'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 6 November 2025

आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति, खण्ड -६

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन




(५) मौन साधनाका चरण, प्रक्रिया तथा विधिहरु

मनुष्यले जीवनमा गर्ने हरेक गतिविधिहरुका निश्चित चरण, प्रक्रिया तथा विधिहरु हुन्छन् । आवश्यकता र अवस्था अनुसार मौन साधनालाई सामान्यदेखि गहन रुपमा परिभाषित र अभ्यास गरिदै आइएको छ र  यसका पनि निश्चित चरण, प्रक्रिया तथा विधिहरु रहेका छन् । कम बोल्नु, नबोल्नु तथा चुपचाप रहनु मौनको सामान्य परिभाषा हो र मौनको अभ्यासको माध्यमबाट पराभौतिक संसारका सिद्धिहरु हासिल गर्नु र आफ्नो आत्मालाई परमात्मामा एकाकार गर्नुसम्मको यात्रा मौनको गहन परिभाषा हो । मौन आफूले चाहना गर्दैमा एकैपटक घटित हुने अवस्था विलकुल होइन यसका विविध चरण, प्रक्रिया तथा विधिहरुलाई निष्ठापूर्वक अनुशरण गर्दै नियमित प्रयोगात्मक अभ्यास गर्नु आवश्यक हुन्छ । मोटामोटी रुपमा मौन साधनालाई दुई चरणमा विभाजन गरेर यस अन्तर्गत विभिन्न प्रक्रिया तथा विधिहरुलाई पारगर्दै मौन साधनाको सामान्यदेखि गहन अवस्थासम्म पुग्न सकिन्छ, मौनका दुई चरणहरु– (क)मौन साधनाको सामान्य अभ्यास– वाहिरी मौन तथा प्रयास मौन, र (ख)मौन साधनाको गहन अभ्यास– आन्तरिक मौन तथा निस्प्रयास मौन । 


(क) मौन साधनाको सामान्य अभ्यास– वाहिरी मौन तथा प्रयास मौन

सामान्य रुपमा कम बोल्नु, नबोल्नु तथा चुपचाप रहनु अर्थात वाणी र शव्दहरुको स्थिरतालाई मौनको रुपमा परिभाषित गर्दै आइएको भएपनि आधूनिक मनोविज्ञानले समय–समयमा गरेका अनुसन्धानात्मक वैज्ञानिक अध्ययनका प्रामाणिक तथ्यांकहरुका अनुसार मनुष्यका शव्द, वाणी, जवाफ, प्रतिक्रियाले भन्दा धेरै गुणा बढि (८०%) उसको शरीर तथा इन्द्रियका हाउभाउहरुले उभित्रका सकारात्मक तथा नकारात्मक प्रतिक्रियात्मक भावहरु प्रस्तुत गरिरहेका हुन्छन् । यसर्थ मौन रहनुको अर्थ शव्द तथा वाणी कम तथा बन्द गर्नु मात्र होइन शरीर तथा इन्द्रियका हाउभाउहरुलाई समेत स्थिर गर्न प्रयास गर्नु वाहिरी तथा प्रयास मौन हो । प्रारम्भिक चरणमा कम बोल्नु; शरीर तथा इन्द्रियका हाउभाउहरु कम प्रकट गर्नु तथा नगर्नु; कम प्रतिक्रियात्मक हुनु; अरुका कुरा बढि सुन्नु; सामनेवालाको पूरा कुरा सुनेर मात्र आफ्नो प्रतिक्रिया तथा जवाफ दिनु; आफूलाई सकेसम्म एकान्तमा राख्नु; आवधिक मौन व्रत बस्नु आदि जस्ता अत्यन्तै सामान्य प्रयासहरुबाट विस्तारै मौनको अभ्यास शुरु हुन्छ ।

एकान्त अवस्था तथा एक्लोपनको सदुपयोग

पहिलो तथा प्रारम्भिक चरणमा कम बोल्ने; शरीर तथा इन्द्रियका हाउभाउहरु कम प्रकट गर्ने तथा नगर्ने; कम प्रतिक्रियात्मक हुने; बढि सुन्ने; सामनेवालाको पूरा कुरा सुनेर मात्र आफ्नो प्रतिक्रिया तथा जवाफ दिने प्रयासहरुले आफूलाई एकान्त अवस्थामा एक्लै रहन मद्धत गर्दछन् । मनुष्यले संसारका हरप्रकारका गतिविधिहरु बुझ्न उसले सर्वप्रथम हरहालमा आफैंलाई बुझ्नु अत्यावश्यक हुन्छ र एकान्त अवस्था तथा एक्लोपन आफूलाई बुझ्ने सबैभन्दा सजिलो र दरिलो अवस्था तथा माध्यम हो । एकान्त अवस्था तथा एक्लोपनमा मनुष्य आफूभित्र प्रवेश गर्दछ; आफ्ना सवल तथा दुर्वल पक्षहरुलाई नजिकबाट नियाल्ने अवसर पाउछ; आफूभित्र आफ्नो तथा अरुकोलागि सकारात्मक विचार तथा भावहरु भए त्यसलाई सक्दो बढाउने प्रयास गर्दछ र नकारात्मक विचार तथा भावहरु भए घटाउने तथा सुधार गर्ने प्रयास गर्दछ । आफ्ना सवल र दुर्वल पक्षहरु बुझेपछि अरुलाई पनि यही प्रकारले बुझ्ने र त्यसै अनुसारका सुल्झिएका व्यवहारहरु गर्न प्रारम्भ गर्दछ र आफू र आफू वरिपरिको माहोल सहज बनाउदछ । यसरी सुल्झिएको र सहज भएको व्यक्तिले आफू र आफूसंग सम्वन्धितहरुको जीवन व्यवस्थापनमा महत्वपूर्ण र प्रेरणादायी भूमिका निर्वाह गर्दछ । अनुभवी महान व्यक्तित्वहरुले भन्नु भएको छ, “आफू भन्दा वाहिर तथा संसारिक जगतको भिडमा मनुष्यले आफूलाई हराउछ, तर एकान्त अवस्थाको एक्लोपनमा मनुष्यले आफूलाई भेटाउछ किनकी एकान्त अवस्थाको एक्लोपन मौनमा प्रवेश गर्ने मूलद्वार हो जहाँबाट मनुष्य आफ्नो अन्तरआत्मा तथा अन्तरहृदयमा प्रवेश गर्दछ अर्थात आफूभित्रको अन्तरयात्रा प्रारम्भ गर्दछ र आफैं आफ्नो अध्ययन तथा विश्लेषण गर्न प्रारम्भ गर्दछ ।” आफूभित्रको अन्तरयात्रामा रहेको मनुष्यले आफू र अरुसंग सम्वन्धित हरेक राम्रा तथा नराम्रा, सहज तथा असहज विषयहरुमा आत्मनिरिक्षण तथा आत्मविश्लेषण गर्न प्रारम्भ गर्दछ– कतै म आफैं पो दोषी छु कि, अन्जानमा मबाटै केही गल्ती भैरहेको छ कि अरुमाथि दोष थोपरेर तथा गुनासो गरेर मैले अरुलाई अन्याय पो गरिरहेको छु कि, म आफैं पो सुध्रिनु पर्ने हो कि भन्ने जस्ता सकारात्मक आत्मजाग्रीत भावहरु उभित्र आउन प्रारम्भ हुन्छन् र उ आफ्ना हरप्रकारका व्यवहार, बोलि, शव्द, हाउभाउ, प्रतिक्रियाहरुप्रति सजग, सम्यमित तथा साक्षी हुन थाल्छ र आफ्ना सबैप्रकारका बोलि तथा व्यवहारहरु आफू र अरुप्रति मैत्रीपूर्ण बनाउन प्रारम्भ गर्दछ । यसरी आफुतिर फर्केर आत्मआलोचनात्मक किसिमले आत्मनिरिक्षण र आत्मविश्लेषण गर्न सक्ने व्यक्ति मात्र एकान्त अवस्थाको एक्लोपन हुदै मौनको अभ्यासमा सहजै प्रवेश गर्न सक्दछ ।

