'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 22 November 2025

मौन साधनाभित्रको साधना ‘नाम जप’, खण्ड -४

   लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


नाम तथा मन्त्र जपका वैज्ञानिक खोजका तथ्यांकहरु

नाम तथा मन्त्रको शाव्दिक अर्थ र उपयोग

नाम जप तथा मन्त्र उच्चाहरणको अर्थ, प्रक्रिया र उद्देश्य उस्तै-उस्तै भएकाले बोलिमा सहजताका लागि समग्रमा नाम जप भन्ने गरिन्छ । परमात्माका शक्तिशाली नाम तथा मन्त्रहरु मनुष्यको मन, भाव तथा चेतनालाई पोषण प्रदान गर्ने अत्यन्तै महत्वपूर्ण दिव्य साधनहरु हुन् । सनातन अध्यात्मका अनुसार नाम तथा मन्त्रको शाव्दिक अर्थ प्रत्यक्ष रुपमा मनुष्यको मनसंग सम्वन्धित रहेको छ । मन्+त्रा=मन्त्र, ‘मन’ को अर्थ मनुष्यको मानसिक अवस्था तथा मनोदशा हो र ‘त्रा’ को अर्थ उपकरण तथा साधन हो जसले मन तथा मानसिक अवस्थाको रक्षा, हेरचाह तथा सुरक्षा गर्दछ र मनलाई आवश्यक पोषण प्रदान गर्दछ । नाम जप तथा मन्त्र उच्चाहरण आध्यात्मिक साधना विधि भएकोले खासगरि मनुष्यको मानसिक तथा भावनात्मक सन्तुलन र सक्रियताका लागि यो अत्यन्तै प्रभावकारी र शक्तिशाली रहदै आएको नाम तथा मन्त्र जपको प्रयोगात्मक अभ्यास गर्ने साधकहरुको प्रत्यक्ष अनुभव तथा अनुभूति रहेको पाइएको छ किनकी अध्यात्म साधना विधिबाट प्राप्त हुने शक्ति, लाभ तथा उपलव्धिहरुको ग्रहणशीलतामा मस्तिकको भूमिका न्युन हुन्छ र मनको इच्छा तथा हृदयको भावको भूमिका अत्यन्तै धेरै रहेको हुन्छ । आम मनुष्यहरुको सामान्य बुझाइमा नाम र मन्त्र तथा तन्त्र र यन्त्र सुन्दा र उपयोगमा ल्याउदा उस्तै हुनकी जस्तो लाग्छ तर होइनन् । सनातनदेखि निरन्तर चल्दै आइरहेको अध्यात्म साधना पद्धतिमा नाम र मन्त्र तथा तन्त्र र यन्त्रको उपयोग र उद्देश्य फरक–फरक प्रकारका रहेका छन् । सात्विक प्रकृतिका मनुष्यहरुले सबैको कल्याण हुने प्रकारले सकारात्मक उद्देश्यहरु हासिल गर्न तथा गराउनका लागि नाम र मन्त्र तथा तन्त्र र यन्त्रको उपयोग गर्दछन् । राजसिक प्रकृतिका मनुष्यहरुले आफ्नो तथा आफन्तहरुको सकारात्मक उद्देश्यहरु हासिल गर्न तथा गराउनका लागि नाम र मन्त्र तथा तन्त्र र यन्त्रको प्रयोग गर्दछन् तर तामसिक प्रकृतिका मनुष्यहरुले नकारात्मक उद्देश्यहरु हासिल गर्न तथा अरुको हानि गराउनका लागि नाम र मन्त्र तथा तन्त्र र यन्त्रको उपयोग गर्ने गर्दछन् । 

अनुभवी अध्यात्म साधकहरुको भनाइ अनुसार समग्रमा ०.१ प्रतिशत मनुष्यहरुले मात्र नकारात्मक भाव राखेर तथा दुरुपयोग गर्ने उद्देश्यले नाम र मन्त्र तथा तन्त्र र यन्त्रको जप, उच्चाहरण र श्रवण गर्दछन् तथा गराउदछन् र बाँकी ९९.९ प्रतिशत मनुष्यहरुले आफू तथा अरुको भलाइका लागि मध्यम तथा उच्च किसिमले सकारात्मक प्रभाव पार्ने गरि नाम र मन्त्र तथा तन्त्र र यन्त्र साधनाको प्रयोगात्मक अभ्यास तथा अनुष्ठानहरु गर्ने तथा गराउने गर्दछन् । विभिन्न समयमा विश्वमा गरिएका वैज्ञानिक खोज तथा अध्ययन, अनुसन्धानहरु सनातन नाम र मन्त्र तथा तन्त्र र यन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवणका सकारात्मक उद्देश्य हासिल गर्न उपयोग गरिएका सन्दर्भमा बढि गरिएका छन् । परमात्माका नाम जप तथा मन्त्र उच्चाहरणका सकारात्मक प्रभाव, परिणाम, लाभ तथा उपलव्धिहरुबारे गहन रुपमा प्रयोगात्मक परिक्षण गर्न समय–समयमा विश्वका प्रमुख सांगठनिक आधूनिक संस्थाहरु खासगरि नयाँ–नयाँ खोज तथा अध्ययन, अनुसन्धान गर्ने तथा गराउने स्वास्थ्य संगठन तथा शैक्षिक संस्थाहरुले वैज्ञानिकतामा आधारित धेरै प्रकारका प्रयोग, खोज, अध्ययन तथा अनुसन्धानहरु गरेर तथा गराएर प्रामाणिक तथ्यांकहरु वाहिर ल्याएका छन् । सबै भन्दा बढि वैज्ञानिकतामा आधारित प्रयोगात्मक खोज तथा अध्ययन, अनुसन्धान ॐकार महामन्त्र; ॐ नमः शिवाय महामन्त्र; गायत्री महामन्त्र; महामृत्युन्जय महामन्त्र; हरे राम हरे कृष्ण महामन्त्र; ॐ नमोः बुद्धाय; ॐ मणि पद्यमे हुँ महामन्त्र आदिको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा अध्यात्म साधक तथा आम मनुष्यहरुलाई भएका अनुभव तथा अनुभूति र उनीहरुमा आएका सकारात्मक प्रभाव, परिणाम तथा उपलव्धिहरुको बारेमा वैज्ञानिक प्रयोग, खोज, अध्ययन तथा अनुसन्धानहरु गरिएका तथा हुदै आइरहेका छन् । 

