'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 14 May 2025

त्रिगुणमयी प्रकृति र मनुष्यको स्वभाव

डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #जीवन_दर्शन  



विषय प्रवेश

सनातन अध्यात्म दर्शनका प्राचीन शास्त्रहरुमा उल्लेख गरिए अनुसार, अव्यक्त, निराकार परमात्मा अर्थात पुरुषले आफू व्यक्त हुने क्रममा सर्वप्रथम आफूलाई पुरुष(अदृश्य अर्थात सुक्ष्म) र प्रकृति(दृश्य अर्थात स्थुल) गरि दुई भागमा विभाजित गर्यो । अव्यक्त, निराकार ‘परमात्मा’ पुरुष(आत्मा अर्थात चेतना) र प्रकृति(पदार्थ अर्थात पंचतत्व)को संयोगबाट दृश्य रुपमा व्यक्त भएपछि तथा आकार स्वरुप धारण गरेपछि जिवात्मा(जिव+आत्मा)को रुपमा प्राणीहरुको जन्म भयो र अव्यक्त, निराकार, निरञ्जन, निर्गुण, अलौकिक, पराभौतिक परमात्मा(पुरुष अर्थात चेतना अर्थात आत्मा) प्रकृतिद्वारा निर्मित आकार, लौकिक, प्राणीहरुको भौतिक शरीरमा वास गर्यो, आफूलाई प्रकृतिको स्वरुपमा व्यक्त गर्यो र हरेक मनुष्यलाई आफ्नो मूलस्वरूप परमात्मालाई आफैंभित्र खोज्न चुनौती दियो । अव्यक्त परमात्मा व्यक्त हुने प्रकृया हिरण्य गर्भ हो र परमात्माको पूर्ण व्यक्तको अवस्था सृष्टि(ब्रम्हाण्ड अर्थात प्रकृति)को संरचना, उत्पति हो अर्थात आधूनिक प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)को परिभाषा तथा अर्थमा महाविश्फोट(बिगब्यांग) हो । 


प्रकृति त्रिगुण सत्व, रजस, तमसले सम्पन्न छ

यस ब्रम्हाण्डका हरेक प्राणी, वनस्पति तथा पदार्थहरु प्रकृतिद्वारा निर्मित छन् र प्रकृतिका तीन गुुण सत्व, रजस र तमसले सम्पन्न छन् । प्रकृतिका यीनै त्रीगुणहरुले प्राणी अर्थात मनुष्यहरुमा पंचक्लेश– काम, क्रोध, लोभ, अहंकार र भयको निर्माण गर्दछ । हरेक मानिसमा हरदम प्रकृतिका तीनवटै गुण र यी गुणहरुबाट निर्मित पंचक्लेशहरु हावी रहन्छन् । मनुष्यमा प्रकृतिका तीन गुण मध्य जुन गुणको बाहुल्यता हुन्छ त्यसै अनुसार उसमा पंचक्लेशका स्वाभावहरु देखा पर्दछन् । सांसारिक जीवन जिउन सन्तुलित मात्रामा हरेक मनुष्यमा पंचक्लेस हुनु आवस्यक हुन्छ तर यसको असन्तुलित मात्राले जीवनयापन जटिल र अशान्त बनाउछ ।