आफूलाई मौनको अभ्यासमा लाने प्रारम्भिक प्रयास

एकान्त अवस्थामा रहेर एक्लोपनको अभ्यासको माध्यमबाट आफू भित्रैदेखि मजबुत भएको र आफूले आफूलाई भरोसा गर्नसक्ने आत्मविश्वासले भरिएको आत्मनिर्भर व्यक्ति मात्र मौनको अभ्यासमा रहन तथा टिकिरहन सक्दछ । आफू भित्रैदेखि मजबुत हुन मद्धत गर्ने मौन साधनाका विविध चरण, प्रक्रिया तथा विधिहरु रहेका छन् जसको अनुशरणबाट सहजै एकान्त अवस्था तथा एक्लोपनमा विचरण गर्दै मौनको प्रारम्भि, माध्यमिक हुदै गहन अवस्था अर्थात स्वस्फुर्त घटित हुने निस्प्रयास मौनसम्म पुग्न सकिन्छ । कहिलेकाहीं परिस्थितिवस आफूले थाहा नपाइकन मनुष्य एक्लै हुन्छ तर यो वास्तविक एकान्त अवस्था तथा एक्लोपन होइन, भैपरिआएको अवस्था हो तसर्थ उसलाई यसका लाभहरु उति हुदैनन् किनकी परिस्थितिवस एक्लो भएको बेलामा उसले आफूलाई तुरुन्तै अरु होहल्लाका गतिविधिहरुमा सम्मिलित गर्दछ– मोवाइल, टि.भि., फोन, रेडियो, किताव, बातचित, झ्यालबाट देखिने दृश्यहरु आदिमा । परिस्थितिवस एक्लो तथा एकान्त भएको अवस्थाको सदुपयोग गर्नु सबैभन्दा सहज र पहिलो चरणको पहिलो प्रक्रिया हो मौनको अभ्यास प्रारम्भ गर्नकालागि । परिस्थितिवस एक्लो तथा एकान्त अवस्था भएको समयमा आफूलाई कुनै हल्लाखल्लाका गतिविधिहरुमा सामेल नगरिकन यत्तिकै चुपचाप शान्त भएर बस्ने प्रयासले मौनका चरण, प्रक्रिया तथा विधिहरुमा प्रवेश गर्न सहजता प्रदान गर्दछ । शान्त वातावरणमा शान्त भएर बसेसंगै केही अत्यन्तै सामान्य विधिहरु क्रमशः कम्मर–ढाड–गर्धन सिधा; श्वास-प्रश्वास सामान्य भन्दा अलि लामो; आँखा बन्द; रमाइला पल; मनोरम ब्रम्हाण्डिय तथा प्राकृतिक दृष्यिहरु; आफ्ना प्रेमल सम्वन्धहरु; आफ्ना गतिविधिहरुकोआत्मविश्लेषण गरेर; कुनै अवसर तथा मौकाको विषय आदिलाई विचारमा ल्याएर तिनका भावहरुसंगै आफू पूर्णरुपमा सामेल हुने तथा संगसंगै तरंगीत हुने प्रयासले मौन अभ्यासको दोस्रो चरणमा प्रवेश पाउन सफलता मिल्दछ । प्रयास मौनको अभ्यास मनुष्य आफू स्वयंले नै कोशिश गर्नुपर्दछ र विस्तारै अभ्यासको समय, प्रक्रिया र विधिहरु बढाउदै लानुपर्दछ । केही समय आफूलाई बिना मोवाइल, बिना टि.भी., बिना किताव, बिना रेडियो, बिना संगीत, बिना साथी-सम्वन्धी, बिना गफगाफ, बिना सामाजिक संजाल, बिना झ्यालबाट देखिने दृश्यहरु सिर्फ आफू मात्र एक्लै बसेर माथि उल्लेखित कम्मर–ढाड–गर्धन सिधा गर्ने आदि सामान्य विधिहरुको अनुशरण गर्दैगर्दै एकदम सहज ढंगले मौनको चरणवद्ध, प्रक्रियात्मक तथा विधिवत अभ्यास प्रारम्भ गर्न र यसलाई निरन्तरता दिन सकिन्छ । 


व्यवहारिक अनुभवहरुलाई हेर्दा यसरी मौनको अभ्यास प्रारम्भ गर्दा अन्तरमुखी प्रकृतिको मनुष्यलाई शुरुशुरुमा थोरै असहज जस्तो लागेपनि विस्तारै आन्तरिक रुपमा सुख, खुशी, शान्ति, आनन्द मिलेको अनुभव हुदै र विस्तारै यो अवस्था बढ्दै जान्छ तर यसको ठिक विपरित वहिरमुखी प्रकृतिको मनुष्यलाई मौन रहने अभ्यासको प्रारम्भमा अलि बढि बेचैनी, छटपटि हुन्छ; अनियन्त्रित अतिविचार तथा भावनात्मक संवेगहरुको कोलाहलले शरीर, मन, मस्तिष्क, भाव, चेतना अझ बोझिलो भएको तथा बिग्रिएको र आफू झन ठूलो समस्यामा फंसेको जस्तो अनुभव हुन्छ । साथै मौनको अभ्यासले आफूलाई सबैबाट कटाइरहेको, आफू रित्तो तथा खालि भएको, चिन्ता, तनावले घेरेको जस्तो आतेस लाग्ने र उकुशमुकुश भएको जस्तो महसुस हुन्छ तर यो अवस्था धेरै लामो समयसम्म रहदैन, विस्तारै अवस्था समान्य हुदै जान्छ र कतिपय वहिरमुखी मनुष्यहरुमा यति धेरै बदलाव आउछ कि उनीहरु अन्तरमुखी भन्दा अझ गहन अन्तरमुखी भएर व्यवहारमा देखापर्दछन् किनकी वास्तविकतामा मनुष्यलाई मौनको अभ्यासले सबैबाट कटाइरहेको हुदैन बरु उ आफैंसंग जोडिरहेको हुन्छ; मौनको अभ्यासले उसलाई संसारका अनावश्यक विषय, वस्तु, विचार, सम्वन्ध तथा कर्महरुबाट कटाएर आवश्यक विषय, वस्तु, विचार, सम्वन्ध तथा कर्महरुमा जोडिरहेको हुन्छ; खालि गरिरहेको हुदैन पूर्णताले भरिरहेको हुन्छ; र उसलाई आफ्नो वास्तविक स्वरुप आत्मासंग नजिक लगिरहेको तथा मिलाईरहेको हुन्छ । धैर्यतापूर्वक आफूलाई यस्ता भावहरुले भर्न सक्यो भने वहिरमुखी व्यक्ति पनि सहजै मौन अभ्यासका चरण, प्रक्रिया तथा विधिहरुमा प्रवेश गर्न र यसको उच्चतम लाभ लिन सक्ने अवस्थामा सजिलै पुग्नसक्छ ।

(ख) मौनको गहन अभ्यास– आन्तरिक मौन तथा निस्प्रयास मौन 

मौन अभ्यासको दोस्रो चरण गहिरिदै गएपछि अव व्यक्ति विस्तारै शव्द तथा वाणी, शरीर र इन्द्रियका हाउभाउहरु अर्थात वाहिरी मौनको अवस्थाबाट आन्तरिक मौनको अवस्थामा प्रवेश गर्दछ जहाँ उसका शव्द तथा वाणी, शरीर र इन्द्रियका हाउभाउहरु मात्र स्थिर तथा मौन नभएर मनमा निरन्तर चलिरहने अनियन्त्रित विचारहरु र भावमा निरन्तर तरंगित भैरहने भावनात्मक संवेगहरु पनि स्थिर तथा मौन हुन थाल्दछन् र उ वास्तविक मौन साधना अर्थात आन्तरिक तथा निस्प्रयास मौनको अलौकिक, रहस्यमयी, चमत्कारीक दिव्यतामा छलागं लगाउन सफल हुन्छ र यही अवस्थालाई सनातन अध्यात्म विज्ञानले ‘साधनादेखि सिद्धिसम्म’को अलौकिक आध्यत्मिक यात्राका रुपमा परिभाषित गरेको छ । तर वाहिरी तथा प्रयास मौनबाट वास्तविक आन्तरिक तथा निस्प्रयास मौन साधनासम्म पुग्न कति समय लाग्छ भन्ने सन्दर्भमा मनुष्यको तत्कालीन अवस्था र परिस्थितिका साथसाथ सबैभन्दा बढि र महत्वपूर्ण प्रभाव तथा भूमिका उसका पूर्वजन्मका संस्कारहरु, वर्तमान अवस्थामा उसको स्वभाव, प्रकृति, प्रवृत्ति, जीवनशैली अर्थात आहार–विहार–व्यवहार-आचरण-कर्महरु र उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य, शुद्धता, सक्रियता, सन्तुलनता तथा समग्रमा भन्नुपर्दा उसको जीवनको सहि व्यवस्थापनको रहने गर्दछ । 


