लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
सहज साधना विधि नाम जप किन सबैलाई सहज हुदैन
अध्यात्म साधनाका विविध विधिहरुमा नाम जप तथा मन्त्र उच्चाहरण अत्यन्तै सहज साधना विधि हो तर सबै मनुष्यका लागि भने यो उत्तिकै सहज नहुन पनि सक्छ । नाम तथा मन्त्र जप साधना सहज नहुनुमा दुरगामी प्रभाव पार्ने विगतका र तत्कालीन धेरै प्रकारका कारणहरु हुन सक्छन् । नाम तथा मन्त्र जप तथा समग्र अध्यात्म साधना सबै मनुष्यलाई आफूले चाहे अनुरुप सहज हुन नसक्नुका मोटामोटी रुपमा तीनवटा कारणलाई मुख्य मानिएको छ– (१)व्यक्तिगत जीवनशैली, (२)वातावरण तथा पर्यावरण, र (३)प्रारब्ध कर्म । मनुष्यको पुरै जीवन यिनै तीनवटा अवस्थाहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित, निर्देशित तथा नियन्त्रित भैरहेको हुन्छ जन्मदेखि मृत्युसम्म र मृत्यपछिको जीवनमा समेत । सनातन अध्यात्म दर्शनका अनुसार यी तीनवटा कारण तथा अवस्थाहरुले मनुष्यको समग्र जीवनलाई प्रभावित गर्ने हिस्सा तथा प्रतिशत पनि बराबर हुन्छ ३३–३३–३३ प्रतिशत ।
(१) व्यक्तितग जीवनशैली
‘व्यक्तिगत’ भन्नाले मनुष्यमा रहेको त्यस्ता विशेष प्रकारका स्वभाव तथा प्रकृतिहरु हुन् जुन अर्को व्यक्तिसंग हुबहु मेल खादैनन् र मेल खान नदिने मूलतत्व मनुष्यको विचारहरुको समुह मन हो । मनले मनुष्यको स्वभाव तथा प्रकृतिमा प्रत्यक्ष प्रभाव पार्दछ यसकारण संसारका हरेक मनुष्य एकअर्कोबाट अलग छन् तथा आ–आफनो व्यक्तिगत स्वभाव तथा प्रकृतिका छन् । प्रकृतिका पंचतत्वद्वारा निर्मित सबै मनुष्यहरुको स्थुल शरीरको शारीरिक बनावट उस्तै–उस्तै देखिन्छ । सबैसंग पाँच ज्ञानइन्द्रिय, पाँच कर्मइन्द्रिय, शरीरका वाहिय तथा आन्तरिक अंगहरु र तिनका नियमित काम गर्ने प्रणाली तथा प्रक्रियाहरु सबै मनुष्यका उस्तै प्रकारले चल्दछन् । मनुष्यको भौतिक पाटोमा पर्ने अंग र यिनका क्रिया तथा प्रक्रियाहरु स्थुल, दृश्य र सीमित दायराभित्र रहेका हुन्छन् तर मनुष्यको एघारौं अत्यन्तै महत्वपूर्ण इन्द्रिय ‘मन’ जो अनस्थुल तथा अभौतिक अर्थात सुक्ष्म, अदृश्य र असीमित तथा अनन्त हुन्छ । मनुष्यको मन कसैको कसैसंग मिल्दैन किनकी सनातन अध्यात्म विज्ञानका अनुसार मनुष्यका मनका सात तहहरु र आधूनिक मनोविज्ञानका अनुसार मनका तीन तहहरु– (१)चेतन, (२)अवचेतन, (३)अचेतन मनमा ब्रम्हाण्डको सृष्टि प्रारम्भ भएदेखि विभिन्न कालखण्डका प्रलय र उत्पत्ति ताकाका मनुष्यका जन्म–जन्मका अनुभव तथा अनुभूतिहरुका अनन्त सूचना तथा जानकारीका