'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 31 May 2025

म चेतना हुँ, मेरो चेतनाको तह जस्तो छ मेरो जीवन त्यस्तै हुन्छ, खण्ड -३

 डा. सिर्जना भण्डारी

     #अध्यात्म_दर्शन #जीवन_दर्शन   


म चेतना तथा उर्जाको कुन तहमा छु भनेर कसरी पत्ता लगाउने ?


विषय प्रवेश

पकृति तथा मानव सभ्यताको विकासक्रममा आजको मितिसम्म आइपुग्दा ब्रम्हाण्डको अन्तिम शाश्वत सत्यको सन्दर्भमा अध्यात्म विज्ञानले दशौं हजार वर्ष पहिलेनै उजागर गरेको विषयमा अव आधूनिक भौतिक विज्ञान पनि राजी भएको छ र दुवै विज्ञानले एकै प्रकारको मत जाहेर गरेका छन् कि ब्रम्हाण्ड र ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति र पदार्थहरु चेतना तथा उर्जाबाट निर्मित भएका हुन् अर्थात यी सबैको अन्तिम अर्थात सुक्ष्म(क्वान्टम) श्रोत चेतना हो । चेतनाबाट नै उर्जा बन्छ र चेतनानै पदार्थ बन्ने हो । अहिलेसम्म अस्तित्वमा आएका अध्यात्म विज्ञान र भौतिक विज्ञानका वैज्ञानिक खोज अनुसार पृथ्वीमा रहेका सबै प्रकारका जीवहरुमध्य मानिस सर्वाधिक चेतनशील(चेतनाको उच्चतम विकास भएको) प्राणी हो । मानिसको जीवनमा चेतना तथा उर्जाको विशेष महत्व रहेको हुन्छ किनकी उसको जीवनका हरेक क्रियाकलापहरु गर्न सर्वप्रथम उर्जाको आवश्यकता पर्दछ । मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा उर्जाको संचार छ भने उ जीवित छ, जीवनमा आफूले चाहे अनुसार गर्नसक्छ तर उर्जाको संचार छैन भने यो मत्युको अवस्था हो । मानिसको चेतना तथा उर्जाको तह तीन प्रकारका अवस्था रहेका हुन्छन्– (१)न्यूनतम(उर्जाको तह २० देखि २००), (२)मध्यम(उर्जाको तह २०० देखि ५००), र (३)उच्चतम(उर्जाको तह ५०० देखि १०००) । 

उर्जाको न्यूनतम अवस्थामा मानिसको जीवन कष्टकर हुन्छ, मध्यम अवस्थामा औषत हुन्छ र उच्चतम अवस्था उसले सोचे जस्तै स्वस्थ, सुखी, खुशी, सहज, सरल, समृद्ध, सफल, शान्त र आनन्दले भरिएको जीवन हुन्छ । मानिसले अध्यात्म विज्ञान तथा मनोविज्ञानका वैज्ञानिकतामा आधारित विभिन्न विधि तथा पद्धतिहरुको अनुशरण गरेर आफ्नो शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक उर्जाको तह बढाएर न्यूनतमबाट मध्यम, मध्यमबाट उच्चतममा पुर्याउन सक्छ । यस्तो अवस्थामा उसको जीवन सकारात्मक, सहज, सरल बन्नुकासाथै उ कलात्मक ढंगले जीवन जीउन सक्षम हुन्छ र योग विज्ञानको साधना गरेर जीवनमा अध्यात्म विज्ञानका विविध अलौकिक आयामहरु हासिल गरि जीवनको उच्चतम अवस्था तथा श्रेष्ठतम उचाइ मोक्ष समेत हासिल गर्न सक्छ । यसर्थ, यदि मासिनको चेतना तथा उर्जाको तह सकारात्मक तथा राम्रो छ भने उसको जीवनका सबै आयामहरु– व्यक्तिगत, पारिवारीक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मानवीय, धार्मिक, आध्यात्मिक आदि हरप्रकारका अवस्थाहरुमा उ सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित बन्न सक्छ तर यसको विपरीत मानिसको चेतना तथा उर्जाको तह नकारात्मक तथा नराम्रो छ भने उसको जीवनका सबै आयामहरु अव्यवस्थित, लथालिंग र भताभुंग हुन सक्छन्, उ आफू सवयं, परिवार, समाज, राज्य कसैकालागि काम नलाग्ने रोगी तथा निकम्मा बन्न सक्छ । यसप्रकार आफ्नो चेतना तथा उर्जाको तह तथा गुण्स्तर कस्तो बनाउने; कहिले बनाउने र कसरी बनाउने यो सबै मानिसको आफ्नै स्वतन्त्र निर्णय तथा नियन्त्रणमा रहेको हुन्छ । विवेकशील मानिसले आफ्नो चेतना तथा उर्जाको सदुपयोग गर्छ र आफू लगायत सबैको भलाइ हुने सर्वकल्याणका काम गरेर सबैलाई काम लाग्ने मानिस बन्छ भने मुर्ख मानिसले आफ्नो चेतना तथा उर्जाको दुरुपयोग गर्छ र आफू लगायत सबैलाई कष्ट दिन्छ । 


म मेरो चेतना तथा उर्जाको कुन तहमा छु, कसरी जान्ने ?

चेतना तथा उर्जाको सन्दर्भमा सबैलाई सहजै बुझ्न तथा बुझाउन सहज गराउने उद्देश्यले मानिसमा चेतना तथा उर्जाको तह कति हुदा उसमा के–कस्ता गुण, लक्षण, व्यवहार तथा प्रतिक्रियाहरु देखिन्छन् भन्ने सन्दर्भ प्रतिविम्वित गर्न चेतना तथा उर्जाका अवस्थालाई १८ तहमा बिभाजन गरिएको भएपनि औषतमा मुख्यतया चेतना तथा उर्जाका दुई तहमा सर्वाधिक व्याख्या हुने गरेका छन्– (१)साहस, र (२)प्रेम । साहसमा चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ, चेतना तथा उर्जाको १८ तह विभाजनमा साहस १०औं तहमा पर्छ र प्रेममा चेतना तथा उर्जाको तह ५०० को हाराहारीमा रहेको हुन्छ, चेतना तथा उर्जाको १८ तह विभाजनमा प्रेम १५औं तहमा पर्छ ।


साहस र चेतना तथा उर्जाको तह

चेतना तथा उर्जाको तह सबैभन्दा न्युनतमदेखि गणना गर्दा, क्रमशः पहिलो तह मृत्यु हो जहाँ चेतना तथा उर्जाको तह ० रहेको हुन्छ । दोस्रो तहदेखि ९औं तहसम्म क्रमशः– हिनतावोध–२०, अपराधवोध–३०, निराशा–५०, भावनात्मक कुण्ठा–७५, डर–१००, इच्छा–१२५, क्रोध–१५०, अभिमान–१७५ मानिसको चेतना तथा उर्जाको न्यूनतम तह हो र साहस १०औं तह हो । साहसको अवस्थामा चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ । चेतना तथा उर्जाको ९ औं तहसम्म मानिसले न्यूनताकै अवस्था अर्थात मानवीय विकार तथा त्रिगुणमयी प्रकृति प्रदत्त क्लेश(काम, क्रोध, लोभ, मोह, इष्र्या, हिंसा, राग, द्वेश, अहंकार, भय, अषन्तोष, गुनासो, अस्वीकार, आलश्य)युक्त जीवन जीउछ । चेतना तथा उर्जा न्यून तहमा हुदा मानिस आफूले आफूलाई कमजोर, हिनतावोध, आत्मविश्वास गिरेको, असहाय, जोश, जाँगर, हिम्मत, आँट, साहस, प्रेरणा नभएको, जीवनप्रति नै निराश, उदाषिन तथा हारेको पाउँछ । हामी आफूले जीवनमा यस्तो अवस्था महसुस गरिरहेका छौं भने यो चेतना तथा उर्जाको न्यूनतम तह हो । अध्यात्म विज्ञानका वैज्ञानिकतामा आधारीत योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु र मनोविज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारीक तथा प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर चेतना तथा उर्जाको तह माथि उठाएर जीवन स्वस्थ, सुखी, खुशी, सहज, सरल, सफल, शान्त र आनन्दित बनाउन सकिन्छ ।


चेतना तथा उर्जाको १०औं तह साहसलाई औषत तह मानिन्छ, यो मानिसको सामथ्र्य तथा क्षमता वृद्धिको अवस्था हो किनकी यो तहबाट मानिसले आफूलाई चेतना तथा उर्जाको न्यूनतम तहमा रहेको अवस्थाको असन्तुलित, तनावग्रस्त तथा अव्यवस्थित जीवनबाट विस्तारै माथि उठाउन प्रारम्भ गर्छ । आफ्ना क्षमता, सवलता र दुर्वलताहरुलाई सुक्ष्म रुपमा नियाल्न, बुझ्न र बुझेर त्यसलाई सकेसम्म सकारात्मक दिशा दिने प्रयत्न गर्न थाल्छ । साहसको अवस्थामा चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ । पश्चिमका अध्यात्म विज्ञानका गुरु(स्पृचुअल मास्टर) डा. डेभिड हकिन्सका अनुसार चेतना तथा उर्जाको २०० तह विश्वकै औषत अवस्था हो, विश्वका ८५ प्रतिशत मानिसहरु यो अवस्था तथा तहमा जीवन जीरहेका छन् । चेतना तथा उर्जाको २०० तह(साहस)मा मानिस आफूलाई र आफ्ना दुर्वलता तथा कमी–कमजोरीहरुलाई स्पष्टसंग देख्न थाल्छ । आफ्ना कमजोरी तथा असफताहरुको दोष अरुलाई लगाउन र गुनासोले भरिन छोडेर आफूलाई सक्षम बनाउन प्रयास गर्न प्रारम्भ गर्छ किनकी चेतना तथा उर्जाको यो तहमा उसलाई आफ्नै कारणले अर्थात आफ्नै सोच, विचार, व्यवहार, आचरण, कर्मका कारण जीवनमा असहजताहरु आएका हुन भन्ने ज्ञात हुन थाल्छ । अव उ यसअघिका आफ्ना सबैप्रकारका कमी–कमजोरीहरुलाई सुधार गर्ने प्रयत्न गर्दै आफ्नो जीवनका सबै क्रियाकलाप तथा गतिविधिहरु र जीवनका सबै आयामहरुको जिम्मेदारी आफैं लिन तथा उठाउन थाल्छ र जीवनमा अगाडि बढ्न शुरु गर्दछ र चेतना तथा उर्जाका माथिल्ला तहहरु क्रमशः निश्पक्षता–२५०, तत्परता–३००, स्वीकार–३५०, विवेक–४०० को तहमा प्रवेश गर्दै जान्छ ।


प्रेम र चेतना तथा उर्जाको तह

विवेकपछि चेतना तथा उर्जाको १५औं तह प्रेम हो । प्रेमको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह ५०० को हाराहारीमा रहेको हुन्छ । यो त्यस्तो प्रेम होइन जहाँ दुई जना मानिसको आवश्यकता पर्दछ आपसी प्रेम व्यक्त गर्न । यो एकत्वको अत्यन्तै गहन, भावनात्मक(भावातीत पनि हुनसक्छ) अनुभव तथा अनुभूति हो । प्रेमको यस्तो अवस्थामा मानिस ब्रम्हाण्डको अनन्त दायरासंग जोडिन पुग्छ । अर्को शव्दमा भन्नुपर्दा, मानिस एकत्व तथा अद्वेतमा एकाकार हुन्छ जहाँ “एको ब्रम्ह द्वुतियो नास्ति, तत्वमसि” अर्थात ब्रम्ह एक छ र त्यो तिमी नै हौ भन्ने शाश्वत अवस्थाको प्रत्यक्ष अनुभूति गर्छ । यसरी ब्रम्ह तथा अद्वेतमा एकाकार भएको प्रबुद्ध, प्रज्ञा पुरुषले सबैमा आफू र आफूमा सबै भएको अनुभूति गर्न तथा देख्न थाल्छ । यो अवस्थामा मानिसका सबै प्रकारका मानवीय विकार तथा क्लेसहरु मेटिन्छन्, पूर्ण रुपमा हटेर जान्छन्, उभित्र सबैप्रति सकारात्मक भाव जागृत हुनथाल्छ । उ हरहमेसा पूर्णरुपमा सुख, खुशी, शान्त र आनन्दित भावमा रहन्छ । यस्तो भाव उसको अन्तरजगतबाट प्रष्फुटित भएर आएको हुन्छ, यो शाश्वत तथा दिगो हुन्छ र यो अवस्थालाई वाहिरका कुनै प्रकारका परिस्थिति तथा गतिविधिहरुले खल्बल्याउन तथा मेटाउन सक्दैनन् । यस्तो मानिस सदा यही भावमा स्थिर रहीहन्छ र आफ्नो जीवनमा कर्तव्य तथा उत्तरदायित्वहरु पूरा गर्दै एउटा फरक प्रकारको व्यक्तित्व र विशिष्ठ प्रकारको नेतृत्व गरेर समाजमा योगदान पुर्याउदै पूर्ण मानवको जीवन जीउछ । प्रेमको अवस्थापछि चेतना तथा उर्जाको तहले खुशीको अवस्थामा उडान भर्छ, त्यस्तो खुशी जो मनिसको अन्तरजगतबाट प्रष्फुटित भएको हुन्छ, यो दिगो र शश्वत हुन्छ जसलाई वाहिरका कुनै पनि गतिविधिहरुले कम गर्न तथा खल्बल्याउन सक्दैनन्। 


खुशीको अवस्थामा चेतना तथा उर्जाको तह ५४० को हाराहारीमा रहेको हुन्छ र यसपश्चात क्रमशः चेतना तथा उर्जाको तहले परम शान्ति हुदै बुद्धत्व प्राप्तिमा छलागं लगाउछ । चेतना तथा उर्जाको यो तहमा विस्तारै अव मानिस बुद्धत्व तथा निर्वाण तथा मोक्ष(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ र परमात्मामा सदाकालागि एकाकार भएर जन्म र मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्त हुन्छ । परम शान्तिको अवस्थामा चेतना तथा उर्जाको तह ६०० र बुद्धत्व प्राप्तिको अवस्थामा चेतना तथा उर्जाको तह ७०० को हाराहारीमा रहेको हुन्छ । साधकले ध्यान तथा समाधिको अवस्थामा निरन्तर प्रगति गर्दै गए अनुसार चेतना तथा उर्जाको तह अव ७०० बाट बढ्दै १००० तर्फ अग्रसर हुन्छ र उ अवतार पुरुषको रुपमा मानव समाजमा स्थापित हुनपुग्छ । भगवान शिव, भगवान राम, भगवान कृष्ण, भगवान बुद्ध, भगवान इशामसिह, भगवान पैगम्बर मुहम्मद अवतार पुरुषहरु हुनुहुन्छ जसले शरीर छोडेर जानुभए पनि युगौं युगसम्म सान्दर्भिक भैरहेने मानवीय महाज्ञान तथा सुत्रहरु मानव समाजलाई दिएर जानु भयो र अध्यात्मको आकासमा सदाकालागि अमर बनेर रहनुभयो ।


मानिसको प्रतिक्रियाबाट चेतना तथा उर्जाको वास्तविक तह जान्न सकिन्छ

अध्यात्म गुरु डा. डेभिड हकिन्स भन्छन्, चेतना तथा उर्जाका यी तहहरु कुनै ठूला तथा साना हुदैनन् । यो चृतना तथा उर्जालाई मापन गर्न सजिलो होस भनेर तय गरिएको एकप्रकारको सुत्र तथा विधि मात्र हो । चेतना तथा उर्जाको तह थर्मोमिटरको डिग्रीको अंक जस्तै हो, ० डिग्री भन्दा मूनि पानी जमेर बरफ तथा ठोस बन्छ; १०० डिग्री नपुगुन्जेल पानी तरल स्वरुपमै रहन्छ; र १०० डिग्री भन्दामाथि पानी उम्लेर वाफ तथा ग्याँस बन्छ तर जुन स्वरुपमा रहेपनि पानी त पानी नै हो । चेतना तथा उर्जाको तह पनि यस्तै हो, जुन अवस्थामा भएपनि यसको स्वरुप चेतना तथा उर्जा नै हो, तसर्थ चेतना तथा उर्जाको औषत मानिएको २०० तथा त्यसभन्दा तलको अवस्था नराम्रो हो भन्ने होइन । चेतना तथा उर्जाका यी तहहरु मानिसले आफ्नो तत्कालीन मनस्थिति तथा भावास्थिति अनुसार कस्तो प्रतिक्रिया तथा व्यवहार व्यक्त गर्छ भनेर हेर्ने तय गरिएका एकप्रकारका मापदण्डहरु मात्र हुन् । चेतना तथा उर्जा कुन तह तथा अवस्थामा रहदा मानिसले कस्तो प्रतिक्रिया तथा व्यवहार देखाउछ त्यस अनुसार थाहा पाउन सकिन्छ उ चेतना तथा उर्जाको कुन तहमा छ भनेर । चेतना तथा उर्जाका यी १८ तह तथा अवस्थाबाट हरेक मानिस एकनएक समयमा गुज्रिएको हुन्छ लामो तथा छोटो अवधिकालागि किनकी मानव जीवन भनेकै सुख, दुःख, डर, असुरक्षा, अनिश्चितता, तनाव, चिन्ता, आशा, निराशा, क्रोध, घृणा, अभिमान, अहंकार, साहस, प्रेरणा, खुशी, प्रेम, शान्ति, आनन्दको संयोग हो । वर्तमान समयमा मानिसहरुले जीवनयापन गरिरहेको भागदौड, प्रतिस्पर्धा, आशा, निराशा, डर आदि अवस्थाहरुमा चलिरहेको दैनिकीमा प्रायजसो मानिसहरु चेतना तथा उर्जाका १८ तहमध्य ३(अपराध तथा प्रायश्चित वोध, उर्जाको तह–३०) र ४(निराशा तथा उदाषि, उर्जाको तह–५०)को अवस्थामा रहने गर्दछन् । मानिसले आफूले आफ्नो जीवनमा नचाहेको तथा अनइच्छित परिणाम बेहोर्नु परेको यस्तो असहज अवस्थामा उसको मानसिक तथा भावनात्मक अवस्थामा अत्यन्तै धेरै उतार–चढाव तथा दवावहरु आउने गर्दछन् । 


दैनिक जीवनयापनको क्रममा यस्ता प्रकारका मानसिक तथा भावनात्मक उतार–चढाव तथा दबाव बेहोरीरहेको अवस्थामा यदि मानिसले प्रतिक्रियात्मक भएर बिना सोची, सम्झी आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा लज्जा तथा हिनतावोध महसुस भएको भाव तथा व्यवहार देखाउछ भने उसको चेतना तथा उर्जाको तह घटेर हिनतवोधमा पुगेको हुन्छ । हिनतवोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर २०को हाराहारीमा पुग्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा उसले अपराधवोधको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर अपराधवोधमा पुग्छ । अपराधवोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर ३०को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा निराशा तथा उदाषिको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर निराशामा पुग्छ । निराशाको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर ५०को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा मन तथा भावना चोट परेको भाव तथा व्यवहार व्यक्त गर्छ, रुन्छ, बिलौना गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर भावनात्मक चोटमा पुग्छ । भावनात्मक चोटको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर ७५को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा डराएको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर डरमा पुग्छ । डरको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर १००को हाराहारीमा पुगेको हुन्छ । 


त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा इच्छा पूरा नभएको, असन्तुष्टीको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर इच्छामा पुग्छ । इच्छाको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर १२५को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा कराउने, चिच्याउने, सामान फाल्ने भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर क्रोधमा पुग्छ । क्रोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर १५०को हाराहारीमा पुगेको हुन्छ । 


यी चेतना तथा उर्जाका अत्यन्तै न्यून तह, नराम्रो तथा चुनौतीका अवस्थाहरु हुन् । यस्ता अवस्थाहरुले मानिसलाई जीवनमा अगाडि बढ्न बाधा गर्दछन् । यस्तो अवस्थामा मानिसलाई सम्झाउने, बुझाउने, उचित सरसल्लाह तथा परामर्श(काउन्सेलिगं) दिनुपर्ने आवश्यकता हुन सक्छ, कहिलेकाहीं त औषधि उपचार तथा डाक्टरको चेकजाँच तथा परामर्शको समेत आवश्यकता पर्नसक्छ । तर यसको विपरीत यस्तो अवस्थामा मानिस संयमित भएर आफ्नो सुरक्षार्थ(डिफेन्सिभ) खडा हुन्छ, समस्याको समाधान खोज्छ, आफ्ना कमजोरी स्वीकार गर्छ भने उ साहसको अवस्थामा रहेको हुन्छ । साहसको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह २००को हाराहारीमा पुगेको हुन्छ । यो अवस्था विश्वको वर्तमान समयको चेतना तथा उर्जाको औषत तह हो । यो राम्रो तथा प्रगतिशिल अवस्था हो, यो अवस्थाले मानिसलाई जीवनमा अगाडि बढ्न मद्धत, प्रोत्साहन तथा प्रेरणा प्रदान गर्दछ । जव चेतना तथा उर्जाको तह ५००बाट माथितिर उकालो लाग्छ तव यस्तो मानिस आदर्श पुरुष(आत्मा अर्थात चेतना) बन्छ, उसकालागि सबै एक समान हुन्छ । वाहिरका कुनै पनि परिस्थिति तथा गतिविधिहरुले अव उसको चेतना तथा उर्जाको तहलाई तल झार्न सक्दैनन्, उ स्थिर तथा स्थितप्रज्ञ(स्वत्वमा स्थित) भैसकेको हुन्छ र उसको जीवनको एकमात्र उद्देश्य तथा लक्ष्य आफ्नो मूलस्वरुप परमात्मा योगस्थ हुने तथा मोक्षको प्राप्ति गर्ने रहेको हुन्छ । यसक्रमा यस्ता सम्बुद्ध, प्रबुद्ध पुरुषहरुले आफ्नो लगायत अरुको पनि भलाई हुने सर्वकल्याणका कामहरु गर्दै आफूलाई परमात्मा प्राप्तिको मार्गमा अग्रसर गराइरहन्छ र एकदिन बुद्धत्व तथा निर्वाण तथा मोक्षमा उपलव्ध हुन्छन् र सदाकालागि अमर बन्दछन् ।


यसप्रकार आफ्नो दैनिक गतिविधिहरु, आफ्ना मानवीय गुण तथा अवगुण र आफ्ना सोच, विचार, व्यवहार, आचरण, कर्म, व्यक्तित्व आदिलाई सुक्ष्म रुपमा नियालेर तथा विस्तृत रुपमा अवलोकन गरेर चेतना तथा उर्जाका यी १८ प्रकारका तहमा आफू कुन तह तथा अवस्थामा छु भनेर सहजै पत्ता लगाउन तथा जान्न सकिन्छ । चेतना तथा उर्जाको सही तह तथा सही अवस्था पत्ता लागिसकेपछि आफ्नो शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक उर्जाको सही व्यवस्थापन तथा विकास गर्न अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक व्यवहारिक जीवनमा प्रयोगात्मक अभ्यास गरेर चेतना तथा उर्जाको तह बढाउदै लान सकिन्छ र आफ्नो जीवनको विकास सही प्रकारले गर्न सकिन्छ । तत्काल आफू चेतना तथा उर्जाको जुन अवस्थामा रहेका छौं त्यही अवस्थाबाट चेतना तथा उर्जाको तह अझ माथितिर बढाउन तथा विकास गर्न प्रयोगात्मक अभ्यास शुरु गर्नुपर्छ ।  bsirjana@gmail.com

छिट्टै
मेरो चेतना तथा उर्जाको तह कसरी बढाउन सक्छु ?




