लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
अत्यन्तै सान्दर्भिक प्रेरक प्रसंग
श्रद्धेय विवेकानन्द स्वामीज्यू संयुक्त राज्य अमेरीकामा आयोजना गरिएको आध्यात्मिक जागरण कार्यक्रमका दौरानमा खचाखच भरिएको सभाकक्षमा सनातन अध्यात्म र मनुष्यको सहज जीवनका बारेमा प्रवचन दिरहनु भएको थियो । प्रवचनको विचविचमा वहाँले बारबार भगवानको नाम स्मरण गरिरहनु भएको थियो र प्रवचनको विषयलाई निरन्तरता दिरहनु भएको थियो । प्रवचन प्रारम्भ भएको केही मिनेटपछि एकजना अमेरिकी सहभागिले कसैको अनुमति नलिकन माइक समातेर भद्र किसिमले भने, “स्वामीजी तपाईं आफ्नो प्रवचनलाई मात्र निरन्तरता दिनुहोस् किन बारबार तपाईंको भगवानको नाम लिराखेर समय नोक्सान गरिरहनु भएको छ ? यसको केही अर्थ छैन, भगवानको नाम उच्चाहरण नगरीकन प्रवचन गर्नुहोस् कृपया ।” सभाकक्षमा सन्नाटा छायो तर केहीले माइकमा बोल्ने व्यक्तिप्रति असन्तोष व्यक्त गरे, भगवानको नाम उच्चारहणमा विरोध गरेको र बिना अनुमति विचमा बोलेर प्रवचनमा अवरोध गरेकोमा । केही बेरको सन्नाटापछि अगाडि स्टेजबाट एउटा भद्र तर स्पष्ट आवाज आयो र सभाकक्षभरि गुञ्जियो, “तपाईं मुर्ख हुनुहुन्छ” । यो आवाज स्वामी विवेकानन्दको थियो । प्रवचन गर्ने गुरुको मुखबाट यस्तो प्रतिक्रिया सुनेर सभाकक्षमा सन्नाटा छायो, माइक पक्डेका व्यक्तिले प्रतिक्रियात्मक शैलीमा सवाल गरे, “स्वामीजी तजाईं त अध्यात्म गुरु हुनुहुन्छ, किन यस्तो नकारात्मक भाव सम्प्रेषण गर्ने शव्द प्रयोग गर्नु भएको, अरुको मानसिकता र भावनामा चोट पुग्ने गरि !?” तव स्वामी विवेकानन्दले भन्नु भयो, “तपाई अत्यन्तै विवेकशील र राम्रो व्यक्ति हुनुहुन्छ, तपाईंले सभाकक्षमा रहेका सबै सहभागीहरुको प्रतिनिधि सवाल गर्नुभयो र मलाई यो विषय स्पष्ट गर्ने मौका दिनुभयो साथै सहभागीहरुलाई यो विषयबारे जान्ने अवसर प्रदान गर्नुभयो, तपाईंलाई धेरै धन्यवाद ।” स्वामीजीको वाणीबाट नकारात्मक शव्द ‘मुर्ख’ सुनेर सबै सहभागि र पूरै सभाकक्षमा उदाषी छाएको थियो र नकारात्मक उर्जाको संचार भएको थियो तर फेरी वहाँको वाणीमा सकारात्मक शव्द ‘विवेकशील’, ‘राम्रो व्यक्ति’ ‘मौका’, र ‘अवसर’ भनिएको सुनेर सबै सहभागि र पूरै सभाकक्षमा तुरुन्तै उत्साह छायो र सकारात्मक उर्जाको संचार भयो । केहीबेरको मौनपछि स्वामी विवेकानन्दले सबैलाई सम्मानपूर्वक सम्वोधन गर्दै भन्नुभयो,
“मैले ‘मुर्ख’ शव्द तपाईंकोलागि प्रयोग गरेकै होइन महासय, मैले तपाईको मूल्यवान सवालको कदरस्वरुप तपाईंको सवालको जवाफ दिएको हो कि भगवानको नाम तथा सकारात्मक शव्दमा कति शक्ति हुन्छ, यसले के गर्न सक्छ भनेर बुझाउने प्रयास गरेको हुँ । कुनै पनि सकारात्मक शव्द र त्यस शव्दको प्रयोगको अत्यन्तै ठूलो अर्थ र महत्व रहेको हुन्छ । सायद तपाईंले पनि ख्याल गर्नु भयो होला, मैले त प्रत्यक्ष रुपमा देखिरहेको छु र अनुभूति पनि गरिरहेको छु कि मैले ‘मुर्ख’ नकारात्मक शव्द प्रयोग गर्दा तपाईंको आभामण्डल तथा उर्जा क्षेत्रको फैलावट घट्यो, उर्जाको रंग छरियो र रंग धमिलो भयो; सबैको चेहरामा उदाषी छायो, प्रश्न र शंका उव्जियो, मानसपटलमा सन्नाटा र दुविधा छायो; यहाँ उपस्थित व्यक्तिहरुको र पूरै सभाकक्षको आभामण्डल तथा उर्जा क्षेत्रको फैलावट घट्यो, उर्जाको रंग छरियो र रंग धमिलो भयो । तर मैले ‘विवेकशील’ र ‘राम्रो व्यक्ति’ सकारात्मक शव्द उच्चाहरण गर्दा यसको ठिक विपरित सबैतिर सकारात्मक अवस्था बन्यो, सबैमा उत्साह र उत्प्रेरणा छायो, सबैको र सभाकक्षको आभामण्डल तथा उर्जा क्षेत्र एकत्रित भयो, उर्जाको रंग एकदम राम्रो र स्पष्ट भयो किनकी भगवानको नाम, मन्त्र र सकारात्मक शव्दमा अलौकिक शक्ति हुन्छ, जस्तो आमीन, इशा, मसिह, जिसस, मदर मेरी, क्रस, वाइवल, चर्च शव्दहरु सुन्दा, देख्दा, स्मरण गर्दा सबैको मानसिकता तथा भावक्षेत्रमा दिव्यताको अनुभूति संचारित हुन्छ । भगवानका यी नाम तथा शव्दहरु बारबार उच्चाहरण गरिरहदा नाम उच्चाहरण गर्ने व्यक्तिमा र उ वरिपरि रहेका प्राणी, वनस्पति, वस्तु तथा समग्र वातावरणमा सकारात्मक उर्जा संचारित हुन्छ र अदृश्य रुपमा एउटा शक्तिशाली उर्जा तरंगको पुञ्ज तयार हुन्छ जसले हरप्रकारका नकारात्मकताहरुबाट सबैलाई सुरक्षा प्रदान गर्दछ; मनुष्यको मन, मस्तिष्क, भावबाट सबै प्रकारका नकारात्मकताहरु दुर गर्दछ; वरिपरिको वातावरणीय उर्जा स्वच्छ राख्दछ; मनुष्यको शरीरमा स्फुर्ति, मनमा खुशी, भावमा शान्तिको महसुस तथा अनुभूति हुन थाल्छ र आत्मा अर्थात चेतनामा सचेतता तथा जागरण पैदा हुन्छ किनकी भगवानका नाम तथा सकारात्मक शव्दहरुको प्रभाव अत्यन्तै दिव्य र दुरगामी हुन्छ ।”
