'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 3 May 2025

समुच्चा ब्रम्हाण्डको सर्जक हामी स्वयं हौं

                                  डा. सिर्जना भण्डारी     

#अध्यात्म_दर्शन #जीवन_दर्शन   



विषय प्रवेश

दशौं हजार वर्ष अघिनै अध्यात्म विज्ञान यो नतिजामा पुगिसकेको छ कि समुच्चा ब्रम्हाण्ड चेतनाको फैलावट(एक्टेन्सन अफ द कन्सिओसनेस) हो अर्थात ब्रम्हाण्डका सबै चिजहरु चेतनाबाट निर्मित भएका हुन् र त्यो चेतनाको श्रोत हरेक जिवित प्राणी हो । आज २१औं शताव्दीसम्म आइपुग्दा आधूनिक भौतिक विज्ञानको अत्याधूनिक शाखा प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) पनि अध्यात्म विज्ञानको यही नतिजाको कित्तामा उभिएको छ र वैज्ञानिक खोजको नतिजा सार्वजनिक गर्दै प्रस्तुत भएको छ  कि, समुच्चा ब्रम्हाण्ड चेतनाको फैलावट हो अर्थात ब्रम्हाण्डका सबै चिजहरु चेतनाबाट निर्मित भएका हुन् । यसको सप्रमाण व्याख्या महान वैज्ञानिक डा. रवर्ट लान्जाद्वारा सन् २००९ मा प्रतिपादन गरिएको खोजमूलक अध्ययन वैज्ञानिक शास्त्र बायोसेन्ट्रिजम हो, जसको सार रहेको छ, यो ब्रम्हाण्ड बहुरुपदर्शक(क्लाइडोस्कोप) हो जस्तै हो, यहाँ देखिएका, अनुभव तथा महसुस गरिएका सबै चिजहरु हाम्रै चेतनाका फैलावट तथा विभिन्न स्वरुपहरु हुन् । बहुरुपदर्शक भनेको सबैतिर(भित्ता, छानो, भुई)मा ऐना अर्थात शिशा लगाइएको कोठा तथा क्षेत्र हो जहाँ सबैतिर मैले म आफूलाई मात्र देख्छु, त्यहाँ भित्तो, छाना तथा भुईं केही पनि देख्दिन । सनातन अध्यात्म विज्ञानको अत्यन्तै महत्वपूर्ण र सबैभन्दा कान्छो वेदान्त दर्शनको अद्वेत वेदान्त सिद्धान्त(मोनिस्टीक थेयरी)का अनुसार चेतना त्यही ऐना अर्थात शिशा हो जो हरेक प्राणी, वनस्पति तथा पदार्थहरुमा स्थित छ किनकी ब्रम्हाण्डका हरेक वस्तु आ–आफ्नो प्रकारले जिवित र चेतनाले भरिएका चेतनशील छन् र यही चेतना नै सबैतिर देखिएको हो केही प्राणी, केही वनस्पति र केही पदार्थको रुपमा । तसर्थ, बहुरुपदर्शक अर्थात क्लाइडोस्कोप रुपी समुच्चा ब्रम्हाण्ड त्यही सबैमा भएको एउटै चेतना अर्थात हाम्रै चेतनाको फैलावट हो र यो ब्रम्हाण्डको सर्जक हामी स्वयं अर्थात हाम्रै चेतना हो ।


चेतनाका तीन तह तथा लहर(वेभ)

अमेरीकाको सनफ्रान्सीस्कोमा डिसेम्बर १९०२ मा भएको कन्फरेन्सको प्रवचनमा स्वामी श्रद्धेय रामतीर्थले, "ब्रम्हाण्ड मेरै फैलावट हो, मेरै चेतनाले ब्रम्हाण्ड बनेको हो, म स्वयं नै ब्रम्हाण्डको सर्जक हुँ" भन्नु हुदा अमेरीकीहरुले हाँसेर वहाँको र सनातन अध्यात्म दर्शनको समेत खिल्ली उडाएका थिए त्यतिबेला । तर आज आएर उनीहरुले नै ठूलो धनराशी र लामो समय लगाएर गरेका वैज्ञानिक खोजका नतिजाहरुले स्वामी रामतीर्थले भन्नुभएको त्यही तथ्यलाई प्रमाणित गरेको छ र दावी पेश गरेको संसार सामु कि समुच्चा ब्रम्हाण्ड हाम्रै चेतनाको फैलावट हो र हामी स्वयं नै ब्रम्हाण्डका सर्जक तथा रचइता हौं । आधूनिक भौतिक विज्ञानका अनुसार चेतनाको विकासक्रमको तह तथा लहरहरु यसप्रकार रहेका छन्–