 

Wednesday, 28 May 2025

त्रि–शरणागमनः बुद्धं शरणं गच्छामि । धम्मं शरणं गच्छामि । संघं शरणं गच्छामि ।

 डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #जीवन_दर्शन   #बौद्ध दर्शन


महामन्त्र

“ॐ नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।” अर्थात म शुद्ध मन, वचन, कर्मले निर्वाण पुरुष बुद्धलाई नमन गर्दछु । यो मन्त्र तीनपटक वाचन गर्दै कुनै महत्वपूर्ण कार्यको शुभारम्भ गर्ने तथा भगवान बुद्धप्रति सम्मान व्यक्त गर्ने गरिन्छ ।

“ॐ मणिपद्य्मे हुम् ।” अर्थात म शुद्ध मन, वचन, कर्म, करुणा, प्रज्ञाको संयोग हुँ । मन तथा वचनले यो मन्त्र निरन्तर जप(माला सहित, माला बाहेक) गर्ने गरिन्छ र आफ्नो मनलाई निरन्तर भगवान बुद्धमा तथा धर्ममा लगाउने प्रयत्न गरिन्छ ।

“बुद्धं शरणं गच्छामि ।” अर्थात म प्रज्ञा, बोध, बुद्ध तथा चेतनाको आश्रयमा जान्छु ।
“धम्मं शरणं गच्छामि ।” अर्थात म धर्म, कर्तव्य तथा सत्यको आश्रयमा जान्छु ।
“संघं शरणं गच्छामि ।” अर्थातको म समुह तथा संगठनको आश्रयमा जान्छु ।


शव्दार्थः ‘ॐ’– शुद्ध मन, वचन, कर्म; ‘नमो’– नमस्कार; ‘तस्स’– वहाँ; ‘भगवतो’ धन्य; ‘अर’ धर्मका वाधाहरु; ‘हतो’ अन्त्य गर्ने; ‘सम्मा’ सम्यक, सन्तुलित; ‘सम’ बराबर; ‘बुद्धस्स’ पूर्णतया प्रबुद्ध, निर्वाण; ‘मणि’ रत्न; ‘पद्य्मे’ करुणा, प्रज्ञा; ‘हुम्’ संयोग, मिलन; ‘बुद्धं’ बोध, प्रज्ञा, चेतना; ‘धम्मं’ धर्म, कर्तव्य; ‘संघं’ समुह, संगठन; ‘शरणं’ आश्रय; ‘गच्छामि’ जान्छु ।


विषय प्रवेश

सनातन हिन्दु धर्मको मूल ग्रन्थ श्रीमद् भगवद् गीतालाई मानिए जस्तै बौद्ध धर्म तथा बौद्ध दर्शनको मूल ग्रन्थ त्रि–पिटकलाई मानिन्छ । इशापूर्व २५०० वर्षअघि तपोभूमि नेपालबाट प्रादुर्भाव भएको बौद्ध धर्म तथा बौद्ध दर्शन आज विश्वमै सर्वाधिक मानवीय दर्शन, मध्यमार्गी तथा व्यवहारिक दर्शनको रुपमा स्थापित भएको छ । बौद्ध दर्शनका प्रणेता, आध्यात्म प्रवद्र्धन तथा शान्ति र ध्यानका अभियन्ता, एशियाका तारा भगवान गौतम बुद्ध शान्तिका अग्रदुतका रुपमा विश्वभरि नै सम्मानित हुनुहुन्छ । बौद्ध दर्शनका महत्वपूर्ण आदर्श तथा ज्ञानहरुमा त्रि–पिटक, त्रि–शरणागमन, पंचशील, त्रि–शिक्षा आदि विशेष हुन् ।

त्रि–पिटक

त्रि–पिटक बौद्ध दर्शनको मूल ज्ञान समेटिएको प्रमुख ग्रन्थ हो । यस ग्रन्थको रचना भएको समयावधि इशापूर्व १०० देखि ५०० मानिएको छ । बौद्ध दर्शनका ग्रन्थहरु आधारभूत रुपमा पालि भाषा तथा लिपिमा लेखिएका छन् । भगवान बुद्ध आफू स्वयंले कुनै ग्रन्थको रचना गर्नुभएको छैन । त्रि–पिटक ग्रन्थमा भगवान बुद्धले बुद्धत्व(निर्वाण)को ज्ञान हासिल गर्नुभए पश्चात वहाँ शरीरमा रहुन्जेल वहाँले जीवनभर वाचन गर्नुभएका सबै प्रवचन(देशना, उपदेश)हरु विस्तृतमा समावेश गरिएका छन् । भगवान बुद्धका शिष्यहरुले आउने पिढीले बौद्ध दर्शनका ज्ञान तथा जीवन र जगतका आदर्शहरु सजिलै जान्न तथा बुझ्न सकुन र जीवनमा सरल किसिमले अनुशरण गर्न सकुन भन्ने सर्वकल्याणको भाव राखेर यो महान ग्रन्थको रचना गरेका हुन् । अहिलेसम्म प्रचलनमा आएका बौद्ध दर्शनसंग सम्वन्धित सबै ज्ञान तथा जीवन र जगतका आदर्शहरु त्रि–पिटक ग्रन्थमा विस्तृतमा संग्रहित गरिएका छन् र यसैबाट साभार गरिएका हुन् । यस महान ग्रन्थमा बौद्ध दर्शनका तीन प्रकारका महाज्ञान समावेश गरिएको हुनाले यसलाई त्रि–पिटक भनिएको हो । त्रि–पिटकमा समावेश गरिएका प्रमुख तीन प्रकारका ज्ञान निम्न प्रकार रहेका छन्–

विनय पिटक– विनय शव्दको शाव्दिक अर्थ अनुशासनसंग सम्वन्धित छ । यस ग्रन्थमा बौद्ध धर्म अनुशरण गरिरहेका शिष्य तथा भिक्षु, भिक्षुणीहरुलाई आदर्श जीवन जीउन आवश्यक पर्ने नियम, आचरण तथा अनुशासन सम्वन्धि उपदेशहरु समावेश गरिएका छन् । यस ग्रन्थको मूल सन्देश जीवनमा सही आचरण गरौं, नैतिकवान र अनुशासित बनौं भन्ने रहेको छ ।

सुत्त पिटक– सुत्त शव्दको शाव्दिक अर्थ सुत्र तथा प्रवचनसंग सम्वन्धित छ । यस ग्रन्थमा बौद्ध धर्म अनुशरण गरिरहेका शिष्य तथा भिक्षु, भिक्षुणीहरुले पालना गर्नुपर्ने धर्म सम्वन्धि उपदेशहरु सुत्रवद्ध रुपमा समावेश गरिएका छन् । यस ग्रन्थको मूल सन्देश जीवनमा मानवीय तथा करुणावान बनौं भन्ने रहेको छ ।

अभिधम्म पिटक– ‘अभि’को अर्थ विशेष हो र ‘धम्म’को अर्थ धर्म हो । अभिधम्म शव्दको शाव्दिक अर्थ विशेष धर्म, सत्य, प्रज्ञा, ज्ञान, वुद्धि, विवेक, तर्कसंग सम्वन्धित छ । यस ग्रन्थमा बौद्ध दर्शनका सिद्धान्त, तत्वमीमांसा, ज्ञानमीमांशा, नैतिकता, मनोविज्ञान सम्वन्धि ज्ञानहरु समावेश गरिएका छन् । यस ग्रन्थको मूल सन्देश बौद्ध दर्शनमा उल्लेख गरिएका जीवन र जगत सम्वन्धि ज्ञान तथा आदर्शहरु जानेर, बुझेर, अभ्यास गरेर आफ्नो चेतनाको उच्चतम विकास गरौं भन्ने रहेको छ ।


त्रि–शरणागमन

बौद्ध दर्शनमा बौद्ध धर्मका अनुयायिहरुलाई सहज प्रकारले जीवनमा धर्मसंगत किसिमले अगाडि बढ्दै जीवन र चेतनाको विकास गरि निर्वाण हासिल गर्न सहज गराउने उद्देश्यले केही महाज्ञानहरु प्रदान गरिएका छन्–

बुद्धं शरणं गच्छामि– यस वाक्यमा उल्लेख गरिएको ‘बुद्धं’को अर्थ केवल बुद्ध भगवानसंग मात्र सम्वन्धित छैन । बुद्ध शव्दको वास्तविक सम्वन्ध बोध, बुद्धत्व, निर्वाण अर्थात मोक्ष(इटरनल लिवरेसन) तथा विकसित चेतनासंग रहेको छ जुन विकसित प्रज्ञा तथा अन्तरज्ञानबाट आउछ । म प्रज्ञा तथा अन्तरज्ञानको शरणमा जान्छु र आफ्नो चेतनाको विकास गरेर निर्वाण तथा मोक्ष हासिल गर्न प्रयत्न गर्छु भन्ने यो वाक्यको मूल तात्पर्य हो । वर्तमान परिप्रेक्षमा सबैले सहजै बुझ्न सक्ने गरि बुद्ध शव्दको अर्थलाई बोध, प्रज्ञा, ज्ञान, वुद्धि, विवेक, तर्क, विद्या, शिक्षा, सूचना, जानकारीका रुपमा सरलीकृत गर्दै बौद्ध धर्मका अनुयायिहरुलाई बौद्ध दर्शनका जीवन र जगतसंग सम्वन्धित ज्ञान तथा आर्दशका विषयहरु सरल तथा सहज ढंगले सिकाउदै आइएको छ । समग्रमा यसको तात्पर्य हो ज्ञानी तथा शिक्षित मानिसले मात्र मानवीय मूल्य–मान्यताहरु बुझ्न सक्छ र उचित किसिमले बुझेर विवेकपूर्ण ढंगबाट सम्यक कर्म गर्न सक्छ र आफ्नो, समाजको, राज्यको तथा प्रकृतिको उन्नति तथा विकासमा योगदान पुर्याउन सक्छ ।

धम्मं शरणं गच्छामि– यस वाक्यमा उल्लेख गरिएको ‘धम्मं’को अर्थ धर्म, सत्य तथा कर्तव्यसंग सम्वन्धित छ । म भगवान बुद्धले प्रदान गर्नुभएका उपदेश तथा बौद्ध दर्शनमा मार्गनिर्देश गरिएका ज्ञान, सिद्धान्त, नियम, नैतिकता, अनुशासनको शरणमा जान्छु र निष्ठापूर्वक तीनको अनुशरण गरेर आफ्नो लगायत सबैको जीवनको विकास गर्छु तथा विकास गर्न मद्धत गर्छु भन्ने यो वाक्यको मूल तात्पर्य हो । वर्तमान परिप्रेक्षमा सबैले सहजै बुझ्न सक्ने गरि धम्मं शव्दको अर्थलाई धर्म, कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी, नैतिकता, अनुशासनका रुपमा सरलीकृत गर्दै बौद्ध धर्मका अनुयायिहरुलाई बौद्ध दर्शनका जीवन र जगतसंग सम्वन्धित ज्ञान तथा आर्दशका विषयहरु सरल तथा सहज ढंगले सिकाउदै आइएको छ । समग्रमा यसको तात्पर्य हो धर्मनिष्ठ, कर्तव्यनिष्ठ, उत्तरदायि, नैतिकवान तथा अनुशासित मानिसले मात्र मानवीय मूल्य–मान्यताहरु बुझ्न सक्छ र मानवीयताका लागि न्याय, समानता, स्वतन्त्रताका वास्तविक भावलाई गहिराइसम्म बुझेर सर्वकल्याणका लागि भलाईका कामहरु गर्दै सबैलाई सहयोग गर्न सक्छ ।

संघं शरणं गच्छामि– यस वाक्यमा उल्लेख गरिएको ‘संघं’को अर्थ समुह तथा संगठनसंग सम्वन्धित छ । बौद्ध दर्शनले सुझाएका ज्ञान तथा आर्दशहरुलाई जीवनमा अनुशरण गर्दै सत्यको मार्गमा हिडेका बौद्ध अनुयायिहरुद्वारा सर्वकल्याणको भाव राखेर गठन गरिएका संगठनहरुमा म सामेल हुन्छु भन्ने यो वाक्यको मूल तात्पर्य हो । संघं शरणं गच्छामिको वास्तविक सार म यसरी गठन गरिएका बौद्ध समुदायका संगठित सामुहिक संघको शरणमा जान्छु र आफ्नो लगायत परिवार, समाज, राज्य, मानवीयता, प्राणी तथा प्रकृतिको विकास गर्छु तथा विकास गर्न मद्धत गर्छु भन्ने प्रतिवद्धता हो । वर्तमान परिप्रेक्षमा सबैले सहजै बुझ्न सक्ने गरि संघ शव्दको अर्थलाई समुह तथा संगठनको बल र प्रभाव गहन हुन्छ, म बुद्ध तथा बोधको शरण लिएर शिक्षित, ज्ञानी तथा चेतनशील भई, धर्मको शरण लिएर न्यायिक, कर्तव्यनिष्ठ तथा इमान्दार भइ संघको शरण लिएर सबैप्रति मैत्री भाव राख्दै संघ तथा संगठनमा समलग्न भएर मानवीय भलाई तथा सर्वकल्याणका कार्यहरु गर्नमा अग्रसर हुन्छु र आफ्नो लगायत अरुको जीवनको विकास गर्न योगदान पुर्याउछु भन्ने तात्पर्य बुझाउदै आइएको छ ।


पंचशील

शीलको शाव्दीक अर्थ नैतिकता तथा अनुशासन हो । बौद्ध दर्शनमा भगवान बुद्धले सर्वप्रथम विविध प्रकारका दुःखमा रहेका आम मानिसहरुको जीवनको सहज निकास तथा आवश्यक विकास गर्नकालागि महान आदर्श “चार आर्य सत्य” र “अष्टांगीक मार्ग” अर्थात दुःख निवारणका आठ मार्ग तथा उपायहरु प्रदान गर्नु भयो कसरी जन्म-मृत्युको कष्टदायि जीवनचक्रमा घुमिरहने दुःखबाट मुक्ति तथा निर्वाण पाउन सकिन्छ भन्ने सन्दर्भमा ज्ञान प्रदान गर्ने उद्देश्यले । चार आर्य सत्यमा हरेक मानिसको जीवनमा दुःख छ; दुःखको कारण छ; दुःखको निवारण छ; र दुःख निवारणको उपाय छ भन्ने ज्ञान समावेश गरिएका छन् । अष्टांगीक मार्गमा दुःख निवारणका आठ प्रकारका उपायहरु– सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्मान्त, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधिबारे ज्ञान समावेश गरिएका छन् । अष्टांगीक मार्गका उपायहरु सहीढंगले जीवनमा निष्ठापूर्वक अनुशरण गर्न तथा पालना गर्न सहज गराउने उदेश्यले पंचशीलमा सही प्रकारका वास्तविक नैतिकता सिकाउने ज्ञान, शील तथा अनुशासन प्रदान गरिएका छन् जस अन्तर्गत मानिसले गर्ने कस्ता–कस्ता प्रकारका गतिविधि, क्रियाकलाप, व्यवहार, आचरण तथा कर्महरुलाई सम्यक, सन्तुलित तथा मध्यमार्गी, धर्मनिष्ठ भनिन्छ र के–कस्ता दायरामा रहेर कसरी दैनिक जीवनमा तीनको पालना गर्नुपर्छ भन्ने सन्दर्भमा विस्तृतमा धर्म, कर्तव्य, अनुशासन तथा नैतिकताका आधारमा पंचशीलका ज्ञान तथा आदर्शका विषयहरु प्रदान गरिएका छन् । मानिसलाई दैनिक जीवनमा नैतिकतामा प्रतिवद्ध गराउने पाँच प्रकारका पंचशीलका अनुशासनहरु निम्न रहेका छन्–

(१)म कसैमाथि कुनै प्रकारको हिंसा तथा प्राणी हत्या नगर्ने शिक्षा ग्रहण गर्दछु । 
(२)म कसैको स्वामित्वमा रहेका सामानहरुको चोरी, ठगी नगर्ने शिक्षा ग्रहण गर्दछु । 
(३)म कसैसंग अनैतिक प्रकारले शारीरिक तथा असान्दर्भिक सम्वन्ध नबनाउने शिक्षा ग्रहण गर्दछु । 
(४)म कसैसंग झुठो तथा असत्य नबोल्ने शिक्षा ग्रहण गर्दछु । 
(५)म नशाजन्य कुराहरु सेवन तथा प्रयोग नगर्ने शिक्षा ग्रहण गर्दछु । 


त्रि–शिक्षा

सनातन हिन्दु दर्शनमा जीवनमा नैतिकता तथा अनुशासन ग्रहण गर्ने मूल शिक्षा खासगरि पतंजलि योग दर्शनमा उल्लेखित अष्टांग योग(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि)लाई मानिएको जस्तै बौद्ध दर्शनमा त्रि–शिक्षा– (१)शील, (२)समाधि, (३)प्रज्ञालाई मानिन्छ । शील, समाधि, प्रज्ञाको अनुशरण गरेर मात्र मानिस आफ्नो जीवनको र चेतनाको विकास गरेर निर्वाण हासिल गर्नसक्छ भन्ने त्रि–शिक्षाको मूल सन्देश हो ।

शील– माथि पंचशीलमा उल्लेखित सबै प्रकारका पाप तथा अधर्महरु– हिंसा, चोरी, अनैतिक सम्वन्ध, झुठ, नशा सेवनबाट मुक्त हुनु शील तथा अनुशासित हुनु हो । जो कोही साधकले शीलमा रत(आवद्ध) रहेर जीवन र चेतनाको विकास गरेर निर्वाण प्राप्त गर्न सक्छ ।

समाधि– मनको एकाग्रता समाधि हो । सकारात्मक भावमा, शरीर तथा शरीरका अंगमा, श्वास–प्रश्वासमा, गुरुको छवि तथा मुर्तिमा, धर्मका मन्त्रहरु, महाज्ञानका श्लोक तथा आदर्शहरुमा ध्यान केन्द्रित गरेर मन तथा विचार शुन्यताको अवस्थामा पुगेर जीवन र चेतनाको विकास गर्दै जो कोही साधकले निर्वाण प्राप्त गर्न सक्छ ।

प्रज्ञा– आन्तरीक ज्ञान तथा चेतनाको तल(तह)बाट प्राप्त अन्तरज्ञानलाई प्रज्ञा भनिन्छ । इष्ट र अनिष्ट अर्थात जीवनका राम्रा–नराम्रा, सफल–असफल, सुख–दुःख सबै अवस्थाहरुप्रति समभाव तथा समत्व राख्न सक्नु र अनित्यलाई अनित्य नै देख्नु, असत्यलाई असत्य नै देख्नु, अधर्मलाई अधर्म नै देख्न सक्ने क्षमताको विकास हुनु चेतनाको विकास हुनु हो र यो प्रज्ञा, अन्तरज्ञान तथा तत्वज्ञान प्राप्तिको अवस्था हो । प्रज्ञा, अन्तरज्ञान तथा तत्वज्ञान प्राप्त गरेको साधक नै निर्वाण प्राप्तिको वास्तविक हकदार हुन्छ ।