सत्व गुणको बाहुल्यता 

मनुष्यमा सत्व गुणको बाहुल्यता रहेको छ भने उसमा पंचक्लेशको तह तथा प्रभाव सकारात्मक रहन्छ । सत्वगुणी मनुष्यका शरीरका चारवटै आयामहरु– स्थुल शरीर, मनस शरीर, भावनात्मक शरीर, र चेतनात्मक अर्थात आत्मिक शरीर शुद्ध रहन्छन् र उसले पुरुष अर्थात परमात्माको निकट सानिध्य प्राप्त गरेको हुन्छ । सत्वगुणी मनुष्यको स्वाभाव सत्यता, प्रेम, करुणा, सदभाव, इमान्दारिता, यम, नियम तथा धर्मको अनुशरण, नवव्रतको पालना सही ढंगले इमान्दारी पूर्वक गर्ने प्रकारको हुन्छ । आफ्नो जीवनलाई सन्तुलित बनाएर कर्म मार्ग, भक्ति मार्ग तथा ज्ञान मार्गमा चलाउदछ र म परमात्माको अंश हुँ भन्ने भावको आत्मज्ञान प्राप्त गरेर अन्ततः जीवनमा पवित्रता हासिल गर्दै आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा योगस्थ भएर जन्म र मृत्युको दुःखदायि दुष्चक्रबाट सदाकालागि मुक्त भएर मोक्ष(इटरनल लिवरेसन) मा उपलव्ध हुन्छ ।  


रजस गुणको बाहुल्यता 

प्रकृतिका त्रीगुण मध्य रजस मध्यम प्रकारको गुण हो । मनुष्यमा रजस गुणको बाहुल्यता रहेको छ भने उसमा पंचक्लेशको तह तथा प्रभाव अलि बढि रहन्छ । रजस गुणको बाहुल्यता भएको मनुष्य कर्मयोगी हुन्छ, कर्मयोगको माध्यमबाट आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा एकाकार हुन प्रयत्न गर्दछ । तर रजोगुणी मनुष्य सत्वगुणी मनुष्यको तुलनामा पुरुष अर्थात परमात्माको सानिध्यबाट अलि टाढा रहेको हुन्छ । उसलाई आत्मा तथा परमात्माको ज्ञान तथा आभास त्यति सजिलै हुदैन जति सत्वगुणी मनुष्यलाई हुन्छ तसर्थ परमात्मा साक्षातकार गर्नकालागि उसले सत्वगुणी मनुष्यले भन्दा अलि बढि प्रयत्न गर्नुपर्ने हुन्छ । रजोगुणी स्वाभाव भएको मनुष्य औषत प्रकारको हुन्छ न उत्तम न खत्तम । रजोगुणी मनुष्यमा पनि सत्यता, प्रेम, करुणा, सदभाव, इमान्दारिता, यम, नियम तथा धर्मको अनुशरण, नवव्रतको पालना सही ढंगले इमान्दारी पूर्वक गर्ने स्वाभाव हुन्छ तर उसको कर्म निस्काम हुदैन, आफूले परिश्रम गरेवापत उ आफ्नोलागि समाज तथा राज्यबाट केही चाहान्छ– धन, मानसम्मान, जस, मूल्य आदि । रजोगुणी मनुष्य कर्मयोगी त हुन्छ तर निस्काम कर्मयोगी नभएको कारणले परमात्माबाट अलिक टाढा रहेको हुन्छ, यस्तो मनुष्यले आफूमा सत्वगुण उन्मुख स्वाभावको विकास गरेर ढिलोचाँढो(यो जन्ममा या आउने जन्महरुमा) उ आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा एकाकार हुनसक्छ । 


तमस गुणको बाहुल्यता 

प्रकृतिका त्रीगुण मध्य तमस सबैभन्दा निकृष्ट प्रकारको गुण हो । मनुष्यमा तमस गुणको बाहुल्यता रहेको छ भने उसमा पंचक्लेशको तह तथा प्रभाव अत्यन्तै बढि नकारात्मक किसिमले रहन्छ । तमोगुणी मनुष्य पुरुष अर्थात परमात्माको सानिध्यबाट निकै टाढा रहेको हुन्छ । उसलाई परमात्मा अर्थात उज्यालोको ज्ञान नै हुदैन, विश्वास पनि हुदैन, उ अन्धकार र आलस्यमा जीवन जिरहेको हुन्छ । तमोगुणी मनुष्य नशा, हिंसा, अत्याचार जस्ता विकृत स्वाभावहरुबाट घेरिएको हुन्छ । तमोगुणी मनुष्यले आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा एकाकार हुन धेरै प्रयत्न गर्नुपर्ने हुन्छ, परमात्मा साक्षातकार गर्न आफूलाई सक्षम बनाउन अनेक सकारात्मक प्रयत्नहरुका वाबजुद उसलाई अनेक जन्म लाग्न सक्छ ।  


