'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 20 November 2025

मौन साधनाभित्रको साधना ‘नाम जप’, खण्ड -३

  लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन



नाम तथा मन्त्र जप साधनाले कसरी काम गर्छ

मनुष्यको वाहिरी र आन्तरिक जीवन 

मनुष्यको चेतन मस्तिष्क तथा मनले दैनिक जीवनयापनका विविध क्रियाकलापहरु गर्ने शिलशिलामा दिनभरिमा अत्यन्तै धेरै सूचना, जानकारी तथा इनपुटहरु श्रव्य, दृश्य, अदृश्य तथा अनुभवका रुपमा ग्रहण तथा संकलन गर्ने गर्दछ र यी सामग्रीहरु उसको मन, मस्तिष्क तथा भावमा संग्रहित भएर बस्दछन् । मनुष्यको मन, मस्तिष्क तथा भावमा संकलित भएर रहेका यस्ता सूचना तथा जानकारीहरु बारबार प्रक्रिया तथा प्रोसेस भैरहन्छन् तथा मनुष्यको सोच, विचार र भावनाहरुमा निरन्तर चलिरहन्छन् र हरेक मनुष्यको मन तथा भावको यो प्राकृतिक प्रक्रिया हो किनकी मनुष्यका विचार र भावनात्मक संवेगहरुको काम निरन्तर चलिरहनु हो र यो अत्यन्तै सामान्य प्रक्रिया तथा अवस्था हो, विचार र भावनात्मक संवेगहरु नचल्नु असामान्य अवस्था हो तर कसरी र कति चल्नु सामान्य तथा असामान्य अर्थात बिमारी हो भन्नेबारे सनातन अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरुमा यसको छुट्टै नियम तथा मापदण्डबारे व्याख्या गरिएका छन् । 

आधूनिक मनोविज्ञानका अनुसार अधिकांश समय मनुष्यको सोच, विचार र भावनामा जे–जस्ता विषयहरु चलिरहन्छन् विस्तारै उ त्यस्तै बन्दै जान्छ र त्यस्तै प्रकारको उसको मनोदशा तथा भावदशा निर्माण हुदै जान्छ । मनुष्यको मनोदशा तथा भावदशा अनुसार नै उसको व्यवहार, आचरण तथा कर्महरु बन्दै जान्छन् र उसको व्यक्तित्व तथा पूरै जीवन नै त्यस्तै प्रकारको भएर अरुसमक्ष मुखरित हुन्छ । मनुष्यको मन, मस्तिष्क, भावमा संकलित भएका सूचना, जानकारी तथा इनपुटहरुलाई प्रसोधन तथा प्रोसेसिंग गर्ने क्रममा– अर्कोले आफूलाई प्रेम गर्यो या घृणा गर्यो; सम्मान गर्यो या अपमान गर्यो; सहयोग गर्यो या असहयोग गर्यो; यसो भन्यो या उसो भन्यो; यसो गर्यो या उसो गर्यो आदि विषयहरु उसको मन, मस्तिष्क र भावमा सकारात्मक, सामान्य र नकारात्मक तवरले निरन्तर चलिरहन्छन् र तिनले उसको मन तथा भावमा सकारात्मक, सामान्य र नकारात्मक प्रकारकै हलचल, उतारचढाउ, उथलपुथल, अस्तव्यस्तता ल्याइरहन्छन् तथा उसलाई प्रभाव पारिरहन्छन् कुनै न कुनै प्रकारले । यस्तो अवस्थामा सकारात्मक तथा सामान्य अवस्था तथा प्रभाव वाहेक नकारात्मक अवस्था तथा प्रभाव पार्ने यिनै परिस्थितिहरु नै मनुष्यको मन, मस्तिष्क तथा भावका अनियन्त्रित विचार, अतिविचार, नकारात्मकता, बेचैनी, अशान्ति, तनाव, चिन्ता, विषाद, अवषाद तथा डिप्रेसनको अवस्था हुन् । यस्तो अवस्थालाई समयमै उचित ढंगले व्यवस्थापन गर्न सकिएन भने मनुष्य स्वयंले समेत थाहा नपाइकन क्रमिक रुपमा चंचलता, उदाषि, बेचैनी, अस्थिरता, अशान्ति, तनाव, चिन्ता हुदै विषाद, अवसाद तथा डिप्रेसन, विक्षिप्तता, पागलपनको दलदलमा फस्दै जान्छ र विस्तारै शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक रुपले अस्वस्थ, असन्तुलित तथा अव्यवस्थित बन्दै जान्छ र उसको जीवन कष्टमय हुन्छ वाहिरी र आन्तरिक दुवै किसिमले । 

