डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
म चेतना तथा उर्जाको कुन तहमा छु भनेर कसरी पत्ता लगाउने ?
विषय प्रवेश
पकृति तथा मानव सभ्यताको विकासक्रममा आजको मितिसम्म आइपुग्दा ब्रम्हाण्डको अन्तिम शाश्वत सत्यको सन्दर्भमा अध्यात्म विज्ञानले दशौं हजार वर्ष पहिलेनै उजागर गरेको विषयमा अव आधूनिक भौतिक विज्ञान पनि राजी भएको छ र दुवै विज्ञानले एकै प्रकारको मत जाहेर गरेका छन् कि ब्रम्हाण्ड र ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति र पदार्थहरु चेतना तथा उर्जाबाट निर्मित भएका हुन् अर्थात यी सबैको अन्तिम अर्थात सुक्ष्म(क्वान्टम) श्रोत चेतना हो । चेतनाबाट नै उर्जा बन्छ र चेतनानै पदार्थ बन्ने हो । अहिलेसम्म अस्तित्वमा आएका अध्यात्म विज्ञान र भौतिक विज्ञानका वैज्ञानिक खोज अनुसार पृथ्वीमा रहेका सबै प्रकारका जीवहरुमध्य मानिस सर्वाधिक चेतनशील(चेतनाको उच्चतम विकास भएको) प्राणी हो । मानिसको जीवनमा चेतना तथा उर्जाको विशेष महत्व रहेको हुन्छ किनकी उसको जीवनका हरेक क्रियाकलापहरु गर्न सर्वप्रथम उर्जाको आवश्यकता पर्दछ । मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा उर्जाको संचार छ भने उ जीवित छ, जीवनमा आफूले चाहे अनुसार गर्नसक्छ तर उर्जाको संचार छैन भने यो मत्युको अवस्था हो । मानिसको चेतना तथा उर्जाको तह तीन प्रकारका अवस्था रहेका हुन्छन्– (१)न्यूनतम(उर्जाको तह २० देखि २००), (२)मध्यम(उर्जाको तह २०० देखि ५००), र (३)उच्चतम(उर्जाको तह ५०० देखि १०००) ।
उर्जाको न्यूनतम अवस्थामा मानिसको जीवन कष्टकर हुन्छ, मध्यम अवस्थामा औषत हुन्छ र उच्चतम अवस्था उसले सोचे जस्तै स्वस्थ, सुखी, खुशी, सहज, सरल, समृद्ध, सफल, शान्त र आनन्दले भरिएको जीवन हुन्छ । मानिसले अध्यात्म विज्ञान तथा मनोविज्ञानका वैज्ञानिकतामा आधारित विभिन्न विधि तथा पद्धतिहरुको अनुशरण गरेर आफ्नो शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक उर्जाको तह बढाएर न्यूनतमबाट मध्यम, मध्यमबाट उच्चतममा पुर्याउन सक्छ । यस्तो अवस्थामा उसको जीवन सकारात्मक, सहज, सरल बन्नुकासाथै उ कलात्मक ढंगले जीवन जीउन सक्षम हुन्छ र योग विज्ञानको साधना गरेर जीवनमा अध्यात्म विज्ञानका विविध अलौकिक आयामहरु हासिल गरि जीवनको उच्चतम अवस्था तथा श्रेष्ठतम उचाइ मोक्ष समेत हासिल गर्न सक्छ । यसर्थ, यदि मासिनको चेतना तथा उर्जाको तह सकारात्मक तथा राम्रो छ भने उसको जीवनका सबै आयामहरु– व्यक्तिगत, पारिवारीक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मानवीय, धार्मिक, आध्यात्मिक आदि हरप्रकारका अवस्थाहरुमा उ सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित बन्न सक्छ तर यसको विपरीत मानिसको चेतना तथा उर्जाको तह नकारात्मक तथा नराम्रो छ भने उसको जीवनका सबै आयामहरु अव्यवस्थित, लथालिंग र भताभुंग हुन सक्छन्, उ आफू सवयं, परिवार, समाज, राज्य कसैकालागि काम नलाग्ने रोगी तथा निकम्मा बन्न सक्छ । यसप्रकार आफ्नो चेतना तथा उर्जाको तह तथा गुण्स्तर कस्तो बनाउने; कहिले बनाउने र कसरी बनाउने यो सबै मानिसको आफ्नै स्वतन्त्र निर्णय तथा नियन्त्रणमा रहेको हुन्छ । विवेकशील मानिसले आफ्नो चेतना तथा उर्जाको सदुपयोग गर्छ र आफू लगायत सबैको भलाइ हुने सर्वकल्याणका काम गरेर सबैलाई काम लाग्ने मानिस बन्छ भने मुर्ख मानिसले आफ्नो चेतना तथा उर्जाको दुरुपयोग गर्छ र आफू लगायत सबैलाई कष्ट दिन्छ ।
म मेरो चेतना तथा उर्जाको कुन तहमा छु, कसरी जान्ने ?
