डा. सिर्जना भण्डारी
महामन्त्र
“ॐ नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।” अर्थात म शुद्ध मन, वचन, कर्मले निर्वाण पुरुष बुद्धलाई नमन गर्दछु । यो मन्त्र तीनपटक वाचन गर्दै कुनै महत्वपूर्ण कार्यको शुभारम्भ गर्ने तथा भगवान बुद्धप्रति सम्मान व्यक्त गर्ने गरिन्छ ।
“ॐ मणिपद्य्मे हुम् ।” अर्थात म शुद्ध मन, वचन, कर्म, करुणा, प्रज्ञाको संयोग हुँ । मन तथा वचनले यो मन्त्र निरन्तर जप(माला सहित, माला बाहेक) गर्ने गरिन्छ र आफ्नो मनलाई निरन्तर भगवान बुद्धमा तथा धर्ममा लगाउने प्रयत्न गरिन्छ ।
“बुद्धं शरणं गच्छामि ।” अर्थात म प्रज्ञा, बोध, बुद्ध तथा चेतनाको आश्रयमा जान्छु ।
“धम्मं शरणं गच्छामि ।” अर्थात म धर्म, कर्तव्य तथा सत्यको आश्रयमा जान्छु ।
“संघं शरणं गच्छामि ।” अर्थातको म समुह तथा संगठनको आश्रयमा जान्छु ।
शव्दार्थः ‘ॐ’– शुद्ध मन, वचन, कर्म; ‘नमो’– नमस्कार; ‘तस्स’– वहाँ; ‘भगवतो’ धन्य; ‘अर’ धर्मका वाधाहरु; ‘हतो’ अन्त्य गर्ने; ‘सम्मा’ सम्यक, सन्तुलित; ‘सम’ बराबर; ‘बुद्धस्स’ पूर्णतया प्रबुद्ध, निर्वाण; ‘मणि’ रत्न; ‘पद्य्मे’ करुणा, प्रज्ञा; ‘हुम्’ संयोग, मिलन; ‘बुद्धं’ बोध, प्रज्ञा, चेतना; ‘धम्मं’ धर्म, कर्तव्य; ‘संघं’ समुह, संगठन; ‘शरणं’ आश्रय; ‘गच्छामि’ जान्छु ।
विषय प्रवेश
सनातन हिन्दु धर्मको मूल ग्रन्थ श्रीमद् भगवद् गीतालाई मानिए जस्तै बौद्ध धर्म तथा बौद्ध दर्शनको मूल ग्रन्थ त्रि–पिटकलाई मानिन्छ । इशापूर्व २५०० वर्षअघि तपोभूमि नेपालबाट प्रादुर्भाव भएको बौद्ध धर्म तथा बौद्ध दर्शन आज विश्वमै सर्वाधिक मानवीय दर्शन, मध्यमार्गी तथा व्यवहारिक दर्शनको रुपमा स्थापित भएको छ । बौद्ध दर्शनका प्रणेता, आध्यात्म प्रवद्र्धन तथा शान्ति र ध्यानका अभियन्ता, एशियाका तारा भगवान गौतम बुद्ध शान्तिका अग्रदुतका रुपमा विश्वभरि नै सम्मानित हुनुहुन्छ । बौद्ध दर्शनका महत्वपूर्ण आदर्श तथा ज्ञानहरुमा त्रि–पिटक, त्रि–शरणागमन, पंचशील, त्रि–शिक्षा आदि विशेष हुन् ।
त्रि–पिटक
त्रि–पिटक बौद्ध दर्शनको मूल ज्ञान समेटिएको प्रमुख ग्रन्थ हो । यस ग्रन्थको रचना भएको समयावधि इशापूर्व १०० देखि ५०० मानिएको छ । बौद्ध दर्शनका ग्रन्थहरु आधारभूत रुपमा पालि भाषा तथा लिपिमा लेखिएका छन् । भगवान बुद्ध आफू स्वयंले कुनै ग्रन्थको रचना गर्नुभएको छैन । त्रि–पिटक ग्रन्थमा भगवान बुद्धले बुद्धत्व(निर्वाण)को ज्ञान