेको छ । अध्यात्म विज्ञानको यो अत्यन्तै समवेदनशील विषयहरुबारे न यस्ता प्रकारका तामसिक सेवा दिन्छु भन्ने अध्यात्म व्यापारीले राम्ररी बुझेको छ न सेवा लिने वर्गले राम्ररी बुझ्न प्रयास गरेको छ अध्यात्म व्यपार होइन गहन साधना हो भनेर । सनातन अध्यात्म विज्ञानका शक्तिशाली सुत्रहरु मनुष्यको जीवन सहज बनाउने गहन साधनाका विषयहरु हुन् तर प्रक्रियाको पालन नगरिकन तामसिक लक्ष्यहरु हासिल गर्नकालागि अवैधानिक तथा अनैतिक किसिमले यी सुत्रहरुको उपयोग गर्र्नु दुरुपयोग हो र आफ्नै कर्मवन्धन बढाउने पाप कर्म हो जसले आफ्नै प्रारब्ध, नियति तथा भाग्यमा दुरगामी नकारात्मक प्रभाव पारिरहेको हुन्छ जन्मौ–जन्मसम्म ।


मौन साधनाभित्रको साधना ‘नाम जप’

सर्वप्रथम हरेक अध्यात्म साधकले यतिमात्र बुझे पर्याप्त हुन्छ कि अध्यात्म विज्ञान मनुष्यको आन्तरिक जीवन तथा सुक्ष्म जीवनको विकास गर्ने अदृश्य साधनाको विज्ञान हो र भौतिक विज्ञान मनुष्यको वाहिरी जीवन तथा सांसारिक जीवनको विकास गर्ने दृश्य साधनाको विज्ञान हो । अदृश्य साधना मनुष्यको आत्मा अर्थात चेतनाको विकास गरेर परमात्मा प्राप्ति र मोक्ष तथा निर्वाणमा उपलव्ध हुनकालागि गर्ने गरिन्छ, सनातन कालदेखि नै पूर्वीय सभ्यतामा यो साधना गर्दै आइएको छ र दृश्य साधना मनुष्यको शारीरिक सुख–सुविधा, मानसिक खुशी र भावनात्मक शान्ति हासिल गरेर सहज, सरल र सफल जीवनयापन गर्नकालागि गर्ने गरिन्छ । दृश्य र अदृश्य यी दुवै साधनाका लक्ष्य एकै हुन् मनुष्यको जीवन सहज, सरल, समृद्ध, सफल र सार्थक बनाउनु तर यिनका प्रक्रियाहरु फरक–फरक रहेकाछन् । दृष्य र अदृष्य साधना एकाअर्काका विरोधि नभएर परिपूरक हुन् किनकी दृश्य साधनाका सहि प्रक्रिया तथा विधिहरुले अदृश्य साधनाको सफलतामा भरपुर मद्धत गर्दछन् र अदृश्य साधनाका सहि प्रक्रिया तथा विधिहरुले दृश्य साधनाको सफलतामा भरपुर मद्धत गर्दछन् अर्थात जुन मनुष्य सांसारिक जीवनमा सन्तुष्ट तथा सम्पन्न छ उसको आन्तरिक जीवन तथा आध्यात्मिक जीवनको विकास सहज किसिमले हुनसक्छ र जुन मनुष्य आन्तरिक जीवनमा सन्तुष्ट तथा सम्पन्न छ उसको वाहिरी जीवन तथा सांसारिक जीवनको विकास सहज किसिमले हुन सक्छ । भनिन्छ प्रकृतिमा ढुंगोको भर माटो हुन्छ र माटो भर ढुंगो हुन्छ । मनुष्य पनि प्रकृतिकै अंश हो उसको जीवनमा पनि शरीर–मन–आत्मा(बडी–माइण्ड–सोल) एकअर्काका भर अर्थात भरथेग हुन्, यसर्थ स्वस्थ शरीरमा स्वस्थ मन निवास गर्दछ, स्वस्थ मनमा स्वस्थ आत्मा निवास गर्दछ र ठिक त्यसैगरि स्वस्थ आत्मामा स्वस्थ मन र स्वस्थ शरीर निवास गर्दछन् किनकी मनुष्यको मूलस्वरुप आत्मा हो, आत्माले नै मन र शरीरलाई संचालन गर्दछ र आत्माको मूलस्वरुप परमात्मा हो, परमात्माले आत्मालाई संचालित गर्दछ । 


