'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Wednesday, 26 November 2025

मौन, नाम तथा मन्त्र जप साधना र स्वअनुभूति

लालीगुरांश (डासिर्जना भण्डारी)

                                         #आध्यात्मिक_साहित्य #जीवन_दर्शन

 

मौन, नाम तथा मन्त्र जप साधना र स्वअनुभूति

स्वफुर्त घटित निस्प्रयास मौन 

औपचारिक रुपमा सन् २०११ बाट प्रारम्भ भएको डेढ दशक लामो अध्यात्म साधनाका क्रममा धेरै प्रकारका लौकिक तथा परालौकिक अनुभूतिहरु हुदै आइरहेका छन् । ध्यान साधनाको निरन्तरता कै क्रममा सन् २०२३ जुलाई ८ तारिक(बि.सं. २०८०–०३–२४)मा अपराहान्न साढेतीन बजे आफ्नो कुनै प्रयासबिना स्वस्फूर्त रुपमा निस्प्रयास मौन ध्यान साधना घटित भएको थियो । यसक्रममा बोलि स्वस्फुर्त रुपमा बन्द भयो, आफूले बोल्न प्रयास गर्दा आवाज आएन स्वतः इन्द्रियहरुको इशारा प्रारम्भ भयो र आफ्नो अन्तरहृदयबाट आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात स्वयं परमात्माको सन्देश आयो, “...तँ मौनमा गइस्...” । स्वस्फुर्त रुपमा मौन घटित भएपछि मेरो अध्यात्म साधनामा अर्को अध्याय प्रारम्भ भएको थियो । चार महिना लामो चलेको निरन्तर मौन ध्यान साधनाको समयमा शुरुकै दिनहरुबाट समाधि साधना प्रारम्भ भयो स्वस्फुर्त रुपमा घण्टौं–घण्टासम्म र यसअवधिमा परमात्माको महाउर्जाको अमृतमय नशामा झुम्म भैराख्ने हुनाले परमानन्दको अनुभूति भैरहन्थ्यो । विहान ७–८–९ बजे साधनामा बसेपछि अपरान्नको ३–४–५ बजेसम्म निरन्तर समाधि लागिरहन्थ्यो । समाधि साधनामा कति समय बित्यो, घडिमा कति बज्यो, वाहिरको मौसम कस्तो छ, घरमा के भैरहेको छ, को आयो, को कता गयो केहीपनि थाहा हुदैनथ्यो या भनौं थाहा पाउने चेष्टा नै हुदैनथ्यो । निरन्तर आँखा बन्द र सवासनमा समयातीत अनुभूतिमा कट्थे ती घण्टौं–घण्टा लामा दिव्य पलहरु इन्द्रियातीत, मनातीत, भावातीत, शव्दातीत अलौकिक दिव्य अनुभव तथा अनुभूतिहरुका साथमा । मौन साधना प्रारम्भ भएको दिनबाट २२ दिनसम्म फलफूल र नुन हालेर पकाएको लौकाको रस मात्र सेवन गरेको थिएं, अरु आहारको कुनै चाहाना थिएन, स्वतः पेट भरिएको तथा अघाइरहेको जस्तो आत्मसन्तुष्टि भैरहन्थ्यो । स्वस्फूर्त रुपमा घटित भएको मौन साधनामा लाग्ने समाधि साधनाको समयमा आफूलाई पूर्ण आरोग्य, परमशान्ति र परमआनन्दको दिव्य अनुभूतिहरु भैरहेका थिए तर दुई हप्तापछि परिवारबाट एकपटक स्वास्थ्य जाँच गराउँ भन्ने आग्रह भयो, म पनि सहमत भएं र २१औं दिनमा अस्पताल जाने निधो भयो होलबडी चेकअप गर्नेगरि । 