हासिल गर्नुभए पश्चात वहाँ शरीरमा रहुन्जेल वहाँले जीवनभर वाचन गर्नुभएका सबै प्रवचन(देशना, उपदेश)हरु विस्तृतमा समावेश गरिएका छन् । भगवान बुद्धका शिष्यहरुले आउने पिढीले बौद्ध दर्शनका ज्ञान तथा जीवन र जगतका आदर्शहरु सजिलै जान्न तथा बुझ्न सकुन र जीवनमा सरल किसिमले अनुशरण गर्न सकुन भन्ने सर्वकल्याणको भाव राखेर यो महान ग्रन्थको रचना गरेका हुन् । अहिलेसम्म प्रचलनमा आएका बौद्ध दर्शनसंग सम्वन्धित सबै ज्ञान तथा जीवन र जगतका आदर्शहरु त्रि–पिटक ग्रन्थमा विस्तृतमा संग्रहित गरिएका छन् र यसैबाट साभार गरिएका हुन् । यस महान ग्रन्थमा बौद्ध दर्शनका तीन प्रकारका महाज्ञान समावेश गरिएको हुनाले यसलाई त्रि–पिटक भनिएको हो । त्रि–पिटकमा समावेश गरिएका प्रमुख तीन प्रकारका ज्ञान निम्न प्रकार रहेका छन्–
विनय पिटक– विनय शव्दको शाव्दिक अर्थ अनुशासनसंग सम्वन्धित छ । यस ग्रन्थमा बौद्ध धर्म अनुशरण गरिरहेका शिष्य तथा भिक्षु, भिक्षुणीहरुलाई आदर्श जीवन जीउन आवश्यक पर्ने नियम, आचरण तथा अनुशासन सम्वन्धि उपदेशहरु समावेश गरिएका छन् । यस ग्रन्थको मूल सन्देश जीवनमा सही आचरण गरौं, नैतिकवान र अनुशासित बनौं भन्ने रहेको छ ।
सुत्त पिटक– सुत्त शव्दको शाव्दिक अर्थ सुत्र तथा प्रवचनसंग सम्वन्धित छ । यस ग्रन्थमा बौद्ध धर्म अनुशरण गरिरहेका शिष्य तथा भिक्षु, भिक्षुणीहरुले पालना गर्नुपर्ने धर्म सम्वन्धि उपदेशहरु सुत्रवद्ध रुपमा समावेश गरिएका छन् । यस ग्रन्थको मूल सन्देश जीवनमा मानवीय तथा करुणावान बनौं भन्ने रहेको छ ।
अभिधम्म पिटक– ‘अभि’को अर्थ विशेष हो र ‘धम्म’को अर्थ धर्म हो । अभिधम्म शव्दको शाव्दिक अर्थ विशेष धर्म, सत्य, प्रज्ञा, ज्ञान, वुद्धि, विवेक, तर्कसंग सम्वन्धित छ । यस ग्रन्थमा बौद्ध दर्शनका सिद्धान्त, तत्वमीमांसा, ज्ञानमीमांशा, नैतिकता, मनोविज्ञान सम्वन्धि ज्ञानहरु समावेश गरिएका छन् । यस ग्रन्थको मूल सन्देश बौद्ध दर्शनमा उल्लेख गरिएका जीवन र जगत सम्वन्धि ज्ञान तथा आदर्शहरु जानेर, बुझेर, अभ्यास गरेर आफ्नो चेतनाको उच्चतम विकास गरौं भन्ने रहेको छ ।
त्रि–शरणागमन
बौद्ध दर्शनमा बौद्ध धर्मका अनुयायिहरुलाई सहज प्रकारले जीवनमा धर्मसंगत किसिमले अगाडि बढ्दै जीवन र चेतनाको विकास गरि निर्वाण हासिल गर्न सहज गराउने उद्देश्यले केही महाज्ञानहरु प्रदान गरिएका छन्–