आन्तरिक तथा निस्प्रयास मौनकालागि योगीक साधनाको अपरिहार्यता

मौन साधना सहज, सरल, सफल र उपलव्धिमूलक बनाउनका लागि साधकको स्वभाव, प्रकृति, प्रवृत्ति, जीवनशैली, आहार–विहार–व्यवहार, उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य, शुद्धता, सक्रियता, सन्तुलनता र व्यवस्थापन सहि अवस्थामा हुनु तथा राख्नु पहिलो आवश्यकता हो अर्थात साधक पूर्णरुपमा स्वस्थ, आरोगी तथा निरोगी नभइकन उ निस्प्रयास मौनको अलौकिक आध्यात्मिक यात्रामा सहज ढंगले अगाडि बढ्न सक्दैन । मनुष्य तवमात्र पूर्णरुपमा स्वस्थ, आरोगी तथा निरोगी हुनसक्दछ जव उसका पलपलका सोच, विचार, भाव, वाणी, व्यवहार, आचरण, कर्महरु सबै सकारात्मक हुन्छन् । मनुष्यको जीवनमा यी सबै अवस्थाहरु हासिल गर्न सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानका योगीक साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित विविध चरण, प्रक्रिया, विधि तथा पद्धतिहरु अत्यन्तै प्रभावकारी तथा लाभकारी रहेका व्यवहारिक अनुभवहरु प्राचीकालदेखि नै गर्दै आइराखिएको छ । विशेष गरिकन योग दर्शन तथा योग विज्ञान अन्तर्गत रहेको महर्षि पतंजलिद्वारा संयोजित विश्वविख्यात महाग्रन्थ पतंजलि योगसुत्रमा उल्लेखित योग विज्ञान तथा योगीक साधनाका आठ वहिरंग र अन्तरंग अंग तथा सिढिहरु, (क)वहिरंग– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, र (ख)अन्तरंग– (६)धारणा, (७)ध्यान, र (८)समाधि को मौन साधनाको अलौकिक आध्यात्मिक यात्रामा विशेष महत्व र भूमिका रहेको छ जसले मनुष्यलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तहमा हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित र व्यवस्थित रहन विशेष प्रकारले मद्धत गर्दछ र मौन साधना सहज, सरल र सफल बनाउछ । 

पतंजलि योग दर्शनको वहिरंग पाटो– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, र (५)प्रत्याहारको प्रयोगात्मक अभ्यासले साधकको वाहिरी साधना तथा सांसारिक जीवनमा गुणस्तरिय, परिणाममुखी तथा उच्चतम विकास हासिल गर्न महत्वपूर्ण भूमिका खेल्दछ तथा योगदान पुर्याउदछ । त्यसैगरि अन्तरंग पाटो (६)धारणा, (७)ध्यान, र (८)समाधिको प्रयोगात्मक अभ्यासले साधकको आन्तरिक साधना तथा मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक साधना तथा पारमार्थिक जीवनमा गुणस्तरिय, परिणाममुखी तथा उच्चतम विकास हासिल गर्न महत्वपूर्ण भूमिका खेल्दछ तथा योगदान पुर्याउदछ । आन्तरिक तथा निस्प्रयास मौन साधनाको अलौकिक आध्यात्मिक मार्गमा योग दर्शनको वहिरंग पाटोको सैद्धान्तिक ज्ञानविज्ञानहरुको अनुशरणका साथसाथ व्यवहारिक ज्ञानविज्ञानहरुको प्रयोगात्मक अभ्यासबाट साधक हरप्रकारले पूर्णरुपमा स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित र व्यवस्थित रहनु पहिलो शर्त हो, यस पक्षमा कुनै तलमाथिको गुन्जायस छदैछैन । यसपश्चात मात्र योग दर्शनको अन्तरंग पाटोको सैद्धान्तिक ज्ञानविज्ञानहरुको अनुशरणका साथसाथ व्यवहारिक ज्ञानविज्ञानहरुको प्रयोगात्मक अभ्यासले सनातन अध्यात्म दर्शनका ग्रन्थहरुमा उल्लेख गरिएका पराभौतिक जगतका रहस्यमय, चमत्कारिक, दिव्य र अलौकिक इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभव तथा अनुभूतिहरु हासिल हुन सक्दछन्  जो निश्प्रयास मौन साधनामा मात्र घटित हने गर्दछन् । 

मौन साधनाका सामान्य चरण, प्रक्रिया र विधिहरु 

मनुष्य जीवनका मानवीय विकार, क्लेश, अपेक्षा, तृष्णा, विचार, भावना दुःख, पिडाहरु वाहिरी संसारका लिप्सा, मोजमस्तीका भोगवृत्तिहरुमा कमी ल्याएर तथा आवश्यकता अनुसार यसबाट अलग भएर योगवृत्तिमा प्रवेश गरेपछि मात्र हरेक व्यक्तिका लागि मौनको अभ्यास सहज हुनसक्छ । भोगवृत्तिबाट छटकारा र योगवृत्तिमा प्रवेशको दोहोरो सम्वन्ध रहेको हुन्छ, व्यक्तिले आफूले आफूलाई सांसारिक जगतबाट अलग राख्न केही हदसम्म सफल भएर आफूलाई मौनको सामान्य अभ्यासको चरणमा प्रवेश गराएपछि मौनले नै स्वस्फुर्त रुपमा उसलाई वाहिरी संसारका उसकालागि अनावश्यक, अनुचित तथा हानिकारक अवस्थाहरुबाट विस्तारै वाहिर निकालेर उसलाई सामान्य तथा सात्विक जीवनशैलीमा स्थापित गरिदिन्छ र उसको वाहिरी जीवनका साथसाथ आन्तरिक जीवन पनि विस्तारै सहज, सरल, सफल, सन्तुलित र व्यवस्थित हुदैजान्छ । वाहिरी र आन्तरिक जीवन सहज हुदै गएपछिको अवस्थामा व्यक्तिमा मौनका लागि आवश्यक पृष्ठभूमि तयार हुन्छ  उसको जीवनमा मौनको अभ्यास प्रारम्भ हुन्छ र उ स्वतः क्रमिक रुपमा मौनका चरण, प्रक्रिया तथा विधिहरुमा अगाडि बढ्दै जान्छ ।