आफ्नो जीवनमा निष्ठापूर्वक त्रि–शिक्षा पालन गर्ने साधकले जीवनका सबै प्रकारका तृष्णाहरु(इच्छा, कामना, आकांक्षा, वासना)बाट मुक्ति पाउछ जीवन र चेतनाको विकास गरि निर्वाणमा उपलव्ध हुन्छ ।  bsirjana@gmail.cpm




Sunday, 25 May 2025

ध्यान योगको प्रमुख उद्देश्य अति विचारलाई नियन्त्रण गर्नु हो

  डा. सिर्जना भण्डारी

     #अध्यात्म_दर्शन #जीवन_दर्शन   


विषय प्रवेश 

योग साधना सबै प्रकारका मानिसहरुका लागि अति आवश्यक र अत्यन्तै उपयोगी तथा प्रभावकारी पुर्वीय प्राचीन योग चिकित्सा विज्ञान हो । वर्तमान समयमा विश्वव्यापि रुपमा चिकित्सकीय तथा आरोग्यता हासिल गर्ने दृष्टिकोणले र निश्चित उद्देश्य तथा लक्ष्यहरु पूरा गर्न योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको व्यवहारीक अभ्यास तथा प्रयोग आधूनिक चिकित्सा विज्ञान र आधूनिक मनोचिकित्सा तथा मनोविज्ञान साथै विद्यालय, विश्वविद्यालय, व्यायामसाला, कार्यालयहरुले पनि गर्न शुरु गरेका छन् । हिजोआज विश्वव्यापि रुपमा योग साधनालाई आरोग्य चिकित्सा पद्धतिका रुपमा सबैभन्दा बढि अनुशरण गरिदै आइएको सर्वाधिक लोकप्रिय श्रोत ग्रन्थ पतंजलि योगसुत्रमा योग साधनाका आठ अंगहरु उल्लेख गरिएका छन्– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, (८)समाधि । योग साधनाका यी आठ अंगहरु मध्य सबैभन्दा महत्वपूर्ण र प्रभावकारी सातौं अंग ध्यानलाई मानिन्छ किनकी साधकलाई सहज किसिमले ध्यान साधनासम्म पुर्याउनकै लागि अगाडिका छ अंगहरुको सैद्धान्तिक अनुशरण तथा व्यवहारिक अभ्यास गर्ने तथा गराउने गरिन्छ । योग साधनाको उच्चतम लक्ष्य समाधि हो र ध्यान साधनाको गहनतम गहिराई समाधिको अवस्था हो । यसर्थ, योग साधनाको अन्तिम उद्देश्य साधकलाई सहजताकासाथ ध्यान र समाधिको गहन अवस्थासम्म पुर्याउनु हो । 


योग साधनाका सातौं र आठौं अंग ध्यान र समाधिमा सहजताकासाथ प्रवेश गर्न र यस अवस्थामा स्थित हुन साधकको शरीर, मन, भाव, चित्तमा सबैप्रकारका स्थिरताहरु आउनु आवश्यक हुने हुनाले सर्वप्रथम साधकका योग साधनाका गतिविधिहरु योग साधनाको पहिलो अंग यमबाट शुरु गरिन्छ तथा गराइन्छ र विस्तारै अगाडिका अंगहरुको अनुशरण गर्दै तथा गराउदै लगिन्छ । यमको सैद्धान्तिक तथा व्यवहारिक अनुशरणले मानिसलाई संसारप्रति मानवीय भाव(अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह)मा रहन तथा सोही अनुसार व्यवहारहरु गर्न सिकाउछ; नियमको अनुशरणले आफैंप्रति गर्नुपर्ने नित्य अनुशासनका व्यवहारहरु(शौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान) गर्न सिकाउछ; आसनको अनुशरणले शरीरका अंगहरुलाई लचिलो र स्वस्थ राख्न मद्धत गर्दछ; प्राणायामको अनुशरणले शरीर तथा मनका आन्तरीक गतिविधिहरुलाई स्वस्थ र सक्रिय राख्न मद्धत गर्दछ; प्रत्याहारको अनुशरणले इन्द्रियहरुलाई सम्यमित राख्न मद्धत गर्दछ; धारणाको अनुशरणले कुनै एक विषयमा मन स्थिर तथा एकाग्र रहन मद्धत गर्दछ; ध्यानले शरीरका चारवटै आयामहरु– शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, चेतनात्मक शरीरलाई हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय र विकसित गर्न र मानिसभित्र सुसुप्त अवस्थामा रहेका उसका जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशीलता र सकारात्मक गुणहरु जगाउन तथा प्रष्फुटन गर्न मद्धत गर्दछ; र समाधिले भौतिक संसार भन्दा वाहिरका पराभौतिक संसारका ब्रम्हाण्डिय शाश्वत ज्ञानको नजिक पुग्न तथा मोक्ष प्राप्तिको मार्गमा अग्रसर हुन मद्धत गर्दछ । तसर्थ सबैप्रकारका मानिसहरुको जीवनमा सबैप्रकारका वाहिय र आन्तरीक अवस्थाको सन्तुलित विकास ल्याउन योग साधना गर्नु अनिवार्य हुन्छ । 


मानिसका प्रकार

पूर्वीय सनातन दर्शनका अनुसार आवश्यकता तथा इच्छाको जीवन जीउने उद्देश्यका आधारमा मानिसका दुई प्रकार उल्लेख गरिएका छन्– (१)रागी(सांसारीक), र (२)वैरागी(संयासी) । यी दुई प्रकारका मानिसहरुका जीवनका उद्देश्य, लक्ष्य, संकल्प तथा प्राथमिकताहरु फरक–फरक प्रकारका हुन्छन् । रागको अर्थ इच्छा तथा चाहना हो अर्थात मलाई जीवनमा यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ भन्ने भाव राग हो । रागी प्रकृतिको मानिसको जीवन संसार उन्मुख हुन्छ अर्थात संसारका सबै प्रकारका चिज, वस्तु, सेवा, सुविधाहरुको भोग गर्न लालायित हुन्छ । रागी अर्थात सांसारीक मानिसलाई जीवनमा प्राप्त हुन सक्ने, नसक्ने संसारका सबैथोक चाहिन्छ अर्थात प्राप्त गर्ने इच्छा, आकांक्षा राख्छ । रागी मानिस इच्छा तथा चाहना(वान्टबेस)का आधारमा जीवन जीउँछ । उसका जीवनका इच्छा, आकांक्षाहरु कहिल्यै सकिदैनन् र सबै पूरा हुन पनि सक्दैनन् किनकी मानिसका इच्छाहरु अनन्त हुन्छन्, एउटा पूरा हुने वित्तिकै उसको मन तथा भावमा अर्का प्रकारका इच्छाहरुले जन्म लिन्छन् र यो क्रम उ बाचुन्जेलसम्म निरन्तर यही श्रींखलामा चलिरहन्छन् । वैरागको अर्थ संसारका चिज, वस्तु, सेवा, सुविधाहरुको इच्छा, चाहना र तीनको भोगप्रतिको आशक्ति तथा मलाई यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ भन्ने चाहना तथा राग भाव कम हुनु हो । वैरागी तथा सन्त प्रकृतिको मानिसको जीवन पारमार्थ उन्मुख अर्थात शाश्वत सत्य, आत्मज्ञान र परमात्माको खोज उन्मुख हुन्छ । वैरागी तथा सन्त प्रकृतिको मानिसलाई जीवनमा प्राप्त हुनसक्ने र आफ्नो जीवनयापन गर्न आवश्यक पर्ने आधारभूत चिज, वस्तु, सेवा, सुविधाहरु मात्र चाहिन्छ, उनीहरुका इच्छा चाहनाहरु सिमित हुन्छन् किनकी उनीहरु जीवनका आधारभूत आवश्यकताका आधारमा(निडबेस) जीवनयापन गर्छन् र जीवनकालागि महत्वपूर्ण कुराहरुलाई प्राथमिकतामा राखेर कम महत्वका कुराहरु क्रमशः छोड्दै जान्छन् । श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले यस्तै वैरागी अर्थात वितरागी मानिसहरुलाई वास्तविक योगी, सन्त तथा संयासी भन्नुभएको छ जसले आफ्ना सबै दैनिक कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी तथा व्यवहारहरु पूरा गर्दै परिवार, समाज तथा संसारमै रहेर आफूलाई आत्मज्ञान तथा परमात्मा प्राप्तिको मार्गमा निमज्जित गरेको हुन्छ । आफ्नो जीवनका सांसारिक तथा पारमार्थिक दुवै प्रकारका उद्देश्य तथा लक्ष्यहरु हासिल गर्न रागी र वैरागी दुवै प्रकारका मनिसहरुका लागि योग साधनाको अवश्यकता र महत्व उत्तिकै आवश्यक, उपयोगी र प्रभावकारी हुन्छ । रागी मानिसले योग साधनाको उपयोग आफ्नो जीवनमा आफूले इछ्याएका सांसारीक चिज, वस्तु, सेवा, सुविधाहरु हासिल गर्नकालागि गर्ने गर्दछ र वैरागी मानिसले योग साधनाको उपयोग आत्मज्ञान तथा परमात्मा प्राप्तिकालागि गर्ने गर्दछ । अहिलेसम्मको योग साधनाको इतिहासमा यीनै दुई प्रकारका उद्देश्य तथा लक्ष्यहरु राखेर योग साधनालाई सैदान्तिक तथा व्यवहारिक रुपमा प्रयोग गर्दै आइएको देखिन्छ । यस लेखका विषयहरुमा योग साधनाको उपयोग पारमार्थिक उद्देश्य प्राप्तिकालागि कम र सांसारीक उद्देश्य प्राप्तिकालागि बढि गरिनेमा केन्द्रित गरिएको छ ।



पारमार्थिक उद्देश्यकालागि योग साधनाको उपयोग

वैरागी तथा सन्त प्रकृतिका मानिसको जीवनमा योग साधनाको उद्देश्य तथा लक्ष्य आत्मज्ञान र शाश्वत तत्व परमात्माको खोज, साक्षातकार तथा प्राप्तिकालागि हुने भएकोले यो उद्देश्य हासिल गर्न सहयोगी हुने प्रकारका योग साधनाका अलि जटिल प्रकारका वैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरण अनुभवी योगगुरुको सानिध्यमा रहेर गर्ने गरिन्छ । यी विधिहरु अलि जटिल प्रकारका हुने भएकोले अनुभवी योगगुरुको मार्गनिर्देशनको साथसाथ साधक आफूमा पनि पर्याप्त आवश्यक पात्रता तथा योग्यता, दृढ संकल्प, निष्ठा र अनुशासन हुनु अत्यावश्यक हुन्छ । सामान्यतया परमात्मा प्राप्तिको मुमक्षत्वका लागि अधिकांश साधकहरुले कुण्डलिनी योग तथा चक्र साधना गर्ने गर्दछन् । यसकालागि हठ योग तथा श्वर विज्ञान(श्वास–प्रश्वासको लय मिलाएर)का वैज्ञानिक विधिहरुको कडा अनुशरण गर्दै मन्त्र, तन्त्र र चक्र साधनाका विधिहरु बढि अनुशरण गर्ने गरिएको पाइन्छ । म (पंक्तिकार, सिर्जना भण्डारी) सन् २०११ देखि चक्र साधनाको साधक रहदै आएको छु ।



सांसारीक उद्देश्य प्राप्तिकालागि योग साधनाको उपयोग

मानिस लगायत सबै जीव तथा प्राणीहरुको जीवनको एकमात्र अन्तिम उद्देश्य तथा लक्ष्य सुख प्राप्ति र दुःखबाट निवृत्ति पाउनु हो । हरेक मानिसको जीवनमा सुुख र दुःख अनुभूति गराउने विषय, घटना तथा अवस्थाका प्रकारहरु धेरै हुन्छन् र यसमा व्यक्तिको स्वअनुभव र निश्चत विषय, घटना तथा अवस्थामाथि उसको मानसिकतामा बनेको छवि, नक्शा तथा हेर्ने दृष्टिकोणको उल्लेख्य प्रभाब रहने गर्दछ । प्राथमिकताका आधारमा भन्नुपर्दा सांसारीक मानिसको जीवनमा सुखको अनुभूति दिने प्रमुख पाँच आयामहरु– (१)स्वास्थ्य, (२)सम्वन्ध, (३)सम्पन्नता, (४)मान–प्रतिष्ठा, र (५)आन्तरीक शान्ति हुन् । मानिसको जीवनका यीनै पाँच आयामका अवस्थाहरुमा सकारात्मक प्रगति भयो भने उसले सुखको अनुभव गर्दछ र अवरोध आयो तथा मानिसले आफुले चाहे अनुरुपका आफ्ना उद्देश्य तथा लक्ष्यहरुमा प्रगति हासिल गर्न सकेन भने यीनै आयामहरु उसको जीवनमा दुःखको रुपमा प्रकट हुन्छन् अस्वस्थता, खराव सम्वन्ध, बिपन्नता, मानहानी, आन्तरीक तथा मानसिक अशान्ति बनेर र उसले जीवनमा दुःखको अनुभव गर्छ । मानिसको जीवनमा उसले चाहे अनुरुप सुख, खुशी, समृद्धि, शान्ति, आनन्द हासिल गर्न अवरोध गर्ने प्रमुख कारण उसको मनमा निरन्तर चलिरहने अनियन्त्रित अति विचारहरु हुन् र अति विचारका मूलश्रोतहरु- (१)विगतका नकारात्मक स्मृतिहरु, (२)वर्तमानको अव्यवस्थित जीवनशैली, र (३)भविश्यका असुरक्षा, डर तथा भयहरु हुन् । यो अवस्था प्राय हरेक मानिसले कुनै न कुनै किसिमले आफ्नो जीवनमा अनुभव गरिरहेका हुन्छन् । अध्यात्म विज्ञान र आधूनिक विज्ञान दुवैको मतक्यै रहेको मान्यता अनुसार मानिसको जीवनमा विचारको प्रभाव अत्यन्तै परिणाममुखी आमूल परिवर्तनकारी हुन्छ किनकी विचारको बल तथा शक्ति अनन्त हुन्छ । विचारले नै मानिसको जीवनको दिशा तय गर्दछ, उसको प्रगति–अवनति, सफलता–असफलता, शान्ति–अशान्ति आदि सबै विषयहरु । विचारहरु सही दिशामा छन् भने यसले मानिसको जीवनलाई स्वर्ग(सुख, शान्त, समृद्ध) बनाइदिन सक्छ र सही दिशामा छैन भने यसैले मानिसको जीवनलाई नर्क(दुःख, अशान्ति, बिपन्न) बनाइदिन सक्छ । ध्यान तथा योग साधनाको प्रमुख उद्देश्य मानिसको मा, मस्तिष्कमा चलिरहने अति विचारहरुलाई न्युनीकरण गर्नु तथा नियन्त्रण गर्नु हो । तसर्थ, यो लेखमा पहिलो खण्डमा अति विचार र मानिसको जीवनमा यसले पार्ने नकारात्मक प्रभावहरुका बारेमा र दोस्रो खण्डमा अति विचारको निवारण गर्नकालागि ध्यान तथा योग साधनाको उपयोग र साधना गर्ने सहज तर वैज्ञानिक विधि तथा पद्धतिहरुको बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ । 


अति विचार र यसका नकारात्मक प्रभावहरु

विश्वमा वास्तविक(स्वत्वमा स्थितप्रज्ञ) वैरागी तथा संयासी, योगी, सन्त, साधु, गुरु तथा सदगुरुहरु एक प्रतिशत वा सो भन्दा पनि कम संख्यामा रहेको अनुमान गरिन्छ र ९९ प्रतिशत भन्दा बढि मानिसहरु गृहस्थ तथा सांसारीक जीवनमा रहेका छन् । वर्तमान समयमा सांसारीक जीवनमा रहेका मानिसहरुमा मानसिक तनावका समस्याहरु समयक्रमसंगै तिब्रगतिमा बढिरहेको समय–समयमा गरिएका वैज्ञानिक खोजका विभिन्न तथ्यांकहरुले देखाएका छन् । संयुक्त राष्ट्रसंघको विश्वकै स्वास्थ्य सम्वन्धि विषय हेर्ने संस्था विश्व स्वास्थ्य संगठनले अवका केही दशकमा मानिसहरुमा तनावले पेन्डामिक(महामारी)को रुप लिनेछ भनेर भविश्यवाणी समेत गरिसकेको अवस्था हाम्रा सामु सपष्ट भैसकेको छ । मानसिक तनावको प्रमुख कारण मानिसको मन तथा मस्तिष्कमा अनियन्त्रित रुपमा निरन्तर चलिरहने अनावश्यक अति विचारहरु(ओभर थिंकिंगस्) हुन् । अति विचार सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन सक्छन् । आधूनिक मनोविज्ञानका अनुसार  दुवै प्रकारका विचारहरु अनियन्त्रित रुपमा निरन्तर चलिरहनु मानसिक रोगको लक्षण तथा अवस्था हो । मानिसको पंचप्रगति(स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मान–प्रतिष्ठा, शान्ति)मा सकारात्मक अति विचारहरुले त्यति हानि गर्दैनन् जति नकारात्मक विचारहरुले हानि गर्ने गर्दछन् तर यसको अर्थ सकारात्मक विचारलाई अनियन्त्रित किसिमले चल्न दिरहनु पर्छ भन्ने कदापि होेइन किनकी अति भयो भने चिनी पनि तितो हुन्छ भन्ने उक्ति जस्तै अति सकारात्मक विचारहरुले पनि मानिसको पंचप्रगतिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा बाधा गर्दछन् । सकारात्मक नै भएपनि अति विचारले मानिसलाई कम प्राथमिक तथा जीवनमा उति महत्वपूर्ण नहुने अनुत्पादक घटना तथा विषयहरुमा अनावश्यक रुपमा उल्झाइ राख्छ, उ चाहेर पनि जीवनका प्राथमिक तथा महत्वपूर्ण उद्देश्य तथा लक्ष्यहरुमा केन्द्रित हुन सक्दैन र यसको परिणाम यसको जीवनमा दुःख, अशान्ति, विपन्नताको रुपमा देखापर्दछ । खासगरि मानिसलाई जीवनमा पंचप्रगति हासिल गर्न बाधा पुर्याउने पहिलो अवरोध उसका सकारात्मक अति विचारहरु भन्दापनि अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारले खडा गर्ने गर्दछन् । मानिसको मन, मस्तिष्क हरपल अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुले घेरिएको तथा भरिइरहेको अवस्थामा नियन्त्रित, आवश्यक, सकारात्मक, उत्पादनशील, उपलव्धिमूलक, सिर्जनशील नयाँ विचारहरुले उसको मस्तिष्कमा स्थान नै पाउदैनन् र उसले जीवनमा सोचे अनुरुप प्रगति हासिल गर्न सक्दैन बरु उल्टै उसको जीवन असफलता तथा दुःखतिर उन्मुख हुदैजान्छ । नकारात्मक प्रकृतिका विचारहरुले गर्ने हानि–नोक्सानी भयावह प्रकारका हुन्छन् जसले जीवनका सबै आयामहरुलाई लथालिंग पारेर राखिदिन्छन् र मानिसलाई जीवनमा फेरी सहजै अगाडि बढ्न नसक्ने अवस्थामा पुर्याइदिन्छन् । 


पूर्वीय सनातन दर्शनका महान दार्शनिक तथा मनोवेत्ता श्रद्धेय स्वामी खप्तड बाबा(श्री १००८ ब्रम्हवित् परमहंश सच्चिदानन्द सरस्वती)को विश्व विख्यात ग्रन्थ विचार विज्ञानको सिद्धान्त र आधूनिक मनोविज्ञानका नयाँ सिद्धान्तहरुका अनुसार विचारको विज्ञान अनौठो छ र मानिसको जीवनमा उसका विचारहरुको सकारात्मक तथा नकारात्मक प्रभाव अत्यन्तै प्रभावकारी र वैज्ञानिक ढंगले पर्दछ । ब्रम्हाण्डको नियम अनुसार(द ल अफ युनिभर्स) हाम्रो मन, मस्तिष्कमा चलिरहेका विचारका तरंगहरुले ब्रम्हाण्डमा तैरीरहेका उस्तै(सम) प्रकारका विचारका तरंगहरुलाई आफूतिर आकर्षित गर्दछन् र हाम्रो जीवनमा ती विचारहरुको सकारात्मक तथा नकारात्मक प्रभाव तथा परिणाम कयौं गुणा बढाइदिन्छन् । ब्रम्हाण्डको आकर्षणको सिद्धान्त(द ल अफ अट्रयाक्सन)को समले समलाई आकर्षित गर्छ भन्ने मान्यता अनुसार यदि हाम्रो मन, मस्तिष्कमा नकारात्मक विचारहरु चलिरहेका छन् भने ब्रम्हाण्डमा तैरीरहेका त्यस्तै प्रकारका विचारका तरंगहरु हाम्रो विचारका तरंगहरुसंग एकाकार हुन्छन् र हाम्रो जीवनमा नकारात्मकता अझ कयौं गुण बढेर जान्छ र यस्तो अवस्थाले हाम्रो जीवनलाई अझै नकारात्मकता(दुःख, अशान्ति, विपन्नता)तिर धकेल्छ । तसर्थ मन, मस्तिष्कमा चल्ने अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई समयमै सही ढंगले नियन्त्रण गर्नु अत्यावश्यक हुन्छ । मानिसको मन, मस्तिष्कमा चल्ने अति विचारहरुलाई न्युनिकरण गर्न तथा सन्तुलन गर्न सक्ने एक मात्र प्रभावकारी उपाय योग साधना विज्ञान हो । आधूनिक मनोविज्ञानले गरेका आजसम्मका वैज्ञानिकतामा आधारित विभिन्न खोज तथा अध्ययन, अनुसन्धानहरुमा अति विचारलाई न्युनिकरण गर्न सक्ने तथा सन्तुलित बनाउन सक्ने कुनै प्रकारका उपाय, विधि तथा तरिकाहरु उति दिगो, प्रभावकारी, व्यवहारिक र परिणाममुखि देखिएका छैनन् जति योग साधनाका वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरु देखिएका छन् । योग साधनाको दिगो प्रभाव तथा व्यवहारिक परिणामकै कारण वर्तमान समयमा आधूनिक चिकित्सा, मनोचिकित्सा तथा मनोविज्ञानले अति विचार न्युनिकरण तथा नियन्त्रण गर्न र विभिन्न प्रकारका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा अस्तित्वगत बिमारीहरुको उपचारमा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई व्यापक रुपमा उपयोगमा ल्याउन प्रारम्भ गरेकाछन् ।


