आध्यात्मिक जीवन
ध्यान साधना र चेतनाको यात्रामा स्वअनुभव
ध्यान साधना प्रारम्भ
म(पंक्तिकार सिर्जना भण्डारी) नेपाल वाहिर अरेबीयन मुलुक साउदी अरबमा रहेको समयमा सन् २०११ मा मेरो शरीरको रसायनमा केही असन्तुलन(हर्मोनल डिसअडर) देखिएपछि यसको प्रभावले अनायासै मानसिक बेचैनी बढ्यो, म अशान्त र सुस्त रहन थालें । आधूनिक चिकित्सा विज्ञानका फिजिसियन डाक्टर(इजिप्टका)कहाँ जाँचपड्ताल गराउदा वहाँले शरीरको रसायन असन्तुलन भएको रहेछ भन्नुभयो र रसायन सन्तुलन गर्ने औषधि लेख्दै ध्यान गर्नु, ध्यानले मानसिक स्थिरता र शान्ति आउँछ भन्ने सल्लाह दिनुभयो । यसलगतै मैल युट्युबबाट आधा घण्टाको चक्र साधनाको “लं, वं, रं, यं, हं, अं, ॐ” वीज मन्त्र डाउनलोड गरेर हरेक विहान चक्र ध्यान साधना प्रारम्भ गरें । ध्यान साधना प्रारम्भ गरेको चौथो दिनबाट नै मलाई पराभौतिक(मेटाफिजिक्स) जगतका अलौकिक दिव्य अनुभूतिहरु हुन शुरु भए र विस्तारै स्वास्थ्य समस्या पनि ठिक भयो, म एकदम तरोताजा र उर्जावान भएं पहिला भन्दा । ध्यान साधनालाई निरन्तरता दिदै जादा अनुभवमा आएका अलौकिक, दिव्य तथा भावातीत अनुभूतिहरुबारे खोज गर्दै गएं, परालौकिक तथा सुक्ष्म जगतबारे जान्दै गएं, शान्ति र आनन्दमा प्रवेश गर्दै गएं । ध्यान साधनामा आफूले गरेका अलौकिक, दिव्य तथा भावातीत अनुभूतिहरुमा म विज्ञानवादी ध्यान साधकलाई सबैभन्दा आश्चर्य लागेको विषय चाहिं समाजमा सुन्दै आएका अपत्यार लाग्ने पराभौतिक संसारमा रहेका सकारात्मक र नकारात्मक दुवै प्रकारका अदृश्य शक्तिहरु(आत्मा अर्थात उर्जा अर्थात चेतना)हरुको सुक्ष्म आवाज सुन्न सक्नु, उनीहरुसंग दोहोरो संवाद गर्न सक्नु र मेरो बारेमा कसकसले कहाँकहाँबाट केके भनेका छन्, केके गरेका छन् त्यसको सन्देश हुबहु मसम्म आइपुग्नु रह्यो । केही नकारात्मक चेतनाहरुले दुःख दिन्थे भने केही सकारात्मक चेतनाहरुले मलाई ध्यान साधनामा अगाडि बढाउन निकै सहयोग पनि गरे । ध्यान साधना, ध्यान साधनाका क्रममा हुने यी अलौकिक, दिव्य तथा भावातीत अनुभूतिहरु र विद्यावारिधीको(पिएच.डी) अध्ययन कार्य एकसाथ अगाडि बढिरह्यो । सन् २०१७ मे मा महिला सशक्तिकरण विषयमा त्रिभुवन विश्वविद्यालयबाट मैले विद्यावारिधी अध्ययन पूरा गरें र चीनको बेजिगं गएं परराष्ट्रको दूतावास पोस्टिगंमा, साढे दुईवर्ष उतै बसें र आफ्नो लेखपढको काम संगसंगै ध्यान साधना जारी राखें ।
बि.सं. २०७८ साल पौष १५ र १६ गते
११ वर्षदेखि निरन्तरता दिरहेको ध्यान साधनाले उल्लेख्य अलौकिक मोड बि.सं. २०७८ साल पौष १५ गते राति लियो । मलाई भगवान शिवले मध्यराति साढे एक बजेपछि योग निद्रा ध्यानको गहिराइ(ट्रान्स)मा मेरो आज्ञा चक्रमा लगातार पाँच पटक शक्तिपात गर्नुभयो । पौष १६ गते विहान पाँच बजे म पूर्णरुपमा विउझने वित्तिकै तर आँखा बन्द रहेको अवस्थामा मेरो आज्ञा चक्रबाट चम्किला तीनवटा प्रकाशका किरणहरु एकसाथ निस्किएर सयन कक्षमा छरिए र मलाई रातभरी शक्तिपात गरिएका सबै गतिविधि र भगवान शिवको निलो छवि सबैकुराहरु स्मृतिमा आए । यसअघि पनि हरेक ध्यान साधनामा भगवान शिवले मलाई विभिन्न किसिमले दर्शन दिरहनु हुन्थ्यो र अफैंले ध्यान गराउनुहुन्थ्यो घरि समुद्रको पानीमूनि, घरी वहाँको काखमा, घरी वहाँको नाभीमा राखेर । भगवान शिवको घरी सामान्य सानो जिवित शरीर देखिन्थ्यो घरी अजंगको विशाल निलो सुगठित शरीर देखिन्थ्यो, वहाँको काख र नाभीमा राखेर ध्यान गराउदा वहाँको शरीर विशाल देखिन्थ्यो । ध्यान साधनाको गहिराईमा मैले विश्वभरिका हजारौं शिवलिंग र भगवान शिवका मठ–मन्दिरहरु देखें ।
बि.सं. २०७८ साल माघ २० गते
निरन्तरता दिरहेको ध्यान साधनाले अर्को उल्लेख्य अलौकिक मोड बि.सं. २०७८ साल माघ २० गते विहान ब्रम्हमुहुर्तको समयमा लियो । पेप्सीकोला टाउनप्लानिगं, काठमाडौंको घर, तेस्रो तलामा विहान चार बजे उठेर नित्य कर्मपछि म उत्तर दिशा कैलाश पर्वततिर फर्केर ध्यान साधनामा बसें । यतिबेलासम्म मेरो चेतनाको साक्षातकार दृष्य र अनुभूतिका रुपमा पराभौतिक संसारमा रहनु भएका भगवान, देवी देवता, ऋषि, योगी, सन्त, महात्मा, सदगुरुसंग र केही सामान्य चेतना(सकारात्मक र नकारात्मक दुवै)हरुसंग मात्र भएको थियो तर यसदिन पहिलो पटक भौतिक संसारमा शरीरमा रहनु भएका योगी तथा चैतन्य पुरुषको चेतनासंग मेरो चेतनाको साक्षातकार भयो ध्यान साधनामा, बन्द आँखामा स्पष्ट चिन्न सकिने गरि वहाँको उज्यालो छवि हुबहु मेरो सामुन्नेमा आयो । रातो पहिरनमा मेरो सामुन्ने शशरीर उभिएको अवस्थामा शिरदेखि कम्मरसम्म देखिनेगरि उपस्थित हुने प्रकाशित चेतना थियो वर्तमानमा नेपाली समाजका प्रतिष्ठित छवि, लोकप्रिय आध्यात्मिक अभियन्ता तथा सदगुरु श्रद्धेय एल.