सामान्यदेखि विशिष्ठ तहको मौन साधनाका चरण, प्रक्रिया, विधि, पद्धति तथा उपायहरु धेरै प्रकारका रहेकाछन् । पहिलो चरण, प्रक्रिया, विधि, पद्धति तथा उपाय आफूले गर्दै आएका शव्द, वाणी, शरीर र इन्द्रियका हाउभाउहरु, प्रतिक्रिया तथा जवाफ दिने क्रियाकलापमा न्यूनता र स्थिरता ल्याउनु हो । दोस्रो आफूलाई एकान्त अवस्था तथा एक्लोपनमा अभ्यस्त गराउनु हो । आफ्नो जीवनमा यी दुई चरण तथा अवस्था हासिल गर्न हरेक व्यक्तिले तत्कालीन परिस्थितिमा आफूलाई उपलव्ध भएका अवस्थाहरुको उच्चतम सदुपयोग गर्दै अगाडि बढ्नु पर्दछ । यसकालागि सनातन अध्यात्म दर्शनका अनुसार सबैलाई व्यवहारिक हुने सबैभन्दा सहज र अत्यन्तै प्रभावकारी उपाय ध्यान साधनाको अनुशरण गर्नु मानिन्छ । वर्तमान समयमा ध्यान साधनालाई विविध प्रकारका अर्थ, परिभाषा, सैद्धान्ति, व्यवहारिक, ज्ञानविज्ञान र प्रयोगात्मक अभ्यासका सन्दर्भहरु जोडेर अत्यन्तै क्लीष्ट र सबैभन्दा गाह्रो विषय तथा कामको रुपमा अर्थ्याउदै, बुझाउदै र बुझ्दै आइएको पाइन्छ तर वास्तविकता यो भन्दा निकै फरक छ । ध्यान साधना कठिन विषय तथा काम हुदै होइन, वास्तवमा भन्ने हो भने सबैभन्दा सजिलो काम नै ध्यान गर्नु हो  यो हरकोहीका लागि उत्तिकै सहज र व्यवहारिक छ । पहिलो चरणको ध्यान साधनामा अर्थात ध्यान साधनाको प्रारम्भिक अवस्थामा साक्षी भावमा तथा वर्तमानमा रहने प्रयास अर्थात अंग्रेजीमा माइन्डफूलनेसको अभ्यास गर्नुपर्दछ  ध्यान साधनाको साक्षी भाव विधि मनुष्यको वाहिय(समृद्धि) तथा आन्तरिक(शान्ति) विकासका लागि अत्यन्तै प्रभावकारी रहेको पाइएको छ । साक्षी भाव ध्यान काम गरिरहदाको समय तथा व्यस्त अवस्थामा पनि गर्न सकिन्छ, अझ भनौं व्यस्त अवस्थाको उच्चतम सदुपयोग गर्नकालागि नै यस विधिको विकास गरिएको हो । फुर्सद रहेको अवस्थामा भन्दा व्यस्त रहेको अवस्थामा साक्षी भावमा रहन झन सजिलो हुन्छ आफ्नो शरीरले तत्काल जे काम गरिरहेको छ त्यही काम तथा अवस्थामा आफ्नो मन तथा ध्यान केन्द्रित गरेर तथा टिकाएर । साक्षी भाव ध्यान विधि सबैकालागि सहज, व्यवहारिक र शारीरिक, मानसिक तथा भावनात्मक विकासका लागि अत्यन्तै प्रभावकारी भएकोले हरेक व्यक्तिले हरक्षण साक्षी भावको अभ्यास गर्नु अत्यावश्यक हुन्छ किनकी ध्यान साधनाका विविध परिभाषाहरु मध्य शरीर र मन एकै ठाउँमा रहनु ध्यान साधनाको सबैभन्दा सामान्य र व्यवहारिक परिभाषा हो । 

दोस्रो चरणको ध्यान साधनाको अभ्यास आफूलाई फुर्सद भएको अवस्थामा तथा केही समय आफ्नोलागि छुट्याएर विषय केन्द्रित भएर गर्न सकिन्छ अत्यन्तै सहज र सरल ढंगबाट । विषय केन्द्रित ध्यान साधना गर्नकालागि शान्त वातावरणमा शान्त भएर बसेर ध्यान साधनाका केही अत्यन्तै सामान्य विधिहरु क्रमशः कम्मर–ढाड–गर्धन सिधा पारेर; श्वास सामान्य भन्दा अलि लामो र गहिरो बनाएर; आँखा बन्द गरेर; सकारात्मक विषयहरु- रमाइला पलहरुको याद गरेर; मनोरम ब्रम्हाण्डिय तथा प्राकृतिक दृष्यहरुको काल्पनिक दृश्यावलोकन गरेर; आफ्ना प्रेमल सम्वन्धहरु स्मृतिमा ल्याएर; कुनै अवसर तथा मौकाको विषय आदिलाई विचारमा खेलाएर; शरीरका सामान्य अंगहरु– हात, गोडा, छाति, कुम, शिर, ज्ञान तथा कर्म इन्द्रियहरु र आन्तरिक तथा विशेष अंगहरु– नाभि, हृदय, कण्ठ, भ्रु–मध्य, भ्रमरन्द्र आदिमा मन तथा ध्यान केन्द्रित गरेर; आफ्नो सुक्ष्म शरीरमा रहेका प्रमुख सात चक्रहरुको रंग याद गरेर, विज मम्त्रोच्चाहरण गरेर; सनातन धर्म ग्रन्थहरुका प्रभावशाली संस्कृतका मन्त्रहरुको उच्चाहरण गरेर; आफ्नो इष्टदेव तथा आराध्य देवहरुको नाम जप गरेर र यी गतिविधिहरुका भावहरुसंगै आफू पूर्णरुपमा सामेल हुदै तथा संगसंगै तरंगीत हुदै जाने प्रयासले मौन अभ्यासको दोस्रो चरणमा प्रवेश पाउन सहजता र सफलता मिल्दछ ।

@@@@@@@@@@@@@@@@@@
अझ सामान्य चरण, प्रक्रिया र विधिहरु

आफू व्यस्त रहेको समयमा, तत्काल आफूले जे काम गरिरहेको छ त्यसैमा केन्द्रित हुनु वर्तमानमा रहनु सबैकालागि सबैभन्दा सहज, व्यवहारिक र प्रभावकारी उपाय हो र यसका अनन्त लाभ रहेका छन् मनुष्यको सांसारिक र पारमार्थिक जीवनमा लाभ पुर्याउने मौन साधनालाई चरणवद्ध रुपमा अगाडि बढाउनका लागि । आफू व्यस्त नरहेको समयमा, खासगरि राति ओछ्यानमा पल्टेपछि निदाउनुअघि आफ्ना दिनभरिका काम, गतिविधि तथा निर्णयहरुमाथि पूनरावलोकन, समिक्षा तथा आत्मविश्लेषण गर्नु; गल्ती, अन्याय भएका रहेछन् भने मनमनै स्वीकार गर्नु, क्षमा माग्नु, प्रायश्चित गर्नु, सुधार गर्ने अठोट गर्नु, गल्ती फेरी नदोहोर्याउने संकल्प गर्नु आदि अत्यन्तै प्रभाकारी मौनका अभ्यासहरु हुन् जसबाट व्यक्ति आफूले थाहा नै नपाइकन आफूभित्रको अन्तरयात्रामा प्रवेश गर्दछ र उसको मौन साधनाको प्रारम्भिक आध्यात्मिक यात्रा प्रारम्भ हुन्छ । आफूलाई हरवखत सकारात्मक राख्न खासगरि विहान निद्राबाट बिउझिएपछि ओछ्यानमै आफूलाई सकारात्मक आत्मसन्देशहरु– म सुखी छु, खुशी छु, शान्त छु, आनन्दित छु, भाग्यमानी छु, सिर्जनशील छु, लगनशील छु, सबैले मलाई प्रेम गर्छन्, सम्मान गर्छन्, विश्वास गर्छन्, म सम्पन्न छु जस्ता सन्देशहरु दिनु मौन साधनामा प्रवेश गर्ने अत्यन्तै प्रभावकारी चरण तथा प्रक्रिया हो । आफूसंग भएका हरेक विषय, वस्तु, सेवा, सुविधा, सम्वन्धप्रति खासगरि यी अवस्थाहरु उपलव्ध गराउने श्रोत व्यक्तिहरु र आत्यिन्तिक श्रोत प्रकृति, अस्तित्व तथा परमात्माप्रति कृतज्ञता, अहोभाव, धन्यता, श्रद्धा, भक्ति, समर्पणले भरिनु पनि मौन साधनामा प्रवेश गराउने अर्को अत्यन्तै महत्वपूर्ण र प्रभावकारी चरण तथा प्रक्रिया हो । साथै आफूलाई हरप्रकारले स्वस्थ राख्न हरपल लामो र गहिरो श्वास बनाउनु, श्वास आएको गएको याद गर्नु, मेरुदण्ड सिधा गरेर बस्नु, सुत्नु तथा पल्टिनु, सुक्ष्म शरीरको मेरुदण्डमा रहेका चक्रहरुको याद गर्नु आदि जस्ता योगीक क्रियाकलापहरुले मौन साधनाको अभ्यास सरल , सहज र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान गर्दछन् । शारीरिक, मानसिक, भावनात्म, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्यका दृष्टिकोणले श्वास लामो–गहिरो बनाउदा मस्तिष्क, रगत तथा पूरै शरीरमा अक्सिजन तथा प्राण वायु पर्याप्त मात्रामा सन्तुलित किसिमले संचारित हुन्छ । मेरुदण्ड सिधा राख्दा मेरुदण्डको केन्द्रमा निरन्तर प्रवाहित भैरहने शरीरको अत्यन्तै महत्वपूर्ण स्थुल उर्जा मस्तिष्क-मेरु द्रव्य(सेरेब्रो-स्पाइनल फ्लुइड) तथा सुक्ष्म उर्जा कुण्डलिनी शक्ति अर्थात प्राण उर्जा अर्थात जीवन उर्जा अर्थात ब्रम्हाण्डिय महाउर्जा र मस्तिष्कविच सम्पर्क बनिरहन्छ र यो अवस्थामा शरीर र स्वास्थ्यका- शारीरिक, मानसिक, भावनात्मक, अत्मिक अर्थात चेतनात्मक सबै आयामहरु पूर्णरुपमा स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुन्छन् । यसरी शरीर र स्वास्थ्य हरप्रकारले सन्तुलित तथा व्यवस्थित रहेको अवस्थामा मौन साधनाको माध्यमबाट आध्यात्मिक विकासमा गहन तिब्रता आउछ र छिट्टै नै साधकमा पराभैतिक जगतका रहस्मय उपलव्धिहरु अनुभव तथा अनुभूतिमा आउन प्रारम्भ हुन्छन् ।