श्रींखलाहरु उसको मनका तहहरुमा तहगत परत बनेर संग्रहित भएर रहेका हुन्छन् उसका संचित कर्म तथा संस्कारहरुको रुपमा । यिनै संचित कर्म तथा संस्कारहरुले मनुष्यको मनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वर्तमान समयमा क्षणक्षण प्रभावित गर्दछन् । मनुष्यको मन जस्तो किसिमले प्रभावित भएको र तयार भएको हुन्छ उसको वर्तमानको जीवनशैली र समग्र जीवन नै त्यस्तै प्रकारको बन्दै जान्छ । आ–आफ्नै प्रकारको जीवनशैली तथा समग्र जीवनको मूल्य–मान्यताका कारण मनुष्यहरु एकअर्कोबाट फरक हुन्छन् किनकी उनीहरुको मनको संस्कार फरक–फरक प्रकारले तयार भएको हुन्छ जन्म–जन्मदेखि । मन जस्तो छ मनुष्य पनि त्यस्तै बन्ने हुनाले मन शव्दबाट नै मनुष्य शव्द बनेको हो, यसकारण मनुष्य शतप्रतिशत उसको मनको छायाँ हो अर्थात मन नै मनुष्य हो र मनुष्य नै मन हो ।
मनुष्यको मनमा जस्ता प्रकारका संस्कारहरु संग्रहीत भएर रहेका छन् अध्यात्म साधनाको सन्दर्भमा पनि उभित्र त्यस्तै प्रकारको दृष्टिकोण तयार हुदै जान्छ । कसैलाई अध्यात्म तथा धर्मप्रति गहिरो आस्था तथा विश्वास हुन्छ; आफ्नो आस्था र विश्वासका संस्कार तथा संस्कृतिहरुप्रति गहिरो रुचि तथा लगाव हुन्छ; कसैलाई कम रुचि तथा लगाव हुन्छ भने कसैलाई विलकुल आस्था, विश्वास, रुचि तथा लगाव हुदैन । अध्यात्मप्रति अनास्था, अविश्वास, अरुचि तथा लगाव नभएको मनोदशा तथा भावदशा भएका मनुष्यलाई अध्यात्म साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरु जतिसुकै सहज भएपनि, उसलाई जतिसुकै सिकाउन प्रयास गरेपनि, जतिसुकै सुविधाहरु उपलव्ध गराइदिए पनि उसलाई साधना गर्न सहज हुदैन किनकी उसको पूरानो तथा जन्म-जन्मको मनको संस्कार नै अध्यात्म मैत्री हुदैन यसकारण उ सहज ढंगले अध्यात्म साधनामा उत्रिन सक्दैन र अध्यात्मका सकारात्मक प्रभाव, परिणाम तथा उपलव्धिहरु हासिल गर्न सक्दैन । कुनै पनि मनुष्यमा अध्यात्म, धर्म, संस्कार तथा संस्कृतिप्रति आस्था, विश्वास, रुचि तथा लगाव वाहिरबाट जगाउन सकिदैन, यो उसको नितान्त आन्तरिक विषय हो जुन उसको मनको संस्कार अनुसार तयार भएको हुन्छ उसको अचेतन मनको गहिराइमा संचित भएर रहेका संस्कारहरुले निर्धारण गरे अनुसार । अध्यात्मप्रति वाहिरबाट जागेको तथा जगाइदिएको आस्था, विश्वास, रुचि तथा लगाव दिगो, प्रभावकारि र परिणाममुखी हुदैन किनकी वाहिरको ज्ञानले मनुष्यको अन्तरहृदयलाई स्पर्स गर्न सक्दैन र अन्तरहृदयमा स्पर्श नगरेको विषय सहज ढंगले अनुशरण गर्न सकिदैन र त्यसका सकारत्मक प्रभाव तथा उपलव्धिहरु जीवनमा सहजै उत्रिन सक्दैनन्, यो केवल अभिनय तथा ढोंग मात्र बन्न पुग्छ यसकारण हरकोही मनुष्यकालागि अध्यात्म साधना सहज हुदैन र जति प्रयत्न गरेपनि उ साधनामा अभ्यस्त हुन सक्दैन ।