होलबडी स्वास्थ्य जाँच संगै मस्तिष्कको इ.इ.जी पनि जाँच गराउन अनुरोध गरें । सबै जाँचको रिपोर्टहरु एकदम सामान्य आएका थिए । मस्तिष्कको रिपोर्टमा धेरैजसो भागहरु निलो र हरियो रंगका आएका थिए लामा–लामा समयावधिका गहन ध्यान तथा समाधिका कारण सायद, वेभ तथा तरंगका लयहरुमा थिटा र डेल्टाको घनत्व बढि देखिएको थियो । एक घण्टा भन्दा लामो मस्तिष्क स्क्यानिगंको समयभरि बन्द आँखामा अजपा नाम तथा मन्त्र जप ‘ॐ नमः शिवाय’ र ‘ॐ नमः शक्तिशिवाय’ निरन्तर स्वस्फुर्त रुपमा चलिरहेको थियो, यसविचमा एकपटक योगनिद्रा घटित भएको थियो । स्वस्फूर्त मौन साधना प्रारम्भ भएको २१ दिनसम्ममा मेरो २ किलो तौल घटेको रहेछ तर म एकदम स्वस्थ, स्फुर्त र अझ बढि ताजगी महसुस गरिहेको थिएं । मौन साधनामा २१ दिनको निराहार व्रत स्वस्फुर्त भएको थियो, मौन साधनाको २२ औं दिनबाट लौकाको तरकारीसंग एकछाक भात खान प्रारम्भ गरें । चार महिनाको मौन अवधिभर के गर्ने, के नगर्ने, कसरी गर्ने, के खाने, के नखाने, कस्तो रंगको पहिरन लगाउने सबै दिशानिर्देशहरु अन्तरहृदयमा आउने आन्तरिक गुरुका सन्देशहरुबाट निर्देशित भैरहेका थिए निरन्तर र म तिनै सन्देशहरुलाई अनुशरण गर्दै मौन साधनालाई अगाडि बढाइरहेको थिएं । बि.सं. २०८० कात्तिक २० गते विहान आफ्नो अन्तरहृदयबाट आन्तरिक गुरुको सन्देश आयो, “...तेरो मौन साधना सम्पन्न भयो, अव सामान्य अवस्थामा जसरी बोल्न सक्छेस्...” । यसपछि म चार महिनाअघि जस्तैगरि बोल्न थालें र सामान्य दैनिकीमा फर्किएं तर साधनामा हुने गरेका अनुभव तथा अनुभूतिहरुमा निरन्तरता चलिरह्यो । मौन सम्पन्न हुनु केही हप्ता अघिदेखि समाधिको समय आफैं विस्तारै घट्दै गैरहेको थियो । स्वस्फुर्त मौन साधनाका क्रममा भएका केही विशेष अनुभव तथा अनुभूतिहरु– 


स्वस्फुर्त योगीक साधना

निस्प्रयास मौन साधना प्रारम्भ हुनु एकवर्ष अघिदेखि नै स्वस्फुर्त योगीक साधनाहरु– योगासन, प्राणायाम, मुद्रा, क्रिया, बन्द हुन प्रारम्भ भएका थिए, मौनको अवधिमा अझै बढेर गए र निर्धारित समयमा हुनलागे मौन अवधिभर । समाधिको प्रारम्भ र अन्त्यमा स्वस्फूर्त रुपमा विभिन्न प्रकारका शरीर बेस्सरी तन्किने प्रकारका योगासनका अभ्यासहरु हुन्थे । तिब्र र सौम्य गतिका प्राणायामका अभ्यासहरु, धेरै प्रकारका मुद्राका अभ्यासहरु, क्रिया तथा बन्दहरुका अभ्यासहरु सबै स्वस्फुर्त हुन्थे दैनिक रुपमा । तिब्र र सौम्यगतिका प्राणायामको अभ्याससंगै रेचक–पूरक–कुम्भकका गतिविधिहरु स्वस्फुर्त रुपमा हुन्थे र धेरैजसो वहिर कुम्भक घटित हुन्थ्यो, ठूलो र लामो श्वास तिब्रगतिमा वाहिर छोडेपछि धेरैबेरसम्म वाहिरै श्वास रोकिन्थ्यो स्वतः, त्यस्तै लामो गहिरो श्वास भित्र तानेपछि लामोबेर श्वास भित्रै रोकिन्थ्यो स्वतः । समाधिको समयमा श्वासको गति अत्यन्तै सुस्त हुन्थ्यो र बेलाबेला श्वास हराउथ्यो केहीबेर र फेरी आउथ्यो । समाधि अवधिभरि विभिन्न प्रकारका मुद्राहरु शरीर, हात र औंलाहरुमा लागिरहन्थे; स्वस्फूर्त अस्विनी क्रिया र बन्दहरु भैरहन्थे ।