मौन साधनाको अभ्यास मनुष्यको आन्तरिक जीवन, सुक्ष्म जीवन तथा आध्यात्मिक जीवनको विकास गर्न गरिने अत्यन्तै महत्वपूर्ण, भरपर्दो, प्रभावकारी, परिणाममुखी, उपलव्धिमूलक र सबैकालागि सहज, सरल र व्यवहारिक सनातन साधना विधि हो । मौन साधनाका धेरै चरण, प्रक्रिया र विधिहरु रहेका छन् । प्रयास मौन साधना हुदै निस्प्रयास मौन साधनासम्म पुग्न अनुशरण गरिने विभिन्न साधना विधिहरु मध्य एक अत्यन्तै महत्वपूर्ण र प्रभावकारी सनातन साधना विधि हो ‘नाम जप’ तथा ‘मन्त्र उच्चाहरण’ । ‘साधना’ मनुष्यमा आन्तरिक क्रान्ति ल्याउने सशक्त प्रक्रिया तथा विधि हो । ‘नाम जप’ तथा ‘मन्त्र उच्चाहरण’को अलौकिक शक्ति, दिव्यता, रहस्य र चमत्कारले साधकको शरीर, मन, भाव र आत्मा अर्थात चेतनामा ब्रम्हाण्डको महाउर्जा, महाशक्ति तथा महाप्रकाशको प्रष्फुटन तथा महाविष्फोट हुन्छ र यो महाउर्जा, महाशक्ति तथा महाप्रकाशले पुरै ब्रम्हाण्डमा हलचल ल्याइदिन्छ । निस्प्रयास मौन साधनामा ‘नाम जप’ तथा ‘मन्त्र उच्चाहरण’ साधनाको प्रभाव, परिणाम र उपलव्धिहरु अनन्त हुन्छन्, सारा ब्रम्हाण्ड साधकभित्र उत्रिन्छ र उ स्वयं ब्रम्हाण्ड बन्दछ । ‘नाम जप’ तथा ‘मन्त्र उच्चाहरण’ साधनाका तहगत चरणहरु र तत् तत् चरणहरुका साधकको अवस्थासंग मेलखाने गरि आ–आफ्नै प्रकारका प्रक्रिया तथा विधिहरु रहेका छन् । प्रारम्भिक चरणमा मौनको अभ्यास गर्ने क्रममा क्रमशः शव्द तथा वाणीमा वाहिय मौन; शरीर तथा इन्द्रियहरुको हाउभाउमा वाहिय मौन; अनियन्त्रित विचारमा नियन्त्रण तथा आन्तरिक मौन; भावका भावानात्मक संवेगहरुमा संयमता तथा आन्तरिक मौन रहने प्रयत्नको साथसाथ निष्ठापूर्वक नियमित रुपमा ‘नाम जप’ तथा ‘मन्त्र उच्चाहरण’ साधनालाई अगाडि बढाउदै जादा मौनको अभ्यासको एक विशेष परिस्थितिमा साधकमा स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ । निस्प्रयास मौन साधनामा निष्ठापूर्वक नियमित रुपमा गरिने ‘नाम जप’ तथा ‘मन्त्र उच्चाहरण’ साधनाले विस्तारै मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई स्थिर तथा शान्त बनाएर यिनको सांसारिक तथा भौतिक र पारमार्थिक तथा आध्यात्मिक विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ र साधकलाई पराभौतिक संसारको अलौकिकतामा स्थित गराइदिन्छ । 