चेतना तथा उर्जाको सन्दर्भमा सबैलाई सहजै बुझ्न तथा बुझाउन सहज गराउने उद्देश्यले मानिसमा चेतना तथा उर्जाको तह कति हुदा उसमा के–कस्ता गुण, लक्षण, व्यवहार तथा प्रतिक्रियाहरु देखिन्छन् भन्ने सन्दर्भ प्रतिविम्वित गर्न चेतना तथा उर्जाका अवस्थालाई १८ तहमा बिभाजन गरिएको भएपनि औषतमा मुख्यतया चेतना तथा उर्जाका दुई तहमा सर्वाधिक व्याख्या हुने गरेका छन्– (१)साहस, र (२)प्रेम । साहसमा चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ, चेतना तथा उर्जाको १८ तह विभाजनमा साहस १०औं तहमा पर्छ र प्रेममा चेतना तथा उर्जाको तह ५०० को हाराहारीमा रहेको हुन्छ, चेतना तथा उर्जाको १८ तह विभाजनमा प्रेम १५औं तहमा पर्छ ।
साहस र चेतना तथा उर्जाको तह
चेतना तथा उर्जाको तह सबैभन्दा न्युनतमदेखि गणना गर्दा, क्रमशः पहिलो तह मृत्यु हो जहाँ चेतना तथा उर्जाको तह ० रहेको हुन्छ । दोस्रो तहदेखि ९औं तहसम्म क्रमशः– हिनतावोध–२०, अपराधवोध–३०, निराशा–५०, भावनात्मक कुण्ठा–७५, डर–१००, इच्छा–१२५, क्रोध–१५०, अभिमान–१७५ मानिसको चेतना तथा उर्जाको न्यूनतम तह हो र साहस १०औं तह हो । साहसको अवस्थामा चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ । चेतना तथा उर्जाको ९ औं तहसम्म मानिसले न्यूनताकै अवस्था अर्थात मानवीय विकार तथा त्रिगुणमयी प्रकृति प्रदत्त क्लेश(काम, क्रोध, लोभ, मोह, इष्र्या, हिंसा, राग, द्वेश, अहंकार, भय, अषन्तोष, गुनासो, अस्वीकार, आलश्य)युक्त जीवन जीउछ । चेतना तथा उर्जा न्यून तहमा हुदा मानिस आफूले आफूलाई कमजोर, हिनतावोध, आत्मविश्वास गिरेको, असहाय, जोश, जाँगर, हिम्मत, आँट, साहस, प्रेरणा नभएको, जीवनप्रति नै निराश, उदाषिन तथा हारेको पाउँछ । हामी आफूले जीवनमा यस्तो अवस्था महसुस गरिरहेका छौं भने यो चेतना तथा उर्जाको न्यूनतम तह हो । अध्यात्म विज्ञानका वैज्ञानिकतामा आधारीत योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु र मनोविज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारीक तथा प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर चेतना तथा उर्जाको तह माथि उठाएर जीवन स्वस्थ, सुखी, खुशी, सहज, सरल, सफल, शान्त र आनन्दित बनाउन सकिन्छ ।
चेतना तथा उर्जाको १०औं तह साहसलाई औषत तह मानिन्छ, यो मानिसको सामथ्र्य तथा क्षमता वृद्धिको अवस्था हो किनकी यो तहबाट मानिसले आफूलाई चेतना तथा उर्जाको न्यूनतम तहमा रहेको अवस्थाको असन्तुलित, तनावग्रस्त तथा अव्यवस्थित जीवनबाट विस्तारै माथि उठाउन प्रारम्भ गर्छ । आफ्ना क्षमता, सवलता र दुर्वलताहरुलाई सुक्ष्म रुपमा नियाल्न, बुझ्न र बुझेर त्यसलाई सकेसम्म सकारात्मक दिशा दिने प्रयत्न गर्न थाल्छ । साहसको अवस्थामा चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ । पश्चिमका