आफ्नो जीवनको यस्तो अवस्थामा बदलाव ल्याउन मनुष्य स्वयंले मात्र पहल गर्नसक्छ र यो उ स्वयंको चाहनामा भर पर्दछ किनकी उसको समग्र जीवनको ३३ प्रतिशत गतिविधिहरु उसको व्यक्तिगत जीवनशैलीमा निर्भर रहेको हुन्छ र यस सम्वन्धि सम्पूर्ण निर्णयहरु उसकै नियन्त्रणमा हुन्छन् के गर्ने या नगर्ने; कसरी र कति ग्रहण गर्ने या ग्रहण नगर्ने; अरुको अनुशरण गर्ने या आफैंले स्वाध्याय गरेर आफ्नो वुद्धि, विवेक, प्रज्ञा जगाउने आदि । मनुष्यले आफ्नो जीवनलाई आफूले चाहे अनुसार सहज बनाउनकलागि आफ्नो नियन्त्रणमा रहेको ३३ प्रतिशतमा काम गर्नुपर्दछ र यही ३३ प्रतिशत वर्तमान समयमा सहि ढंगले परिचालन गर्न सक्यो भने विस्तारै उसको ३३+३३=६६ प्रतिशत जीवन पनि आफैं सहि हुदैहुदै जान्छ यस जन्मको भविश्य तथा भविश्यका पुजरजन्महरुका लागि किनकी सकारात्मक कर्महरुले सकारात्मक पृष्ठभूमि तयार गर्दै जान्छन् । मनुष्यको आफ्नो नियन्त्रणमा रहेको ३३ प्रतिशत उसको वर्तमानको मन हो, आफ्नो मनको सहि व्यवस्थापनबाट मात्र मनुष्यले आफूले चाहेको सकारात्मक, आध्यात्मिक, स्वस्थ, शुद्ध, सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित, सक्रिय, जाग्रीत, प्रतिष्ठत, सन्तुतिल तथा व्यवस्थित जीवन जीउन सक्दछ यो जन्म र आउने पुनरजन्महरुमा । तसर्थ मनुष्यको भाग्य मनुष्य स्वयंकै हातमा छ किनकी आजको कर्म नै भविश्यको जीवन हो अर्थात वर्तमान जन्ममा गरिएका सकारात्मक कर्महरुले भविश्यमा हुने पुनरजन्मका जीवनहरुलाई सहि दिशानिर्देश गर्दछ जसरी मनुष्यको हिजोको अर्थात विगतका जन्मका कर्महरुले वर्तमानको जीवनलाई दिशानिर्देश गरिरहेको छ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा । मनुष्यको कर्म कुनै अलग विषय होइन, उसको मन तथा भावमा निरन्तर चलिरहने सोच, विचार तथा भावनात्मक संवेगहरु नै उसका कर्म हुन् । सनातन अध्यात्म दर्शनको मूल ग्रन्थ तथा वेदको सार श्रीमद् भगवद् गीतामा मनुष्यको कर्मको मूलआधार तथा मूलश्रोत मनुष्यकै सोच, विचार, भाव तथा नियतलाई मानिएको छ किनकी कर्म गर्नुपूर्व के कर्म, कसरी, कहिले, कति, किन, केकालागि गर्ने भन्ने सबै विषयहरु उसको सोच, विचार, भाव तथा नियतले तय गर्दछ र यिनै सोच, विचार, भाव तथा नियतहरुको संयोगको सामुहिक स्वरुप नै मन