भौतिक विज्ञानका अनुसार चेतनाको पहिलो लहर– अगाडिका वैज्ञानिकहरुले समय–समयमा वैज्ञानिक अनुसन्धान गर्दै आफूले पत्ता लगाएका विषय तथा तथ्यहरु अगाडि राख्दै आए । वैज्ञानिक जोन डाल्टनको समयसम्म ब्रम्हाण्ड भौतिक वस्तुले बनेको छ भन्ने मान्यता स्थापित भएको थियो र ब्रम्हाण्डको अन्तिम सुक्ष्म वस्तु तथा कण 'एटम' हो जसलाई तोड्न तथा टुक्रयाउन सकिदैन भनिएको थियो ।


भौतिक विज्ञानका अनुसार चेतनाको दोस्रो लहर– यसपछि प्रमात्रा विज्ञानका खोजहरु अगाडि आउन थाले र प्रमात्रा विज्ञानका वैज्ञानिकहरुले आफ्नो दाबी पेश गर्दै भौतिक वस्तु एटम अन्तिम इकाइ होइन, यटमलाई पनि तोड़न सकिन्छ जसवाट उर्जा निस्कन्छ अर्थात एटमको मूलश्रोत उर्जा हो र उर्जाको कारणबाट भौतिक वस्तुहरु बनेका हुन् भने र यही मान्यता स्थापित भयो कि सबैभन्दा सुक्ष्म तत्व उर्जा हो अर्थात ब्रम्हाण्डमा उर्जा भन्दा सुक्ष्म तत्व अर्को छैन । यो बेलाको आधूनिक भौतिक विज्ञान अर्थात प्रमात्रा विज्ञानले भौतिक वस्तु(एटमहरु मिलेर वस्तु बन्छ)बाट नै उर्जा र चेतना पनि बन्ने तथा निस्कने हो भन्ने दाबी पेश गरेको थियो ।


भौतिक विज्ञानका अनुसार चेतनाको तेस्रो लहर– विश्वका तीन महान वैज्ञानिक मध्य एक जिवित महान वैज्ञानिक रवर्ट लान्जासम्म आइपुग्दा यो मान्यतामा फेरी फेरबदल भयो र उनको पछिल्लो क्वान्टम(अति सुक्ष्म) तहको खोजमूलक वैज्ञानिक शास्त्र बायोसेन्ट्रिजमका अनुसार, चेतना मूल तत्व हो भन्ने दाबी वाहिर आयो । बायोको अर्थ जिव हो र सेन्ट्रिजमको अर्थ सेन्टर अर्थात केन्द्र हो । बायोसेन्ट्रिजमका अनुसार केन्द्रमा न उर्जा छ न भौतिक वस्तु अर्थात पदार्थ अर्थात एटम छ, मात्र चेतना छ । चेतना कै कारण उर्जा बन्छ र चेतना नै पदार्थ बन्छ, मूल तत्व चेतना हो । 