अध्यात्म विज्ञानका गुरु(स्पृचुअल मास्टर) डा. डेभिड हकिन्सका अनुसार चेतना तथा उर्जाको २०० तह विश्वकै औषत अवस्था हो, विश्वका ८५ प्रतिशत मानिसहरु यो अवस्था तथा तहमा जीवन जीरहेका छन् । चेतना तथा उर्जाको २०० तह(साहस)मा मानिस आफूलाई र आफ्ना दुर्वलता तथा कमी–कमजोरीहरुलाई स्पष्टसंग देख्न थाल्छ । आफ्ना कमजोरी तथा असफताहरुको दोष अरुलाई लगाउन र गुनासोले भरिन छोडेर आफूलाई सक्षम बनाउन प्रयास गर्न प्रारम्भ गर्छ किनकी चेतना तथा उर्जाको यो तहमा उसलाई आफ्नै कारणले अर्थात आफ्नै सोच, विचार, व्यवहार, आचरण, कर्मका कारण जीवनमा असहजताहरु आएका हुन भन्ने ज्ञात हुन थाल्छ । अव उ यसअघिका आफ्ना सबैप्रकारका कमी–कमजोरीहरुलाई सुधार गर्ने प्रयत्न गर्दै आफ्नो जीवनका सबै क्रियाकलाप तथा गतिविधिहरु र जीवनका सबै आयामहरुको जिम्मेदारी आफैं लिन तथा उठाउन थाल्छ र जीवनमा अगाडि बढ्न शुरु गर्दछ र चेतना तथा उर्जाका माथिल्ला तहहरु क्रमशः निश्पक्षता–२५०, तत्परता–३००, स्वीकार–३५०, विवेक–४०० को तहमा प्रवेश गर्दै जान्छ ।
प्रेम र चेतना तथा उर्जाको तह
विवेकपछि चेतना तथा उर्जाको १५औं तह प्रेम हो । प्रेमको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह ५०० को हाराहारीमा रहेको हुन्छ । यो त्यस्तो प्रेम होइन जहाँ दुई जना मानिसको आवश्यकता पर्दछ आपसी प्रेम व्यक्त गर्न । यो एकत्वको अत्यन्तै गहन, भावनात्मक(भावातीत पनि हुनसक्छ) अनुभव तथा अनुभूति हो । प्रेमको यस्तो अवस्थामा मानिस ब्रम्हाण्डको अनन्त दायरासंग जोडिन पुग्छ । अर्को शव्दमा भन्नुपर्दा, मानिस एकत्व तथा अद्वेतमा एकाकार हुन्छ जहाँ “एको ब्रम्ह द्वुतियो नास्ति, तत्वमसि” अर्थात ब्रम्ह एक छ र त्यो तिमी नै हौ भन्ने शाश्वत अवस्थाको प्रत्यक्ष अनुभूति गर्छ । यसरी ब्रम्ह तथा अद्वेतमा एकाकार भएको प्रबुद्ध, प्रज्ञा पुरुषले सबैमा आफू र आफूमा सबै भएको अनुभूति गर्न तथा देख्न थाल्छ । यो अवस्थामा मानिसका सबै प्रकारका मानवीय विकार तथा क्लेसहरु मेटिन्छन्, पूर्ण रुपमा हटेर जान्छन्, उभित्र सबैप्रति सकारात्मक भाव जागृत हुनथाल्छ । उ हरहमेसा पूर्णरुपमा सुख, खुशी, शान्त र आनन्दित भावमा रहन्छ । यस्तो भाव उसको अन्तरजगतबाट प्रष्फुटित भएर आएको हुन्छ, यो शाश्वत तथा दिगो हुन्छ र यो अवस्थालाई वाहिरका कुनै प्रकारका परिस्थिति तथा गतिविधिहरुले खल्बल्याउन तथा मेटाउन सक्दैनन् । यस्तो मानिस सदा यही भावमा स्थिर रहीहन्छ र आफ्नो जीवनमा कर्तव्य तथा उत्तरदायित्वहरु पूरा गर्दै एउटा फरक प्रकारको व्यक्तित्व र विशिष्ठ प्रकारको नेतृत्व गरेर समाजमा योगदान पुर्याउदै पूर्ण मानवको जीवन जीउछ । प्रेमको अवस्थापछि चेतना तथा उर्जाको तहले खुशीको अवस्थामा उडान भर्छ, त्यस्तो खुशी जो मनिसको अन्तरजगतबाट प्रष्फुटित भएको हुन्छ, यो दिगो र शश्वत हुन्छ जसलाई वाहिरका कुनै पनि गतिविधिहरुले कम गर्न तथा खल्बल्याउन सक्दैनन्।