पि. भानु शर्माज्यूको । तर विडम्वना म वहाँ र वहाँको संस्था जीवन विज्ञान प्रतिष्ठानलाई विलकुल चिन्दिनथें त्यतिबेलासम्म । मैले न वहाँको नाम सुनेको थिएं, न वहाँलाई चिनेको तथा देखेको थिएं, न वहाँको संस्थाको नाम तथा संस्थाको बारेमा सुनेको थिएं । केवल युट्युव भिडियोको थमनेलमा वहाँको छवि र नाममात्र देखेको तथा पढेको थिएं तर युट्युवमा मैले वहाँको भिडियो खोलेको तथा सुनेको पनि थिइन किनकी म ओशो लगायत अन्य सतचितआनन्दमा स्थित भैसक्नु भएका सदगुरुहरुलाई सुन्थें र मैले सुनेका विषयसंग सम्वन्धित भिडियोहरुको लिस्टमा भानु गुरु र रमेश गुरुका भिडियोहरु देखिन्थे तर म खोल्दिनथें वहाँहरुकोबारे केही पनि ज्ञानकारी नभएको कारण । भानुगुरु को हो, के हो, के गर्नुहुन्छ केही पनि थाहा थिएन मलाई । मेरो सन्दर्भमा यसो हुनु स्वाभाविक पनि थियो किनकी मेरो श्रीमान हरिश्चन्द्र घिमिरे(हाल म्यानमारका लागि नेपाली राजदूत, चारवर्षे कार्यकाल, साढेदुई वर्ष पूराभयो) परराष्ट्र मन्त्रालयको निजामति कर्मचारी हुनु भएकोकारण हामी नेपालमा कमै बस्थ्यौं । अर्को कारण म श्रद्धेय ओशो रजनीशको प्रत्यक्ष अनुयायी नभएपनि वहाँका आध्यात्मिक आख्यान, व्याख्यान तथा साहित्यहरुको फ्यान थिएं र हुँ त्यसैले वहाँलाई नै धेरै सुन्थें तथा पढ्थें । मैले श्रद्धेय ओशोलाई ज्ञान साधनाको पथप्रदर्शक र भगवान शिवलाई ध्यान साधनाको मार्गनिर्देशक तथा सदगुरुको रुपमा पुजेको थिएं र पुजिरहेको छु किनकी म सानैदेखि नै शिवभक्त थिएं र हुँ, मलाई सानैदेखि शिवशक्ति प्रभुको असीम कृपा तथा आशिर्वाद रहदै आएको छ । बुवा–आमाले भन्नुभए अनुसार मलाई भगवान शिवको पूजा अनुष्ठान गरेर स्त्री बच्चा नै प्राप्त होस् भनेर मागिएको थियो रे काशीधाम भाकेर र म एकवर्ष नपुग्दै मलाई लिएर बुवा–आमा काशी स्नान गर्न जानुभएको थियो रे, बुवा स्वयं भगवान शिवको भक्त हुनुहुन्छ ।
माघ २० गते आध्यात्मिक अभियन्ता सदगुरु श्रद्धेय एल.पि. भानु शर्माज्यूको चेतनासंग मेरो चेतनाको साक्षातकार भएपछि मेरो मनमा उत्सुकता जाग्यो, ध्यानको गहिराई(समाधि तथा ट्रान्स)मा भगवान, देवी, देवताहरुलाई देखिरहने ठाउँमा मैले यो भौतिक संसारमा शरीरमा रहेको को मान्छे देखें होला भनेर र सोहीदिन गुगलमा खोजें वहाँको नाम हालेर, वहाँको संस्था जीवन विज्ञान प्रतिष्ठानको वेवसाइट मार्फत वहाँकोबारे थोरै जानें र थप जानकारी लिने उद्देश्यले पूर्व जानकारी दिएर माघ २७ गते तीन बजे दिउसो मेरो श्रीमान र म वहाँको चावहील स्थित जीवन विज्ञान संस्था पुग्यौं र भेट्यौं । वहाँलाई भेटेपछि विस्तृतमा थाहा भयो वहाँ ध्यान साधना सिकाउने समाजमा स्थापित अध्यात्म गुरु तथा सदगुरु हुनुहुदोरहेछ र विगत ११ वर्षदेखि वहाँ र वहाँको सहकर्मी सदगुरु श्रद्धेय रमेश नेपालज्यू औपचारीक रुपमा संस्था खोलेर अध्यात्म र अध्यात्म अनुरागीहरुलाई सेवा प्रदान गरिरहनु भएको रहेछ । मेरो ध्यान साधनाको अनुभव साझा गर्दै भनें, " मैले हजूरलाई मेरो ध्यान साधनामा देखें त्यसैले म हजूरलाई भेट्न आएको हुँ, हजूरलाई ध्यानमा किन देखें भनेर जान्ने उत्सुकता मेटाउन र हजूर को हुनुहुन्छ भनेर जान्नकालागि ।" हाम्रो दोहोरो कुराकानी पश्चात भानुगुरुले शालिन भावमा भन्नु भयो, “तपाईं सही ठाउँमा आइपुग्नु भएको छ सिर्जनाजी, समय मिल्छ भने हाम्रो संस्थाका कोर्शहरुमा सहभागी हुनुस् तपाईंको ध्यान साधनामा थप सहयोग मिल्नेछ, ध्यान साधना गर्ने व्यक्तिसंग परमात्मा खुशी भयो भने साधकको साधनाको विकासकोलागि उसलाई सदगुरु कहाँ पठाउँछ, तपाईंलाई त्यही भएको हो ।” पेशागत रुपमा म अन्वेषक तथा लेखक हुँ, कोभिड महामारीको कारण मेरो अन्वेषण तथा लेखनका सबै कार्यहरु बन्द भएका थिए । मसंग समय पर्याप्त भएकोले म लगातार एक–एक हप्ताका जीवन विज्ञानका सातवटा कोर्शहरु(चक्र विज्ञान, ऐश्वर्य विज्ञान, वोध विज्ञान, लय विज्ञान, प्रशिक्षक प्रशिक्षण, सत विज्ञान, मौन विज्ञान, फेरी सत विज्ञान)मा सहभागि भएं उत्साहकासाथ । यी कोर्शहरुमा समावेश गरिएका आध्यात्म विज्ञान, धर्मविज्ञान, मनोविज्ञान, भौतिक विज्ञान तथा व्यवहार विज्ञानका विषयहरुले मेरो ध्यान साधनाको प्रगतिमा