मनुष्यको मन, मस्तिष्क तथा भावमा चलिरहेका अनियन्त्रित विचार, अतिविचार, नकारात्मकता, बेचैनी, अशान्ति, तनाव, चिन्ता, विषाद, अवषादका कारण असन्तुलित तथा अव्यवस्थित भएको जीवन दुईप्रकारले सन्तुलित तथा व्यवस्थित गर्न सकिन्छ– (१)वाहिरी प्रयास, र (२)आन्तरिक प्रयास । वाहिरी प्रयास अन्तर्गत आफ्नो रुचि र आवश्यकता अनुसारको विषयको अध्ययन, पेशा तथा व्यवसाय; आवश्यकता अनुसार अग्रज तथा अनुभवीहरुको सल्लाह, सुझाव तथा अनुशरण; तनदुरुस्तीका लागि आवश्यक सन्तुलित आहार–विहार–व्यवहार; आरोग्यताका लागि आवश्यक स्वास्थ्य उपचार आदि पर्दछन् जसले मनुष्यको वाहिरी तथा सांसारिक जीवनमा सहजता, सरलता, समृद्धि, सफलता तथा विकास ल्याएर उसलाई वाहिरबाट सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्दछन् तर यसरी वाहिरबाट प्राप्त भएका सुख, खुशी, शान्ति, आनन्द दिगो हुदैनन् । दिगो सुख, खुशी, शान्ति, आनन्द प्राप्त गर्नकालागि मनुष्यको आन्तरिक विकास गर्नु अपरिहार्य हुन्छ । आन्तरिक विकास अन्तर्गत मनुष्यको मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शुद्धता, जागरण तथा विकास पर्दछन् । मनुष्यको आन्तरिक विकास ध्यान साधना, मौन साधना, नाम जप तथा मन्त्र उच्चाहरण साधना, योगीक साधनाहरुको प्रयोगात्मक अभ्यासको अनुशरणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हासिल गर्न सकिन्छ ।मनुष्यको आन्तरिक विकास शुद्ध आध्यात्मिक विषय हो र यी विधिहरु नै वैज्ञानिक र प्रामाणिक विधिहरु हुन किनकी अरु कुनैपनि उपायहरुबाट मनुष्यको आन्तरिक विकास गर्न सकिदैन । वाहिरी विकासले मनुष्यको जीवनमा उन्नती, प्रगति, सफलता तथा समग्रमा समृद्धि ल्याउछ र आन्तरिक विकासले मनुष्यको जीवनमा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द तथा समग्रमा शान्ति ल्याउछ जो संधै रहिरहन्छ अर्थात कुनै वाहिरी कारणले कहिल्यै नष्ट हुदैन किनकी मनुष्यको वास्तविक शान्ति आन्तरिक शान्ति हो जुन उभित्रै रहेको हुन्छ र वैज्ञानिकतामा आधारित आध्यात्मिक साधनाका विधिहरुले मनुष्यको जीवनमा कहिल्यै नहराउने आन्तरिक शान्ति प्रष्फुटन गराएर उसको जीवन सहज, सरल र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । वाहिर समृद्धि र भित्र शान्ति हासिल गरेको मनुष्यको जीवन हरप्रकारले सुखी, खुशी, शान्त, आनन्दित, समृद्ध, सफल, सन्तुलित र व्यवस्थित हुन्छ किनकी समृद्धि र शान्ति एकै सिक्का दुई पाटा हुन्, एकअर्काका परिपूरक हुन् र एकबिना अर्को पूर्ण हुदैनन् । वाहिर समृद्धि हासिल गरेको तथा सांसारिक जीवनमा विकसित भएको मनुष्यले आफ्नो आन्तरिक तथा पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासका लागि पर्याप्त समय दिन, आफू र अरुकालागि सहयोगी बन्न, एकाग्र तथा शान्त बन्न सक्दछ र त्यसैगरि आन्तरिक रुपमा शान्त भएको मनुष्यले वाहिरी जीवनको विकासकालागि खुशी र शान्त भएर आफ्नालागि आवश्यक अध्ययन, पेशा, व्यवसाय, सेवा तथा परोपकारका कार्यहरु आफ्नो पूरा, क्षमता, प्रतिभा, नवीनता तथा सिर्जनशीलतामा प्रस्तुत गरेर आफू, परिवार, समाज तथा देशलाई व्यवस्थित राख्न योगदान पुर्याउन सक्दछ । मनुष्यको वाहिरी र आन्तरिक विकास एकसाथ तथा युगपथ ढंगले संगसंगै तथा एकैसमयमा चल्ने तथा चल्नैपर्ने प्रक्रियाहरु हुन्, कुनै एकमा पहिला काम गर्छु अनि त्यसपछि अर्कोमा काम गर्छु भन्ने अवस्था होइनन् । भित्र शान्ति र वाहिर समृद्धिनै सफल तथा सुफल जीवनको वास्तविक सुत्र हो । सफल मनुष्य त्यो जो सांसारिक जीवनमा विकसित भएको छ र सुफल मनुष्य त्यो जो सांसारिक र पारमार्थिक दुवै जीवनमा विकसित भएको छ र आफ्नो सांसारिक सफलताका उपलव्धिहरु अरुसमक्ष साझा गर्न सामाजिक नेतृत्व लिएर सर्वकल्याण तथा परोपकारका कर्महरुमा आफूलाई समर्पित गर्दछ । सर्वकल्याण तथा परोपकारका कर्महरु गर्ने मनुष्यको पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास तिब्रगतिमा हुन्छ र उ यही जीवनकालमा सफल मनुष्य हुदै सुफल मानव बन्दछ जसको इहलोक र परलोक दुवै स्वर्गीय रहन्छन् । 