कुण्डलिनी उर्जा संतुलन र सफल व्यक्तिहरुका सकारात्मक बानी

आधूनिक मानेविज्ञानका अध्ययनहरुले पस्किएका शतप्रतिशत प्रामाणिकतामा अधारित तथ्यांकहरुका अनुसार मनुष्यको अभिव्यक्तिमा शव्द, बोलि तथा संवादको २० प्रतिशत भाग मात्र भूमिका रहेको हुन्छ र वाँकी ८० प्रतिशत भाग उसको शरीर तथा इन्द्रियका हाउभाउ अर्थात इशाराहरुले अभिव्यक्त गर्दछन् तर सोचनिय कुरा बोल्दाखेरी तथा वाणीमा जीवन उर्जाको एकमात्र श्रोत कुण्डलिनी उर्जाको सबैभन्दा बढि भाग ८० प्रतिशत खपत हुन्छ । मौन अभ्यासको सबैभन्दा पहिलो शर्त तथा चरण कम बोल्नु, आवश्यक मात्र बोल्नु तथा नबोल्नु हो । शरीर तथा इन्द्रियहरु– आँखा, चेहरा, हात–गोडाका इशारा तथा हाउभाउहरु मौनका भाषा हुन् । यसरी कुण्डलिनी उर्जाको खपत र वचतको आंकडा हेर्दा शव्द तथा बोलिमा आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दा शरीरको ८० प्रतिशत कुण्डलिनी उर्जा खपत हुन्छ भने मौनका भाषा प्रयोग गर्दा शरीरको ८० प्रतिशत कुण्डलिनी उर्जा वचत हुन्छ । आफ्नै सावधानीबाट खपत नभएको तथा बचेको जीवन उर्जा आफूभित्रै संचित भएर रहन्छ र यसरी वचत तथा संचित भएको उर्जालाई अन्य महत्वपूर्ण उत्पादनशील काममा लगाउन सकिन्छ । आफूभित्र संचित भएर रहेको जीवन उर्जाले क्रमिक रुपमा मनुष्यको आन्तरिक शक्ति बढाउन महत्वपूर्ण भूमिका खेल्दछ र आन्तरिक शक्तिको बढोत्तरी संगसंगै उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शक्ति पनि बढ्दै जान्छ र उ हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय, सकारात्मक, सन्तुलित, व्यवस्थित, क्षमतावान, प्रतिभावान, सिर्जनशील, नवीनतम, सफल, सरल र सहज व्यक्ति बन्दछ । यस्तो व्यक्तिको आत्मा अर्थात चेतनाको विकास उच्चस्तरमा हुदैजाने हुनाले उसको आध्यत्मिक मार्ग पनि सहज बन्दै जान्छ । 

विश्व बिख्यात व्यत्तिहरुको जीवनीका कथाहरुमा उल्लेख गरिए अनुसार विश्वकै सर्वाधिक सफलतम केही व्यक्तिहरु– विलगेट्स, वारेन बफेट, स्टिभ जव आदि विश्वमै सर्वाधिक सफल व्यक्ति हुनुको प्रमुख राज ध्यान तथा मौनको अभ्यास नै थियो । उनीहरु अत्यन्तै कम र आवश्यक विषयहरु मात्र बोल्ने गर्थे; अधिकांश समय मौन रहन्थे र अरुको कुरा बढि सुन्थे; ध्यान तथा मौन साधना गर्थे; आफ्नो व्यक्तित्व, नेतृत्व र बुद्धत्वमा बढि सजग रहन्थे; आफूमाथि भरोसा गर्थे; उनीहरु बोल्नुअघि आफ्ना विचारहरु आफैंभित्र स्पष्ट पार्थे; आफैंभित्र शव्द चैन, संवादको शैली, बोल्ने समय तय गर्थे; एक र अर्को वाक्यका विचमा खालि ठाउँ राखेर तथा चुप्प लागेर तथा केही सेकेण्डको मौन राखेर बोल्ने गर्थे; अरुको आँखामा आँखा जुधाएर बोल्ने गर्थे सामुन्यमा रहेको व्यक्तिको आँखाको भाव र शरीर तथा इन्द्रियहरुको हाउभाउहरुको पहिचान गरेर मात्र आफ्नो शव्द तथा वाणी तय गर्थे; र त्यसप्रति आफ्नो विचार बनाएर अत्यन्तै सजग भएर सकेसम्म थोरै शव्दमा आफ्ना अभिव्यक्तिहरु अरुसमक्ष सम्प्रेसित गर्थे । उनीहरुको यही सकारात्मक बानीले विश्व चर्चित बने र अरुकालागि उत्प्रेरणाको श्रोत बने ।उनीहरुको सरल र सफल जीवन विश्वकैलागि उत्प्रेरणात्मक सन्देश बनेको छ अरुको जीवन हरप्रकारले सन्तुलित, व्यवस्थित गर्न र सफल व्यक्तित्व तथा प्रभावकारी नेतृत्व निर्माण गर्नकालागि । यही मौनको अभ्यासका कारण उनीहरु र उनीहरुजस्ता धेरै मनुष्यहरु आफ्नो जीवनको उच्चतम विकास गर्न र आफ्नालागि मात्र नभएर संसारकैलागि कामलाग्ने युगान्तरकारी तथा क्रान्तिकारी आविस्कारक  सर्वकल्याण गर्ने अवतारी मनुष्य बन्न सफल भएका हुन् भन्नेमा कुनै शंका छैन । यदि कसैलाई यस विषयमा शंका लाग्छ भने आफूलाई उनीहरुको जीवनशैलीमा उतारेर हेर्ने प्रयास गरौं र हो कि होइन भन्ने निर्क्यौल आफू स्वयंकै अनुभवबाट गरौं ।    