बुद्धं शरणं गच्छामि– यस वाक्यमा उल्लेख गरिएको ‘बुद्धं’को अर्थ केवल बुद्ध भगवानसंग मात्र सम्वन्धित छैन । बुद्ध शव्दको वास्तविक सम्वन्ध बोध, बुद्धत्व, निर्वाण अर्थात मोक्ष(इटरनल लिवरेसन) तथा विकसित चेतनासंग रहेको छ जुन विकसित प्रज्ञा तथा अन्तरज्ञानबाट आउछ । म प्रज्ञा तथा अन्तरज्ञानको शरणमा जान्छु र आफ्नो चेतनाको विकास गरेर निर्वाण तथा मोक्ष हासिल गर्न प्रयत्न गर्छु भन्ने यो वाक्यको मूल तात्पर्य हो । वर्तमान परिप्रेक्षमा सबैले सहजै बुझ्न सक्ने गरि बुद्ध शव्दको अर्थलाई बोध, प्रज्ञा, ज्ञान, वुद्धि, विवेक, तर्क, विद्या, शिक्षा, सूचना, जानकारीका रुपमा सरलीकृत गर्दै बौद्ध धर्मका अनुयायिहरुलाई बौद्ध दर्शनका जीवन र जगतसंग सम्वन्धित ज्ञान तथा आर्दशका विषयहरु सरल तथा सहज ढंगले सिकाउदै आइएको छ । समग्रमा यसको तात्पर्य हो ज्ञानी तथा शिक्षित मानिसले मात्र मानवीय मूल्य–मान्यताहरु बुझ्न सक्छ र उचित किसिमले बुझेर विवेकपूर्ण ढंगबाट सम्यक कर्म गर्न सक्छ र आफ्नो, समाजको, राज्यको तथा प्रकृतिको उन्नति तथा विकासमा योगदान पुर्याउन सक्छ ।
धम्मं शरणं गच्छामि– यस वाक्यमा उल्लेख गरिएको ‘धम्मं’को अर्थ धर्म, सत्य तथा कर्तव्यसंग सम्वन्धित छ । म भगवान बुद्धले प्रदान गर्नुभएका उपदेश तथा बौद्ध दर्शनमा मार्गनिर्देश गरिएका ज्ञान, सिद्धान्त, नियम, नैतिकता, अनुशासनको शरणमा जान्छु र निष्ठापूर्वक तीनको अनुशरण गरेर आफ्नो लगायत सबैको जीवनको विकास गर्छु तथा विकास गर्न मद्धत गर्छु भन्ने यो वाक्यको मूल तात्पर्य हो । वर्तमान परिप्रेक्षमा सबैले सहजै बुझ्न सक्ने गरि धम्मं शव्दको अर्थलाई धर्म, कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी, नैतिकता, अनुशासनका रुपमा सरलीकृत गर्दै बौद्ध धर्मका अनुयायिहरुलाई बौद्ध दर्शनका जीवन र जगतसंग सम्वन्धित ज्ञान तथा आर्दशका विषयहरु सरल तथा सहज ढंगले सिकाउदै आइएको छ । समग्रमा यसको तात्पर्य हो धर्मनिष्ठ, कर्तव्यनिष्ठ, उत्तरदायि, नैतिकवान तथा अनुशासित मानिसले मात्र मानवीय मूल्य–मान्यताहरु बुझ्न सक्छ र मानवीयताका लागि न्याय, समानता, स्वतन्त्रताका वास्तविक भावलाई गहिराइसम्म बुझेर सर्वकल्याणका लागि भलाईका कामहरु गर्दै सबैलाई सहयोग गर्न सक्छ ।