मौन साधनालाई प्रक्रियागत किसिमले निरन्तर अगाडि बढाउनका लागि हरेक साधक सर्वप्रथम मौनभित्रका अर्थात साधनाभित्रका साधनाका चरण, प्रक्रिया तथा विधिहरुबारे स्पष्ट हुनु अत्आवश्यक हुन्छ । नाम जप तथा मन्त्र उच्चाहरण मौन साधनाको अति विशिष्ठ साधना विधि हो, विशिष्ठ साधना विधिबाट विशिष्ठ उपलव्धिहरु हासिल गर्नकालागि यसअघिका विशेष तथा सामान्य विधिहरुको साधनामा अभ्यस्त हुनु अपरिहार्य हुन्छ । मौन साधनाभित्रका सामान्य, विशेष र विशिष्ठ साधना विधिहरु क्रमशः– (१)साक्षी भाव, (२)विषय केन्द्रित, र (३)नाम जप तथा मन्त्र उच्चाहरण रहेका छन् । अवस्था र आवश्यकता अनुसार यी तीनै प्रकारका विधिहरु अत्यन्तै महत्वपूर्ण, प्रभावकारी, उपलव्धिमूलक र सबैकालागि उत्तिकै व्यवहारिक रहेका छन् । निस्प्रयास मौन साधनामा अझ गहनता ल्याउनका लागि यी तीनवटै सामान्य, विशेष र अति विशिष्ठ साधना विधिहरु प्रक्रियागत रुपमा अगाडि बढाइन्छन् । साक्षी भाव साधनामा अध्यस्त भएपछि साधक सहज ढंगले विषय केन्द्रित साधनामा प्रवेश गर्न सक्दछ र साक्षी भाव र विषय केन्द्रित दुवै साधनामा अभ्यस्त भएपछि साधक सहज ढंगले नाम जप तथा मन्त्र उच्चाहरण अति विशिष्ठ साधनामा प्रवेश गर्न सक्दछ र आफ्नो अलौकिक आध्यात्मिक यात्रालाई गन्तव्यसम्म पुर्याउन सक्दछ । मनुष्यको वाहिरी तथा सांसारिक जीवनका उपलव्धिहरुका लागि साक्षी भाव र विषय केन्द्रित ध्यान तथा मौन साधना विधिहरुले प्रभावकारी ढंगले मद्धत गर्न सक्दछन् तर गहन आध्यात्मिक उपलव्धिहरु हासिल गर्नकालागि साक्षी भाव र विषय केन्द्रित साधनाका साथसाथ नाम जप तथा मन्त्र उच्चाहरण वैज्ञानिकतामा आधारित सनातन योगीक साधना विधिहरुलाई जीवनमा निष्ठापूर्वक नित्य, निरन्तर अनुशरण गर्नु अपरिहार्य हुन्छ ।


नाम जप तथा मन्त्र उच्चाहरणका सन्दर्भमा आप्त वाणीहरु

अध्यात्म साधनाका लागि नाम जप तथा मन्त्र उच्चाहरणको महत्व र प्रभावकारीताका सन्दर्भमा उधृत गरिएका केही शाश्वत भनाई तथा सन्देशहरु–

“कलेर दोषनिधे राजन् अस्ति ह्येको महान् गुणः। कीर्तनादेव कृष्णस्य मुक्तसङ्गः परं व्रजेत्॥ (श्रीमद् भागवद् महापुराण १२.३.५१, महर्षि वेद व्यास), अर्थात हे राजन, कलियुग अधर्म र अज्ञानताको युग हो, यो दोषहरुको सागर हो तर यसमा एक महान गुण रहेको छ । केवल श्रीकृष्णको नाम जपले मनुष्य संसारबाट मुक्त भएर परमात्मामा एकाकार हुन सक्दछ ।

“कलियुग केवल नाम आधारा, सुमिर सुमिर नर उतरहिं पारा ।” (रामायण, महाकवि तुलसी दास रचित), अर्थात कलियुगमा केवल भगवानको नामको सहारा छ, यस युगमा राम नामलाई बारबार जप तथा स्मरण गरेर मनुष्य सांसारिक दुःखको भवसागरबाट पार हुन सक्दछ ।

“नाम जपो सब किछु हुए ।” (भक्ति सन्देश), अर्थात निराकार परमात्मा तथा आकार भगवानको नाम जपको माध्यमबाट जीवनमा आवश्यक सबै कुराहरु प्राप्त हुन्छन् ।

“नानक नाम जहाज है, चढ़े सो उतरे पार, जो श्रद्धा कर सेंवदे, गुर पार उतारणहार ।” (गुरु नानक देवजी) अर्थात भगवानको नाम जहाज समान हो । श्रद्धापूर्वक गरिने हरिगुरु भक्तिले सांसारिक जीवनका दुःखहरुको भवसागरबाट पार लगाएर मोक्षमा उपलव्ध गराइदिन्छ ।