खुशीको अवस्थामा चेतना तथा उर्जाको तह ५४० को हाराहारीमा रहेको हुन्छ र यसपश्चात क्रमशः चेतना तथा उर्जाको तहले परम शान्ति हुदै बुद्धत्व प्राप्तिमा छलागं लगाउछ । चेतना तथा उर्जाको यो तहमा विस्तारै अव मानिस बुद्धत्व तथा निर्वाण तथा मोक्ष(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ र परमात्मामा सदाकालागि एकाकार भएर जन्म र मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्त हुन्छ । परम शान्तिको अवस्थामा चेतना तथा उर्जाको तह ६०० र बुद्धत्व प्राप्तिको अवस्थामा चेतना तथा उर्जाको तह ७०० को हाराहारीमा रहेको हुन्छ । साधकले ध्यान तथा समाधिको अवस्थामा निरन्तर प्रगति गर्दै गए अनुसार चेतना तथा उर्जाको तह अव ७०० बाट बढ्दै १००० तर्फ अग्रसर हुन्छ र उ अवतार पुरुषको रुपमा मानव समाजमा स्थापित हुनपुग्छ । भगवान शिव, भगवान राम, भगवान कृष्ण, भगवान बुद्ध, भगवान इशामसिह, भगवान पैगम्बर मुहम्मद अवतार पुरुषहरु हुनुहुन्छ जसले शरीर छोडेर जानुभए पनि युगौं युगसम्म सान्दर्भिक भैरहेने मानवीय महाज्ञान तथा सुत्रहरु मानव समाजलाई दिएर जानु भयो र अध्यात्मको आकासमा सदाकालागि अमर बनेर रहनुभयो ।
मानिसको प्रतिक्रियाबाट चेतना तथा उर्जाको वास्तविक तह जान्न सकिन्छ
अध्यात्म गुरु डा. डेभिड हकिन्स भन्छन्, चेतना तथा उर्जाका यी तहहरु कुनै ठूला तथा साना हुदैनन् । यो चृतना तथा उर्जालाई मापन गर्न सजिलो होस भनेर तय गरिएको एकप्रकारको सुत्र तथा विधि मात्र हो । चेतना तथा उर्जाको तह थर्मोमिटरको डिग्रीको अंक जस्तै हो, ० डिग्री भन्दा मूनि पानी जमेर बरफ तथा ठोस बन्छ; १०० डिग्री नपुगुन्जेल पानी तरल स्वरुपमै रहन्छ; र १०० डिग्री भन्दामाथि पानी उम्लेर वाफ तथा ग्याँस बन्छ तर जुन स्वरुपमा रहेपनि पानी त पानी नै हो । चेतना तथा उर्जाको तह पनि यस्तै हो, जुन अवस्थामा भएपनि यसको स्वरुप चेतना तथा उर्जा नै हो, तसर्थ चेतना तथा उर्जाको औषत मानिएको २०० तथा त्यसभन्दा तलको अवस्था नराम्रो हो भन्ने होइन । चेतना तथा उर्जाका यी तहहरु मानिसले आफ्नो तत्कालीन मनस्थिति तथा भावास्थिति अनुसार कस्तो प्रतिक्रिया तथा व्यवहार व्यक्त गर्छ भनेर हेर्ने तय गरिएका एकप्रकारका मापदण्डहरु मात्र हुन् । चेतना तथा उर्जा कुन तह तथा अवस्थामा रहदा मानिसले कस्तो प्रतिक्रिया तथा व्यवहार देखाउछ त्यस अनुसार थाहा पाउन सकिन्छ उ चेतना तथा उर्जाको कुन तहमा छ भनेर । चेतना तथा उर्जाका यी १८ तह तथा अवस्थाबाट हरेक मानिस एकनएक समयमा गुज्रिएको हुन्छ लामो तथा छोटो अवधिकालागि किनकी मानव जीवन भनेकै सुख, दुःख, डर, असुरक्षा, अनिश्चितता, तनाव, चिन्ता, आशा, निराशा, क्रोध, घृणा, अभिमान, अहंकार, साहस, प्रेरणा, खुशी, प्रेम, शान्ति, आनन्दको