नाडी र चक्रको सक्रियता

निस्प्रयास मौन साधना प्रारम्भ हुनु एकवर्ष अघिदेखि नै स्वस्फुर्त रुपमा सुक्ष्म शरीरका नाडी र चक्रहरुमा हुने सुक्ष्म समवेदनशीलताहरु सुस्त गतिमा अप्रत्यक्ष अनुभवमा आउन थालेका थिए । मौन साधनामा प्रारम्भ भएको ३–४ हप्तापछि सुक्ष्म शरीरका कुण्डलिनी उर्जाका संवाहक नाडी र चक्रहरुमा आएका सुक्ष्म समवेदनशीलताहरु प्रत्यक्ष रुपमा अनुभवमा आउन थाले । मेरुदण्डको केन्द्रमा सलबलाउदै कुण्डलिनी उर्जा उर्ध्वगमन भएको; चक्रहरु रहेको स्थानमा कम्पन तथा भाइब्रेसन भएको तथा चक्र घुमेका कारण उक्त अंगमा खिचाव भएको; नाडी र चक्रमा यस्ता गतिविधिहरु भैरहदा शरीर जोडजोडले कामेको, शरीरमा अत्यन्तै धेरै ताप उत्पन्न भएर शरीर भतभति पोलेको; आफ्नै शरीरका चक्रहरु र रंगहरु स्पष्ट बन्द आँखाका दृश्यमा आएको र आफैंले आफ्नो स्थुल शरीर ऐनामा जस्तो प्रत्यक्ष अगाडि तथा अन्यत्र भएको दृश्य आएको; नाभीमा, चक्रहरु स्थित भएको ठाडो लाइनमा र पुरै शरीरमा भिक्स दलेको जस्तो परपराएको, ठण्डा अनुभूति भएको र यो समयमा अत्यन्तै आराम र आनन्दको अनुभूति भएको; आज्ञा चक्रमा जोडजोडको खिचाव आएको; सहश्रार चक्रमा केही चलेको, खिचाव भएको, चिसो अनौठो किसिमको शितलता छाएको थियो र अत्यन्तै आनन्द आएको थियो यस्ता अनुभूतिहरु भैरहदा । यी लक्षणहरु निस्प्रयास मौन घटित हुनु भन्दा निकै अगाडिदेखि नै देखिएका थिए तर मौन पश्चात अझ प्रत्यक्ष, स्पष्ट र निरन्तर अनुभूतिमा आइरहे ।


मस्तिष्कमा स्नायु प्रणालीहरुको सक्रियता

मौन साधनाको क्रममा आफू लगायत अरुले पनि स्पष्ट देख्न सक्ने गरि भौतिक लक्षणहरु पनि देखिएका थिए । मौन साधना प्रारम्भ भएको दुई महिनापछि मस्तिष्कको निधार र तालु तथा विवेकशील मस्तिष्क अर्थात प्रिफ्रन्टल कोर्टेक्स्टमा साना–साना गोला, चेप्टा, लाम्चा खाल्डाहरु देखिए तर कुनै प्रकारको पिडा, चिलाउने तथा छालाको रंग परिवर्तन भएको थिएन । यी खाल्डाहरु सरिरहन्थे केही मिनेट, केही घण्टा, केही दिनमा । केही हप्तासम्म यो अवस्था निरन्तर दोहोरिरह्यो र यसविचमा निधार तथा आज्ञा चक्रदेखि सहश्रार चक्रको भाग र एक कनसिरीदेखि अर्को कनसिरीसम्म निरन्तर मस्तिष्कका स्नायु प्रणालीहरुमा तरंग तथा वेभका रिदमहरु चलेको स्पष्टसंग प्रत्यक्ष रुपमा अनुभवमा आयो । यससंगै नाभि र हृदयमा पनि तरंग तथा वेभका रिदमहरु चलेको महसुस भएको थियो । यी तरंग तथा वेभका रिदमहरु चल्दा ब्रम्हाण्डका कालागंकुलुंग ध्वनि तथा अनौठा आवाजहरु अन्तरहृदयमा श्रवणमा आउन थाले । ती कालागंकुलुगं ध्वनि तथा अनौठा आवाजहरु ब्रम्हाण्डका अनगिन्ती सूचनाहरु थिए तर के विषयका सूचनाहरु हुन् भनेर ठम्याउन मुस्किल हुन्थ्यो । एक व्यक्ति तथा समुहहरु बोलेको जस्तो, कलकारखाना चलेको जस्तो, मन्दिरको घण्टी बजेको जस्तो, सकैले केही पाठ गरिरहे जस्तो... धेरै प्रकारका ध्वनि तथा आवाजहरु सुनिन्थे । 