नियमित मौनको अभ्यास गर्ने मनुष्यमा जीवनलाई दिशाविहिन गर्ने मानसिक अन्तरद्वन्दको सम्भावना कम रहन्छ । शव्द तथा बोलिमा अभिव्यक्त गरिएका विषयहरु अभिनय मात्र हुन सक्दछन् तथा असत्य पनि हुन सक्दछन् तर मौनको भाषामा अभिव्यक्त गरिएका विषयहरु सच्चा हुन्छन् किनकी शरीर तथा इन्द्रियका इशारा, हाउभाउ तथा गतिविधिहरु सितिमिति असत्य हुन सक्दैनन् । निरन्तर सत्यको अभिव्यक्तिले मनुष्यको आफूभित्रको अन्तरद्वन्द समाप्त हुन्छ, उसको आन्तरिक शक्तिमा वृद्धि आउन प्रारम्भ हुन्छ र आन्तरिक शक्तिले अन्तरज्ञानको शक्ति तथा इन्ट्युसन पावरको क्षमता बढाउछ । अन्तरज्ञानको क्षमता विकास भएको मनुष्यमा कुनैपनि घटना तथा विषयहरुलाई अरु सामान्य मनुष्यहरुले हेर्न, जान्न तथा बुझ्न नसक्ने विशेष प्रकारको अलौकिक क्षमताको विकास हुन्छ र आफूभित्र विकसित भएको अलौकिक क्षमताको वलले उसले भूत, वर्तमान, भविश्यका विषयहरुको जानकारीहरु समेत तत्काल थाहा पाउन सक्षम हुन्छ र आफ्नो जीवनलाई त्यसैअनुरुप व्यवस्थित गर्न सक्दछ । मौनको अभ्यासमा रहदा आफ्नो विकसित आन्तरिक तथा अन्तरज्ञानको शक्तिले आफ्नो सामुन्यमा रहेका मनुष्यहरुको मानसिकता तथा भावनाहरु पढ्न र गहिरोसंग बुझ्न सक्ने क्षमताको विकास हुन्छ र आफ्ना आगामि व्यवहारहरु त्यसै अनुसार योजनावद्ध गरेर निर्माण गर्दै कुशलता पूर्वक अगाडि बढाउन सकिन्छ आफ्नो र अरुको जीवन व्यवस्थित गर्नकालागि । यसकासाथै यस्ता क्षमताहरु भएको मनुष्यलाई ब्रम्हाण्डिय आकर्षणको नियमको सिद्धान्त अनुसार ब्रम्हाण्डका अनन्त सूचना, जानकारी तथा ज्ञानविज्ञानहरु अन्तरज्ञानको माध्यमबाट हासिल हुन प्रारम्भ हुन्छन् र यी ज्ञानहरुको माध्यमबाट क्रमशः उसको मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तहमा रहस्यमय, चमत्कारिक अलौकिक तथा दिव्य आध्यिात्मिक क्षमताहरुको उच्चतम विकास भएको कारण उ आत्मवोध, आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानमा उपलव्ध हुन्छ र परमात्मामा सदाकालागि एकाकार हुन सफल हुन्छ । जीवनमा सफल भएका विभिन्न क्षेत्रका विश्व चर्चित व्यक्तित्वहरुको जीवन कहानीले यस्तै रहस्यहरु उजागर गरेका छन् । तसर्थ समग्रमा भन्नुपर्दा मनुष्यको साधनादेखि सिद्धिसम्मको आध्यात्मिक तथा परालौकिक यात्राको शुभारम्भ उसको शव्द, बोलि तथा वाणी र शरीर तथा इन्द्रियहरुको अनुशासन र तिनको सहि सदुपयोगबाट नै हुनेरहेछ भन्ने स्पष्ट देखिन्छ ।

मौनको अभ्यास सहज बनाउन गर्नुपर्ने थप अभ्यासहरु

आफूले आफ्नै मनमा मात्र आफ्ना राम्रा तथा सकारात्मक गुणहरुको र आफ्ना सफलताहरुको प्रसस्त प्रशंशा गरौं, आफूले आफूलाई स्याबासी पनि दिउँ तर आफ्ना राम्रा तथा सकारात्मक गुणहरुको र आफ्ना सफलताहरुको प्रंशशाका विषयमा आफू स्वयंले सकेसम्म अरु समक्ष नबोलौं तथा मौन भएर बसौं, अरुलाई बोल्न दिउँ आफ्नो सकारात्मकताका बारेमा र आफूले पनि अरु सकारात्मकताको खुलेर, मुस्कुराएर प्रसन्न भावले धन्यता प्रकट हुने किसिमले प्रशंशा गर्ने गरौं । यस्तो सकारात्मक बानीले मौनको अभ्यासमा सहजता प्रदान गर्दछ ।

आफूले जीवनमा के निर्णय लिने भन्ने सन्दर्भमा अरुको राय लिउँ, अरुका कुरा सुनौं तर आवश्यकता भन्दा बढि अरुका राय नलिऔं तथा अरुका कुरा नसुनौं । अरुका कुरा धेरै सुन्दा आफूमा अलमल, तनाव, चिन्ता र चुनौति बढ्नसक्छ । अरुका कुरा सुनौं तर निर्णय आफ्नो अन्तरआत्माको आवाज सुनेर लिने गरौं । आफैंमा भरोसा राख्न सिकौं र आफू स्वयंलाई आफ्नो भरोसा योग्य बनाउन हरसम्भव प्रयत्न गरौं । यस्तो सकारात्मक बानीले मौनको अभ्यासमा सहजता प्रदान गर्दछ । 

सकेसम्म कम तथा आवश्यकता जति मात्र बोलौं; बढि सुन्न, अवलोकन गर्नमा आफ्ना इन्द्रियहरुको सदुपयोग गरौं र आफूलाई बढिभन्दा बढि अरु व्यक्ति तथा विषयहरुबाट सिक्ने अवसर प्रदान गरौं ।हरपल सुखी, खुशी र शान्त रहने प्रयास गरौं र जे आफ्नो नियन्त्रण वाहिर छ त्यसप्रति स्वीकार र सन्तोष भावले भरिऔं । शव्द तथा वाणीमा कम बोल्ने, नबोल्ने तथा मौन रहने; सुखी, खुशी र शान्त रहने; स्वीकार र सन्तोष भावमा रहने व्यक्तिहरुको व्यक्तित्व, नेतृत्व, बुद्धत्वको क्षमता प्रभावशाली हुन्छ । प्रभावशाली व्यक्तित्व, नेतृत्व, बुद्धत्वको क्षमता भएको मनुष्य सोच्नमा पर्याप्त समय लगाउछ, आन्तरिक रुपमा निर्णय गर्दछ र त्यसपछि मात्र शव्द तथा वाणीको माध्यमबाट वाहिर अभिव्यक्त गर्दछ । यस्तो व्यक्तिले भावनामा बहेर नभइ व्यवहारिकता तथा तर्कको आधारमा प्रभावकारी निर्णय लिन्छ । यस्तो सकारात्मक बानीले मौनको अभ्यासमा सहजता प्रदान गर्दछ ।

अरुका कुरा पूरा सुनौं, आफूमा धैर्यता राखेर सकेसम्म पूरा बोल्ने अवसर प्रदान गरौं र उसका कुरा गहिरोसंग सुनेर र बुझेर मात्र आवश्यक भए मात्र प्रतिक्रिया दिउँ र सहि निर्णय लिउँ तथा दिउँ । सफल मनुष्यहरुको जीवनशैलीका सन्दर्भमा गरिएका अध्ययनहरुले देखाए अनुसार उनीहरु आफ्नो मन र भाव उदार र खुल्ला राखेर ७० प्रतिशत सुन्ने र ३० प्रतिशत मात्र बोल्ने गर्दछन्, आफूलाई हरदम नयाँ विषयहरु सिक्न तयार अवस्थामा राख्दछन् र आफूलाई जीवनभर विद्यार्थी ठान्दछन् । यस्तो व्यक्तिले धेरै कुरा सिक्छ र आफ्नो भरोसा आफैंले गर्नसक्ने व्यक्तित्व र नेतृत्व निर्माण गर्दछ । संधै सिक्ने प्यास र संधै विद्यार्थी हुँ भन्ने भावले मनुष्यको वाहिय रआन्तरिक शक्ति बढाउछ । यस्तो सकारात्मक बानीले मौनको अभ्यासमा सहजता प्रदान गर्दछ ।

जीवनका यस्ता सहज, सरल, सफल, सकारात्मक सबै अवस्थाहरुले मौनको अभ्यासलाई सहजता प्रदान गर्दछन् किनकी मनुष्यको जीवन जति सहज, सरल, सफल, सकारात्मक हुन्छ उसको आन्तरिक सुख, खुशी, शान्ति, आनन्द उतिनै बढ्दै जान्छ र यस्तो व्यक्ति मात्र सहज किसिमले प्रयास मौन हुदै निस्प्रयास मौनमा प्रवेश गर्न सक्दछ ।