नाम तथा मन्त्र जप र जीवनको विकास तथा व्यवस्थापन

मनुष्यको आन्तरिक विकास गर्न पूर्वाय सभ्यतामा प्राचीन कालदेखि प्रयोगात्मक अभ्यास गर्दै आइएका सनातन आध्यात्मिक साधनाका प्रमुख साधना विधिहरु– योग साधना; ध्यान साधना; मौन साधना; नाम जप तथा मन्त्र उच्चाहरण साधना; सकारात्मक भाव साधनाहरु मध्य नाम जप तथा मन्त्र उच्चाहरण साधनालाई अति विशिष्ठ साधना विधि तथा पद्धतिका रुपमा लिदै आइएको पाइन्छ । नाम जप तथा मन्त्र उच्चाहरण साधना मनुष्यको मन, मस्तिष्क, भाव, आत्मा अर्थात चेतनालाई हरप्रकारका प्रतिकुल परिस्थितिहरुबाट सुरक्षित राख्ने भरपर्दो र प्रभावकारी तथा परिणाममुखी साधना पद्धति तथा चिकित्सा पद्धति हो किनकी नाम जप साधनाले सबैभन्दा पहिला प्रत्यक्ष रुपमा मनुष्यको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्दछ । श्रद्धेय स्वामी खप्तड बाबाका अनुसार सकारात्मक मनोविज्ञान, मानसिकता, मनोदशा तथा भावदशा नै मनुष्यको सबैभन्दा पहिलो र सबैभन्दा भरपर्दो चिकित्सक हो जसले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक सबैतिरका ९५ प्रतिशत बिमारी बिना आधूनिक औषधि तथा उपकरण निको गर्ने क्षमता राख्दछ किनकी सनातन अध्यात्म विज्ञान र आधूनिक मनोचिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञान सबैका वैज्ञानिक खोजहरुले एउटै कुरा प्रमाणित गरेका छन् कि मनुष्यको स्थुल शरीर उसको मानसिक तथा भावनात्मक शरीरको फैलावट तथा छायाँ हो र मनुष्यका शरीरमा हुने अधिकांश(९५ प्रतिशत) अस्वस्थताहरु तथा कठिनाइहरु उसको मन तथा भावबाट शरीरमा फैलिएका तथा साइको+सोमाटिक(मन+शरीर=मनाशरीर अर्थात मनबाट शरीर) समस्याहरु हुन् । नाम जप तथा मन्त्र उच्चाहरण साधना प्रारम्भ गरेपछि मनुष्यको नकारात्मक, अनियन्त्रित अतिविचारहरुको स्थानमा परमात्माका सकारात्मक र शक्तिशाली शव्द, नाम तथा मन्त्रहरुले स्थान लिन्छन् र यी नाम तथा मन्त्रहरुले आफ्नो शक्तिको प्रभावले मनुष्यको मनोदशा र भावदशाका नकारात्मकताहरुमा शुद्धिकरणको प्रक्रिया प्रारम्भ गर्दछन् । निष्ठापूर्वक निरन्तर गरिने नाम जप तथा मन्त्र उच्चाहरण साधनाको माध्यमबाट मनुष्यले आफ्नो मनोदशा तथा भावदशालाई जति–जति सकारात्मक सोच, विचार, भाव, व्यवहार, आचरण, कर्मले भर्दै जान्छ उति–उति उसको मानसिकता तथा मनोविज्ञानमा सकारात्मक गुणहरु– प्रेम, दया, करुणा, सेवा, दान, पुण्य, उपकार, परोपकार, क्षमाशिलता, कृतज्ञता आदि भरिदै आउछन् । यस्तो सर्वगुण सम्पन्न साधक आफ्नो निरन्तर साधनाको माध्यमबाट परमात्माका शव्द, नाम तथा मन्त्र जप तथा उच्चाहरणका दिव्य ध्वनि तथा तरंगहरुबाट कम्पित भएर प्रष्फुटित भएका महाउर्जा तथा महाशक्तिका दिव्य तरंगहरु आफू हुदै ब्रम्हाण्डमा फैलाउन थाल्छ र ब्रम्हाण्डमा भएका सकारात्मक महाउर्जा तथा महाशक्तिका दिव्य तरंगहरु आफूतिर आकर्षित गर्न सक्षम हुन्छ । परमात्मा तथा ब्रम्हाण्डसंग भएको दिव्य महाउर्जा तथा महाशक्तिको यस्तो दोहोरो आदान–प्रदानको अवस्थामा साधकको जीवनमा आफूले चाहेका सबै सकारात्मक तथा आफू र अरुकालागि कल्याणकारी लक्ष्यहरु पूरा हुन थाल्छन् किनकी मनुष्यले नाम जप साधनाको माध्यमबाट सर्वकल्णका लागि आफूले गरेको यो दिव्य योगदानको परिणाम स्वरुप आफूले गरेको मेहनेत तथा लगानी उ आफैंलाई तथा आफूतिरै फर्केर आउछ ब्रम्हाण्डको आकर्षणको नियम तथा ल अफ अट्रयाक्सनका अनुसार परमात्माको असीम कृपा तथा आशिर्वाद बनेर र यस्तो दिव्य क्षणमा उसले आफूले चाहेको तथा अपेक्षा गरेको भन्दा बढि इच्छा तथा आवश्यकताहरु अझ प्रवलताका साथ पूरा हुन प्रारम्भ हुन्छन् तथा सोचे भन्दा बढि बढोत्तरी तथा मेनिफेस्ट भएर आउछन् र साधकको वाहिरी तथा आन्तरिक दुवै जीवन पूर्णरुपमा सन्तुलित तथा व्यवस्थित, सहज, सरल, सफल  र सुफल हुन्छ । 