नाम जप नै समग्र अध्यात्म साधनाको सार

आफ्नो दैनिक जीवनयापनका क्रममा निष्ठापूर्वक नित्य, निरन्तर नाम जप गर्ने साधकहरु आफूले आफ्नो जीवनमा हासिल गर्न तथा देख्न चाहेका सबै दृश्य तथा लौकिक र अदृश्य तथा अलौकिक विषयहरु आफूतिर आकर्षित गर्न, मेनिफेस्ट गर्न र हासिल गर्न सक्षम हुन्छन् । नाम जप सनातन अध्यात्म विज्ञानको एक मूल प्रक्रिया र अति विशिष्ठ साधना विधि तथा पद्धति हो । नाम जप अन्तर्गत हरेक मनुष्यले आफ्नो जीवनकालमा गर्नैपर्ने चार पुरुषर्थहरु– धर्म, अर्थ, काम, मोक्ष अन्तर्गत पर्ने तमाम सकारात्मक कर्म तथा गतिविधिहरु– मन्त्र जप तथा मन्त्रोच्चारहण, पूजा, प्रार्थना, यज्ञ, अनुष्ठान, व्रत, तीर्थ यात्रा, भक्ति, किर्तन, सतसंग, दान, पुण्य, दया, करुणा, परोपकार, सेवा, सहयोग, अध्ययन, अर्थोउत्पादन, सन्तानोत्पादन आदि सबै अटाउदछन् । यिनै गतिविधिहरुले एउटा सामान्य मनुष्यलाई साधारण व्यत्तिबाट असाधारण आत्मा अर्थात चेतनमा रुपान्तरण गरेर उसलाई साधनादेखि शिद्धिसम्म तथा परोपकारदेखि परमात्मासम्म पुर्याउदछन्, यसर्थ ‘नाम जप’ नै मनुष्यले गर्दै आइरहेको समग्र अध्यात्म साधनाको सार हो ।

परमहंस योगानन्दले भन्नु भएकोछ, “नाम जप साधना विधि आत्मालाई परमात्मासंग जोड्ने भरपर्दो सेतु तथा पुल हो । नियमित नाम जपले विस्तारै साधकको आन्तरिक जगतमा गहिराइ आउछ र नाम जपको गहनतामा प्रष्फुटित हुने दिव्य शक्तिले आत्मालाई तरंगीत गरिदिन्छ, आत्मा जव तरंगीत हुन्छ, साधकमा आत्मजागरण तथा आत्मवोध घटित हुन्छ तव उसको आत्माको पुकार ब्रम्हाण्ड भरि गुञ्जिन्छ र यो पुकार परमात्माले सुन्छ । नाम जपले मनुष्यभित्र रहेको आत्माको दिप जलाउछ र आत्मा र परमात्माको विचमा रहेका सबै प्रकारका अन्धकारहरु मेटाइदिन्छ, आत्मा र परमात्माको विचमा लागेका सबै धूलोमैलो तथा फोहरहरु सफा गरिदिन्छ तथा आत्मा र परमात्माको विचमा लागेको कालो पर्दा हटाइदिन्छ । मनुष्यको आत्मा र परमात्माको विचमा रहेका यी सबै नकारात्मक अवस्थाहरु छुटेपछि स्वस्फुर्त रुपमा उसको अन्तरहृदयमा परमात्माको पदार्पण हुन्छ र आत्मा स्वतः परमात्मामा एकाकार हुन्छ ।” 

नाम जप गरिने शव्द, नाम तथा मन्त्रहरुमा विशेष प्रकारको उर्जाशक्ति हुन्छ, सतचितआनन्दको गुण हुन्छ, नाम र नामीमा कुनै फरक हुदैन तथा साक्षता शक्ति स्वरुप हुन्छ किनकी नाम नै स्वयं निराकार, निर्गुण, अव्यक्त परमात्माको आकार, गुण, व्यक्त स्वरुप भगवान तथा देवी–देवता–सदगुरुहरु हुन, जसको नाम जप तथा जुन मन्त्र जप तथा जुन शव्द उच्चाहरण गरेपनि उही सबैको मूलस्वरुप निराकार, निर्गुण, अव्यक्त परब्रम्ह अर्थात परमात्मा अर्थात इश्वर अर्थात अस्तित्वकै जप, स्तुति, उपासना, प्रार्थना, पूजा, भक्ति, श्रद्धा हो, सबै साधनाका मार्गहरु परमात्मामा पुगेर सम्पन्न हुन्छन् । परमात्माको नाम जप सामान्य काम होइन, यो आत्माको पुकार हो जो सिधै परमात्मासम्म पुग्दछ । नियमित नामजप गर्ने व्यक्ति सिर्फ जप प्रक्रियामा मात्र सीमित हुदैन, सिर्फ नामका शव्दहरु मात्र दोहोर्याउदैन, उ ब्रम्हाण्डको महाउर्जाको महागुञ्ज तथा महातरंगमा एकाकार भएर आफ्नो सबैभन्दा भित्रको केन्द्र अन्तरआत्मा तथा अन्तरहृदयमा रहेको परमात्मासंग जोडिन्छ तथा एकाकार हुन्छ र दोहोरो संवाद गर्न प्रारम्भ गर्दछ । निष्ठापूर्वक नित्य, निरन्तर परमात्माको नाम जप गर्ने साधकको जीवनमा स्वस्फुर्त रुपमा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द, चेहरामा चमक आउछ र जीवनमा सबै कुरा हासिल गर्न सक्षम हुन्छ । परमात्माप्रति निष्ठा, आस्था, विश्वास, श्रद्धा, भक्ति र समर्पण भावले नित्य, निरन्तर गरिने नाम जप साधनाले एक आम व्यक्तिलाई साधारणबाट असाधारण र सामान्यबाट असामान्य तथा महान आत्मा अर्थात चेतनामा स्थित गराइदिन सक्दछ; जीवनबाट टुटेकाहरुलाई पुनः जीवनसंग जोडिने शक्ति प्रदान गर्न सक्दछ; र जीवनसंग डराएकाहरुका लागि जीवनको मूलश्रोत परमात्मासंग जोडिने पुल बन्न सक्दछ । 