ठूलो सहयोग मिल्यो । जीवन विज्ञानका कोर्शहरु लिरहदा पनि ध्यान साधनामा मैले भानु गुरुलाई बारबार देखिरहें र ध्यानमै वहाँसंग साक्षातकार र संवाद पनि हुन्थ्यो र केही भविश्यका अनुभूतिहरु पनि भएका थिए, ती सबै सत्य भए । समय–समयमा यी कुराहरु मैले भानु गुरुसंग साझा गरेको पनि थिएं मलाई यस्ता-यस्ता प्रकारका अनुभवहरु भैरहेका छन् भनेर । यसक्रममा क्रमशः ध्यान साधनामा भानु गुरुका साथसाथ शरीरमा रहनु भएका र शरीर छोडिसक्नु भएका अरु योगी, सन्त, महात्माका चेतनाहरुसंग पनि मेरो चेतनाको साक्षातकार हुदै गयो । वर्तमान समयमा हाम्रो माझमा रहनु भएका लोकप्रिय गुरु श्रद्धेय योगी विकासानन्दज्यू र गुरु श्रद्धेय राजकुमार प्याकुरेलज्यूको चेतनासंग पनि मेरो चेतनाको साक्षातकार भयो । मैले मेरा यस्ता अलौकिक केही अनुभवहरु भानु गुरु र रमेश गुरुलाई बेलाबेलामा अध्यात्म प्रशिक्षण कक्षामै सुनाउथें पनि ।
लय विज्ञान पूरा गरेपछि मैले एकदिन भानु गुरुलाई व्यक्तिगत रुपमा प्रत्यक्ष भेटें र आफ्नो जिज्ञासा राखें, “मैले मेरो ध्यान साधनामा सर्वप्रथम भौतिक संसारमा शरीरमा रहनु भएको योगी तथा चैतन्य पुरुष(चेतना) हजूरलाई देखें तर हजूरलाई मैले चिनेको, देखेको थिइन, हजूरको नाम नै सुनेको थिइन र निरन्तर अरु पनि नचिनेका र नदेखेका दिव्य, योगी चेतनाहरुलाई देखिरहेको छु तर सबैभन्दा बढि हजूरलाई देखें, अझैपनि देखिरहेको छु र हजूरको चेतनासंग मेरो चेतनाको निरन्तर साक्षातकार र संवाद पनि भैरहेको छ, यो के हो र किन होला !?” भानु गुरुले भन्नु भयो, “तपाईंमा अध्यात्मको गहिरो प्यास छ, मोक्षको मुमुक्षा तिब्र छ, तपाईले अध्यात्ममा छिटो र राम्रो प्रगति गर्नुहुनेछ र अर्को अझ महत्वपूर्ण खुलासा पनि गर्नुभयो, तपाईं र म अघिल्ला जन्महरुमा एकसाथ थियौं, संगै साधना र सामाजिक गतिविधिहरु गरेका थियौं र अव यो जन्ममा पनि फेरी हामी एकसाथ भयौं ।” वहाँका कुरा सुनें, ए... हो र ! भनें तर अनौठो मानिन किनकी मैले चिनेका तथा नचिनेका अरु दिव्य चेतनाहरुलाई पनि लगातार देखिरहेको थिएं र वहाँहरुसंग साक्षारकार पनि भैरहेको थियो मेरो ध्यान साधनामा । मैले अध्यात्म विज्ञानको यस सन्दर्भमा थप खोज गरें, यस सन्दर्भमा श्रद्धेय ओशो रजनीशले भन्नु भएको रहेछ, “मानिसको चेतनाको विकास भएको छ भने पूर्वजन्मका आफ्ना हितैसी तथा सहयात्रीहरुलाई वर्तमान जन्ममा चिन्न र फेरीपनि एकसाथ सहकार्य गर्न सकिन्छ र मैले पनि गरेको छु । मेरी पूर्वजन्मकी प्रेमिकाले मेरो जीवनको अन्तिम घडीमा मलाई चिनिन्, जर्मनमा जन्मेकी जर्मनी नागरीक उनी भारत आइन र केही समय हामीले एकसाथ बितायौं तर मेरो शरीरको अन्तिम समय नजिक आइसकेको थियो, अघिल्लो जन्ममा उनले मलाई एक्लो पारेकी थिइन शरीर छोडेर, यो जन्ममा मैले उनलाई एक्लो पार्दैछु शरीर छोडेर, मेरो मृत्यु नजिक छ, शरीर छुट्दै छ मबाट। परमात्माले यस्ता उच्च चेतना भएका व्यक्तिहरुलाई ध्यानको गहिराइमा अघिल्ला जन्मका आफ्ना हितैसी तथा सहयात्रीका चेतनाहरुसंग अर्कोको चेतनाको साक्षातकार र संवाद गराइदिनु हुन्छ ।” मलाई पनि ओशोले भन्नु भए जस्तै भयो, परमात्माको कृपा प्राप्त भयो, ध्यान साधनामा मैले भानु गुरुलाई बारबार देखें र अहिले पनि देखिरहन्छु, हामी चेतनाको यात्रामा सहयात्रीका रुपमा एकसाथ रहेछौं पूर्वजन्महरुमा र यो जन्ममा फेरीपनि एकसाथ अगाडी बढिरहेका छौं चेतनाकै तहमा भौतिक रुपमा भौगोलीक तथा सामाजिक दुरी भएपनि चेतना एकसाथ अघि बढिरहेको छ ।
बि.सं. २०७९ साल जेठ ४ देखि १० गते
निरन्तरता दिरहेको ध्यान साधनामा अर्को उल्लेख्य अलौकिक मोड बि.सं. २०७९ साल जेठ ४ देखि २० गते सम्म जीवन विज्ञानमा सहभागि भएको मौन साधनामा देखियो । त्यसबेला भानु गुरुदेव नेपालमा हुनुहुन्नथ्यो, जीवन विज्ञानका कार्यक्रमहरु लिएर अमेरीका जानु भएको थियो र मौन साधना रमेश गुरुदेवले गराइरहनु भएको थियो । मौन साधना प्रारम्भ भएको भोलिपल्टदेखि नै मलाई सिनेमाको पर्दामा जसरी पूर्वजन्मका राम्रा र नराम्रा दुवै प्रकारका स्मृतिहरु फरर एकपछि अर्को गर्दै आउन थाले, म ती स्मृतिहरुमा एकाकार भएं र संगसंगै बोल्न, हाँस्न, रुन, कराउन चिच्याउन थालें । सबै गरेर ३४ जना सहभागि भएको मौन साधनाभरि मैले अरु साधकज्यूहरुको मौन साधनामा बाधा पुर्याएं र मौन साधनाको अन्तिम दिन सबै समक्ष यसकालागि वहाँहरुसंग क्षमा मागें र भनें ती सबै गतिविधहरु हुनुमा परमात्मा तथा प्रकृतिको