परमात्माका शव्द, नाम तथा मन्त्रहरु यति शक्तिशाली हुन्छन् कि यिनले मनुष्यको मन, मस्तिष्क तथा भावमा गडेर रहेका नयाँ र पुराना सबैप्रकारका नकारात्मक स्मृति, सोच, विचार, भावना, पिडा, डर, घृणा, अहंकार, असन्तोष, अस्वीकार, लोभ, मोह, इष्र्या आदि मानवीय विकार तथा क्लेशयुक्त बानी तथा आदतहरुलाई क्रमशः मेटाएर सकारात्मक सोच, विचार, भावना, बानी तथा आदतहरुको विकास गर्न र तिनलाई फैलाउन प्रारम्भ गर्दछन् । यो अवस्थामा मनुष्यको मन, मस्तिष्क तथा भावको सफाइ तथा शुद्धाइ गर्ने कामको प्रक्रिया प्रारम्भ हुन्छ किनकी नाम जप तथा मन्त्र उच्चाहरणका हरेक अक्षर–अक्षरले एकप्रकारको दिव्य महाशक्ति तथा महाउर्जा प्रष्फुटन गरेर साधकको शरीर हुदै ब्रम्हाण्डभरि महातरंगहरु फैलाइरहेका हुन्छन् । जसरी सुर्यको प्रकाशका किरणहरुको फैलावटले अन्धकारलाई पूर्णतः नामेट गरिदिन्छन् त्यसैगरि नाम जप तथा मन्त्र उच्चाहरणका हरेक दिव्य तथा शक्तिशाली महातरंगहरुले मनुष्यभित्र रहेका डर, तनाव, काम, क्रोध, लोभ, मोह, राग, द्वेष, क्लेश, अहंकार, हिंसा, असत्य जस्ता अन्धकारहरु र यसकासाथै ब्रम्हाण्डमा तैरिरहेका युद्ध, बिभिसिका, चित्कार, रुवाइ तथा क्रन्दनका नकारात्मक तरंगहरुलाई नामेट गरिदिन्छन् र सबैतिर परमात्माको महाशक्ति, महाउर्जा तथा महाप्रकाश फैलाइदिन्छन् । यस्तो दिव्य अवस्थाले केवल मनुष्यलाई मात्र लाभ नभएर १०८ वटै ब्रम्हाण्डका समुच्चा सृष्टिहरुलाइ नै लाभ मिल्दछ । यसैकारण सनातन अध्यात्मका महाग्रन्थहरुमा सर्वकल्याणका लागि सर्वजनहिताय, सर्वजनसुखायमा योगदान पुर्याउने शिद्ध आत्मा तथा चैतन्य चेतनाहरुको विराट महत्व र महिमाको विवरणहरु उल्लेख गरिएका छन् किनकी परमात्माको सानिध्य तथा आशिर्वाद प्राप्त एक शिद्ध योगी तथा तपस्वीहरुको तप तथा साधनाको महाशक्तिले ब्रम्हाण्डमा ठूलो हलचल र व्यापक फेरवदल ल्याइदिन सक्दछ र यो सकारात्मक हलचलले सबैको जीवन व्यवस्थापन तथा विकसित गराइदिन सक्दछ ।

नाम तथा मन्त्र जपको शक्ति र सुरुक्षा

सबै भगवान तथा देवी–देवताहरु निराकार, निर्गुण तथा अव्यक्त परमात्माका आकार, गुण तथा व्यक्त स्वरुप हुन् अर्थात यस ब्रम्हाण्डमा भएका शक्ति, उर्जा, शव्द, विषय, पदार्थ, वनस्पति, प्राणी तथा मनुष्य सबै नै स्वयं परब्रम्ह अर्थात परमात्मा हुन् र जुन भगवान तथा देवी–देवताहरुको नाप तथा मन्त्र जप गरेपनि उनै परमात्माको भक्ति तथा उपासना हो तसर्थ यी सबै अत्यन्तै उर्जावान, दिव्य, शक्तिशाली र हरप्रकारले सुरक्षा प्रदान गर्ने अदम्य क्षमता भएका छन् । परमात्माको शव्द वाचन, नाम जप तथा मन्त्र उच्चाहरण गर्दा प्रष्फुटित हुने दिव्य उर्जाशक्तिका तरंगहरुले साधकको वरिपरि एक प्रकारको अदृश्य महाउर्जाको दिव्य घेरा निर्माण गर्दछन् । परमात्माको महाउर्जाको यो दिव्य घेरा तोडेर वाहिरका कुनैपनि नकारात्मक शक्ति, विषय, घटना तथा विचारहरुले साधकलाई हानि पुर्याउन सक्दैनन् किनकी उक्त अदृश्य महाउर्जाको दिव्य घेरा स्वयं परमात्माको महाउर्जाको महाशक्ति हो र परमात्माको यही स्वरुपसंग निष्ठावान, आस्थावान, समर्पित साधक तथा भक्तहरु हरहमेसा परमात्माको सानिध्यमा रहिरहन्छन् । लगातार निष्ठापूर्वक नाम जपको प्रक्रियासंगै साधकको आन्तरिक जगत, वाहिरी जगत र उसको वरिपरिको उर्जाको अवस्था तथा गुणस्तरमा विस्तारै सकारात्मक बदलाव आउन प्रारम्भ हुन्छ । परमात्मा साधकको निष्ठावान, आस्थावान, समर्पित साधनाबाट प्रसन्न हुन्छ र परमात्माको कृपा तथा आशिर्वादले साधकका जीवनका कठिनाइ तथा चुनौतिहरु विस्तारै स्वस्फूर्त रुपमा हट्दै जान्छन् र उसको जीवनमा सहजता र सफलताहरु आउन थाल्छन् । परमात्मा साधक तथा भक्तसंग तव खुशी हुन्छ जव साधकले परमात्माका हरप्रकारका रचना, सिर्जना तथा सन्तानहरु तथा समुच्चा प्रकृतिलाई स्वच्छ, स्वस्थ र खुशी राख्ने प्रयत्न गर्दछ । कोहीपनि मनुष्य तवमात्र सहि अर्थमा अध्यात्म साधक तथा परमात्माको भक्त बन्न सक्दछ जव उसको अन्तरहृदयमा प्रेम, सेवा, दया, करुणा, दान, पुण्य, परोपकार, क्षमा, कृतज्ञता, सत्य, अहिंसा, सन्तोष, स्वीकार भाव तथा सबैप्रति सम्मान र समानताको भाव जाग्रीत हुन्छ र आफूले सकेसम्म सबैलाई स्वच्छ, स्वस्थ र खुशी राख्ने प्रयत्न गर्दछ । परमात्माको महाशक्तिमा आस्था, विश्वास, समर्पण भाव राख्ने यस्ता समर्पित भक्त तथा साधकहरुको सुरक्षा तथा भलाईका गर्नकालागि परमात्मामा भक्तको दुश्मनको मनमा बसेर उसको नकारात्मक भाव बदल्न सक्ने दिव्य क्षमता तथा शक्ति हुन्छ ताकि दुस्मनले आफ्नो भक्तलाई कुनै प्रकारको हानि पुर्याउन नसकोस् । परमात्माले दुस्मनको मन बदलेर भक्त समक्ष झुकाएर, क्षमायाचना र समझदारी गराएर उनीहरुको सम्वन्ध नयाँ किसिमले स्थपित गरिदिन पनि सक्दछ । भक्त तथा साधकलाई परमात्माको सानिध्य प्राप्त छ भने परमात्माले उसका वरिपरि त्यस्ता व्यक्तिहरु एकत्रित गरिदिन्छ तथा पठाइदिन्छ जसले भक्तका सबै कठिनाई तथा समस्याहरु समाधान गरेर उसलाई हरप्रकारका अप्ठ्यारा तथा चुनौतिहरुबाट वाहिर निकालिदिन सक्छन् । उक्त समयमा ति समुहका व्यक्तिहरुमा परमात्मा स्वयं उपस्थित भएको हुन्छ किनकी उ सर्वव्यापक छ र कणकणमा विद्यमान रहेको छ । यसरी नाम जप तथा मन्त्र उच्चाहरण साधनाको माध्यमबाट साधकले पलपलमा परमात्माको दिव्य महाशक्ति र प्रेमपूर्ण सुरक्षा प्राप्त गर्दछ । 