“तपाईं मुर्ख हुनुहन्छ भन्दा यो शव्दले बोल्ने, सुन्ने र सम्वन्धित व्यक्ति तथा पदार्थहरुको समेत उर्जाको तह घटायो किनकी यो नकारात्मक शव्द हो तर तपाईं विवेकशील र राम्रो व्यक्ति हुनुहुन्छ भन्दा सबैको उर्जाको तह बढ्यो किनकी यो सकारात्मक शव्द हो । त्यस्तै भगवानका सबै नाम, संस्कृतका सबै मन्त्र, सबै सकारात्मक शव्द तथा वाक्यहरु अत्यन्तै सकारात्मक उर्जा भएका हुन्छन् भन्ने शाश्वत सत्यलाई आधूनिक समयमा वैज्ञानिकताका आधारमा गरिएका खोजका प्रामाणिक तथ्यहरुले पनि देखाएका छन्, तसर्थ बारबार भगवानको नाम स्मरण तथा सकारात्मक शव्दहरुको उच्चाहरण गर्नु तथा दोहोर्यानु पर्दछ ताकि आफूले जे काम गरिरहेको भएपनि नाम स्मरणले आफू, आफूलाई सुनिरहने अरु र वरिपरिको वातावरणमा सकारात्मक उर्जाको संचार भैरहोस् र मनुष्य लगायत सबै प्राणी तथा वस्तुहरुलाई हरपल सकारात्मक रहिरहन मद्धत मिलिरहोस् । सकारात्मकताले भरिएको व्यक्ति सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित, प्रेमल, सेवा भावले ओतप्रोत हुन्छ जसले आफ्नो र अरुको भलाइको तथा सर्वजनहिताय, सर्वजनसुखायका कार्यहरु गर्दछ आफ्नो जीवनकालमा । नित्य निरन्तर यो भावमा रहदा यसले विश्ववन्धुत्वको भावनालाई बढावा दिन्छ, यसको लाभ ब्रम्हाण्डमा रहेका सबैले लिन सक्छन् र विश्व शान्तिमा महत्वपूर्ण योगदान पुग्नसक्छ ।”
स्वामी विवेकानन्दले सवालकर्तालाई सम्मानपूर्वक सम्वोधन गर्दै भगवानको नाम तथा मन्त्र जप तथा स्मरण र सकारात्मक शव्दहरुको प्रयोगको सन्दर्भमा गर्नुभएको यो गहन विश्लेषण पश्चात सभाकक्षमा दुई मिनेटसम्म लगातार तालीको गडगडाहट गुञ्जिरह्यो । कार्यक्रम समापन पश्चात माइक समातेर अधैर्यतावस सवाल गर्ने व्यक्ति अगाडि आएर स्वामीजीलाई भेटेर वहाँसंग क्षमा माग्दै भने, “तपाईंको विवेकपूर्ण जवाफ र विषयको गहिराइमा पुगेर दिनुभएको सुस्पष्ट विश्लेषणबाट म अत्यन्तै प्रभावित भएं, तपाईंले प्रवचनका क्रममा गर्नुभएको भगवानको नाम स्मरणसंगसंगै मैले मेरो आस्थाको नाम स्मरण गरें र यसो गर्दा मभित्र अलौकिक खुशी, शान्ति र आनन्दको संचारभएको दिव्य अनुभूति भयो, धन्यवाद साथै श्रद्धापूर्ण नमस्कार स्वामीजी ।” स्वामीजीलाई आफूमा सकारात्मक बदलाव ल्याइदिएको भन्दै नतमस्तक भएर विदा भएका उनै व्यक्तिले पछिपछि विभिन्न समयमा अमेरीकाका धेरै राज्यहरुमा स्वामीजीलाई निमन्त्रणा गरेर आध्यात्मिक सतसंग तथा प्रवचनका कार्यक्रमहरु आयोजना गर्न प्रारम्भ गरे । यससंगै सनातन अध्यात्मको प्रचार–प्रसारका गतिविधिहरु पश्चिमि देशहरुमा तिब्रगतिमा अगाडि बढ्दै गए र आजपर्यन्त विश्वशान्तिको यो महाअभियानले निरन्तरता पाइरहेको छ सर्वकल्याण भावको सनातन नारा 'वसुधैव कुटुम्बकम' अर्थात पूरै पृथ्वी एक परिवार हो भन्ने विश्व वन्धुत्वको अवधारणामा आधारित रहेर ।
कुन भगवान तथा देवी–देवताको नाम जप गर्ने
अध्यात्म साधनाका क्रममा यो अत्यन्तै धेरै आइरहने सन्दर्भ तथा सवाल हो कि कस्को नाम तथा मन्त्र जप गर्ने । अधिकांश मनुष्यहरु यही सवालमा उल्झिएका तथा अल्झिएका देखिन्छन् तर यो उल्झिनु तथा अल्झिनु पर्ने विषय हुदै होइन र यसको स्पष्ट समाधान तथा जवाफ रहेको छ, आफू कुन भगवान तथा देवी–देवतासंग निकट रहदै आइएको छ तथा आफ्नो पारिवारीक तथा सामाजिक संस्कार तथा संस्कृतिमा कसलाई इष्टदेव तथा आराध्य देवका रुपमा उपासना गर्दै आइएको छ सोही भगवान तथा देवी–देवताहरुको नाम तथा मन्त्र जप गर्नुपर्दछ । आफू जुन देवी–देवतासंग बढि निकट रहदै आइएको छ सोही प्रभुहरुको नाम तथा मन्त्र जप तथा उच्चाहरण गर्दा साधकको जीवनमा प्रभावकारी बदलाव आउन प्रारन्भ हुन्छ किनकी नाम तथा मन्त्र जपको उच्चस्तरीय लाभ हासिल गर्न नाम तथा मन्त्र जप गरिने प्रभुसंग आफू आन्तरिक रुपमा जोडिएको हुनु पर्दछ, साथै सोही प्रभुप्रति आस्था, विश्वास, श्रद्धा, भक्ति र समर्पण रहेको हुनु अत्यावश्यक हुन्छ । साधकमा प्रभुप्रति जति बढि तथा गहन आस्था, विश्वास, श्रद्धा, भक्ति र समर्पण रहेको हुन्छ उतिनै नाम तथा मन्त्र जपको सकारात्मक प्रभाव र उच्चस्तरीय लाभ मिल्न सक्दछ ।