भूमिका थियो, मेरो नियन्त्रणमा केहीपनि थिएन, मैले चाहेर पनि आफूलाई रोक्न सकिरहेको थिइन । मौन साधनामा धेरै घटना तथा विषयहरु देखें र अर्को आश्चर्य यहाँपनि मैले फेरी पूर्वजन्ममा भएका भानु गुरुदेवसंगकै सहयात्रा र एकसाथ गरिएका आध्यात्मिक तथा अन्य सामाजिक गतिविधिहरु नै ज्यादा देखें । मौन साधनाभरि बोल्ने अनुमति थिएन त्यसैले मैले शुरुमा कपिमा लेखेर जिज्ञासा राखें रमेश गुरुदेव समक्ष र पछि मौन साधना सकिएपछि सोहीदिन वहाँलाई व्यक्तिगत रुपमा प्रत्यक्ष भेटेर आफूले मौन साधनाभरि देखेका र अनुभव तथा अनुभूति गरेका विषयबारे फेरी जिज्ञासा राखें, “मौन साधनामा मैले जे-जे देखें त्यो सब के थियो र किन थियो !?” रमेश गुरुले भन्नु भयो, “ध्यान साधनाको गहिराइमा यस्ता अनुभवहरु धेरैलाई हुन्छन्, यी सामान्य कुरा हुन्, तपाईंले आफ्नो पूर्वजन्मका स्मृतिहरु देख्नु भयो, ती सबै सही हुन्, अव हलुका हुनुभयो, कर्मबन्धनहरु कम भए, एकदम राम्रो भयो तर अव ती सबै स्मृतिहरुलाई छोडेर अझ अगाडि बड्नुस्, नरोकिनुस, पूर्व जन्ममा जेजे थियो त्यो विगत हो, सकिइसक्यो, बितिसकेका कुराहरु हुन्, अव आगत तथा वर्तमान जीवनमा आफ्नो मन तथा ध्यानलाई केन्द्रित गर्नुस्, तपाईं अध्यात्म साधनाको सकारात्मक बाटोमा हुनुहुन्छ, ध्यान साधनालाई निरन्तर जारी राख्नुस् ।”
यसपछि मलाई बि.सं. २०८० साल असार २३ गतेसम्म(म्यानमारमा) ध्यान साधनामा लगातार आफ्नै पूर्वजन्मका सयौं दुःख र सुखका स्मृतिहरु आइराखे, ममा जीवन विज्ञानमा मौन साधना लिएको समयमा भए जस्तैगरि सोही प्रकारले हाँस्ने, रुने, चिच्याउने, बोल्ने गतिविधिहरु चलिरहे, विस्तारै परिवारका सदस्य र म स्वयं बानी पर्दै गयौं यस्तै रहेछ, चलिरहोस भनेर किनकी मैले यस विषयसंग सम्वन्धित खोजहरुमा पनि अध्यात्मको यात्रामा कर्मबन्धनहरु सफा हुने तथा जल्ने क्रममा यस्तै हुन्छ भन्ने थुप्रै तथ्यहरु पढेको तथा पाएको थिएं । मेरा पुर्वजन्महरुमा म के–के रहेछु, मैले के–के गरेको रहेछु, कहाँ–कहाँ जन्मिएछु, कसरी–कसरी मरेको रहेछु, कस्ता–कस्ता दुःख र खुशीहरु अनुभव गरेको रहेछु आदि धेरै कुराहरु स्मृतिमा आए, आफ्ना विगतका जन्महरुको बारेमा धेरै कुरा जानें मैले । मेरो प्रेम, साहस, डर, घृणा, रोग तथा फोबियाका कारणहरु पनि पत्ता लगाएं म स्वयंले ।
बि.सं. २०८० साल असार २४ गते
निरन्तरता दिरहेको ध्यान साधनामा अर्को सबैभन्दा उल्लेख्य अलौकिक दिव्य मोड बि.सं. २०८० साल असार २४ गते देखियो । यांगौन, म्यानमारमा असार २४ गते साढे तीनबजे दिउँसो, आफ्नो सयन कक्षमा म कविता लेख्दै थिएं कपिमा शिशाकलमले, लेख्दालेख्दै अचानक मेरो शरीरमा भित्रबाट ठूलो धक्का महसुस भयो र मेरो शरीर बेस्सरी काम्यो, हात, गोडा र शरीरमा एकप्रकारको दिव्य उर्जाको बल प्रवेश गरेको अनुभव भयो, आँखा बन्द भए, हातमा मुद्राहरु बने र गोडामा आसनहरु लागे, शरीरभरि कुण्डलिनी उर्जा चल्यो । तुरुन्तै मभित्रबाट एउटा दिव्य शक्ति मेरो आवाजमा बोल्यो, “म आदि शक्ति हुँ । केहीबेर आदि शक्ति माताले मेरो माध्यमबाट कैलाश पर्वतमा रहनु भएका भगवान शिवसंग केही दिव्य संवाद गर्नुभयो १०–१५ मिनेट मेरो साधनाको सन्दर्भमा(यो विषय यहाँ उल्लेख गर्न अनुमति छैन, क्षमा चाहान्छु) र यसपछि आदि शक्ति माताले “मलाई पूजा कक्षमा लैजा” भन्नुभयो । श्रीमानले मेरो कामीरहेको शरीरलाई हतेरेर पूजा कक्षमा पुर्याएर ध्यान आसनमा बसाइ दिनुभयो, आँखा खुलेनन्, म पूजा कक्षको आसनमा ध्यान साधनामा बसें, आदि शक्ति माताले म भित्रबाट निर्देशन दिनुभयो र भन्नुभयो, “पुरै सेतो बस्त्र धारण गर, समाधिमा बस, भगवान शिवको आराधना गर, मौन बस र फलाहार मात्र ग्रहण गर ।” मैले आदि शक्ति माताको निर्देशन अनुसार नै सबै हुबहु अनुशरण गरें । पूजा कक्षमा बसें २४ सै घण्टा, २४ घण्टामा ८–९ घण्टा गहिरो ध्यान तथा समाधि लाग्थ्यो र विभिन्न प्रकारका अलौकिक, दिव्य तथा भावातीत अनुभूतिहरु हुन्थे । बाँकी समय घरमै हिडडुल गर्थें, प्रभुहरुको भक्तिगान सुन्थें, किर्तन गर्थें भक्ति र व्यायामका लागि, केही लेखपढ गर्थें, ध्यान साधना र साधनाका क्रममा भएका अनुभवहरुको बारेमा यस सम्वन्धि आफूलाई चाहिएका तथा रुचि भएका विषयहरुको खोज गर्थें । एक हप्तापछि फेरी आदि शक्ति माताले म भित्रबाट भन्नुभयो, “अव पूरै रातो बस्त्र धारण गर”, मैले त्यसै गरें एकहप्ता र यसपछि सामान्य रंगका पहिरनहरु धारण गरें । ध्यान तथा समाधि साधनाको २१ दिनसम्म लौकाको सुप र फलफूल मात्र खाएं र २२ औं दिनबाट एकछाक भात खान शुरु गरें । मलाई दाल, भात, तरकारी अत्यन्तै मनपर्ने भएपनि साधनाको समयमा २१ दिनसम्म मलाई दाल, भात, तरकारी तथा कुनैपनि अन्नको तिर्शना नै भएन, यादै आएन, खाउँ–खाउँ नै भएन, जतिबेला पनि तृप्त भएको तथा अघाएको जस्तो भैरहेको हुन्थ्यो, भोक लाग्दैनथ्यो । २१ दिनसम्म फलाहार मात्र गर्दा पनि म तरोताजा र अझ उर्जावान भएको थिएं, अन्तै कतैबाट परालौकिक किसिमले मेरो शरीरका खानपान तथा पोषणका आवश्यकताहरु पूरा भैरहेका थिए । यो पहिलो मौन साधना चार महिना पुग्न दुई दिन कमसम्म चल्यो, कात्तिक २० गते विहान नित्य पूजाको समयमा आदि शक्ति माताले “मौन साधना छोड अव यो पटकको साधना पूरा भयो” भन्नुभयो र म बोल्न थालें पहिला जस्तै सामान्य किसिमले । ध्यान तथा समाधि साधनाको २१ दिनपछि शरीरको होलबडी जाँच र मस्तिष्कको इइजी जाँच गराएं, रिपोर्टहरु सबै सामान्य आए । यसपछि पनि मौन साधना चलिरह्यो, ध्यान तथा समाधि लागिरह्यो र समाधिका क्रममा धेरै अलौकिक दिव्य भावातीत अनुभूतिहरु भैरहे । यतिबेला जीवन विज्ञानका सदगुरु द्वय लण्डन, बेलायतमा जीवन विज्ञानका कार्यक्रमहरु लिएर जानु भएको थियो । मैले समाधि प्रारम्भ गरेको र मेरो मौन साधना स्वतःस्फू्र्त प्रारम्भ भएको कुरा मेरो श्रीमानले लण्डनमा रहनु भएका गुरुदेव द्वयलाई मेसेज लेखेर अवगत गराउनु भएको थियो र भानु गुरुदेवले अत्यन्तै सकारात्मक कुरा, सिर्जनालाई शुभकामना छ, हलुका तथा सात्विक खाना मात्र खान दिनुहोला भनेर बधाई तथा शुभकामना सन्देश पठाउनु भएको थियो फेसबुकको मेसेन्जरमा । वहाँ वेलायतमा भएको भएपनि र म म्यानमारमा भएको भएपनि ध्यान साधनामा वहाँको चेतना र मेरो चेतनाको साक्षातकार र संवाद भैरहेको थियो ।
बि.सं. २०८० कात्तिक १२ गते
निरन्तरता दिरहेको ध्यान तथा समाधि साधनामा अर्को अझ उल्लेख्य अलौकिक दिव्य मोड बि.सं. २०८० साल कात्तिक १२ गते देखियो । कात्तिक १२ गते दिउँसो समाधिको अवस्थामा ब्रम्हाण्डमा मैले अर्को दुनिया तथा आयाम(रेलम, डाइमेन्सन)मा रहेका उर्जाहरुको अति सुक्ष्म आवाजहरु सपष्ट सुन्न थालें, उनीहरुले गरेको सवालहरुको जवाफ पनि फर्काउन थालें, दोहोरो संवाद हुन थाल्यो दिव्य योगी, सन्त, सदगुरु, महात्माहरुको चेतनासंग साथसाथ केही नकारात्मक चेतनाहरुसंग पनि साक्षतकार र दोहोरो संवाद भैरहन्थ्यो, जकारात्मक चेतनाहरु ध्यान साधनामा बाधा गर्ने तथा दुःख दिने गर्थे बिभिन्न प्रकारले । मलाई अचम्म र अनौठो लाग्यो को–को बोलिरहेछन् यसरी मसंग, मलाई नै सम्वोधन गरेर र किन बोलिरहेछन्, मेरो जवाफ किन खोजिरहेका छन् भनेर, तुरुन्तै म भित्रबाट अर्को सुक्ष्म आवाजमा सन्देश तथा संकेत आयो, “तेरो चेतनाको विकास भएको छ र तेरो चेतना ब्रम्हाण्डको सामुहिक चेतना अर्थात वैश्विक चेतना(सुपर कन्सियोस)संग एकाकार भैसकेको छ त्यसैले तैंले ब्रम्हाण्डका सुक्ष्म जगतहरुमा तैरीरहेका सबै प्रकारका चेतनाहरुको आवाज र संकेतहरुलाई सुन्न र बुझ्न सकेकी हो” भनेर । यसपछि निरन्तर म भित्रबाट अति सुक्ष्म आवाजमा कोही बोलिरह्यो ‘म तँ हो, तँ म हो’ अर्थात सबै अद्वेत छ यहाँ, कोहीबाट कोही अलग छैन सबै एउटै हो भनेर । मलाई ध्यान साधनामा एकपछि अर्को विभिन्न प्रकारले मार्गनिर्देशन निरन्तर आइरह्यो आफैं भित्रबाट ‘म तँ हो, तँ म हो’ भनेर जो अधावधिक छदैछ । ध्यान साधनाका लागि आवश्यक मार्गनिर्देशनहरु ‘म तँ हो, तँ म हो’ बाट निरन्तर आइरहे साथै दिव्य योगी, सन्त, सदगुरु, महात्माहरुको चैतन्य चेतनाले मलाई ब्रम्हाण्डबारे अलौकिक ज्ञान सिकाउनु भयो, ब्रम्हाण्डका विविध रहस्यहरु बताउनु भयो र साधनामा अझ अगाडि जान आवश्यक पर्ने मार्गनिर्देशनहरु सिकाउदै जानुभयो– यसो गर, यसो नगर भनेर र मैले वहाँहरुको मार्गनिर्देशन सहर्ष अनुशरण गर्दै गएं र चेतनाको यात्रामा अगाडि बढ्दै गएं । चलिरहेको मौन ध्यान साधनाको क्रममा भानु गुरुदेवलाई र आफूलाई अन्तरिक्ष(आकाश)मा प्रकाश स्परुपमा देखें र वहाँले भन्नुभएको कुरा फेरी स्मृतिमा आयो, “हामी अघिल्ला अनेकौं जन्महरुमा एकसाथ थियौं” र यो विश्वास ममा अझ दृढ हुदै गयो कि हामी वास्तवमै अघिल्ला जन्मदेखिकै साधनाका सहयात्री रहेछौं भनेर किनकी म स्वयंले व्यवहारिक रुपमा प्रत्यक्ष अनुभव गर्दै गएं भानु गुरुले भन्नुभएका कुराहरु । यसक्रममा अत्यन्तै दिव्य तथा भगवद् चेतनाहरुसंग साक्षातकार र प्रत्यक्ष संवादहरु हुदै गए, यी सबै भावातीत अनुभूतिहरु यहाँ उल्लेख गर्न परमात्माबाट अनुमति नभएकोले यसभन्दा अगाडिका अनुभूतिहरु विस्तार गर्न असमर्थ भएकोमा क्षमा चाहान्छु ।