अध्यात्म र भौतिक विज्ञानमा चेतनाको विज्ञान र साझा मान्यता

यही नै हो दशौं हजार वर्षअघि नै पूर्वीय प्राचीन वैज्ञानिक ऋषिमूनिहरूको गहन अध्ययनबाट जानकारीमा आइसकेको सनातन अद्वेत वेदान्त दर्शनको मूल विषय ब्रम्हाण्डको अन्तिम शाश्वत सत्य ‘चेतना अर्थात वैश्विक चेतना अर्थात भगवत चेतना अर्थात ब्रम्ह चेतना अर्थात इश्वर अर्थात परमेश्वर अर्थात ब्रम्ह अर्थात परब्रम्ह अर्थात अल्ला अर्थात गड अर्थात क्वान्टम साइन्सको परिभाषामा युनिफाइड फिल्ड’ । अव नयाँ रहस्य के खुल्यो भने, आम मान्यता रहदै आएको छ कि जीवन भएको प्राणी मर्छ यसकारण सबै मृत्युसंग डराउछन् तर बायोसेन्ट्रिजमका तथ्यांकहरुले भन्छन् मान्छे तथा जिवीत प्राणी अर्थात उसको चेतना कहिल्यै मर्दैन केवल त्यसको स्वरुप परिवर्तन हुन्छ; सनातन अद्वेत वेदान्तले पनि यही भनेको छ; श्रीमद् भगवद् गीताले पनि यही भनेको छ; अध्यात्म विज्ञानका सारा दर्शन शास्त्रहरुले यही नै भनेका छन् कि आत्मा अर्थात चेतना कहिल्यै मर्दैन; महान वैज्ञानिक अलवर्ट आइन्सटाइनले प्रतिपादन गर्नुभएको सापेक्षताको सिद्धान्त (E=mc² अर्थात ॐ(वस्तु, उर्जा, चेतना)=mc²)ले पनि यही भनेको छ कि उर्जा र पदार्थ कहिल्यै नष्ट हुदैनन्, नष्ट गर्न सकिदैन, केवल यसको स्वरुप मात्र परिवर्तन हुन्छ तथा स्वरुप मात्र परिवर्तन गर्न सकिन्छ । २१ शताव्दीमा आएर प्रमात्रा विज्ञानको पछिल्लो प्रामाणीक वैज्ञानिक खोजको वैज्ञानिक शास्त्र बायोसेन्ट्रिजम अध्यात्म विज्ञानको कित्तामा प्रवेश गरेको छ । बायोसेन्ट्रिजमका अनुसार जिवीत प्राणी कहिल्यै पनि मर्दैन, यसको स्वरुप मात्र परिवर्तन हुन्छ किनकी चेतना नै सबैको मूल हो र चेतना कहिल्यै मर्दैन । चेतनाबाट उर्जा आउछ/बन्छ र उर्जाबाट वस्तु आउछ/बन्छ । चेतनाले नै रुप फेर्छ, कतै पदार्थ(म्याटर) बन्छ, कतै उर्जा(इनर्जी), कतै तरंग(वेभ) बन्छ तर कहिल्यै समाप्त हुदैन स्वरुप मात्र परिवर्तन गरिरहन्छ जसरी पानीले अवस्था अनुसार आफ्नो स्वरुप बदलिरहन्छ कतै बरफ, कतै तरल, कतै वाफ बनेर तर उसको आत्यन्तिक तथा मूल स्वाभाव चाहिं पानी नै हो अर्थात तरलता र शितलता । ठिक त्यस्तै चेतना नै कतै पदार्थ बन्छ, कतै उर्जा बन्छ र कतै तरंग बन्छ तर यसको आत्यिन्तिक तथा मूल स्वाभाव चेतना तथा चैतन्यता(थाहा पाउने क्षमता) हो ।  


हाम्रो शरीरमा चेतनाका तीनवटै स्वरुपहरु छन्, भौतिक शरीर 'पदार्थ' हो; मानसिक शरीर अर्थात मन अर्थात विचार 'उर्जा' हो र हामीभित्रको थाहा पाउने(गहिरो निद्रामा समेत) तत्व 'चेतना' हो । पदार्थ, उर्जा र चेतना तीनवटै अलग–अलग तत्व हुन् तर यी सबैको मूल तथा केन्द्रमा चाहिं चेतना अर्थात चैतन्यता छ र यही चेतना अर्थात चैतन्यता सबैभित्र रहेको सर्वव्यापक तथा सर्वशक्तिमान इश्वर अर्थात परमेश्वर अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात गड अर्थात अल्ला हो । यो चेतना मभित्र छ त्यसैले 'अहं ब्रम्हास्मी अर्थात म स्वयं ब्रम्ह हुँ, म स्वयं इश्वर हुँ, ब्रम्हाण्डको सर्जक म स्वयं हुँ', तिमीभित्र पनि त्यही चेतना छ त्यसैले 'तत्वमसि अर्थात तिमी पनि त्यही हौ'। हामी सबै ब्रम्ह हौं तर फरक यति मात्र हो कि विकसित चेतना भएको मानिस मात्र त्यो सर्वव्यपक तथा सर्वशक्तिमान इश्वर अर्थात परमेश्वर अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात गड अर्थात अल्लासंग एकाकार भएको हुन्छ । यसको विपरीत अविकसित चेतना भएको मानिस सबै कुरालाई आफ्नै अज्ञानताको चस्माले हेर्छ र आफूले नजानेको तथा अनुभूति नगरेका शास्वत सत्य, तथ्य विषयहरुलाई समेत सबै वकवास हो भन्छ र आफ्नो चेतनाको अज्ञानताको उचाइ तथा गहिराइ आफैं अरुलाई नपाइरहन्छ ।


बायोसेन्ट्रिजम के हो ?