मन्त्र जप तथा मन्त्र उच्चाहरण
सनातन अध्यात्म विज्ञानका अनुसार नाम जप तथा मन्त्र उच्चाहरणको उद्देश्य, आत्यन्तिक गन्तव्य र उपलव्धिहरु एकै प्रकारका हुने भएपनि यस सन्दर्भमा केही प्रक्रिया, विधि र मान्यताहरु फरक–फरक रहेका छन् । सनातन धर्म तथा अध्यात्म विज्ञानका अहिलेसम्म चलिआएका मूल्य तथा मान्यताहरुका अनुसार भगवान तथा देवी–देवताहरुका मन्त्रहरु ज्यादा शक्तिशाली तथा अत्यन्तै प्रभावशाली हुन्छन् भगवान तथा देवी–देवताहरुका नामहरुको तुलनामा । मनुष्यले आफ्नो प्रकृति तथा आवश्यकता अनुसार सहि मन्त्र चैन गरेर उचित प्रक्रिया तथा विधि अनुशरण गरेर मन्त्र जप तथा उच्चाहरण प्रारम्भ गरेको छ भने यसको अत्यन्तै सकारात्मक र दुरगामी प्रभाव साधकको जीवनमा पर्न सक्दछ तर यसअनुसार नभएको खण्डमा मन्त्र जप तथा उच्चाहरणको प्रभाव नकारात्मक र दुरगामी पनि पर्न सक्दछ । तसर्थ मन्त्र जप तथा उच्चाहरण साधना प्रारम्भ गर्नकालागि आफूलाई आस्था, विश्वास, श्रद्धा, भक्ति, समर्पण भएको अध्यात्म गुरु तथा सदगुरुबाट मन्त्र दिक्षा लिनु पर्दछ अनिवार्य रुपमा । अध्यात्म गुरु तथा सदगुरु शिद्ध र अनुभवी हुने भएकोले गुरुलाई आफ्नो शिष्यको वाहिरी र आन्तरिक सबै अवस्था र आवश्यकताहरु अवगत हुन्छन् र उसले शिष्यको आवश्यकता अनुसारको मन्त्र र मन्त्र जप तथा उच्चाहरणको पक्रिया तथा विधि र मन्त्र जप तथा उच्चाहरण गर्ने समयमवधि तोकिदिन्छ । गुरुको भूमिकामा आइसकेका सिद्ध योगी तथा साधकहरुलाई राम्रोसंग थाहा हुन्छ कुन नाम तथा मन्त्रको के कस्तो प्रभाव हुन्छ भनेर र कस्तो व्यक्तिलाई सहि ढंगले उसको आन्तरिक परिवर्तन तथा विकासकालागि कुन नाम तथा मन्त्र आवश्यक तथा उपयुक्त हुन्छ भनेर । तसर्थ सिद्ध पुरुष तथा सदगुरुले दिक्षा रुवरुप लिएको नाम तथा मन्त्रले साधकमा प्रभावकारी परिणाम तथा उपलव्धि ल्याउदछ किनकी गुरु स्वयंले उक्त नाम तथा मन्त्रको अभ्यास गरिसकेको र अरुमाथि पनि प्रयोग गरेर त्यसको प्रभवाकारिता, सकारात्मक परिणाम तथा उपलव्धिहरुबारे राम्ररी जानिसकेको हुन्छ र उसले साधकको वास्तविक अवस्था र आवश्यकता बुझेर मात्र मन्त्र दिक्षा दिने गर्दछ । यसरी सबै अवस्था, परिस्थिति, आवश्यकता तथा विषयवस्तुहरु बुझेर प्रारम्भ गरिएको मन्त्र जप तथा उच्चाहरणको प्रभाव र उपलव्धि सकारात्मक हुन्छ अन्यथा सकारात्मक या नकारात्मक कस्तो परिणाम आउछ भन्न सकिदैन । परमसत्य साक्षातकार गरिसकेको शिद्ध आत्मा तथा चैतन्य चेतना तथा आफूले मान्दै आएको सदगुरुबाट नाम तथा मन्त्र दिक्षा लिदा जप साधनाको प्रभाव अझ राम्रो हुन्छ किनकी अधिकांश मनुष्यहरु निराकारको जप तथा प्रार्थना गर्न सक्षम हुदैनन् उनीहरुलाई आकार स्वरुपको आवश्यकता पर्दछ र सदगुरु निराकार परमात्माको साक्षात आकार स्वरुप मानिन्छ,"गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुर देवो महेश्वर।" अर्थात गुरु नै ब्रम्हा, विष्णु, महेश त्रिदेव स्वरुप हुन् । निराकार परमात्माको आकार स्वरुप सदगुरुप्रतिको आस्था, विश्वास, श्रद्धा, भक्ति तथा समर्पणका कारण शिष्य तथा साधकमा एक प्रकारको गुरुप्रतिको विश्वास र आफूप्रतिको आत्मविश्वासले उसको साधनालाई तिब्रता प्रदान गर्दछ र छिट्टै अध्यात्मको सहि मार्ग र गन्तव्यमा पुग्न योगदान मिल्छ ।