हो र मन नै मनुष्य हो । भगवान श्रीकृष्णले भन्नुभएको छ, “मनुष्यको मननै स्वर्ग र नर्कको द्वार हो ।” अर्थात मनले नै मनुष्यलाई उचाइमा पुर्याउछ र मनलेनै उसलाई नर्क, दुःख, पापको खाडलमा खसाउछ, तसर्थ सबैभन्दा पहिला आफले प्राप्त गरेका जानकारी, सूचना, ज्ञान, वुद्धि, विवेक, तर्कको सहि सदुउपयोग गरेर आफ्नो मनको व्यवस्थापन गरौं, मनले नै जीवनका सबै आयामहरुलाई व्यवस्थित गर्दछ र आफ्नो सहज जीवनका लागि आवश्यक सबै कामहरु गर्न शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयामहरु तथार गर्दछ ।
(२) वातावरण तथा पर्यावरण
वातावरण: वातावरण भन्नाले मनुष्यको वरिपरि तथा निकटमा रहेका परिवार, साथीसंगत, समाज, सम्प्रदाय, संस्कार, संस्कृति, लैंगिक संस्कार, शिक्षा, पेशा, व्यवसाय, सेवा, राजनीति आदि बुझिन्छ । मनुष्यको मन, भाव तथा नियत जस्तो प्रकारको छ उसको वरिपरि त्यस्तै प्रकारको वातावरण आकर्षित हुदै जान्छ र आफ्नो वरिपरिको वातावरण जस्तो छ त्यही अनुसार नै मनुष्यको जीवनशैली, आस्था, विश्वास, संस्कार, संस्कृति बन्दै जान्छ उसले चाहेर या नचाहेर, जानेर या नजानेर किनकी मनुष्यको नयाँ कुरा सिक्ने तथा जान्ने रुचि तथा प्रकृतिका कारण उ वाहिरी वातावरणबाट अत्यन्तै छिट्टै प्रभावित हुने प्रजाति हो । यसैकारण एउटै माता–पिता, एउटै घरव्यवहारको माहोल, एकै प्रकारको आहार आदि भएपनि फरक प्रकारको वातावरणमा हुर्कदै जाने क्रममा हरेक व्यक्तिको सोच, विचार, भाव, दृष्टिकोण फरक बन्दै जान्छ र उसको पुरै जीवनशैली नै उसको व्यक्तिगत दृष्टिकोण अनुसार निर्धारित हुदैजान्छ । यस्तो अवस्थामा एकजनालाई सहि लागेको, सजिलो लागेको तथा मनपरेको विषय अर्को जनालाई त्यस्तै नलाग्न सक्छ र अर्को जनालाई सहि, सहज लागेको तथा मनपरेको विषय अर्कोलाई त्यस्तै नलाग्न सक्छ । प्राय सबै मनुष्यहरुको संगत तथा उठबस आफू जस्तै स्वभाव तथा प्रकृति भएका साथीसंगी, समाज, सम्प्रदाय, संस्कार, संस्कृति, लैंगिक संस्कार, शिक्षा, पेशा, व्यवसाय, सेवा, राजनीति आदितिर आकर्षित हुदै र नजिकिदै जाने हुनाले वर्तमान जीवनमा उसको सोच, विचार, भाव, बानी, व्यवहार, आचरण, कर्महरु त्यस्तै प्रकारले विकास हुदै जान्छन् र उसको जीवनशैली तथा समग्र जीवन नै त्यस्तै प्रकारको तयार हुन्छ । उसको मन, भाव तथा नियतको अवस्था अनुसारकै उसको वरिपरिको वातावरण हुनेहुनाले यस्तो माहोलबाट उसले आफूलाई चाहेर पनि अलग राख्न सक्दैन किनकी उसको मन, भाव तथा नियतले बारबार उसलाई त्यतैतिर खिचिरहन्छ भित्र