ॐकार अनाहद नादको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा ॐकारको दिव्य ध्वनिबाट उत्पन्न हुने कम्पन तथा भाइब्रेसनका कारण मनुष्य मस्तिष्कको जाँच तथा इग्जामिन गरिने एफ.एम.आर.आइ., एम.आर.आइ. तथा इ.इ.जी. आधूनिक चिकित्सा पद्धतिका अत्याधूनिक मेसिन तथा उपकरणहरुमा गरिएका प्रयोगात्मक जाँचका रिपोर्टहरुमा मनुष्यको मस्तिष्कको स्नायु प्रणालीका विभिन्न खण्डहरुमा उल्लेख्य सकारात्मक बदलाव आएका तथा रुपान्तरणहरु भएका पाइएको थियो । दिव्य ध्वनि ॐकारबाट उत्पन्न हुने कम्पन तथा भाइब्रेसन शक्तिका तरंगहरुका सकारात्मक प्रभावहरुका कारण मनुष्यको मस्तिष्कको गति विटा वेभबाट अल्फामा, अल्फा वेभबाट थिटामा र थिटा वेभबाट डेल्टामा र केही व्यक्तिहरुमा त अत्यन्तै न्यून मात्र नोटमा आउने अवस्था मस्तिष्क एकाग्रताको अवस्थाबाट पूर्ण एकाग्रताको अवस्था तथा गामा वेभमा रुपान्तरण भएको पाइएको थियो लामा–लामा प्रयोगात्मक अभ्यासहरुमा । यसका साथै मनुष्यको निधारपट्टिको भाग विवेकशील मस्तिष्क(र्यास्नल ब्रेन) र पछाडि पट्टिको भाग भावनात्मक मस्तिष्क(इमोसनल ब्रेन)का तन्त्रिका(न्युरोन्स)हरुमा ज्ञान इन्द्रियहरुबाट सूचनाहरु प्राप्त हुदा तिनमा हुने फायरिंग तथा विचारका तरंग प्रष्फुटनका अवस्थाहरुमा ॐकार अनाहद नादको जप, उच्चाहरण, स्मरण तथा श्रवणमा सहभागि हुने र नहुने व्यक्तिहरुको विचमा निकै ठूलो अन्तर पाइएको थियो । ॐकारको दिव्य ध्वनिको जप, उच्चाहरण, स्मरण तथा श्रवणमा सहभागि हुनेहरुको जीवन सहज, सरल र शान्त थियो, उनीहरु खुशी र आनन्दित रहेको पाइएको थियो किनकी उनीहरुको मस्तिष्क अधिकांश समय अल्फा स्टेटमा तथा शान्त अवस्थामा रहेको पाइएको थियो । मस्तिष्क उच्च विटा–मध्यम विटा–सामान्य विटा वेभको अवस्थामा रहेको समयमा मनुष्य मानसिक दबाव तथा तनावमा रहन्छ, यो आफ्नो जिम्मेदारीको काम पूरा गरिरहेको, तर्क तथा वहस गरिरहेको अवस्था हो । अल्फा वेभमा रहेको समयमा खुशी तथा आफ्नो मस्तीमा रहन्छ, यो आफूलाई रुचि लाग्ने काम गरिरहेको तथा मनोरञ्जन गरिरहेको अवस्था हो । थिटा वेभमा रहेको समयमा अत्यन्तै शान्त र आनन्दित रहन्छ, यो आँखा बन्द गरेर कुनै एउटा विषयमा एकाग्र भैरहेको तथा ध्यान गहिरिदै गएको मग्नताको अवस्था हो तथा राति निदाउनु अघि र विहान बिउझने बित्तिकै अर्धनिद्रा तथा तन्द्रामा रहेको झुम्म भएको अवस्था हो । डेल्टा वेभमा रहेको समयमा पूर्णतः आरामको अवस्थामा हुन्छ, यो सचेत आराम तथा गहिरो ध्यानमा रहेको अमनी तथा विचार शुन्यताको अवस्था हो तथा गहिरो निद्रा निदाएको अवस्था हो । र गामा वेभमा रहेको समयमा कुनै सिर्जनशील काममा पूर्णतः एकाग्र तथा केन्द्रित हुन्छ, दायाँ-बायाँका अन्य विषयहरुतिर मन तथा ध्यान छरिदैन, यो कुनै महत्वपूर्ण कामलाई अत्यन्तै एकाग्र भएर सम्पन्न गरिरहेको अवस्था हो । वैज्ञानिक, आविश्कारक, सल्यक्रिया गर्ने चिकित्सक, साहित्यकार, चित्रकार तथा डिजाइनरहरु गामा वेभको अवस्थामा रहेर आफ्नो काम सम्पन्न गर्ने गर्दछन् ।