गुरुबाट मन्त्र दिक्षा बिना र गुरुको सानिध्यता बिना आफूखुशी प्रारम्भ गरिएका आफू खुशी परिवर्तन गरिएका मन्त्र जप तथा उच्चाहरणका साधनाहरुको प्रभाव केही अवस्थाहरुमा सांसारिक र पारमार्थिक दुवै किसिमले सकारात्मक देखिएका छन् भने अधिकांश अवस्थाहरुमा अप्रभावकारी र नकारात्मक देखिदै आएका छन् । मन्त्र जप तथा उच्चाहरणका नकारात्मक प्रभावहरु शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै प्रकारका हुन सक्दछन्, जस्तो शारीरिक अंगहरुमा अस्वस्थता तथा रोग, मानसिक तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, पागलपन तथा भावनात्मक असन्तुलन, आत्मवलमा तथा आत्मविश्वासमा कमी, आत्महत्याको सोच, चेतनात्मक तथा आध्यात्मिक विकासमा अवरोध, अदृश्य उर्जाहरुको भय आदि हुन सक्दछन् । यसैकारण मन्त्र जप तथा उच्चाहरणका हरेक अवस्था र गतिविधिहरु अनिवार्य रुपमा पूर्णतः आफूले आस्था र विश्वास राखेको गुरुको सानिध्यमा रहेर गर्न सल्लाह दिने गरिन्छ– मन्त्र चयन, मन्त्र साधना विधि, मन्त्र साधनाको समयावधि, मन्त्रको संख्या तथा गणना, मन्त्रमा परिवर्तन तथा मन्त्र परिवर्तन आदि गतिविधिहरु ।
नाम जप तथा नाम स्मरण
भगवान तथा देवी–देवताहरुका नामहरु मन्त्रहरुको तुलनामा सौम्य र सहज हुने भएकाले आफैंले तय गरेर आफ्नो इष्टदेव तथा आराध्यदेवको नाम जप तथा स्मरण प्रारम्भ गर्न सकिन्छ आफ्नै किसिमले समय र परिस्थिति मिलाएर । तर नाम जप तथा स्मरण पनि सम्भव भएसम्म गुरु दिक्षा लिएर गर्दा अझ बढि प्रभावकारी र उपलव्धिमूलक रहदै आएका धेरै प्रयोगात्मक अभ्यास तथा व्यवहारिक अनुभवहरुले उजागर गरेका छन् । मन्त्र जस्तै नाम पनि एकपटक साधना गर्न प्रारम्भ गरेपछि त्यसको संकल्प पुरा नगरी अर्को परिवर्तन गर्नु हुदैन र संकल्प पूरा भएपनि बारबार नाम परिवर्तन नगर्नु राम्रो मानिन्छ । नाम तथा मन्त्र परिवर्तन गर्नेपरे गुरुको आज्ञा अनुसार विधि पुर्याएर मात्र गर्नुपर्दछ । बारबार नाम तथा मन्त्र परिवर्तन गर्दा एक त आफैं उल्झन तथा अल्झनमा परिन्छ भने अर्कोतिर नाम जप तथा स्मरणको प्रभावकारिता र उपलव्धिमा कमी आउछ । सनातन शास्त्रहरुमा उल्लेख भए अनुसार कलियुगमा नाम जप तथा नाम स्मरणलाई बडो प्राथमिकता र महत्व प्रदान गरिएको छ र यस सन्दर्भमा सिद्ध आत्मा तथा चैतन्य पुरुष हाम्रा पुर्खा तथा प्राचीन महावैज्ञानिक ऋषिमुनिहरुले ‘हरे राम, हरे कृष्ण’ लाई कलियुगको महामन्त्र तथा अत्यन्तै शक्तिशाली, प्रभावशाली, प्रभावकारी, परिणाममुखी तथा उपलव्धिमूलक रहेको उल्लेख गरेका छन् । मनेष्यको जीवन शंकट मुक्त छैन तसर्थ आफू शंकटमा परेको समयमा जहिले पनि
आफूले इष्टदेवका रुपमा आराधना गर्दै आइरहेको भगवाा तथा देवी-देवता तथा सिधै परमपिता परमात्माको याद गर्नुपर्दछ किनकी पुर्खाको इहिहास खोतल्दै जादा हरेक मनुष्यको अन्तिम माता–पिता अर्थात उसको जन्मको मूलश्रोत तथा प्रमुख कारक परमपिता परमात्मा नै हो । नाम जप साधना गर्दा आफ्नो परमपिता परमात्मासंग कहिल्यै पनि परिणाम तथा फलमा आशक्त हुनु हुदैन र सांसारिक जीवनसंग सम्वन्धित विषयका सुख, सुविधाका चिजहरु माग्नु हुदैन स्वयं परमात्माको सानिध्यता माग्नु पर्दछ किनकी जव प्रभुको सानिध्यता प्राप्त हुन्छ तव साधकको लागि के आवश्य छ या के अनावश्यक छ प्रभुले नै हेरी, विचार गरि उपलव्ध गराउनु हुन्छ । नाम जपको प्रार्थनामा परमात्मासंग मेरो होइन प्रभु तिम्रो इच्छा पूराहोस्, तिमी अन्तरयामी छौ मेरोलागि के उचित के अनुचित छ म जान्दिन, सबै कुरा तिमी नै जान्दछौ त्यसैले मेरो होइन तिम्रो इच्छा पूराहोस् भनेर वरदान माग्नु पर्दछ । नाम जप तथा स्मरण प्रारम्भ गरेपछि साधकको आफ्नो अन्तरहृदयमै परमात्माको निवास रहेको आभास हुन प्रारम्भ हुनेहुनाले सदैव आफूले आफूलाई प्रेम, प्रशंशा, सम्मान गर्नुपर्दछ किनकी आत्मसम्मान गर्नु भनेको आफू स्वयंभित्र रहेको परमात्माको सम्मान गर्नु हो । आफूलाई बेमतलवमा अरु समक्ष झुकाउनु हुदैन किनकी आफूलाई झुकाउनु तथा अपमान गर्नु या गराउनु आफू स्वयंभित्र रहेको परमात्माको अपमान गर्नु तथा गिराउनु हो । आफूले आफूलाई प्रेम, प्रशंशा, सम्मान गर्दा स्वतः आफूभित्र आफ्नो अन्तरहृदयमा विराजमान परमात्माको प्रेम, प्रशंशा, सम्मान हुनेहुनाले परमात्मासंग अझ निकटको सम्वन्ध तथा सानिध्यता बढ्छ । यस्तो अवस्थामा नाम जप साधनामा आफूलाई एकाग्र गर्न सहज हुन्छ र साधनाको प्रभाव तथा परिणाम छिटो आउछ ।
नाम जप कसरी गर्ने