नित्य पूजामा अस्तित्वको सक्रियता

मौन साधनाका क्रममा विहान साँझको नित्य पूजा तथा प्रार्थनाका क्रममा अलौकिक दृश्य, ध्वनि, सुगन्ध, स्पर्स, दिव्य सन्देशहरु आउन प्रारम्भ भए । पूजा गर्दा बजाइएको घण्ट र डमरु २०–२५–३०–४० मिनेटसम्म अखण्ड बजेको बज्यै हुन्थे र स्वस्फुर्त अजपा नाम तथा मन्त्र जप चलिरहन्थ्यो, आफूले रोक्न चाहेर रोकिदैनथ्यो, हात गल्दैनथ्यो बरु हातमा अझ बढि उर्जा र स्फुर्ति आएको महसुस हुन्थ्यो । लामोबेरसम्म चलिरहदा आफूले रोकौंकि तथा अव रोकिए हुन्थ्यो भन्ने भाव मनमा आउदा अन्तरहृदयबाट आन्तरिक गुरुको सन्देश आउथ्यो, “...बजिरहन दे...” । १०८ माला जप गर्दा पनि लामोबेर जप चलिरहन्थ्यो, समय बितेको थाहा नै हुदैनथ्यो । पूजा तथा प्रार्थनाको समयमा स्वतः आँखा बन्द हुन्थे र तुरुन्तै गहन ध्यान तथा समाधि घटित हुन्थो र आँखा खुल्दै खुल्दैनथे आफूले खोल्न चाहदा पनि, परमात्माको अमृत नशा दिने उर्जाले तुरन्तै ढाकिहाल्थ्यो । ध्यान तथा समाधि साधनाको चक्र तथा समय पूरा भएपछि आफूले थाहै नपाइका अचानक आँखा खुल्थे र शरीर, मन, भावमा परमात्माको उर्जाको नशालु तोरा विस्तारै घटेर म सामान्य अवस्थामा आउँथें । परमात्माको उर्जाको तोरा घट्न समय लाग्नेवाला छ भने अन्तरहृदयबाट आन्तरिक गुरुको सन्देश आउथ्यो, “...उर्जामा छेस् अहिले नउठ, उठ्ने भए भित्तोको सहारा लिएर हिड नत्र लड्छेस्...”। घण्ट र डमरु निरन्तर बजिरहेको समयमा अन्तरहृदयमा ब्रहाण्डका कालांकुलुंग ध्वनि तथा अनौठा आवाजहरु सुनिन्थे । ती ध्वनि तथा अनौठा आवाजहरु अनगिन्ती सूचनाहरु थिए ब्रम्हाण्डका तर के विषयका सूचनाहरु हुन् भनेर ठम्याउन मुस्किल हुन्थ्यो, एक व्यक्ति तथा समुहहरु बोलेको जस्तो, कलकारखाना चलेको जस्तो, मन्दिरको घण्टी बजेको जस्तो... धेरै प्रकारका ध्वनि तथा आवाजहरु एकैपटक सुनिन्थे । 