माता गायत्रीको महामन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा आधूनिक चिकित्सा पद्धतिका अत्याधूनिक मेसिन तथा उपकरणहरुमा गरिएका प्रयोगात्मक जाँचका रिपोर्टहरुमा मनुष्यको मस्तिष्कको स्नायु प्रणालीहरुमा आएका बदलावहरुका आधारमा देख्न तथा अनुमान लगाउन सक्नेगरि मानसिक तथा वौद्धिक विकासमा उल्लेख्य बदलाव तथा प्रगति भएको पाइएको थियो । ॐ नमः शिवाय पंचाक्षरी महामन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा मनुष्यको शरीरको पंचतत्व सन्तुलित हुन मद्धत मिलेकोे र शारीरिक शरीरको विकास, तन्दुरुस्ती तथा स्वास्थ्यका लागि प्रभावकारी रहेको पाइएको थियो । महामृत्युन्जय महामन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा; हरे राम हरे कृष्ण महामन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा; ॐ नमोः बुद्धाय र ॐ मणि पद्यमे हुँ महामन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा तथा अन्य दिव्य तथा शक्तिशाली मन्त्र तथा निराकार परमात्माका आकार स्वरुप भगवान तथा देवी–देवताहरुका नाम तथा मन्त्रको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा मनुष्यको शरीरका वाहरी तथा आन्तरिक अंगहरुका क्रिया तथा प्रणालीहरुमा तथा शारीरिक स्वास्थ्यमा प्रत्यक्ष रुपमा देख्न र महसुस गर्न सकिने सकारात्मक बदलावहरु आएका पाइएको थियो । विभिन्न भगवान तथा देवी–देवताहरुको नाम तथा मन्त्र जप, उच्चाहरण, स्मरण तथा श्रवणको गहिरो प्रभाव तथा उल्लेख्य परिणाम, प्रगति, विकास तथा जागरण मनुष्यको शारीरिक अवस्थामा भन्दा धेरै गुणा बढि उसको मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थामा आएका पाइएको थियो । समय–समयमा विश्वका विभिन्न सरोकारवाला संघ, संस्थाहरुले मनुष्यको स्वास्थ्य, शिक्षा, पेशा, व्यवसाय तथा दैनिक जीवनयापनका अवस्थाहरुमा सनातन अध्यात्म दर्शनका विभिन्न भगवान तथा देवी–देवताहरुका नाम तथा मन्त्र जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्दा आएका सकारात्मक बदलाव तथा हासिल हुने सकारात्मक लाभहरुका सन्दर्भमा गरिएका वैज्ञानिकतामा आधारित प्रयोगात्मक खोज, अध्ययन तथा अनुसन्धानका केही प्रत्यक्ष नतिजाहरु यसप्रकार रहेका छन्–

अस्पतालमा बिमारीहरुमा गरिएको प्रयोग

भारतको राजधानी नयाँ देल्हीस्थित दैनिक हजारौंलाई स्वास्थ्य उपचार प्रदान गर्ने ठूलो अस्पतालमा गरिएको एउटा वैज्ञानिक प्रयोगात्मक अभ्यासमा ५१–५१ जना बिरामी व्यक्तिहरुलाई दुई समुहमा विभाजन गरेर एउटा समुहमा आधूनिक चिकित्साको उपचार विधि मात्र चलाइएको थियो र अर्को समुहमा आधूनिक चिकित्साको उपचार विधिका साथसाथ महामृत्युन्जय मन्त्रोच्चाहरण सुनाइएको थियो हरेक दिन १५ देखि २० मिनेट २१ दिनसम्म । २१ दिनपछि दुई समुहको स्वास्थ अवस्थाको परिणाममा निकै फरक पाइएको थियो । महामृत्युन्जय मन्त्रोच्चाहरण सुनाइएका बिरामीहरुको स्वास्थ्यमा मन्त्र शक्तिको सकारात्मक प्रभावका कारण उनीहरुको रक्तसंचारको गति; मुटुको धड्कनको गति; श्वासप्र-श्वासको गति; पाचन क्रिया तथा पाचन प्रणाली; मस्तिष्कका स्नायु प्रणालीहरुमा सकारात्मक बदलाव तथा स्थिरता; म स्वस्थ हुनुपर्छ; म स्वस्थ भैरहेको छु भन्ने सकारात्मक भावमा उल्लेख्य प्रगति भएको पाइएको थियो आधूनिक चिकित्सा विधि मात्र प्रदान गरिएको बिरामीहरुको समुहको तुलनामा । लामो समयदेखि कोमामा रहेका बिरामीहरुमाथि पनि यस्तै प्रयोगात्मक खोज गरिएको थियो र यसको नतिजा पनि निकै सकारात्मक आएको पाइएको थियो । 