आफ्नो इष्टदेव तथा आराध्यदेवको शव्द, नाम तथा मन्त्र निरन्तर अन्तरमनमा दोहोर्याइरहनु नाम जप, स्मरण तथा मन्त्रोच्चाहरण गर्नु हो । नाम जप तथा मन्त्रोच्चाहरणलाई प्रभावकारी बनाउन र यसबाट महत्वपूर्ण लाभ तथा उपलव्धिहरु हासिल गर्नकालागि कसरी, कुन प्रक्रिया तथा विधिले नाम जप गर्ने भन्ने अत्यन्तै सान्दर्भिक सवाल हो । नाम जपको माध्यमबाट आफ्नो जीवनमा प्रभावकारी परिणामहरु ल्याउन र सकारात्मक उपलव्धिहरु हासिल गर्नकालागि सबैभन्दा शुरुमा आफुले कुन भगवान तथा देवी–देवताको नाम जप गर्ने हो यस विषयमा स्पष्ट हुनुपर्दछ । यस सन्दर्भमा आफूलाई अलमलको अवस्था रहेकोछ भने आफू भन्दा अग्रज आध्यात्मिक व्यक्तित्वहरु तथा अध्यात्म गुरुहरुसंग परामर्श लिनुपर्दछ । यसपछि आफूले दिनको कुन समयमा, कति पटक, कहाँ बसेर, कसरी, कति लामो बेर तथा कति माला तथा कति संख्या, कति दिनसम्म नाम जप गर्ने अदिबारे मोटामोटी रुपमा सबै खाका तयार गर्नुपर्दछ । यसपछि एउटा निश्चित शुभदिनबाट नाम जप गर्न प्रारम्भ गर्छु भनेर दृढ अठोट तथा संकल्प गर्नुपर्दछ र सोही अनुरुप आफूले तय गरेका तथा अग्रज तथा गुरुले तय गरिदिएका नाम जपका आवश्यक सामान्य तथा विशेष प्रक्रिया, विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गरेर नाम जपको श्री गणेशाय नमः गर्नुपर्दछ । सकेसम्म नाम जप गर्ने स्थान एउटै हुनुपर्दछ; स्वस्थकर, प्राकृतिक वातावरण भएको कुनै स्थान तथा आफ्नो पूजा कक्ष सबैभन्दा उचित स्थान मानिन्छ; एउटै जप माला, एउटै आसन, एउटै रामनामी तथा दोसल्ला, सादा तथा खुकुलो पहिरनको प्रयोग गर्नुपर्दछ । नाम जपको प्रयोगात्मक अभ्यासको प्रारम्भिक चरणमा कम्तिमा ७ दिन, ११ दिन, १५ दिन, २१ दिन तय गर्नुपर्दछ र विस्तारै ५१ दिन, ९१ दिन, १०८ दिन वा सो भन्दा बढि तथा आफ्नो आवश्यकता र अवस्था हेरेर कम या बढि गर्न सकिन्छ, साथै रुचि लाग्छ र समय निकाल्न सकिन्छ भने दैनिक रुपमा गर्नु अझ प्रभावकारी तथा लाभदायक र उपलव्धिमूलक हुन्छ । नाम जपको प्रभावकारी परिणाम तथा उच्चतम उपलब्धिका लागि एक दिनमा विहान, दिउसो र साँझ तीन पटक कम्तिमा २०-२०-२० नाम जप गर्नु उपयुक्त हुने नाम जपका अनुभवी साधकहरुको राय रहेको पाइन्छ ।
स्नान तथा चोखोनितोको सन्दर्भ
नम जप प्रारम्भ गर्नुअघि स्नान अनिवार्य होइन तर सनातन धर्ममा स्नानको एक अलग गरिमा र महत्व रहेको छ । स्नान तथा सरसफाइले शरीरमा स्फुर्ति, उर्जा, ताजापन तथा सक्रियता; मनमा प्रफुल्लता तथा एकाग्रता; भावनामा स्थिरता तथा शान्ति; आत्मसन्तुष्टि तथा समग्र उर्जाको सफाइ गर्ने हुनाले यस्तो अवस्थामा नाम जप सहजता आउनुका साथै प्रभावकारितामा समेत सकारात्मक प्रभाव पर्दछ । सनातन धर्म तथा अध्यात्मका अनुसार स्नान गर्नु केवल शरीरको मैलो फाल्नु मात्र होइन, यो भन्दा धेरै गुणा बढि मन, भाव, आत्मा अर्थात चेतनाको उर्जा शुद्धिकरण गर्नु हो र शरीरमा पंचतत्व तथा पंचमहाभूत(पृथ्वी, जल, अग्नि, वायु, आकाश)को अवस्था सहि गर्नु तथा सन्तुलन कायम गर्नु हो जसले मनुष्यलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक रुपमा स्वस्थ रहन मद्धत गर्दछ किनकी जल पंचतत्व मध्यको एक अत्यन्तै महत्वपूर्ण तत्व भएकोले ताजा जलमा मनुष्यको शरीरका सबै आयामहरुको उर्जा शुद्ध गर्ने, वाहिरबाट आभामण्डल तथा उर्जा क्षेत्रमा टाँसिएर आएका अनावश्यक तथा नकारात्मक उर्जाहरु हटाउने तथा नष्ट गर्ने प्राकृतिक उपचारको शक्ति तथा सामथ्र्य निहित रहेको हुन्छ । स्नान गरेर शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको अवस्था सन्तुलन भएपछि तथा अन्जानमा आभामण्डलमा टाँसिएर रहेका अनावश्यक तथा नकारात्मक उर्जाहरु हटेपछि नाम जप साधनामा सहजता र स्थिरता आउने र यसको प्रभावकारित बढ्ने हुनाले नाम जप, पूजापाठ तथा कुनै पनि धार्मिक तथा आध्यात्मिक अनुष्ठानहरु प्रारम्भ गर्नुभन्दा पहिला प्राचीन महावैज्ञानिक तथा हाम्रा अनन्य पुर्खा ऋषिमुनिहरुले स्नान गर्ने संस्कार चलाएका थिए यी सबै अवस्थाहरुको गहनता पूर्वक अध्ययन तथा अनुसन्धान गरेर । चोखोनितोको सन्दर्भमा नाम जप साधनाका साधकहरुलाई ब्रम्हचर्य पालन गर्न सल्लाह दिने गरिन्छ । सनातन शास्त्रहरुमा उल्लेख गरिएका यम(अहिंसा, सत्य, ब्रम्हचर्य, अस्तेय, अपरिग्रह), नियम(शौच, सन्तोष, तप, स्वाध्यय, इश्वर प्रणिधान)का विषयहरुको निष्ठापूर्वक अनुशरण गर्नु वास्तविक ब्रम्हचर्य अर्थात ब्रम्हको आचरण आफूमा ल्याउनु हो । ब्रम्हचर्यको अनुशरणले नाम जप साधनालाई प्रभावकारी तथा सार्थक बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दछ ।