कतै यो सहि होइन भन्ने जान्दाजान्दै पनि । यदि मनुष्यकको व्यक्तिगत जीवन तथा उसको जीवनसंग सम्वन्धित वरिपरिको वातावरण परिवार, साथीसंगत तथा उठबस गर्ने समाज अध्यात्मप्रति आस्था, विश्वास, रुचि तथा लगाव भएका छन् भने र उसको व्यक्तिगत बानी, व्यवहार तथा समग्र जीवनमा अध्यात्म, धर्म, संस्कृति तथा संस्कारप्रति आस्था, विश्वास, रुचि तथा लगाव रहेको छ भने उसलाई सबै प्रकारका अध्यात्म साधनाको अभ्यास गर्न सहज हुन्छ, शुरुशुरुमा केही मुस्किलहरु आएपनि विस्तारै अभ्यस्त हुदैजान्छ तर यदि उसको वातावरण र त्यसको प्रभाव परेको आफ्नो जीवनशैली अध्यात्म, धर्म, संस्कृति तथा संस्कार मैत्री हुनेगरि विकास भएको छैन भने उसलाई जप तथा मन्त्र साधना तथा कुनै पनि अध्यात्म साधना गर्न सहज हुदैन चाहे साधना नाम तथा मन्त्र जप जस्तो अत्यन्तै सहज तथा व्यवहारिक किन नहोस् किनकी मनुष्यको जीवनमा ३३ प्रतिशत नियन्त्रण उसको वरिपरिको वातावरण तथा पर्यावरणको रहेको हुन्छ र यी अवस्थाहरुमा उसको नियन्त्रण हुदैन बरु उ स्वयं नै आफ्नो वरिपरिको वातावरण तथा पर्यावरणको नियन्त्रणमा रहेको हुन्छ । यस्तो माहोलमा आफ्नो मनोदशा तथा भावदशा अध्यात्म मैत्री छैन भने उ आफू त साधना गर्दैन नै अरुले गरेकामा समेत प्रतिक्रिया व्यक्त गर्दछ अनास्था, अविश्वास, अन्धविश्वास आदि विषयको हवाला दिएर ।
पर्यावरण: पर्यावरण भन्नाले मनुष्य जन्मिएको, हुर्किएको तथा उसले आफ्नो जीवनको अधिकांश समय व्यतित गरेको भौगोलिक, प्राकृतिक तथा पर्यावरणीय अवस्था भन्ने बुझिन्छ । मनुष्य सहज तथा असहज, राम्रो तथा नराम्रो, स्वस्थ तथा अस्वस्थ कस्तो भौगोलिक स्थल, प्राकृतिक अवस्था तथा पर्यावरणीय परिस्थितिमा हुर्किएको तथा जीवनयापन गरिरहेको छ यस्तो अवस्थाले उसको व्यक्तिगत जीवनशैली तथा समग्र जीवनमा प्रत्यक्ष प्रभाव पार्दछ र यस्तो अवस्थामा उसको वर्तमान जीवनशैलीका साथसाथ शारीरिक अवस्था, मनोदशा, भावदशा तथा चेतनात्मक जागरुकताको अवस्था पनि त्यस्तै प्रकारको बन्दै जान्छ । यस्तो अवस्थामा उसले उसको वर्तमान पर्यावरणसंग मेलखाने प्रकारको अध्यात्म साधना मात्र गर्नसक्छ । यदि उ रहेको स्थानको प्रकृति तथा पर्यावरण दुषित तथा अस्वस्थ प्रकारको रहन्छ संधै भने उसलाई कतिपय अध्यात्म साधनाका प्रक्रिया तथा विधिहरु गर्न असहज हुन्छ र स्वस्फूर्त रुपमा मनुष्य स्वयं नै त्यही भूगोल, प्रकृति तथा पर्यावरणमा उपयुक्त हुने प्रकारका अध्यात्म साधनाहरु मात्र गर्न रुचि राख्दछ तथा रुचि नै नराख्न पनि सक्छ अवस्था तथा परिस्थिति अध्यात्म मैत्री नभएका कारण ।