नाम तथा मन्त्र जप र मनोविज्ञान

सनातन धर्म, संस्कृति र शास्त्रहरुमा चर्चित भनाइ रहदै आएको छ, ‘कृष्ण–कष्ण नाम जप गर्दागर्दै राधा स्वयं कृष्ण बनिन्’ । सुफी साहित्यहरुमा पनि यस्तै सन्दर्भ जिकिर गरिएको छ, ‘लैलालैला कहते कहते मज्नु खुद लैला बनगया’ । आधूनिक मनोविज्ञानका वैज्ञानिकतामा आधारित अध्ययनहरुले पनि यस्तै नतिजाहरु वाहिर ल्याएका छन प्रामाणिक रुपमा कि मनुष्यले बारबार जस्तो प्रकारको विचार गर्दछ विस्तारै उसको व्यक्तित्व त्यस्तै प्रकारको बन्दै जान थाल्छ किनकी मनुष्यको विचार अत्यन्तै शक्तिशाली हुन्छ र उसको बानी, व्यवहार, आचरण, अनुशासन, वृत्ति तथा आदतहरु सबैमा विचारको प्रत्यक्ष प्रभाव पर्ने हुनाले उ स्वयं नै विचारकै प्रकृति अनुसारको बन्दै जान्छ क्रमिक रुपमा । सनातन अध्यात्म विज्ञान र आधुनिक मनोविज्ञान दुवैका अनुसार मनुष्यका विचारहरुको शक्ति सीमाहिन तथा अनन्त हुन्छ र उसको जीवनमा विचारको शक्तिको प्रभाव अत्यन्तै गहन र दुरगामी रुपमा पर्दछ उसको यो जन्मको जीवनको भविश्य र भविश्यका पुनरजन्महरुका जीवनसम्म । मनुष्यको शारीरिक तथा स्थुल बनावट जे जस्तो भएपनि वास्तविक मनुष्य भनेको मन तथा उसको मनोदशा हो तसर्थ उसले आफ्नो मनमा निरन्तर गरिरहने विचारहरुको शक्तिको प्रभावले उसको मानसिक तथा भावनात्मक अवस्थामा तिनै विषयहरु हुबहु उत्रिदै जान्छन् र उ त्यस्तै प्रकारको बन्दै जान्छ । मनुष्यले यसै तथा योजना बनाएर भगवानको नाम राम राम राम... जपिरहन्छ भने विस्तारै मानसिक रुपमा उभित्र उसको मनेविज्ञानमा भगवान रामका गुणहरु आउन थाल्छन् । त्यस्तै भगवानको नाम कृष्ण, कृष्ण, कृष्ण... जपिरहन्छ भने विस्तारै मानसिक रुपमा उभित्र उसको मनेविज्ञानमा भगवान कृष्णका गुणहरु आउन थाल्छन् किनकी भगवान तथा देवी-देवताहरुका नाम तथा मन्त्र उच्चाहरण गर्न प्रारम्भ गरेपछि सबैभन्दा पहिला साधकको मानसपटलमा सम्वन्धित भगवान तथा देवी-देवताहरुका कथा, कथामा कुंदिएका चरित्र तथा आकृतिहरु स्मरणमा झलझली आउन थाल्छन्, विस्तारै उसको मन तथा भावमा चलिरहेका विचार तथा भावनात्मक संवेगहरु कम हुदै जान थाल्छन्, मन शुन्यतातिर उन्मुख हुन्छ र उक्त शुन्य स्थानमा भगवान तथा देवी-देवताहरुका शक्तिशाली नाम तथा मन्त्रहरुले ठाउँ लिन्छन् र यही शुन्यतामा नाम तथा मन्त्र जप गरिएका भगवान तथा देवी-देवताहरुको प्रभाव साधकमाथि बढ्दै जान्छ क्रमिक रुपमा, यसकारण साधकमाा त्यस्तै गुणहरु देखापर्न थाल्छन् ।  भगवान तथा देवी–देवताका नाम तथा मन्त्रहरु अत्यन्तै शक्तिशाली हुन्छन् किनकी सनातन कालदेखि आजपर्यन्त अरवौंं मनुष्यहरुले अरवौंं पटक अरवौं राम्रा विचारहरु तथा सकारात्मक भावहरु राखेर पूजा, प्रार्थना, उपासना, स्मरण गर्दै कृपा तथा आशिर्वाद स्वरुप ग्रहण गर्दै आइरहेका हुनाले अत्यन्तै धेरै उपासकहरुको सकारात्मक भावका कारण भगवान तथा देवी-देवताहरुका शव्द, नाम तथा मन्त्रहरुमा विशेष प्रकारको अदभूत अनन्त दिव्य शक्तिको पुञ्ज तयार भएर रहेको हुन्छ । यी दिव्य शव्द, नाम तथा मन्त्रहरु अत्यन्तै सकारात्मक, शक्तिशाली, प्रभावशाली हुन्छन्, प्रभावकारीताले ओतप्रोत रहेका हुन्छन् र अत्यन्तै परिणाममुखी तथा उपलव्धिमूलक हुन्छन् । साधकले यी सर्वशक्तिमान दिव्य शव्द, नाम तथा मन्त्रहरुको जप तथा उच्चाहरण गर्न प्रारम्भ गर्ने वित्तिकै साधकको वरिपरि विशेष प्रकारको दिव्य शक्तिका अदभूत अनन्त पुञ्जहरु तरंगीत हुन थाल्छन् र उसलाई तुरुन्तै त्यसको लाभ मिल्न प्रारम्भ भैहाल्छ । यसरी दिव्य शव्द, नाम तथा मन्त्र जपको साधनाको सकारात्मक प्रभावले साधकको मनोविज्ञान शुद्ध तथा सकारात्मक बनाउछ । यही मनोविज्ञानका कारण परमात्माको नाम जप निरन्तर भैरहोस र आफ्नो मन तथा भावमा परमात्माको नाम स्मरण चलिरहोस् भन्ने भक्तिभावले समाजका कतिपय व्यक्तिहरुले आफ्ना छोराछोरी तथा संगी–सम्वन्धी, घरपालुवा प्राणी, वनस्पति तथा पदार्थहरुको सम्वोधन नै विभिन्न भगवान तथा देवी–देवताका नाम राख्ने गरेका थुप्रै दृष्टान्त हामीले सुन्दै, देख्दै र अनुभव गर्दै आइरहेका छौं । 