क्वान्टम साइन्सको पछिल्लो महत्वपूर्ण वैज्ञानिक खोज बायोसेन्ट्रिजम सिद्धान्तले पेश गरेको चेतना केन्द्रित विषयको सन्दर्भ केही उदाहरणहरुबाट प्रष्ट बुझौं–


पहिलो उदाहरण 'बहुरुपदर्शक' 

मेरो आँखाका दृश्य अगाडि जे-जे चिजहरु छन् ती सबै मेरै चेतनाका इकाइ तथा अंश हुन् । म नै हुँ ती सबै प्राणी, वनस्पति तथा पदार्थ किनकी मेरो चेतनाको कारणले मैले तिनलाई देख्छु, अनुभव तथा महसुस गर्छु र तिनीहरुको चेतनाको कारणले तिनीहरुले मलाई देख्छन्, अनुभव तथा महसुस गर्दछन् मानिस, प्राणी, वनस्पति तथा पदार्थको रुपमा । चेतना मर्यो तथा शुन्य(०) भयो भने कसैले कसैलाई देख्दैन, तव सबैको शरीर जड बन्छ र यो मृत्युको अवस्था हो । मृत्युमा स्वयं पनि हुदैन र संसार पनि हुदैन, सबै हराउछ किनकी त्यहाँ अव चेतना जिवित छैन । चेतना मरे पनि शरीर चाहिं रहन्छ हेर्नेहरुकालागि तर चेतनाशुन्य मुर्दा तथा लासको रुपमा रहन्छ । त्यस शरीरमा न अव व्यक्ति सवयं छ न उसले देखेको, जानेको, अनुभव तथा महसुस गरेको संसार छ । निश्चित समयावधिपछि प्राकृतिक प्रकृया शुरु हुन्छ, लास सड्न थाल्छ र प्रकृति(माटो)मा मिल्छ, प्राणी तथा वनस्पतिहरुको आहार बन्छ विभिनन प्रकारले । तसर्थ हामीले भौतिक संसारमा मेरो वरीपरि जे देखिरहेका, सुनिरहेका, अनुभव तथा महसुस गरिरहेका छौं ती सबै हाम्रो चेतनाको फैलावट(प्रतिविम्व, विस्तार, रिफ्लेक्सन) हुन् जसरी सबैतिर ऐना अर्थात शिशा लगाइएको क्लाइडोस्कोप कोठामा सबैतिर हामी हाम्रै प्रतिविम्व अर्थात छवि मात्र देख्छौं । तसर्थ यो ब्रम्हाण्ड ऐना अर्थात शिशाको घर हो र चेतना ऐना अर्थात शिशा हो सबै चिजलाई देख्ने, अनुभव तथा महसुस गर्ने । 


दोस्रो उदाहरणले बुझौं 'महासागर'