(३) प्रारब्ध कर्म तथा पूर्व जन्मको संस्कार
कतिले सोध्ने गर्दछन् कि मनुष्यको जीवन र जीन्दगीमा के फरक छ ? मनुष्यको अनुभव तथा अनुभूतिका दृष्टिकोणले यी दुवै शव्दवलीको अर्थ एकै हो तर सनातन अध्यात्म दर्शनमा यी दुई शव्दावलीलाई फरक प्रकारले गहनताकासाथ अर्थ लगाइएको छ । सनातन शास्त्रहरुका अनुसार मनुष्य जीव+आत्माको संयुक्त रुवरुप जीवात्मा हो । आत्मा अमृत तथा नित्य छ जो स्वयं परमात्मा अर्थात पुरुषको अंश हो तर जीव नाशवान, परिवर्तनशील तथा अनित्य छ जो प्रकृतिको अंश हो । आत्मा यात्री हो र जीव आत्माको सवारी तथा यात्रा गर्ने उपकरण हो । आत्माले निरन्तर यात्रा गर्ने क्रममा सयौं, हजारौं जीवरुपी सवारी फेर्दै अगाडि बढिरहेको हुन्छ । आत्माले उपयोग गरेको हरेक जन्मको सवारी तथा जीव जीन्दगी हो र यस्ता धेरै जीव तथा जीन्दगीहरुको सामुहिक स्वरुप तथा मनुष्यको जन्म–जन्मको अनुभव तथा अनुभूतिहरुको संग्रह जीवन हो । जन्म–जन्मको आफ्नो लामो जीवनकालमा मनुष्यले राम्रा तथा नराम्रा, पुण्य तथा पाप, संस्कार तथा कुसंस्कार आदि धेरै प्रकारका कर्महरु गर्दै आइरहेको छ । सनातन शास्त्रमा उल्लेख गरिए अनुसार मनुष्यले जन्म–जन्ममा गरेका कर्महरुलाई तीन किसिममा विभाजन गरिएको छ– (१)संचित कर्म, (२)प्रारव्ध कर्म, र (३)क्रियमाण कर्म र मनुष्यको वर्तमान समयमा तथा समग्र जीवनमा यी कर्महरुको ३३ प्रतिशत नियन्त्रण तथा पकड रहेको हुन्छ, उसले चाहेर पनि यी कर्महरुको प्रभावबाट बच्न तथा यिनलाई फेरबदल गर्न सक्दैन । मनुष्यले पूर्वजन्मका सबै जीवनहरुमा गरेका कर्महरुको एकमुष्ट संग्रहित रुप संचित कर्म हो जो मनुष्यको अचेतन तथा पूर्ण चेतन मनमा संग्रहित भएर रहेका हुन्छन् र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संचित कर्महरुले मनुष्यको वर्तमान मन, भाव, चेतना र शरीरमा प्रभाव पार्दछन् । वर्तमान जन्ममा गरिएको नयाँ कर्महरु क्रियमाण कर्म हुन्, यी कर्महरु पनि चेतन मनबाट अवचेतन मन हुदै अन्त्यमा अचेतन तथा पूर्ण चेतन मनमै संग्रहीत भएर बस्दछन् र संचित कर्म नै कहलाउछन् । पूर्वजन्महरुमा र वर्तमान जन्ममा गरिएका कर्महरु जो कर्मचक्रको सिद्धान्त अनुसार मनुष्यको जीवनमा फल तथा परिणाम दिन तयार अवस्थामा रहेका तथा पाकेका कर्महरु प्रारब्ध कर्म हुन् जसलाई मनुष्यको भाग्य तथा नियतिका रुपमा पनि अर्थ लगाउदै आइएको छ ।