नाम तथा मन्त्र जपका सन्दर्भमा वैज्ञानिक खोज र नतिजा

नाम तथा मन्त्र जपको प्रामाणिक प्रभाव र जीवनमा रुपान्तरण
वर्तमान समयमा अधिकांश मनुष्यहरुको मन, मस्तिष्क, भाव भौतिक संसारको हल्लाखल्ला, भिडभाड, प्रतिस्पर्धा, बहस, संवाद, विवाद, भौतिकवाद, उपभोक्तावाद, विज्ञापन, प्रभाव, प्रतिस्पर्धा, देखासेखीले आक्रान्त भएको कारण उनीहरुको जीवनशैली असन्तुलित, अव्यवस्थित तथा अस्तव्यस्त रहदै आएको छ र यहीकारण अधिकांस समय उनीहरु तनाव ग्रस्त रहने गर्दछन् । अध्यात्म चिकित्सा विज्ञान, आधूनिक चिकित्सा विज्ञान, मनोचिकित्सा विज्ञान र मनोविज्ञान सबैका प्रामाणिक तथ्यांकहरु र हामी सबैको दैनिक व्यवहारिक अनुभवहरुका अनुसार तनाव नै मनुष्यको जीवनका सबै कठिनाइ, चुनौति, समस्या तथा अस्वस्थताहरुको प्रमुख कारण हो । यी अनावश्यक तथा बनाबटी तर मनुष्यको जीवनमा अत्यन्तै गहिरो नकारात्मक प्रभाव पार्नसक्ने कठिनाइ, चुनौति, समस्या तथा अस्वस्थताहरुको उचित समाधानका लागि नाम तथा मन्त्र जप साधना गर्नु अत्यन्तै प्रभावकारी र उपलव्धिमूलक रहेको समय–समयमा गरिएका विभिन्न वैज्ञानिक खोजका प्रामाणिक तथ्यांकहरुले उजागर गरेका छन् । एकाग्र भएर ध्यानपूर्वक कुनै एक मन्त्र, एक नाम तथा एक शव्द जप तथा उच्चाहरण गर्दा यसको शक्तिको सकारात्मक प्रभावका कारण मनुष्यको शरीर, मन, भावमा शुद्धता, सक्रियता तथा सन्तुलनता आउन प्रारम्भ हुन्छ र यसले मनुष्यलाई वाहिरी र आन्तरिक रुपमा स्थिरता, खुशी तथा शान्ति प्रदान गर्दछ र आत्मा अर्थात चेतनामा सचेतना तथा जागरुकता प्रदान गर्दछ । नाम तथा मन्त्र जपका प्रभाव तथा परिणामहरु अदृश्य हुन्छन् तर अत्यन्तै शक्तिशाली, प्रभावशाली, परिणाममुखी र उपलव्धिमूलक हुन्छन्, विस्तारै साधकको जीवनमा हरप्रकारका सकारात्मक रुपान्तरणहरु आउन थाल्छन् र उसलाई जीवनमा सुखी, खुशी, शान्त, आनन्दित भएको महसुस हुन्छ विगतको तुलनामा । साधकको जीवनमा वाहिरी उपलव्धिका रुपमा उसको दैनिक जीवनका गतिविधिहरु– अध्ययनमा प्रभावशालीता आउछ; पेशा तथा व्यवसायका काममा उत्पादनशीलतामा वृद्धि हुन्छ; आफूलाई अभिव्यक्त गर्ने तथा प्रस्तुति कलामा प्रभावकारिता आउछ; आरोग्यता हासिल हुन्छ; सम्वन्धहरु सुदृढ तथा सुमधूर हुन्छन्; मन तथा भावनामा प्रेम, दया, करुणा, सेवा तथा सर्वकल्याणको भाव जाग्रीत हुन्छ; शारीरिक तथा मानसिक स्वास्थ्य र स्फुर्ति बढ्छ आदि । त्यस्तै साधकको जीवनमा आन्तरिक उपलव्धिका रुपमा मनमा एकाग्रता, भावमा शान्ति तथा आनन्द छाएको महसुस हुन्छ र आत्मा अर्थात चेतनाको तहमा सचेतता तथा जागरण आएको अनुभव तथा अनुभूतिहरु क्रमशः बढ्दै जान्छन् र आफू र अरुले समेत  प्रत्यक्ष देख्न तथा अनुभव गर्नसक्ने गरि साधकको जीवनमा नाम तथा मन्त्र जपका अनन्त सकारात्मक प्रभावहरु देखिदै जान्छन् क्रमिक रुपमा ।
 