अति विचारले जीवनमा पार्ने नकारात्मक प्रभाव

सबैकालागि व्यवहारिक हुने लाक्षणिक उदाहरणबाट अति विचारले जीवनमा पार्ने नकारात्मक प्रभावको गहिराई बुझ्ने प्रयास गरौं । कल्पना गरौं कि, हामी कतैको लामो पैदल यात्रामा हिडिरहेका छौं र हिड्ने क्रममा जुत्ताभित्र ढुंगा पसेर पैतालामा बिझायो भने हामी जुन गतिमा हिड्नु पर्ने हो त्यो गतिमा हिड्न सक्दैनौं तथा हिड्नै सक्दैनौं असहजताका कारण र समयमै, सहजै आफ्नो गन्तव्यमा पुग्न पनि सक्दैनौं । हाम्रो जीवन पनि एउटा लामो यात्रा हो, हामी हाम्रो जीवनमा विविध उद्देश्य तथा लक्ष्यहरु निर्धारण गरेर जीवनको अन्तिम गन्तव्य सुखको प्राप्ति र दुःखको निवृत्ति हासिल गर्न निरन्तर जीवनको यात्रामा हिडिरहेका छौं । हाम्रो जीवनको यात्रा गर्ने क्रममा हाम्रो मस्तिष्कमा चल्ने अनियन्त्रित, अनावश्यक अति विचारहरु जुत्ताभित्र छिरेका ढुंगा जस्तै हुन् जसले हाम्रो जीवनको गतिलाई अवरोध तथा सुस्त गरिदिन्छन् र हामी हाम्रो जीवनको उद्देश्य, लक्ष्य हासिल गर्न तथा गन्तव्यमा समयमै, सहजै पुग्न सक्दैनौं । यस्ता अति विचारहरुले शरीरको रसायन प्रणालीमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने र नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स– कोर्टिसो, , एडरनलिन आदि) उत्पादन गर्दछन् । यस्ता नकारात्मक रसायनहरुका कारण मानिसको मन तथा भावनामा मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, घृणा, राग, द्वेष, भय, वदला, षडयन्त्र आदि आउन थाल्छन् । अति विचारका कारण उत्पन्न भएका विकार तथा क्लेशहरुले सबैभन्दा बढि (५० देखि ७० प्रतिशतसम्म) हाम्रो समय र उर्जा(काम गर्ने जोश, जाँगर, प्रेरणा)लाई नोक्सान पुर्याउछन्, जीवनको प्राथमिकता र दिशा नै मोडिदिन्छन् । अति विचारहरु नकारात्मक प्रकारका छन् भने त यीनले त झन पूर्ण रुपमा जीवनको उद्देश्य, लक्ष्य तथा गन्तव्यमा पुग्न अझ बढि बाधा पुर्याउनुका साथै हाम्रो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक, अस्तित्वगत स्वास्थ्य; सम्वन्ध; समृद्धि तथा सम्पन्नताका सम्भावनाहरु; मान–प्रतिष्ठा; र आन्तरीक तथा मानसिक शान्तिमा समेत हदैसम्मको नकारात्मक प्रभाव पार्दछन् र थाहा नपाइकन हाम्रो जीवनलाई नै नकारात्मकता तथा असफताको कित्तामा पुर्याइदिन्छन् । अति विचारहरु र यसबाट उत्पन्न भएका मानवीय विकार तथा क्लेशहरुले हाम्रो समय र उर्जामा अत्यधिक नोक्सान पुर्याएका कारण हाम्रा कार्यहरुको उत्पादनशीलता र उत्पादकत्वमा कमी आउन थाल्छ; हामी आफ्ना कर्तव्य तथा उत्तरदायित्वहरु राम्ररी पूरा गर्न सक्दैनौं; पारिवारीक तथा सामाजिक सम्वन्धहरु राम्ररी निभाउन सक्दैनौं; हामी अन्जानमै मानवीय विकार तथा क्लेशहरुको दलदलमा निस्कनै नसक्नेगरि भासिदै जान्छौं; भित्रैदेखि नकारात्मक भावले भरिन थाल्छौं र आफैंले आफैंलाई वरवादीतर्फ लिएर जान्छौं । यस्तो अवस्थाले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मान–प्रतिष्ठा र आन्तरीक तथा मानसिक शान्तिमा समेत हदैसम्मको खलल ल्याउदछ र विस्तारै हाम्रो जीवनमा तनाव, चिन्ता, अवसाद, अनिद्रा तथा अन्य प्रकारका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक अस्वस्थताका अवस्थाहरु बढ्दै जान्छन् र प्रकारान्तरमा यस्तो अवस्थाले हामीलाई अझ बरबादीतिर लिएर जान्छ र जीवन सम्हाल्न नसक्ने गरि नर्कतुल्य बनाइदिन्छ । 


(१)स्वास्थ्यमा अति विचारको नकारात्मक प्रभाव

अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुले हाम्रो मस्तिष्क र शरीरका रसायन प्रणालीहरुलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् र हाम्रो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक स्वास्थ्यमा हानि पुर्याउने नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स्– कोर्टीसोल, एडरनलिन आदि) उत्पादन गर्दछन् र लाभ पुर्याउने सकारात्मक रसायनहरु(ह्यापि हर्मोन्स्, डी.ओ.एस.इ.– डोपामिन, ओक्सिटोसिन, सेरोटोनिन, एम्डोर्फिन्स आदि)को उत्पादन प्रकृयामा अवरोध पुर्याउछन् । कोर्टीसोल, एडरनलिन रसायन पनि शरीरकालागि आवश्यक छन् डर तथा असुरक्षाको अवस्थामा आफूलाई बचाउ गर्न भाग्न या भिड्न(फ्लाइट और फाइट) बल, साहस तथा प्रेरणा प्रदान गर्नकालागि तर बिना मतलव अर्थात आवश्यकता नभएको अवस्थामा अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारका कारण उत्पन्न भएका यस्ता नकारात्मक रसायनहरुले सन्तुलित रुपमा हाम्रो शरीर तथा स्वास्थ्य व्यवस्थापन गर्न जटिल अवस्था खडा गरिदिन्छन् । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि यो अत्यन्तै खतरनाक अवस्था हो किनकी नकारात्मक रसायनहरु शरीरमा फैलिएर यीनले शरीरका स–साना नशाहरु चुडालिदिने, खुँच्याइदिने, अल्झाइदिने, गाँठो पारिदिने, संचार अवरोध गरिदिने; मांसपेशीहरु च्यातिदिने, जकडिदिने, संचार अवरोध गरिदिने; जोर्नीका जेलीहरुलाई दुषित गरिदिने तथा सुकाइदिने; रगत, हड्डी, मास–मज्जामा आदिमा विष भरिदिने तथा दुषित गरिदिने गर्दछन् । मानिसको शरीरमा यस्ता नकारात्मक रसायनहरु उत्पन्न भएको समयमा बिनाकारण नै मानिस असन्तुष्ट हुन्छ, क्रोध, डर, असुरक्षाको अवस्थामा आउँछ र यो अवस्थामा झन पुरै शरीरभरि यी विषालु रसायनहरु फैलिन्छन् र यही कारण मानिस अनियन्त्रित हुन्छ, उसका आँखा, गाला, कान राता हुन्छन्, जे पनि बोल्छ, जे पनि गर्छ, हिंसामा उत्रिन्छ, नराम्रा निर्णयहरु लिन्छ, अरुलाई सताउछ र आफूलाई पनि सताउछ । यस्तो अवस्थाले हाम्रो शारीरिक तथा मानसिक समस्या तथा बिमारीहरु बढाउने हुनाले हाम्रा सबै सकारात्मक पक्षहरुमा प्रत्यक्ष रुपमा नोक्सान पुर्याएर नकारात्मकतामा परिणत गरिदिन्छ, हामीलाई पूर्णरुपमा नकारात्मक बनाइदिन्छ र विस्तारै हामी जीवनमा केही पनि सकारात्मक तथा प्रगतिका कामहरु गर्न नसक्ने अवस्थामा पुग्छौं । 


वर्तमान समयमा अस्वस्थ सम्वन्धहरु; अस्वस्थ होड, देखासेखी तथा प्रतिस्पर्धा; चाढै धनी बन्ने अति महत्वाकांक्षा; धोका, अविश्वास आदि प्रमुख कारण बन्दै गैरहेका छन् हाम्रो मस्तिष्क तथा शरीरमा नकारात्मक रसायनहरु उत्पादन गर्ने काममा । साथै सामाजिक संजाल सबैभन्दा ठूलो पेन्डामिक बनेको छ हाम्रो मनमा अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरु उत्पन्न गरेर शरीर र मस्तिष्कका रसायन प्रणालीहरु बिगार्न तथा असन्तुलित गर्नमा । बिना मतलव असन्तुलित मात्रामा उत्पादन भएका नकारात्मक रसायनहरुका कारण शारीरिक अस्वस्थताका बिमारीहरु– प्राय सबै रोगका जन्मदाता उच्च रक्तचाप, मधुमेह, मोटोपन, अनिद्रा आदि र मानसिक तथा भावनात्मक अस्वस्थताका बिमारीहरु– असन्तुष्टी, अधैर्यता, बेचैनी, तनाव, चिन्ता, विसाद, अवसाद, विक्षिप्तता, ओ.सि.डी., ओब्सेसीव बिहेबियर, सिजोफेनिया, मल्टीपल डिसअडर आदि स्वास्थ्य समस्याहरु सिर्जना हुन्छन् र यस्ता अवस्थाहरुले जीवनलाई झनझन कष्टकर र असफलता उन्मुख बनाउदै लान्छन् ।

  
हामी शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तहमा पूर्णरुपमा स्वस्थ रहनकालागि हाम्रो शरीरमा सकारात्मक रसायनहरुको पर्याप्त उपलव्धता हुनु अति आवश्यक हुन्छ । मन, मस्तिष्कमा चल्ने अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई हटाएर तीनको ठाउँमा नियन्त्रित, आवश्यक, सकारात्मक, उत्पादनशील, उपलव्धिमूलक, सिर्जनशील, परिवर्तनशील नयाँ विचरहरुलाई प्रतिस्थापन गर्नुपर्दछ । सकारात्मक विचारहरुले शरीर तथा स्वास्थ्यलाई प्रत्यक्ष रुपमा लाभ पुर्याउने सकारात्मक रसायनहरु उत्पादन गर्न मद्धत गर्दछन् । योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गरेर शरीरको पूर्ण स्वस्थ्य तथा आरोग्यताका लागि आवश्यक लाभदायक रसायनहरु– एन्डोर्फिन्स(२० प्रकारका हुन्छन्), डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, मेलाटोनिस, डि.एम.टी., एच.जी.एच., गाबा, एनेन्डामइट आदिको उत्पादन बढाउन सकिन्छ । शरीर, मन, भावना, चेतनालाई स्वस्थ राखिरहन यी रसायनहरुका आ–आफ्नै प्रकारका काम र प्रभावहरु हुन्छन् । एन्डोर्फिन्स प्राकृतिक पेनकिलर हो, यसले शारीरिक दुखाइ तथा पिडा कम गर्न मद्धत गर्दछ; डोपामिनले सुखी, खुशी, शान्त, आनन्दित, एकाग्र हुन र आफैंमा मस्त रहन मद्धत गर्दछ; मेलाटोनिनले शरीर, मन, भावना, चेतनालाई आराम प्रदान गर्ने र निद्रा लगाउने काम गर्दछ; सेरोटोनिनले मन शान्त(मेन्टल पिश) राख्न मद्धत गर्दछ; ओक्सिटोसिनले भावनात्मक स्थिरता(इमोसनल स्ट्याबिलिटी) ल्याउन मद्धत गर्दछ; एच.जी.एच.ले पूरै शरीरको भौतिक विकासमा मद्धत गर्दछ; गाबाले तनाव, चिन्ता कम गर्न मद्धत गर्दछ; एनेन्डामइटले अलौकिक अनुभूति गर्न, परमशान्ति तथा परमानन्दमा स्थित हुन मद्धत गर्दछ; र डि.एम.टी.ले सबै रसायनहरुलाई सन्तुलित तथा व्यवस्थित गर्न मद्धत गर्दछ । ध्यान तथा योग साधना विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा अनुशरण गरेर अति विचारहरुलाई न्युनिकरण, नियन्त्रण तथा सन्तुलित रुपमा व्यवस्थापान गरेर, शरीरमा सकारात्मक रसायनहरुको उत्पादन बढाएर, आफ्नो जीवनशैली सुधारेर जीवनमा सहजै पंचप्रगति हासिल गर्न सकिन्छ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरणको अतिरिक्त सन्तुलित खानपान, सन्तुलित व्यायाम, पर्याप्त निद्रा, सबैसंग राम्रो सम्वन्ध, खेलकुद, मनोरञ्जन, संगीत श्रवण, नृत्य, मुस्कान तथा हाँसो, प्रशंशा, समय व्यवस्थापन, धन्यवाद, कृतज्ञता, प्रेम, मैत्री, सहयोग, सेवा, दान, पुण्य, धर्म आदि सकारात्मक क्रियाकलापहरुबाट पनि शरीरमा पर्याप्त मात्रामा सकारात्मक तथा खुशीका रसायनहरुको उत्पादन बढाएर अति विचारबाट मुक्त हुन, जीवन व्यवस्थित गर्न र जीवनमा सबै प्रकारका प्रगतिहरु हासिल गर्न सकिन्छ ।



(२)सम्वन्धमा अति विचारको नकारात्मक प्रभाव

मानिस समाजिक प्राणी हो । परिवार, समाज, प्रकृतिबिना हरकोही मानिसको जीवन कष्टकर हुन्छ, तसर्थ सम्वन्धहरु उसका आधारभूत आवश्यकता र अमूल्य सम्पत्ति हुन् । अनियन्त्रित, अनावश्यक नकारात्मक अति विचारहरुको नकारात्मक प्रभाव स्वरुप शरीरको रसायन प्रणालीमा आएको असन्तुलनकै कारण मानिसकोे सोच, विचार, भाव, व्यवहार, आचरण र कर्ममा असन्तुलन तथा नकारात्मकता बढ्दै जान्छ । यस्ता नकारात्मक भावहरुले मानिसमा काम, क्रोध, लोभ, मोह, इष्र्या, राग, द्वेश, घृणा, बदलाको भाव जस्ता मानवीय क्लेशहरुलाई बढाउदै लान्छन् । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका अनुसार मानिसमा अधिक मात्रामा क्लेशको अवस्था बढ्दै जानु मानसिक तथा भावनात्मक विमारीको लक्षण हो । मानिस क्लेशले भरिएको अवस्थामा उसका सबै प्रकारका सम्वन्धहरुमा यसको प्रत्यक्ष नकारात्मक प्रभाव पर्दछ र विस्तारै सबै प्रकारका सम्वन्धहरु(आफू, परिवार, सम्वन्धीहरु, सागीसंगी, समाज, राज्य, प्रकृति, मानवीयता, परमात्मासंग) क्रमशः बिग्रदै जान थाल्छन् । अति विचारका कारण उत्पन्न भएका क्लेशहरुको नकारात्मक प्रभावको कारण सबैभन्दा पहिला त मानिसको आफैंसंगको सम्वन्ध बिग्रीन्छ र विस्तारै परिवार, साथीसंगी, सम्वन्धी, समाज, राज्य, प्रकृति, परमात्मा सबैसंगका सम्वन्धहरु विग्रीन्छन् र उ सबैबाट दुर हुदै एक्लिदै, तनाव, चिन्ता, विसाद, अवसादको दलदलमा भासिदै जान्छ । आफुसंगको सम्वन्ध बिग्रीयो भने मानिसमा सही समयमा सही निर्णय लिने, सही तथा प्रभावकारी योजना निर्माण गर्ने, नयाँ काम थाल्न हिम्मत गर्ने, सिर्जनशील, क्षमतावान, प्रतिभावान हुने सबै प्रकारका सकारात्मक गुणहरु हराउदै जान्छन् र अरुप्रति गुनासोले भरिने, आफ्नो कमजोरीको दोष अरुमाथि थोपर्ने, अरुलाई गाली गर्ने, दोष लगाउने, आफैंलाई गाली गर्ने, दोष लगाउने, आफूले आफूलाई असक्षम ठान्ने, हिम्मत हार्ने, हिनतावोध, अपराधवोधले भरिने जस्ता अत्यन्तै खतरनाक लक्षणहरु देखिन थाल्छन् जसले मानिसलाई जीवनबाट निराश गराएर असफलता तथा पतन उन्मुख गराएर उसको जीवन नै बरबाद गराइदिन्छ । आफूसंग सम्वन्ध बिग्रेपछि अरु सबैसंगको सम्वन्ध पनि स्वतः खतरामा आउन थाल्छ किनकी यस्तो अवस्थामा उ आफैं कसैसंग निकट सम्वन्ध बनाउन चाहदैन । सन्तुलित जीवन व्यवस्थापनका लागि आफू लगायत अरु सबैसंगका सम्वन्धहरु सुमधूर बनाउनु अत्यावश्यक हुन्छ र यसकालागि अनियन्त्रित, अनावश्यक, नकारात्मक विचारहरुलाई न्युनिकरण गर्नु तथा नियन्त्रण गर्नु पहिलो महत्वपूर्ण नगरिनहुने काम हो । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यास गरेर अति विचारहरुलाई न्युनिकरण, नियन्त्रण तथा सम्तुलित रुपमा व्यवस्थापन गरेर, सबैसंगको सम्वन्ध राम्रो तथा मैत्रीपूर्ण बनाएर र आफ्नो जीवनशैली सुधारेर जीवनमा हरकोही मानिसले सहजै पंचप्रगति हासिल गर्न सक्दछ । 


(३)सम्पन्नतामा अति विचारको नकारात्मक प्रभाव

मानिसको शरीर, मन, भावना, चेतना छ र यी सबैका आ–आफ्नै प्रकारका आधारभूत आवश्यकताहरु छन् । यी आधारभूत आवश्यकताहरु पूरा गर्न जीवनमा आवश्यक सम्पन्नता, आर्थिक सवलता तथा धन आर्जन गर्नु सबै मानिसहरुको उत्तरदायित्व तथा चाहना हुन्छ र हुनु पनि पर्छ । मानिसको जीवनको अधिकांश सक्रिय तथा उत्पादनशील समय सम्पन्नता आर्जन गर्नमै बित्ने गर्दछ किनकी जीवनमा सबैभन्दा ठूलो चुनौती आफूलाई नैतिकवान तथा अनुशासित राखेर सम्पन्नता हासिल गर्नु मै रहदै आएको देखिन्छ । वर्तमान परिप्रेक्षमा अत्यधिक प्रतिस्पर्धाका कारण सम्पन्नता हासिल गर्नु अझ जटिल विषय बन्दै गैरहेको छ र अत्यधिक प्रतिस्पर्धाका कारण मानिस हरपल अत्यन्तै भागदौडको जीवन जीरहेको । अत्यन्तै भागदौडको जीवन जीरहेको कारण मानिस अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुको नकारात्मक चपेटामा आइरहेको छ । यस्तो अवस्थाले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुको साथसाथ उसको जोश, जाँगर, हिम्मत, हौसला, प्रेरणा, साहस, आत्मविश्वासमा समेत नकारात्मक प्रभाव पारिरहेको छ र उसले आफूले आफैंलाई चिन्न नसक्ने दुविधा, तनाव, चिन्ता, विसाद तथा अवसादको अवस्थामा पुगेको छ । यस्तो अवस्थामा मानिसले आफ्नो कर्तव्य, उत्तरदायित्व, स्वधर्म, स्वाभाव तथा प्राकृतिक वुद्धिमत्ता(नेचुरल इन्टेलिजेन्स) जो जन्मदै उसले आफ्नो संस्कारमा लिएर आएको हुन्छ त्यसको सही ढंगले पहिचा गर्न सक्दैन । आफ्नो प्राकृतिक वुद्धिमत्ता चिन्न नसकेको कारणले उसले आफूले जीवनमा के गर्ने, कहिले गर्ने र कसरी गर्ने भन्ने सन्दर्भमा आफ्नो जीवनमा सही उद्देश्य, लक्ष्य, योजना तथा संकल्प निर्धारण गर्न सक्दैन, जीवनमा आधारभूत आवश्यकताहरु पूरा गर्नसक्ने सम्पन्ता समेत हासिल गर्न सक्दैन, जीवनमा संधै पछाडि परिरहन्छ र असफल नागरीक बन्न पुग्छ । ध्यान तथा योग साधनाले मानिसभित्र सुसप्त अवस्थामा रहेको आफ्नो स्वधर्म, स्वभाव तथा प्राकृतिक वुद्धिमत्ता, प्रतिभा, क्षमता, सिर्जनशीलता, सकारात्मक गुणहरु चिन्न र जीवनमा त्यही अनुसारका उद्देश्य, लक्ष्य, योजना तथा संकल्प निर्धारित गर्न मद्धत गर्दछ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा उतारेर अति विचारहरुलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै विचारहरुको सम्तुलित व्यवस्थापान गरेर, जीवनशैली सुधारेर हरकोही मानिसले जीवनमा सम्पन्नता हासिल गर्दै सहजै पंचप्रगति गर्न सक्छ । 