संघं शरणं गच्छामि– यस वाक्यमा उल्लेख गरिएको ‘संघं’को अर्थ समुह तथा संगठनसंग सम्वन्धित छ । बौद्ध दर्शनले सुझाएका ज्ञान तथा आर्दशहरुलाई जीवनमा अनुशरण गर्दै सत्यको मार्गमा हिडेका बौद्ध अनुयायिहरुद्वारा सर्वकल्याणको भाव राखेर गठन गरिएका संगठनहरुमा म सामेल हुन्छु भन्ने यो वाक्यको मूल तात्पर्य हो । संघं शरणं गच्छामिको वास्तविक सार म यसरी गठन गरिएका बौद्ध समुदायका संगठित सामुहिक संघको शरणमा जान्छु र आफ्नो लगायत परिवार, समाज, राज्य, मानवीयता, प्राणी तथा प्रकृतिको विकास गर्छु तथा विकास गर्न मद्धत गर्छु भन्ने प्रतिवद्धता हो । वर्तमान परिप्रेक्षमा सबैले सहजै बुझ्न सक्ने गरि संघ शव्दको अर्थलाई समुह तथा संगठनको बल र प्रभाव गहन हुन्छ, म बुद्ध तथा बोधको शरण लिएर शिक्षित, ज्ञानी तथा चेतनशील भई, धर्मको शरण लिएर न्यायिक, कर्तव्यनिष्ठ तथा इमान्दार भइ संघको शरण लिएर सबैप्रति मैत्री भाव राख्दै संघ तथा संगठनमा समलग्न भएर मानवीय भलाई तथा सर्वकल्याणका कार्यहरु गर्नमा अग्रसर हुन्छु र आफ्नो लगायत अरुको जीवनको विकास गर्न योगदान पुर्याउछु भन्ने तात्पर्य बुझाउदै आइएको छ ।
पंचशील
शीलको शाव्दीक अर्थ नैतिकता तथा अनुशासन हो । बौद्ध दर्शनमा भगवान बुद्धले सर्वप्रथम विविध प्रकारका दुःखमा रहेका आम मानिसहरुको जीवनको सहज निकास तथा आवश्यक विकास गर्नकालागि महान आदर्श “चार आर्य सत्य” र “अष्टांगीक मार्ग” अर्थात दुःख निवारणका आठ मार्ग तथा उपायहरु प्रदान गर्नु भयो कसरी जन्म-मृत्युको कष्टदायि जीवनचक्रमा घुमिरहने दुःखबाट मुक्ति तथा निर्वाण पाउन सकिन्छ भन्ने सन्दर्भमा ज्ञान प्रदान गर्ने उद्देश्यले । चार आर्य सत्यमा हरेक मानिसको जीवनमा दुःख छ; दुःखको कारण छ; दुःखको निवारण छ; र दुःख निवारणको उपाय छ भन्ने ज्ञान समावेश गरिएका छन् । अष्टांगीक मार्गमा दुःख निवारणका आठ प्रकारका उपायहरु– सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्मान्त, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधिबारे ज्ञान समावेश गरिएका छन् । अष्टांगीक मार्गका उपायहरु सहीढंगले जीवनमा निष्ठापूर्वक अनुशरण गर्न तथा पालना गर्न सहज गराउने उदेश्यले पंचशीलमा सही प्रकारका वास्तविक नैतिकता सिकाउने ज्ञान, शील तथा अनुशासन प्रदान गरिएका छन् जस अन्तर्गत मानिसले गर्ने कस्ता–कस्ता प्रकारका गतिविधि, क्रियाकलाप, व्यवहार, आचरण तथा कर्महरुलाई सम्यक, सन्तुलित तथा मध्यमार्गी, धर्मनिष्ठ भनिन्छ र के–कस्ता दायरामा रहेर कसरी दैनिक जीवनमा तीनको पालना गर्नुपर्छ भन्ने सन्दर्भमा विस्तृतमा धर्म, कर्तव्य, अनुशासन तथा नैतिकताका आधारमा पंचशीलका ज्ञान तथा आदर्शका विषयहरु प्रदान गरिएका छन् । मानिसलाई दैनिक जीवनमा नैतिकतामा प्रतिवद्ध गराउने पाँच प्रकारका पंचशीलका अनुशासनहरु निम्न रहेका छन्–