नाम जपका प्रकारहरु
सनातन अध्यात्म दर्शनका अनुसार ‘नाम’ भन्नाले सृष्टिकर्ता अर्थात अस्तित्व अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात इश्वरलाई प्रतिनिधित्व गर्ने शव्द तथा वाक्य भन्ने बुझ्नु पर्दछ जस अन्तर्गत परमात्माका नाम र मन्त्रहरु पर्दछन् र ‘जप’ भन्नाले परमात्माका नाम तथा मन्त्रहरुलाई आफूभित्र बारबार दोहोर्याइरहने क्रिया भनेर बुझ्नु पर्दछ । नाम तथा मन्त्र जप तीन प्रकारले गर्ने गरिन्छ– (१)वैखरी नाम जप, (२)उपांशु नाम जप, (३)मानसिक नाम जप । मानसिक नाम जप मनमनै तथा आन्तरिक रुपमा जपिन्छ आफूले मात्र थाहा पाउने अरुले थाहा नपाउने गरि र यो प्रक्रिया सबैभन्दा शक्तिशाली मानिन्छ; उपांशु नाम जप ओठ मात्र चलाएर जपिन्छ र यो प्रक्रिया मानसिक जप भन्दा कम शक्तिशाली मानिन्छ; र वैखरी तथा वाचिक नाम जप मुखबाट शव्द उच्चाहरण गरेर जपिन्छ र यो प्रक्रिया मानसिक तथा उपांशु नाम जप भन्दा अझ कम शक्तिशाली हुन्छ । सनातन अध्यात्म दर्शनका शास्त्रहरुमा उल्लेख गरिएको छ, १००० वैखरी नाम जप बराबर १०० उपांशु जपको शक्ति हुन्छ र १०० उपांशु नाम जप बराबर केवल १ मानसिक नाम जपको शक्ति हुन्छ । मानसिक नाम जप सबैभन्दा शक्तिशाली तथा प्रभावकारी मानिन्छ तर साधक एकैपटक मानसिक नाम जपमा पुग्न सक्दैन । मानसिक नाम जपमा स्थित हुनकालागि प्रारम्भिक चरणमा वैखरी तथा वाचिक उपांशु नाम जपनै गर्नुपर्ने हुन्छ अनिवार्य रुपमा र यसमा अभ्यस्त हुनुपर्दछ । नाम जप आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि गरिने अत्यन्तै महत्वपूर्ण र प्रभावकारी साधना विधि हो तसर्थ अरुका अगाडि आफूलाई धार्मिक देखाउने तथा धार्मिक बन्ने तथा देखिने होडको भाव कत्तिपनि मनमा नराखीकन वैखरी नाम जप गर्नु पर्दछ अत्यन्तै सौम्य गतिमा केवल आफ्नो मुखले गरेको शव्दोच्चाहरण आफ्नै कानले मात्र सुन्नेगरि । यसो गर्दा एकातिर आफू चाँढै गलिदैन र अरु नकारात्मक उर्जा तथा भाव भएकाहरुको नकारात्मक प्रभाव पर्दैन र नाम जपको शक्तिले आफूभित्र आन्तरिक रुपमा दिव्य उर्जाको प्रवाह बढ्दै जान्छ र विस्तारै आफ्नो वरिपरि परमात्माको दिव्य महाउर्जाको अदृश्य पुञ्ज तयार हुदै जान्छ जसले साधकलाई हरप्रकारका वाहिरी तथा आन्तरिक नकारात्मकताहरुबाट बचाउछ तथा संरक्षण प्रदान गर्दछ । वैखरी तथा वाचिक नाम जपमा साधक अभ्यस्त भएर एकाग्रता हासिल गरिसकेपछि उपांशु नाम जप गर्न सहज हुन्छ र उपांशु नाम जपमा अभ्यस्त भएपछि मानसिक नाम जप गर्न सहज हुन्छ र स्थिरता प्राप्त हुन्छ । यसपछि मानसिक नाम जप गर्न कुनै प्रकारको अलग्ग प्रवन्ध मिलाइरहनु पर्दैन, साधक जे काम गरिरहेको छ, जुन अवस्थामा छ त्यहि अवस्थामा मानसिक नाम जप मनमनै तथा आन्तरिक रुपमा गरिरहन सक्दछ । मानसिक नाम जपमा अभ्यस्त भएपछि यो स्वतः अजपा नाम जपमा रुपान्तरण हुन्छ । अजपा नाम जप साधकको बिना कुनै प्रयत्न उसको अन्तरमनमा निरन्तर चलिरहन्छ उसले थाहानै नपाइकन किनकी नाम जप वैखरी, उपांशु, मानसिक हुदै अजपामा रुपान्तरण हुन्छ उसको चेतन मन हुदै अवचेतन मनमा, अवचेतन मन हुदै अचेतन मनमा तथा पूर्णचेतन मनमा पुगेर र यसपश्चात सितिमिति नछुट्ने गरि पक्का भएर साधकको बानी बनेर स्थित हुन्छ । अजपा नाम जपमा साधकको आकाश तत्व, विशुद्धि चक्र तथा कण्ठ मात्र चल्दछ र हरपल चलिनै रहन्छ ।
जप माला कि डिजिटल गणनाको प्रयोग गर्ने