नाम तथा मन्त्र जप विज्ञान सम्मत छ 

सनातन अध्यात्म विज्ञानले प्राचीन कालदेखि नै धेरै प्रकारका प्रयोगात्मक खोज तथा अनुसन्धाहरु गरेर वैज्ञानिक प्रामाािणकताका साथ स्थापित गरिसकेका नाम जप तथा मन्त्र उच्चाहरण साधनाबाट प्रष्फुटित हुने शक्तिशाली ध्वनि तथा तरंगहरुका कम्पनहरुले साधकको जीवनमा आउने प्रभाव, परिणाम, लाभ तथा उपलव्धिहरुबारे आधूनिक भौतिक विज्ञानका विभिन्न शाखाहरुले त्यसउपर समय–समयमा थप गहन वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानहरु गरेर वैज्ञानिक रुपमा प्रमाणित गरेर यसका प्रामाणिक तथ्यहरु वाहिर ल्याएर सबैलाई स्पष्ट र सहजसंग बुझ्ने अवसर प्रदान गरेका छन् र अझ विश्वसनिय बनाइदिएका छन् । यसकासाथै ब्रम्हाण्डका सबैभन्दा सुक्ष्म इकाइहरुको अध्ययन गर्ने आधूनिक भौतिक विज्ञानको नवीनतम शाखा पमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का नवीनतम खोजहरुले सनातन अध्यात्म विज्ञानले हजारौं–हजार वर्षअघि मानव शरीरमा प्रयोगात्मक अभ्यास गरेर स्थापित गरेका वैज्ञानिकतामा आधारित प्रामाणिक तथ्यहरुलाई पुनः गहन तवरले अत्याधूनिक उपकरणहरुको प्रयोग गरेर खोज तथा रिसर्च, अध्ययन तथा अनुसन्धान गरेर अझ मजबुत, विश्वसनिय तथा प्रामाणिक ढंगले प्रस्तुत गरेका छन्, गरिरहेका छन् र गरिरहने छन् । यी नवीनतम नतिजाहरुसंगै भौतिक प्रमात्रा विज्ञानले अहिले आएर आफूलाई सनातन अध्यात्म विज्ञानकै कित्तामा उभ्याएको छ र प्रमात्रा विज्ञान नै अध्यात्म विज्ञान हो कि भन्ने अवस्थासम्म आजको युग अगाडि बढिसकेको छ र यो प्रगतिमूलक अवस्थाले सनातन अध्यात्म विज्ञानका तथ्यहरुमाथि विश्वास गर्नसक्ने अझ मजबुत आधारस्तम्भहरु खडा गरिदिएको छ । आधूनिक भौतिक विज्ञान र यसका नवीनतम शाखाहरुले सनातन अध्यात्म विज्ञानका शास्त्रमा उल्लेख गरिएका र शास्ताहरुका प्रत्यक्ष अनुभव तथा अनुभूतिलाई थप प्रामाणिकता प्रदान गर्न विश्वकै सबैभन्दा पूरानो संस्कृत भाषामा रचना गरिएका विभिन्न भगवान तथा देवी-देवताहरुका नाम जप तथा मन्त्र उच्चाहरण र सकारात्मक शव्द वाचनलाई केवल मनुष्यमा मात्र नभएर अरु प्राणी, वनस्पति तथा पदार्थहरु– पशुपंक्षी, पानी, वनस्पति, वालुवाका कण, दैनिक प्रयोगका सामग्रीहरुमा समेत वैज्ञानिक तवरले प्रयोगात्मक अभ्यास गरेर यी सबैमा सकारात्मक शव्द वाचन, नाम जप तथा मन्त्र उच्चाहरणको प्रत्यक्ष सकारात्मक प्रभाव पर्दछ भन्ने सनातन अध्यात्म विज्ञानकै खोजका नतिजा तथा मान्यताहरुलाई पुनः प्रमाणित, पुनः स्थापित र थप विश्वसनिय बनाएका छन् र अरु थप विषयहरुमा पनि निरन्तर यस्ता प्रयोगात्मक खोजमूलक कामहरु गर्दै आइरहेका छन् ।