(१)म कसैमाथि कुनै प्रकारको हिंसा तथा प्राणी हत्या नगर्ने शिक्षा ग्रहण गर्दछु ।
(२)म कसैको स्वामित्वमा रहेका सामानहरुको चोरी, ठगी नगर्ने शिक्षा ग्रहण गर्दछु ।
(३)म कसैसंग अनैतिक प्रकारले शारीरिक तथा असान्दर्भिक सम्वन्ध नबनाउने शिक्षा ग्रहण गर्दछु ।
(४)म कसैसंग झुठो तथा असत्य नबोल्ने शिक्षा ग्रहण गर्दछु ।
(५)म नशाजन्य कुराहरु सेवन तथा प्रयोग नगर्ने शिक्षा ग्रहण गर्दछु ।
त्रि–शिक्षा
सनातन हिन्दु दर्शनमा जीवनमा नैतिकता तथा अनुशासन ग्रहण गर्ने मूल शिक्षा खासगरि पतंजलि योग दर्शनमा उल्लेखित अष्टांग योग(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि)लाई मानिएको जस्तै बौद्ध दर्शनमा त्रि–शिक्षा– (१)शील, (२)समाधि, (३)प्रज्ञालाई मानिन्छ । शील, समाधि, प्रज्ञाको अनुशरण गरेर मात्र मानिस आफ्नो जीवनको र चेतनाको विकास गरेर निर्वाण हासिल गर्नसक्छ भन्ने त्रि–शिक्षाको मूल सन्देश हो ।
शील– माथि पंचशीलमा उल्लेखित सबै प्रकारका पाप तथा अधर्महरु– हिंसा, चोरी, अनैतिक सम्वन्ध, झुठ, नशा सेवनबाट मुक्त हुनु शील तथा अनुशासित हुनु हो । जो कोही साधकले शीलमा रत(आवद्ध) रहेर जीवन र चेतनाको विकास गरेर निर्वाण प्राप्त गर्न सक्छ ।
समाधि– मनको एकाग्रता समाधि हो । सकारात्मक भावमा, शरीर तथा शरीरका अंगमा, श्वास–प्रश्वासमा, गुरुको छवि तथा मुर्तिमा, धर्मका मन्त्रहरु, महाज्ञानका श्लोक तथा आदर्शहरुमा ध्यान केन्द्रित गरेर मन तथा विचार शुन्यताको अवस्थामा पुगेर जीवन र चेतनाको विकास गर्दै जो कोही साधकले निर्वाण प्राप्त गर्न सक्छ ।
प्रज्ञा– आन्तरीक ज्ञान तथा चेतनाको तल(तह)बाट प्राप्त अन्तरज्ञानलाई प्रज्ञा भनिन्छ । इष्ट र अनिष्ट अर्थात जीवनका राम्रा–नराम्रा, सफल–असफल, सुख–दुःख सबै अवस्थाहरुप्रति समभाव तथा समत्व राख्न सक्नु र अनित्यलाई अनित्य नै देख्नु, असत्यलाई असत्य नै देख्नु, अधर्मलाई अधर्म नै देख्न सक्ने क्षमताको विकास हुनु चेतनाको विकास हुनु हो र यो प्रज्ञा, अन्तरज्ञान तथा तत्वज्ञान प्राप्तिको अवस्था हो । प्रज्ञा, अन्तरज्ञान तथा तत्वज्ञान प्राप्त गरेको साधक नै निर्वाण प्राप्तिको वास्तविक हकदार हुन्छ ।
No comments:
Post a Comment