वर्तमान समयमा नाम जप कसरी गर्ने, माला घुमाएर गर्ने कि डिजिटल गणना तथा अलाराम लगाएर तथा समय तोकेर गर्ने भन्ने सवाल आमरुपमा सुन्ने गरिन्छ र यो समय सान्दर्भिक सवाल पनि हो किनकी हरेक मनुष्य बदलिदो परिस्थितिसंग अभ्यस्त हुनु अत्यावश्यक हुन्छ उसको जीवन सहज, सरल र सफल बनाउनका लागि । तसर्थ यो कुनै अलमलको विषय नै होइन, आफूसंग जे कुरा सहजै उपलव्ध छ र आफूलाई जसरी सहज हुन्छ त्यसरी नै नाम जप गर्न सकिन्छ किनकी नाम जपको मूल उद्देश्य साधकको मनको एकाग्रता र भावनात्मक लगाव हो, वाहिरी विषय तथा वस्तुहरु जप माला, डिजिटल डिभाइस तथा अन्य प्रकारका वाहिरी गतिविधिहरु आदिसंग नाम जपको खासै सरोकार रहेको हुदैन, तसर्थ जुन तरिकाले आफ्नो मनको एकाग्रता र भावनात्मक लगाव प्रवल हुन्छ तथा आफ्नो मन र भाव केवल नाम जपमा केन्द्रित हुन्छ त्यही प्रक्रिया तथा विधिको प्रयोग गर्न सकिन्छ । निष्ठावान भएर एकाग्रता र लगावपूर्ण ढंगले गरिएका दुवै प्रकारका जप माला तथा डिजिटल गणनाका विधिहरुको परिणाम उस्तै आउछ किनकी शरीरको स्थिरता, मनको एकाग्रता, भावको शान्ति,आत्मा अर्थात चेतनाको जागरण माला तथा डिजिटल गणनाले घटित गराउने नभइ साधकको संकल्प शक्ति, एकाग्रता, लगाव, परमात्माप्रति उसको आस्था, विश्वास, श्रद्धा, भक्ति, समर्पण भावले गराउने हो । जप माला तथा डिजिटल डिभाइसहरु केवल नाम जप साधनाका साधन तथा उपकरणहरु मात्र हुन् । तर यति भन्दा भन्दै पनि नाम जपमा जप मालाको प्रयोग गर्नु उपयुक्त र प्रभावकारी मानिन्छ विविध कारणले र जप मालाको प्रयोग गर्न सल्लाह दिइन्छ किनकी सनातन धर्म, अध्यात्म र आयुरवेद चिकित्सा विज्ञानमा जप मालाको एक अलग गरिमा, शक्ति, प्रभाव तथा महत्व र विशेष उद्देश्य रहदै आएको छ ।
सनातन धर्म, अध्यात्म तथा आयुरवेद चिकित्सा विज्ञानमा मनुष्यको शरीर तथा स्वास्थ्यका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयामहरुलाई सकारात्मक लाभ पुर्याउने विशेष प्रकारका बहुगुणी वनस्पति, धातु, मणि तथा बहुमूल्य पत्थरहरुको उल्लेख गरिएको छ र विभिन्न प्रकारले तिनको उपयोग तथा प्रयोग गरेर धेरै प्रकारका लाभ लिन सकिने धेरै विषयहरु उल्लेख गरिएका पाइन्छन् । तसर्थ आध्यात्मिक साधनाको माध्यमबाट मनुष्यको आत्मा अर्थात चेतनाको जागरण गराउनुका साथसाथै उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थालाई पनि स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न सक्ने विशेष गुण भएका जडिबुटिको काम गर्ने वस्तु तथा सामग्रीहरु रुद्राक्ष, वोधिचित्त, तुलसी, श्रीखण्ड, मणि, निलम, पन्ना, स्फटिक, तामा, पित्तल, काँश, सुन, चाँदी आदिका १०८ दाना भएका मालाहरुको प्रयोग गरेर नाम जप गर्न सुझाव दिइएको छ । जडिबुटिको गुण भएका स्वास्थ्य उपचारमा प्रयोग गरिने वस्तु तथा सामग्रीहरुले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थालाई स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्ने हुनाले उसलाई नाम जप साधना गर्न सहज हुन्छ र साधनाको प्रभाव पनि परिणाममुखी र उपलव्धिमूलक हुन्छ ।
१०८ जप माला नै किन जप्ने
सनातन धर्म तथा अध्यात्म दर्शनका महान ग्रन्थहरुमा १०८ जप मालाको विशेष गरिमा, महत्व तथा उद्देश्य रहेको उल्लेख गरिएको छ । खासगरि सनातन हिन्दु धर्म तथा अध्यात्म दर्शनमा १०८ अंक लाई पवित्र तथा दिव्य अंक मानिन्छ र यसको रहस्य ब्रम्हाण्ड र ब्रम्हाण्डका सर्जक स्वयं परब्रम्ह अर्थात परमात्मासंग जोडिएको उल्लेख रहेको पाइन्छ । वर्तमान समयमा हामी अस्तिवमा रहेको तथा हामीले जीवनयापन गरिरहेको पृक्ष्वी ग्रहसहित अनेक ग्रहहरु, तारा पुञ्जहरु रहेको एउटा ब्रम्हाण्ड हो र यस्ता ब्रम्हाण्डहरु यो लगायत सबैगरि जम्मा १०८ वटा रहेका छन् यसर्थ जप मालाको १०८ अंक पूर्ण ब्रम्हाण्ड तथा पूर्ण ब्रम्हसंग सम्वन्धित रहेको छ र १०८ जपमाला ब्रम्हाण्डिय विषय तथा पूर्ण ब्रम्हाण्डको प्रतिनिधित्व गर्ने मूल्यवान विषय तथा साधन हो । जप मालाको १०८ अंकको अर्को दिव्य जुडाउ पनि ब्रम्हाण्डसंग नै रहेको छ । ब्रम्हाण्डको मूल शक्ति शिव–शक्ति तथा पुरुष र प्रकृतिलाई मानिन्छ । पुरुष सदाशिव हुन्, सदाशिव स्वयं परब्रम्ह अर्थात परमात्मा हुन् र शक्ति प्रकृति अर्थात ब्रम्हाण्ड हुन् । शिव–शक्ति तथा पुरुष र प्रकृति एकै हुन अर्थात परमात्माको निराकार–निर्गुण–अव्यक्त तथा नदेखिने पाटो शिव तथा पुरुष अर्थात आत्मा हो र परमात्माको आकार–गुण–व्यक्त तथा देखिने पाटो शक्ति तथा प्रकृति अर्थात ब्रम्हाण्ड हो । यस अर्थमा पुरुषको आधा अंश प्रकृति तथा शिवको आधा अंश शक्ति