(४)मान–प्रतिष्ठामा अति विचारको नकारात्मक प्रभाव

सामान्यतया माानिस आफ्नो जीवनका आधारभूत आवश्यकताहरु पूरा गरिसकेपछि अरुकालागि पनि केही सहयोग तथा सर्वकल्याणको काम गरौं, समाजमा थोरै भएपनि योगदान गरौं र मान–प्रतिष्ठा कमाउँ भन्ने भावना राख्दछ र यस्ता गतिविधिहरुमा अग्रसर भएका मानिसहरुले परिवार, साथीसंगी, नाता–सम्वन्धी, समाज, राज्यमा धेरथोर मान–सम्मान पनि कमाउछन् । तर सबै मानिस यस्तो भाव भएर पनि यस्ता कामहरुमा अग्रसर हुन सक्दैनन् खासगरि त्यस्ता मानिसहरु जो विविध कारणले अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारका शिकार भएका हुन्छन् । अति विचारको नकारात्मक प्रभावले मानिसमा सिर्जना गरेको मानवीय विकार तथा क्लेसहरुले क्रमशः उसको सोच, विचार, मन, भावना, व्यवहार, आचरण, कर्म, व्यक्तित्वमा समेत नकारात्मक प्रभाव पार्ने भएकोले यसको प्रत्यक्ष नकारात्मक प्रभाव उसको शारीरिक तथा मानसिक स्वास्थ्य, सम्पन्नता, सम्वन्धहरुका साथसाथ मान–प्रतिष्ठामा पनि पर्दछ । विशेषगरि उसमा भरिएका मानवीय विकार तथा क्लेशका कारण उसले अरुप्रति गर्ने अप्ठ्यारा व्यवहार तथा आचरणहरुले उसको मान–प्रतिष्ठामा नकारात्मक प्रभाव पार्दछन्् । यस्तो मानिस विस्तारै परिवार, साथीसंगी, नाता–सम्वन्धी, समाज, राज्यबाट नै तिरस्कृत हुदैजान्छ, उ हिनतावोध, अपराधवोध, तनाव, चिन्ता, विसाद, अवसादको अवस्थामा पुग्छ र जीवनमा कुनै प्रकारको प्रगति गर्न नसक्ने असफल नागरिक बन्छ । जीवनमा यस्तो अवस्था आउन नदिन सर्वप्रथम अति विचारको प्रकोपबाट बच्नु अनिवार्य हुन्छ, अति विचारले गाजिसकेको छ भने यसको सही उपचार गर्नु अत्यावश्यक हुन्छ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा अनुशरण गरेर अति विचारहरुलाई नियन्त्रण तथा सन्तुलित रुपमा व्यवस्थापान गरेर, सबैसंगको सम्वन्ध सुमधूर तथा मैत्रीपूर्ण बनाएर, सबैमाझ सम्मानित तथा प्रतिष्ठित भएर र जीवनशैली सुधारेर जीवनमा हरकोही मानिसले सहजै पंचप्रगति हासिल गर्न सक्छ ।



(५)आन्तरीक तथा मानसिक शान्तिमा अति विचारको नकारात्मक प्रभाव

हाम्रो जीवनका हरप्रकारका गतिविधिहरुको प्रभाव मानसिक शान्तिमा प्रत्यक्ष रुपले पर्ने गर्दछ । अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरु मानसिक शान्तिमा खलल् ल्याउने सबैभन्दा प्रमुख कारणहरु हुन । अति विचारका कारण मानिस जीवनमा शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक रुपले अस्थिर तथा असन्तुलित हुन्छ । जीवनको अस्थिरता तथा असन्तुलनता नै मानसिक अशान्ति हो । मानसिक अशान्तिले आन्तरिक शान्ति(अन्तरआत्माबाट आउने शान्ति)मा प्रत्यक्ष नकारात्मक प्रभाव पादर्छ । आन्तरीक तथा मानसिक दुवै किसिमले अशान्त मानिस स्वतः शारीरिक, मानसिक, भावनात्म, चेतनात्मक रुपले अस्वस्थ तथा कमजोर हुन्छ र यस्तो मानिसले जीवनमा कुनै प्रकारका प्रगतिहरु गर्न सक्दैन । तसर्थ जीवनमा आन्तरीक तथा मानसिक अशान्तिको अवस्था आउन नदिन अति विचारको प्रकोपबाट बच्नु अनिवार्य हुन्छ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा अनुशरण गरेर अति विचारहरुलाई नियन्त्रण तथा सन्तुलित रुपमा व्यवस्थापान गरेर, सबैसंगको सम्वन्ध राम्रो तथा मैत्रीपूर्ण बनाएर र जीवनशैली सुधारेर, आत्तरीक तथा मानसिक शान्ति कायम गरेर हरकोही मानसले जीवनमा सहजै पंचप्रगति हासिल गर्न सक्छ ।

अति विचारको समस्या समाधानमा योग साधना सर्वश्रेष्ठ विज्ञान हो
वर्तमान समयमा विश्वभरिनै अधिकांश मानिसहरुको सबैभन्दा ठूलो चुनौती अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचार बन्दै आएको छ जो तनावको मूलकारण हो । अति विचारकै कारण मानिसहरु जीवनका हरेक क्षेत्रमा अत्यन्तै धेरै नोक्सान बेहोर्दै आइरहेका छन्, जीवनमा प्रगति रोकिएको छ, तसर्थ कत्तिपनि विलम्व नगरीकन यसको रोकथामको उपाय गर्नु अत्यावश्यक भएको छ । अति विचारको समस्याबाट वाहिर निस्कन मद्धत गर्ने एकमात्र प्रभावकारी र परिणाममुखी वैज्ञानिक उपाय ध्यान तथा योगको साधना हो । ध्यान तथा योग हरेक व्यक्तिले आफ्नोलागि आफू स्वयंले नै गर्नुपर्ने अत्यन्तै वैज्ञाननिक, परिणाममुखी र अत्यन्तै व्यवहारिक साधना पद्धति हो । ध्यान तथा योग साधना विज्ञान होकिनकी यसको व्यवहारिक अभ्यासको परिणाम सबै साधकहरुको अनुभवमा एकै प्रकारको आउछ । ध्यान तथा योग साधनालाई विज्ञान बनाउन यसलाई मान्नु भन्दा बढि जान्नु पर्दछ किनकी ध्यान तथा योग ‘मान्नु’ होइन ‘जान्नु’ हो । जान्नु भनेको स्वयंले व्यवहारिक अभ्यासमा अनुशरण गरेर यसको परिणाम प्रत्यक्ष अनुभव गर्नु हो र मान्नु भनेको अरुका कुरा सुन्नु तथा अरुले प्रतिपानद गरेका सिद्धान्त तथा जानकारीहरु मनमा ग्रहण गर्नु हो । अरुले प्रतिपादन गरेका सिद्धन्तहरुमा पढेका तथा सुनेका ज्ञानहरु केवल मनसम्म मात्र पुग्छन् तर व्यवहारिक अभ्यासमा अनुशरण गरिएका ज्ञानहरु शरीरका कोष–कोषसम्म पुग्छन् र शरीरका अंगहरुले याद गर्दछन र यसको प्रत्यक्ष परिणामहरु स्वयंको अनुभवमा आउछ । सही प्रकारले ध्यान तथा गोग साधनालाई जीवनमा व्यवहारिक अभ्यासमा अनुशरण गर्न सकेसम्म अनुभवी योगगुरुको सानिध्यमा रहेर साधना सिक्नत्र र अभ्यास गर्नु सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय हो । यसो गर्न सहज छैन भने भरपर्दा सन्दर्भ सामग्रीहरुबाट पनि ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु सिक्न र सोही अनुसार आफूलाई उपयुक्त हुने प्रकारका विधि तथा पद्धतिहरुलाई व्यवहारिक अभ्यासमा अनुशरण गर्न सकिन्छ । सबैकालागि उपयोगी हुने कुनैपनि नकारात्मक प्रभाव नआउने ध्यान तथा योग साधनाका केही सामान्य विधिहरु यसप्रकार रहेका छन्–
सर्वप्रथम आफूले ध्यान तथा योग साधना कति मिनेटसम्म गर्ने हो समय छुट्याएर त्यसलाई चार चरणमा विभाजन गरौं– (१)शरीर तताउन(पसिना आउने व्यायाम), (२)शरीर तन्काउने(नशा, मांसपेसी, जोर्नी तन्काउने योगासन), (३)प्राणायाम(श्वास–प्रश्वासको छोटो–लामो आयाम), र (४)ध्यान(मेरुदण्ड सिधा राखेर पूर्णतः स्थिरता) । ध्यान तथा योग साधनाकालागि ३० मिनेट समय छुट्याइएको छ भने ५ मिनेट शरीर तताउने र १० मिनेट शरीर तन्काउने योगासन; ५ मिनेट प्राणायाम र १० मिनेट ध्यान गर्नु अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ । योग साधनामा गरिने सबै गतिविधिहरुको अन्तिम उद्देश्य ध्यानसम्म पुर्याउने नै हो तर शरीर, मन, भावनालाई लचिलो, स्थिर, शुद्ध, विचार शुन्य र शान्त नबनाइकन एकै पटक ध्यानमा प्रवेश गर्न हरकोही मानिसलाई मुस्किल हुन्छ । तसर्थ ध्यानमा प्रवेश गर्नुअघि शरीरलाई लचिलो र स्थिर बनाउनका लागि शरीर तताउने केही व्यायामहरु र शरीर तन्काउने केही योगासनका विधिहरु र मन तथा भावनालाई शुद्ध, विचार शुन्य र शान्त बनाउन तिब्र र सौम्य गतिका प्राणायामका विधिहरु सकेसम्म विहान ४–५ बजे ब्रम्हमुहुर्तको समयमा, हरियाली भएको, हावा वारपार गर्ने खुल्ला स्थानमा, फिका तथा साधा खुकुलो पहिरन लगाएर योग साधनाका विधिहरु गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ । 

योगासनको अभ्यास 
शरीर तताउने– जोड–जोडले श्वास वाहिर फाल्दै ५ मिनेटसम्म हात–गोडा झटकालिने गरि चलाउदै उफ्रिने, पि.टी. गर्ने, ताली बजाउने, सौम्य गीत तथा संगीतमा नृत्य गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।  
शरीर तन्काउने– श्वास–प्रश्वासको लय एकटकले मिलाएर शरीर तन्काउदा श्वास वाहिर फालेर र शरीर सामान्य गर्दा श्वास भित्र तानेर १० मिनेटसम्म योगका उभिएर, बसेर, घोप्टो परेर र उत्तानो परेर गर्ने आसनहरु दिनदिनै फेरीफेरी गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
प्राणायामको अभ्यास
तिब्रगति– श्वासलाई जोड–जोडले वाहिर फाल्दै २ मिनेटसम्म तिब्र गतिका प्राणायामहरु(भस्त्रिका, कपालभाति, हुकार आदि) गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
सौम्य गति– श्वास–प्रश्वासलाई लामो गहिरो बनाएर ३ मिनेटसम्म कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर सौम्य गतिका प्राणायामहरु(आ–उ–म, ॐकार, भ्रामरी, नाडीसोधन, विज प्राणायाम आदि) गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।

ध्यानको अभ्यास
साक्षीभाव केन्द्रित ध्यान– आफूले तत्काल जे काम गरिरहेको छ त्यसमा होसपूर्ण तथा साक्षी भएर वर्तमानमा भैरहेका गतिविधिहरुको आनन्द लिनु साक्षीभाव(माएन्डफुनेस) केन्द्रित ध्यान हो । यो जुनसुकै समयमा गर्न सकिन्छ र गर्नुपर्छ । साक्षीभावमा केन्द्रित रहदा मा, मस्तिष्कमा विगता नराम्रा स्मृति र भविश्यका असुरक्षाका कल्पनाहरु आउदैनन् र विचारहरु वर्तमानमा केन्द्रित हुन्छन् । वर्तमानमा केन्द्रित हुदा तथा वर्तमाका गतिविधिहरुलाई होसपूर्वक आनन्द लिदा शरीरमा सकारात्मक रसायनहरुको उत्पादन बढ्छ र यसले शरीर, मन, भावना, चेतनालाई स्वस्थ राख्न मद्धत गर्दछ ।
विषय केन्द्रित ध्यान– कुनै निश्चित विषय(रमणीय स्थान, शरीरका अंगहरु, आराध्य देवी–देवता, मन्त्र, चक्र)मा मनलाई केन्द्रित गर्दै एकाग्र भएर धारणा गरिरहनु विषय केन्द्रित ध्यान हो । अनुशासित भएर निष्ठापूर्वक धारणामा एकाग्रता बढ्दै गएपछि यो विषय केन्द्रिकरण स्वतः ध्यानको अवस्थामा परिणत हुन्छ । धारणालाई गहिर्याउदै लगेर ध्यानमा प्रवेश गर्न तल उल्लेखित विधिहरुको अनुशरण गर्नु उपयुक्त हुन्छ–

(१)सकेसम्म ३० मिनेट, नभ्याए २० मिनेट र यति पनि नभ्याए १० मिनेटसम्म, सम्भव भए शव्दबिनाको सुमधूर संगीत बजाएर(शव्दहरुले ध्यानमा अवरोध गर्न सक्छन् तर संस्कृतका दोहोरीने मन्त्र तथा श्लोकहरु बजाउन सकिन्छ), कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर, आँखा कोमल बन्द गरेर, हातमा ज्ञान तथा ध्याान मुद्रा लगाएर सजिलो आसन(सिद्धासन, सुखासन, बज्रासन, कुर्शी)मा बसेर सात पटकसम्म आउदै–जादै गरेको लामो–गहिरो श्वास–प्रश्वासमा ध्यान केन्दित गर्दै आफूलाई जीवन प्रदान गरिरहेको अमृतमय श्वास–प्रश्वास; सहयोग प्रदान गरिरहेको शरीर, शरीरका अंगहरु; परिवार, समाज, प्रकृति, परमात्मा सबैप्रति कृतज्ञता भावले भरिनु पर्दछ तथा धारणा गर्नु पर्दछ । धारणा तथा कुनै विषयमाथि एकाग्रता गहिरिदै गएपछि यही ध्यानमा परिणत हुन्छ । पतंजलि योगसुत्रको परिभाषा अनुसार, “ध्यान कुनै प्रकारको गरिने क्रिया होइन, एकाता गहिरिदै जादा घटित हुने विचार शुन्यता र शान्तिको अनुभव तथा अनुभूति हो ।”

(२)यसपछि केहीबेर आफैंलाई मनमनै आत्मसन्देश दिनुपर्छ– भित्र जाने श्वासलाई लामो गहिरो बनाएर लामो ‘म’ उच्चाहरण गर्दै वाहिर जाने लामो श्वासमा लामो ‘स्वस्थ छु’ उच्चाहरण गर्नुपर्छ; फेरी भित्र जाने श्वासलाई लामो गहिरो बनाएर ‘म’ उच्चाहरण गर्दै वाहिर जाने लामो श्वासमा ‘सुखी छु’ उच्चाहरण गर्नुपर्छ; यही क्रम र लयमा क्रमशः भित्र जाने लामे, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘खुशी छु’; भित्र जाने लामो, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘शान्त छु’; भित्र जाने लामो, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘आनन्दित छु’; भित्र जाने लामो, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘भाग्यमानी छु’ उच्चाहरण गर्नु उपयुक्त, प्रभावकारी र परिणाममुखी हुन्छ । 

(३)यसपछि केही बेर मौन रहेर आँखी भौंको विचमा फुटबल आकारको प्याजी रंगको उज्यालो ‘आत्मज्योति पुञ्ज’ र उक्त आत्मज्योति पुञ्जको विचमा ‘ॐ अक्षरब्रम्ह’लाई हेरीराख्नु उपयुक्त, प्रभावकारी र परिणाममुखी हुन्छ, आफूसंग समय भएसम्म । 

(४)आफनो रुची अनुसार आफूलाई मनपर्ने तथा मन केन्द्रित गर्न सहज हुने विषयहरुमा धारणा गनै सकिन्छ । धारणाका विषयहरु दिनदिनै अलग–अलग प्रयोग गर्दा ध्यान साधनामा हुने निरशता तथा दिक्कपन(मोनोटोनस) बाट सहज निजाद पाउन सकिन्छ ।

(५)यसपछि लामो गहिरो श्वास तीनपटक लिएर, तीनपटक लामो ॐकार(ओ र मं बराबरी पारेर) गरेर, दुई हातलाई एकआपसमा घर्षण गरी हत्केलाको न्यानो उर्जा आँखामा लगाउदै विस्तार आँखा खोलेर सामान्य बन्न सकिन्छ । यसप्रकारको समान्य ध्यान तथा योग साधना विधि रागी तथा वैरागी दुवै प्रकारका मानिसहरुले गर्न सकिन्छ । 


ध्यान साधनामा विचारप्रति सजगता

ध्यान साधनामा रहदा विचार आउन सक्छन् र यो स्वाभाविक अवस्था हो । ध्यानमा विचार आए भनेर डराउनु, निराश हुनु, विचलित हुनु तथा आफूलाई असक्षम ठान्नु हुदैन । सकेसम्म त आफ्नो मनलाई आँखी भौंको विचमा ‘आत्मज्योति पुञ्ज’ र पञ्जको विचमा रहेको ‘ॐ अक्षरब्रम्ह’ मै केन्द्रित गर्न प्रयास गर्नुपर्छ तर शुरु–शुरुमा बानी नपरुन्जेल विचारले मलाई(‘म’ शुद्ध, बुद्ध, मुक्त, नित्य, शाश्वत चेतना अर्थात आत्मा हुँ; शरीर, मन, भावना, चित्त मेरो हो) जित्न सक्छन् । तसर्थ विचार आए भनेपनि विचलित नहुने, आफू द्रष्टा(विचारलाई देख्नेवाला, सुरक्षा गार्ड) भएर ती विचारहरुलाई एकटकले हेरीरहने; विचारभित्र नछिर्ने तथा राम्रो–नराम्रो विचार भनेर नछुट्याउने, कुनै प्रकारका प्रतिक्रिया नदिने; विचार आएको–गएको मात्र हेरीरहने । विचारलाई वास्ता गर्यौं तथा तीनका विषयहरुसंग उल्झिन थाल्यौं र ध्यानबाट भड्कीयौं भने हाम्रो मस्तिष्कले यो घटनालाई महत्वपूर्ण विषय रहेछ भन्ठान्छ, रेकर्ड गरेर राख्छ र हरेक पटक ध्यान गरेको समयमा यस्तै गर्नुपर्ने रहेछ भन्ठान्छ र बारबार यस्तै विचारका अवस्थाहरु दोहोर्याइदिन्छ अर्थात विचारहरु पठाइरहन्छ । तर यसको विपरीत हिामीले विचारलाई वास्ता गरेनौं, तीनलाई हेरी राख्यौं मात्र र तीनका विषयहरुसंग उल्झिएनौं भने हाम्रो मस्तिष्कले यो महत्वपूर्ण विषय होइन रहेछ भन्ठान्छ, रेकर्ड गरेर राख्दैन र अर्को पटक गरिने ध्यान गरेको समयमा विचारहरु पठाउदैन । ध्यान साधनाका शुरुशुरुका अभ्यासहरुमा विचारका ज्वालामुखी नै विस्फोट हुन्छन् र यो सामान्य अवस्था हो किनकी आँखा बन्द गरेर साधक आफूतिर फर्केपछि उसको विचार अवचेतन तथा अचेतनमनमा प्रवेश गर्छ जुन मानिसका जन्म–जन्मका स्मृतिहरु संग्रहीत भएर रहेको विचारका अनुभवहरुको महाािगर हो । विचाहरुको महासागरबाट केही समय विचारका ज्वालामुखीहरु फुटीरहनु स्वभाविक हो, बरु फुटेन भनेचाहिं स्वाभाविक होइन । विचार र आफ्नो मूल धर्म बुझौं, यसले ध्यामा टिकीरहन सहजता प्रदान गर्दछ– विचारको मूलधर्म चल्नु हो र ध्यान साधनामा रहदा मेरो मूलधर्म विचारहरुलाई हेरीरहनु हो बिना कुनै प्रतिक्रिया र जवाफ नदिइकन तथा विचारसंग नउल्झिकन । ध्यान साधनामा आउने विचारहरु सबै मनका खेल हुन्, मलाई ध्यानको विषयबाट भ्रमित गराएर वाहिर लान तथा भड्काउन प्रयास गर्ने मनका चालहरु हुन् किनकी मानिसको मन लोभि हुन्छ, यो कुनै एउटा विषयमा एकाग्र भएर अन्तरमन अर्थात आत्मासंग बसिरहन चाहदैन, इन्द्रियहरुको माधयमबाट वाहिर छरिन र संसारका विषयहरु भोग गर्न चाहान्छ । यस्तो अवस्थामा ‘म’ ‘म’ मै टिकीराखौं, मनको बहकाउमा नआउँ किनकी मन मेरो हो, ‘म’ मन होइन, ‘म’ त शुद्ध, बुद्ध, मुक्त, नित्य, शाश्वत चेतना अर्थात पुरुष अर्थात आत्मा हुँ, सर्बब्यापक, सर्बशक्तिमान परमात्मा अर्थात परब्रम्ह स्वयंको अभिन्न अंश, मै ब्रम्ह हुँ, ‘अहं ब्रम्हास्मि’ । तसर्थ, ध्यान साधनाका क्रममा आउने विचारहरुका कारण आत्तिनु तथा विचलित हुनु हुदैन, निरन्तर एउटा विषयमा धारणाको अभ्यास गर्दै गएपछि विचार आउने क्रम आफैं बन्द हुदै जान्छ र ध्यानमा विस्तारै गहिराइ तथा गहनता आउदै जान्छ र विस्तारै ध्यानबाट पनि पारी समाधिको अवस्थामा पुगिन्छ । बिना कुनै त्रुटी सकारात्मक मार्गमा गहिरिएको ध्यान साधना नै समाधिको उच्चतम अवस्था हो ।