मौनको अभ्यास गर्दाका कठिनाइ र सावधानी

शव्द तथा बोलि कम तथा बन्द गरेर सकेसम्म शरीर तथा इन्द्रियहरुका इशारा तथा हाउभाउहरुको माध्यमबाट आफूलाई अभिव्यक्त गरेर मौनको अभ्यास गरिरहदा पनि मनमा अनियन्त्रित अतिविचारहरु चलिरहन्छन्; भावमा नकारात्मक भावनात्मक संवेगहरु आइरहन्छन्; र मानवीय विकार तथा क्लेशजन्य– काम, क्रोध, लोभ, मोह, इष्र्या, राग, द्वेश, अहंकार आदि नकारात्मक व्यवहारहरुमा कमी आएको छैन भने यो मौनको अवस्था होइन । यसो हुनुमा आफैंबाट मौनको अभ्यासका चरण, प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरणमा केही कमीकमजोरी भएको हुनसक्छ । तर ध्यान तथा मौन अभ्यासको शुरुको अवस्थामा अभ्यासीहरुलाई यस्तो हुनु सामान्य रुपमा लिने गरिन्छ, विस्तारै ध्यान तथा मौनको सकारात्मक प्रभाव बढ्दै गएपछि यस्ता समस्याहरुको समाधान हुदै जान्छ । ध्यान तथा मौन साधनाको प्रारम्भिक चरणमा प्राय सबै साधकहरुलाई यस्तै प्रकारका समस्या तथा असहजताहरु आउने गर्दछन् किनकी जव साधक शव्द तथा वाणी र शरीर तथा इन्द्रियका हाउभाउहरु स्थिर गरेर मौन भएर ध्यानमा बस्छ तव उभित्र उसका विचारहरुको समुह मन र भावनात्मक संवेगहरुको समुह भाव बोल्न प्रारम्भ गर्दछन्, बोल्छन् मात्र होइन यिनले साधकको मस्तिष्क, मन, भाव तथा समग्र अन्तरजगतमा कोलाहल नै मच्चाउछन् । ध्यान तथा मौनको अभ्यासका क्रममा मनुष्यका शव्द तथा वाणी र शरीर तथा इन्द्रियका हाउभाउहरु स्थिर तथा शान्त भएपछि यिनका गतिविधिहरुको माध्यमबाट वाहिर बहेर जाने उसको कुण्डलिनी उर्जा वचत हुन थाल्छ र वचत भएको उर्जाको शक्ति उसको मन तथा भावमा प्रवेश गर्ने हुनाले ध्यान तथा मौन साधनाको प्रारम्भमा साधकको मन, मस्तिष्क तथा भावनाहरुमा यस्तो कोलाहल मच्चिने गर्दछ । यस्तो अवस्थामा साधकले असहजता महसुस गर्नु सामान्य हो तर यो अवस्थालाई त्यति गंभिरतापूर्वक लिनु हुदैन किनकी यो सबै साधकहरुमा प्रारम्भिक चरणमा अनिवार्य रुपमा घटित हुने अकाट्य अवस्था हो । तसर्थ यस्तो अवस्थामा आत्तिनु तथा विचलित हुनु हुदैन र समाधानका लागि सक्दो आफू स्वयंले आफैंप्रति पर्याप्त सजगता तथा साक्षी भाव अपनाउदै ती विचार तथा भावनात्मक संवेगहरुलाई हेर्नुे र अनुभव गर्दै तिनलाई जान दिनु पर्दछ किनकी मनका विचार र भावका भावनात्मक संवेगहरुको प्राकृतिक गुण तथा स्वभाव आउनु र जानु हो, तिनीहरु एकैठाउँमा लामोबेर रहिरहदैनन् तथा आएपछि अवश्य जान्छन् । मनका विचारहरु र भावका भावनात्मक संवेगहरुलाई साक्षी भावमा रहेर हेरीराख्ने, तिनको अनुभव गरिराख्ने प्रयासपछि विस्तारै विचारहरु तथा भावनात्मक संवेगहरु थाक्न थाल्छन् र साधकको शव्द, वाणी र शरीरसंगै मन र भाव पनि स्थिर तथा शान्त हुन थाल्छन् र क्रमिक रुपमा साधक मौनमा गहिरिदै जानथाल्छ, उभित्र स्वस्फर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ र उसले विस्तारै मौन साधनाका सांसारिक तथा पारमार्थिक सकारात्मक लाभ तथा उपलव्धिहरु हासिल गर्दै जान थाल्छ । यो अवस्था तव घटित हुन्छ जव साधकको मन र भाव दुवै स्थिर तथा शान्त भएर उभित्र आन्तरिक मौन प्रारम्भ हुन्छ किनकी वास्तविक मौन शव्द तथा वाणी बन्द गर्नु मात्र होइन शव्द, बोलि, शरीर तथा इन्द्रियहरु, सोच, विचार, मन, भाव सबै एकसाथ स्थिर तथा शान्त हुनु हो । 

आफूले प्रयास गरेको मौनको अभ्यास अलि मुस्किल हुन्छ विचार र भावनात्मक संवेगहरु धेरै चलेका कारण तर निरन्तर साक्षी भावको प्रयास गर्दै जादा विस्तारै विचार र भावनाहरु थाक्छन् र साधकमा आन्तरिक मौनको पृष्ठभूमि तयार हुदै जान्छ र विस्तारै वास्तविक तथा निस्प्रयास मौन घटित हुन्छ । वास्तविक मौन साधकका लागि अलगाव होइन परम सानिध्यता हो, वास्तविक मौन त्याग होइन परम प्राप्ति हो, वास्तविक मौन शुन्यता तथा खालिपन होइन पूर्णता हो र वास्तविक मौनले नै साधकलाई परमसुख, परमखुशी, परमशान्ति, परमआनन्द, सतचितआनन्द हुदै परमात्मामा एकाकारसम्म पुर्याएर मोक्षमा उपलव्ध गराउछ । सनातन अध्यात्म विज्ञानका अनुसार यही नै ‘साधनादेखि सिद्धिसम्म’को वास्तविक आध्यात्मिक, पराभौतिक तथा परालौकिक यात्रा तथा मार्ग हो । 

शरीर, मन, भावलाई हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित, स्थिर तथा शान्त बनाउनु त्यति सहज छैन र त्यति मुस्किल पनि छैन । शरीर, मन र भाव शान्त गराउने आन्तरिक मौन साधनाको शुरुआति चरण साक्षी भाव, एकाग्रता तथा धारणाबाट प्रारम्भ हुन्छ । यो चरणको प्रारम्भ गर्नकालागि साधक शारीरिक, मानसिक र भावनात्मक रुपले स्वस्थ हुनु अत्यावश्यक हुन्छ ताकि उ ध्यान तथा मौन साधनामा निश्चित समयसम्मका लागि शरीर, मन, भाव स्थिर राखेर बस्न सकोस् । साधकलाई निश्चित समयसम्मका लागि ध्यान साधनामा बस्न सक्ने क्षमता योगीक साधनाका विषयहरु योगासन, प्राणायाम, क्रिया, मुद्रा, बन्द, धारणा, ध्यान, समाधिका पूर्णतः वैज्ञानिकतामा आधारित सहि प्रक्रिया, विधि तथा पद्धतिहरुबाट हासिल हुन सक्दछ । यसकालागि साधकले आहार–विहार–व्यवहारमा अनुशासित भएर निष्ठापूर्वक आफ्नो दैनिकीमा एकदेखि डेढ घण्टा योगीक साधना तथा व्यायाम गर्नुपर्दछ । 


मौनको अभ्यास सहज गर्नकालागि सहयोगी योगीक साधना

स्थुल शरीर तताउन शरीर चलायमान गराउने तथा हल्का उफ्रिने प्रकारका कदमचाल व्यायाम पाँच मिनेट शरीर खुलाउन शरीरका हरेक अंगअंगको सुक्ष्म व्यायाम पाँचदेखि दश मिनेट गरिसकेपछि मात्र उभिएर, बसेर, घोप्टेर तथा उत्तानो पल्टेर गर्ने योगका आासनहरु गर्न प्रारम्भ गर्नु पर्दछ ताकि योगासन गर्न शरीर मन हरप्रकारले लचिलो, फुर्तिलो भएर तयार भएको होस् आसनहरु लगाउदा सामान्य बाहेक जटिल प्रकारका असहजता, पिडा तथा अस्वस्थताहरु नआउन् आमरुपमा प्रयोगमा ल्याउदै आइएका सबै उमेर तथा लिंगका व्यक्तिहरुलाई उपयुक्त हुने प्रकारका कुनै प्रकारका नकारात्मक प्रभाव नभएका उभिएर, बसेर, घोप्टेर तथा उत्तानो पल्टेर गरिने योगका आसनहरुका लागि तयारी स्वरुप शरीर तताउन गरिने कदमचाल व्यायाम तथा शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम निम्नप्रकारका रहेका छन्– 