सुगन्धित शरीर 

धेरै अघिदेखि नै बिनाकुनै श्रोत धेरैजसो समय श्रीखण्ड र अन्य प्रकारका अत्यन्तै मन मुग्ध र आकर्षित गर्ने सुगन्धहरु आउने गर्थे । मौन साधना प्रारम्भ भएपछि अझ प्रगाढ र छिटोछिटो सुगन्ध आउने गतिविधिहरु घटित हुनथाले । धेरैजसो पूजाकक्षमा पूजा तथा प्रार्थना गर्दाको समयमा आउथ्यो तर पछिपछि अन्य समयमा पनि श्रीखण्ड तथा धूपबत्तीहरुको अत्यन्तै मिठो सुगन्ध अनुभूतिमा आउन थाल्यो । मौन साधनाकै क्रममा अलिपछि आफ्नै नाभिबाट श्रीखण्डको सुगन्ध आउन थाल्यो, पहिरिएका बस्त्रहरुमा समेत श्रीखण्डको सुगन्ध आउन थाल्यो । विस्तारै आफ्नै दुवै हातका हत्केलामा श्रीखण्डको सुगन्ध आउन थाल्यो । यसक्रममा एकपटक मेरो मनमा आयो, मेरो हातमा यति मिठो सुगन्ध मलाई मात्र आएको होला कि अरुलाई पनि आउछ होला...! अन्तरहृदयबाट तुरुन्तै आन्तरिक गुरुको सन्देश आयो, “...अरुलाई सुघाउने होइन, तँलाई मात्र आउछ, अरुलाई आउदैन...” । मैले हस् प्रभु भनें र मनमनमा बुझें सायद यो चेतनाको विकासबाट हासिल भएको सिद्धि होला सिद्धको अनुभवमा मात्र आउने... । यही सुगन्ध आउने शिलशिलासंगै मुखमा अमृत रस तथा तरल पदार्थ वर्षिरहन्थ्यो र त्यसलाई निलेपछि शरीरमा शितलता, आराम, शान्ति, आनन्दको अनुभूति हुन्थ्यो । 


स्वस्फूर्त चेनताको यात्रा

सुक्ष्म जगतको अनुभूति तथा सुक्ष्म जगतका आत्मा अर्थात उर्जाहरुसंग साक्षातकार र संवाद सन् २०११ बाट नै प्रारम्भ भएको थियो र ध्यान साधनाको समयमा स्वस्फुर्त रुपमा बिनाकारण मुस्कुराउने, हाँस्ने, आँशु आउने, डाँको छोडेर रुने, जोडजोडले चिच्याउने, शरीर काम्ने हुन्थ्यो र यी गतिविधिहरु भैसकेपछि शरीर, मन, भाव, वुद्धि, चेतनामा एकप्रकारको अलौकिक शितलता, आराम, शान्ति तथा आनन्द छाउथ्यो । मौन साधनाको गहनतासंगै यो क्रम विस्तारै कम हुदै गयो । स्वघटित मौन साधनाको समयमा चेतनाको अर्को अध्याय प्रारम्भ भयो र समाधि लागिरहेको समयमा पराभौतिक संसारका शव्दातीत, इन्द्रियातीत, मनातीत, भावातीत, समयातीत, दुरीयातीत अत्यन्तै रहस्यमय, चमत्कारिक, अलौकिक तथा दिव्य अनगिन्ती पराभौतिक अनुभूतिहरु अनुभवमा आउन प्रारम्भ भए । शरीर, मन, भाव, चेतनामा परमात्माको अलौकिक उर्जा वर्षिरहने र उर्जाको अमृतमय नशामा झुम्म भैरहने र यही अवस्थामा ब्रम्हाण्डिय यात्राहरु हुनलागे । सफा कन्चन जलमा समुद्रको गहिराइमा समाधि लागिरहेको र आफ्नो वरिपरि साना–ठूला–रंगीविरंगी माछाहरु पौडीरहेका; ब्रम्हाणमा माथि–माथि पुगेको; गाडा निलो सफा आकाशमा ग्रह, नक्षेत्र, ताराहरुको साथमा आफू रहेको; शव्दमा वर्णननै गर्न नसकिने अत्यन्तै प्रज्वलित दिव्य प्रकाशका ज्योतिहरुको दर्शन भएको । आफैंले आफ्नो एकमुष्ट शरीर लगायत हात, पाखुरा, हत्केला, औंला, पैताला आदि अंगअंग, मांसपेसी, नशा, अस्थि, जोर्नी आदि सबै शरीरका कणकण कहिले विभिन्न इन्द्रेनी रंगहरुमा, कहिले एउटा मात्र रंग सुनौलो, क्रिम, निलो, प्याजी, हरियो, पहेंलो, सुन्तले, रातो रंगहरुमा प्रज्वलित भएर झलमल्ल भएको देखिएको थियो एकदम चम्किलो । कहिलेकाहीं राति योग निद्रामा प्रवेश गर्नुपूर्व पनि यस्ता दृश्यहरु आउथे र अद्यावधिक आइरहेका छन् ।