ध्यान साधनाबाट थप लाभ लिन मद्धत गर्ने मनोविज्ञानका विधिहरु

अध्यात्म विज्ञान सम्पूर्ण रुपमा प्रतिकात्मकता(मेटाफोर) अर्थात दृश्यावलोकनको कल्पना शक्तिमा चल्ने पद्धति हो । प्रतिकात्मकताको सिद्धान्तले ध्यान साधनाको अभ्यासमा रहेको समयमा जीवनमा आफूले हासिल गर्न चाहेका स्वास्थ्य, सम्वन्ध, प्रगति, समृद्धि, मान–प्रतिष्ठा, सुख, खुशी, शान्ति, आनन्दका घटना, विषय तथा अवस्थाहरु आफूले हासिल गरिसकेको कल्पनाका दृश्यहरु मन, मस्तिष्कमा ल्याएर जीवनमा प्रगति हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्दछ र यो प्रयोगात्मक रुपमा वैज्ञानिक तवरले प्रामाणित गरिसकिएको विषय हो । दृश्यमा ल्याइएका कल्पनाहरु अत्यन्तै प्रभावकारी हुन्छन् किनकी बारबार हामीले तीनै कल्पनाहरुलाई दृश्यमा ल्याइरहदा मन, मस्तिष्कले यस्ता दृश्यहरु महत्वपुर्ण रहेछन् भन्नेठान्छ र दृश्य कल्पनाहरुलाई रेकर्ड गरेर राख्न थाल्छ र त्यही अनुरुप शरीर, मन, भावना, चेतनामा कामगर्न थाल्छ र मानिसको जीवनमा कल्पनाका दृश्य अनुसार नै जीवनमा सकारात्मक परिवर्तन र उपलव्धिमूलक परिणामहरु आउन प्रारम्भ हुन्छन् । विस्तारै शरीरमा आरोग्ता बढ्छ, मनमा राम्रा विचारहरु, भावनामा राम्रा भावहरु बन्न थाल्छन् र पूर्णरुपमा मानिसको जीवनशैली सकारात्मक बन्नथाल्छ । सकारात्मक मानिसको जीवनमा सबैप्रकारका प्रगतिहरु हुन सम्भव हुन्छ, यस्तो मानिसले सबै क्षेहरुमा चाहे अनुसारको सफलता हासिल गर्न सक्छ । सकारात्मक मानिस संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित, सेवा तथा सर्वकल्याण भावले भरिएको हुन्छ र यस्तो मानिस मात्र पूर्णरुपमा स्वस्थ, सुमधूर सम्वन्ध भएको, सम्पन्न, मान–प्रतिष्ठा कमाएको र आन्तरीक रुपले शान्त, आनन्दित रहेको हुन्छ ।


सनातन दर्शनको सबै भन्दा कान्छो तर अत्यन्तै प्रभावशाली आधूनिक प्रमात्रा विज्ञान(क्वान्टम विज्ञान)लाई समेत अगाडिका खोजहरुमा मद्धत पुर्याइरहेको अद्वेत वेदान्त(मोनिजम)का अनुसार ब्रम्हाण्ड सकारात्मक मानिसहरुलाई मद्धत गर्न हरपल तयार रहेको हुन्छ । अद्वेत वेदान्तको अवधारणामा आधारीत ब्रम्हाण्डको आकर्षणको सिद्धान्त(द ल अफ अट्रयाक्सन)का अनुसार मानिसले सकारात्मक विचार गर्यो भने ब्रम्हाण्डले उसका सकारात्मक विचारहरुलाई सकारात्मक उपलव्धि तथा सकारात्मक परिणाममा परिवर्तन गर्न त्यस्तै प्रकारका सकारात्मक विचारहरु उसको अन्तरज्ञान(इन्ट्युसन तथा सिक्थसेन्स)मा एकाकार गरेर तिनको आकार र क्षमता(इन्टेनसिटी) बढाइदिन्छ र उसले जीवनमा हासिल गर्न चाहेका कुराहरु उसको जीवनमा वास्तविक रुपमा फलिभूत हुन मद्धत गर्दछ । 


दृश्यांकन कल्पनाका शक्ति तथा प्रभाव

आधूनिक मनोविज्ञानका अनुसार श्रव्य(लिसन) घटना भन्दा दृश्य(भिजन) घटनाहरु र दृष्य घटनाहरु भन्दा क्रिया(एक्सन) गरेका घटनाहरुलाई हाम्रो मन, मस्तिष्कले छिटो र राम्रोसंग याद राख्न तथा रेकर्डमा राख्न सक्छ । ध्यान साधनाका क्रममा गरिएका दृश्यांकन कल्पनाहरुले साधकको जीवनमा परिणाममुखी उपलव्धिहरु ल्याउछन् । सबै रसायन ग्रन्थीहरु(हर्मोनल ग्ल्यान्डस्)बाट मेरो सम्पूर्ण स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने खुशीका रसायनहरु(ह्याप्पी हर्मोन्स्–डि.ओ.एस.इ.) श्रावित भैरहेका तथा उत्पादन भैरहेका छन्; मेरो शरीरभरी फैलिएर मलाई स्वास्थ्य, आरोग्यता, एकाग्रता, शान्ति प्रदान गरिरहेका छन् भन्ने दृश्यमा कल्पना(भिज्योलाइज) गर्दा खुशीका रसायनहरुको उत्पादन बढ्नुको साथै यसका सकारात्मक प्रभावहरु शरीर, मन, भावना, चेतनामा अझ प्रभावकारी र परिणाममुखी भएर प्रत्यक्ष अनुभवमा आउछन् । मलाई स्वस्थ रहन, मेरो जीवनमा पंचप्रगति गर्न मद्धत पुर्याइरहेका खुशीका सबै रसायनहरुले मलाई कति ठूलो गुन लगाइरहेका छन्; म यी रसायनहरुप्रति कृतज्ञ छु भन्ने जस्ता सकारात्मक धन्यवाद तथा कृतज्ञता भावले भरिदा जीवनमा आउने सकारात्मक प्रगति र उपलव्धिहरुमा अझ राम्रो परिणाम आउछ । खुशी प्रदान गर्ने रसायनहरुले स्वतःस्फुर्त रुपमा नकारात्मक तथा तनावका रसायनहरुले हाम्रो शरीर, मन, भावना, चेतनाका सामान्य, सुक्ष्म तथा अति सुक्ष्म गतिविधिहरुमा पारेका नकारात्मक प्रभाव तथा हानिहरुमा औषधि उपचारको काम गर्ने हुनाले शरीर, मन, भावना, चेतनाका धेरै प्रकारका बिमारीहरुमा आराम मिल्नथाल्छ, बिमारीहरु विस्तारै निको हुन थाल्छन् । सकारात्मक तथा खुशीका रसायनले स्वतःस्फुर्त रुपमा तनावका रसायनहरुको नकारात्मक प्रभावका कारण हाम्रो मस्तिष्कको स्नायु प्रणालीमा चुडिएका, खुम्चिएका, गाँठो परेका, संचार अवरुद्ध भएका स–साना स्नायु तथा नशाहरुमा; शरीरका च्यातिएका, खुम्चिएका तथा जकडिएका तथा संचार अवरुद्ध भएका मांसपेसीहरुमा; जोर्नीका दुषित भएका तथा सुक्दै गएका कृष्टलहरुमा; हड्डी, मासमज्जा, रगत तथा शरीरका आन्तरीक र वाहिरी अंगहरुमा पारेका सबैप्रकारका नकारात्मक हानि, प्रभाव, असन्तुलन तथा खराबीहरुमा पुनरसंरचना(रिपेयरिगं) तथा जोड्ने काम गर्दछन् र छिट्टै स्वस्थ र सन्तुलित अवस्थामा आउन मद्धत गर्दछन् । 



वर्तमान समयमा साक्षीभाव केन्द्रित तथा विषय केन्द्रित दुवै प्रकारका ध्यान साधनाका विधि तथा पद्धतिहरुमाथि गरिएका आधूनिक चिकित्सा विज्ञान, मनोचिकित्सा विज्ञान तथा मनोविज्ञानहरुका थुप्रै वैज्ञानिक खोज तथा अनुसन्धनमा आधारीत अध्ययनका प्रतिवेदनहरुले उजागर गरिसकेका छन् कि खुशीका रसायनहरुको उत्पादन सबैभन्दा बढि ध्यान साधनामा गरिने दृश्य सहितको कल्पनामा हुने गर्दछ । ध्यान साधनाको अवस्थामा वर्तमानका गतिविधिहरुमा केन्द्रित हुने, विगत र भविश्यका विचारहरु कम चल्ने, नकारात्मक विचारलाई हटाएर सकारात्मक विचारहरुलाई स्थान दिइने, कुनै एउटा विषयमा एकाग्र हुने जस्ता सकारात्मक गतिविधिहरुले प्रसस्त मात्रामा शुखीका रसायनहरु उत्पादन गर्न र बिनाकारण तथा शरीरलाई वास्तविक रुपमा आवश्यकता नपरिकन तनावका रसायनहरु उत्पादन हुन पुर्णरुपमा निस्तेज गर्न मद्धत गर्दछन् । वैरागी, योगी, सन्त, संयासी तथा मोक्षको मुमुक्षा राख्नेहरुकालागि ध्यान साधनाको परिभाषा विशेष तथा विशिष्ठ हुन सक्छ तर सामान्य तथा सांसारीक मानिसहरुका लागि ध्यान साधनाको सहज तथा सरल परिभाषा मन, मस्तिष्कमा आउने नकारात्मक विचारहरुलाई सकारात्मक विचारहरुले प्रतिस्थानपन गरेर तीनै सकारात्मक विचारहरुलाई दृश्यमा भैरहेको कल्पना गर्र्नु र कम्मर, ढाड, गर्धन शिर सिधा राखेर, आँखा बन्द गरेर, हातलाई ज्ञान तथा ध्यान मुद्रामा राखेर, निश्चित समयसम्म स्थिर भएर त्यही सकारात्मक विचारमा एकाग्र भैरहनु हो ।


यसप्रकार योग साधना विज्ञानका वैज्ञानिकतामा आधारीत उपयुक्त विधि तथा पद्धतिहरु(खासगरि योगासन, प्राणायाम, ध्यान)ले मानिसको शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक अर्थात चेतनात्मक संरचनामा प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव पार्दछन् र मानिसको मनमा चन्ले अति विचारलाई विस्तारै कम गर्न, नियन्त्रण गर्न र तीनलाई सकारात्मकतामा रुपान्तरण गर्न मद्धत गर्दछन् । यसकालागि सबै उमेर समूहका सबै श्रेणीका मानिसलाई उपयुक्त ठानिएका ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर कत्तिपनि ढिलो नगरीकन ध्यान तथा योग साधना प्रारम्भ गर्न अध्यात्म विज्ञान र आधूनिक मनोचिकित्सा तथा मनोविज्ञानका विशेषज्ञहरुको राय–सल्लाह रहदै आएको छ । तसर्थ वर्तमान परिप्रेक्षमा सांसारीक जीवन जीउने मानिसहरुकालागि ध्यान तथा योग साधना गर्नुको पहिलो उद्देश्य तथा प्रयोजन मनमा चल्ने अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई न्ूनिकरण गर्नु, नियन्त्रण गर्नु, सन्तुलित तथा व्यवस्थित गर्नु हो । ध्यान तथा योग साधनाले अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई विस्तारै कम गर्दै लाने हुनाले विविध समस्याहरुबाट ग्रस्त मानिस विस्तारै समस्याबाट वाहिर आउन थाल्छ, सामान्य बन्दै जान्छ र उसको जीवन प्रगतिउन्मुख हुन थाल्छ किनकी ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुले मानिसको शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक संरचनामा प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव पार्दछन् र उसको अति विचारलाई विस्तारै कम गर्न र तीनलाई सकारात्मकतामा रुपान्तरण गर्न मद्धत गर्दछन् । यसरी मानिसले जीवनका सबै प्रकारका दुःखहरुको निवारण तथा व्यवस्थापन गरेर उसको जीवनमा उसले इच्छाए अनुरुपको स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मान–प्रतिष्ठा, शान्ति(पंचप्रगति) हासिल गर्न सक्षम हुन्छ । 


ध्यान तथा योग साधनाको सन्दर्भमा सुधार गर्नुपर्ने अत्यावश्यक विषय

सबै उमेर समुहका मानिसहरुलाई ध्यान तथा योग साधनाले हरप्रकारले सकारात्मक लाभ पुर्याउने भएपनि त विडम्वना, वर्तमान समयमा ध्यान साधनाको सन्दर्भमा व्यक्ति, परिवार, समाज, राज्यमा गलत बुझाइ रहदै आएको छ कि ध्यान साधना गर्नुको मतलव परिवार, कर्तव्य, उत्तरदायित्व, घरसंसार छोडेर वैरागी हुनु हो; यो उमेर ढक्लेपछि बुढेसकालमा गर्ने क्रियाकलाप हो; साना केटा–केटी, किशोर–किशोरीले, यूवा–यूवतीले त गर्नै हुदैन, गरे भने एकोरीन्छन्, जीवनबाट बिमुख हुन्छन् आदि । ध्यान तथा योग साधनाको सन्दर्भमा यस्तै गलत मान्यता मानेर बसका कारण धेरै मानिसहरुले ध्यान साधनाको वास्तविक महत्व र अनन्त सकारात्मक प्रभाव तथा लाधबारे जानेका तथा बुझेका छैनन् त्यसैले ध्यान तथा योग साधनाबाट बिमुख मानिसहरुले जीवनमा अनेक प्रकारका रोग, मानवीय विकार तथा क्लेसका कारण खराव सम्वन्ध, बिपन्नता जस्ता समस्या, चुनौती, दुःख तथा कष्टहरु झेलीरहेका छन् । हामी आफूमा जस्तो सोच, विचार, भाव, मान्यता राख्छौं, जस्तो मान्छौं, जस्तो आस्था तथा विश्वास राख्छौं हामी र हाम्रो जीवन पनि त्यस्तै बन्दै जान्छ । ध्यान साधनाका विश्वविख्यात अभियन्ता श्रद्धेय ओशो रजनीश ध्यानको सन्दर्भमा  भन्नुहुन्छ, “आफू स्वयंले प्रत्यक्ष नजानी केही पनि नमान तथा त्यस विषयप्रति आफ्नो मान्यता नबनाउ, मेरो कुरा पनि नमान, आफैं उत्र प्रयोगात्मक अभ्यासमा, प्रत्यक्ष अनुभव गर र सही लागे आफ्नो जीवनमा अनुशरण गर, मान्नाले जीवन वरवाद हुन सक्छ तर जान्नाले जीवन आवाद हुन्छ ।” मानिसहरुले ध्यान तथा योग साधनाको महत्व बुझेको तथा जानेको भए उनीहरुले आफ्नो जीवनमा बिना कुनै रोकटोक पंचप्रगति गर्न सक्ने थिए । तसर्थ, ध्यान साधना गर्नु भनेको वैरागी हुनु होइन, जीवनमा प्रगति ल्याउनु हो । ध्यान तथा योग साधना जीवनमा हरप्रकारका प्रगति गर्नकालागि अत्यावश्यक तयारीको साधन तथा उपकरण हो । 


ध्यान तथा योग साधना र मानिसको जीवनमा यसको सकारात्मक प्रभावका सन्दर्भमा विश्वभरि विभिन्न समयमा गरिएका थुप्रै वैज्ञानिक खोज तथा अध्ययनहरुले उजागर गरेका छन् कि विश्वव्यापि तथ्यांकमा रहेका जतिपनि उच्च प्रगति गरेका उच्च ओहोदाका सफल व्यक्तिहरु छन् ती सबै ध्यान तथा योग साधना गर्ने गर्दछन् । ध्यान तथा योग साधनाको माध्यमबाट नै उनीहरुले आफ्नो जीवनमा उच्चतम प्रगति, सफलता, प्रसिद्धि, हासिल गर्न सकेका हुन् । विभिन्न समयमा कतिपय व्यक्तिहरुले आफैंले ध्यान तथा योग साधनाका क्रममा आफूले अनुभव गरेका ज्ञान र उपलव्धिहरु उजागर गर्दै आएका पनि छन् कि ध्यान तथा योग साधनाका कारणले उनीहरुको जीवनमा, यो–यो समयमा, यसरी–यसरी, यो–यो प्रकारको सकारात्मक परिवर्तन आयो भनेर । वास्तविक अर्थमा मान्नु र जान्नुको अन्तर नै यही हो । जसले ध्यान तथा योग साधना गर्नुलाई वैरागी हुनुु हो, बुढेकालमा गर्ने हो अहिले मेरो समय भएको छैन भनेर ध्यान तथा योग साधनाप्रति आफ्नो मान्यता बनाएर बस्यो र ध्यान तथा योग साधनाकाबारेमा सिद्धान्छहरु मात्र पढेर बस्यो, प्रयोगात्मक अभ्यासमा उतारेन उ सदा जीवनमा पछाडि पर्यो । तर यसको विपरीत जसले ध्यान तथा योग साधनालाई पढेर, बुझेर मान्नुको साथसाथ प्रयोगात्मक अभ्यास गरेर जान्ने प्रयत्न गर्यो र ध्यान तथा योग साधनालाई व्यवहारीक अभ्यासमा उतार्यो र यसकाका अनन्त लाभहरु स्वयंले प्रत्यक्ष अनुभव गर्यो तीनै मानिसहरु जीवनमा अगाडि बढे, प्रगति गरे र तीनै मानिसहरुले आफ्नो जीवनलाई अमर बनाए तथा नयाँ इतिहास लेखे । 


यसकारण ध्यान तथा योग साधनाका सकारात्मक अनन्त लाभहरु सबै माझ पुर्याउन सर्वप्रथम व्यक्ति, परिवार, समाज, राज्यको मानसपटलमा रहेको ध्यान तथा योग साधनाबारे भ्रम तोड्नु अतिआवश्यक छ । पूर्वीय सनातन दर्शनले ध्यान तथा योग दानलाई सबैभन्दा सर्वोत्कृष्ट दान मान्दछ । ध्यान तथा योग साधना सिकाउनु भनेको मानिसलाई हरप्रकारले सक्षम बनाएर जीवनमा एच्छाएको प्रगति गर्नसक्ने बनाउनु हो । यसरी आफूले अरुको जीवनमा ध्यान तथा योग साधनाको जागरण गराउन सक्ने बन्नु मानव भएर जम्निुको सर्वोत्कृष्ट उपलव्धि हो । मानवीयताको सबैभन्दा ठूलो उत्तरदायित्व, कर्तव्य, दान, पुण्य, धर्म, सेवा गर्नु हो । महर्षि वेदव्यासले धर्मको परिभाष गर्दै भन्नु भएको छ, “परोपकार पुण्याय, पापाय परपिडनम।” अर्थात आफूले अरुलाई सुख दिनु तथा आप्mनो कारणले अरुको जीवनमा सुख आउनु धर्म हो र अरुलाई दुःख दिनु तथा आफ्नो कारणले अरुको जीवनमा दुःख, पिडा आउनु पाप हो । मानिसको हृदयमा धर्मको भाव ध्यान तथा योग साधनाले प्रष्फुटित गराउछ । तसर्थ सबै उमेर समुहका मानिसहरुलाई ध्यान तथा योग साधना सिकाएर उनीहरुको जीवनमा मानवीयता, उत्तरदायित्व, कर्तव्य, दान, पुण्य, धर्म, सेवा र यसको महत्वबारे जागरण गराउँ र हरेक मानिसले आफू मनुष्य भएर जन्म लिएको कर्तव्य तथा दायित्व पूरा गरौं ।       bsirjana@gmail.com