व्यस्त सवारी चालकहरुमा गरिएको प्रयोग

भारतको आर्थिक राजधानी मुम्बइ शहरको अति व्यस्त सडकमा दिनभरि सार्वजनिक भाडाका सवारी गुडाउने सवारी चालकहरु अत्यन्तै चिडचिडा र तनाव ग्रस्त हुदै गएका र वरिपरिको सामाजिक माहोल नै अस्तव्यस्त हुदै गएको कारण ५० जना सवारी चालकहरुलाई लगातार एक महिना, हरेकदिन विहान २० मिनेट ॐकार मन्त्रोच्चाहरणको प्रयोगात्मक अभ्यास गराइएको थियो । यो प्रयोगात्मक अभ्यासको नतिजा सवारी चालकहरुको व्यक्तिगत र सार्वजनिक जीवनमा निकै सकारात्मक आएको पाइएको  थियो । नियमित रुपमा ॐकार मन्त्रोच्चाहरण गरिने ध्यान साधनामा सहभागि भएका सवारी चालकहरु स्वयंले दिएका प्रतिक्रियाहरुका अनुसार– (१)ट्राफिक बत्ती बलेको समयमा पहिलाको जस्तो अर्कोले उछिन्यो भन्ने बेचैनी हुदैन, शान्तपन को महसुस हुन्छ; (२)तनाव घट्यो शरीर, मन, भावमा आराम बढ्यो र स्वास्थ्यमा सुधार आयो; (३)बोलि र व्यवहार नरम भयो; (४)झगडा घट्यो, प्रेम, सदभाव र सम्वन्ध बढ्यो; (५)असावधानी तथा बेहोसीवस सडकमा हुने सवारी गल्तीहरु घटे; (६)सानातिना अप्ठ्यारा विषयहरु हाँसेर टार्ने क्षमता बढ्यो; (७)आम्दानी बढ्यो र व्यकारको खर्च घट्यो; (८)कामप्रति सम्मान र एकाग्रता बढ्यो; (९)घरपरिवार र छिमेकमा सुमधूरता छायो; (१०)व्यायाम, योगासन, प्राणायाम र ध्यानप्रति झुकाउ बढ्यो आदि । तर ॐकार मन्त्रोच्चाहरण साधनामा सहभागि नभएका सवारी चालकहरुमा यी समस्याहरु जस्ताको तस्तै तथा अझ बढेको अवस्थामा पाइएको थियो । भगवान तथा देवी-देवताहरुको नाम तथा मन्त्र जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्ने तथा गराइने ध्यान साधनाको प्रयोग तथा खोजका नतिजाहरुमा अर्को नयाँ तथ्य समेत फेलापरेको थियो कि जो मनुष्य अत्यन्तै बढि तनावमा रहेको हुन्थ्यो, छिट्टै क्रोधित हुन्थ्यो र अरुको भावनामा ठेस पुग्ने गरि असामान्य ठाडो प्रतिक्रिया दिन्थ्यो तथा अभद्र व्यवहार गर्दथ्यो उसमा नाम जप तथा मन्त्र जप, उच्चाहरण, स्मरण तथा श्रवणको सकारात्मक प्रभाव झन चाँढै र स्पष्ट रुपमा परेको पाइएको थियो अरु सामान्य मनोदशा तथा भावदशा भएका सवारी चालकहरुको तुलनामा ।

नयाँ देल्ही शहरको योग–ध्यान सिकाइने योगशालाका नियमित ॐकार अनाहद नादको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्ने केही ध्यान साधकहरुको मस्तिष्कको एफ.एम.आर.आइ.को रिपोर्टमा उनीहरुको मस्तिष्कका दुई ठूला केन्द्र तथा नेटवर्क– (१)डिफल्ट मोड नेटवर्क, र (२)एटेन्सन नेटवर्क दुवै एकसाथ सक्रिय भएको पाइएको थियो अर्थात मस्तिष्क एक ठाउँमा एकाग्र पनि भैरहेको र त्यसप्रति सतर्क तथा साक्षी पनि भैरहेको अवस्था देखिएको थियो जसलाई आराम(रिल्याक्स) र जागरण(अवेरनेस)को अवस्था भनिन्छ । यस्तो प्रकारको पूर्णतः शान्ति तथा आराम र पूर्णतः होस तथा जागरणको अदभूत अवस्था सामान्यतया योगी, सन्त तथा भिक्षुहरुले र मार्सल आर्टसका खेलाडीहरुले मात्र अनुभव तथा अनुभूति गर्न सकेको यसअघिका वैज्ञानिक प्रयोगात्मक खोजका प्रतिवेदनहरुमा देखिएका थिए तर जो कोही सामान्य व्यक्तिहरुले पनि नियमित ॐकार मन्त्र जप तथा उच्चाहरणको साधना गरेर यसप्रकारको एकैसाथ आराम र जागरणको अदभूत अवस्थाको अनुभव तथा अनुभूति हासिल गर्नसक्ने नयाँ तथ्यांक वाहिर आएको थियो । सामान्यतया आराम महसुस भएको अवस्थामा व्यक्ति निदाउछ तथा अचेत हुन्छ अथवा निदाएको तथा अचेत भएको अवस्थामा मात्र उसलाई यस किसिमको आराम मिलेको महसुस हुन्छ तर ॐकार मन्त्र जप तथा उच्चाहरणको शक्तिको सकारात्मक प्रभावका कारण साधकलाई यि दुई विपरित अवस्थाका अनुभव तथा अनुभूति एकैसाथ भएको थियो । यो सनातन दिव्य ॐकार मन्त्र जप तथा उच्चाहरणको साधनाको चमत्कार नै हो र आधूनिक विज्ञानकालागि रहस्य तथा चुनौतिको विषय पनि हो । 