स्मरण रहोस्: हामी गुरु, सदगुरु, हरिगुरु भन्ने शव्द र यसका अर्थ तथा भावहरुलाई बारबार प्रयोग गर्ने गर्दछौं दैनिक बोलिचालिको भाषामा । यी सबै वाहिरी गुरु हुन्, आन्तरिक गुरु हामीभित्र हुन्छ हाम्रो अन्तरहृदयमा जसलाई 'हरिगुरु' भनिन्छ । हरिगुरुको अर्थ हो 'हरि' पनि उही हो र 'गुरु' पनि उही हो ।उही परमात्मा अर्थात परब्रह्म नै हरि हो र गुरु पनि हो, अध्यात्म साधनामा साधकलाई उसलै सबै सिकाउछ, उसैले सबै ज्ञान दिन्छ । सनातन शास्त्रहरुमा उल्लेखित गुरु महामन्त्र, "गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः गुरुः साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः ।।" हामीभित्र रहेको आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात परमात्माप्रति समर्पित महामन्त्र हो यो किनकी हामीभित्र रहेको आन्तरिक गुरु हाम्रो आत्मा हो र आत्मा नै साक्षात परब्रह्म अर्थात परमात्मा हो र त्यो स्वयं हामी नै हौं । हामी भन्दा वाहिर रहेका गुरु तथा सदगुरु हामीभित्र स्थित हरिगुरुसंग साक्षातकार गराउन मद्धत गर्ने सहयोगी, साधन तथा माध्यम मात्र हुन् । 

यी सबै परालौकिक अनुभव तथा अनुभूतिहरु वर्तमान समयमा पनि हुने गरेका छन् खासगरि चन्द्र पात्रो अनुसारका विशेष दिनहरुमा, व्रतराखेको समयमा, इन्टरमिटेन्ट तथा अटोफेजी फास्टिंगहरु आदिमा । परमात्माको यो असीम कृपा, आशिर्वाद, प्रेम तथा करुणाप्रति अन्तरहृदयमा निरन्तर नतमस्तक भाव बनिरहन्छ र बारबार स्वस्फुर्त प्रार्थना चलिरहन्छ, हे प्रभु ! यो अलौकिक दिव्यता अरु अध्यात्म साधकहरुमा पनि घटित होस् र यसकालागि मेरो आवश्यकता छ भने जसरी आवश्कता छ त्यसरीनै यो सेवामा मलाई प्रयोग गर्नुहोस्, म भन्ने कोही छैन यहाँ सबै हजुर परमात्मा नै हो कणकणमा व्याप्त, सर्वशक्तिमान, सर्वव्यापक..., हरि ॐ ततसत् ! हे प्रभु, तिमी मात्र परमसत्य हौ, तिमी नै अन्तिम सत्य हौ, तिमी नै समष्टि हौ, तिमी भन्दा पर अरुकेही पनि छैन...  !!

                                                                         अस्तु

                                                  शिवोहम् ! शिवोहम् !! शिवोहम् !!! 


No comments:

Post a Comment