शरीर तताउन गरिने कदमचाल व्यायाम

सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, सानो हाते बल उफार्दै खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।

शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम

कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं ।

सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा शरीर तन्काउन उभिएर, बसेर, घोप्टेर र उत्तानो पल्टेर गरिने योगका आसनहरु लगाउनका लागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर, शरीर खुलाएर र शरीर तन्काएर गरिएका योगका सबैप्रकारका आसनहरुबाट सहजै शारीरिक, मानसिक, भावनातक, आत्मिक अर्थात चेतनात्मक विकासका अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । शरीर तताउन, शरीर खुलाउन र शरीर तन्काउन योगीक साधनाका योगासन, प्राणायाम, किया, बन्द, मुद्रा गरिसकेपछि शरीर, मन, भाव, चेतनामा एक प्रकारको दिव्य जीवन उर्जा जाग्रीत हुन्छ र यो दिव्य उर्जालाई व्यवस्थित गर्न सहि मार्ग दिन अनिवार्य रूपमा कम्तिमा ५ मिने देखि बढिमा आधाघण्टा, एकघण्टा या अझ वढि समय एकाग्र भएर धारणा र ध्यान सधनाका सहि प्रक्रिया तथा विधिहरुको निष्ठापूर्वक अनुशरण गरेर मौनको अभ्यास गर्नुपर्दछ । योगीक साधनाको यी वैज्ञानिक प्रक्रिया, विधि तथा पद्धतिहरुलाई अनुशरण गरेर गरिएका व्यवहारिक अभ्यासहरुले प्रयास तथा वाहिरी मौन हुदै स्वस्फूर्त घटित हुने निस्प्रयास मौनमा स्थित गराएर मौन साधनाको 'साधनादेखि सिद्धिसम्म'को आध्यात्मिक तथा परालौकिक यात्रालाई छिट्टै गन्तब्यमा पुर्याउन मद्धत गर्दछ । यसरी योगीक साधनाका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित, व्यवस्थित र जाग्रीत हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णता तथा सम्पूर्णताले भरिपूर्ण हुन थाल्छ ।


आफूले भन्नुपर्ने विषयहरु सकिएपछि मैले कैलाशलाई उनी सकभागि भएका विपश्यना मौन ध्यान साधनाका तीन पटकका २१–२१ दिने मौन बस्ने क्रममा भएका उनका व्यक्तिगत अनुभव तथा अनुभूतिहरु सुनाउन आग्रह गरें । उनले खासै सुनाउनेरुचि देखाएनन् तैपनि मैले आग्रह गरें, केही त भन आफ्नो अनुभव तथा अनुभूतिहरुबारे भनेर, मेरो आग्रह टार्न र हार्न नसकेर छोटोमा उनले भने, 

"मलाई यस्तो गहन अनुभव त भएको छैन तिमीलाई जस्तो श्रीशा, सायद म मौन साधनाको प्रारम्भिक चरणमै छु त्यसैले मलाई मौनको क्रममा एकदम डर लाग्छ किनकी म अन्धकार मात्र देख्छु अनि खै केले जोडले त्यो अध्यारोतिर तानेको तान्यै गर्छ, म एकदम धेरै डराएर बेस्सरी चिच्याउछु र मनमा लाग्छ, ओहो मैले अरुको साधनालाई बाधा गरिरहेको छु यसरी चिच्याएर भनेर तर ध्यानबाट वाहिर निस्केपछि थाहा पाउछु कि म आन्तरिक रुपमा मात्र चिच्याएको हुदोरहेछु डराएर, म चिच्याएको अरुले सुन्दा रहेनछन् । वास्तविकतामा म अरु जस्तै स्थिर भएर ध्यानमा बसिरहेको हुदो रहेछु । 

प्रयास मौनको अभ्यासको गहनता एक निश्चित अवस्था पुगेपछि तिमीमा स्वस्फुर्त घटित भएको निस्प्रयास मौन साधनाको अनुभव तथा अनुभूतिहरु सुनेपछि मलाई लाग्यो अहिलेसम्म मेरो मौन निस्प्रयास भएको रहेनछ, प्रयासनै रहेछ किनकी मलाई बोल्न अनुमति भएको भए म बोल्न सक्थें । तिमीमा घटित भएको मौन तिमीले चाहेर पनि आवाज तथा बोलि नआउने रहेछ त्यसैले 'निस्प्रयास' मौन भनेकी रहिछौ, आफैं घटित हुने, बल्ल बुझें ‘निस्प्रयास’ भनेर किन त्यति जोड दिएकी थियौ भनेर तर मैले त आफैंले मौन रहने प्रयास गरेको हुँ, विपश्यना साधनाबाट निस्कने वित्तिकै बोल्न सक्छु म । निस्प्रयास मौन साधनाका तिम्रा अनुभव तथा अनुभूतिहरु सुनेर म स्पष्ट भएं र मलाई धेरै विषयहरुमा मार्गदर्शन पनि मिल्यो कि श्रीबुद्ध प्रभुले मौन ध्यान साधनाका क्रममा मारहरुले सताउछन् भन्नु भएको हामीलाई बुझाइएको जस्तो भौतिक संसारप्रतिको तृष्णा, आशक्ति, राग, द्वेश मात्र होइन रहेछ, पराभौतिक संसारमा रहेका खराव आत्मा अर्थात चेतना अर्थात उर्जाहरुले पनि अदृश्य रुपमा सताउने रहेछन् । ठ्याक्कै यस्तै अनुभूति विपश्यनामा रहदा एकजना गहिरो साधना गर्नुहुने साधकले पनि भन्नु भएको थियो, सुक्ष्म संसारमा रहेका नियत राम्रो नभएका नकारात्मक उर्जाहरुले अदृश्य रुपमा दुःख दिने र साधना भाँड्ने प्रयास गर्दारहेछन् बारबार, साधक आफैं निकै सजक हुनुपर्ने रहेछ र सदगुरुको मार्गनिर्देश लिरहनु पर्ने रहेछ भनेर । बौद्ध दर्शनको कथाहरुमा पनि धेरै आउछन् यस्ता विषयहरु तर मलाई लाग्थ्यो भौतिक संसारका आशक्तिहरुलाई नै मारको रुपमा सांकेतिक दृष्टिकोण दिइएको होला भन्ने, होइन रहेछ, तिमीबाट यसबारे मलाई गहन मार्गनिर्देश भयो धेरै धन्यवाद श्रीशा । विपश्यना ध्यान साधना भने पनि र कुण्डलिनी ध्यान साधना भने पनि साधनाको गहनता एउटै रहेछ, गन्तव्य सबैको एउटै रहेछ, बाटो तथा तरिका मात्र अलग रहेछ, यो परम सत्य बुझ्ने अवसर पाएं मैले, म भविश्यमा मेरो साधनाको क्रममा हुने नयाँ अनुभव तथा अनुभूतिहरुको अपडेट तिमीलाई अवश्य गराउनेछु र आवश्यकता महसुस भयो भने म फेरी तिमीकहाँ आउने छु श्रीशा ‘गुरु...जी’ ।"

“अवश्य, शुभकामना कैलाश....'जी'... !”

“ॐ नमो बुद्धाय !”

“हरि ॐ ततसत् !”

हामी एकसाथ मुस्कुरायौं एकअर्काको आँखामा सहज भावले हेर्दै हाम्रो नामको पछाडि फेरी ‘जी’ जोडिएको सुनेर, यसपश्चात प्रभुलाई नमन गर्दै हामी एकआपसबाट छुट्यौं ।                                                      

                                                                           अस्तु 

                                                      शिवोहम् ! शिवोहम् !! शिवोहम् !!! 


 





No comments:

Post a Comment