मनुष्यका प्रारब्ध तथा फल दिन तयारी अवस्थामा रहेका पाकेका कर्महरुले उसलाई प्रत्यक्ष प्रभाव पार्दछन्, प्रारब्ध कर्महरुले दिने घटना र त्यसको अनुभवलाई मनुष्यले चाहेर पनि टार्न, त्यसबाट पछाडि हट्न, त्यबाट दुर भाग्न, त्यसबाट आफूलाई सुरक्षित राख्न सक्दैन, हरहालमा प्रारब्ध कर्मको अनुभव मनुष्यले भोग्नै पर्दछ किनकी जतिसुकै प्रयासका बावजुत पनि त्यो भएरै छाड्छ जुन कर्म पाकिसकेको छ र परिणाम तथा फल दिन तयारी अवस्थामा छ । प्रारब्ध कर्म अकाट्य भएकै कारण यसलाई भाग्य तथा नियति भन्ने गरिएको हो । प्रारब्ध कर्म पुण्य प्रकृतिका तथा सकारात्मक प्रकारका छन् भने मनुष्यको जीवनमा तिनले दिने फल तथा परिणाम सकारात्मक प्रकारका हुन्छन् र यिनले मनुष्यलाई आराम, स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द, समृद्धि, सफलताको अनुभूति प्रदान गर्दछन् जसलाई भाग्य भनेर सम्वोधन गरिन्छ । तर प्रारब्ध कर्म पाप प्रकृतिका तथा नकारात्मक प्रकारका छन् भने मनुष्यको जीवनमा तिनले दिने फल तथा परिणाम पनि नकारात्मक प्रकारका नै हुन्छन् र यिनले मनुष्यलाई दुःख, पिडा, गरिवी, अज्ञानता, रोग, बेचैनी, असफलता, तनाव, अशान्ति, विषाद, अवषाद, विक्षिप्तता, पागलपनको अनुभूति प्रदान गर्दछन् जसलाई दुर्भाग्य भनेर सम्वोधन गरिन्छ । कर्मचक्र, कर्म सिद्धान्त तथा प्राकृतिक न्यायको नियम तथा सिद्धान्त अनुसार प्रारब्ध कर्म सुयोग्य र तटस्थ न्यायधिस हो किनकी मनुष्यले आफ्ना अघिल्ला जन्महरुमा आफ्ना कर्महरुको माध्यमबाट आफूले अरुलाई जस्तो प्रकारको सुखानुभूति तथा दुखानुभूति दिएको छ त्यो कर्म पाकेपछि आफूलाई पनि ठिक त्यस्तै प्रकारको अनुभूति गराएर प्रारब्ध कर्मले दुधको दुध, पानीको पानी छुट्याएर तराजु पल्ला कतै कम तथा बढि नझुकाइकन मनुष्यको न्याय र अन्यायको फैसला गरेर उसको कर्मको चुक्तारा तथा व्यवस्थापन गर्दछ र उसको आत्मालाई त्यो कर्मबाट सफाइ दिलाएर अगाडि बढ्न अवसर प्रदान गर्दछ । यसकारण जीवनमा दुःख आउनु दुर्भाग्य होइन गहिराइमा हेर्ने हो भने यो भाग्य तथा सौभाग्य हो जसले मनुष्यको आत्मा अर्थात चेतनाको विकास गर्न मद्धत गर्दछ ।
महर्षि वेदव्यासले धर्म र कर्मको व्यवहारिक परिभाषा गर्दै भन्नु भएको छ, “परोपकार पुण्याय पापाय परपिडनम ।” अर्थात अरुको परोपकार गर्नु पुण्य कर्म तथा मनुष्यको मानवीय धर्म हो र अरुलाई पिडा दिनु तथा पिर्नु पाप कर्म तथा मनुष्यको अमानवीयता तथा अधर्म हो । सबै मनुष्यको जीवनमा भाग्य र दुर्भाग्य दुवै अवस्था आउछन् किनकी उसले जानेर या नजानेर आफ्ना जन्म-जन्मका जीवनहरुमा साना तथा ठूला पुण्य र पाप