संयोग हो । वर्तमान समयमा मानिसहरुले जीवनयापन गरिरहेको भागदौड, प्रतिस्पर्धा, आशा, निराशा, डर आदि अवस्थाहरुमा चलिरहेको दैनिकीमा प्रायजसो मानिसहरु चेतना तथा उर्जाका १८ तहमध्य ३(अपराध तथा प्रायश्चित वोध, उर्जाको तह–३०) र ४(निराशा तथा उदाषि, उर्जाको तह–५०)को अवस्थामा रहने गर्दछन् । मानिसले आफूले आफ्नो जीवनमा नचाहेको तथा अनइच्छित परिणाम बेहोर्नु परेको यस्तो असहज अवस्थामा उसको मानसिक तथा भावनात्मक अवस्थामा अत्यन्तै धेरै उतार–चढाव तथा दवावहरु आउने गर्दछन् ।
दैनिक जीवनयापनको क्रममा यस्ता प्रकारका मानसिक तथा भावनात्मक उतार–चढाव तथा दबाव बेहोरीरहेको अवस्थामा यदि मानिसले प्रतिक्रियात्मक भएर बिना सोची, सम्झी आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा लज्जा तथा हिनतावोध महसुस भएको भाव तथा व्यवहार देखाउछ भने उसको चेतना तथा उर्जाको तह घटेर हिनतवोधमा पुगेको हुन्छ । हिनतवोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर २०को हाराहारीमा पुग्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा उसले अपराधवोधको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर अपराधवोधमा पुग्छ । अपराधवोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर ३०को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा निराशा तथा उदाषिको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर निराशामा पुग्छ । निराशाको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर ५०को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा मन तथा भावना चोट परेको भाव तथा व्यवहार व्यक्त गर्छ, रुन्छ, बिलौना गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर भावनात्मक चोटमा पुग्छ । भावनात्मक चोटको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर ७५को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा डराएको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर डरमा पुग्छ । डरको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर १००को हाराहारीमा पुगेको हुन्छ ।
त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा इच्छा पूरा नभएको, असन्तुष्टीको भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर इच्छामा पुग्छ । इच्छाको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर १२५को हाराहारीमा पुगेको हुन्छ । त्यस्तै आफ्ना असन्तुष्टी तथा असहमतिहरु व्यक्त गर्ने क्रममा कराउने, चिच्याउने, सामान फाल्ने भाव तथा व्यवहार व्यक्त गर्छ भने उसको चेतना तथा उर्जाको तह घटेर क्रोधमा पुग्छ । क्रोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह घटेर १५०को हाराहारीमा पुगेको हुन्छ ।