भारतकै उत्तराखण्ड राज्यमा स्कोन तथा श्रीकृष्ण भजन मण्डलीहरुको समुहमा गरिएको अर्को वैज्ञानिक प्रयोगात्मक खोजमा हरे कृष्ण हरे राम महामन्त्रको नाम जप गराइएको थियो । आधूनिक चिकित्सा विज्ञानको अत्याधूनिक एफ.एम.आर.आइ. प्रविधिको रिपोर्टमा नाम जप गर्ने साधकहरुको मस्तिष्कमा नाम जपको प्रभावले मस्तिष्कको आराम तथा शान्ति र होस तथा जागरुकता सम्वन्धि महसुस हुने भागमा अल्फा वेभको घनत्व बढ्दै गएर थिटा वेभको नजिक पुग्न लागेको देखिएको थियो । अल्फा वेभ त्यस्तो तरंग हो, मस्तिष्कमा यसको प्रवाह बढेको समयमा मनुष्यलाई अत्यन्तै आराम, खुशी, मग्न, पुलकित, शान्त भएको महसुस हुन्छ र उ पूर्णतः होस तथा जागरुकताकै अवस्थामा रहेको हुन्छ अर्थात आलस्य, तन्द्रा तथा निद्रामा जादैन, आफ्नो मोज, खुशी, मग्नता तथा प्रफुल्लतामा रमिरहन्छ । यो अवस्थामा मनुष्यको मस्तिष्क, शरीर, मन, भावले स्थिरता, आराम, एकाग्रता, शान्ति, आनन्दको अनुभूति गर्दछ र उसमा चेतनशील, होसपूर्ण तथा जागरुकताको अवस्था पनि रहिरहन्छ । सामान्य अवस्थामा मनुष्यको शरीर, मन, भावले स्थिरता, आराम, शान्ति महसुस गर्यो भने उसलाइ उँग लाग्छ तथा निद्रा आउछ, चेतनशील, होसपूर्ण तथा जागरुकताको अवस्थामा रहदैन तर अल्फा वेभको स्टेट तथा मग्नताको अवस्थामा उ पुर्णतः जाग्रीत अवस्थामा रहन्छ र थिटा वेभको अवस्थामा पुग्यो भने उसको एकाग्रता तथा मग्नता अझै गहिरिदै जान्छ। सामान्यतया उच्च विटा–मध्यम विटा–सामान्य विटा वेभको अवस्थामा मनुष्यको शरीर, मन, भाव चेतनशील, होसपूर्ण तथा जागरुक रहेको अवस्थामा अधिकांश मनुष्यहरुले चन्चलता, अस्थिरता, बेचैनी, अशान्तिको महसुस गर्दछन् र यसको ठिक विपरित अल्फा र थिटा वेभको अवस्थामा स्थिरता, आराम, शान्तपन महसुस गर्दछन् । 