दुवै प्रकारका कर्महरु गरेको हुन्छ र ती सबै कर्महरु उसको अचेतन तथा पूर्णचेतन मनमा संग्रहीत भएर पाक्ने तथा परिपक्व हुने समय कुरेर बसिरहेका हुन्छन्, तिनै कर्महरु सयौं जन्मपछि पनि प्रारब्ध कर्म बनेर मनुष्यको जीवनमा आउछन् र आफ्नो फल तथा परिणाम दिन्छन् अनिवार्य रुपमा किनकी प्रकृतिमा क्रियाको प्रतिक्रिया अर्थात एक्सनको रियाक्सन हुन्छ नै हुन्छ ढिलोचाँढो । मनुष्यको जीवनमा पुण्य कर्मका संचितिहरु धेरै छन् भने भाग्य तथा खुशीका अवस्था तथा अनुभूतिहरु धेरै आउछन् तर पाप कर्मका संचितिहरु धेरै छन् भने दुर्भाग्य तथा दुःख, पिडाका अवस्था तथा अनुभूतिहरु धेरै आउछन् । यदि कसैको जीवनमा नकारात्मक तथा पाप प्रकृतिका प्रारब्ध कर्महरु धेरै रहेका छन् भने यस्तो मनुष्यको जीवनमा अवरोध तथा अप्ठ्याराहरु धेरै आउछन् र यस्ता अवरोध तथा अप्ठ्याराहरुले सबैभन्दा बढि नकारात्मक प्रभाव अध्यात्म साधनामा पार्दछन् यसकारण सबै मनुष्यहरुका लागि अध्यात्म साधना सहज हुदैन किनकी अध्यात्म साधना गर्न मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयामका अवस्थाहरु सहज, स्वस्थ, सन्तुलित तथा व्यवस्थित भएको हुनुपर्दछ तर मनुष्यको प्रारब्ध कर्मले मनुष्यका यी सबै आयामहरुलाई खल्बल्याइदिन्छ र उसको अध्यात्म साधनाका साथै जीवनका अन्य महत्वपूर्ण कार्यहरुमा समेत अवरोध तथा कठिनाइहरु खडा गरिदिन्छ । तर मनुष्यलाई थाहा हुदैन के कारण उसको अध्यात्म साधना तथा जीवनका महत्वपूर्ण कार्यहरुमा कठिनाइ तथा अवरोध भैरहेको छ भनेर । मनुष्यको प्रारब्ध कर्म अनुसार उसको अध्यात्म साधनामा अवरोध आउनु पर्नेछ भने त्यस्तो कर्म हरहालमा आएरै, भएरै र मनुष्यलाई त्यसप्रकारको अनुभव दिएरै छाड्छ जसले उसलाई साधनाबाट केही समय तथा लामो समयको लागि दुर गरिदिन सक्छ । केही घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशकदेखि एक जन्म तथा जन्म-जन्मभरि नै पनि प्रारब्ध कर्मको प्रभाव रहनसक्छ मनुष्यको जीवनमा, जस्तो शारीरिक, मानसिक तथा भावनात्मक असाध्य बिमारी, जेलको सजाय, परिवारबाट बिच्छेद, सम्वन्धबाट बिच्छेद, समाजबाट बिच्छेद, देशबाट बिच्छेद आदिले मनुष्यलाई लामो समय अन्योलमा अल्झाइदिन्छ तथा भुलाइदिन्छ र यस्तो अवस्थामा मनुष्यले चाहेर पनि एकाग्र तथा एकचित्त भएर अध्यात्म साधना गर्न सक्दैन र एकाग्रता बिनाको अध्यात्म साधन प्रभावकारी, परिणाममुखी तथा उपलव्धिमूलक हुन सक्दैन र मनुष्य अध्यात्मको अमृतरसबाट सदा बन्चित रहिरहन्छ ।
No comments:
Post a Comment