Tuesday, 20 May 2025

बौद्ध दर्शन जीवनलाई मध्यमार्गी बनाउने सर्वोत्कृष्ट ज्ञान हो, खण्ड -२

  डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #जीवन_दर्शन   #बौद्ध दर्शन

                                       


बौद्ध दर्शन जीवनलाई मध्यमार्गी बनाउने सर्वोत्कृष्ट ज्ञान हो, खण्ड -१ को निरन्तरता

समावेस भएका विषयहरु:

सनातन तथा वैदिक दर्शन ऐतिहासिक पृष्ठभूमि; अध्यात्म, धर्म संस्कृतिमा भिन्न; बौद्ध दर्शनको पृष्ठभूमि; बौद्ध दर्शन किन कसरी सर्वमान्य तथा सर्वोत्कृष्ट दर्शन; बौद्ध दर्शनको सन्दर्भमा पाश्चात्य मत; बौद्ध दर्शन सामाजिक उत्थान; सनातन वैदिक दर्शनको पुनःरोत्थान; बौद्ध दर्शनका मूल आधार स्तम्भहरु; चार आर्य सत्य, अष्टांगीक मार्ग



अष्टांगीक मार्ग

वर्तमान समयमा बौद्ध दर्शनलाई विश्वभरीनै मानवीय दर्शन, नैतिक दर्शन, सामाजिक दर्शन, मध्यमार्गी दर्शन, व्यवहारिक दर्शन तथा वास्तविक दर्शनको मान्यता प्रदान गर्दै आइएको छ र यसको प्रभाव तथा विस्तार विश्वभर निरन्तर बढिरहेको छ । बौद्ध दर्शनको मूलसार मानिसको जीवनलाई हर प्रकारले सहज र सरल बनाउनु हो, यसकालागि भगवान बुद्धले सम्यक तथा मध्यमार्गी उपायहरुको अनुशरण गर्न सुझाउनु भएको छ जसलाई बौद्ध दर्शनमा उल्लेखित अष्टांगीक मार्गले विस्तृतमा व्याख्या गरेको छ । अष्टांगीक मार्गको मूलज्ञान नैतिकवान तथा अनुशासित रुपमा सम्यक अर्थात मध्यमार्गी(न अति न कम, विचमा) भएर जीवनमा अगाडि बढ भन्ने हो ।


(१)सम्यक दृष्टि अर्थात सही हेराइ (Right View)

जीवनमा वास्तविकता र व्यवहारीक पक्षलाई जोड दिन सुझाउदै भगवान बुद्धले भन्नुभएको छ, “आफ्नो जीवन सहज र सरल बनाउन जीवनको दृष्टि अर्थात हेराइ तथा बुझाई सम्यक अर्थात सन्तुलित अर्थात मध्यमार्गी बनाउनु पर्छ ।” मानिसको दृष्टि, हेराइ तथा बुझाइ सम्यक तथा सही नहुनु नै उसको जीवनमा दुःख ल्याउने पहिलो कारण हो । मैले मेरो अगाडिका विषय तथा घटनाहरुलाई ती जस्ता छन् त्यस्तै रुपमा तथा सही प्रकारले हेर्नु तथा बुझ्नु पर्दछ र ती विषय तथा घटनाका सन्दर्भमा मेरो मानसिकता तथा भावना सकारात्मक बनाउनु नै सम्यक दृष्टि हो । यसकालागि सर्वप्रथम, भगवान बुद्धले सुझाउनु भए अनुसार अध्यात्म दर्शन तथा जीवन दर्शनका ज्ञान तथा विज्ञानहरु– नित्य, सत्य, धर्मलाई म त्यही स्वरुपमा जस्ताको तस्तै देखौं तथा बुझौं र अनित्य, अनात्म, असत्य, अधर्मलाई पनि त्यही स्वरुपमा जस्ताको तस्तै देखौं तथा बुझौं र आफ्नोलािग सही र गलतको पहिचान गरौं । तव मात्र मेरो दृष्टि सम्यक बन्न सक्छ र मेरो जीवन सहज तथा सरल हुदै जान्छ । मानिसको शरीर, मन, भावना अनित्य, अनात्म, असत्य छ, जो जन्मन्छ त्यो अवस्य मर्छ, निश्चित समयावधिपछि शरीर नासिएर तथा मरेर जान्छ, त्यसैले शरीर, मन, भावनामा उत्पन्न हुने अनेक प्रकारका तृष्णा(इच्छा, कामना, वासना, आकांक्षा)हरुको पछि नलागौं, मानिसका अन्त्यहिन तृष्णाहरु कहिल्यै(जन्म–जन्मान्तरसम्म पनि) पूरा हुदैनन्, एकपछि अर्को आइरहन्छन् निरन्तर र त्यसको प्राप्तिका लागि मनलाई भड्काइ रहन्छन् तसर्थ ती सबै तृष्णाहरु प्रति सम्यक दृष्टि राख्दै आधारभूत आवश्यकताका आधारमा(निडबेस नट वीलबेस) जीवनयापन गरौं, आफैंतिर फर्किएर आफ्नो आन्तरीक जीवनको विकास गारौं । 


अध्यात्म दर्शन तथा जीवन दर्शनको सन्दर्भमा अरुले जे भनिरहेका छन् ती सबै अन्धधुन्ध मानेर तीनको पछाडि नलागौं । यसो गर्दा जीवनमा अनेक प्रकारका समस्या, चुनौती तथा दुःखहरु आउछन् । यस्ता विषयहरु उपर सम्यक दृष्टि राखेर आफ्नो वुद्धि, विवेक, तर्कको प्रयोग गरौं । आफूलाई स्पष्ट नभएका तथा चित्त नबुझेका विषय तथा घटनाहरुबारे सम्यक तथा सन्तुलित किसिमले प्रतिक्रिया तथा अन्तरक्रिया गरौं र सबै कुरा गहनताकासाथ देखौं तथा बुझौं र सही लाग्यो भने आफ्नो जीवनमा व्यवहारीक रुपमा अनुशरण गरौं, सही लागेन तथा अन्धविश्वास हो, मनगणन्ते हो, त्यसमा कुनै तार्किकता तथा वैज्ञानिकता छैन भन्ने लाग्यो भने त्यसलाई त्यहीकोत्यहीं छोडौं र जीवनमा विलकुल अनुशरण नगरौं अर्थात त्यसलाई व्यवहारीकतामा नल्याउँ । यसो गर्दा जीवनमा असहजता, जटिलता, समस्या, चुनौती तथा दुःखहरु बढ्दैनन् र जीवन सहज, सरल र सफल हुदै जान्छ । यस अतिरिक्त आफू वास्तविक मानव बनौं, वास्ताविकतामा तथा व्यवहारीतामा विश्वास गरौं र आफ्नो जीवनलाई पनि त्यस्तै बनाउँ, सबैलाई आफू समान देखौं, अरुका समस्या तथा दुःख बुझौं र क मगर्ने प्रयास गरौं । अरुले आफुप्रति गरेका सकारात्मक भाव तथा आफूलाई लगाएका गुणहरु देखौं र सबैप्रति कृतज्ञाता तथा धन्यवादले भरीयौं । सबैप्रति प्रेम, सदभाव, मानवीयताको भावले भरीयौं र नैतिकवान तथा अनुशासित भएर निरन्तर सर्वकल्याणको काम गरौं । यहीनै हो वास्तविक तथा व्यवहारिक अध्यात्म दर्शन तथा जीवन दर्शन र यहीनै हो आध्यात्मिक तथा धार्मिक हुनु भनेको पनि । तसर्थ ज्ञान तथा दर्शनप्रतिको दृष्टिकोण सम्यक र व्यवहारीक बनाउँ । इश्वर, स्वर्ग, नर्क, मोक्ष पराभौतिक विषयहरु हुन्, यसबारे आममानिस कसैले देखेका, जानेका, बुझेका, अनुभव तथा अनुभूति गरेका छैनन् । अरुले भनेका भरमा यस्ता विषयहरुको तार्किकता र वैज्ञानिकता विचार नगरी अन्धधुन्ध रुपमा अन्धविश्वास नगरौं; यसले जीवनमा दुःख मात्र ल्याउछ । यस्ता विषयहरुको सन्दर्भमा आफ्नो दृष्टिकोण, हेराइ तथा बुझाई सम्यक राखौं, न पुरै अविश्वास गर्नु न पुरै विश्वास तथा अनुशरण; आफनो वुद्धि, विवेक, तर्क लगाउँ र जीवनलाई सदा सहज तथा सरल बनाउँ । सम्यक दृष्टि अर्थात सही हेराईको मुलसार जसको जीवनको दृष्टि, हेराई तथा बुझाईहरु सम्यक तथा सही हुन्छन् उसैको जीवन विस्तारै सहज, सरल र सफल हुदै जान्छ भन्ने हो ।


(२)सम्यक संकल्प अर्थात सही आशय (Right Intention)

मानिसहरुमा सम्यक संकल्प अर्थात सही आशय नहुनु जीवनमा दुःख आउने अर्को प्रमुख कारण हो । जव मेरो दृष्टि, हेराइ तथा बुझाई सम्यक तथा सही हुन्छ तव मेरो जीवनको संकल्प अर्थात आशय तथा नियत पनि सम्यक हुन थाल्छ । तव म जीवनमा के गर्ने, कहिले गर्ने, कसरी गर्ने आदि संकल्प तथा लक्ष्यहरु लिन थाल्छु, संकल्प तथा लक्ष्यहरु पूरा गर्न तत्परता, प्रेरणा, जाँगर, दृढता, क्षमता बढ्दै जान्छ, म विस्तारै सक्षम हुदै जान्छु र जीवन सहज, सरल र सफल हुदैजान्छ । मेरो दृष्टि सम्यक भएपछि मेरो जीवनको संकल्प तथा लक्ष्यहरु नित्य, धर्म, सत्यको मार्गचित्र अनुसार निर्माण हुदै जान्छन् । स्वतःस्फूर्त रुपमा म जीवनमा यसो–यसो गर्छु, यसरी–यसरी जीवन जिउँछु, अरुलाई यो–यो सिकाउछु, यसरी–यसरी र यति–यति सेवा तथा दान प्रदान गर्छु, सर्वकल्याणको काम गर्छु, संधै नैतिकवान, अनुशासित र उत्तरदायि भएर नित्य, सत्य, धर्म, मानवीयताको मार्गमा हिड्छु भन्ने सकारात्मक तथा जीवनलाई प्रगतितिर लाने संकल्प, लक्ष्य तथा आशयहरु निर्माण हुदै जान्छन् र जीवन प्रगतिउन्मुख हुदै जान्छ । मेरो संकल्प सम्यक भएपछि आफ्नो जीवनकोलागि आवश्यक, मूल्यवान तथा महत्वपूर्ण विषयहरुको पहिचान तथा तीनको व्यवहारिक अनुशरण ममा बढ्दै जान्छ र जीवनकोलागि आवश्यक, मूल्यवान तथा महत्वपूर्ण नरहेका विषयहरु आफैं छुट्दै तथा प्राथमिकताबाट हट्दै जान्छन् । मेरो सोच, विचार, आचरण, व्यवहार, कर्ममा सकारात्मक आशय स्वतःस्फुर्त आउन थाल्छ । सम्यक संकल्प अर्थात सही आशयको मुलसार जसको जीवनको संकल्प, आशय, लक्ष्य, प्राथमिकताहरु सम्यक तथा सही हुन्छन् उसैको जीवन विस्तारै सहज, सरल र सफल हुदै जान्छ भन्ने हो ।


(३)सम्यक वाक अर्थात सही वाणी (Right Speech)

मानिसहरुमा सम्यक वाक अर्थात सही वाणीको अभाव हुनु जीवनमा दुःख आउने अर्को प्रमुख कारण हो । जव दृष्टि र संकल्प सम्यक हुन्छन् तव मेरो वाक अर्थात वाणी तथा शव्द पनि सम्यक हुन्छन् । सम्यक वाकका सन्दर्भमा भगवान बुद्धले महत्वपूर्ण तीन सुत्रहरु सुझाउनु भएको छ– अनावश्यक, असान्दर्भिक र अर्थहीन तथा अनुपयोगी वाणीनै मानिसको जीवनको प्रमुख कारण हो तसर्थ-

(१)जहाँ आवश्यक छ त्यहाँ मात्र बोल, जहाँ आवश्यक छैन त्यहाँ बोल्दैनबोल, मौन बस । अरुका विषयमा अनावश्यक रुपमा आफूलाई नघुसाउ, तटस्थ बस । 

(२)जे कुरा आवश्यक छ त्यो कुरा मात्र बोल, अनावश्यक कुरा बोल्दैनबोल, मौन बस । आग्लोको प्रसंगमा गाग्रोको प्रसंग नघुसाउ अर्थात घटना तथा विषयसंग अप्रासंगीक हुने कुरा नगर ।

(३)जे बोल्छौ अर्थपूर्ण तथा काम लाग्ने विषय बोल, अर्थहिन कुरा बोल्दैनबोल, मौन बस । जे बोल्छौ त्यो सार्थक र उपयोगी होस अफू र अरुकालागि । 


यी तीन अवस्थाका अतिरिक्त मानिसले क्रोधमा बोलेर; नसोचीकन बोलेर; गाली, बेइज्यति तथा अश्लिल शव्दहरु बोलेर; अरुको निन्दा गरेर; कुरा काटेर; चुगली लगाएर; अभद्र बोलेर पनि आफ्ना असम्यक वाक तथा वाणीकाकारण जीवनमा अनेक प्रकारका दुःखहरु आफैं निम्त्याउछ । आधूनिक मनोविज्ञानमा समय–समयमा गरिएका थुप्रै खोजमूलक अध्ययनहरुले देखाए अनुसार, धेरैजसो काम, कुरा तथा सम्वन्धहरु मानिसको अनावश्यक, असान्दर्भिक र अर्थहीन तथा अनुपयोगी वाक अर्थात वाणीहरुकाकारण बिग्रिएका तथ्यांकहरुले देखाएका छन् । यीनै अध्ययनहरुले नै मानिसको जीवनमा सबैभन्दा बढि दुःख तथा पिडाहरु यीनै ब्रिग्रीएका सम्वन्धहरुका कारण आउनेगरेको तथ्यांकहरुमा स्पष्ट रुपमा देखिएका छन् । हामीले माथि उल्लेखित तीन सुत्रहरुमा गंभिरतापूर्वक ध्यान दियौं भने हाम्रो वाक अर्थात वाणी सम्यक हुन्छ र आफ्नो वाणीकाकारण जीवनमा आइपर्ने दुःखहरुबाट निवृति मिल्छ ।

 

(४)सम्यक कर्मान्त अर्थात सही कर्म (Right Action)

मानिसले आफ्नो जीवनमा सम्यक कर्मान्त अर्थात सही कर्म गरेको छैन भने उसको जीवनबाट दुःखहरु कहिल्यै समाप्त हुदैनन् । कर्मका प्रकार, नियम र सिद्धान्तहरु जानेर कर्म गर्न सके मात्र कर्म सम्यक अर्थात सही बन्न सक्छ । यसबारे आवश्यक ज्ञान भएन भने मानिस आफूले नगरीनहुने अत्यावश्यक तथा कर्तव्यमुलक कर्महरु तथा आफ्ना उत्तरदायित्वहरु पूरा गनैतिर लाग्दैन, बरु उल्टो अनावश्यक, नगरेपनि हुने तथा गर्नै नहुने निषेधित कर्म गर्नतिर लाग्न सक्छ, आफ्नो अमूल्य समय र जीवन बरबाद गर्न सक्छ र यस्ता कर्महरुले जीवनमा दुःख ल्याउछन् ।

(१)कर्मका प्रकार– कर्म(उपलव्धिमूलक केही काम गर्नु), अकर्म(केही काम नगर्र्नु तथा निश्कृय हुनु), बिकर्र्म(गर्नै नहुने निषेधित काम गर्नु) ।

(२)कर्मको नियम– मैले जे दिएं त्यही पाउँछु, यो कर्मको प्राकृतिक नियम हो, कोदो छरेर तोरी उम्रिदैन ।
(३)सिद्धान्त– मैले गरेका सबै प्रकारका कर्म, अकर्म, बिकर्मका फलहरु पाकेपछि यसका परिणामहरु जीवनमा ढिलोचाँढो हरहालमा मैले भोग्नु नै पर्छ चाहे यही जन्ममा चाहे आगामी जन्महरुमा ।

मेरा दृष्टि, संकल्प तथा वाणीहरु सम्यक भएका छन् भने मेरो जीवनमा स्वतः सम्यक कर्म आउन थाल्छ विस्तारै र म आफू तथा अरुकालागि लाभ हुने सकारात्मक कर्महरु गर्न थाल्छु अन्यथा म आलश्यले भरिएको हुन्छु र कुनै प्रकारका सकारात्मक उपलव्धिमूलक कर्महरु गर्दिन; परिवार, समाज, धर्म–संस्कृति तथा राज्यले निषेधित गरेका गर्न नहुने तथा अरुको भलाई नगर्ने नकारात्मक कर्म गर्छु र मेरो यो जन्म लगायत जन्म–जन्मका कर्मका श्रृंखलाहरु बिगार्छु; आफ्ना दुःखहरु आफैं बढाउछु र जीवनभर संधै दुःखको भुमरीमा रुमल्लिरहन्छु । अरुलाई नोक्सान पुर्याउने उद्देश्यले तथा अज्ञानताका कारण असत्य बोल्नु, हिंसा गर्नु, चोरी गर्नु, धोका दिनु, संग्रह गर्नु, कर्तव्य पूरा नगर्नु, विषयभोगको पछाडि आशक्त हुनु आदि गतिविधहरु बिकर्म अन्तर्गत पर्दछन जसले जीवनमा दुःख निम्त्याउछन् । अकर्म तथा बिकर्मबाट टाढा रहेर सबैको हित हुने उपलव्धिमूलक सकारात्मक कर्म तथा सतकर्म गर्नु सम्यक कर्मान्त अर्थात सही कर्म हो ।


(५)सम्यक आजिविका अर्थात सही धन (Right Livelihood)

मानिसले आफ्नो जीवनमा सम्यक आजिविका नअपनाउनु अर्थात सही प्रकारले नैतिकवान तथा अनुशासित भएर धन नकमाउनु उसको जीवनमा दुःख ल्याउने अर्को प्रमुख कारण हो । समाजमा प्रचलित एउटा वाक्य छ, ‘बेइमानी गरेर कमाएको धन दुईवटा डा.मा खर्च हुन्छ, कि डाक्टरले लान्छ कि डाकुले लान्छ ।’ यो वाक्य व्यवहारिक रुपमा सत्य सावित भएको पनि देख्न सकिन्छ किनकी बेइमानी गरेर कमाएको धनमा मानिसको अपनत्व, स्वामित्व, प्रेम, लगाव तथा जुगाड भाव हुदैन, बेपरवाह किसिमले खर्च गर्छ खानपान, मोजमस्तीमा र लापरवाही किसिमले जीवन जीउछ जसकाकारण स्वास्थ्य, सम्वन्ध, मानप्रतिष्ठा, शान्ति खलबलिन्छ र मानिसको जीवनमा अनेक प्रकारका दुःखहरु आइपर्छन । साथै धन धेरै भएका मानिसहरुप्रति चोर, डाकाहरुको आँखा परिरहेको हुन्छ र मौका मिलाएर चोर, डाकाहरुले धनाड्यहरुको धन लुट्छन् तथा चोरी गर्दछन् । बेइमानी गरेर कमाएको धन डाक्टरकहाँ तथा डाकुकहाँ नपुगुन्जेल आफैंले उक्त धनको सुरक्षा तथा रखबारी गरेर बसिराख्नु पर्छ संधै चिन्तित र असुरक्षित भएर र यस्तो अवस्थाले पनि मानिसको जीवनमा दुःख ल्याउछ । तसर्थ आफ्नो दैनिक सम्यक आजिविकाका लागि आफू लगायत अरु कसैलाई कुनै पनि प्रकारको हानि, नोक्सानी नपुर्याइकन, दुःख नदिइकन इमान्दार भएर धन कमाउनु पर्दछ । धेरै धन कमाउने होड तथा आशक्तिमा आफ्नो स्वास्थ्य, सम्वन्ध, इमान्दारिता, नैतिकता, अनुशासन, शान्ति, ज्ञान, ध्यानलाई नकारात्मक प्रभाव पुर्याउनु हुदैन, यसले जीवनमा दुःख ल्याउछ । यी सबै पक्षहरुमा पर्याप्त विचार पुर्याए र प्राथमिकतामा राखेर आफूप्रति, परिवार, समाज, राज्य, मानवीयता, प्रकृति तथा जगतप्रति इमान्दार र उत्तरदायि भएर सही प्रकारले शुद्ध धन कमाएर आफ्नो कमाइको केही प्रतिशत सेवा, दान, पुण्यमा खर्चेर आफ्नो आजिविका सम्यक बनाउनु पर्दछ तवमात्र जीवनबाट दुःख निवारण सम्भव हुन्छ । मेरो आजिविका सम्यक छ कि छैन भनेर म आफैंले मेरा हरेक गतिविधिहरुलाई सुक्ष्म रुपले नियालेर पत्ता लगाउन सक्छु । सर्वप्रथम, म मेरो थालको खाना हेरौं, त्यो कसरी मेरो थालसम्म आइपुगेको छ, कतै कसैको दुःख, पिडा, आँशु त म खाइरहेको छैन ? त्यसपछि क्रमशः मेरो पहिरन, मेरा सुख, सुविधाहरु, मेरो कोठा, मेरो घर आदि यी सबै कुराहरु कसरी–कसरी कुन–कुन प्रक्रियाबाट मेरो स्वामित्व तथा भोगसम्म आइपुगेका छन् यस विषयमा चिन्तन, मनन् गरौं र आफ्नो आजिविका सम्यक छैन भने बनाउने कामलाई प्राथमिकता दिउँ र सदाकालागि दुःखबाट निवृत्त बनौं । 