जव परमात्माका कुनै पनि दिव्य नाम, मन्त्र तथा शव्दलाई निष्ठा, आस्था, विश्वास, श्रद्धा, भक्ति र समर्पण भावले जप गरिन्छ तथा दोहोर्याइन्छ तव साधकको अन्तरआत्मा तथा अन्तरहृदयमा एकप्रकारको दिव्य तरंग, कम्पन तथा भाइब्रेसन हुन प्रारम्भ हुन्छ । यो दिव्य कम्पन तथा भाइब्रेसन यस्तो एउटा तरंग हो जसले साधकभित्र रहेका नयाँ तथा पुराना, जन्म–जन्मका सबैप्रकारका नकारात्मक विषय, बानी, स्मृतिहरुलाई वाहिर निकालेर सदाकालागि नष्ट गरिदिन्छ, साधकलाई आन्तरिक रुपमा सकारात्मक दिव्य उर्जाले भरिदिन्छ र यस्तो अलौकिक अवस्थामा परमात्माले साधकलाई आफूतिर खिच्दछ किनकी साधक अव केवल उसको सांसारिक जीवनको मात्र मालिक रहदैनन्, उ पारमार्थिक जीवन तथा पराभौतिक संसारमा प्रवेश गरेर परमात्माको महाशक्ति, महाउर्जा तथा महाप्रकाशमा एकाकार तथा विलय भैसकेको हुन्छ । यी सबै परालौकि विषयहरु साधका नितान्त व्यक्तिगत शव्दातीत, इन्द्रियातीत, मनातीत, भावातीन अनुभव तथा अनुभूतिहरु हुन् तसर्थ स्मरण योग्य र महत्वपूर्ण कुरा– नाम जप सबै मनुष्यको आ–आफ्नो आस्थाको धर्म, संस्कृति, अध्यात्मप्रतिको आस्था, विश्वास, श्रद्धा, भक्ति तथा समर्पणको विषय हो; आ–आफ्नो नैसर्गीक स्वतन्त्रताको विषय हो; र उसको नितान्त व्यक्तिगत भावनात्मक अनुभव तथा अनुभूतिको विषय हो त्यसैले यो कुनै वादविवाद, वहस, तर्क तथा प्रमाण पेश गरिरहनु पर्ने विषय होइन । अध्यात्म साधकलाई वादविवाद, वहस, तर्क तथा प्रमाण तर्फ उक्साउनु तथा उल्झाउनु ब्रम्हाण्डिय तथा प्राकृतिक कानून अध्यात्म विज्ञानलाई अपमान तथा अस्वीकार गर्नु सरह हो ।


छिट्टै,
@नाम जपको महत्व र प्रभावकारीत
@कुन भगवान तथा देवी–देवताको नाम जप गर्ने
@नाम जप कसरी गर्ने
@नाम जपको वैज्ञानिकता
@नाम जपले कसरी काम गर्छ 
@भौतिक विज्ञानका प्रयोगात्मक खोजहरु
@अध्यात्म विज्ञानका व्यवहारिक खोजहरु
@नाम जपका उपलव्धिहरु
@नाम जप र स्वअनुभूति



    NO INTERNET, NO VPN

No comments:

Post a Comment