प्राय योगभूमि नेपाल र भारतका योग–ध्यान सिकाउने योगपीठ तथा गुरुकुलहरुमा समय–समयमा गरिएका प्रयोगात्मक अभ्यासहरुमा भिन्न–भिन्न भगवान तथा देवी–देवताहरुका नाम तथा मन्त्रहरुको जप तथा उच्चाहरण अलग–अलग स्थानमा राखेर गराइने र त्यसको नतिजा परिक्षण गर्दै आइराखिएको पाइन्छ । भिन्न–भिन्न भगवान तथा देवी–देवताहरुका नाम तथा मन्त्रहरु अलग–अलग भएपनि ती सबैको जप, उच्चाहरण, स्मरण तथा श्रवण गर्ने प्रयोगात्मक अभ्यासका नतिजाहरु उस्तै–उस्तै प्रकारका आएका पाइएको थियो । जव एकाग्र भएर ध्यानपूर्वक शव्द, नाम, मन्त्र जप, उच्चाहरण, स्मरण तथा श्रवण  गरिन्छ तव साधकको मनमा विस्तारै अनावश्यक विचार तथा भावनात्मक संवेगहरु आउन आफैं क्रमशः बन्द हुदै जान्छन् र अनावश्यक विषय तथा घटनाहरुमा मन तथा भाव भड्कीन छोड्छ । यति भएपनि सामान्य अवस्थामा मन, मस्तिष्क तथा भावमा साक्षी भाव तथा होस र स्पष्टताको कमी रहन्छ । नाम तथा मन्त्र जपलाई अझै निष्ठापूर्वक गहिर्याउदै लानेक्रममा एउटा गहन विन्दु तथा निश्चित गहिराइमा पुगेपछि मनुष्यको जीवनमा सबै विषयहरुप्रति सन्तोष तथा स्वीकार भाव र होसपूर्ण त्याग अर्थात वैराग्यता घटित हुदै आउछ । वैराग्यताले साधकमा अध्यात्मको प्यास तथा परमात्मा साक्षातकारको मुमुक्षा अझ गहन गराउदै लान्छ । नाम तथा मन्त्र जप तथा उच्चाहरणहरु अग्निको तेज राप सरह हुन्, सागरको तेज धारा सरह हुन्, वायुको तेज वेग सरह हुन् जसले साधनाको निरन्तरतासंगै साधकको शरीर, मस्तिष्क, मन तथा भावमा भएका सबै प्रकारका विषाक्तता तथा  विजातिय तत्वहरु, नकारात्मकताहरु तथा अवचेतन तथा अचेतन अर्थात सनातन अध्यात्म दर्शनको भाषामा पूर्णचेतन मनमा जरा गाडेर रहेका तमाम नयाँ, पुराना तथा जन्म–जन्मदेखिका सबै नराम्रा बानी तथा आदत, खराव स्मृति तथा पिडाका परतहरु एकएक गर्दै जल्दै, पग्लिदै तथा उड्दै जान्छन् र यसपश्चात साधकको जीवनमा अत्यन्तै ठूलो सकारात्मक तथा चमत्कारीक बदलाव तथा रुपान्तरण घटित हुन्छ, उसको आध्यात्मिक मार्ग प्रगतिउन्मुख हुन्छ र उ मोक्षको अधिकारी बन्दछ । 

अमेरीकाको क्यालिफोर्निया राज्यको एक प्राविधिक विश्वविद्यालयमा कक्षा कोठामा विद्यार्थीहरुलाई १० मिनेट नाम जप गराइएको थियो । यो नाम जपको सकारात्मक प्रभाव स्वरुप निरन्तर ४८ घण्टासम्म विद्यार्थीहरुको रगतमा तनावको रसायन अर्थात स्ट्रेस हर्मोन्स कोर्टीसोल र एडर्नलिनको मात्रा न्यून पाइएको थियो । त्यस्तै, चीनको हंगकंग राज्यको एक विश्वविद्यालयमा खोज तथा अनुसन्धान विषय अध्ययन गर्ने विद्यार्थीहरुमा हरेकदिन पहिलो कक्षा शुरु हुनु पूर्व ५ मिनेट अमिताभा बुद्धको नाम जप गराइएको थियो । विद्यार्थीहरुले पहिलाको तुलनामा नाम जप प्रारम्भ गरेको केही हप्ता पश्चात आफूमा एकाग्रता र स्मरणशक्तिको क्षमता बढेको अनुभव सुनाएका थिए र यसपछि यो साधना प्रक्रिया उनीहरु आफैं उत्प्रेरित भएर स्वस्फुर्त दैनिक रुपमा गर्न थालेका थिए । यी विद्यार्थीहरुको मस्तिष्कको इ.इ.जी. को रिपोर्टमा मस्तिष्कको आफ्नो बारेमा सोच्ने ‘म’ भन्ने अहंकार व्यक्त गर्ने हिस्सा शान्त भएको र उक्त हिस्साका स्नायु प्रणालीहरुमा फायरिंग तथा विचारको वहाव पनि कम भएको पाइएको थियो साथै खोज तथा अनुसन्धानका विद्यार्थीहरुले पनि म, मेरो, मैले, मलाई भन्ने अहंकार तथा अहमको भाव पहिलाको तुलनामा पग्लिएको तथा कम भएको र आफूमा अरुप्रति नरमपन र सहयोगी भाव आएको सुनाएका थिए । विश्वभरिका विद्यालय तथा विश्वविद्यालयका विधार्थीहरुमा नाम जप साधनाको प्रयोगात्मक अभ्यास गराइएका धेरै अनुसन्धानात्मक अध्ययनहरु रहेका छन् ।