(६)सम्यक व्यायाम अर्थात सही परिश्रम (Right Effort)

हरेक मानिससंग प्राकृतिक रुपमा शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक बल, शक्ति तथा क्षमता उपलव्ध छ । आफ्नो बल, शक्ति तथा क्षमताको सम्यक उपयोग तथा सदुपयोग नगरेर नकारात्मक क्षेत्रमा आफ्नो बल, शक्ति तथा क्षमताको दुरुपयोग गर्नु तथा आफ्नो बल, शक्ति तथा क्षमताको परिश्रम आफू र अरुलाई हानी, नोक्सानी हुनसक्ने क्षेत्रहरुमा खर्च गर्नु जीवनमा दुःख निम्त्याउने प्रमुख कारण हो । म भित्र रहेका मेरा हरप्रकारका बल, ज्ञान, वुद्धि, विवेक, तर्क, प्रतिभा, क्षमता, सिर्जनशीलताहरुको सही उपयोग गरौं, आफू र अरुलाई लाभ प्रदान गर्ने प्रकारका कामहरुमा आफ्नो परिश्रम खर्च गरौं तथा आफ्नो व्यायाम तथा परिश्रमलाई सम्यक बनाउँ जसले मेरो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द प्रदान गरोस् । तृष्णा जनित कामहरुलाई भगवान बुद्धले मार अर्थात शैतान भन्नु भएको छ । तृष्णा(अन्त्यहिन इच्छा) जनित कामहरुले शुरुमा त सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द प्रदान गरेको जस्तो लाग्छ तर यी अनित्य अर्थात क्षणिक हुन्छन् र पछि यस्ता कामहरुले जीवनमा सम्हालिनसक्नुका  दुःखहरु ल्याउछन् र जीवन नै तहसनहस गर्दिन सक्छन् । तसर्थ आफ्नो जीवनशैलीमा सम्यक व्यायाम अर्थात सही परिश्रमका नियमहरुलाई ध्यानपूर्वक चिन्तन्, मनन् गरौं, आफूलाई सही लागेका नियमहरु मात्र व्यवहारिक रुपमा अनुशरण गरौं र जीवनका दुःखहरुबाट निवृत्त बनौं । 


(७)सम्यक स्मृत्ति अर्थात सही विचार (Right Mindfulness)

मानिसका स्मृति अर्थात विचारहरु सबैभन्दा शक्तिशाली र प्रभावकारी हुन्छन् र यीनीहरु नै मानिसको जीवनमा ठूला–ठूला सकारात्मक तथा नकारात्मक परिवर्तनहरु ल्याउन जिम्मेदार हुन्छन् । सम्यक अर्थात सही तथा सकारात्मक विचारका प्रभाव र तीनका परिणामहरुले जीवनलाई सकारात्मक मोड दिन्छन् भने नकारात्मक विचारका प्रभाव र तीनका परिणामहरुले जीवनलाई नकारात्मक मोड दिन्छन् र जीवनमा विविध प्रकारका दुःखहरु ल्याउछन् । विचार शक्ति अत्यन्तै प्रभावशाली हुन्छ र विचारबाट नै मानिसको जीवन बन्दछ, विचार नै उसको आचरण, व्यवहार, कर्म, व्यक्तित्व र भाग्यको मूल श्रोत हो किनकी यी सबै कुराहरु प्रकृयामा आउनुअघि सबैभन्दा पहिला मानिसको मस्तिष्क तथा मनमा यसबारे विचार बन्दछन् तथा तयार हुन्छ र तीनै विचारहरु क्रमशः उसको बोली, व्यवहार, आचरण, कर्म, व्यक्तित्व र भाग्य बन्दछन् । तसर्थ सरल, सहज र सफल जीवनका लागि सम्यक स्मृति अर्थात सही विचार हुनु अति आवश्यक हुन्छ । भगवान बुद्धले भन्नु भएको छ, “त्यस्ता स्मृति तथा विचारहरुलाई मात्र आफ्नो मनमा राख जो सुखदायि छन्, जसले जीवनमा सकारात्मक परिणामहरु ल्याउछन् र त्यस्ता स्मृति तथा विचारहरुलाई पूर्णरुपमा भूल तथा त्याग जो दुःखदायि छन् र जसले जीवनमा नकारात्मक परिणामहरु ल्याउछन् । नराम्रा तथा जीवनमा दुःख ल्याउने प्रकारका स्मृति तथा विचारहरुलाई आफूभित्र तथा आफ्नो मन, विचार, भाव, वुद्धिमा आउनै नदेउ र त्यस्ता विचारहरुलाई भुल तथा आफ्नो मन, मस्तिष्क, हृदयबाट जान देउ(लेट गो), त्याग गर । कस्ता स्मृति तथा विचारहरुले तिमीलाई दुःख दिन्छन् जान र आफ्नो स्मृतिलाई सम्यक बनाउ ।” बौद्ध दर्शनमा कस्ता स्मृति तथा विचारहरुलाई मनमा ल्याउने तथा आउन दिने र कस्ता स्मृतिहरु त्याग्ने भन्ने सन्दर्भमा बुदागत रुपमा बताइएको छ–

(१)मैले यो गरें, त्यो गरें, यति दान गरें, उति पुण्य गरें, यति श्रम गरें, मैले कोहीमाथि यस्तो उपकार गरें भन्ने कर्ता तथा अहंकार भावका साथै त्यसको बापतमा मैले कुनै प्रकारको लाभ पाउनुपर्छ, जस पाउनु पर्छ, मानसम्मान पाउनुपर्छ भन्ने विचार मन तथा भावनामा कहिल्यै आउन नदेउ, बरु यो काम गर्ने अवसर पाएकोमा कृतज्ञ बन अरु र परिस्थितिप्रति र त्यस्ता प्रकारका भावहरुबाट टाढा बस तथा तिनलाई विलकुल मन र भावनाबाट निकाल, भूल तथा त्याग ।

(२)मैले जीवनमा यो गर्न सकिन, त्यो गर्न सकिन, अरुले यति–यति प्रगति गरे, सफलता आर्जन गरे भनेर अरुको प्रगतिमा रिस गर्ने, आफूलाई अरुसंग तुलना गर्दै आफूप्रति हिनभावना नराख र मनमा यस्ता विचारहरु नल्याउ, बरु जीवनमा के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ त्यसप्रति तत्परता तथा जागरुकता देखाउ, अन्तर प्रेरणा जगाउ र व्यावहारमा अनुशरण गरेर परिणाम ल्याएर देखाउ ।

(३)मलाई अर्कोले यसो भन्यो, उसो भन्यो, मेरो नोक्सान गराइदियो, मेरो सम्वन्ध खराव गरिदियो, मलाई यो दिएन, त्यो दिएन, मद्धत गरेन, सम्मान गरेन जस्ता राग, द्वेष, गुनासा, घृणा, वदलाको भाव, असन्तुष्टी ल्याउने भावहरु आफ्नो विचारमा आउन नदेउ तथा त्यस्ता विचारहरु त्याग गरेर तथा भुलेर आफनो स्मृतिलाई सम्यक अर्थात सही तथा मध्यमार्गी बनाउ ।

(४)जसले मलाई सहयोग तथा उपकार गर्यो, आवश्यक परेको समयमा मद्धत गरेर मेरो जीवनलाई सजह बनायो, मलाई प्रेम, सम्मान गर्छ उसलाई कहिल्यै नुभुल, यो तिम्रालागि ऋण समान हो, तिमीले पनि आफ्नो जीवनमा यस्ता राम्रा कार्यहरु व्यवहारिक रुपमा अनुशरण गरेर अरुमाथि यस्तै प्रकारको उपकार गरेर मानवीयताको ऋण चुक्ता गर्नुपर्छ किनकी ऋण कहिल्यै पनि तिर्न बाँकी राख्नु हुदैन, यसले जीवनमा दुःख ल्याउछ चाहे मानवीय होस या धन सापटी होस् । मानवीय ऋण चुक्ता गर्दा यसले हाम्रो मन तथा भावनामा सुख, खुशी, शान्ति, आनन्दको संचार गर्छ र जीवनलाई सुखमय बनाउछ ।



आफ्नो विचारमा पर्याप्त ध्यान पुर्याउँ

मानिसको स्मृति अर्थात विचारहरु दुई प्रकारले उत्पन्न हुन्छन्– (१)ज्ञान इन्द्रियहरुबाट प्राप्त सूचनाबाट, र (२)अवचेतन तथा अचेतन मनमा संचित रहेका विगत तथा भविश्यका स्मृति तथा कल्पनाहरुबाट । अधिकांश(९५ प्रतिशत भन्दा बढि) मानिसहरु विगतका स्मृति र भविश्यका कल्पनाहरुमा डुबिरहेका हुन्छन् हरपल र वर्तमानका गतिविधिहरुमा कमै मानिसहरु सचेत तथा साक्षी(माइन्डफूल)भएका हुन्छन् । कुनै काम गरिरहदा समेत मानिसहरुको मन तथा विचारको होस तथा साक्षी उक्त काममा अर्थात वर्तमानमा नभएर विगत तथा भविश्यका स्मृति तथा कल्पनाहरुमा दौडिरहेको हुन्छ । आधूनिक मनोविज्ञानका खोजहरुले उजागर गरे अनुसार, मानिसका विचारहरु प्राय विगतका नकारात्मक घटना तथा विषयका स्मृतिहरुमा र भविश्यका असुरक्षाका डर तथा भयहरुमा चलिरहेका हुन्छन् जसको प्रत्यक्ष नकारात्मक प्रभाव उसको शरीर, मन, भावना, वुद्धि, विवेक, तर्क, सामथ्र्य, क्षमता, प्रतिभा, शिर्जनसिलता, सकारात्म गुण, स्वास्थ्य, सम्वन्ध, सफलता, सुख, खुशी, शान्ति, आनन्दमा पर्दछ र उसको जीवनमा विविध प्रकारका दुःखहरु आइपर्छन किनकी मानिसको मस्तिष्क तथा मन वास्तविक रुपमा निरन्तर वर्तमानमा चल्ने गर्दछ, यसले तत्काल चलिरहेका विचारहरु विगतका हुन् या भविश्यका हुन भनेर चिन्दैन, मस्तिस्कमा विगत र भविश्य भन्ने खण्ड नै हुदैन, मन तथा मतिष्कमा वर्तमान केवल खण्ड मात्र छ । त्यसैले मन तथा मस्तिष्कले तत्काल चलिरहेका सबै प्रकारका विचारहरु वर्तमानमा चलिरहेको मान्दछन् तथा बुझ्दछ र शरीरलाई त्यही अनुसारका रसायनहरु उत्पन्न गर्न तथा त्यही अनुसारका कार्यहरु गर्न निर्देशन तथा आदेश दिन्छ । नकारात्मक विचारहरुले मानिसको मस्तिष्क तथा शरीरमा शरीरलाई हानी गर्ने नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स्– कोर्टीशोल, एडरनलिन आदि) उत्पन्न गर्दछन् जसले मानिसमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक रोगहरु उत्पन्न गर्दछन् । यसको विपरित हामी विगत र भविश्य विचारहरुलाई छोडेर वर्तमानमा जे भइरहेको छ त्यसमा जागरुक तथा साक्षी भएर होसपूर्वक ती पलहरुमा सुख, खुशी, शान्ति, आनन्दको महसुस गर्छौं भने यस्ता सकारात्मक विचारहरुले मानिसको मस्तिष्क तथा शरीरमा शरीरलाई लाभ गर्ने सकारात्मक रसायनहरु(ह्याप्पि हर्मोन्स्– एन्डोर्फीन, डोपामिन, मेलाटोनिन, सेरोटोनिन आदि) उत्पन्न गर्दछन् र यीनले मानिसको जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द ल्याउछन् ।



विचारका तरंगहरुको प्रभाव

मेरा विचारका तरंगहरुले मलाई त प्रभाव पार्छन नै मेरा वरीपरि रहेका अरु मानिस, जीव, वनस्पति र पदार्थहरुलाई समेत पाँच फीटसम्म नजानिदो किसिमले अदृश्य रुपमा प्रत्यक्ष प्रभाव पार्दछन् र दुरी बढ्दै जाँदा विचारको तोरा(इन्टेनसीटी)को प्रभाव कम हुदै तथा अप्रत्यक्ष हुदै जान्छ । मेरा विचारका तरंगहरुले अरुलाई प्रभाव पारे जत्तिकै मात्रामा अरुका विचारका तरंगहरुको प्रभाव ममा पनि त्यही प्रकारले पर्दछ । आफूले धेरैजसो समय व्यतीत गर्ने स्थान तथा माहोलका अरु मानिसका विचारहरु सकारात्मक छन् भने यसले म लगायत सबैको जीवनमा सकारात्मक प्रभाव र परिणामहरु ल्याउछन् र यसको विपरीत भए नकारात्मक प्रभाव  र परिणामहरु तथा दुःख ल्याउछन् । ब्रम्हाण्डको आकर्षणको नियम(ल अफ अट्रयाक्सन)को ‘समले समलाई आकर्षित गर्छ’ भन्ने सिद्धान्त अनुसार मेरो मनबाट जस्ता प्रकारका विचारका तरंगहरु वाहिर ब्रम्हाण्डमा गैरहेका छन् अरुको मनबाट निस्केका त्यस्तै प्रकारका विचारका तरंगहरु मेरो विचारका तरंगहरुसंग आकर्षित भएर मेरा विचाहरुसंग एकाकार हुन्छन् र मेरो जीवनमा ती विचारहरुको प्रभाव बढ्दै जान्छ । मैले सकारात्मक विचार गरेको छु भने मेरो वरीपरिको तथा ब्रम्हाण्डको वातावरणबाट सकारात्मक प्रकारकै विचारका तरंगहरु मतिर आकर्षित भएर मेरो विचारमा थप सकारात्मक बल प्रदान गर्दछन् र मेरो जीवनमा सकारात्मक प्रभाव तथा परिणामहरु ल्याउछन् तथा मेरो जीवन सफलता उन्मुख गराउछन् । यसको विपरीत मैले नकारात्मक विचार गरेकोछु भने मेरो जीवनमा त्यही अनुसारका नकारात्मक प्रभाव तथा परिणामहरु ल्याउछन् र मेरो जीवनलाई असफलता तथा वरवादी उन्मुख गराउछन् । तसर्थ आफ्ना स्मृति अर्थात विचारहरुलाई हरहालमा सम्यक अर्थात सही तथा सकारात्मक बनाउँ । लोकप्रिय दार्शनिक स्वर्गिय हिम्मत सिन्हा भन्नुहुन्छ, "Low Thoughts means Lowering the Standard of Life अर्थात निकृष्ट विचार गर्नु तथा राख्नु भनेको आफ्नो जीवनको उच्चता, सम्भावना, सफलतालाई गिराउनु हो ।" जसका विचारहरु निकृष्ट तथा न्यून प्रकारका हुन्छन् उसको जीवनका हरेक पक्षहरु निकृष्ट हुन्छन् तथा हुदै जान्छन्, जीवनमा केहीपनि राम्रो काम तथा सफलता हासिल गर्न सक्दैन । जसको दृष्टि, संकल्प, वाणी, कर्म, आजिविका, परिश्रम सम्यक अर्थात सही हुुन्छ उसको विचार स्वतः सही हुन्छ तथा हुदैजान्छ र उसको जीवन पनि सरल, सहज र सफल बन्छ ।


(८)सम्यक समाधि अर्थात सही एकाग्रता (Right Concentration)

बौद्ध दर्शन अनुसार समाधिको अर्थ एकाग्रता हो । निरन्तर मेरो मन, विचार, भाव सकारात्मक विषयहरु (राम्रा विचार, गुरु तथा आराध्यको छवि तथा मन्त्रहरु, आफ्नो शरीरका वाहिय तथा आन्तरीक अंग तथा अंगका गतिविधिहरु, आफनो श्वास–प्रश्वास आदि)मा एकाग्र होस्, यही नै हो सम्यक समाधि अर्थात सही एकाग्रता तथा वास्तविक ध्यान साधना हो । बौद्ध दर्शनमा दुइ प्रकारका समाधि बताइएको छ– (१)स्थिर समाधि, र (२)चल समाधि । ध्यान साधनाको गहिराइमा विचार शुन्य हुनु, कैबल्य प्राप्त हुनु, परमानन्दको अनुभूति हुनु, अलौकिक तथा दिव्य अवस्था घटित हुनु स्थिर समाधि हो । आफूले ध्यान साधनाको माध्यमबाट जीवनमा हासिल गरेको ज्ञान, महाज्ञान तथा प्रज्ञाको माध्यमबाट लोक कल्याणको काम गर्नु; अरुको भलाइ हुने सर्बकल्णका कामहरु गरेर अरुको जीवन सहज बनाउनु चल समाधि हो । अरुको भलाइ हुने सर्बकल्णका कर्महरुले जीवनमा निस्काम तथा अकर्ता भाव जन्माउछन् र जीवनमा अकारण सुख, खुशी, समृद्धि, शान्ति, आनन्दको अवस्था घटित गराउछन् । चल समाधि नै सम्यक समाधि अर्थात सही एकाग्रता हो । 


आफूले कैबल्य तथा परमानन्द हासिल गरेपछि शरीरमा रहुन्जेल भगवान बुद्धले हजारौं सर्वकल्याणका कार्यहरु गर्नुभयो, जीवनभरि अरुको भलाइकालागि दौडधुप गर्नुभयो र सबैलाई यही ज्ञान बाडेर शरीर छोडेपनि आफ्नो नाम र महान काम छोडेर जानुभयो र मानवीयताको आकाशमा सदा अमर रहनुभयो ।  हजारौं वर्षपछिसम्म पनि वहाँले दिएर जानुभएको दर्शन, आदर्श, ज्ञान, विज्ञान, महाज्ञान, प्रज्ञा उत्तिकै सान्दर्भिक हुदै आइरहेको छ । विश्व शान्तिका अग्रदूत, महान आध्यात्मिक अभियन्ता, एशियाका तारा, युग पुरुष, अवतार पुरुष भगवान बुद्धका दर्शनहरुलाई जीवनमा अनुशरण गरौं र अष्टांगीक मार्गको अनुशरण गर्दै जीवनलाई नै पूर्णरुपमा सम्यक बनाउँ तथा सही मार्गमा लगाएर जीवनका सबै प्रकारका दुःखहरुबाट निवृत्त बनौं । ॐ नमो बुद्धाय ।। बुद्धं शरणं गच्छामि ! धम्मं शरणं गच्छामि !! संघं शरणं गच्छामि !!!


अन्त्यमा
यदि जीवनमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्मान्त, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि छ भने वास्तविक स्वर्ग पनि त्यहीं छ किनकी स्वर्ग अन्त कतै अर्को भूगोलमा छैन, मरेर कोही फर्केर आएको छैन स्वर्गको बयान गर्न, स्वर्ग हाम्रो आफ्नै सम्यक अर्थात मध्यमार्गी जीवनशैलीमा छ जो हामी आफैंले कमाउनु पर्छ । सम्यक जीवनशैली अपनाउन सक्षम गराउने हरप्रकारका सक्षमताहरु हामी भित्रै निहित छन् । जीवनमा स्वस्थ रहन सक्ने; खुशी रहन सक्ने; उर्जावान रहन र सफल बन्न सक्ने; प्रेमल रहन र सम्वन्धहरु सुमधूर बनाउन सक्ने; ज्ञानवान, वुद्धिमान, विवेकवान, तर्कवान रहन सक्ने; अन्तरज्ञान तथा ब्रम्ह ज्ञान हाासिल गरेर निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन सक्ने सबै समान्यदेखि अद्वीतिय दिव्य क्षमताहरु हामीभित्रै हाम्रो सुक्ष्म शरीरमा सुसुप्त अवस्थामा रहेका छन् । हरेक मानिसले आ-आफ्नो जीवनमा यी क्षमताहरुको जागरण गर्नु आवश्यक हुन्छ र ध्यान योग साधनाका विधिहरुबाट हामी भित्रै सुसुप्त अवस्थामा रहेका यी क्षमताहरु जागृत गरेर सदाकालागि जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्दको प्राप्ति र सबै प्रकारका दुःखहरुबाट निवृति पाउन सकिन्छ । bsirjana@gmail.com

छिट्टै,
बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामिको शाव्दिक अर्थ