अध्यात्म साधना नै परमात्मा साक्षातकारको अन्तिम प्रकृया 

जन्म र मृत्युको जीवनचक्रमा प्रवेश गरेका जिवात्माहरु मध्य चेतनाको उपस्थिति तथा चेतनाको विकासको दृष्टिकोणले मनुष्य सर्वश्रेष्ठ जिवात्मा हो । अन्य जिवात्माहरुको तुलनामा मनुष्यमा भौतिक शरीरको साथसाथ उसमा विकसित अभौतिक मन, भावना तथा चेतना पनि उत्तिकै सक्रिय रहेको हुन्छ । नैसर्गिक रुपमा हरेक मनुष्यको मन, भावना तथा चेतनाको विकास सामान्य किसिमले क्रमिक रुपमा उसको जीवनको आयु र अनुभवसंगै विकास हुदै जान्छ । मनुष्यको मन, भावना तथा चेतनाको सक्रियता तथा विकासलाई तिब्रता दिएर छोटो समयअविधिमा उसमा उच्चतम आध्यात्मिक विकास ल्याउन पनि सकिन्छ । यसकालागि मनुष्यले आफनो दैनिक जीवनमा अध्यात्म साधना तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु(योगासन, प्राणायाम, ध्यान)को अनुशरण निष्ठापूर्वक गर्नु पर्दछ । जन्म र मृत्युको जीवनचक्रमा प्रवेश गरेको हरेक जिवात्माले यो जीवनचक्र पूरागरि पुनः पुरुष स्वरुप अर्थात आफ्नो वास्तविक मूलस्वरुप परमात्मामा एकाकार हुन अध्यात्म साधना तथा योग साधना नै अन्तिम प्रकृया मानिएको छ ।


सत्व, रजस र तमस प्रकृतिका तीनवटै गुण भएका मनुष्यहरुलाई आत्मा, परमात्माको ज्ञान दिएर म परमात्माकै अंश हुँ र मेरो आत्यिन्तिक गन्तव्य परमात्माको साक्षातकार नै हो भन्ने आभास दिलाउदै जिवात्माको रुपमा जन्म र मृत्युको दुष्चक्रमा फसेका मनुष्यहरुलाई प्रक्रियावद्ध ढंगले आफ्नो मूलस्वरुप परमात्मा निकट पुर्याएर परमात्मा साक्षातकार गर्ने मार्ग देखाउन सकिन्छ । परमात्मा प्राप्तिको सही मार्गमा लाग्न सर्वप्रथम मनुष्यले आफूलाई आफ्ना हर प्रकारका तमस प्रवत्तिहरुबाट अलग गर्नु पर्दछ र विस्तारै आफूलाई कर्म योग, भक्ति योग र ज्ञान योगको मार्गमा उन्मुख गर्दै रजोगुणमा प्रवेश गराउनु पर्दछ । जीवनमा आइपरेका सबै प्रकारका आफू, परिवार, समाज, राज्य, प्रकृतिप्रतिको कर्तव्य, उत्तरदायित्व, जिम्मेदारीहरु बखुबी निभाउदै आफ्नो जीवनमा नैतिकता, अनुशासन, इमान्दारिता, दया, प्रेम, करुणा, सतविचार, सतकर्मका स्वाभावहरु भरेर सर्वकल्याणका कर्महरु गर्दै अगाडि बढेको मानिस नै परमात्मा साक्षातकारको अधिकारी बन्न सक्दछ । bsirjana@gmail.com


No comments:

Post a Comment