सनातन अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञानका मानवका गतिविधिहरु बारे खोजमूलक अध्ययन तथा अनुसन्धान गर्ने सबै शास्त्र तथा विज्ञानहरु मान्दछन् कि ध्वनिका तरंगहरुले मनुष्यको मस्तिष्क र मुटुको आवृत्ति तथा फ्रिक्वेन्सीलाई परिवर्तन गर्न सक्दछन् । यसप्रकारको परिवर्तनमा सकारात्मक ध्वनिले सकारात्मक तवरले र नकारात्मक ध्वनिले नकारात्मक तवरले मुटुको आवृत्ति तथा फ्रिक्वेन्सी र मस्तिष्कका वेभ रिदमहरुलाई प्रभाव पार्दछन् । मनुष्यले आफ्ना नियमित क्रियाकलापहरु गर्ने क्रममा उसका ज्ञान तथा कर्म इन्द्रियहरुबाट प्राप्त भएका सूचना तथा जानकारीहरु मस्तिष्कमा प्रशोधित तथा प्रोसेस हुनेक्रममा मस्तिष्कबाट अदृश्य रुपमा विद्युतिय तरंग, करेन्ट अर्थात वेभहरु निस्कन्छन् । मस्तिष्कमा यी तरंग अर्थात वेभहरु ढिलो तथा छिटो कुन गतिमा चलेका छन् भन्ने अवस्थाको मापन हर्ज(एच.जेड.)मा गर्ने गरिन्छ मस्तिष्कबाट अदृश्य रुपमा निस्केका विद्युतिय तरंगहरुको गतिमा सबैभन्दा छिटो गतिमा चल्ने गामा वेभ हो जुन ३० हर्जदेखि माथि रहन्छ गामा वेभ भन्दा ढिलो गतिमा चल्ने विटा वेभ हो जुन १३ देखि ३० हर्जको विचमा रहन्छ विटा वेभ चन्दा ढिलो गतिमा चल्ने अल्फा वेभ हो जुन देखि १२.९९ हर्जको विचमा रहन्छ अल्फा वेभ भन्दा ढिलो गतिमा चल्ने थिटा वेभ हो जुन देखि .९९ हर्जको विचमा रहन्छ थिटा वेभ भन्दा ढिलो गतिमा चल्ने डेल्टा वेभ हो जुन देखि .९९ हर्जको विचमा रहन्छ   डेल्टा: १ देखि ३.९९ हर्ज । थिटा: ४ देखि ७.९९ हर्ज । अल्फा: ८ देखि १२.९९ हर्ज । विटा: १३ देखि ३० हर्ज । गामा: ३० हर्जदेखि माथि रहन्छ । जव निष्ठापूर्वक एकाग्र भएर नाम तथा मन्त्र जप गरिन्छ तव यी शक्तिशाली नाम तथा मन्त्रहरुबाट प्रष्फुटन हुने कम्पन तथा भाइब्रेसनका तरंग अर्थात वेभहरुले मनुष्यको मस्तिष्कको वेभका गतिहरुमा बदलाव ल्याउदछन् र क्रमशः गतिमा न्यूनता आउने क्रममा विटा वेभबाट अल्फा वेभ हुदै थिटा वेभमा पुग्दछन् र जप साधनाको अझ गहन अवस्थामा डेल्टा तथा गामा वेभ सम्म पनि पुग्दछ जसले मनुष्यको मन तथा भावमा स्थिरता, एकाग्रता, आन्तरिक खुशी, शान्ति, आनन्द प्रदान गर्दछन् र शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य उपचार तथा सचेतनाका केन्द्रहरुलाई सक्रिय हुन मद्धत गर्दछन् । यी वेभका तरंगहरुले मनुष्यको शरीर, मन, भाव, चेतनालाई स्वस्थ, शुद्ध, सक्रिय, जाग्रीत, सन्तुलित तथा व्यवस्थित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यो अवस्थामा मनुष्यलाई आफूभित्र आन्तरिक खुशी, सुख, शान्ति, आनन्दको प्रवाह बढ्दै गएको र सांसारिक जीवनका सबै दुःख, पिडा, समस्याहरुबाट निवृत्त भएर पारमार्थिक तथा आध्यात्मिक जीवनमा प्रवेश गर्दै गएको अलौकिक अनुभव तथा अनुभूतिहरु घटित हुन थाल्छन् ।