यी चेतना तथा उर्जाका अत्यन्तै न्यून तह, नराम्रो तथा चुनौतीका अवस्थाहरु हुन् । यस्ता अवस्थाहरुले मानिसलाई जीवनमा अगाडि बढ्न बाधा गर्दछन् । यस्तो अवस्थामा मानिसलाई सम्झाउने, बुझाउने, उचित सरसल्लाह तथा परामर्श(काउन्सेलिगं) दिनुपर्ने आवश्यकता हुन सक्छ, कहिलेकाहीं त औषधि उपचार तथा डाक्टरको चेकजाँच तथा परामर्शको समेत आवश्यकता पर्नसक्छ । तर यसको विपरीत यस्तो अवस्थामा मानिस संयमित भएर आफ्नो सुरक्षार्थ(डिफेन्सिभ) खडा हुन्छ, समस्याको समाधान खोज्छ, आफ्ना कमजोरी स्वीकार गर्छ भने उ साहसको अवस्थामा रहेको हुन्छ । साहसको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह २००को हाराहारीमा पुगेको हुन्छ । यो अवस्था विश्वको वर्तमान समयको चेतना तथा उर्जाको औषत तह हो । यो राम्रो तथा प्रगतिशिल अवस्था हो, यो अवस्थाले मानिसलाई जीवनमा अगाडि बढ्न मद्धत, प्रोत्साहन तथा प्रेरणा प्रदान गर्दछ । जव चेतना तथा उर्जाको तह ५००बाट माथितिर उकालो लाग्छ तव यस्तो मानिस आदर्श पुरुष(आत्मा अर्थात चेतना) बन्छ, उसकालागि सबै एक समान हुन्छ । वाहिरका कुनै पनि परिस्थिति तथा गतिविधिहरुले अव उसको चेतना तथा उर्जाको तहलाई तल झार्न सक्दैनन्, उ स्थिर तथा स्थितप्रज्ञ(स्वत्वमा स्थित) भैसकेको हुन्छ र उसको जीवनको एकमात्र उद्देश्य तथा लक्ष्य आफ्नो मूलस्वरुप परमात्मा योगस्थ हुने तथा मोक्षको प्राप्ति गर्ने रहेको हुन्छ । यसक्रमा यस्ता सम्बुद्ध, प्रबुद्ध पुरुषहरुले आफ्नो लगायत अरुको पनि भलाई हुने सर्वकल्याणका कामहरु गर्दै आफूलाई परमात्मा प्राप्तिको मार्गमा अग्रसर गराइरहन्छ र एकदिन बुद्धत्व तथा निर्वाण तथा मोक्षमा उपलव्ध हुन्छन् र सदाकालागि अमर बन्दछन् ।
यसप्रकार आफ्नो दैनिक गतिविधिहरु, आफ्ना मानवीय गुण तथा अवगुण र आफ्ना सोच, विचार, व्यवहार, आचरण, कर्म, व्यक्तित्व आदिलाई सुक्ष्म रुपमा नियालेर तथा विस्तृत रुपमा अवलोकन गरेर चेतना तथा उर्जाका यी १८ प्रकारका तहमा आफू कुन तह तथा अवस्थामा छु भनेर सहजै पत्ता लगाउन तथा जान्न सकिन्छ । चेतना तथा उर्जाको सही तह तथा सही अवस्था पत्ता लागिसकेपछि आफ्नो शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक उर्जाको सही व्यवस्थापन तथा विकास गर्न अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक व्यवहारिक जीवनमा प्रयोगात्मक अभ्यास गरेर चेतना तथा उर्जाको तह बढाउदै लान सकिन्छ र आफ्नो जीवनको विकास सही प्रकारले गर्न सकिन्छ । तत्काल आफू चेतना तथा उर्जाको जुन अवस्थामा रहेका छौं त्यही अवस्थाबाट चेतना तथा उर्जाको तह अझ माथितिर बढाउन तथा विकास गर्न प्रयोगात्मक अभ्यास शुरु गर्नुपर्छ । bsirjana@gmail.com
छिट्टै
मेरो चेतना तथा उर्जाको तह कसरी बढाउन सक्छु ?
No comments:
Post a Comment