हुन् अर्धनारेश्वर । अर्धनारेश्वर को आधा अंश नारीशक्तिलाई ब्रम्हाण्डकी सर्जक आदिशक्ति जगदम्बा जगत जननी स्वरुप मानिन्छ । स्वयं परब्रम्ह अर्थात परमात्मा शिव तथा पुरुष अर्थात आत्मा सदा अमर, नित्य तथा अपरिवर्तनशील रहन्छ र शक्ति तथा प्रकृति अर्थात ब्रम्हाण्ड अर्थात पदार्थ सदा अनित्य तथा परिवर्तनशील रहन्छ । यसकारण प्रकृति तथा आदिशक्ति जगदम्बा जगत जननीले आफ्नो परिवर्तनशील गुण स्वरुपका कारण बारबार स्वरुप परिवर्तन गर्नुभयो तथा मनुष्य स्वरुपमा जन्म लिएर मर्त्यलोकमा अवतरित हुनुभयो । सनातन शास्त्रहरुमा आदिशक्ति जगदम्बा जगत जननीले दक्ष प्रजापतिकी जेष्ठ सुपुत्री सतीदेवीका रुपमा जन्म लिनुअघि १०८ पटक जन्म लिसक्नु भएको उल्लेख रहेको पाइन्छ । स्वयं परमात्माका आकार, गुण तथा व्यक्त स्वरुप भगवान शिवका गलामा रहेको १०८ मुण्डमाला आदिशक्ति जगदम्बा जगत जननीको १०८ जन्मको प्रतिकका रुपमा रहेको मानिन्छ र यसैलाई प्रतिनिधित्व गर्नेगरि १०८ जप मालाको संस्कार प्रारम्भ गरिएको उल्लेख रहेको पाइन्छ । यसप्रकार नाम जप गरिने १०८ जप मालासंग केवल ती वनस्पति, धातु तथा मणिहरुका दानाहरु मात्र घुमिरहेका हुदैनन्, यी दानाहरु संगसंगै पूर्ण ब्रम्ह र पूर्ण ब्रम्हाण्डको नाम जप, उपासना, प्रार्थना, भक्ति, श्रद्धा, आस्था, विश्वास, समर्पण स्वस्फूर्त रुपमा भैरहेको हुन्छ नित्य, सनरन्तर साधकले थाहा नै नपाइकन । यसकारण नाम जपमा माला घुमाउनु अत्यन्तै उपयोगी, लाभकारी, प्रभावकारी र सर्वाधिक श्रेयस्कर मानिदै आइएको हो ।
यसकासाथै नाम जपमा मालाको प्रयोगका अन्य धेरै प्रकारका वाहिय तथा आन्तरिक लाभहरु रहेका छन् मनुष्यका लागि । माला जपको वाहिय लाभमा, हातका औंलाको अनुभवमा मालाका दाना आइरहने हुनाले ध्यान भड्कीदैन तथा जागरुकता बनिरहन्छ, सजगता तथा साक्षी भाव बनिरहन्छ, केहीबेरका लागि अन्जानवस सजगता तथा साक्षी हट्यो भने पनि मालाको स्पर्शका कारण तुरुन्त याद आउछ र ध्यान पुनः सजगता तथा साक्षी भावमा फर्कन्छ । अर्को लाभ मस्तिष्कको सक्रियता बनिरनु हो किनकी मनुष्यका हातका औंलाका टुप्पाहरुको प्रत्यक्ष सम्वन्ध मस्तिष्क तथा स्नायु प्रणालीसंग रहेको हुन्छ । माला घुमाउदा मस्तिष्कका साना तथा ठूला स्नायुहरुलाई सकारात्मक प्रभाव परिरहेको हुन्छ शारीरिक रुपमा साथै मानसिक रुपमा पनि सकारात्मक प्रभाव परिरहेको हुन्छ । त्यस्तै माला जपको वाहिय तथा सांसारिक लाभमा, जप मालाका जडिबुटीजन्य गुण तथा औषधिय उर्जाका कारण साधकको शारीरिक, मानसिक, भावनात्मक स्वास्थ्य शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित रहन्छ र उसको जीवनमा सहजै सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द छाउछ र सांसारिक र पारमार्थिक दुवै प्रकारले जीवन संन्तुलित तथा व्यवस्थित बन्दछ । माला जपको आन्तरिक तथा पारमार्थिक लाभमा, साधकमा परमात्माको प्रार्थना भैरहेको, परमात्माको सानिध्य प्राप्त भैरहेको, धर्म–संस्कृति–अध्यात्मप्रति निष्ठावान रहेको आदि विशेष प्रकारका मानसिक सन्तोष, स्वीकार, एकाग्रता तथा भावनात्मक शान्तिको अनुभूति भैरहन्छ र यस्तो भावले उसको आत्मा अर्थात चेतनाको विकास तिब्रगतिमा हुन्छ र यस्तो सकारात्मक अवस्थामा साधकको आध्यात्मिक मार्ग खुल्दै उसको गन्तव्य मोक्ष उन्मुख हुदै जान्छ किनकी नाम जप साधनाबाट प्रष्फुटित भएको अदृश्य महाशक्तिका कम्पनहरु तरगंगीत भएर मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनाका रोमरोममा फैलिन्छन् । यसरी तरंगीत भएर फैलिएका उर्जाका शक्तिशाली कम्पनहरुले मनुष्यको स्थुल शरीर र सुक्ष्म शरीरका नशा–नाडीहरु सबै थर्किन्छन् तथा हल्लिन्छन् र मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा रहेका जन्म–जन्मका पुराना तथा यही जन्मका नयाँ कर्मबन्धनहरु, नराम्रा स्मृतिहरु, पिडाहरु, विषाक्ता तथा विजातिय तत्वहरु, मानवीय विकार तथा क्लेशहरु, नराम्रा बानीहरु सबै नाम जपको प्रज्वलित अग्निको महाशक्ति कुण्डमा जलेर खरानी हुन्छन् र मनुष्यको जीवन सांसारिक र पारमार्थिक दुवै किसिमले स्वस्थ, स्वच्छ तथा पवित्र हुन्छ ।
No comments:
Post a Comment