मौन साधनाकै क्रममा यसपछि मेरो चेतनाको साक्षातकार मरिसकेका अर्थात शरीरमा नभएका र शरीरमा भैरहेका दुवै प्रकारका सामान्य आत्मा, उर्जा तथा चेतनाहरुसंग हुन थाल्यो । अध्यात्म विज्ञानमा भनिए जस्तै साँच्चिनै स्थुल शरीर त एउटा उपकरण मात्र जड पदार्थ रहेछ, आत्मा अर्थात चेतनाको सवारी रहेछ, चेतना नै मूल रहेछ, शरीरमा चेतना छ भने जीवन छ, शरीरमा चेतना छैन भने शरीर मृत लास मात्र रहन्छ । जिवित रहेका, कोमामा रहेका, शरीरको मृत्यु भैसकेका सबै मानिसहरुको चेतना ब्रम्हाण्डको चेतनाको महासागरमा विचरण गरिहदो रहेछ एकसाथ र सम्वन्धित व्यक्तिलाई सम्झिनासाथ तुरुन्दै उसको चेतनाको उपस्थिति भैहाल्दो रहेछ । यस सन्दर्भमा नियर डेथ एक्पेरीयन्सका विषयहरु(नजिकबाट मृत्युको अनुभव)संग सम्वन्धित सन् २०२१ मा प्रकाशित भएको मेडिकल डा. ब्रुस जेसनको ‘आफ्टर(त्यसपछि)’, साथै यसअघि प्रकाशित भएका थुप्रै पुस्तकहरुमा पनि तथ्यसहित सविस्तार सयौं, हजारौं घटनाहरु उल्लेख गरिएका छन् । ती सामान्य आत्मा, उर्जा तथा चेतनाहरु मसंग मेरोलागि यसो गर्देउ, उसो गर्देउ, मैले तथा हामीले दुःख पायौं, उद्धार गर्देउ, मेरो तथा हाम्रो सन्देश परिवारसम्म पुर्याइदेउ, हामीले खान पाएनौं, हाम्रो आत्मा तरेन, यसकालागि श्राद्ध, धूप, अक्षता, दान दिलाइदेउ, तिमीले हामीलाई सुन्न र अनुभव गर्न सक्यो अरुले सकेनन् भनेर हजारौंको संख्यामा लाइन लागेर सहयोग माग्न आउथे एकपछि अर्को गर्दै पालो कुरीकुरी, म बोलेरै भ्याउदिनथें उनीहरुसंग, बोल्दा–बोल्दा थाक्थें, उनीहरुलाई मलाई दुःख नदेउ, साधना गर्न देउ भनेर अनुरोध गर्थें । मैले उनीहरुलाई स्पष्ट रुपमा भनें, म कसैलाई कुनै प्रकारको सहयोग गर्न सक्दिन, म अहिले मेरो ध्यान साधनामा छु मैले केही पनि गर्न मिल्दैन भनेर उनीहरुलाई फकाउथें र चित्त बुझाएर फर्काउथें, उनीहरु निराश हुन्थे, कसैकसैको हृदयविदारक समस्या तथा कहानी सुनेर म आफूपनि निराश र उदाष हुन्थें । तर म त्यतातिर लागिन, मैले उनीहरु सबैका कुरा सुनिन किनकी एक त म उनीहरुलाई केही सहयोग गर्न सक्ने अवस्थामै थिइन, विदेशी भूमिमा थिएं र अर्को मलाई दिव्य चेतनाहरुबाट साधनाका क्रममा जे–जे अनुभवमा आएपनि ध्यान तथा समाधि साधनामा मात्र केन्द्रित हुने मार्गनिर्देशन आइरहेको थियो निरन्तर । मैले चासो नदेखाएपछि उनीहरु मसंग आफ्नो व्यथा पोख्न र सहयोग माग्न आउन छाडे विस्तारै ।
ध्यान तथा समाधि साधना निरन्तर चलिरहेकै थियो, यसपछि मेरो चेतनाको साक्षातकार अझ फराकिलो बन्दै जान थाल्योे र क्रमशः मसंग जिवित र मृत्यु भैसकेका मानिसका चेतनाहरु त आएकै थिए साक्षातकार र संवाद गर्न अव जनावरहरुका, पशुपंक्षीहरुका, सुक्ष्म जिवजन्तुहरुका चेतनाहरु पनि मसंग दोहोरो संवादमा आउन थाले, म उनीहरुको संवाद सुन्न र जवाफ फर्काउन थालें । यसपछि वनस्पति, माटो, माटोका जिवाणुहरु, ढुंगा, पानी लगायत सबै पदार्थहरुका चेतनाहरु मसंग दोहोरो संवाद गर्न थाले । सबै भन्दा अन्तिममा ग्रह, नक्षेत्र तथा ताराहरुको चेतना मेरो चेतनासंग एकाकार हुनथाले र दोहोरो संवाद गर्न थाले र यो अवस्था आजको मितिसम्म पनि निरन्तर चलिरहेकै छ ।
ध्यान तथा समाधि साधनाका शुरुका दिनहरुमा भौतिक संसारमा अस्तित्वमा नहरहेको कसैले नपत्याउने यो के भैरहेको होला, मेरो मानसिक तथा भावनात्मक स्वथ्यमा पो खराबी आयो कि, मलाई पर्शनालिटी डिसअडर पो भयो कि, गड सिन्ड्रोम बिमारी पो भयो कि जस्तो लाग्यो तर यस सन्दर्भमा खोज्दै अझै गएं र थाहा पाएं कि आफैं मौनमा जाने, अर्को आयामका गतिविधिहरु थाहा पाउने, सुक्ष्म संसारका उर्जाहरुसंग साक्षातकार हुने, उनीहरुको आवाज सुन्न सक्ने, उनीहरुसंग दोहोरो संवाद गर्नसक्ने आदि यस्ता धेरै प्रकारका अनुभव तथा अनुभूतिहरु ध्यान साधकहरुलाई ध्यान साधनाको गहिराइमा हुदारहेछन् । श्रद्धेय ओशो रजनीश, श्रद्धेय वोधिसत्व आनन्द अरुण, श्रद्धेय योगी विकासानन्द लगायत स्वदेशी तथा विदेशी थुप्रै ध्यान साधकहरुले पनि आफ्नो ध्यान साधनाको क्रममा यस्ताप्रकारका धेरै घटना तथा विषयहरु अनुभव तथा अनुभूतिमा आएका कुराहरु उल्लेख गर्नु भएको छ र विश्व बजारमा थुप्रै पुस्तकहरु पनि आएका छन् यस सन्दर्भमा । तैपनि मलाई सन्तुष्टी भएन, मलाई केही भएकै हो कि मानसिक तथा भावनात्मक रुपमा जस्तो लागिरह्यो र यस सन्दर्भमा अझै गहिरिएर खोज गरें ।