नाम तथा मन्त्र जपका प्रयोगात्मक अभ्यासका परिणामहरु 

सबै प्राणीहरु तथा मनुष्य ‘जीव’ र ‘आत्मा’को अनुपम प्राकृतिक संयोग ‘जीवात्मा’ हो । मनुष्यको ‘जीव’ अर्थात भौतिक शरीर र ‘आत्मा’ अर्थात सुक्ष्म शरीरलाई ‘श्वास’ले जोडेको हुन्छ तसर्थ मनुष्यको जीवनको सबैभन्दा महत्वपूर्ण अंग उसको श्वास हो । सामान्य बोलिचालिको भाषामा श्वासलाई प्राण पनि भन्ने गरिन्छ तर सनातन अध्यात्म दर्शनका प्रमुख विषयहरु मध्य एक योग विज्ञानका अनुसार श्वास ब्राम्हाण्डिय अदृश्य महाशक्ति प्राण उर्जालाई मनुष्यको शरीरका सबै आयामहरु– शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तहसम्म पुर्याउने एउटा सशक्त माध्यम हो तसर्थ श्वास र प्राण अलग–अलग विषय हुन् तर एकअर्काका परिपुरक हुन् किनकी श्वास बिना प्राण उर्जा तथा जीवन उर्जाले केही काम गर्न सक्दैन र प्राण बिना श्वासको कुनै अर्थ तथा काम छैन । मनुष्यको शरीरमा अव्यक्त प्राण उर्जा व्यक्त श्वासमा चल्न बन्द भएको क्षण मुत्युको अवस्था हो र प्राण उर्जा श्वासमा चलिरहेको क्षण जीवित अवस्था हो तर सामान्य बोलिचालिको भाषामा मृत्यवरणलाई श्वास गयो भन्ने गरिन्छ साथसाथै प्राण छुट्यो पनि भन्ने गरिन्छ यसैकारण श्वासलाई नै प्राणको रुपमा बुझ्ने तथा अर्थ लगाउने गर्दै आइएको हो । हरेक जीवित प्राणी तथा वनस्पतिहरुमा तीनवटा विशेषताहरु समान हुन्छन्– (१)हरहालमा बाँच्ने चाहना तथा जिजिविसा, (२)जीवनका दुःखहरुबाट मुक्ति, र (३)जीवनमा सुखको प्राप्ति । सबैको जीउने पहिलो माध्यम श्वास हो, दुःखबाट मुक्ति दिलाउने पहिलो माध्यम पनि श्वास हो, र सुखको प्राप्ति गराउने पहिलो माध्यम पनि श्वास नै हो । प्राचीन महा वैज्ञानिक हाम्रा पुर्खा ऋषिमुनिहरुले हामीलाई श्वास नै जीवन हो तथा प्राण नै जीवन हो, जीवनका दुःखहरुबाट मुक्त गराउने र सुखको प्राप्ति गराउने श्वासनै हो तसर्थ आफ्नो सर्वमान्य पुंजी हो, श्वासलाई बुझ तथा चिन, श्वासको महत्वलाई जान, श्वासको लय मिलाएर सहज, सरल र सफल जीवनयापन गर भनेर श्वासको लय मिलाउने ज्ञान ‘श्वर विज्ञान’ योगीक साधना पद्धति प्रतिपादा गरेर श्वास तथा प्राणको आयाम तथा लय मिलाउने विधि प्राणायामका प्रयोगात्मक अभ्यासहरु सिकाइदिए र साथसाथ आगामी पुस्ताको जीवन सहज बनोस भनेर व्यवस्थित ढंगले यो महाज्ञानलाई लिपिवद्ध पनि गरिदिए एउटा अलग्ग महान विद्या योग विज्ञान तथा योग दर्शनका रुपमा । सनातन योग दर्शनका अनुसार मनुष्यको सांसारिक जीवन सहज तथा सरल बनाउन अत्यावश्यक शरीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक आरोग्यताका लागि श्वास नै अन्तरयामी चिकित्सक तथा उपचारक हो; श्वास नै शरीर र मनकालागि अत्यावश्यक सबैप्रकारका ओखतिहरु उत्पादन गर्ने प्रमुख कारखाना हो; श्वासनै वाहिरी र आन्तरिक सबैप्रकारले जीवन सन्तुलन तथा व्यवस्थापन गर्ने सबैभन्दा अनुभवी व्यवस्थापक हो; र मनुष्यको पारमार्थिक तथा आध्यात्मिक जीवन मोक्ष उन्मुख बनाउन मार्गनिर्देश गर्ने महागुरु पनि श्वास नै हो । मनुष्य जीवनको यति महत्वपूर्ण र आफ्नो सबैभन्दा नजिकको शुभचिन्तक, चिकित्सक, व्यवस्थापक तथा महागुरुलाई लयमा राख्नु सबै मनुष्यको पहिलो धर्म हो र अरुको श्वासलाई पनि लयमा राख्न मद्धत गर्नु पहिलो मानवीय कर्तव्य हो ताकि सबैजना एकसाथ अत्यन्तै सौहार्दपूर्ण, स्वस्थ, व्यवस्थित र सबैमा आफूलाई देख्ने र आफूमा सबैलाई देख्ने समभाव तथा वसुधैव कुटुम्बकमको भावले ओतप्रोत आध्यात्मिक जीवन बिताउन सकौं । 

सनातन अध्यात्म विज्ञानमा श्वासलाई लयमा राख्ने प्रमुख पाँच प्रकारका योग साधना विधि तथा पद्धतिहरु उल्लेख गरिएका छन्– (१)योगीक साधना (योगासन, प्राणायाम, मुद्रा, क्रिया, बन्द); (२)ध्यान साधना (साक्षी भाव ध्यान, विषय केन्द्रित ध्यान); (३)मौन साधना (प्रयास मौन, निश्प्रयास मौन); (४)नाम तथा मन्त्र जप साधना(नाम जप, मन्त्र उच्चाहरण, स्मरण, श्रवण), र (५)सकारात्मक भाव(आत्म सन्देश, कृतज्ञता, प्रेमभाव, सेवाभाव) । यी सबै साधनाका विधि तथा पद्धतिहरुमा केही फरक र केही साझा विषयहरु रहेका छन् र यी सबैको उद्देश्य एकै हो मनुष्यको जीवनका सबै आयामहरुलाई व्यवस्थित र विकसित गर्न महत्वपूर्ण योगदान पुर्याउनु । हामी नाम तथा मन्त्र जप साधनाको पाठमा रहेकोले यसैको विषयमा चर्चा गरिनेछ ।   

Brain Waves


छिट्टै, 
@श्वास–प्रश्वासमा प्रभाव र परिणाम
@स्नायु प्रणालीमा प्रभाव र परिणाम
@भेगस नर्भमा प्रभाव र परिणाम
@शरीरका ग्रन्थी तथा रसायनमा प्रभाव र परिणाम
@आध्यात्मिक जीवनमा प्रभाव र परिणाम
    




No comments:

Post a Comment