वर्तमान समयमा आधूनिक मनोविज्ञानका विज्ञ, शिक्षक तथा प्रशिक्षकहरुले पनि मनुष्यको जीवनस्तर उकास्न तथा जीवन सहज, सरल, सफल बनाउनका लागि ब्रम्हाण्ड तथा प्रकृतिको आकर्षणको सिद्धान्त अनुसार राम्रा विषय तथा कुराहरु आफ्नो जीवनमा आकर्षित गर्न तथा मेनिफेस्ट गर्न अपनाइने सबै प्रक्रिया तथा विधिहरु उर्जाको यही सिद्धान्त तथा सकारात्मक शव्द वाचन, नाम जप तथा मन्त्र उच्चाहरण कै वरिपरि घुम्दछन् किनकी यी सबै गतिविधिहरुको मूल विषय तथा मूल सिद्धान्त नै नाम जप तथा मन्त्र उच्चाहरण हो कुनैनकुनै प्रकारले । यसकारण हिजोआज मनोविज्ञानका विज्ञ, शिक्षक तथा प्रशिक्षकहरुले समेत मनुष्यको जीवनस्तर उकास्न तथा जीवन सहज, सरल, सफल बनाउनका लागि सकारात्मक शव्द वाचन, नाम जप तथा मन्त्र उच्चाहरणका विधिहरु साथै योगीक साधनाका विधिहरु सिक्न र सिकाउन प्रारम्भ गरेका छन् ।

सनातन भूमि नेपाल र भारतमा आएर यहाँस्थित सिद्ध योगी तथा गुरुहरुसंग सनातन अध्यात्मका यी गुढ विद्याहरुको शिक्षण तथा प्रशिक्षणबाट सर्वप्रथम आफूले सिकेर आवश्यक ज्ञान आर्जन गरेर आ–आफ्नो देश तथा स्थानीय क्षेत्रहरुमा गएर अरुलाई सिकाएर समुच्चा विश्व र ब्रम्हाण्डलाइै नै लाभ पुग्नेगरि सवैको कल्याण हुने पुण्यका कार्यहरु गरिरहेका छन् निरन्तर । यहाँनेर हरेक सनातनीहरुका लागि गौरवका साथै अलिक लज्जाको अवस्था पनि देखिन्छ किनकी हामी सनातनीहरु आफ्नै विरासतका अमूल्य ज्ञान, विज्ञान, महाज्ञानलाई नचिनेर बहुमूल्य हिराको थुप्रोमाथि बसेर संसार समक्ष सहयोगको याचना गरिरहेका छौं तर पश्चिमका सनातन अध्यात्ममा रुचि भएका अध्यात्म साधकहरु हाम्रो विरासत सनातन अध्यात्म विज्ञानको महत्व र प्रभावकारितालाई चिनेर, बुझेर हामीकहाँ आएर, हामीबाटै सनातन अध्यात्मका गुढ ज्ञानविज्ञानहरु आर्जन गरेर आफ्नो जीवनमा उक्त महाज्ञानलाई निष्ठापूर्वक अनुशरण गरेर अरुलाई पनि सिकाएर यसको लाभ सारा विश्वमाभरि पुयाइरहेका छन् । हामीबाटै सिकेर उता पुगेको ज्ञान पूरा विश्व घुमेर यसको जानकारी तथा लाभका किस्साहरु हामी समक्ष नै आइरहेका छन् विभिन्न माध्यमहरुबाट फरक तथा अलग स्वरुपमा, जस्तो हाम्रै विरासत महाज्ञान ‘वेद’ ‘वेदा’ बनेर आएको छ हामी समक्ष; ‘योग’ ‘योगा’ बनेर, ‘ध्यान’ ‘मेडिटेसन’ बनेर, भगवान ‘राम’ ‘रामा’ बनेर, भगवान ‘कृष्ण’ ‘कृष्णा’ बनेर हाम्रा सामु आइपुगेका छन् र हामीमध्य अधिकांश सनातनीहरु हिजोआज यिनै शव्दावलीहरु प्रयोग गर्दै आइरहेका छौं हाम्रो दैनिक जीवनमा जानेर या नजानेर । हामी शुद्ध शव्द ‘योग’ भनेर उच्चाहरण गर्दैनौं अशुद्ध गरि ‘योगा’ उच्चाहरण गर्दछौं । त्यस्तै ‘ध्यान’ शव्दको अर्थ हामी राम्ररी बुझ्दैनौं, ‘मेडिटेसन’ भने मात्र राम्ररी बुझ्छौं... । यो अवस्थाको फेहरीस्त निकै लामो भैसकेको छ किनकी पूर्वीय सनातान अध्यामका ग्रन्थहरु, पूर्वीय भाषा संस्कृत हाम्रा शैक्षिक संस्थाहरुले अध्ययन, अध्यापन गर्न तथा गराउन छोडे तर विदेशका शिक्षण संस्थाहरु विद्यालयदेखि महाविद्यालयहरु सम्ममा अध्ययन गराउदै आइराखिएको छ निकै अघिदेखि नै ।




छिट्टै,
नाम तथा मन्त्र जपका वैज्ञानिक खोजका तथ्यांकहरु
भौतिक विज्ञान, मनोचिकित्सा विज्ञान र मनोविज्ञानका प्रयोगात्मक खोजहरु
अस्पतालमा बिमारीहरुमा गरिएको प्रयोग
व्यस्त सवारी चालकहरुमा गरिएको प्रयोग
प्राविधिक विश्वविद्यालयमा गरिएको प्रयोग
अनुसन्धान विषयका विद्यार्थीहरुमा गरिएको प्रयोग
नाम तथा मन्त्र जप र स्नायु प्रणालीमा प्रभाव 
नाम तथा मन्त्र जप र श्वास–प्रश्वासमा प्रभाव 
नाम तथा मन्त्र जप र भेगस नर्भमा प्रभाव

No comments:

Post a Comment