यस सन्दर्भमा श्रद्धेय ओशो रजनीशले भन्नु भएको रहेछ, “ध्यान साधनामा भएका अनुभवहरुको विश्लेषण गर्दा आफूलाई पागल भएं कि के हो जस्तो लाग्न सक्छ; दुनियाले त पागल नै भन्छ; हो हरेक योगीहरु पागल हुन्छन् परमात्मा साक्षातकार गर्नकालागि; सांसारीक मान्छेहरुका लागि यो पागलपन नै हो सौसारीक जगत सुखसयलको आनन्द लिन छोडेर वैरागी बन्छन् भनेर गाली पनि गर्छन तर योगीहरुका लागि यो मोक्षको मुमुक्षा हो, निर्वाण(इटरनल लिवरेशन)को प्यास हो । त्यसैले अरुका कुरा नसुन, तिमी आफूले आफूलाई जाँच गर सही मार्गमा छौ कि छैनौ भनेर– (१)के तिम्रा दैनिक गतिविधिहरु, बोलिवचन तथा व्यवहारहरु सही छन् ? (२)के तिम्रा सम्वन्धहरु सही र सुमधूर छन् ? (३)के तिम्रो पेशा, व्यवसायको काम सही ढंगले चलिरहेको छ ? यदि छ भने तिमी सतप्रतिशत अध्यात्म साधना अर्थात प्रभु प्राप्तिको सही मार्ग छौ तसर्थ आफूलाई सुन, अरुका कुरालाई वेवास्ता गर । श्रद्धेय ओशोका यी सुत्रहरुलाई अनुशरण गर्दै मैले आफैंले आफ्नो अवस्था जाँच गरें, माथि उल्लेखत तीनवटै सुत्रमा आफूलाई पहिला भन्दा अझ अव्वल पाएं, मेरा दैनिक व्यवहारहरु सामान्य थिए र छन्, सबैसंगको सम्वन्ध सुमधूर थियो र छ र म अन्वेषक तथा लेखक भएकोले मेरो पेशा पढ्ने र लेख्ने काम अझ राम्रो, प्रखर र गहिरो हुदै गैरहेको थियो । यो जाँच पश्चात म पूर्णरुपमा आस्वस्थ भएं कि म एकदम ठिकठाक रहेछु र अध्यात्म साधनाको सही दिशामा छु ।
कात्तिक २० गते मेरो पहिलो मौन साधना सकिएको भएपनि ध्यान तथा समाधि साधनामा दिव्य तथा भावातीत अनुभूतिहरु भैरहे निरन्तर । यसपछि मंसिर २२ गते म नेपाल पुगें र जीवन विज्ञान प्रतिष्ठानका गुरुदेव द्वयलाई मंसिर २४ गते विहान प्रत्यक्ष भेटेर आफ्नो चार महिना लामो मौन ध्यान साधनाका मोटामोटी अनुभव तथा अनुभूतिहरु सुनाएं, वहाँहरुले धैर्यतापूर्वक सुन्नु भयो र थप मार्गनिर्देशनहरु दिनुभयो आ–आफ्नो प्रकारले । मेरो दोस्रो मौन साधना बि.सं. २०८१ बैषाख छ गतेबाट शुरुभयो र असोजसम्म रह्यो, छ महिना र केही दिनसम्म । अहिले मेरो तेस्रो मौन साधना चलिरहेको छ र ध्यान साधनामा थप प्रकारका दिव्य भावातीत अनुभूतिहरु पनि भैरहेका छन् । ममा मौन आफैं घटीत हुन्छ र आफैं जान्छ, मौनमा मेरो नियन्त्रण छैन, भित्रबाट कोही बोल्छ, तँ मौनमा गइस भनेर र मैले बोल्न चाहे पनि मेरो आवज निस्कीदैन, स्वस्फूर्त रुपमा हात, आँखा तथा शरीरका इशाराहरु शुरु हुन्छन् आफू तथा आफ्ना कुराहरु व्यक्त गर्न । आवश्यक परेको ठाउँमा आफैं आवाज आउँछ प्राय आध्यात्मिक तथा धार्मिक कार्यक्रमहरुमा र आवश्यक नपरेको ठाउँमा लामो समयसम्म पनि मौन घटित भैरहन्छ, आवाज आउदैन इशारा आफैं आउँछ सामुन्नेको मान्छेलाई स्पष्ट कुरा बुझाउन सक्नेगरि । पहिलो चार महिना, दोस्रो छ महिना र तेस्रो अर्थात अहिले चलिरहेको तीन महिना, तीनपटक गरेर मेरो मौन साधना अहिले चौधौंं महिनामा चलिरहेको छ र म परमशान्ति र परमानन्दमा छु । म प्राकृतिक रुपमा अन्तरमुखी स्वाभावको व्यक्ति भएकोले मौन साधना मेरोलागि एकदम सहज र आनन्ददायक भैरहेको छ ।
अन्त्यमा
यही रहेछ सनातन दर्शन तथा पूर्वीय अध्यात्म विज्ञानका दर्शन शास्त्रहरु खासगरि अद्वेत वेदान्तले उजागर गरेको ब्रम्हाण्डको अन्तिम शाश्वत सत्यको विषय– “एको ब्रम्ह द्वुतियो नास्ती अर्थात ब्रम्हाण्डमा केवल उउटा चेतना मात्र छ जो सामुहिक अर्थात वैश्विक छ; ब्रम्हाण्डमा भएका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको चेतना एउटै हो; यहाँ सबै अद्वेत छ; यहाँ दुई तथा द्वेत केहीपनि छैन; समुच्चा ब्रम्हाण्ड चेतनाले बनेको हो; चेतना नै ब्रम्हाण्डको अन्तिम सत्य हो; चेतनाबाट नै उर्जा र पदार्थ बन्ने हो; यही चेतना म, तिमी, हामी, अरु प्राणी, वनस्पति, पदार्थ सबै भित्र छ; तिमी स्वयं ब्रम्हाण्ड हौ; ब्रम्हाण्ड तिम्रै फैलावट हो; ब्रम्हाण्ड स्वयं तिमीले बनाएका हौ; तिमी नै ब्रम्ह हौ; तिमी नै ब्रम्हाण्डको सर्जक तथा सृष्टिकर्ता हौ; तिमी स्वयं नै परमात्मा हौ भन्ने सनातन शास्त्रका आग्नेय वचन ताथ लेखनहरु म सामान्य ध्यान साधकको व्यवहारिक अनुभूतिमा समेत प्रत्यक्ष रुपमा आयो र मभित्रबाट बारबार सुक्ष्म आवाज आइरहन्छ, ‘अहं ब्रम्हास्मी’, ‘शिवोहम्’ । बि.सं. २०८० साल कात्तिक २२ गते मलाई ब्रम्हाण्डको शाश्वत सत्यको ज्ञान घटित भएको हो !!