पृथ्वीमा जल अर्थात पानीका विभिन्न श्रोतहरु छन्– ताल, खोला, नदी, समुद्र । ती सबै अलग–अलग स्थानमा आ–आफ्नो स्वतन्त्र अस्तित्वमा रहेका तथा बगिरहेका हुन्छन् र ती सबैको आ–आफ्नै आत्यन्तिक मूल उद्देश्य तथा गन्तव्य हुन्छ । हरेक पानीका श्रोत तथा पानीका थोपाहरुको एउटै उद्देश्य तथा गन्तव्य महासागरमा पुग्नु तथा मिल्नु हो । जव यी अलग–अलग अस्तित्व भएका पानीका श्रोतहरु महासागरमा मिल्छन् तव सबै एउटै हुन्छन् मात्र 'महासागर' अर्थात 'पानी' । महासागरमा विलय भैसकेपछि अव त्यहाँ पानीका श्रोतहरु- ताल, खोला, नदी, समुद्र भन्ने अलग–अलग अस्तित्वमा बाँकी रहदैनन् । ठिक यस्तैगरि ब्रम्हाण्डका सबै चिजहरुमा रहेको चेतनाको एउटै उद्देश्य तथा गन्तव्य हुन्छ जड शरीर अर्थात भौतिक कायाको आयु सकिएपछि ब्रम्हाण्डको महासागर स्वरुप मूल चेतना अर्थात सामुहिक चेतना अर्थात वैश्विक चेतना(सुपर कन्सिवसनेस)मा मिल्नु अर्थात विलय हुनु अर्थात एकाकार हुनु अर्थात योग हुनु । मानिस जव मर्छ अर्थात चेतना शुन्य हुन्छ तव उ ब्रम्हाण्डको सामुहिक चेतना अर्थात वैश्विक चेतनामा एकाकार हुन्छ, अव त्यहाँ यो मानिस, त्यो मानिस, यो जनावर, त्यो जनावर, यो वनस्पिति, त्यो वनस्पिति भन्ने अलग–अलग अस्तित्व रहदैन, अव सबै म अर्थात हामी नै हौं, सबैको चेतना एकै ठाउँमा मिसियो र चेतनाको महासागर बन्यो र आधूनिक भौतिक विज्ञानले  उजागर गर्दै आएको 'युनिभर्सल क्वान्टम युनिफाइड फिल्ड' भनेको यही नै हो  ।


अन्त्यमा

हामी जिवित रहदा हाम्रो चेतनाको चेतनशीलताकै कारण हामीले हाम्रो वरीपरीका मान्छे तथा बस्तुहरुलाई मेरो बाबा, आमा, मेरो श्रीमान, श्रीमती, मेरो प्रेमि, प्रेमिका, मेरो घर, बारी, गाडी, बैंक संचिती भनेर नाता लगाएका तथा स्वामित्व देखाएका हुन्छौं । तर यदि हाम्रो चेतना जिउँदै छ तर चेतनशीलता अर्थात चैतन्यता बिग्रीयो, असन्तुलित भयो, अवसादमा गयौं, बिर्सिने रोग(अल्जाइमर्स) लाग्यो तथा मानसिक असन्तुलिन/पागल भयौं भने हाम्रा नातागोता, सम्वन्ध, स्वामित्व सबै हराउछन्, हामी कसैलाई चिन्दैनौं, हाम्रो शरीर जिउँदो लासको रुपमा मात्र रहन्छ । सही उपाय तथा औषधि उपचार गरेर बिग्रीएको तथा असन्तुलित भएको चेतनाको चैतन्यतालाई पुनः सन्तुलित बनाउन सकियो भने हाम्रो नातागोता, सम्वन्ध, स्वामित्व सबै फेरी फर्कन्छ र हामी सामान्य मानिस बन्छौं र चेतनशील जीवनको रस लिन सक्छौं । 


यसर्थ सबै कुरा चेतनाकै फैलावट हो, चेतना छैन भने न जीवन छ न जगत छ । हाम्रै चेतनाको कारणले संसार छ, संसारको कारणले हामी होइन भन्ने ज्ञान नै सनातन अद्वेत वेदान्त दर्शनको प्रमुख विषय हो । अद्वेत वेदान्त दर्शनको ज्ञान संयुक्त अर्थात सामुहिक अर्थात वैश्विक चेतनाकै विषय वरीपरि घुम्दछ तर दर्शन शास्त्रले प्रदान गरेको ज्ञान सबै मानिसको समझमा सहजै आउदैन, आधूनिक विज्ञानले वैज्ञानिक तवरले खोजेर प्रमाणीत गरेको ज्ञान सबैको समझमा सहजै आउन सक्छ । पछिल्लो समय प्रमात्रा विज्ञानले सनातन अद्वेत वेदान्त दर्शनले उल्लेख गरेको अद्वेत(सबै एउटै हो, केहीपनि दुइ छैन) अर्थात संयुक्त अर्थात सामुहिक अर्थात वैश्विक चेतनाको विषयलाई विभिन्न सिद्धान्त र प्रयोगहरुको माध्यमबाट प्रमाणित गर्ने र प्रष्ट पार्ने प्रयास गरेको छ र गर्दै आइरहेको छ र अध्यात्म विज्ञानलाई नै सहयोग पुर्याइरहेको छ । bsirjana@gmail.com



No comments:

Post a Comment