म विगत १४–१५ वर्षयता सुक्ष्म शरीरमा रहेका सात चक्रहरुको साधना(कुण्डलिनी साधना) गर्दै आइरहेको अत्यन्तै सामान्य अध्यात्म साधक तथा व्यक्ति हुँ । चेतनाको यात्रामा मेरो अनुभवमा आएका यसप्रकारका भावातीत(अरु समक्ष शव्दमा, इशारामा, क्रियामा व्यक्त गर्न तथा बुझाउन नसकिने पराभौतिक अनुभवहरु) अनुभूतिहरु मेरो ज्ञान, अज्ञान, महाज्ञान के हो मलाई थाहा छैन, बस व्यवहारिक रुपमा मेरो स्वअनुभव तथा स्वअनुभूतिमा जे आयो त्यसको म प्रत्यक्ष साक्षी भएको छु, मेरो आफ्नै शरीरलाई प्रयोगशाला(ल्याब्रोटरी) बनाएर । यी भावातीत अनुभूतिहरुको अर्थ लगाउने, परिभाषा गर्ने तथा सच्चाइ खोतल्ने जिम्मा आत्मज्ञानी, तत्वज्ञानी, ब्रम्हज्ञानी, धर्मवादी, सम्प्रदायवादी, निश्चित पहिरन, निश्चित टिका तथा निश्चित माला धारण गर्नुहुने श्रद्धेय योगी, सन्त, स्वामी, महात्मा, सदगुरुको श्रीचरणमा जिम्मा लगाउछु । म शुद्ध विज्ञान(प्योर साइन्स) मान्ने र विज्ञानहरुको पनि विज्ञान महाविज्ञान ‘अध्यात्म विज्ञान’लाई अनुशरण गर्ने सांसारीक गृहस्थ जीवनमा रहेको एक अत्यन्तै साधारण महिला साधक हुँ । मेरो बुवा(शिक्षण पेशाबाट निवृत) श्रद्धेय श्री भुवनेश्वर भण्डारी जो भण्डारी वंशावलीका संकलन कर्ता; संस्कृत भाषाका ज्ञाता; सनातन अध्यात्म दर्शन तथा वेदान्त दर्शनका ज्ञानी महापुरुष हुनुहुन्छ । वहाँले सनातन वेद र वेद अन्तर्गत रहेका कर्मकाण्डका सबैभन्दा बढि प्रयोगमा आइरहने धेरै शास्त्रहरु व्यवहारीक र युग सुहाउदो हुनेगरि तथा अवका नयाँ पुस्ताले पनि सजिलै पढ्न र बुझ्न सक्नेगरि सरलीकृत गरेर अनलाइनमा अपलोड गर्न मिल्नेगरि आफू स्वयंले युनिकोडमा टाइप गरेर सबैमाझ सितैंमा उपलव्ध गराउनु भएको छ नितान्त सेवा भावले । ज्ञान मार्गी साथसाथ कर्म र भक्ति मार्गलाई पनि अनुशरण गर्नुभएको बुवाबाट प्राप्त सनातन वेद, उपनिषद तथा वेदान्तका शाश्वत महाज्ञानलाई अनुशरण गर्दै आफू स्वयंभित्रै ब्रम्हाण्डको यो अलौकिक शाश्वत महाज्ञान खोज्नुपर्छ भन्ने वहाँका मार्गनिर्देशन अनुशरण गर्दै र वहाँका पदचापहलाई पछ्याउदै जाँदा आफ्नै शरीर रुपि प्रयोगशालामा ब्रम्हाण्डको यो शाश्वत सत्य ज्ञान व्यवहारीक रुपमा आफू स्वयंकै अनुभूतिमा आयो । बुवाको यो अभूतपूर्व अध्यात्म मार्गनिर्देशन तथा योगदानकालागि बुवाप्रति हृदयदेखि नतमस्तक हुनु बाहेक वहाँकालागि कृतज्ञता तथा अहोभाव व्यक्त गर्ने शव्दहरु मसंग छैनन् । भौतिक जीवनमा अनुभवमा आएका सुख, खुशी, समृद्धि, सफलता र पराभौतिक जीवनमा अनुभवमा आएका शान्ति, आनन्द, परमानन्द सबै पक्षहरुमा बुवाको अनन्त देन रहेको छ साथै आमाको वातसल्य बिना त न इहलोक र परलोक कतैको उपस्थिति सम्भवै छैन । जीवनमा प्राप्त भएका सबै उपलव्धिहरुका लागि बुवा-आमाप्रति अत्यन्तै कृतज्ञ छु ।
साथै अध्यात्म साधनामा यहाँसम्मको यात्रा अनुभव गर्न लौकिक, परालौकिक सहयोग पुर्याउनु भएका शरीरमा रहनु भएका तथा शरीरमा नरहनु भएका सम्पूर्ण दिव्य तथा चैतन्य चेतनाहरु र आधूनिक वैज्ञानिकताका तथ्यहरुका ज्ञानमा आधारीत आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानका संस्थापक सदगुरु द्वय श्रद्धेय भानु गुरुदेव, श्रद्धेय रमेश गुरुदेव र वहाँहरुको संस्था जीवन विज्ञान प्रतिष्ठानप्रति शिर झुकाएर अन्तर हृदयबाट नमन तथा हार्दिक कृतज्ञता भाव, अहोभाव व्यक्त गर्दछु । र अध्यात्म विज्ञानको अद्वेत विज्ञान र आधूनिक भौतिक विज्ञानको प्रमात्रा विज्ञान दुवैले उजागर गरेको व्यवहारीक रुपमा आफ्नै स्वअनुभवमा आएको ब्रम्हाण्डको शाश्वत सत्य– “ब्रम्हाण्ड मेरै चेतनाको फैलावट हो” भन्ने अन्तिम सत्यलाई शतप्रतिशत विश्वास र आत्मसाथ गर्दछु । मेरो ध्यान साधना अर्थात चेतनाको यात्रा अर्थात अध्यात्म साधना निरन्तर चलिरहेको छ र चलिनै रहनेछ । अस्तु !! bsirjana@gmail.com
सांसारीक जीवन
व्यक्ति
सिर्जना भण्डारी पिएच.डी. । अन्वेषक तथा लेखक । ध्यान योग प्रशिक्षक ।
जन्मः सर्लाही जिल्ला ।
स्थाइ वसोवासः काठमाडौ ।
परिपार
बुवाः भुवनेश्वर भण्डारी । शिक्षण पेशाबाट निवृत्त ।
आमाः सुभद्रा भण्डारी । गृह व्यवस्थापक ।
श्रीमानः हरिश्चन्द्र घिमिरे । सहसचिव, परराष्ट्र मन्त्रालय ।
दाजुः मधुसुदन भण्डारी । भाउजूः गंगा भण्डारी ।
दाजुः प्रमोद उपाध्याय पिएच.डी.। भाउजूः कमला आचार्य ।
छोराहरुः मुकेश घिमिरे पिएच.डी.। निकेश घिमिरे इन्जिनियर ।
शिक्षा
एसएलसी– स्कुलः महावीर जनता माध्यमिक विद्यालय हरिपूर, सर्लाही ।
डिप्लोमा– क्याम्पसः पद्यमकन्या क्याम्पस, बागबजार, काठमाडौं ।
मास्टर्स– ग्रामीण विकास । त्रिभुवन विश्वविद्यालय, किर्तिपुर ।
मास्टर्स– लैंगिकता र विकास । पद्यमकन्या क्याम्पस, बागबजार, काठमाडौं ।
विद्यावारिधी(पिएच.डी.)– महिला सशक्तिकरण । त्रिभुवन विश्वविद्यालय, किर्तिपुर ।
पेशा
अन्वेषणः रिसर्चर, रिपोर्ट राइटर, राइटर ।
शिक्षणः गेष्ट लेक्चर, ट्रेनिगं, वर्कशप, योगा एण्ड मेडीटेसन ट्रेनिगं ।
रुचि
अध्ययन, लेखन, कविता लेखन, गार्डेनिगं, ट्रेकिगं ।
No comments:
Post a Comment